फोटो

बचेरा हुर्काउँदै जलअप्सरा

मनोज पौडेल

मन्द उडान ! लामालामा औंला ! लचकदार हिँडाइ ! बच्चा कोरल्ने समयमा शरीरभन्दा लामो घुम्रिएको कालो पुच्छर ! तल्लो भाग खैरो र लामो ! मनमोहक र चित्ताकर्षक ! प्रजननका बेला झन् सुन्दर र आकर्षक देखिन्छ– जलअप्सरा चरा । यसको प्राकृतिक रङ कति सुन्दर र कलात्मक हुन्छ भने त्यसले अर्को आनन्द र रोमाञ्चकता थप्छ । यो चरा हेरेर रमाउन मन भए कपिलवस्तुस्थित पन्छी आरक्ष जगदीशपुर ताल आए हुन्छ ।

बचेरा हुर्काउँदै जलअप्सरा

नेपालमै सबैभन्दा बढी यो पानीचरा जगदीशपुर तालमा पाइन्छ । साउन–भदौदेखि झिक्रा, झिँजाझिजी र पातपतिङ्गर जम्मा गरेर यो चरा ओथारोको तयारीमा लाग्छ । कतिपयले बचेरा हुर्काइरहेका छन् । यो सुन्दर चरा पोथीको मर्जीमा चल्छ ।

अंग्रेजीमा ‘पिजेन्ट टेल ज्याकाना’ भनिने यो चराको भाले ओथारो बस्छ, बचेरा कोरल्छ, स्याहारसुसार गर्छ, हुर्काउँछ अनि उडाउँछ । पोथीचाहिँ भाले फेर्दै हिँडिरहन्छ । अण्डा कोरल्दासम्म भालेसँगै बस्छ । फेरि अर्को भालेको खोजीमा लाग्छ । जुनदेखि सेप्टेम्बरसम्मको ब्रिडिङ समयमा पोथीले ७ देखि ८ वटा भाले फेरिसक्छ ।

‘प्रजननको समय आएपछि यो चरा अझै राम्रो देखिन्छ,’ वन्यजन्तु विशेषज्ञ प्रोफेसर डा. करनबहादुर शाह भन्छन्, ‘प्रकृतिले भाले र पोथीको पुच्छरमा ३/४ वटा लामा–लामा प्वाँख थपिदिन्छ । करिब ३१ सेन्टिमिटर लामो यो चरामा डेढ फुट लामो प्वाँख जोडिँदै निस्कन्छ । प्रजनन समय सकिएपछि प्वाँख आफैँ खस्छ ।’

पोथीले एकपटकमा ४ वटासम्म अण्डा पार्छ । पानीमाथि बाक्लो सिंगाडा वा कमलको फूलको पातमा घाँस–पात र झिँजा बटुलेर भाले ओथारो बस्छ । पानीमा अण्डा नडुबोस् भनी ओथारोका लागि ठाउँ छान्छ ।

यो चरा सन् १७८६ मा इटलीका जी.ए. स्कोपोलीले विश्वलाई चिनाएका थिए । तैरिने वनस्पति भएका तालपोखरीमा पाइने यो चित्ताकर्षक चरा नेपालमा विशेषगरी तराईमा पाइन्छ । १ हजार ५ सय मिटर उचाइसम्म पाइएको रेकर्ड भए पनि नेपालमा भने तराईमा बढी पाइन्छ । ‘आजभोलि पोखरा उपत्यकामा फाटफुट्ट पाइन्छ,’ चराविद् टीकाराम गिरी भन्छन्, ‘अहिलेसम्मको रेकर्डमा नेपालमै सबैभन्दा बढी कपिलवस्तुको जगदीशपुर तालमा पाइएको छ ।’

सन् १९८८ मा जगदीशपुर तालमा ८५ जलअप्सरा रेकर्ड गरिएको आईयूसीएन रेडलिस्टमा उल्लेख छ । त्यसयता त्यहाँ जलअप्सरा निरन्तर बढ्दै गएका छन् । अहिले यो चरा २ सयको हाराहारीमा भएको अनुमान छ ।

प्रकाशित : भाद्र ११, २०७९ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?