२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रूमानी सुरहरू

किताबमा प्रेमका मात्रै कविता छैनन्, दर्शनका पनि छन् । कविको ठहर छ– प्रेम आध्यारोबाट उठेर आउँछ ।
महेश पौड्याल

प्रसिद्ध समालोचक क्लिन्थ ब्रुकले भनेका छन्, ‘विरोधाभास कविताको सबैभन्दा उपयुक्त र अनिवार्य भाषा हो ।’ यसमा विमति राख्न त सकिएला, तर विरोधावासी पदहरूको सङ्गति कवितालाई कलात्मक बनाउने एउटा शक्तिशाली उपकरण हो भन्नेमा विमति राख्नुपर्ने कुनै कारण छैन । विरोधाभासको एउटा प्रारूप ओक्जिमोरोन अर्थात् विरोधाभासी शब्दहरूको एकसाथ प्रयोग हो— जस्तो, ‘उज्यालो अन्धकार’, ‘जिउँदो लाश’, अथवा ‘एकान्त भीड’ ।

रूमानी सुरहरू

०७८ पुसमा कवि अमृतको कविता–सङ्ग्रह ‘एकान्त भीड’ बजार प्रवेश गरेको छ । एउटा सुन्दर ओक्जिमोरोनलाई नै सङ्ग्रहको शीर्षक बनाएर उनले एकैचोटि दुई विषय सङ्केत गरेका छन् । पहिलो, उनका कविताको मार्ग रुमानी वा ध्यानप्रधान कविताको मार्ग हो । दोस्रो, उनी सपाट, अभिधात्मक अभिव्यक्तिबाट टाढा, भाषाको आलङ्कारिक प्रयोग अँगाल्न चाहन्छन् । उनी मूलतः हृदयप्रधान कवि हुन् ।

सङ्ग्रहका ७९ कवितालाई कवि अमृतले ‘देश’, ‘समाज’, ‘भावना’ र ‘प्रेम’ गरी चार खण्डमा विभाजित गरेका छन्, यद्यपि कविताले यी विषयको भूगोलभित्र आफूलाई सीमित गरेको पाइँदैन ।

‘देश’ खण्डका कवितामा देशको समकालमा देखिएका विसङ्गतिको निर्मम आलोचना छ भने अन्य केही कवितामा परदेशबाट हेर्दा सम्झनामा दुखेको देशलाई अभिव्यक्ति दिइएको छ । उदाहरणका लागि, ‘रित्ता बाटाहरू’ मा उनी अचेल, सडकमा मान्छे होइन मात्र छाया दौडिरहेको देख्छन् । समस्या त्यस शासकका छ, ‘जसलाई भोकको द्वन्द्व कस्तो हुन्छ थाहा छैन ।’ उसलाई केवल आदेश दिने तरिका मात्रै थाहा छ । उनको मूल्याङ्कनमा हिजोआज देशको मुहार आमाको मुहारजस्तो मुस्कुराउँदैन । परदेशबाट पनि देशको अनुहार उस्तै विरक्तलाग्दो देखिन्छ । सपनामा आकाश खसेको देखिन्छ । झन्डा झुक्दै गरेको देखिन्छ, तर पनि त्यसलाई कर्मबल र देशभक्तिले उठाउने अठोट नागरिकहरूमा छ । कवि अमृतलाई थाहा छ— किनारमा बाँचेको एउटा मान्छेले पनि उसको सामर्थ्यको उपकरणले बोकेर देश बचाइरहेको हुन्छ कारण देशै नरहे आफू पनि रहँदिनँ भन्ने बोध उसलाई जरुर छ ।

‘समाज’ नाम दिइएको खण्डका कविताले नेपाली समाजका विविध पाटाको उत्खनन गरेको छ । यद्यपि यिनमा पनि कविको ध्येय भने समाजशास्त्रीय, अर्थराजनीतिक वा ऐतिहासिक विवेचना होइन । यी सम्बन्धहरूका कविता हुन् र यहाँ आएका अभिव्यक्तिमा पनि रुमानी रङ नै पाइन्छ ।

गाउँसँगसँगै सहरका कतिपय पाटाहरूको चित्रण पनि यस खण्डका कविताले समेटेका छन् । ‘न्युरोड’ यस्तो एउटा कविता हो, जसमा भीडको कुल्च्याइँबाट एक निमेष आराम नपाएको र अविराम मोलतोलमा मग्न व्यापारीहरूको कोलाहलबाट एकै छिन पनि चैन नपाएको सहरको दारुण चित्रण छ । आमाहरूको चित्रण छ कतै, जसको सापेक्षतामा समाजमाथि टिप्पणी गरिएको छ— ‘यो समाजले आमाहरूलाई महान बनाएर आमाहरू अन्यायमा छन् ।’ कतै भने समयसँग अन्त्यहीन सिँगौरी खेलिरहेका मान्छेको दुःसाहसको कथा समेटिएको छ र त्यस सङ्घर्षमा नश्वर मान्छेले अँगाल्ने भनेको लज्जासिवाय केही पनि हुनेवाला देखिँदैन । करिब तीन दर्जन कविताहरूसहित उभिएको ‘भावना’ को खण्ड हृदयप्रधान कविताहरूको फूलबारी हो । यसमा कविका आशा, निराशा, सपना, उच्छ्वास र कल्पनाहरूको निर्बन्ध उडान पाइन्छ ।

कवि अमृतको सम्झनाको क्यानभासमा अटाएका उच्छ्वासहरू पनि विविध छन् । कतै परदेशीको मनमा दुखिरहने देशको सम्झना छ, जहाँ छिप्पिँदै गरेको साँझ उस्तै उस्तै लागेर पनि देशको साँझभन्दा निकै फरक लाग्छ । विसङ्गत समयले छोडिगएका अनेक चोटहरू दुख्छन् र दुखिरहन्छन् । तर पनि, ‘बाङ्गा धर्साहरू’ मा भनिएझैं तिनै

बाङ्गा धर्साले नै सही बाटोमा हिँड्न सिकाएका हुन् भन्नुपरेको छ । भोकभन्दा अगाडि बढ्नै नसकेको भोको इतिहास एकातिर छ भने अर्कोतिर कठोर प्रहार गरी छोडिजाने, ईश्वर हो वा दुश्मन, चिन्नै नसकिएको समय छ, जसले कविलाई आधा जीवन बोध गराएर अगाडि बढेको छ, र आधा भने अँध्यारोमै राखेको छ । जून उदाउने आकाशको टुङ्गो नभएको सहर पनि त्यतै कतै छ, जहाँ झुल्कने जून हेर्न, सहरवासीसँग कुनै बार्दली छैन । एकातिर भोको पेटको आर्तनाद र अर्कातिर असंवेदशील ईश्वरका बीच अलमलिएका मान्छे छन् । समयको जालमा बेखबर, निरीह मान्छेहरूको फेहरिस्त छ कविताभरि, जहाँ उनीहरू दोधारको यात्रा गर्छन्, जसमा ‘केही छुट्नु छ, केही फुट्नु छ, हर्ष र विस्मातको नदी तर्न नसकेर मान्छे कहीँ कतै अल्झी बस्दोरहेछ ।’ परिणाममा, अँध्यारोको साम्राज्य विस्तारित छ । न मान्छे आफैंलाई भेट्न सक्छ, न ईश्वरलाई, जो जति पुकारे पनि सङ्कटमा कतै देखा पर्दैन । तर पनि, अनेक बाधाहरूका बीच यात्रालाई अगाडि बढाइरहने मन छ कविसँग र त्यसै मनको बलमा महान् यात्राहरू तय गर्नु छ । आखिर, रहरले दुखाएका पैतालासँग गुनासो गर्नु बेकार हो भन्ने कविलाई केले छेक्नु र ? दुःख र सुखमा सगरमाथा भएर बाँचिरहनु र यात्रामा अविरल भएर हिँडिरहनु उनको अठोटको उपज हो । र, त्यस अनवरत यात्रामा उनलाई चिन्नु छ— उज्यालो के हो, र अँध्यारो के हो ।

सङ्ग्रहको अन्तिम खण्ड ‘प्रेम’ हो तर यहाँ प्रेमका मात्रै कविता छैनन्, दर्शनका पनि छन् । प्रेम, अँध्यारोबाट उठेर आउँछ भन्ने कविको ठहर छ । उनलाई लाग्छ, बाँच्न जाने न श्मशान शान्तिको अन्तिम विन्दु हो ! मिलन, बिदाइ, याद, आह्लाद, समर्पण, आशा, पागलपन, अनुरोध, अठोट आदि पनि यस खण्डका कविताका विषय बनेका छन् ।

अमृतको काव्यिक मार्ग रुमानी कविताकै मार्ग हो । कविले इमानदार भएर ध्यान दिनुपर्ने कतिपय पक्ष छन् । स्थापित विषयहरूको पुनरावृत्तिको दोष कवि अमृतमा पनि छ । अमृतका भावुक कविताका कतिपय हरफले सम्भाव्यताको लय गुमाएका छन् । त्यहाँनिर कविता हो, कल्पना हो वा प्रतीकात्मक अभिव्यक्ति हो भनेर छुट पाइँदैन । कवितालाई जुन उपसंहारमा पुर्‍याउन चाहन्छन्, त्यसमा उनलाई हतारो छ । कविताले विकास गर्न खोजेको ध्वनि परिपक्व नहुँदै उनी उपसंहारमा झ्वाट्ट हाम्फाल्छन् र कतिपय बेला कविताको शरीरको कुराले पाइतालामा थोपरिएको उपसंसारलाई न्याय गर्दैन ।

प्रकाशित : श्रावण २८, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?