आत्मा चर्ने ठाउँ- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्मा चर्ने ठाउँ

यात्राको सबैभन्दा महफ्वपूर्ण अवयव के हो ? यात्रा, विश्राम, सहयात्री वा गन्तव्य ? यात्रा नै सबैभन्दा महत्त्वपूर्ण हो । हिँडिरहे जस्तोसुकै गतिमा किन नहोस्, ढिलो चाँडो गन्तव्य पुगिन्छ । कतै न कतै सहयात्री भेटिन्छन् । बस्, यात्रा रोक्नु हुँदैन । विश्राम लिनुपर्छ यात्रा–दौरान । तर, यात्राबाट विश्राम लिनु हुँदैन ।
सहयात्री को हो ? आराम कुर्सीमा बसेर थाहा लाग्दैन । जुत्ताको फित्ता कसेर, झोला भिरेर यात्रामा निस्केपछि मात्रै थाहा हुन्छ ।
रोशन शेरचन

जलवायु परिवर्तनसम्बन्धी गोष्ठी सकेर २२ फेब्रुअरी, २०२२ मा सहकर्मीहरू लक्ष्मी भट्ट, शंकर पौडेल, मनीष श्रेष्ठ, ज्ञानेन्द्र जोशी र म पोखराबाट फर्कंदै थियौं । मर्स्याङ्दी खोलाको दृश्यले गोष्ठीको थकान बगाउँदै लगिरहेको थियो । आँबुखैरेनी नजिक टायर पन्चर भयो । ताजा हावा लिन गाडीबाट बाहिर निस्क्यौं । तोरी फुलेको पहेँलपुर बारी देखियो । बल्ल पो दृष्टि त्यतातिर गयो । देख्नलाई त रोकिनुपर्ने रहेछ ।

दार्शनिक स्वभावका लक्ष्मी भट्टलाई म २७ वर्षदेखि चिन्छु । जीवनका आधारभूत प्रश्नप्रति जिज्ञासु र निर्भीक छन् उनी । २५, २६ वर्षको उमेरमा हामी वन क्यापसमा दर्शन र अध्यात्ममाथि खुब कुराकानी गर्थ्यौं । ओशो, यूजी कृष्णमूर्ति र जे. कृष्णमूर्तिका पुस्तक पढेपछि अनेक तर्क–बितर्क गर्थ्यौ । पाठ्यक्रमबाहिरको संसार चियाउन रुचाउने कमै विद्यार्थीमध्ये हामी थियौं ।

चालक लक्ष्मीनारायण पन्चर भएको टायरको सट्टा जगेडा टायर हाली नटबोल्ट कस्दै थिए । भट्ट तोरीबारी पुगेर सेल्फी खिच्न भ्याइसकेछन् । भन्दै थिए, ‘यो लोकेसन परफेक्ट छ, नजिक तोरीबारी, तल खोला, पारि खेत, माथि डाँडा ।’ प्रत्येक परतमा सौन्दर्य बोकेको त्यो ल्यान्डस्केप वास्तवमै अद्भुत थियो । टायर पन्चर नभएको भए त्यो दृश्य छुट्ने रहेछ । विश्रामको सौन्दर्य नै यही हो ।

केहीबेर पहेंलपुर सौन्दर्यमा मुग्ध भएपछि हाम्रो चर्चा सुन्दरताकै विषयमा मोडियो । प्रश्न उठ्यो– सुन्दर ठाउँ, सुन्दर दृश्य वा सुन्दर वस्तुलाई कुन शब्दले अभिव्यक्त गर्दा सुन्दरताको सम्पूर्णता समात्न सकिएला ? ‘सुन्दर’, ‘मनमोहक’, ‘मनोरम’, ‘रमणीय’, ‘चित्ताकर्षक’, ‘अद्भुत’ जस्ता प्रचलित विशेषण अत्यधिक प्रयोगले खिइसके । क्लिशे भएपछि शब्दको ओज क्लान्त हुँदै जान्छ । त्यसले ताजगी गुमाउँछ र नवीनता हराउँछ– शरीर त भएको, तर आत्मा नभएको । कुनै पनि शब्दले सुन्दरतालाई सम्पूर्णत (अनुभूत गरेजति) अभिव्यक्त गर्न नसक्ला भन्नेमा हाम्रो सहमति रह्यो । तर, कुन शब्दले बढीभन्दा बढी अनुभूतिलाई दर्साउने सामर्थ्य राख्ला ? उत्तर फेला परेन ।

शंकर कम बोल्थे, तर बोलेपछि च्याप्पै चुरो समात्थे । मनीष ऋषि–मनीषीजस्तै अल्पभाषी र ओशोबाट प्रभावित । जोशी वाचाल । जगेडा टायर फेरिएपछि त्यस अनुत्तरित प्रश्नलाई पहेंलपुर प्रदेशमै छाडेर गाडीले पुनः लय समात्यो ।

सहयात्री को हो, कसरी थाहा हुन्छ ?

‘एन अनएक्जामिन्ड लाइफ इज नट वर्थ लिभिङ’

– सुकरात

जीवनकै लघुरूप हो– यात्रा, माईक्रोकोज्म् । यात्रामा यात्री, पदमार्ग, सहयात्री र गन्तव्य हुन्छन् । समयक्रममा यात्री, पदमार्ग, सहयात्री र गन्तव्य फेरिन्छन् । स्वयम् यात्री पनि अनुभव र चेतनाले उही रहँदैन । न त शारीरिक र मानसिक स्वास्थ्यले उही हुन्छ । पदमार्ग बदलिन्छ, आन्तरिक वा बाह्य कारणले । मार्गका यसै पनि अनेकन् रूप छन्– गोरेटो, घोडेटो, कच्चा, ग्रेबल, पक्की । कहीँ त मार्ग देखिँदैन । हिँड्दै बनाउनुपर्छ, जस्तो वनको बाटो । रेडिमेड बाटो जीवनमा सधैं कहाँ उपलब्ध हुन्छ र ? नयाँ बाटामा हिँड्दा नै त हो नवीन अनुभव प्राप्त हुने ।

मार्ग र गन्तव्यजस्तै सहयात्री पनि बदलिन्छ । यात्राको आरम्भदेखि अन्त्यसम्म आफूसँग हिँड्ने आफैं नै हो । सहयात्रीहरू कुनै मोड, बिसौनी वा गन्तव्यसम्म सँगै हिँड्लान् । सहयात्रीका साथ–सहयोगले देउराली उक्लन र गन्तव्य भेट्न सघाउँछ । प्राथमिकता फेरिएपछि सहयात्री पनि आफ्नै गन्तव्यतिर मोडिन्छ । त्यसो हुनु स्वाभाविक हो । त्यसलाई स्वाभाविक रूपमा लिन सक्नुपर्छ– जसरी मेरो गन्तव्य छ, उसको पनि आफ्नै गन्तव्य हुन्छ ।

कोही सहयात्री बाटामा भेटिन्छन् । केही माइल सँगै हिँड्छन् । इच्छा र सामर्थ्यअनुसार कोही पछाडि छुट्छन्, कोही अघि कुद्छन् । कोही लामै बाटो हिँड्छन् र भन्ज्याङ्–चौतारी, झरी–असिना, भोक–प्यास र अनिद्राबीच प्राणदायिनी चौताराजस्तै भावनात्मक ऊर्जा दिइराख्छन् । तर, सधैं कसले साथ दिन्छ र ? कसले दिन सकेको छ र ? अनि एउटा समय आउँछ, जब जीवनको कुनै विन्दुबाट हेर्दाहेर्दै, नचाहँदा–नचाहँदै ऊ मोडिन्छ र मनको अन्तरमा उदासी भाव उत्पन्न गर्दै बिलाउँछ । त्यस्तो समय मनमा भाव आउँछ– अब यात्रा टुङ्ग्याऊँ, एक्लै अघि बढ्न सकिन्न । सहयात्रीले बनाएको भावनात्मक वा मनोवैज्ञानिक आलम्बमा मन कमजोर भइसकेको हुन्छ । तर, मनको पछिल्लो किनारमा एउटा ध्वनि उठ्छ– ‘यात्रा रोक्नु हुँदैन, यात्रा रोकिनु जीवन रोकिनु हो । मौसम खुलोस्– नखुलोस्, सहयात्री होस्–नहोस् । पदमार्ग बदलियोस्–नबदलियोस् । यात्रा चल्नुपर्छ ।’ यात्रा केवल साधन होइन, स्वयम्मा साध्य हो ।

यात्रामा ननिस्केसम्म सहयात्री को हो, कसरी थाहा पाउने ? थाहा पाउने एउटै उपाय छ, यात्रामा निस्कने । कोही मित्र सहयात्री नबन्दा दुःख लाग्छ, तर दोष दिने विषय होइन । कति मित्र चाहना गर्छन्, तर यात्रा गर्न सक्दैनन् । बानी परेको हुन्न । ती एकाध घण्टामै थाक्छन् र उच्चाटपूर्ण स्वरमा भन्छन्– अब अघि बढ्न सकिन्न । त्यस्तोमा दुःख मनाउ गरेर पनि भएन । मित्रले चाहना गरेकै हो, नसकेपछि के लाग्छ ! कोही मित्र हुन्छन्, सामर्थ्य राख्छन्, तर प्राथमिकता फरक पर्नाले अर्कै दिशातिर मोडिन्छन् । त्यस्तोमा पनि केही गर्न सकिन्न ! त्यस्तो बखत बुद्धिमानी बरु उसको सफल–यात्राको कामना गर्नु हुन्छ । रुचिको विविधतालाई जति चाँडो कदर गर्न सक्यो, जीवन उति सहज र सुन्दर !

सहयात्री को हो ? आराम कुर्सीमा बसेर थाहा लाग्दैन । जुत्ताको फित्ता कसेर, झोला भिरेर यात्रामा निस्केपछि मात्रै थाहा हुन्छ । करिब २३ वर्षअघि साप्ताहिक ‘बुधबार’ मा यस्तै विषयमा कविता पठाएको रहेछु– ‘यात्री छोरा’ शीर्षकमा । कवितामा पिताले यात्री छोरालाई सम्बोधन गरेको छ । अहिले नियाल्दा पाउँछु– यात्रा, सहयात्री, दिशा, अठोट विम्बहरूको भ्रूण ऊबेलै मस्तिष्कमा रोपिएको रहेछ :

छोरा

जुत्ताको फित्ता कस

अब यात्रा सुरु हुँदै छ

कस्यौ ?

एकपटक फेरि जाँच

नकस्सिएका जुत्ताहरू यात्रा गर्न सक्दैनन्

छोरा

एकपल्ट मतर्फ हेर्दै उभिऊ

कस्सिएको अठोटहरूले

कस्सिएको जुत्ता लगाएको हेर्न चाहन्छु

आहा

कत्ति उज्यालो तिम्रो अनुहार

र, तेजिलो तिम्रो आँखा

छोरा,

अनुहारको आँखाले गन्तव्य हेर्नू

र, खुट्टाको आँखाले दिशा पहिल्याउनू

छोरा

मनको फित्ता कस

यात्रामा सहयात्री कोही नहुन पनि सक्छ ।

हाइकिङ विहङ्गम

अधिकांश आम नेपालीझै एक दिन म पनि सपना बोकेर चार भन्ज्याङ काठमाडौं छिरेँ । काठमाडौं उपत्यकामा मैले थालेको रुचि हो– हाइकिङ । सन् २०१२ मा मैले जागिर छाडेँ, केही समय स्वयम्लाई दिन्छु भनेर । त्यो सही–गलत के थियो, समयलाई छाडिदिएको छु । तर, त्यो कठोर निर्णय थियो । जागिर छाड्नुका पाँच, छ कारण थिए– २० वर्ष जागिर गरिसकेको थिएँ, (नौलो लाग्न छाडेको थियो) पीएचडी गर्ने, पुस्तक पढ्ने, साहित्य कर्म गर्ने र घुम्ने । हाइकिङ सन् २०१२ देखि निरन्तर छ । लामो पदयात्रा (ट्रेकिङ) गर्न धेरै कुरा मिल्नुपर्छ । हाइकिङ सहज छ– ६, ७ घण्टा निकाले पुग्छ ।

काठमाडौं उपत्यका वरपर दर्जनौं रमणीय ठाउँ छन् । तीमध्यका अधिकांश हाइकिङ गन्तव्य छिचोलिसकेका छौं । चन्द्रागिरि, लाँकुरी भन्ज्याङ, शिवपुरी राष्ट्रिय निकुन्ज, मुलखर्क, चिसापानी, सेतोगुम्बा, चम्पादेवी, नमोबुद्ध गुम्बा, पनौती, चाँगु नारायण, साँखु, दहचोक, थानकोट, चित्लाङ, सुन्दरीजल, पाइलटबाबा मन्दिर आदि ।

सबेरै निस्कियो, बेलुकीसम्म घर फर्किन सकिन्छ । लामो पदयात्राको अवसर हत्पती मिल्दैन । त्यसैले ट्रेकिङको तलतल मेट्न हाइकिङ गर्छु । त्यसले हिँड्ने बानीलाई भुत्ते हुनबाट जोगाउँछ साथै शरीर र मानसलाई तयारी हालतमा राख्छ । इच्छालाई शारीरिक र मानसिक अवस्थाको साथ अनिवार्य छ । इच्छा सात हातअघि, तन्दुरुस्ती दस हात पछि हुँदा दुःख पाइन्छ । मसँग त्यस्ता हाइकिङको सम्झना छन्, जहाँ पहिलोपटक जोडिएका केही साथीहरू बढ्तै हौसिएर सुरुमा सबैलाई उछिन्दै लम्किए, तर केहिबेरमै थाकेर ब्यर्थ आएछु भन्नेजस्तो अनुहारको भाव बनाए । यात्रा कहाँ ठट्टा हो र ?

हाइकिङलाई एकै बसाइमा सकिने कथा भन्न सकिन्छ, एकै बसाइ अर्थात् हाइकिङको अर्थमा एक दिन । ट्रेकिङचाहिँ उपन्यासजस्तो– एकै बसाइमा नसकिने, केही दिन वा हप्ता लाने, रात बाहिर बिताउनैपर्ने । एघार वर्षको हाइकिङ अनुभवलाई सर्सती हेर्दा मेरा सहयात्री दुई क्षेत्रका छन् । पहिलो, वन तथा वातावरण क्षेत्र । दोस्रो, साहित्य ।

अनुभव पनि बहुरंगी छन् । हाइकिङका रङ, स्वाद र छटा जीवनसादृश्य छन् । व्यस्त जीवनबाट केही क्षण बाहिर निस्किऔं, प्रकृति र चराचुरुंगीको सामीप्यमा बिताऊँ भन्यो केही सहयात्री यात्रामा पनि राजनीतिक बहसमै अल्झिन्छन् । हरेक राजनीतिक घटनाक्रममा आफ्नो दृष्टिकोण नराखे सचेत नागरिक भइन्न भन्ने हामीमाझ ठूलो रोग छ । सहिष्णु भई संवाद गर्ने होइन, प्रतिष्ठाकै विषय बनाउने । पतर–पतर बोल्नेसँग हाइकिङ नजानु नै बेस !

कम्तीमा ४, ५ घण्टा स्याँस्याँ हुने गरी हिँडौं भन्यो, एकै घण्टामा चियापसल खोज्ने सहयात्री पनि भेटिए । एक घण्टा हिँड्यो, चौतारा खोज्ने अल्छे सहयात्री पनि भेटिए । ४ जनाभन्दा ठूलो समूह भयो भने गफमा रल्लिने सम्भावना बढ्दो रहेछ । केही हाइकिङ भने वास्तवमै स्मरणयोग्य बनेका छन् । साहित्य, सिनेमा र संगीतका अर्थपूर्ण कुरा गर्दै लगातार चार–पाँच घण्टा हिँडेको, घना वनमा विश्राम लिँदै घरबाट ल्याएको मकै–भटमास खाएको, वनजंगलको गहिरो निवरतालाई अनुभव गरेको प्रगाढ सम्झना पनि छन् ।

साहित्य र दर्शनमा कुराकानी गर्दै थुम्कोमा बिसाएर दृष्टिभरि फैलिएको उपत्यका र बस्ती हेर्नुजति आनन्द म अरूमा भेट्टाउँदिनँ । यस्ता अन्तरंग संवादले सहयात्रीलाई चिन्न सघाउछ । विमोचन, साहित्यिक कार्यक्रममा भेट नहुने होइन, तर त्यस्ता भेट ज्यादै औपचारिक हुन्छ । मैले त्यो भेटलाई ‘अनुहार देखाउने भेट’ भनेको छु । तर, हाइकिङमा प्रकृतिनजिक भएर होला, सहयात्रीहरू अनौपचारिक बन्छन् र मनैदेखि खुल्छन् । त्यस्तालाई ‘मन खुल्ने भेट’ भनेको छु ।

कुनै हाइकिङचाहिँ वनभोजजस्तो भइदिन्छ– बिजुली पानीबाट सुरु भएर बिजुली पानीमै सक्किने । खोकना हाइकिङ त्यस्तै थियो । कीर्तिपुरको डाँडामा बसेर चोभार हेर्दै केही पेग ह्विस्की बुत्याएपछि रमरम हुँदै ओरालो झरेका थियौं । प्रिकोरोना काल– सहयात्री राजकुमार बानियाँ, गुरुङ सुशान्त, विमल आचार्य र म । खोकना आउनुअघिको फाँटको नेवारी खाजा घरमा बियर थप्यौं । टन्टलापुर घाम छ, तालु सेकाउँदै मातमा खेत–खेतै हिँडेका छौं । तै हावा मज्जाले लागेकाले शीतल भएको थियो । बिजुलीपानीको कडकमा फर्कंदा लखतरान, थकित, गलित भएको स्मृति सम्झँदा हाँसो लाग्छ । स्वस्थ हुन हाइकिङ गर्छु भन्ने, तर बिजुलीपानीले झन् रोग नित्म्याउने ।

स्वर्गको टुक्रा खसेर...

अनुभूत गर्ने तहको सुन्दरतालाई कुन शब्दले अभिव्यक्ति गर्ला भन्ने प्रश्नले मथिंगल खल्बल्याइरहेकै थियो । उम्मेदवार पदावलीहरूलाई मस्तिष्कको एउटा कुनोमा उभ्याएँ र मनमनै सोचेँ । आधा दर्जन उम्मेदवार शब्दहरूलाई खारेज गरेपछि एउटा शब्दमा दृष्टि गयो– आत्मा चर्ने ठाउँ । ठाउँ, दृश्य वा ल्यान्डस्केप यति सुन्दर होस् कि त्यहाँ आत्मा पनि चर्न मन गरोस्– सुन्दरताको चूडान्त, अल्टिमेट । आत्मालाई त्यहाँ विचरण गर्न मन लागोस् । आत्मामा मेरो विश्वास छैन । भौतिकवादमा विश्वास हो यद्यपि पूर्णतया भौतिकवादी हुन सकेको छैन । आत्मा कुन अर्थमा भन्दा, शरीर र मानसभन्दा भित्र पनि केन्द्र छ । धार्मिक विश्वासअनुरूप शरीर नष्ट भए पनि नामेट नहुने आत्माको अर्थमा होइन ।

शरीर, मानस र आत्मा एकत्वमा मिलेको, प्राकृतिक सौन्दर्यमा लीन भएका केही स्मृति छन् । सबै त्यस्ता स्मृति ३,०००–३,२०० मिटरमाथिका स्थानमा यात्रा गर्दा बनेका हुन् । ३,००० मिटरभन्दा अग्लो ल्यान्डस्केपमा पदयात्रा गर्नु अतिरेक आनन्द हुन्छ, जहाँ मान्छेका कोलाहल र तुच्छता उक्लिन नसकोस्, जहाँबाट डाडाँकाँडा तल वा समान उचाइमा देखियोस् । घना जँगलहरू क्रमशः झाडीदार बुट्यानहरूमा फेरिदै हिमरेखा पनि तल ओर्लियोस् मानौ सेतो खाँदा लिएर स्वागत गर्न झर्दै छ । हिउँले खाएका बन्जर भूमि नजिकिऊन् । र, क्षितिजमुनि मानव बस्तीहरू त्यसरी नै चलमलाऊन्, जसरी माउको शरीरमुनि छोपिन चल्लाहरू चलमलाउँछन् ।

उच्च लेकाली खर्कमा आँखाले नभ्याउने दूरीसम्म दृष्टि फैलाउन सकिन्छ । मान्छेले कल्पना गरेजति सबै गर्न सक्दैन, तर चाहेजति टाढा पनि हेर्न नसक्ने अवस्था यथार्थमै अत्यासलाग्दो हुन्छ । उच्च हिमाली क्षेत्रमा त्यो अत्यास छैन । कुनै थुम्कोमा बसेर दक्षिणतिर नियाल्ने हो भने सुदूरसम्म हेर्न सकिन्छ । त्यही दूरीबीचको स्पेसमा यात्रीका सपनाहरू चल्ला कोरल्न ओथारो बस्छन् । धुपी, प्रिमुला, जंगली गुलाफ, बिखमा, यार्चागुम्बु र अन्य लेकाली फूलहरूको महकले लठ्याउँछ । हिमाच्छादित ताल कतै भेटियून, आकाश पातलिँदै गएको वायुमण्डलमुन्तिर प्रगाढ नीलो बनोस् र राभेनका (हिमाली काग) बथान सीमाहीन आकाशमा कावा खाऊन् । मान्छेका पदचिह्न टाढाटाढासम्म नभेटियून् । कालीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, तमोर नदीहरू खोल्सो बनेर बगून् छेवैमा, त्यस्ता ठाउँमा पाउ पर्दा पनि ध्यानस्थ अनुभूत हुन्छ । झेन अनुभूति यस्तैलाई भन्दा हुन् ।

करिब दस वर्षअघि, ताप्लेजुङको सदरमुकाम फुङलिङबाट चार–पाँच दिन हिँडेर घुन्सा पुगेका थियौं । दुई जना स्थानीय सहयात्री थिए । घुन्सामा हिमाली चुङ्दाकहाँ नुनचिया र सातु खाई बिहान हिँडेको साँझ खम्बाचेन भ्याली पुग्दा मलाई त्यस भूखण्डको सम्मोहनले छोपिसकेको थियो । त्यस्तो निर्जनतामा कस्तरी आनन्द आएको ? सहरी मनले सोध्छ । मन सायद आदिम नै छ । कोलाहलहरू वर्जित हुने निर्जनतामा प्रकृतिवाणी सुनिन्छ । प्रगाढ नीलो आकाश, राभेनको कावा, हिमताल, चौरीको बथान, खोला किनार, लेकाली वतासमा एक्लै झुलिरहेको फूल, मान्छेका पैतालामुनि खिइँदै गएको धुपीसल्लाको काठे पुल, लेकाली बतासको ध्वनिमा प्रकृति बोल्छ । खोलाको पानी मात्र होइन, त्यसबाट निसृत कलकलको आवाज पनि सङ्लो लाग्छ । दृश्य–सादृश्य आवाज पनि सङ्लो सुन्नु, त्यो पक्कै सामान्य अनुभूति होइन ।

रसुवाको नागथली उक्लँदा पनि आनन्दको सहस्र धारा फुटेको थियो । स्याफ्रुबेंसी, गत्लाङ, चिलिमे, तातोपानी हुँदै नागथलीको पदमार्ग बिछट्टै मौलिक छ । माने, लुङ्दर, गुम्बा, तामाङको संस्कृति र जीवनशैली नियाल्दै उकालो–ओरालो गर्‍यौं । मोबाइलमा वव डिलन, मार्क नफलर, नेपथ्य वा विपुल क्षेत्रीको संगीत बजेको होस् । रुखका पातहरूलाई स्पर्श गर्दै बतास चलोस् र लाङटाङ लिरुङ हिमाल सामुन्ने देखापरून् । शताब्दियौंदेखि हिउँको विशाल खातहरू बोकेर निरपेक्ष उभिएको हिमाल स्थितप्राज्ञ होऊन्, त्यस्तो प्रभावलाई अभिव्यक्त गर्न वास्तवमै कठिन हुन्छ । करिब पाँच, छ वर्षअघिको घटना हो– तातोपानीमा बिहानी खाजा खाएर रसुवाका सहयात्रीसँग नागथली उक्लियौं । रातभर नागथलीमा हिउँको तन्ना हालेर फर्कंदै गरेको प्रकृतिलाई बाटामा भेट्यौं । आकाशको अनन्त क्यानभासमा बादलका हल्का स्ट्रोकहरू देखिन्थ्यो । प्रकृति नीरवतामा डुबेको थियो । त्यस्तो नीरवताले मनमा गहिरो शून्यता भर्दोरहेछ । बुटले हिउँ कुल्चदाको चरप–चरप र आफ्नै स्याँ–स्याँको ध्वनि मात्रै अस्तित्वमा थियो । होटेल, गेस्टहाउसको नाम लेखिएको संकेत चिह्न देखेपछि नागथली नजिक आइपुगेको थाहा भयो । बाटो नजिककै एउटा होटलमा विश्राम लियौं, ब्लाक टी पियौं । वातावरणमा ग्यासको आवाज, भान्सामा भाडाँकुँडा बजेको र आँगनछेउ पाइपबाट खसेको पानीको ध्वनि मात्रै सुनिन्थ्यो । मेरो मानसमा नागथली यात्राको स्मृति अमिट बसेको छ । तामाङ हेरिटेज ट्रेलमा पर्ने नागथलीमा एक रात बिताउने रहर छ । लाङटाङ लिरुङ हिमाललाई साक्षी राखेर नागथली थुम्कोबाट तारामण्डल हेर्ने इच्छा छ ।

यात्राको स्मरण गर्दा मानसपटलमा कर्णालीको यात्रा पनि उतिकै आउँछ । झन्डै महिना दिनको त्यो यात्रा जीवनकै अविस्मरणीय यात्रा थियो । कर्णाली प्रदेशको पर्यटन गुरुयोजना बनाउने सिलसिलामा सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, मुगु र हुम्ला पुग्ने अवसर जुर्‍यो । जुम्ला सदरमुकाममा गोष्ठी सकी रारा जाने योजना बन्यो । रारा जाने, तर गाडीबाट नजाने । कर्णाली हाइवेमै गाडी छाडी पैदलै जाने । खाडापानी ओर्लेर मालिकाबोंता, रातेचौर, गोरुसैना, चुच्चेमाराको बाटो समात्ने योजना बन्यो । खाडापानी ओर्लंदा साढे एक बजिसकेको थियो । एकाध घण्टाको उकालो चढेपछि रातेचौर आइपुग्यौं । कनकासुन्दरी गाउँपालिकामा पर्ने रातेचौरमा पहेँलै प्याउली फुलेको थियो । त्यो उचाइमा यति फराकिलो चौर होला भन्ने कल्पनामा पनि थिएन । अद्भुत सौन्दर्यको फाँट लाग्यो, रातेचौर– देवदार, लोठसल्ला, भोजपत्र,

थिङ्ग्रेसल्ला, खस्रु, गुराँसको घना जंगलले घेरिएको । चौरमा बस्तुभाउहरू चरिरहेका देखिन्थे । यत्रतत्र गोठालाका टेन्टहरू थिए । उत्तर दिशाको भिरालोमा परम्परागत बान्कीका घरहरू देख्दा काल्पनिक लोकमा आइपुगियोजस्तो लाग्यो । चौरमाझ कलकल ध्वनि निकाल्दै खोल्सा बगेको थियो । त्यसैको किनारै किनार हिँडे । मन आक्कासिँदै गएको थियो । आकाशजस्तो विराट चौरमा जता हिँडे पनि स्वतन्त्रता । स्वर्गको टुक्रा खसेर बनेको रातेचौर, मेरो आत्मा चर्ने ठाउँ ।

यात्राको मार्ग, युवा हुने मार्ग

बाइक, गाडी वा पदयात्रा जुनै होस्, यात्राको मार्ग युवा हुने मार्ग हो । यात्राको मार्गमा सिकाइका अवसर यात्रीलाई कुरिरहेका हुन्छन् । जैविक उमेर मान्छेको नियन्त्रणमा छैन । जैविक उमेर मापन गर्ने क्यालेन्डर सबैको एकनासले नै पल्टिन्छ । तर, मानस र चेतनाले युवा हुने कुरो मान्छेको छनोटमा भर पर्छ । जैविक उमेर डाँडा काट्दै गर्दा पनि मानिस मानस र दृष्टिकोणले युवा भइरहन सम्भव छ ।

पुस्तक पढ्ने, ध्यान गर्ने, स्वास्थ्यकर भोजन लिने, व्यायाम गर्ने, कृषि कर्ममा लाग्ने, यात्रामा निस्कने, सामुदायिक कार्यमा सहभागिता जनाउने कर्महरू असल हुन् । यीमध्ये यात्रा एक असल माध्यम हो । घरबाट ननिस्किए यात्रा हुँदैन । परिचित स्थान नछाडे यात्रा भनिँदैन । घरबाट निस्कनु भनेकै आरामदायी क्षेत्र (कम्फर्ट जोन) बाट बाहिर निस्कनु हो ।

यात्रा स्वभावगत चुनौतीपूर्ण हुन्छ । यात्रामा रोजाइकै खान पाइन्छ भन्ने ग्यारेन्टी छैन । आफ्नो मनपर्ने परिचित बिछ्यौना हुँदैन । परिवेश बिरानो हुन्छ । रात–बिरात हिँड्नुपर्छ । भोक र निद्राले सताउन सक्छ । भनेको बेला शौचालय नभेटिन सक्छ । समयमै गन्तव्यमा पुगिन्छ भन्ने छैन । थरीथरीका मान्छेको भर पर्नुपर्छ । कहीँ लवज मिल्दैन, कहीँ भाषा बुझिँदैन । अप्ठ्याराहरू आइलाग्छन्, कसलाई भन्ने ? कहाँ जाने ? ठगहरूको फेला परिन्छ । अलपत्र पर्ने सम्भावना हुन्छ । कहीँ भने सहृदयी र सहयोगी हातहरू अचम्भ लाग्ने गरी भेटिन्छन् । पूर्वनिर्धारित बनिबनाउ धारणा यात्रामा भत्किन्छन् । यात्रा जति चुनौतीपर्ण छ, उत्तिकै अवसरले भरिपूर्ण छ । यात्रा अचम्मको पोको हो । त्यस पोकाबाट प्रत्येक यात्रामा केही न केही छक्क पार्ने घटनाहरू निस्कन्छ ।

यात्राको सायद सबैभन्दा ठूलो योगदान यसले यात्रीको दृष्टिकोणलाई उदार र सहिष्णु बनाउँछ । अहम्वादीका निम्ति यात्रा आफूलाई सच्याउने दुर्लभ अवसर हो । मेरै कुरा सत्य, मैले भनेकै सही भन्नेहरूका निम्ति यात्रा रियालिटी चेक हो । त्यस्ताखाले अहम्हरू यात्राको कठोर परीक्षामा चकनाचुर हुन्छन् । कतिपय मनोगत धारणा असल र कमसल हुँदैन, मात्र भिन्न हुन्छ भन्ने चेत पलाउँछ । गहिरिएर पर्गेल्ने हो भने यात्राबाट कहिल्यै उही मान्छे फर्कंदैन । यात्रामा मान्छेले आंशिक रूपमै किन नहोस्, पुरानो मान्छेलाई बिदा गरेर फर्कन्छ । म आफैंलाई सम्झाइरहन्छु– यात्रा गर्न नछोड, नत्र तिमी पनि जम्दै सकिन्छौ । गन्जलापासको रोमाञ्चकारी यात्रापछि यस्तै आशयको कविता लेखेको थिएँ । भारी हिमपातले दुई दिन गेल्दाङफुमा फसेपछि, गहिरो अत्यासमा डुबेको थिएँ :

हिमपहिरोको घनगर्जनाले थर्किरह्यो गोठ रातभर

मृत्युभयले लेखेटेको थियो निद्रा

मृत्यु बोकेर हिमबतास रातभर हुँहु... आवाज निकालेर गोठ बाहिर कुरिरह्यो

देखिएको थियो

स्वयम्भित्र खस्दै गएको ग्लेसियर

लोभ, अहम् र तृष्णाको


हिमालमा डर किन ठिहिर्‍याउने बन्छ ?

करोडौं वर्षको आयुले हो ?

वा सतत् हिम, बतास र वर्षासँगको क्षयीकरणले ?


टाढाबाट सुन्दर लाग्ने हिमाल

नजिकबाट किन कठोर ?

किन त्यति निरपेक्ष ?


अचम्मको यात्रा

वर्षौं लामो निद्राबाट झल्यास्स ब्युँझिएकोजस्तो

मानौं त्यो यात्रा अघिल्लो जन्ममै थालिएको थियो


हिउँ थामिएपछि बिहान

घामको कमलो किरणको लौरो समाएर बाहिर निस्केको थियो

र, देखेको थियो

यात्रापूर्वको मान्छे कतै बिलाएर

र, सट्टामा जन्मँदै गरेको अर्को मान्छे

यात्राको सार

यात्राको सबैभन्दा महत्त्वपूर्ण अवयव के हो ? यात्रा, विश्राम, सहयात्री वा गन्तव्य ? मेरो विचारमा, यात्रा नै सबभन्दा महत्त्वपूर्ण हो । हिँडिरह्यो भने जस्तोसुकै गतिमा किन नहोस्, ढिलो–चाँडो गन्तव्य पुगिन्छ । कतै न कतै सहयात्री भेटिन्छन् । बस्, यात्रा रोक्नु हुँदैन । विश्राम पनि लिनुपर्छ यात्राको दौरान । तर, यात्राबाट विश्राम लिनु हुँदैन ।

हिँड्नुको सन्दर्भ आउँदा ‘फरेस्ट गम’ सिनेमाको सम्झना आउँछ । नायक टम हाङ्क्सलाई जीवनमा जोगिन अनेकन् पटक दगुर्नुपर्छ र त्यसैको बानी लाग्छ । एक दिन अचानक केही याद आएजस्तो घरबाट निस्कन्छ ऊ, सडक किनारसम्म पुगुँ भन्दै । किनार पुगेपछि यतिसम्म त आइयो सहरकै किनारसम्म पुग्छु, ऊ सोच्छ । सहरको किनार पनि आएपछि, यहाँसम्म आइयो, अब अर्को राज्यसम्म किन नपुग्ने सोच्दै दगुर्छ । उसले फ्लास ब्लाकमा आफ्ना यात्राका कथा भन्छ । एवम्रीतले अनवरत ३ वर्ष २ महिना १४ दिन दौडेर संयुक्त राज्य अमेरिकालाई ऊ पाँच पटक फन्को लगाउँछ ।

उसको कपाल–दाह्री बढ्छ, मैलो देखिन्छ । तैपनि आमाको वचन सम्झेर कुदी नै रहन्छ । बहुलाजस्तो एकोहोरो दगुरिरहेको टम हाङ्क्सप्रति मिडिया आकर्षित हुन्छ । विभिन्न सञ्चारकर्मी अन्तर्वार्ता लिन आउँदा पनि ऊ नबिसाईकन दगुरेरै जवाफ दिन्छ । एक सञ्चारकर्मी सोध्छ– के तपाईंको यो हिँडाइ विश्व शान्तिका निम्ति हो ? अर्को सोध्छ– के जलवायु परिवर्तनको सन्देश दिने तपाईंको उद्देश्य हो ? दगुरिरहेको टम हाङ्क्सको सपाट जवाफ हुन्छ– दगुर्न मन लागेर (आई फेल्ट लाइक रनिङ) । ‘दगुर्न मन लागेर’, यो लाइन मैले गरेको अनुवाद हो । त्यस अनुभूतिजन्य जवाफमा निहित सांस्कृतिक अभिव्यञ्जनालाई म अनुवाद गर्न सक्दिनँ । त्यो नै मैले गर्न सक्ने नजिकको अनुवाद हो । भन्न सक्छु त केवल, जेजस्तो परिस्थितिमा पनि गतिशील रहनु नै यात्राको सार हो ।

प्रकाशित : श्रावण २१, २०७९ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

‘नेभरमाइन्ड’ नारच्याङ

मान्छेहरु संगीतलाई हृदयको झंकार मान्छन् । तर, म सोच्छु– संगीतले विचारलाई उद्वेलित गर्नुपर्छ । त्यसैले भक्ति गीत, गजल, भजन, सूफी कहिल्यै मेरो फेभरेट भएन । 
रोशन शेरचन

आरम्भ सांगीतिक यात्रा केवल संगीतकार वा गायकको मात्रै हुन्छ भनेजस्तो गर्छन् मान्छेहरू । तर, कुरो त्यसो होइन । श्रोताको पनि आफ्नै सांगीतिक यात्रा हुन्छ । कुरो बस्, त्यो आन्तरिक हुन्छ ।

विभिन्न रुचिमध्ये कसैले संगीतलाई अटुट सहयात्री बनाएको छ भने पक्कै उसको धमिलो वा सङ्लो आरम्भ, उकाली ओराली, देउराली, घुम्ती, बिसाउने चौतारो र गन्तव्य हुन्छ । गन्तव्यपछि फेरि यात्राको निरन्तरता हुन्छ । जीवनका विभिन्न कालखण्डमा सुनेका, मन परेका, तरंगित भएका, मुग्ध पारेका, उद्वेलित बनाएका अनेकन् संगीतका भंगालाको समष्टि प्रभावलाई पर्गेल्न अत्यन्त कठिन छ । तर, कठिन भए पनि केही मानिस त्यो पर्गेल्ने जमर्को गर्छन् । यो लेख तिनै कम मानिसको लाममा उभिने एउटा प्रयास हो ।

२५ कात्तिक, २०७८ साँझ । साढे छ बजेको हुँदो हो । म ओछ्यानमा पल्टेर युट्युबमा संगीत सुनिराखेको थिएँ, युट्युबले पठाइदिएको प्ले–लिस्टमा । दायाँ भित्ताको ह्वाइट बोर्डमा गिजिरमिजर अक्षरमा थाल्नुपर्ने, सक्नुपर्ने काम र पदयात्राका सूची लेखिएको छ । चार भित्तामा ठोक्किएर प्रकाश मद्दिम छ । त्यसैको जगमा नीरवताको आयतन सघन भएको थियो । मेरो फुर्सदको समय प्रायशः युट्युबको एल्गोले तयार पारिदिएको प्लेलिस्ट सुनेरै बित्छ । आर्टिफिसियल इन्टेलिजेन्सको युगमा पर्सनलाइज्ड प्लेलिस्ट अब नयाँ हुन छाड्यो । जनराका समूहहरू अप्सनमा देखिन थाल्छन् । बिस्तारै थाहा लाग्दै गयो, मैले धेरै मन पराउने संगीत अल्टरनेटिभ रक जनराका रहेछन् । खासमा म सबैखाले संगीत सुन्छु– पूर्वीय, पश्चिमी । लोक, आधुनिक, शास्त्रीय भन्दिनँ, तर फेभरेट भन्ने त हुन्छ ! सोचें– संगीतवरपर निर्माण भएका केही फेभरेट स्मृति सोहोरेर केही लेखौं !

माउ–खण्ड

संगीतप्रतिको अत्यधिक रुझान ममा कसरी पस्यो ? धेरै ठोकुवा गरेर भन्न सकिँदैन, तर केही घटना र सन्दर्भ अनुमान गर्न सकिन्छ । सर्सर्ती पर्गेल्दा गण्डकी बोर्डिङ स्कुलको वातावरण धेरै संगीतमय थियो । माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्ण र लमजुङ सदनबीच हुने वार्षिक सांगीतिक प्रतियोगिताको विशेष रौनक हुन्थ्यो । उपल्लो कक्षाका दाइहरूले (अधिकांश हङकङ, सिंगापुर लाहुरेका छोराहरू) बजाउने गिटार र कंगोका धुन, विदेशी शिक्षक वा फादरले हामीलाई गिटारमा गीत सुनाएका घटना हाम्रो कमलो हृदयभित्र पसेको हुनपर्छ ।

नोटेसनसहितको गिटार क्लास पनि हुन्थ्यो, जसको अहिले धमिलो सम्झना मात्रै छ । सिम्पल कर्डमा बजाएको जन डेनभरको ‘कन्ट्री रोड टेक मी होम’, ‘सन्डे मर्निङ’ (गायक बिर्सें) र लियो सायरको ‘आई लभ यु मोर दन आई क्यान से’ खुब सुन्थ्यौं । छात्रावासमा सिनियर दाइहरूको बेडछेउ भित्तामा टाँस्सिएको बोनिएम, अब्बाको पोस्टरले आकर्षित गर्थ्यो । अहिले सोच्दा पोस्टरले नै मुग्ध बनाउने तहको सरल समय रहेछ त्यो । क्यालेन्डरमा २०३१ देखि २०३७ को कालखण्ड थियो । उमेर पनि काँचो, जे पनि टिप्न मन लाग्ने जिज्ञासु ।

क्याम्पस पढ्दा वकमैनले संगीतप्रतिको रुझानलाई अर्कै तहमा उकाल्यो । वकमैन त्यो समयको विस्मित पार्ने प्रविधि थियो । महँगो भएकाले किन्ने सामर्थ्य सबैसँग थिएन । त्यो धेरैभित्र म पनि पर्थें । कहिलेकाहीँ साथीसँग मागेर सुन्थेँ र अद्भुत लोकमा पुगेको अनुभव गर्थें । हेडफोन लगाएर सुन्दा टाउकोमाथिको मध्यभागबाट (टुप्पी उम्रने स्थान) संगीतको ध्वनि आउँथ्यो, त्यो वास्तवमै अचम्मको अनुभव थियो । स्टिरियो साउन्ड भएकाले त्यसो भएको रहेछ । रेडियोको सपाट साउन्ड सुनिरहेको कानमा गिटार, ड्रम र स्वर नै फरकफरक दिशा र गहिराइबाट आएको बोध हुने त्यो मेसिनप्रति म बेस्मारी आकर्षित भएँ । किशोरवयभरि ऐकान्तिकता र अन्तरमुखी स्वभावले कहिल्यै छाडेन । थपमा पोखरा र हेटौंडाको रमणीयता ! वकमैन भएको कोही न कोही मेरो साथी हुन्थ्यो (सायद वकमैन भएकैले मैले साथी बनाएँ कि ? आजकल सोच्छु) । बिटल्सको लव सङ्ग्स भोल्युम १ र २ हेटौंडाको राप्ती खोला किनारमा खुब सुनेँ ।

विश्व शेरचनबाट डाय स्टेयर्सको भर्खर निस्किएको एल्मब ‘ब्रदर इन आर्म्स’ बारे थाहा पाएँ । त्यो एल्बम धेरै पटक सुनेँ । त्यस ब्यान्डको फ्रन्ट मेन मार्क नफलरलाई तीस/पैंतीस वर्षपछि पनि अनवरत सुनिरहेको छु । ‘मनी फर नथिङ’ नागर युवाहरूमाझ अत्यन्त चर्चित भयो । एमटीभीले सहरका नागर युवा वर्गलाई भरपूर मनोरञ्जन दियो । त्यसताक रेडियो नेपालमा प्रत्येक शनिबार बज्ने माइकल चन्दको ‘म्युजिकल आवर’ ले पनि थप मलजल गर्‍यो । वन विज्ञानमा स्नातक गर्दा मित्र रामु सुवेदीको सोनी वकमैन खुब सुनेँ । कति माग्नु ? दोस्रो वर्षमा ट्याक्सीमा प्रयोग गर्ने सेकेन्ड ह्यान्डको कार स्टुरियो किनेँ र संगीत सुन्ने कर्मलाई तीव्रता दिएँ । रुम पार्टनर रवीन्द्र महर्जनले कहिल्यै ‘मलाई डिस्टर्व भयो’, ‘भोलुम कम गर्नू’ वा ‘बन्द गर्नू’ भनेनन् ।

अहिले सोच्दा साह्रै बुझ्ने रुमपार्टनर पाएको रहेछु । बब डिलनको ‘ओ मर्सी’, ब्रुस स्प्रिस्टिङको ‘टनल अफ लभ’, यु टुको ‘जोसुवा ट्री’ लगायत ‘इगल्स’, ‘बी बी किङ’ र जे जे केलको ‘ब्लुज्’ ! रजनीशको प्रवचन र कितारोको संगीत सुन्नु अर्को लत थियो । युट्युबको अहिलेजस्तो साम्राज्य थियो, त्यसबेला वकमैनको थियो । स्नातक सकेर जागिर गरेपछि भने वकमैन किनेँ । सुन्ने तीव्रता झन् बढ्यो । जागिरको राम्रै अंश क्यासेट पसलमा जान्थ्यो । यो क्रम २०४५ देखि २०५४ सम्म राम्रै चल्यो ।

पुस्तक अलि सचेत भएर किनिन्छ, पढिन्छ । संगीतको हकमा त्यसो नहुने रहेछ । निःशुल्क प्लेलिस्ट आउँछ– बजायो, अन्य काम गर्दै गयो, पृष्ठभूमिमा संगीत बज्दै जान्छ । स्कुल, क्याम्पस, रेडियो नेपालको म्युजिकल आवर, नेपाल टीभीमा भूषण दहालले सञ्चालन गर्ने ‘सन्डे पप’ हुँदै विभिन्न क्यासेट ! मखन गल्लीमा पैसा तिरेर कन्सर्ट हेरेका दिन र अहिलको युट्युब संसार जोड्दा श्रोताका रूपमा मेरो संगीत–सहयात्रा अचाक्ली छ्यासमिसे छ । जन डेन्भर, डन विलियमजस्ता लोकगायकदेखि ल रिडको भल्भेट अन्डरग्राउन्ड र सेक्स पिस्तोलजस्तो पंक ब्यान्डदेखि निर्भाना, पर्लजामजस्तो ग्रन्ज ब्यान्ड ! नुसरत अली फत्ते खाँको सूफी संगीत, किशोर कुमारको रोमान्टिक गीतदेखि बब डिलनको लोक रक अटाउँछ त्यहाँ– रोलिङ स्टोन, क्विन, टिना टर्नर, एसीडीसी, गन एन्ड रोजेज, ब्याड कम्पनी, वन जभी, ट्राभलिङ विलवरी, जिम मरिसन, बब मार्ले, पल साइमनदेखि हाम्रै दीप श्रेष्ठ, अरुण थापा र नेपथ्य ! ब्लुज् जनराका धेरै नभए पनि आधा दर्जन नाम होलान् । रेडियो नेपालमा बज्ने सुगम संगीतको अध्याय त छँदै छ । एफएम युगभन्दा अघि सबै नेपालीको साझा स्टेसन त्यही थियो, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म । सांस्कृतिक क्षेत्रको त्यो हदको रेखीय फम्यार्ट अहिले सोच्दा विचित्रको लाग्छ । यस्तो पृष्ठभूमिमा मेरो सांगीतिक रुचिलाई एक वाक्यमा जीवरिश भन्न सकिन्छ ।

स्नातक भई जागिरमा जोमसोम जाँदा पच्चीस/छब्बीस वर्षको अल्लारे ठिटो थिएँ । मुस्ताङको सुक्खा र बंजर ल्यान्डस्केपमा बाल्यकालीन स्मृति किरिङमिरिङ आइरहन्थ्यो । बाल्यकालका केही वर्ष जोमसोममा बितेको थियो मेरो । जोमसोममा बैंसका निहुरिएका मादक हाँगा नियाल्दै कालीगण्डकीको बतास ओढेर आरईएम धेरै सुनेँ– आरईएमको एल्बम, ‘आउट अफ टाइम’ र ‘अटोमाटिक फर द पिपल’ । गिटारप्रधान संगीत, अनेकार्थ शब्दरचना र माइकल स्टिपको अद्भुत स्वरमा हेलिएँ । कालान्तरमा थाहा भयो– गिटार बेस्ड संगीत मलाई बढी रुच्दो रहेछ ।

नेपथ्यमा गिटार बेस्ड संगीतमा मेरो स्वाभाविक रुचिका केही कारण रहेछन् । सानैमा गिटार देखेको, स्कुलमा दाइहरूले कहिले बजाइ भ्याउलान् र झ्याङ–झ्याङ पारुँला भनेर पर्खेको, पहिलो तलबले गिटार किनेको, किशोर कालमा तीन स्थानमा गिटार सिकेको ! कर्कश संगीतभन्दा पृष्ठभूमिमा गिटार, ड्रम बजोस् र स्वरले संगीतको अग्र भाग ढाकोस् । आरईएम, निर्भाना, पर्ल जाम, स्म्यासिङ पमकिङ, मिडनाइट अयल, यु टु, भल्भेट अन्डरग्राउन्ड ब्यान्ड दोहोर्‍याई तेहेर्‍याई सुनेँ । अल्टरनेटिभ रकमा मात्र सीमित भइनँ म । बब डिलन, ब्रुस स्प्रिस्टटिङ, मार्क नफलर पनि उत्तिकै सुनेँ ।

डिलनको प्रतिरोधी चेतनाबाट राल्फालीहरू प्रभावित थिए भन्ने राल्फालीको अन्तर्वार्तामा पढेको थिएँ । औद्योगिक क्रान्तिको यान्त्रिकीकरणले गाँजेपछि पश्चिमा युवाहरूले जुर्मुराउँदै संगीत, कला र साहित्यको सहारा लिएको बुझिन्छ । एलेन गिन्सवर्ग, ज्याक केरुअकलगायतका बिट कविहरूले डिलनलाई गहिरो प्रभाव पारेका थिए । हाम्रोमा कवि ईश्वरवल्लभ बिट कविहरूबाट केही हदसम्म प्रभावित रहेको मैले भेटेको छु ।

गिन्सवर्ग, केरुअक, फर्लेघट्टी, विलियस वरोजका नाम र सन्दर्भ वल्लभ दाइका लेखमा दोहोरिरहन्थे । पञ्चायती शासनको निरंकुशताको विरोधमा राल्फालगायतका प्रतिरोधी संगीत हामीकहाँ पनि सृजना भयो । नित्सेको आत्मप्रलापलाई पनि जागरण धुनमा लिपिबद्ध गरेका रहेछन् राल्फालीहरूले । राजनीतिक र भौगोलिक सिमाना अस्वीकार गरी प्रतिरोधी चेतनाका आत्माहरू निर्बाध हिँडडुल गरिरहन्छन् । भूतमा त्यो भएको थियो । वर्तमानमा पनि त्यस्तो देखिरहेका छौँ । त्यसैले भन्न सकिन्छ, भविष्यमा पनि यस्तो भइरहनेछ ।

अल्टरनेटिभ रक कस्तो जनरा हो ? यसका प्रवृतिगत विशेषता के हुन् ? भन्न कठिन छ, तर केही अनुमान गर्न सकिन्छ । सन् सत्तरीमा प्रारम्भ भएको यो जनरा असीको दशकमा उत्कर्षमा पुगेको थियो । संस्थापनसँगको पुस्तागत मतभेदलाई (नन कन्फमिर्टी) सायद अल्टरनेटिभ रकको आत्मा मान्न सकिन्छ । मूलधारले संगीतलाई वस्तुकरण गर्ने प्रवृत्ति र संगीत कम्पनीले गर्ने प्रचारको तामझामविरुद्ध त्यो लक्षित थियो । मूलधारको संगीतलाई नकार्दै बरु साना तथा स्वतन्त्र उत्पादक (लेबल) मार्फत श्रोतामा पुग्ने यिनले आग्रह राखे । कतिपय सांगीतिक ब्यान्ड त चर्चामा आउन नचाहने मात्र होइन, बरु आफ्ना खास स्रोतमै सीमित भई अन्डरग्राउन्ड बस्न रुचाए । निर्भाना, पर्ल जाम सबै प्रारम्भमा अन्डरग्राउन्ड ब्यान्ड थिए । तर, अन्टरनेटिभ रकलाई परिभाषित गर्ने क्रममा देखा पर्ने मसिना भिन्नताहरू (नुआन्स) बारे संगीतज्ञ, गायक, रेकर्ड कम्पनी र स्कलरबीच मतान्तर छ ।

घोडेपानीमा जागिरे छँदा हामी बस्ने ‘नमस्ते होटल’ को मालिकका छोरा नरेनले निर्भानाको संगीत गाएर पर्यटक दंग पार्थे । नरेन वास्तवमै राम्रो गिटार बजाउँथे । कति टुरिस्ट त रोकिएर, सुनेर र प्रशंसा गरेर जान्थे । केही टुरिस्टले बजाउँथे पनि । लालीगुँरासको घना जंगलले घेरिएको त्यो सुनसान देउरालीमा तीन खालको ध्वनि मात्र सुनिन्थ्यो– पोखराबाट जोमसोम उड्ने जहाज, खच्चडको घण्टी र नरेनको गिटार । जंगल र खोंचमा प्रतिध्वनित भएर गिटारको ध्वनि पनि चर्को सुनिन्थ्यो । हामी संगीतकै कुरा गर्थ्यौं । नरेन भन्थे– ‘दाइ निर्भाना सुन्नू है, दामी छ ।’ पोखरा झरेको मौका पारेर महेन्द्रपुलमा निर्भानाको एल्बम ‘नेभरमाइन्ड’ (१९९१) किनेँ । त्यसका अल अपोलोजिज, द मेन हु सोल्ड द वर्ल्ड, कम एज यु आर, पोली, लिथियमलाई घोडेपानी, सिख, घारा, नारच्याङ फिल्ड भ्रमणमा अत्यधिक सुनेँ ।

मेरो डार्क कालखण्डमा निर्भानाको डार्क संगीतको संयुक्ति निकै मिलेको थियो । विरेचन पनि प्रशस्त भयो । समूहमा हुन्थ्यौं फिल्ड जाँदा– कमल थापा, लक्ष्मी पुन र म । कहिलेकाहीँ ओम दाइ हुन्थे । म प्रायः बाटामा वकमैनमै मग्न हुन्थेँ, आफ्नै संसारमा । अनुभव भन्छ– आफ्नै संसारमा रम्नेहरू एकहोरो हुन्छन् । एकहोरो जीवन एकांगी बन्ने सम्भावना बढी हुन्छ र त्यसबाट बच्नुपर्छ । निर्भाना सुन्दा म सधैं फेरि १९९५, १९९६ तिरको घोडेपानी, घान्द्रुकको स्मृतिमा पुग्छु । ती स्मृतिमा जान आजकल धेरै मन लाग्दैन । वास्तवमा विगतका वैयक्तिक रुचिका कुराहरू त्यति गर्न मन लाग्दैन । तर, यद्यपि जंक यार्डजस्तो त्यो अवचेतनमा प्रवेश गर्ने हो भने अनेकन् लेख लेखिन्छन् ।

त्यसबेला सुनेको एउटा ब्यान्ड भने जलवायु परिवर्तनको सन्त्रास बढिरहेको अहिलेको समयमा झन् सान्दर्भिक पाउँछु– ‘मिडनाइट अयल’, एक अस्ट्रेलियन ब्यान्ड । एल्बम ‘डिजेल एन्ड डस्ट’ (१९८७) त्यति नै बेला धेरै अपरम्परागत लागेको थियो । यो लेख लेख्दा फिल आओस् भनेर फेरि त्यो एल्बम सुनेँ, करिब पच्चीस वर्षपछि । पर्यावरणीय ह्रासबारे चिन्ता गरेर गाइएको ‘धरती जलिरहेको छ’ (बेड्स आर बर्निङ) अत्यन्त लोकिप्रय भएको थियो । ‘मिडनाइट’ पृथ्वीको भविष्यकै चिन्ता गर्ने सामयिक ब्यान्ड हो । ‘बेड्स आर बर्निङ’ मा, अस्ट्रेलियन कविला समुदायको जीवन पद्धति, डेजर्ट ल्यान्डस्केप र त्यहाँको वनस्पति जोगाउनुपर्ने सांगीतिक आग्रह छ :

पर जहाँ नदी टुंगिन्छ / ब्लड उड र डेजर्ट ओक

होल्डन रेक र बोइलिङ डिजेल/ पैंतालीस डिग्रीमा उम्लिरहेको भेटिन्छ

कसरी नाच्न सकिन्छ / जब पृथ्वीको सन्तुलन भत्कँदै छ ?

कसरी सुत्न सकिन्छ / जब हाम्रो धरती जलिरहेको छ ?

जीवरिश वाणी

मान्छेलाई राम्रा–राम्रा संगीतभन्दा पनि बाल्यकाल वा किशोरकालमा सुनेको गीत मन पर्दो रहेछ । कालसँग नजोडिई संगीत आउँदैन । कुनै पनि संगीतले सुन्नेलाई पहिलोपटक सुन्दाको त्यो क्षण, जोडिएको पात्र, घटेको सन्दर्भ र अझ बृहत्मा सांस्कृतिक पर्यावरणको झल्को दिन्छ । म कसरी अपवाद हुन सक्छु ? पटकपटकको प्याटर्न अवलोकनबाट मलाई केचाहिँ थाहा भयो भने म अडियोपर्सन रहेछु, भिजुअल होइन ।

चाक्षुक कलाका विधाहरू नाटक र सिनेमा मलाई संगीतको तुलनामा कम मन पर्छन् । संगीतले प्रदान गर्ने तहको ऊर्जा अन्यमा पाउँदिनँ । संगीतलाई धेरैले हृदयको झंकार मान्छन्, तर मेरा निम्ति संगीतले विचारलाई उद्वेलित गर्नुपर्छ । त्यसैले भक्ति गीत, गजल, भजन, सूफी मेरो फेभरेट कहिल्यै भएन । मनभन्दा आँखा लोभी हुने युग छ । कर्पोरेट पुँजीवादले यसैलाई संस्थागत गरिरहेको छ । चकाचौंधको दुनियाँ आखिर आँखाको रमिता मात्रै न हो ! त्यसले न आत्मालाई शान्ति दिन्छ, न मस्तिष्क उद्वेलित बनाउँछ ।

फोहोरेको थैलामा बोक्छु म मानह्याटनलाई

जसमा ल्याटिन भाषामा लेखिएको छ

अरूको हित चिताउनुजस्तो अपजस अहिलेको समयमा केही छैन !

– ल रिड, भल्भेट अन्डरग्राउन्ड

प्रकाशित : माघ १५, २०७८ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×