कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
कोसेली

भेन्टिलेटरमा अभिव्यक्ति स्वतन्त्रता

सुल्ताना बानु

अभिव्यक्ति स्वतन्त्रता के हो ? साधारणतया अभिव्यक्तिको स्वतन्त्रता भनेको आफ्नो भाव, विचार र तर्क प्रस्तुत गर्नु हो । तर, यसको चेत फैलिन थालेको र अभ्यास गरिएको धेरै भएको छैन । साहित्य पाठकलाई विचारको उच्च सोपानमा पुर्‍याउने, विचारमा द्वन्द्व सिर्जना गर्न सिकाउने र कुनै पनि कुरालाई नखुलेको झ्याल खोलेर हेर्न सिकाउने विषय हो । बुकर प्राइजद्वारा सम्मानित ‘मिडनाइट्स चिल्ड्रन’ का लेखक सलमान रुस्दीका कृतिहरू पढ्दा पाठकले माथि उल्लिखित विचार अनुभव गर्न पाउँछन् ।

भेन्टिलेटरमा अभिव्यक्ति स्वतन्त्रता

विश्वले नयाँ उम्दा साहित्यकार पाएको राम्ररी अनुभव गर्न नपाउँदै उनको अर्को कृति ‘द सटानिक भर्सेस’ विवादमा आयो । सटानिक भर्सेसले मानौं दुनियाँलाई दुई ध्रुवमा विभाजन गर्‍यो– एकातर्फ उनको पुस्तकको सारलाई स्वीकार गर्नेहरूको र अर्कोतर्फ अस्वीकार गर्नेहरूको । अस्वीकार गर्ने समुदायमा विशेषतः इस्लाम अनुयायीहरू थिए । उनको त्यस पुस्तकलाई प्रतिबन्ध लगाउने सबैभन्दा पहिलो देश नै भारत थियो । मुम्बईमा पुस्तकको विरोध प्रदर्शनीमा १२ जनाको मृत्यु भएको थियो । कैयौं पुस्तक जलाइए र पुस्तक पसलमा आगो लगाइयो । बिस्तारै यो आगो अन्य इस्लामी मुलुकमा फैलियो र इरानका धार्मिक नेताले त रुस्दीको नाममा फतवा नै जारी गरे ।

माइकल फुको भन्छन्, ‘ज्ञान शक्ति हो, शक्ति ज्ञानमा आधारित हुन्छ ।’ तर, फतवाले उनको ज्ञान र ज्ञानरूपी शक्तिलाई निष्क्रिय पार्ने प्रयास गर्‍यो । फतवापश्चात् उनी करिब ११ वर्ष भूमिगत भए । क्यामराका अघिचाहिँ केही समययता मात्रै उनी देखिन थालेका हुन् र कार्यकम–बहसहरूमा पनि उपस्थित हुन थालेका हुन् । सायद लामो समयको एकान्तवास भोगेपछि सलमानलाई लाग्यो होला कि जीवन सधैं यसरी नै चल्दैन । म एक लेखक हुँ अनि लेखकको पेसागत धर्ममा आधारित भई मैले लेखेका विषय नितान्त साहित्य हो नकि कुनै धर्म वा त्यसको आस्थाप्रति हमला गर्ने उद्देश्यले रचिएको कथ्य– हुन सक्छ, यस्तै विचारबाट प्रेरित भएर उनमा स्पष्ट धारणा बन्यो अनि त्यो सङ्कल्पमा परिणत भयो र त्यसले उनलाई अझ बढी निडर बनायो । फलस्वरूप उनी खुला रूपमा र स्वतन्त्रतापूर्वक आफ्नो जीवनयापन गर्न थाले त्यतिन्जेलसम्म जबसम्म उनीमाथि न्युयोर्कको एउटा कार्यक्रममा छुरा हानिएन ।

के थियो उनको दोष ?

सलमान रुस्दीमाथि जारी गरिएको फतवा र हमला साहित्य अनि त्यसको अस्तित्वमाथिको हमला हो । लेखनलाई उत्प्रेरित गर्ने विभिन्न कारक हुन्छन्, जसमा वास्तविकता, सन्दर्भ, समयावधि, अनुभव र कल्पना आदि पर्छन् । यी तत्त्वहरूले एक लेखकलाई हृदयस्पर्शी लेखक बनाउन सक्षम पार्छ । तसर्थ, एक हृदयस्पर्शी लेखक त्यो हो, जसले यथार्थको मात्रै वर्णन गर्दैन, कल्पनाको अद्भुत संसारको रचना पनि गर्छ । शिल्पकारले आफ्नो कलालाई आकार दिएझैं स्वरूप दिने दक्षता हुनुपर्छ लेखकमा । उसमा काल्पनिकतालाई अस्त्रको रूपमा प्रयोग गरी समकालीन परिवेश र भावी अवस्था दर्साउने खुबी पनि हुन्छ ।

साहित्यले हाम्रो संवेदनात्मक धारणालाई विस्तार गर्छ । तर, हामी आफ्नो विचारमा कट्टर छौं र अर्को व्यक्तिको दृष्टिकोणलाई अवरुद्ध गरिदिन्छौं भने त्यो साहित्य हुँदैन–कहलिँदैन, त्यो मानवीयताबाट दूर हुन पुग्छ । किनभने साहित्य अन्तर्मनमा सवार हुने साधन हो, त्यसले हाम्रो दार्शनिक क्षमतालाई विस्तार गर्छ । साहित्यले मानव मन र मस्तिष्कका इन्द्रियहरूलाई खोल्ने अनि खोतल्ने काम गर्छ । फलस्वरूप पाठकमा सृजनात्मक कला र संवेदनशीलताको विकास हुन्छ, जुन विकासले हाम्रो वर्तमान परिप्रेक्ष्यप्रति भिन्न दृष्टिकोणको विस्तार गर्न मदत गर्छ । त्यसैले हामी हाम्रा वरिपरि घट्ने सबै घटनालाई सहजै स्वीकार गर्दैनौं र त्यसबारे हामी प्रश्न गर्न थाल्छौं । तर, ती प्रश्नहरू नकारात्मक वा होच्याउने खालका भने हुँदैनन् । ती त हाम्रा जीवनलाई मार्गदर्शन गरेका र गरिरहेका दर्शनहरूको यथास्थिति बुझ्न प्रयोग हुन्छन् । र, त्यसैको प्रक्रिया र आधारमा सम्भवतः नयाँ सिर्जना गर्ने कोसिस समाजमा हुन जान्छ । सलमानले पनि आफ्ना लेखनीमार्फत एक नयाँ सोच र कालखण्डको सिर्जना गर्न खोजेका थिए । यदि उनका कृति वा कुनै पनि उत्तम साहित्य पढेका संसारका पाठकले यही सार बुझेका भए सायद सलमान आज अस्पतालमा हुने थिएनन् ।

प्रकाशित : भाद्र ४, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?