१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

९ लाख किराती हुनुका दुःख

सिरिजङ्गा लिपिमा लेखिएको छ, ‘गोर्खालीहरुले तामाकोसीबाट वलिङहाङ र उलिङहाङ खम्बूलाई लखेटेका थिए । अरूण तरेर पुलुङ, इयकहाङ, जयकर्ण, चतुभद्रसँग वलिङहाङले गुहार मागेका थिए । सहयोग नपाएपछि उनी शुकनाक्रामा लुकेर बसेका थिए ।’
अर्जुनबाबु माबुहाङ

प्राचीन नेपालका किरात
२०६७/६८ तिर कवि मात्रै थिए– उपेन्द्र सुब्बा । उनी तिखेदेवल बस्थे । तिखेदेवल बोलाएर उनले मलाई नाहाङ्मा (घरमूलीको शिर उठाउने पूजा) गर्न लगाए । मित्र दिलविक्रमजीले भाले च्यापेर बसिरहेका थिए । थान राखियो । पापो—आङ्देम्बेहरूको नाहाङ्मा मुन्धुम (सामाजिक इतिहास) फलाक्न थालियो । मैले ताप्लेजुङको सिङ्सादेन (जौको खेतीे), तोक्पेगोला (तिब्बत र नेपालको अन्न/भात बेच्ने बजार) हुँदै सोदुङ वरक ( तोक्पेगोलामा अवस्थित सृष्टि पोखरी) देखि मुन्धुम उठाएँ र पाँचथरको आङ्साराङसम्म पुर्‍याएर कविज्यूको शिर उठाएपछि रोकिएँ ।

९ लाख किराती हुनुका दुःख

कविज्यू सोचिरहेका थिए, ‘यसले कसरी मुन्धुमलाई काठमाडौं अथवा म बसेको ठाउँसम्म पुर्‍याउँछ, हेरूँ ।’ मुन्धुमलाई तमोर कटाउन सकिएन । त्यसपछि कविज्यूले ‘यसको मुन्धुम सकिएछ’ भनेर दिलविक्रमजीलाई भाले मार्न इसारा गर्नुभो । लिम्बूहरू किरातवंशी नभएको प्रमाण हेरौं । पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका अम्लाबुङका अम्बिकाप्रसाद आङ्देम्बेसँग भएको विसं १८८९ वैशाख १७ को चिर्कटोमा लेखिएको छ ः

राज वंसौली

षामपोंपाले कुमिङ फुइफुटुवा वये तांसां २ थाहांले कुमिं श्रीजांगा थेवे हां वये ।। ३ ।। मुनाफेन किरातीहांहारे षुंङ्छि मीं ।। १ ।। श्री यालम्वरले फांकिप तोंवे नेपालेयो हां चोगु ः श्री वु वर्मा कीरातीसोरले नु किप तांवेआं नुसि तांवे नेपालेयो हां चोगु ।।४।। धनुकहांले सुमसीआं नुसी तांवे हां चोगु ।...(तस्बिर १)

चिर्कटोको शीर्षकमा ‘राज वंशावली’ लेखिएको छ । त्यसपछि १ नं मा खामबोङ्बाको नाम भुइँफुटुवा, जो आकाशबाट झरेका सिरिजङ्गा थेबे नामका राजा थिए लेखिएको छ । बाँकी संख्या थपेर मुनाफेन किराती वंशी राजाहरू यलम्वर, भूमि वर्मा पविहाङहरूले वर्षौं राज गरेको लेखिएको छ । टिपोटअनुसार, सिरिजङ्गा थेबे भुइँफुटुवावंशी हुन् भने मुनाफेन, यलम्वर, भूमि वर्मा, पविहाङहरू किरातवंशी हुन् । लिम्बूहरूसँग पनि नेपाल खाल्डो र किरातको कुनै सम्बन्ध नभएको यो कागजले झनै स्पष्ट पर्छ ।

प्राचीन नेपाल उपत्यकाका किरातकालीन ‘कुथेर, माप्चोक, लिङ्वल,शुल्ली’ जस्ता प्रशासनिक शब्दले जग्गा, सिँचाइ, खानेपानीको कर उठाउने अधिकारिलाई जनाउँछ (धनवज्र वज्रचार्य, विसं २०३०/२०५३) । आज यी प्रशासनिक शब्दहरू राई, लिम्बूको बोलीचाली भाषामा पाइँदैनन् । राईहरूको न्याय, माटो र पानी हेर्ने प्रशासकलाई वालिखा, पासुङ, थाङपुङ हाङ्पा भनिन्थ्यो (ब्रायन हग्टन हज्सन, सन् १८८०/१९८२) । लिम्बूहरूको न्याय निसाफ तुत्तु तुम्याङ, पासिङ पादाङ (भद्रभलाद्मी)ले चुम्लुङ (सभा) मा गएर साम्योक लुङयोकथिम (दुबोढुंगो छुवाएर) छिन्थे ।

यद्यपि लेखाइको ट्रेन्ड भने सुनीतिकुमार चटर्जी, इमानसिंह चेम्जोङदेखि जर्ज भान्ड्रिम हुँदै कमल मादेनसम्मले मध्यएसियाका किरातहरूसँग पूर्वका राई लिम्बू जोड्ने छँदै छ । आज मानवशास्त्र, इतिहासको खोजी भइरहँदा हाम्रो सामाजिक इतिहास मुन्धुम/मुन्दुम मान्ने कि नमान्ने ?

राईहरू खम्बू हुन् किरात होइनन्

...अटले नु बटले लेगुवानु कुङ्सा ।

पृथीनारान बाना उक्टा धर्ती थुङ्सा ।।

(अटले र बटले लेगुवाबाट आए ।

पृथ्वीनारायण आउँदा धर्ती काँप्यो ।)

....गोर्खा–खम्बुवान युद्घताका हतुवागढीका अटलसिं र बदलसिं खम्बू अरुण तरेर लेगुवाखोलाको बाटो हुंदै भागेपछि बनेको सवाई हो यो । भोजपुरको रानिवास, घोरेटार आसपासका वलिङहाङ राईहरूले आफूहरू खम्बू भएको र सुनुहाङ, कर्माहाङ, अटलसिं र बदलसिं जस्ता हतुवागढीका शासकहरू आफ्ना

पुर्खा भएको बताए । हज्सन पाण्डुलिपिको खण्ड ८६ मा संकलित जोभानसिं फागोले याक्थुङ्बा लिम्बू भाषाको सिरिजङ्गा लिपिमा लेखेका १३१ देखि १३२ सम्मका लेखोटमा गोर्खालीसँग लड्ने वलिङहाङ र उलिङहाङ खम्बूहरूको चर्चा यसरी गरेका छन् ः

लेखोट १३१ ..पेनेहाङ लन्देआङ योहाङलेन साप्तुङरो । नाः नाम्धानु फेरेरो । नेपाला नेवारहाङ मेक्सुरो । खम्फाङ ग तावाकोसी थाबेरो । खबु नाः ग वलिङहाङ उलिङहाङ युङेरो । गरखानु मेथक्तेरो । तावाकोसी कप मेफत्तुरो । नुःतङ थक्तेसिरो । गरखाले यरिक याप्मि सेरुपिरुसिरो । अरुनाङ हेत्ना ग पुलुङहाङ, इयकहाङ, याक्थुङबा हेप्मा....

जयकर्ण चतुरभद्र मेयुङे हेप्मो वलिङहाङ कुहार नाक्तेसाङ कुहार मेम्फारुन नुतङ केरेल्ले ग खबुहाङ मेक्सुरो । गरले रो । नुतङ मेथक्तेले इरालेसा चुक्पा हेन्जा हा सम्बाङ हेप्मो मेहागु मेसेरुसिरो । खुन्छि साः केयाक्माहा मेसुन्दुसिरो । सिगिनाः येम्विच्छासाःइन काक मेलतु मेसेरुसिरो । गरखाले अम्फा चोगुरो । खम्फेले वाला वलिङहाङ खबुइन...(तस्विर २) ।

(भावानुवाद ः क्षेत्री राजाको उदय भएदेखि यता लेखे है । पर पश्चिमबाट आयो है । नेपालको नेवार राजालाई जित्यो है । खम्बूको तिर वलिङहाङ उलिङहाङ थिए है । गोर्खालीसँग लडाइँ भयो है । ताँबाकोशी घेरा हाल्दै आक्रमण गरे है । सातवर्ष लडाइं भयो है । गोर्खाले धेरै मान्छेहरू मार्‍यो है । अरुणनदीदेखि यता त पुलुङ इयकहाङ याक्थुङबा तिर... जयकर्ण चतुरभद्रसँग वलिङहाङ गुहार माग्न आएपनि पाएनन । लडाईं भएको सात वर्ष पुग्दा खम्बूराजालाई जित्यो है । गोरखाले है । मसिना बच्चाहरूलाई ओखलमा किच्याएर मार्‍यो है । गर्भवती महिलाका पेटबाट छोरा हो भन्दै डल्लै निकालेर मारिदिए है । गोर्खाले यस्तै गर्‍यो है । अनि वलिङहाङ खम्बु त ...........)

लेखोटअनुसार, गोर्खालीहरूले तामाकोसीबाट वलिङहाङ र उलिङहाङ खम्बूलाई लखेट्दै लगे । उनीहरूले खम्बू गर्भवती महिला र बालबच्चाहरूको ज्यादतीपूर्ण ढंगले हत्या गरे । वलिङहाङले अरुण तरेर पुलुङ, इयकहाङ, जयकर्ण, चतुभद्रसँग गुहार मागे । सहयोग नपाएपछि उनी शुकनाक्रामा लुकेर बसे । त्यसपछिको अर्को लेखोट (१३२) मा अगमसिं खम्बू चौतारियाको नाम भेटिन्छ । अगमसिं चौदण्डीका अन्तिम राजा कर्ण सेनको चौतारिया थिए । चौदण्डीगढी गोर्खालीले खोसेपछि उनी राजा कर्णसेनका परिवारका साथ आश्रय लिन विजयपुर पुगेका थिए । लेखोट भन्छ– हिजो गोर्खालीसँग लड्ने आजका राईहरूका पुर्खाहरू वलिङहाङ, उलिङहाङ, अगमसिं खम्बू थिए ।

गोर्खालीहरूले राईहरूलाई ‘खम्बू’ सम्बोधन गरेको कागज मुस्किलले मात्रै भेटिन्छ । लिम्बुवानको इलाम फाकफोकमा पुगेका जहरसिं खम्बूलाई दसखम्बूले गर्ने राईगिरी/पगरीको अधिकार गोर्खालीले थामिदिएको विसं १८९६ को कागज भेटिएको छ (भगीराज इङ्नाम, विसं २०७७) । सिक्किममा सन् १८९१ (विसं १९४८) मा जनगणना भयो । जातिहरूको कोल्युममा लाप्चा, भुटिया, लिम्बू, गुरुङ, मुर्मी, राई/जिमदार, खम्बू, कामी, ब्राह्मण, मगर, क्षत्री, नेवारको संख्या भेटिन्छ । खम्बू पुरुषको जनसंख्या ७२६, महिलाको जनसंख्या ६४८ र बालबालिकाको जनसंख्या ५८९ छ । राई/जिमदारको पुरुषको ७४२, महिलाको ६९१ र बालबालिकाको ५९१ छ (एचएच रिस्ले, सन् १८९४/१९७२) । किरातको उल्लेख छैन ।

९ लाख किरातको कथा

हज्सनले संकलन गरेका लेखोटहरूमा लुङ्गुन (लुगुन ?) १. वालिं (वालिङ ?) २. योंछेर ३. चामलिं (चामलिङ ?) ४. थोलुं (थुलुङ ?), ५. संम्गपां (साम्पाङ ?) ६. दिलपा (दिल्पा ?) ७. वषिं (बोखिम ?) ८. आंटेन ९. गरि जम्मा नौ किरातहरूको उल्लेख छ (हज्सन पाण्डुलिपि खण्ड ७३, विसं १९०३) । उल्लिखित नौ किरात भनेर भोजपुर र खोटाङका राईका थातथलो र थरका नामहरू पुष्टि हुन्छन् । पृथ्वीनारायण शाहले अभिमानसिंह, पारथ भण्डारी र खार्पाका हरिनन्द पोख्रेललाई विसं १८३० मा लेखेको पत्रमा ‘नौलाख किरातका मुलुक मदेश पाहाड’ वाक्यांशहरू परेका छन् (बाबुराम आचार्य, विसं २०२२) । हज्सनले घरधुरीको दुई आनाका दरले तिरो उठेको आधारमा ‘नौलाख किरात’ भएको तर्क पनि राखेका छन् (ब्रायन हग्टन हज्सन, सन् १८८०/१९९२) । वास्तवमा यिनै नौ किरातहरूको सेन शासकहरूसँगको उठबस र पराक्रमलाई लिएर ‘नौ किरात’ लाई नै ‘नौलाख किरात’ भनिएको हुनुपर्छ । वास्तवमा खम्बूहरूको पराक्रमले सेनहरूको चौदण्डी राज्य थामिएको थियो । त्यसो त मकवानपुरका राजा दिग्बन्धन सेन र उनका ज्वाइँ पृथ्वीनारायण शाह ज्वाइँ–जेठानबीच नौलाखे हार र एकदन्ते हात्तीको विषयमा मनमुटाव भएको थियो । ‘नौलाख’ शब्द लोकप्रिय हुनुको कारण यो पनि हुन सक्छ (तस्बिर ३) ।

राई, लिम्बूमा ‘किरात’ शब्द

गोर्खालीहरूले खम्बूहरूलाई ‘खम्बू’ भनी चिन्न चाहेनन् । ‘खम्बू’ सम्बोधन गर्दा आफूसँग लडाइँ गर्ने खम्बू नायकहरू र उनीहरूमाथि गरिएको ज्यादतीविरुद्घ कुनै पनि बेला विद्रोह हुन सक्ने डर थियो । त्यसैले गोर्खालीले खम्बूहरूलाई मासिन्या/मासिने ‘किरात’ भने ।

अदौमा याक्थुङ्बाहरूको साना–साना लुङबुङ (राज्य) हरू थिए । सेनहरूले याक्थुङ्बाहरूलाई चिन्न ‘लुङबुङ’ भन्न जानेनन् र ‘लिम्बू’ भने । लिम्बूहरूको माटोलाई गोर्खालीले ‘लिम्बुवान’ भने । मुगल ठाउँका नामहरूको अन्त्यमा ‘आन’ प्रत्यय लागेर पाकिस्तान, खालिस्तान, उब्जेकिस्तान भएजसरी ‘लिम्बू’ शब्दमा ‘आन’ जोडियो कि !

किनभने गोर्खालीहरूले ‘मुलुकी ऐन, सुब्बा, हवल्दार, जमदार’ जस्ता मुगलकालीन ९० प्रतिशतभन्दा बढी प्रशासनिक शब्द प्रचलनमा ल्याएको देखिन्छ । ठाउँ र कानुन जोडिँदा ‘लिम्बुवान’ शब्दको व्युत्पत्ति हुन पुग्यो कि !

जस्तो ः ‘मुग्लान’ शब्द नै मुगलकालमा नोकरी गर्ने नेपालीहरूले बोलेका थिए । ‘लिम्बू र लिम्बुवान’ शब्द याक्थुङ्बाहरूको राज्यसँग जोडिन पुगे पनि राणाकालदेखि यता प्रशासनिक क्षेत्रको विस्तार गर्दा अरुणपारिका भूभागलाई ‘पल्लोकिरात लिम्बुवान’ भनियो ।

गोर्खालीले राई, लिम्बूहरूलाई ‘किरात’ मात्रै भनेनन्, राईगिरी र सुबाङ्गीजस्ता राजस्व उठाउने स्थानीय अधिकारी पनि बनाए । गोर्खालीको बोली नै कानुन भएकाले उनीहरूले बोलेको ‘किरात’ शब्द मर्यादित मात्रै बनेन, लोकप्रिय पनि बन्यो । राई, लिम्बू, जोकोही किरात बन्ने नै भए । हिन्दु ग्रन्थहरूमा पढिने किरात र हिन्दु देउ–देउतासँगको सम्बन्धलाई पनि गोर्खालीसँग नजिक पुगेका राई, लिम्बूले आफ्नो वंश र मुन्धुम/मुन्दुम संस्कारसँग जोड्न थाले । अनि त राई, लिम्बूहरूले आफूहरू पनि हिन्दु वैभवशाली शासकजस्तै भएको भनी गर्व गर्न थाले । ‘किरात’ शब्दले यसकारण खम्बू/राई र याक्थुङ्बा/लिम्बूहरूको आस्था, संस्कार, इतिहास र राजनीतिमा प्रवेश पायो ।

किरात यायोख्खामा संगठित राईहरू गोर्खा–खम्बूहरूको कारुणिक इतिहासबारे बोल्न चाहँदैनन्, इतिहास बिर्सन राजी छन् । धेरै भाषी भएकाले किराती भनेपछि एकजुट हुन सजिलो हुन्छ भन्ने बुझाइमा छन् राईहरू । किरातीका नाममा सुनुवार, याख्खा, मेवाहाङ, याम्फू, लोहोरूङ, आठपहरिया र लिम्बूहरूलाई पनि भाषिक, जातीय र राजनीतिक रूपमा पनि प्रभाव पार्न सकिन्छ भन्ने पनि छ । हालसालै मात्र उनीहरूले लिम्बूहरूको सिरिजङ्गा लिपिलाई किरात भन्नुले पुष्टि हुन्छ । लिम्बुवानको इतिहास नामेट पार्दै किरात कोसी/सगरमाथा प्रदेश नं १ को नामाङ्कन गर्न उनीहरू एकसूत्रीय ढंगले लागिपरेका छन् ।

मेटिँदै छ पहिचान

राईहरूले आफ्ना पुर्खा र पहिचानमा खम्बू लेख्ने, छोड्ने अनि फेरि लेख्ने गरिरहेका छन् । माओवादी नेता गोपाल किराती पहिले बान्तवा राईहरूको पाछा बटुल्थे र ‘खम्बू’ लेख्थे । मुन्दुम संकलक भोगीराज चाम्लिङ लेख्छन्– ‘खम्बू र मेवाहाङका हालका सन्तान राई हुन् ।’ जबसम्म राईहरूले आफूलाई ‘खम्बू’ भनेर आफ्नो इतिहास खोतल्दैनन् तबसम्म उनीहरूको संस्कार र इतिहासमा विचलन आइरहन्छ ।

लिम्बूजातिमा भने किरातधर्मी हौं भन्ने सत्तेहाङ्मा पन्थीहरूले समाज सुधारक माहागुरु फाल्गुनन्दलाई देवत्वकरण गर्दै मुन्धुमी स्थलहरूमा डमरु, त्रिशूल राख्ने र होम यज्ञादि गर्ने अथवा लिम्बूहरूलाई हिन्दुकृत गराउने अभियान चलाएका छन् । कारण लिम्बूहरूले आफ्ना पुस्ता, थातथला, खोलानाला, पोखरी, वनस्पति, पशुपन्छीका नामदेखि परम्परागत ज्ञान बिर्संदै गएका छन् । वास्तवमा पूर्वका राई, लिम्बूका लागि किरात सभ्यता नभई सभ्यता नष्ट पार्ने भ्रमचाहिँ हो ।

प्रकाशित : श्रावण २१, २०७९ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?