१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

हराएका मूर्ति, फेला परेका मूर्ति

काठमाडौं उपत्यका संसारकै सम्पन्न एक विशाल खुला संग्रहालय हो । तर, मन्दिर, गुम्बा, चैत्यबाट हाम्रा सम्पदा हराउँदै गए र राज्य केवल मुकदर्शक बनिरह्यो ।
मल्ल के. सुन्दर

मूर्ति चोरी – आरम्भिककाल
चिसोको महिना, मध्यरात ! अप्रत्याशित ढंगले मन्दिरका घण्टाहरू बज्न थाले । चर्को आवाज रातको नीरवता चिर्दै बजिरह्यो र नगरवासीको निद्रा खुल्यो । आवाज कुन दिशाबाट आइरहेको हो, स्पष्ट थियो । नगरको उत्तरदिशा डाँडामाथि थियो– बज्रयोगिनीको मन्दिर । त्यसै मन्दिरको ठूलो घण्टाबाट निस्किरहेको थियो– आवाज ।

हराएका मूर्ति, फेला परेका मूर्ति

प्राचीनकालदेखि नै साँखुमा एउटा प्रचलन थियो– केही आपत्ति आइहाले सहयोग–सतर्कताका लागि नगरको उच्च भागको बज्रयोगिनी मन्दिरको घण्ट बजाउने ! छिनमै पूरै सहर जागा भयो । घर–घरबाट निस्केर नगरवासीहरू बज्रयोगिनीको डाँडातिर लम्के । बिजुलीको सुविधा थिएन, तर मानिसका हातमा मसाल र परालको मुस्लो थियो । थली, भद्रावास, डाँछी र चाँगुदेखि मानिसको ताँती लाग्यो । आगोको लामले यस्तो लाग्थ्यो, मानौं सिंगो सहर अँध्यारोमै कुनै मोर्चामा लम्केको छ ।

असुरक्षित भएको अनुभव हुनासाथ एक डफ्फा अपराधी मन्दिरबाट उठाएर ल्याएको मूर्ति जंगलमै छाडेर भाग्न खोजे । तर, स्थानीयले लखेटे । अपराधीले गोली चलाए । साँखुका तीन जना गम्भीर घाइते भए । घाइतेमध्ये एक साँखु धुँलाटोल निवासी सूर्यमान श्रेष्ठ हालसम्मै जीवित छन् । बज्रयोगिनी मन्दिरमा अवस्थित सबैभन्दा मूल्यवान् र प्राचीन अवलोकितेश्वरको अति कलात्मक मूर्ति चोरीको घटना थियो त्यो । ६ फिट उचाइको धातुको त्यो मूर्ति चोर्ने प्रयास भएको साल थियो– २०२६ !

केहीलाई पक्राउ गरियो, केही रिहा भए । सोधपुछ क्रममा थाहा भयो– त्यस घटनाको सम्बन्धको जरो राजदरबारसम्मै थियो । पछि प्रहरीले त्यसबाट हात झिके । तर, चोरहरूको कठालो समाउन साहस गर्ने साँखु धुँलाटोलका कृष्ण श्रेष्ठलाई त्यही गिरोहले केही दिनपछि ठमेल, सातघुम्तेमा गोली हानी हत्या गर्‍यो ।

बज्रयोगिनीको त्यस घटना उपत्यकाकै अत्यन्तै चर्चित र खतरनाक थियो । नेपालमण्डलभित्रको मूर्त सम्पदा लुप्त पार्ने संगठित आपराधिक कार्यको सम्भवतः यो प्रारम्भिक चरण थियो ।

पुरातत्त्व विभागका अनुसार, मुलुकभित्र योजनाबद्ध ढंगले मूल्यवान् मूर्तिहरू चोरिने क्रम सन् सत्तरीको दशकबाट सुरु भएको हो । र, असीको दशकमा एक प्रकारले मूर्ति चोरीको आतंक नै मच्चियो ।

खुला सम्पदा संग्रहालय

प्रत्येक चोक, चौबाटो, वस्ती, टोल, जहाँ पाइलैपिच्छे कुनै–कुनै मूर्त सम्पदा छन् । ठूल्ठूला बहाल, मन्दिर, चैत्य, स्तूप मात्रै होइन, प्रत्येक गल्ली–मोडमा साना–ठूला कलात्मक मूर्त सम्पदा पनि भेटिने नगर सभ्यताको केन्द्र हो– काठमाडौं उपत्यका । अगाध आस्थाको प्रतीकका रूपमा बस्तीहरूमा सजाइएका ती सम्पदा शैव, बौद्ध, वैष्णव, शाक्त र तान्त्रिक मूल्य मान्यताका अभिव्यक्ति थिए । अर्कोतिर ती स्मारक थिए– प्रस्तर, धातु, काष्ठ अनि मृतिका आदि सामग्रीबाट निर्मित हाम्रा पुर्खाका सांस्कृतिक–कलात्मक चेतका अनुपम कृति । हाम्रो गौरव र इतिहासका चिनो मात्र नभई ती थिए– राष्ट्रिय पहिचानका महत्त्वपूर्ण आधार ।

पाश्चात्य जगत्मा सुरक्षा घेराभित्रका म्युजियम वा धनी वर्गका निजी संकलनमा मात्रै हेर्न पाइने यस्ता कलात्मक कृति नेपालमण्डलभित्र खुला आकाशमुनि सहज पहुँचमा भेटिँदा विदेशी अध्येताहरू आश्चर्यले भरिन्छन् । जर्मनीका कलाप्रेमी युर्गेन स्किकले आफ्नो पुस्तकमा लेखेका छन्, ‘काठमाडौं उपत्यकालाई संसारकै सुन्दर र सम्पन्न एक विशाल खुला संग्रहालय भन्न सकिन्छ ।’

सन् सत्तरीको दशकमा नेपालमा राजाको सक्रिय शासनकाल थियो । त्यस संवैधानिक हिन्दु राजतन्त्रमा राजालाई विष्णुको अवतार भनिन्थ्यो अर्थात् राजा थिए– धर्मका संरक्षक । तर, तिनै धर्मभीरु शासकको छत्रछायामा धर्म, संस्कृति र आस्थाका प्रतीक एकपछि अर्को गर्दै मन्दिर, गुम्बा, चैत्य, सम्पदा क्षेत्रबाट हराउँदै गए । फेरि पनि राज्यसंयन्त्र बनेको थियो केवल मुकदर्शक ।

आतंकका ती दिन

पाटन सौगलको सूर्यमूर्ति दुई कोणबाट महत्त्वपूर्ण थियो । पहिलो, दसौं शताब्दीतिर कुँदिएको त्यो थियो– एक कलात्मक मूर्ति । दोस्रो, त्यस मूर्ति मानवाकृत उभिएको अवस्थामा थियो । चोरीको बिगबिगी बढेपछि सुरक्षाका लागि स्थानीयले मूर्तिलाई चारैतिर फलामे पाताले कसे । वैशाखको एक रात ०४३ सालतिर हातहतियारसहित आएको एक समूहले त्यो मूर्ति उखेलेरै लिएर गयो ।

इन्द्रजात्रामा काठमाडौंका टोलटोलमा भैरवका मूर्तिहरू सार्वजनिक ठाउँमा सजाएर पूजा गरिने, एक सातासम्मै खुला स्थानमा मूर्ति प्रदर्शन गर्ने प्रचलन थियो । तर, ०४३ को इन्द्रजात्रामा एकै रात काठमाडौं भित्री सहरका नघल, थँहिटी, त्यौड र न्ह्योखाबाट चारवटा भैरवका मूर्ति हराए । वर्ष त्यही थियो, पुुस ३० को राति केही अज्ञात मान्छेले कीर्तिपुरको भित्री बस्तीमा ठाउँठाउँका सम्पदा क्षेत्रका मूर्ति उखेल्दै थिए, त्यो पनि प्रहरीकै बर्दीमा । स्थानीयले थानामा पुगेर उजुरी गरे । स्थानीयलाई प्रहरी हाकिमले झपारे ।

२०४४ साल । तिहारलगत्तैको ढल्दै गरेको एक रात । छेउमै नीलो रङको प्रहरी भ्यान तैनाथ थियो । कमान्डो ड्रेस लगाएका पाँच–छ जना मान्छे बांगेमुढास्थित नारायणको मन्दिरभित्रबाट मूर्ति उखेलेर बाहिर घिसार्दै थिए । स्थानीयले चाल पाएपछि झ्याल–झ्यालैबाट चिच्याउन थाले– ‘चोर ! चोर ! चोर !’ त्यसपछि मूर्ति त्यतै छाडेर मानिसहरू भागे ।

ललितपुर बुङ्मती मन्दिरपरिसरको एउटा महत्त्वपूर्ण पुरातात्त्विक सम्पदा हो– भैरवको मूर्ति । रातो मच्छिन्द्रनाथजत्तिकै प्राचीन र कलात्मक वुङ्मलोकेश्वरलाई अज्ञात समूहले उठाएर लग्यो । लगत्तै त्यहाँबाट एकपछि अर्को मूर्ति हराउन थाले । मान्छेहरूले त्यहाँको तोरण पनि उठाएर लगे । चर्को असुरक्षा र आतंकबाट आत्तिएका त्यहाँका पुजारी–पाँजुहरू सामूहिक रूपमा निवेदन बोकी गुठी संस्थान पुगे । रातो मच्छिन्द्रनाथको मूर्ति कुनै पनि बेला चोरिन सक्ने र मन्दिरमा बस्ने पुजारीहरूको ज्यान पनि असुरक्षित भएकाले पूजा र मन्दिरको जिम्मा गुठी संस्थानले लिनुपर्ने माग पुजारी–पाँजुको थियो । तर, गुठी संस्थान चुप बस्यो ।

ललितपुर, पुल्चोक डाँडामाथिको आकाशयोगिनीको मूर्ति चोरीको पनि प्रयास भयो । फलामे ढोका थियो, त्यसैले चोरहरूले त्यो फुटाउन सकेनन् र भागे । पछि नियमित भजन गर्ने मण्डली डीएसपी कार्यालय पुग्यो, घटनाको जाहेरी दिएर सुरक्षाको माग गर्‍यो । तर, डीएसपीको उत्तर थियो– अबउप्रान्त मूर्ति चोरीको घटनासम्बन्धी उजुरी गर्न मकहाँ नआउनू ।

भक्तपुर, पच्चपन्नझ्याले दरबारअघि उभिएको शिलास्तम्भमाथिको राजा भूपतिन्द्र मल्लको आकर्षक प्रतिमूर्तिबारे मानिसहरू जानकार छन् । सुनको मोलम्बासहित धातुको त्यो मूर्ति कलाकृतिका दृष्टिकोणबाट अनुपम छ । २०४१, चैत २८ को मध्यरात भीमकाय क्रेनसहित अपराधीको एक जमातले त्यो मूर्ति उखेल्न निकै प्रयत्न गर्‍यो । प्रहरी नायब उपरीक्षकको कार्यालय दरबार स्क्वायर परिसरमै थियो । केही जवानसहित डीएसपी रूपकराज शर्मा त्यहाँ आइपुगे । ‘माथिको आदेशबाट आएका हामी,’ क्रेन चलाउनेहरूको स्पष्टोक्ति थियो । त्यो ‘माथि’ को संकेत थियो– नारायणहिटी राजदरबार । तर, डीएसपी रूपकले कुनै कुरै सुनेनन् र त्यहाँ अप्रिय घटना हुन दिएनन् । क्रेन लिएर आएकाहरू फर्के । भूपतिन्द्र मल्लको सालिक उखेलेर लैजाने त्यो योजनामा सफल भएनन् । तर, अवरोध गर्ने डीएसपी रूपक केही दिनपछि नै सर्लाही सरुवा गरिए । र, गोविन्द थापा नयाँ डीएसपी भएर खटिए ।

चोरिएका मूर्तिहरूमा पशुपति बच्छलेश्वरी अवस्थित तेस्रो शताब्दीको नारीशक्ति, पशुपति भुवनेश्वरीकै पाँचौं शताब्दीको विष्णुको मूर्ति र चाबहिलको सातौं शताब्दीको नागराजका मूर्ति सबैभन्दा प्राचीन थिए ।

लैनसिंह बाङ्देलको किताब ‘द स्टोलन इमेजेज अफ नेपाल’ मा त्यस कालखण्डमा चोरिएका २२७ मूर्ति संख्या सचित्र उल्लेख गरिएका छन् । जर्मनीका युर्गेन स्किकले आफ्नो किताब ‘द गड्स आर लिभिङ द कन्ट्री’ मा चोरिएका प्रस्तर मूर्ति र १८० तोरणको चर्चा गरेका छन् । पुरातत्त्व विभागका अधिकारीको अनुमानमा लगभग पाँच सय मूर्ति नेपालबाट हराएका छन् । निजी स्वामित्वमा रहेका ससाना धातुमूर्ति तथा पौभा, थाङ्का चित्र अनि हस्तलिखित ग्रन्थ हराएका अलग्गै कथा छन् ।

फिर्ता भएका चोरिएका मूर्ति

युनेस्कोको महातहतमा सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात–निर्यात र स्थानान्तरणको निषेध तथा रोकथामसम्बन्धी महासन्धि– १९७० क्रियाशील भएयता अन्तर्राष्ट्रिय तहमा नौलो परिस्थिति सिर्जना भयो । विशेषतः नेपालबाट हराएका पुरातात्त्विक–कलात्मक मूर्तिहरू फिर्ताका लागि त्यो महासन्धि बलियो कानुनी आधार बन्यो । स्विडेनकी कलाकार जोय लियन डाभिजको ‘रिमेम्बरिङ द स्कल्पचर अफ काठमाडौं’ परियोजनाका रूपमा अघि बढ्यो । अन्तर्राष्ट्रिय स्तरमा नेपालबाट हराएका अनेकन् कलाकृतिसम्बन्धी सचेतना जगाउन यसले अभियानको रूप लियो । अर्कोतिर ‘लस्ट आर्ट अफ नेपाल’, ‘स्टोलन आर्ट्स अफ नेपाल’ का तर्फबाट नेपालबाट हराएका मूर्ति खोज्न संस्थागत प्रयत्न सुरु गरियो । त्योमध्ये ‘पिपुल्स फर द लस्ट आटर््स अफ नेपाल’ सामाजिक सञ्जाल समूह निकै प्रभावकारी देखियो ।

सत्यमोहन जोशीको संरक्षकत्वमा रहेको ‘सम्पदा पुनःस्थापना अभियान’ को भूमिका पनि उल्लेखनीय रह्यो । काठमाडौं उपत्यका संरक्षण गुथिअन्तर्गतको ‘रिमेम्बरिङ द लस्ट स्कल्पचरस अफ काठमाडौं’ पनि यसै अभियानमा थपिएको छ ।

सामाजिक स्तरमा अभियन्ताहरूले देखाएका सरोकारले देशबाट हराएका महत्त्वपूर्ण मूर्तिहरू फर्काइने क्रम सुरु भएको छ । टेक्सास डल्लास, अमेरिकाबाट फर्काइएको ललितपुरको वासुदेव–कमलाज यस क्रमको सबैभन्दा पछिल्लो उपलब्धि हो । डोल्पाको यत्सेर जाङ्गचुयली गुम्बाबाट चोरिएका बौद्ध मूर्तिहरू (जुन ल्हासा पुर्‍याइएका थिए) कुल २८ थिए । हालसम्म स्वदेश फर्काइएका मूर्तिमा त्यो नै ठूलो संख्या हो ।

पुरातत्त्व विभागका अनुसार, हालसम्म संयुक्त राज्य अमेरिकाबाट २३, बेलायतबाट १९, भारत कलकत्ताबाट १३, अस्ट्रिया र जर्मनीबाट एक–एकवटा मूर्ति तथा पुरातात्त्विक वस्तु नेपाल फर्काइएको छ । अझै नेपाल फर्काइनुपर्ने हाम्रा अरू महत्त्वपूर्ण सम्पदा कति छन्, कहाँ छन्् ? थाहा छैन ।

पर्दापछाडिका हातहरू

पुर्खाका श्रम र सिर्जनाबाट निर्मित मानव सभ्यताकै ती धरोहर (जुन नेपालीको पहिचान र गर्वका आधार हुन्) लाई संगठित रूपमा लुप्त पार्ने अदृश्य शक्ति के थियो होला ? पर्दापछाडिका शक्तिहरू को थिए होलान् ?

पाटन दरबार सुन्दरी चोक, धारामा सजाइएका मूर्तिहरू एकपछि अर्को हराए । हनुमानढोका दरबारपरिसरको दिगु तलेजुभित्रका मूर्ति ०२६ सालमा चोरिए । केही समयपछि तलेजु भवानीको शिरमा चढाइएको चाँदीको किकिंपा बेपत्ता भयो । ०९० को भूकम्पमा भत्किएको भक्तपुरको हरिशंकर मन्दिरको सुनको गजुर सुरक्षाका लागि भक्तपुर दरबारभित्र राखियो ।

दस जना मानिसले पनि उचाल्न नसक्ने र मूलढोकाबाट नछिर्ने त्यो बोझिलो पुरातात्त्विक सामान पछि त्यहाँबाट हरायो ।

पाटन, भक्तपुर र हनुमानढोका दरबारका सम्पूर्ण जिम्मेवारी दरबार हेरचाह अड्डाको हुन्थ्यो, जुन प्रत्यक्ष नारायणहिटी राजदरबारअन्तर्गत सञ्चालित थियो । ती प्राचीन दरबारहरूका परिसरमै शाही सेनाको टुकडी बस्थ्यो । सुरक्षा उनीहरूकै हुन्थ्यो ? स्वाभाविक प्रश्न हो– यस्ता भौतिक संरचना र सुरक्षाभित्रबाट पुरातात्त्विक महत्त्वका ती सामान हराउन कसरी सम्भव भयो ?

अमेरिकामा रहेकी पत्रकार श्वेता ज्ञानु बानियाँले हालै ट्वीटरमा सार्वजनिक गरेपछि सिकागो म्युजियममा सार्वजनिक प्रदर्शनमा राखिएको काठमाडौं तलेजु मन्दिरबाट हराएको पुरातात्त्विक हार कहाँ, कुन अवस्था रहेछ भन्ने जानकारी प्राप्त भयो । राजा प्रताप मल्लले तलेजु भवानीलाई चढाएको चाँदीमा सुनको मोलम्बा लगाएको, अष्टमातृका आकृति कुँदिएको मूर्तिसहितको त्यो हार नेपालकै हो भन्ने हाल सालै भेटिएको एक लगतबाट पुष्टि भयो । राजदरबारकै निर्देशनमा ०२७ सालमा तलेजुको सम्पत्तिको लगत राख्न राजदरबारका प्रतिनिधि, अञ्चलाधीशसहितको उच्चस्तरीय समिति बन्यो । पुजारी उद्धव कर्माचार्यका अनुसार, तयार गरिएको लगतसहित तलेजुको त्यस हार र अरू थुप्रै पुरातात्त्विक सामान त्यसै बेला राजदरबारमार्फत गुठी संस्थानको जिम्मा लगाइएको थियो । अहिले त्यो सिकागो म्युजिममा कसरी फेला पर्‍यो ?

जनकपुर जानकी मन्दिरको गरगहना र पुरातात्त्विक सामग्रीका सम्बन्धमा पनि समान कथा छ । महन्त रामशरण दासका अनुसार, २०२० साउन, १२ गते सुरक्षाका लागि भनेर मन्दिरभित्रका हीरामोती र मूल्यवान् पत्थर जडेका सुनका ५६ थान गरगहना अनि ७७ थान चाँदीका पुरातात्त्विक सामान गुठी संस्थानमार्फत दरबारमा बुझाइयो, अहिले त्यसको कुनै अत्तोपत्तो छैन । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको अस्ट्रेलियन महिला सरले म्याकफरेन्ससँगको प्रेम प्रसंग सार्वजनिक भएपछि राजदरबारले ०४५ मंसिर, २८ का दिन विज्ञप्ति जारी गरी धीरेन्द्रको अधिराजकुमार पदवी च्युत गर्‍यो । लगत्तै राजाका एडीसी भरत गुरुङ र आईजीपी डीबी लामा पक्राउ परे ।

तत्पश्चात् राजपरिवारको संरक्षण र निर्देशनमा लामो समयदेखि नेपालभित्र लागूपदार्थको तस्करी र मूर्ति चोरीका गतिविधि हुँदै गरेका घटना उदांगिए ।

नेपाली सेनाका पूर्वरथी तथा राजाका एडीसी कृष्णनारायण सिंह थापाले लेखेका ‘समय सम्झना’ किताबको एक खण्डमा त्यसबखत राजदरकारबाट विदेश पठाइएका सामानका बक्साभित्र चरेस हुन्थे । परराष्ट्रसचिव पद्मबहादुर खत्रीको निर्देशनमा सञ्चालित गोप्य मिसनअन्तर्गत वासिङ्टनको एयरपोर्टमा राजदरबारबाट फिल्मका ३२ वटा रिलका डब्बाभित्र नसालु पदार्थ पठाइएको र त्यो आफैंले खोलेर हेरेको उल्लेख गरेका छन् । हालै योहो टीभीमा अन्तर्वार्ता दिँदै रथी थापाले चोरिएका मूर्ति र नसालु पदार्थको कारोबार राजदरबारबाटै हुने गरेको खुलासा गरेका छन् ।

पत्रकार पद्म ठकुराठीले एक अनलाइनसँग कुराकानी गर्दै त्यस बेला नेपालबाट मूर्तिको तस्करी र नसालु पदार्थको कारोबार राजदरबारबाटै गर्ने/गराउने गरेको ठोकुवा गरेका छन् । त्यस बेला उनी एक साप्ताहिक पत्रिकाको सम्पादन गर्थे र पत्रिकाबाट भूमिगत गिरोहका नाउँमा रहेका एकथरी दरबारिया शक्तिको भण्डाफोर गरिरहेका थिए । मूर्ति चोरी र नसालु पदार्थको तस्करीविरुद्ध पत्रिकामार्फत अभियान नै चलाएका थिए । त्यसै बेला जगत गौचन भन्ने मान्छेले ठकुराठीमाथि गोली चलाए, लामो उपचारपछि उनको ज्यान जोगियो । ठकुराठीको खुला आरोप छ, आफूलाई मार्ने षड्यन्त्र ज्ञानेन्द्र्रकै निर्देशनमा भएको थियो । मूर्ति र नसालु पदार्थको तस्करीमा राजदरबार प्रत्यक्ष संलग्न थियो र त्यसका मुख्य मानिस ज्ञानेन्द्र–धीरेन्द्र नै हुन् भन्ने सार्वजनिक दाबी छ ठकुराठीको ।

राष्ट्रकै पहिचान ती अमूल्य सम्पदा विलुप्त पार्ने विगतका यावत् घटना न कपोलकल्पित थियो, न कसैमाथिको आग्रहपूर्ण आक्षेप नै । मूर्ति चोरीका जेजति घटना भए– ती यथार्थ थिए, जुन निन्दनीय र अपराधजन्य हुन् । हिजोआज सम्पदा संरक्षणमा नागरिकस्तरमै विघ्न सरोकार देखिएको छ । यस्तो बेला विगतमा यस सम्बन्धमा जघन्य अपराध गर्नेलाई आजसम्मै उन्मुक्ति किन होला ? उत्तर कहाँबाट खोज्ने ?

प्रकाशित : श्रावण २१, २०७९ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?