कम्रेडको जितपछि
भोट गन्ती सकिएकै थिएन
गाउँलेसँगै रौसिएर त्यस दिन
रकेटझैं उड्यो नजरमान बम्जनको खुसी
र आकाशको चउरमा मडारियो
नमडारियोस् पनि किन !
ऊ पनि लाल मतदाता थियो
खर्च भएथ्यो ऊ जस्ताको फगत एक भोट !
सट्टामा
प्रिय कम्रेडलाई मेयर पाए
दिनैभरि खाए, पिए, खादा लाए
र ठाने
दुनियाँलाई पाइतालामुनि अटाए ।
राति अबेर नजरमान घर पुग्यो
ऊ अलि मुडमा ओर्लियो
चरिमायातिर लच्किादै बतास लायो–
‘सुन् बूढी, आजबाट हामी नि सार्वभौम भयौं !’
सुनेर चरिमायाको चम्केको आँखाले खोज्यो
– ‘बूढा अरब जाने टिकट हो यो ?’
भेउ नपाएर उसलाई छि्यूँ लाग्यो
र भोली बुझ्ने तारिख लिादै भारी बिसायो
चरिमाया त्यस रात खुबै उदार भई ।
भोली दिनैभरी विजय जुलुस हिँड्यो
अबिरमा पुरिएको थियो नजरमान
बेलुका मुड मात्रै लिएर रित्तो फिर्यो
जवाफ नभेटेकी चरिमायाको मन यता चिसियो
र उसको त्यो रात अनुदार बस्यो ।
चरिमाया छेउ नपरेकी त्यो चिसो रात
तनावले नजरमानको निद्रा खलबलियो
डोकाले छोपेको कुखुरो हेर्दै सोच्यो
त्यो ‘सार्वभौम’
खेत थियो कि बारी ?
वृद्ध बाउको ओखती थियो कि छोराको स्कुले–फी ?
कस्सिएको बिर्को खुलेन
कम्रेडलाई त्यही सोध्न अर्को बिहानै बिम्झियो
कुल्ला नगर्दै नजरमानको नजरमा चढ्यो
परऽऽ कम्रेडको डिलमाथि अनौठो जन्तु
दौडेर ऊ निमेषमा त्यो छेउ पुग्यो
मौरीजस्तै गाउालेबाट जो घेरिएको थियो
कम्रेडकी दुलहीसँग एकथरी धूप–अछेता छर्दै थिए
त्यो रहेछ
– कम्रेडको नयाँ डोजर
यसरी गाउँलेका खातिर
डोजर गाउँ छिर्यो
र बंगुरझौ जताततै खोदल्न थाल्यो ।
त्यस यता
डोजरलाई भ्याई–नभ्याई भो
रमिताका लागि धूले केटाकेटी धुइरिए
घरका कुनाकानीमा खोकिबस्ने बूढाबूढी ओइरिए
परदेसिएका लाहुरेका पियारीहरु सोहोरिए
यसबीच
गाउँलेको बातचितमा धमिलो खहरे पनि मिसियो
घरी डोजर चालक र सातमा पढ्ने धनमायाको हल्ला
घरी धनमायाको समवयी पेमासँग सहचालकको सल्लाह
यसबीच
आगलागी भो, महामारी भो
जेजे भए नि गाउँलाई एउटै सन्तोक भो
कम्रेडले बरालिएको विकास गाउँमा हुल्यो ।
गएको असार
बाटो डोजरले खन्दै जाँदा
आधा रातमा पहाड खस्यो
त्यो पहाडमुनि नजरमानको घर फस्यो
बाटोको मुआब्जा नपाएर ऊ सधैं पिरोलिन्थ्यो
ऊ सपरिवार नभेटिएको पनि
आज उन्नाइस दिन कट्यो
केवल
चरिमायाको एक्लो चप्पल भेटियो ।
कम्रेडको डोजर निस्फिक्री चलिरहृयो !
प्रकाशित : श्रावण २१, २०७९ १०:०२