कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२
कविता

महँगीमा टुटेका रूटिनहरु

विनोदविक्रम केसी

ससाना दुःखका रूटिनहरु टुटेका छन्
ससाना खुसीका रूटिनहरु टुटेका छन्

महँगीमा टुटेका रूटिनहरु

देशको एउटा फ्लप प्रेमी

भट्टी छिर्न सकिरहेको छैन

एक्सको सम्झनामा बेस्कन मातेर

रून पाइरहेको छैन


छोराछोरीको टिफिन बक्समा

हिंसा गर्न बाध्य भएपछि

छचल्किनुपर्ने आमाहरुका आँखा

छचल्किन सकिरहेका छैनन्


कापीको पाना च्यातेर

हवाईजहाज र डुङ्गा बनाउने

बदमासीको मिठासबाट

वञ्चित छन् नानीहरु

(सुन केटाकेटी हो !

उडान र सयरहरुले सर्वथा विहीन बाल्यकाल

उपलब्ध गराएकोमा

तिमीहरुले हामीलाई कदापि माफ नगर्नू  !)

तेल हाल्ने पैसा नभएर थन्किएको छ

प्रेमिकाको स्कुटी

शनिबार ब्वाइफ्रेन्डलाई पछाडि राखेर

नगरकोट पुग्ने उल्लास भत्किएको छ


पिकनिक स्पटहरुमा घुइँचो छैन

पुलाउ र मासुको बास्ना

रङमङिएको छैन हावामा


जुलुसबाट फर्केपछि मान्छेहरु

रित्तो सिलिन्डरसँग विछोडमग्न

उदास ग्यास चुलोको

अधुरो प्रेमकहानी देखेर

गहिरो विषादमा डुबेका छन्

आफूले लगाएका नाराहरुप्रतिको

तिनको विश्वास धर्मराएको छ

भोक उनीहरुलाई विघ्नै लागेको छ

खाली पेटले जति क्रूरतापूर्वक

चक्कु चलाए पनि

नडगमगाउने इमानले

ननिको लक्षण देखाइरहेको छ


एक किलो स्याउ बोकेर

बिरामी भेट्न जाने हार्दिकता

गायब भएको छ

शरया नै संसार तुल्याएर बसेको बिरामी

चित्त कुँडाएर कुरिरहेको छ आफन्त

उसलाई के थाहा

बाहिर महँगीले केके उत्पात मच्चाइसक्यो


फुटपाथमा लाउडस्पिकरबाट गुन्जिने

मिर्गौलारोगीको याचनाले छोइएर

दानपेटीमा खस्ने मनकारी पाँच–दसका नोटहरु

तर्केर हिँड्न थालेका छन्


थला परेको मान्छेको ओठबाट

बलजफ्ती फुत्किने झिनो मुस्कानजस्तो

ल्याम्पपोस्टको रूग्ण उज्यालोमुन्तिर

भविष्य खोज्दाखोज्दा थाकेका

सडक बालबालिकाहरुलाई लाग्न थालेको छ

हो न हो, फोहोरको कन्टेनर नै असली आकाश हो

र, प्लास्टिकका बोतलहरु नै तारा हुन्


डेरावालले

पानी, बिजुली र शौचालयको असुविधालाई लिएर

घरबेटीसँग निहुँ खोज्ने हिम्मत गरिरहेको छैन


यो सालको बजेट भाषणले पनि

झूट–पर्यटनसिवाय

अरु क्यै प्रवर्द्धन गरेन

ब्रिफकेसहरु भने ओहोरदोहोर गरिरहेकै छन्


चामल, दाल, आँटा, भुटुन र तरकारीहरुले

दुस्मनको व्यवहार गरेपछि

आम मान्छे आफैंसँग पनि मित्रवत् हुन सकिरहेको छैन

रित्तो खल्तीको प्रलापमा

भरमार मिसिन थालेका छन् अश्लील शब्दहरु


तर, एउटा आशाको रूटिन भने छ यथावत्

यस्तो महँगीमा पनि

विद्रोहीहरुले सस्ता कुरा गर्ने छैनन्

खुसीको एउटा खबर भने जीवितै छ

तिनको मनको चोकमा सत्य नै उभिनेछ सशरीर

ठडिनै छैन मिथ्या सालिक


जति मूल्य चुकाउनुपरे पनि

खराबसँग

आँखा जुधाई नै रहनेछ

असलले ।

प्रकाशित : भाद्र ११, २०७९ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×