३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
फोटोकथा

ढुंगेयुगको सहर

बीएन जोशी

जर्जियाको राजधानी टिब्लिसीदेखि झन्डै ६५ किलोमिटर उत्तरपश्चिम दूरीमा छ– गोरी सहर, जुन सोभियत युनियनका नेता जोसेफ स्टालिन (सन् १८७८) को जन्मस्थान हो । यहाँदेखि दस किलोमिटर पूर्वमा छ– विश्व सम्पदामा सूचीकृत प्राचीन सहर अप्लिसिखे अर्थात् केभ टाउन । मत्खभरी नदी किनारमाथिको उचाइमा अवस्थित खुइलो चट्टानी पहाड हो यो । अभिलेखले भन्छन्– सुरुवाती चरणको आइरन युगमा फलामको धारिलो हतियारले काटेर यो सहर निर्माण भएको हो । पुरातत्त्वविद्हरू यो स्थानलाई जर्जिया तथा युरोपकै सबैभन्दा पहिलो मानवनिर्मित व्यवस्थित सहर भन्छन् । यो सहर स्थापना गराउने श्रेय कार्टलोसका नाति, स्खेताका छोरा अपलोसलाई जान्छ ।

ढुंगेयुगको सहर

अप्लिसिखेमा मानिसको सबैभन्दा अघिल्लो उपस्थिति–चिह्न इसापूर्व दोस्रो सहस्राब्दीको अन्त्यतिरको रहेछ । यी संरचना भने पहिलो सहस्राब्दीतिरको हो । अप्लिसिखे जर्जियाको मुख्य शक्तिकेन्द्रका रूपमा आठौंदेखि दसौं शताब्दीमा पुनरोदय भयो, जतिखेर टिब्लिसीमाथि मुस्लिमले जित हासिल गरे । चौधौँ शताब्दीमा मंगोलको आक्रमणपछि यो सहरको भव्यता क्रमशः मासियो र विदेशी आक्रमणका बखत आक्कलझुक्कल शरण लिने ठाउँमा सिमित रहन पुग्यो ।

यहाँ कडा चट्टानका कापहरूमा खोपीहरू छन् । ती खोपी प्राचीनकालमा मानिसका आवास थिए । पसल, कबल अलग थिए । ठूला सभाहल थिए । बस्तीको मध्यभागबाट सर्पजस्तै सुल्किएको देख्न सकिन्छ पानीको कुलेसो । हाल भने खण्डहर छ । बस्तीको माथिल्लो भागमा पुनर्निर्माणपछि थोरै आधुनिक लाग्ने गिर्जाघर छ । अरु जे छन्, ती सबै संरचना ढुंगा खोपेर बनाइएका हुन् । यो सिंगो पहाड नै सुरुवाती चरणको एउटा सहर रहेछ ।

प्रकाशित : श्रावण २८, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?