गुलाबी रिबन- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

गुलाबी रिबन

शरीरमा क्यान्सर उब्जिनु व्यक्तिको आपराधिक स्थिति होइन, ऊ अज्ञात शत्रुसित लड्न योद्धा बन्दै गरेको अवस्था हो । आदिम नग्नवादी सभ्यता भुल्दै समाजले जतिखेर आधुनिक मस्तिष्कमा लाजप्रतिको विवेक अपनायो त्यसै क्षणदेखि समाजमा स्त्री शरीरप्रति केवल अपराध र शोषणमूलक अप्रिय दृष्टिकोणको सुरूवात भयो ।
मेरो तरुण मानसिकतामा खोपिएको स्त्रीविम्ब थियो– श्वेत अनुहार, ३६ इञ्चको स्तन, २७ इन्चको कम्मर अनि ५ फिट ७ इन्चको शरीर । तर, मलाई थाहा छ– ‘सौन्दर्य’ शब्द सानो बोतलमा बन्द गरी प्रदर्शनीका निम्ति राखिने वस्तु होइन ।
शैलीका छेत्री

विकासवादी सिद्धान्तले स्त्री–स्तनलाई आनुवंशिक स्वास्थ्यको प्रमुख अंग मानेको छ । यसको समर्थनमा लियोनार्ड श्लेनले ‘सेक्स, टाइम एन्ड पावर ः हाउ वुमेन्स सेक्सुअलिटी सेप्ड ह्युमन इभोल्युसन’ किताबमा लेखेका छन्, ‘प्रारम्भिक पुर्खाहरू सीधा उभिएर हिँड्न सिकेपछि मात्रै स्तनको आकारमा वृद्धि भएको हो र स्त्रीमा सुडौलपन आएको हो ।’

तर, आदिम सभ्यता जतिबेला विकासक्रमको चरममा पुग्यो, त्यतिबेला बदलिँदै गएको प्रकृतिसित स्त्री शरीरमा पनि ‘एस्ट्रोजेन’ हर्मोनको कस्मिक प्रभाव बढ्यो । र, त्यसले स्त्रीलाई समाजमा जननीको ओहदा दियो । बोसो मात्रै भरिएको स्तनमा ‘एस्ट्रोजेन’ ले ‘प्रोल्याक्टिन’ हर्मोनको सहयोगमा दूध उत्पादन गरायो । र, त्यो स्तनपान नै थियो, जसले आदिम सभ्यतालाई मुख्यतः सेक्रेटरी आइजिए एन्टिबडीहरूमार्फत विभिन्न संक्रमणबाट मानिसलाई बचाउँदै आयो । डार्विनले पनि ‘द ओरिजिन अफ स्पेसिस’ मा जाति उत्पत्ति र विकासक्रमको मूलधार स्त्रीको प्रजनन क्षमतातिर खोजे ।

तर, प्रकृतिले विकासक्रममार्फत नग्नवादी आदिम मानव मस्तिष्कमा जतिखेर विवेकको छाता ओढायो, त्यो छातामुन्तिर लज्जालाई पनि हुर्काउँदै गयो । त्यो लज्जाले स्त्री–शरीरलाई छोप्ने काम गर्‍यो, सँगै प्रजनन अंग चियाउने आँखाहरूका विकास पनि त्यही समाजमा भयो । त्यसपछि नै हो स्त्री–सौन्दर्यलाई यौनका नजरले हेर्न थालिएको । तर, प्रकृतिले ‘सेरोटोनिन’ हर्मोनको रफ्तार मानव मस्तिष्कमा बढाएपछि मात्रै हामीलाई सौन्दर्य खुब मन पर्न थालेको हो । अनि त्यो ‘अक्सिटोसिन’ हर्मोनको प्रभाव हो, जसले मानव मस्तिष्कमा सौन्दर्यलाई ‘प्रेम’ भनेर खबर दिन्छ । सौन्दर्यलाई प्राथमिकता दिँदै प्रकृतिले पनि ‘सेक्सुअल डिमोर्फिज्म’ को अनौठो खेल रचिरहन्छ, जसमार्फत स्तनधारी जनावर छाडी अन्य जनवारतिर हेर्दा कैयौं प्रजातिमा पोथीभन्दा भाले निकै सुन्दर देखिन्छ । सौन्दर्य प्रस्तुत गर्ने भालेको नृत्यलाई पोथीले स्वीकृति दिएपछि मात्रै त्यो प्रजाति प्रकृतिमा फैलिने बाटो खुल्छ ।

त्यो ‘सेक्सुअल डिमोर्फिज्म’ नै हो, जसले प्रकृतिमा स्त्रीत्व पुरुषमाथि हाबी बनेको देखाउँछ । त्यसैले होला ब्रह्मालाई सबैभन्दा अनुपम सृष्टि स्त्रीकै उत्पत्ति गर्नु थियो, जसको प्रामाणिकतामा अनुवांशिकी विज्ञान पनि बोलिरहन्छ, ‘प्रकृतिमा चाहे त्यो मानव भ्रूण होस् वा अन्य स्तनधारी पशुको भ्रूण, त्यसले जीवनको स्रुवात आमाको गर्भमा स्त्रीका रूपमै गरेको हुन्छ । १.५ महिनापछि ‘एन्ड्रोजन’ (पुरुष सेक्स हर्मोन), ‘एस्ट्रोजन’ (स्त्री सेक्स हर्मोन) माथि हावी भए मात्रै भ्रूणमा पुरुषत्वको जन्म हुन्छ ।’ तर, पितृसत्तात्मक समाजमा स्त्रीत्व वर्चस्वको कुरा गर्नु, बालुवा निचोरेर तेल झिक्नुसमान हुन्छ । यहाँ स्त्रीलाई केवल कामुक मान्ने सिग्मन्ड फ्रायडका आँखाहरू छन् । सौन्दर्य र कामुकताका निम्ति स्त्री–शरीरलाई ‘कामसूत्र’ की पद्मिनीको सौन्दर्यसित पनि दाँजिन्छ । त्यसैले पुरातन सभ्यतादेखि नै यी तथ्यलाई जीवन–आधार मानिँदै कैयौं स्त्रीलाई आकर्षक बन्ने होडबाजीमा जबरन ठेलिन्छ । त्यसैले मेरो तरुण मानसिकतामा खोपिएको स्त्रीविम्ब थियो– श्वेत अनुहार, ३६ इन्चको स्तन, २७ इन्चको कम्मर अनि ५ फिट ७ इन्चको शरीर । तर, मलाई थाहा छ– ‘सौन्दर्य’ शब्द सानो बोतलमा बन्द गरि प्रदर्शनीका निम्ति मञ्चमा राखिने वस्तु अवश्य होइन ।

जतिखेर ऐनाअघि उभिएर म सौन्दर्यलाई बुझ्ने प्रयासमा हुन्छु, त्यतिखेर एकल कोषिकाबाट सुरु भएको मेरो विकासक्रमको यात्रालाई देखेको हुन्छु र शरीरभरि प्रत्येक घण्टामा बनिँदै अनि मर्दै गरेका एक अरब कोषिकालाई अनुभव गरिरहेको हुन्छु । त्यतिखेर मलाई मेरो शरीर त्यस कोषिकाले बनिएको घरजस्तो लागिरहेको हुन्छ, जहाँ बस्ने परिवार अर्थात् कोषिकामा तालमेल नभए त्यो घर अर्थात् शरीर नष्टको कगारमा उभिएको हुन्छ । यो विज्ञानको प्रामाणिक पक्ष हो । त्यसैले भन्न सक्छु, ‘यो एउटा यस्तो स्थिति हो, जहाँ आफ्नो मृत्युको खेलमा तैनाथ बनेको शत्रु स्वयम् आफू नै हुन्छ, जसलाई विज्ञानले क्यान्सर नाम दिएको छ ।’

अनि यो अवस्था बडो अप्रिय सम्झौताको स्थिति हो, जहाँ शरीरको सामान्य काम गरिरहेका कोषिकामा विपरीत दिशातिर काम गर्ने म्युटेसन देखापर्छ र त्यो सामान्य कोषिका नै क्यान्सर कोषिकामा परिणत भएको हुन्छ । त्यसपछि लगातार बढ्दै अन्त्यतिर त्यो क्यान्सर कोषिका शरीरभरि फैलिन्छ अनि शरीर मृत्युछेउ पुग्छ । तर, मानव सभ्यतामा क्यान्सरको मृत्युलाई माथ दिँदै जीवन बोलिरहन्छ । त्यो जागरुकताको कडी हो, जसको प्रामाणिकतामा विज्ञान उभिएको हुन्छ । स्त्री–प्रतीक मानिने स्तनमा सबभन्दा सामान्य कार्सिनोमा क्यान्सर हुने सम्भावना बढी मात्रामा हुन्छ, जसलाई केवल जागरुकताले मात्रै जोगाउन सकिन्छ ।

तर, हाम्रो समाजमा जागरुकता कम छ । त्यसैले त भारतमा एक लाख स्तन क्यान्सरपीडित महिलामा मृत्युदर १२.७ प्रतिशत छ । स्तन क्यान्सरका विषयमा मात्रै होइन, समाजमा स्त्रीको प्रजनन अधिकार, गर्भपतन अधिकार, घरमा गृहिणीले भोग्दै आएको आर्थिक असमानता, कार्यस्थलका असमानता तथा दुर्व्यवहारजस्ता तमाम विषयमाथि जागरुकता फैलिनुपर्ने हो । तर, समाजले ‘निर्लज्ज भन्छ’ भन्ने डर वा अज्ञानमा कैयौं स्त्रीले जीवन गुमाइरहेका छन् ।

मृत्युको कुवा

सायद यस्तै लाज मान्ने स्त्री–जमातमा पूजाको पनि गन्ती आउँथ्यो । मलाई याद छ, त्यो जुलाईको अविरल वृष्टिपातको महिना, जसको चपेटामा दार्जिलिङका कन्दराहरू टाढाबाटै पैह्रोको घाउमा रोएजस्तो लाग्थ्यो । हो, ठीक यस्तै मृत्युको पैह्रोनेर उभिएकी थिई, पूजा । पूजा संयुक्त परिवारकी बुहारी थिई र मेरो मिल्ने साथी । तर, उसको दैनिक जीवन भान्साकोठाको धूवाँसित सुरु हुन्थ्यो भने भान्साकोठाको बत्ती निभिसकेपछि दिनको अन्त्य हुन्थ्यो ।

यस्तो घरेलु व्यस्तताबीच पूजाले आफ्नो स्तनमा हुर्किंदै गरेको क्यान्सरको गाँठोलाई एक दिन नुहाउने कोठामा हतारहतार अनुभव गरेकी थिई । त्यसपछि उसले त्यो गाँठोबारे लोग्नेसँग कुरा गरी, तर परिवारमा पहिले कहिल्यै नदेखिएको त्यो स्तन–क्यान्सर चिन्ता गर्नुपर्ने विषय हो भन्ने उसको लोग्नेलाई लागेन, बरु त्यस गाँठोलाई ‘अन्धा पिलो’ मानेर भुल्ने काम गरियो ।

तर, दिनदिनै स्तनको त्यस गाँठोको आकारमा पनि वृद्धि भइरह्यो र अप्रिय थकानमा पूजा कमजोर बन्दै गई । तीन वर्षकी बच्चाकी आमा पूजालाई त्यस क्षण प्रत्येक दिन बिग्रिँदै गरेको आफ्नो हालतसित लड्नुपर्ने भयो । र, एक दिन उसको दाहिने स्तन रातभरि तीव्रसँग दुखिरह्यो, निप्पल डिस्चार्ज पनि सुरु हुन थाल्यो । त्यसैले भौतारिँदै पूजा अस्पतालको आपत्कालीन कोठामा परीक्षण गर्न पुगी । त्यहाँ अन्कोलोजिस्टले पूजाको स्तनमा अल्ट्रासाउन्ड अनि म्योमोग्रामबाट छ मिमिभन्दा पनि ठूलो गाँठो पत्ता लगाए । परिक्षणपछि त्यो गाँठो स्टेज आईभी/बी स्तन क्यान्सर हो भन्ने थाहा लाग्यो, जहाँबाट जीवनतिर फर्किने आशा शून्य मानिन्छ । पूजाको जीवनको एक मात्रै शत्रु अहिले उसैको शरीरको कुनै एक धोकेबाज कोषिका बनको थियो, जसलाई रोक्नु अब असम्भव थियो ।

क्यान्सर र विज्ञान

कोषिका जीवविज्ञानको सबैभन्दा कठिन तथा लामो विषय हो, ‘क्यान्सर’ । तर, जटिल आणविक विषयका केवल चाहिँदा पक्ष मात्रै हाइलाइट्स गर्दै त्यसबेला जीवविज्ञानका दक्ष प्रोफसेर विशाल सर, बडो गमिएका थिए र एक्कासि जागेर भनेका थिए– ‘तर...तर नि जानिराख । कोषिकामा क्यान्सर, अचानक बनिँदैन, यो बहुचरणमा लागू हुने प्रक्रिया हो । क्यान्सर भन्ने मृत्यु बमको ट्रिगरचाहिँ तिम्रो शरीरभित्र नै छ । त्यो प्रत्येक कोषिका, जसले माइटोसिस अनि मियोसिस प्रक्रियाबाट विभाजित हुन जान्दछ, त्यसको डीएनए परिरचनमा म्युटेसन मात्रै आओस्, तिम्रो जीवनको खेल त्यहीँ खतम हुन्छ ।’

नोबेल पुरस्कारबाट सम्मानित जे. माइकल विसप अनि हेरोल्ड इ. बर्मसले तथाकथित ओन्कोजिनमा (क्यान्सर बनाउने जिन) आएको गडबडीले सामान्य कोषिकालाई ट्युमर कोषिकामा रूपान्तरण गर्छ भन्ने वैज्ञानिक खोजसँगै कोषिकामा म्युटेसन आउनु भनेकै क्यान्सरलाई निम्त्याउनु हो भन्ने पत्ता लगाए । त्यसले कोषिकालाई असामान्य तौरमा, छिटोछिटो विभाजित बन्दै, आफूजस्ता क्लोन कोषिका बनाउने स्वतन्त्रता दिन्छ, जसलाई विज्ञानले ‘क्लोनल सेलेक्सन’ भन्छ । यस प्रक्रियामा क्लोन कोषिकाहरू एकै ठाउँमा थुप्रिँदै त्यहाँ क्यान्सरको प्रथम ‘पोलिप स्टेज’ लाई निम्त्याउँछ ।

यस्तै गरी, दाना–कार्बर प्रयोगशालामा डा. कोलिनले ट्युमर सप्रेसर जिन भनेर चिनिने जिनहरूमा हुने म्युटेसनले क्यान्सर हुन्छ भनेपछि स्पष्ट भयो– क्यान्सरले कोषिका वृद्धि रोक्ने जिन ‘ट्युमर सप्रेसर जिन’ को कार्य प्रणालीलाई ठप्प पर्दै, ‘एपोप्टोसिस’ लाई (कोशिका नष्ट हुने सामान्य प्रक्रिया) सधैंका निम्ति बन्द गर्छ । यसरी क्यान्सर कोषिकाहरू दोस्रो अनि तेस्रोपटक पुनः म्युटेसनद्वारा विभाजित भई शरीरमा ‘इन्टरमिडियट एडेनोमा’ भनिने ‘लेट एडेनोमा’ स्टेजलाई निम्त्याउँछ र त्यो नै क्यान्सरको दोस्रो अनि तेस्रो स्टेज हो । अब शरीरभरि क्यान्सर कोषिकाले फैलिने योजनालगायत सर्कुलेसन अर्थात् रक्तधमनीको मार्गबाट वा लिम्फेटिक प्रणालीको माध्यमबाट लिभर, हृदय, फोक्सो अनि मस्तिष्कसम्म आफ्नो वर्चस्व कायम गर्छ, जसलाई विज्ञानले ‘मेटास्टेटिस’ अर्थात् क्यान्सरको चौथो स्टेज भन्छ ।

विशाल सरले लामो सास फेर्दै गम्भीर वाणीमा भनेका थिए, ‘यो स्थिति ठीक उस्तै हो, जहाँ राहु र केतुले मोहिनीको हातबाट छलले अमृत पान गरेका थिए । क्यान्सर कोषिका पनि यस्तै छलकारी रहेछ । आफूलाई शरीरभित्रको ‘एनारेबिक’ अर्थात् अक्सिजनको कमी रहेको ठाउँतिर पनि बचाइराख्नु, शरीरका भीईजी (भास्कुलर एन्डोथेलियल ग्रोथ फ्याक्टर) नामक द्रव्यलाई यस्तो उत्तेजित पार्दो हो, उत्तेजित भीईजीको प्रभावमा क्यान्सरस ट्युमर वरिपरि नयाँ रक्तधमनी बनिन्छ, जसबाट क्यान्सर कोषिकाले शरीरको ग्लुकोज अनि पर्याप्त अक्सिजन अवशोषित गरेको हुन्छ । डा. कोलिनले यस्तै भीईजी उत्तेजनासित क्यान्सरको वृद्धिलाई देखाउँदै उपचारका लागि भीईजी अवरोधकहरूको अन्तिम सफल क्लिनिकल परीक्षणबाट यसलाई रोक्न सकिन्छ भन्ने नोबल खोजले हजारौं क्यान्सरपीडितको ज्यान बचाएको छ ।’

क्यान्सर कोषिकाका तथ्यपूर्ण कुरा सुनेपछि क्लासमा अज्ञात डरले एक प्रकारको सन्नाटा ल्याएको थियो, सायद त्यसरी क्लास डराएको विशाल सरले अनुमान पाए होलान् र त डरलाई अलिकति कम गर्ने भेउमा उनले भनेका थिए– ‘शरीरमा क्यान्सर बनिनु हाम्रो हेलचेक्य्राइँले होइन । त्यो केवल मिल्दो वा अमिल्दो संयोग मात्र हो । तर, क्यान्सरबाट जोगिन हामीलाई अलिकति जागरुकताको खाँचो पर्दो हो । त्यसैले भन्छु, धूमपानबाट निस्कने ‘बेन्जोपायरिन’ नामक रसायनबाट फोक्सोको क्यान्सरलाई किन निम्त्याउनु ? वा बदामको फंगस ‘अल्फाटोक्सिन’ लाई कोशिकाको डीएनए परिरचना परिवर्तन गर्ने मौका किन दिनु ? वा किन तकनिकी ग्याजेकका रेडिएसनलाई शरीरको डीएनए प्रभावित गर्न दिनु ?’

स्तन क्यान्सर

विज्ञान भन्छ– स्त्रीले स्तन क्यान्सरको ९९ प्रतिशत प्रतिनिधित्व गर्छन् र स्तन क्यान्सरबाट निदान हुने सम्भावना १२.१ प्रतिशत हुन्छ । स्तन क्यान्सर हुने सम्भावना उमेर बढ्दै जाँदा लगभग ६५ प्रतिशत स्त्रीमा ५५ वर्षभन्दा माथि वा ४५ वर्षपछि बढी मात्रामा देखिन्छ भने वंशानुगत स्तन क्यान्सरले उमेर पर्खिंदैन । निश्चित वंशानुगत जीन उत्परिवर्तनले स्तन क्यान्सरको जोखिम बढाउँछ । यद्यपि यी जिनहरू समग्र केसहरूको ५.१० प्रतिशत मात्रै हुन् । यी जिनबिना पनि हजुरआमा, आमा, बहिनी वा छोरीलाई स्तन क्यान्सर हुन सक्छ । महिनावारी चाँडै (१२ वर्षको उमेरअघि) सुरु हुँदा स्त्रीले आफ्नो जीवनकालमा प्रजनन हार्मोनको स्तरमा उतारचढाव अनुभव गर्दा पनि स्तन क्यान्सरको जोखिम बढ्छ । रजोनिवृत्ति ढिलो (५५ वर्षपछि) देखापर्दा पनि स्तन क्यान्सरको जोखिम बढेर जान्छ भने रजोनिवृत्तिका लागि हार्मोनल थेरापीले पनि स्तन क्यान्सरको औसत दर बढाउँछ । यस्तै बाक्लो स्तनले (फाइब्रोसिस्टिक) पनि यो निम्त्याइरहेको हुन्छ ।

वंशानुगत जिन

डा. मेरी क्लेयर किङलाई ‘बीआरसीएआई’ जिनको म्युटेसनका कारण स्तन क्यान्सरको वंशानुगत संवेदनशीलता पत्ता लगाएर क्यान्सर आनुवांशिकी र ओन्कोलोजीलाई रूपान्तरण गरेबापत २०२१ मा क्यानाडा गियरडनर अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । उनले पत्ता लगाएको क्यान्सरको वंशानुगत संवेदनशीलताकै आधारमा ‘स्तनमा अचानक गाँठो देखिनु,’ ‘गाँठो नदेखिए पनि स्तनको सबै भाग बिनाकारण सुन्निनु,’ ‘स्तनको छालामा एक प्रकारको जलन वा डिम्पलिङ हुनु,’ ‘निप्पल दुख्नु, निप्पलमा देखिने रिट्रयाक्सन (निप्पल भित्रतिर फर्केको),’ ‘स्तनको छाला रातो, खैरो वा बाक्लो देखिनु’ तथा ‘निप्पल डिस्चार्ज हुनु’ जस्ता विशेषता सामान्य होइनन्, यी स्तन क्यान्सरका सम्भावित संकेत हुन् भन्ने थाहा भयो ।

डा. मेरीले भनेका प्रत्येक स्तन क्यान्सरका लक्षण र ‘बीआरसीएआई’ अनि ‘बीआरसीएटु’ जीनको वंशानुगत प्रभाव एलिनाको केसमा देखिएको थियो । एलिना सानै छँदा उसकी आमाको मृत्यु भएको थियो– स्तन क्यान्सरबाटै । मेरी प्रिय साथी एलिना २५ वर्षकी अविवाहित स्त्री थिई । एक दिन उसले भनेकी थिई– ‘शैली ! मलाई भविष्यमा मेरो जिन आउँदो मेरा नयाँ पिँढीसम्म पुर्‍याउन मन छ । त्यसैले विवाहपछि म छिट्टै आमा बन्नेछु ।’

तर, एक दिन नुहाउँदा एलिनाले आफ्ना दुवै स्तनमा गाँठाहरू बनिँदै गरेको अनुभव गरी । त्यसपछि आत्तिँदै एलिना ओन्कोलोजिस्टकहाँ जचाउन गई । त्यहाँ ओन्कोलोजिस्टले एलिनाको दाहिने स्तनमा अल्ट्रासाउन्ड र म्यामोग्राम गर्दा बनिँदै गरेको बेनाइन ट्युमरको (क्यान्सरबिनाको ट्युमर) पत्तो पाए । अनि एलिनाको बायाँ स्तनको मासुचाहिँ बायोप्सीका लागि प्रयोगशाला पठाइयो । र, थाहा लाग्यो– एलिना स्तन क्यान्सरको स्टेज आईआईआईबीमा छे ।

अब उसलाई क्यान्सर निदानका लागि केमोथेरापी, शल्यक्रिया र रेडियन हुँदै कठोर र लामो बाटो हिँड्नुपर्ने थियो । उसलाई थाहा थियो, केमोथेरापीले उसको प्रजनन प्रक्रियामा दुष्प्रभाव पार्नेछ । त्यही ध्येयमा एलिनाले प्रजनन संरक्षण अर्थात् अण्डालाई लेटेस्ट वैज्ञानिक पद्धतिबाट भविष्यमा प्रजननका निम्ति प्रयोगमा ल्याउन प्रजनन प्रयोगशालामा फ्रिज गरिहाली र आफ्नो आमा बन्ने सपनालाई कायम राखी । त्यसपछि मास्टेक्टामी (सबै स्तन हटाउने शल्यक्रिया) अतिरिक्त एलिनाले केमोथेरापीको १६ राउन्ड, चार रेड्रियोमाइसिन साइट्याक्सन र १२ राउन्ड ट्याक्सोल दवाई खप्नुपरेको थियो ।

केमोथेरापीले दिएको वाकवाकीपन, थकान, हड्डी दुखाइ अनि रेडिएसनले शरीरको छालामा उब्जाएको जलनको पीडामा एलिना डिप्रेसनसम्म पुगी । तर, ‘जीवन बगिहिँड्ने खोला हो’ । त्यसैले एलिनालाई पनि डिप्रेसन जित्नु थियो । मास्टेक्टामीमा काटिएका स्तनमा कृत्रिम स्तन रोपन गर्ने नूतन स्तन पुनिर्निर्माणको सुन्दर उपचार ग्रहण गर्दै पछि एलिना जीवनतिर फर्केकी थिई ।

स्तन क्यान्सर र गुलाबी चेतना

मलाई याद छ त्यो अक्टोबरको महिना । स्तन क्यान्सरबाट फर्केकी प्रिय साथी एलिनालाई भेट्न म कोलकाता गएकी थिएँ । तर, लामा वर्षपछि एलिनालाई देखेर मैले ओठका मुस्कानलाई त्यही स्तरमा कायम राख्न सकिन । सधैं सुन्दरता ओतप्रोत भइरहने एलिनालाई कपालविहीन र कमजोर देख्नु मेरो आँखाका निम्ति दुःखको कुरा बन्यो । तर, एलिनाले क्यान्सरलाई माथ दिएको प्रेरणादायी कथामा मन रमिरहेको थियो । मलाई देख्नासाथ एक्कासि उसको कोठाको ठूलो ऐनाअघाडि उभ्याउँदै एलिनाले मेरो छातीमा गुलाबी रिबन लगाइदिई अनि भन्न थाली, ‘शैली ! यो गुलाबी रिबन स्तन क्यान्सर जागरुकता अनि प्रारम्भिक निदानको बलियो चेतना हो । यस चेतनाले विश्वव्यापी स्त्रीहरूलाई स्तन क्यान्सरबारे अवगत गराउँछ । २०१८ मा विश्वभरि त्यसरी स्तन क्यान्सरका लगभग २१ लाख नयाँ संक्रमणका घटना पत्तो पाएपछि, ६ लाख २७ हजार स्त्रीले स्तन क्यान्सरलाई जितेका छन् । त्यसैले तिमी पनि यो चेतनालाई मनन गर ।’

अनि स्तन क्यान्सर स्वयम् पत्ता लगाउन सकिन्छ भन्दै मलाई स्तनको स्वपरीक्षणका निम्ति प्रेरित हुन निर्देशन दिई । स्वपरीक्षणमा आफ्ना हातका औंलाहरूले स्तनमा उब्जिँदै गरेको गाँठोको खोजी गरिन्छ, स्तनवरिपरिको छालाको रङमा आएको परिवर्तन, निप्पलबाट निस्कने डिस्चार्ज इत्यादिबाट आउँदै गरेका अप्रिय परिवर्तनबारे जानकार होइन्छ भनेर उसले मलाई सुझाई । तर, एलिनाले त्यसरी स्तन–स्वपरीक्षणको कुरा गर्दा पहिले त मलाई एक प्रकारको लज्जाबोधले छोपिरह्यो । म लजाएको देखेर एलिनाले भनी– ‘शैली ! आफ्नो स्तनप्रति जागरुक रहनु कुनै लज्जाको विषय होइन । यो त स्तन क्यान्सरलाई हराउने प्रथम पाइला हो ।’

लाज र स्त्री

तर, हाम्रो समाजमा यस्तो जागरुकताको कुरा गर्नु निर्लज्जता मानिन्छ । यहाँ स्त्रीमा स्तनप्रतिको जागरुकता रोप्न लाजहरूको कैयौं परतलाई पार गर्नुपर्ने हुन्छ । पहिले म पढेको स्कुलमा स्थानीय गैरसरकारी संस्थाको प्रयासले छात्राका निम्ति पिरियड जागरुकता कार्यक्रम आयोजना भइरहन्थ्यो । त्यस कार्यक्रमको अन्त्यतिर प्रत्येक छात्रालाई सेनेटरी प्याड पनि वितरण गरिन्थ्यो । कतिपय प्रौढ शिक्षिकाहरू हामी छात्रालाई सेनेटरी प्याड सुइटरभित्र लुकाउँदै क्लासतर्फ दौडिने इसारा गर्थे । जतिसुकै होस् जागरुकताको कुरा, समाजले स्त्रीको मस्तिष्कमा रोपेका लज्जाका परतहरू हटाउनु गाह्रो विषय हुँदो रहेछ ।

सायद त्यो लाजहरूको नचाहिँदो परत नै थियो, जसको बलियो बोलीमा प्रत्येक दसैंमा मृदुला दिदी, मालती दिदीलगायत म आफ्नो शरीरको सही नापभन्दा दुई गुना ठूलो कपडामा रमाएका हुन्थ्यौं । समाजले यस्तो साँघुरोपनमा स्त्रीलाई लाजको लक्षण–घेरा पार गर्नु हुँदैन भन्ने उपदेश मात्रै दिन्छ । तर, त्यही समाजले स्त्री स्तनको आकारप्रति कुण्ठा उब्जाउने अपराधमूलक काम पनि गरिरहेको हुँदो हो । त्यसैले भन्छु, निर्लज्जताको ट्याग दिएर स्त्रीलाई ट्रोल गर्ने पुरानो बानीलाई बलियो अस्वीकृति दिँदै ठूलो आवाजमा स्तन क्यान्सरबारे कुरा गरौं । कारण, स्तन क्यान्सरलाई अँगाल्नु कुनै विकल्प होइन बरु मूर्खता हो ।

स्तन क्यान्सरको जागरूकता विश्वभरि फैलाउन अक्टोबर १९ का दिन ‘नो ब्रा डे’ मनाइन्छ । समाजको डरले खुम्चिएका कैयौं स्त्रीलाई स्तन क्यान्सरका लक्षणबारे जागरुक बन्न प्रोत्साहित गर्ने तरिकाका रूपमा ‘नो ब्रा डे’–को कल्पना गरिएको थियो । तर, यस्तो पहललाई यौनजन्य ठान्छ समाज । त्यसैले प्रत्येक वर्ष साँघुरो समाजको शोषणले स्त्रीलाई स्तनबारे जागरुक हुनुबाट रोक्छ । र, नै सबैभन्दा सामान्य कार्सिनोमा ठानिने स्तन क्यान्सरबाट स्त्रीको मृत्यु भइरहन्छ । यो साँघुरो समाजको स्त्रीप्रतिको अनभिज्ञता मात्रै हो ।

चेतनाको आह्वान

विज्ञान र भौतिक जगत्को अत्यधिक विकासले संसार सानो भुकुन्डोजत्रो मात्रै बन्यो । समाजले आदिम नग्नवादी सभ्यता भुल्दै जतिखेर आधुनिक मस्तिष्कमा लाजप्रतिको विवेक अपनायो, त्यसै क्षणदेखि समाजमा स्त्री शरीरप्रति केवल अपराध र शोषणमूलक अप्रिय दृष्टिकोणको सुरुवात भयो । सायद, यस्तै शोषणविरुद्ध ठूलो आवाजमा बोलिरहेछ– मधुलिका सिक्काको किताब ‘ए ब्रेस्ट क्यान्सर अल्फाबेट’ ।

यस किताबले स्तन क्यान्सरलाई एबीसी शब्दसहित बुझाउँछ । ‘ए’ अर्थात् समाजले ट्याबु मानेर स्त्रीलाई सामाजिक डर र लाजको चिन्तामा दिएको ‘अब्लिगेसन’ (बाध्यता), ‘बी’ अर्थात् स्तनप्रतिको ‘बिअवायरनेस’ (जागरुकता), ‘सी’ अर्थात् क्यान्सरलाई माथ दिने ‘करेज’ (साहस) । त्यस्तै बारबरा डेलिन्स्कीको किताब ‘अपलिफ्ट’ ले कैयौं मास्टेक्टोमी, केमोथेरापी अनि रेडिएसनका उत्कृष्ट ब्रान्डहरूबारे स्तन क्यान्सर रोगीलाई जानकारी दिन्छ भने जिना एल मुलिगनको ‘डियर फ्रेन्ड’ ले स्तन क्यान्सरसित लडिरहेका स्त्रीहरूको त्यो अपरिचित चिठीसित अवगत गराउँछ, जसलाई पढेपछि पाठकले स्तन क्यान्सरलाई भावनात्मक आधारमा राम्ररी बुझ्छन् । त्यसैले प्रस्ट छ, शरीरमा क्यान्सर उब्जिनु व्यक्तिको आपराधिक स्थिति होइन, व्यक्ति अज्ञात शत्रुसित लड्न योद्धा बन्दै गरेको अवस्था हो ।

जेसिका क्रेट्जम्यानले स्तन क्यान्सर उपचारका निम्ति भविष्यमा प्रयोग गरिने जिन थेरापीमाथि लेखेको एक लेखमा ८० देखि ९० प्रतिशत बिरालोका स्तन ट्युमरहरू घातक क्यान्सर हुन् र ५० प्रतिशत स्तनधारी कुकुरको स्तन ट्युमरबाट मृत्यु हुन्छ भन्ने विश्लेषण गरेकी छन् । यो पढिसकेपछि लाग्छ– पशु होस् वा मानव पृथ्वीको मूल नै जीवन हो, अनि ‘स्तन क्यान्सरबाट मृत्यु हुनु, विवेकशील प्राणीका निम्ति कुनै विकल्पित चयन होइन ।’ समाजमा प्रत्येक पुरुष अनि स्त्रीको मिल्दो पहलबाटै नूतन जागरुकताको बाटो खोलिनेछ ।

त्यसैले आऔं एकजुट बनौं र प्रत्येक स्त्रीसम्म स्तन क्यान्सरबारे जागरुकता फैलाऔं । र, स्तन क्यान्सर जितेर जीवनलाई सेलिब्रेट गरौं । र, बुझौं– क्यान्सर नियती होइन, अज्ञानको परिणती हो, जो बदल्न सकिन्छ ।

प्रकाशित : श्रावण २१, २०७९ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

हामी यस्ता किन छौं ?

हामी यति हिंस्रक किन छौं ? मान्छे ‘इभोलुसन’ मार्फत विकसित हुँदै गइरहेको हो भने किन सभ्यताकै ठूलो नरसंहार बीसौं शताब्दीमा आइपुगिसकेपछि पनि भयो ? संस्कृति, राज्य, धर्म जसरी निर्माण भएका छन्, त्यस प्रक्रियामा ‘ब्रेनको इभोलुसन’ कसरी भइरहेको छ ? प्राध्यापक रोबर्ट स्यापोल्स्कीको किताब ‘बिहेभ’ ले शताब्दियौंदेखि मान्छेले खोजिरहेका जटिलतम प्रश्नमाथि विमर्श गरेको छ ।
विष्णु सापकोटा

आजको विषयवस्तुमा पस्नुअघि एउटा आफ्नै कथा भन्नु जरुरी छ ।

स्याङ्जाको सबैभन्दा पुरानो भनेर चिनिएको म पढ्ने मातृभूमि स्कुलमा त्यो दिन मध्यान्तर सकिँदै थियो । माध्यमिक तहका विद्यार्थीबीच सानातिना हात हालाहालका घटना त कहिलेकाहीं भई नै रहेका हुन्थे । तर, त्यस दिनको घटना विशेष थियो ।

सिद्धार्थ राजमार्गतिर घर भएका हामीहरूका लागि स्कुल हाम्रोतर्फबाट आँधीखोलाको पारि थियो । अर्थात् आँधीपारि । हामी नौ कक्षामा हुँदा आँधीपारितिरको सबैभन्दा दादा बले अर्थात् बलबहादुर थियो । आँधीवारितिरको दादा तेजे अर्थात् तेजबहादुर थियो । खै के अलिखित समझदारी हुँदो हो यी दुईका बीच कुन्नि ? यिनीहरू त्यस दिनसम्म एकअर्कासँग कहिल्यै भिडेका थिएनन् । तागतमा पछाडि भएका हामी निर्धा ‘फुच्चे’ हरूका के मनोविज्ञान हुँदो हो खै ? बले र तेजे ‘सिंगल’ लडे भने कसले जित्दो हो भनेर हामी जहिल्यै उत्सुक हुन्थ्यौं ।

‘हाफ टाइम’ सकिनैलाग्दा जब हामीहरू खाजा खाएर प्रांगणतिर आउँदै थियौं, वरिपरिका कुनाहरूबाट स्कुलका लगभग सबै विद्यार्थी स्तब्ध भएर बीच चौरको दृश्य हेरिरहेका थिए । बले र तेजेले एकअर्कालाई सके जति हानिरहेका थिए । पहिलोपटक स्कुलका आँधीवारि र पारि दुईतिरका यी दुई जना दादाहरूको ‘सिंगल–सिंगल’ परिरहेको थियो । उनीहरू नलडुन्जेल ‘यिनीहरू लडे भने हेर्न मजा हुन्थ्यो’ भन्ने अवचेतनको कामना एउटा कुरा थियो, तर उनीहरू वास्तवमै लडिरहेको हेर्नु एकदम डरलाग्दो भएको थियो । अझ यसकारण पनि कि अरू केटाहरू लडे भने बले वा तेजे जो नजिक आउँछ, उनीहरूमध्ये एउटाले छुट्याइदिन सक्थे । यहाँ त नजिक गएर उनीहरूको लडाइँ छुट्याउन सक्ने कोही थिएन । स्कुलका सरहरू (त्यतिबेला म्याडम कोही हुनुहुन्नथ्यो) खाजा खाएर फर्किसक्नुभएका थिएनन् । केही दूरी राखेर हामीहरू केवल हेरिरहेका थियौं । लडाइँको अन्त्य कसरी हुने हो ! त्रास झन् बढिरहेको थियो ।

उनीहरू लड्दालड्दै इतिहास, भूगोल र नेपाली विषयका सरहरू कताकताबाट आउँदै, सायद देखे नदेखेजस्तो गर्दै आफ्नो कार्यालयतिर जानुभयो । लडाइँ घरी बलेले जित्छजस्तो हुन्थ्यो, घरी तेजेले । तर, रोकिने छाँट थिएन । त्यही उत्कर्षबीच बलेले आफ्नो उचालेको हात केही लुलो पार्‍यो । तेजेले पनि अचानक आफ्नो आक्रमणको तेज घटायो । किनकि रमिते विद्यार्थीमध्ये कसैले भीडबाट अनायास उच्चारण गरेको थियो– बालचन सर ! बले र तेजे दुवैका आँखा पर दुईतले भवनको माथिको हेडसरको कोठाबाट बाहिर निस्कँदै गरेका बालचन्द्र थापामाथि परे । बालचन सर (हामी त्यसरी नै भन्थ्यौं) तलतिर झर्दै गर्दा हामी सबैले राहत अनुभव गर्‍यौं । बले र तेजे केही हुँदै नभएजस्तो पार्दै आफ्ना नियमितका संगतिसँग मिसिँदै तितरबितर भए ।

जीवनमा यति नसोच्नुपर्ने विषय सोचेको छु नि मनमनै, ती किन सोचेको हुँला भनेर आफैंलाई सम्झाउन सजिलो भएको छ ।

रोबर्ट स्यापोल्स्की

मान्छेको जीवनमा औसतमा एक दिनमै कति घटना भएका हुन्छन् । कतिमा रमिते भइएको हुन्छ । ती कति नै सम्झिएको हुन्छ र ! तर, बले र तेजेको त्यो ऐतिहासिक लडाइँ जसरी बिनाकुनै आवाज आफैं रोकिएको थियो, त्यो घटना मैले वर्षौंसम्म सम्झी नै राखेको थिएँ– सधैं विस्मित हुँदै । त्यसको सात वर्षपछि कीर्तिपुरमा पढ्दै गर्दा एक दिन मलाई थाहा भयो, बले र तेजेको लडाइँ कति बेला रोकिन्छ भनेर त त्यसको चार सय वर्षपहिले नै तय भएको रहेछ– जतिबेला अंग्रेजले आफ्नो साम्राज्य फैलाउन जताततै उपनिवेशहरू खडा गर्दै हिँड्न थालेका थिए । त्यतिबेला मलाई के थाहा सन् १८३५ मै बेलायती साम्राज्यले भारतमा अंग्रेजी शिक्षा ऐनमार्फत भारतीयहरूलाई आफ्नो भाषा र साहित्य पढाउन थालेको रहेछ । अंग्रेजी पढाउन मात्रै नेपालमा ऐन बनेको त सुनेको छैन, तर मैले जान्दादेखि नै बले र तेजेभन्दा मात्र होइन, ऐनभन्दा बलियो थियो– अंग्रेजी ।

बालचन्द्र सर अंग्रेजी पढाउनुहुन्थ्यो । ‘इङ्लिस सर’ वरिपरि आएपछि स्थानीय विद्यार्थीका लडाइँहरू बिनाआवाज रोकिन्थे । नेपाली र इतिहासका सरहरू सक्नुहुन्नथ्यो । अरू गणित, विज्ञानका सरहरूले जस्तो ‘इङ्लिस सर’ ले कसैलाई चड्कन लगाउनु पनि पर्दैनथ्यो । उहाँका लागि बेलायतीले त्यो काम दुई सय वर्षपहिले बन्दुक चलाएरै स्थापित गरिदिइसकेका थिए । मातृभूमि स्कुलमा मात्रै होइन, अंग्रेजी पढाउने सर कमजोर भएको मैले जिल्लाका अरू स्कुलमा पनि थाहा पाइनँ ।

नेपालमा त खासै कसैले कहिल्यै सोधेनन्, तर पछि पढ्न जाँदा होस् वा कामका सिलसिलामा बेलायत र अमेरिकातिरकै धेरै ‘अंग्रेज’ साथीभाइले उत्सुक भएर सोधे– ‘तैंलै नेपालमा अंग्रेजी साहित्य किन पढेको होस् ?’ त्यसपछि मलाई वास्तविक राजनीतिक उत्तरको जरुरी भएको थियो । त्यो उत्तर खोज्न थालेपछि मैले मेरो प्यारो बालचन्द्र सरलाई धेरै सम्झन थालेको हुँ ।

स्कुल सकेपछि पनि म बले र तेजेजस्तो बलियो हुने सम्भावना कहिल्यै थिएन । मेरो बलियो हुने एक मात्र उपाय थियो– अंग्रेजी । म अंग्रेजी साहित्य पढ्न आएको ऐतिहासिक कारण यही थियो होला, जुन सयौं वर्षपहिले विश्व इतिहासले तय गरिदिएको थियो ।

तर, इतिहास त्यतिमै कहाँ रोकिन्थ्यो र ! जब साहित्य पढ्नै थालियो– त्यसमा डुब्ने काम धेरै भयो, उत्रिने कम । कहिल्यै मान्छेका भावनाका पत्रहरूभन्दा ठूलो सत्य अरू केही नलाग्नेजस्तो भयो । आस्था भनेकै शब्दका शक्तिमाथि हुन थाल्यो र तिनका जादुसँग प्रेम । जीवनको सौन्दर्यानुभूति कलामार्फत हुने लत लाग्यो । विम्बमा भन्दा जीवन कविताजस्तो लाग्न थाल्यो, कविता जीवनजस्तो । कविताको ठाउँमा उपन्यास भने पनि भयो, चित्रकला भने पनि । बाहिर नभने पनि, नलेखे पनि, मनमा आउने भावनालाई गम्भीरतापूर्वक लिन थालियो । तर, यो सबै गत वर्षसम्मको कुरा थियो, जतिबेलासम्म मैले यो पुस्तक पढेको थिइनँ, जसबारे कुरा सुरु गर्नै इतिहासको यत्रो विचरण गर्नुपरेको छ ।

साहित्य भने पनि आखिर यो दर्शनतिर मिसिइहाल्छ, जसरी दर्शन साहित्यमा अभिव्यक्त हुन्छ । त्यसमाथि आफ्नै मनोवृत्तिका कारण पनि हुन सक्छ, हामी मान्छेले जे सोच्छौं, त्यस्तो किन सोच्छौं भन्ने विधामा मेरो पहिल्यैदेखि रुचि थियो । केही वर्षपहिले पढेको नोबेल पुरस्कार विजेता ड्यानिएल कान्हेम्यानको ‘थिंकिङ, फास्ट एन्ड स्लो’ मेरो मन पर्नेमध्येको पुस्तक भएको थियो । त्यसैले यो भन्नु त अत्युक्ति नै हुन सक्छ कि एउटा पुस्तकले वर्षौंदेखिको मेरो चिन्तनको भँगालो नै बदलिदियो । तर, ढुक्कसँग केचाहिँ भन्न मन लागेको छ भने यो पुस्तक पढेपछि मनमा आउने विचार, भावना, आवेग, संवेग र आफ्नै कुनै घटनाप्रतिका प्रतिक्रियालाई पहिलेभन्दा बढी अवलोकन र परीक्षण अवश्य गर्ने गरेको छु । मैले जे सोचेँ, त्यस्तो किन सोचेँ ? मैले जे गरेँ, त्यस्तो किन गरें ? हामीले जे पनि गर्छौं, यो सबै गर्ने–गराउने वा नगर्ने–नगराउने आखिर हाम्रो दिमागले नै हो । त्यसले काम कसरी गर्छ त ? अथवा त्यसले जसरी काम गर्छ, त्यसरी किन गर्छ ? स्ट्यान्फोर्ड विश्वविद्यालयका प्राध्यापक रोबर्ट स्यापोल्स्कीको किताब ‘बिहेभ’ ले शताब्दियौंदेखि मान्छेले खोजिरहेका यस्ता जटिलतम प्रश्नको वैज्ञानिक ‘उत्तर’ दिएको छ । यी यस्ता आदिम प्रश्न हुन्, जसको अन्तिम उत्तर सायद कहिल्यै पाइनेछैन । तर, उनको किताबलाई सम्बन्धित विधाका धेरै विद्वान्ले हाम्रो दैनन्दिनको मानव आचरण कसरी तय हुन्छ र समग्र व्यक्तित्वले कसरी आकार ग्रहण गर्छ भनि बुझाउने अहिलेसम्मकै सबैभन्दा उत्कृष्टमध्येको किताब भनेका छन् ।

‘बिहेभ’ को सबैभन्दा सुन्दर पक्ष के छ भने यसले अहिलेसम्म बृहत्, जटिल र रोचक विषयमा गरिएका इतिहासदेखि वर्तमानसम्मका खोज–अनुसन्धान–पुस्तकमध्ये मुख्यमुख्य जो छन्, तिनीहरूको निचोड पनि सँगसँगै पस्केको छ, सम्बन्धित अध्यायमा । लेखक आफैं स्विर्काछन्–यो पुस्तक पढ्न जटिल छ । स्नायुविज्ञानदेखि मनोविज्ञानसम्मका तथ्यहरू, अहिलेसम्मका सम्बन्धित वैज्ञानिक खोजका सन्दर्भ सामग्रीहरू र तिनमा टेकेर गरेका विमर्शहरू पढ्दापढ्दै ‘ओभरह्वेल्मिङ’ नै लाग्छ । त्यसमाथि अनगिन्ती प्रयोग हुन पुगेका जीवविज्ञान र अन्य विज्ञानका प्राविधिक शब्दावलीले पठनलाई बेलाबेला दुरूह नै बनाउँछन् । तर, पढ्दै जाँदा मैले गरेको अनुभव के हो भने यस्तो ‘ब्रेन’ जस्तो दुर्ज्ञेय विषयमा, जसबारे छिचोल्न–पर्गेल्न मानव जातिलाई अझै कति समय लाग्ने हो थाहै छैन– यति गहन कुरा लेख्न योभन्दा सजिलो भाषामा सम्भव नै थिएन कि ?

जहाँजहाँ बुझ्न–बुझाउन अति गाह्रोजस्तो लाग्छ, त्यहाँत्यहाँ लेखक स्यापोल्स्की स्वयम् भनिहाल्छन्, ‘यो अलिक साधारण पाठकलाई अभेद्य लाग्न सक्छ, तर केही छैन । एकछिन पर्ख, नआत्तिऊ । म तिमीले बुझ्ने हिसाबमा केही दृष्टान्त दिइहाल्छु नि एकैछिनमा ।’ अनि जब उनी उदाहरण दिन्छन्– गैर–प्राविधिक शब्दमा, तबचाहिँ बुझेबुझेजस्तो लाग्छ । तर, मलाई यसमा के पनि लाग्छ भने संसारका कुनै पनि विधाका ‘मास्टरपिस’ हामी सबैले सम्पूर्णतामा कहिले नै पो बुझेका छौं होला र ? लिओनार्दो दा भिन्चीकी मोनालिसालाई हामीले पूरै बुझेका छौं र ? जोन किट्सकै कविताप्रतिका हाम्रा बुझाइ पनि त ‘कामचलाउ’ नै हुन् । त्यसैले ‘बिहेभ’ मैले जति बुझें, त्यसबाट के बुझेँ भने मेरो आफ्नै ‘बिहेबिअर’ म आफैंले सबै कहिल्यै पनि बुझ्न सक्नेछैन । त्यो बोधपछि यो लेख लेख्न बसेको हुँ ।

किताबको एउटा प्रमुख ‘निष्कर्ष’ छ– हामी मानिस निरन्तर रूपमा झट्ट सुन्दा असान्दर्भिक लाग्ने अवचेतनका यस्ता स–साना ‘स्टिमुलस’ वा उत्प्रेरकहरूबाट प्रभावित हुँदै आफ्ना व्यवहार र निर्णय गरिरहेका हुन्छौं कि ती स्टिमुलसहरूबारे हामी आफैंलाई केही थाहै हुँदैन । अर्थात् हामी कुनै सन्दर्भमा किन एक वा अर्कोखाले आचरण गर्छौं वा सोच्छौं भन्नुका पछाडि अवचेतनको जुन पृष्ठभूमिले काम गरेको हुन्छ, त्यो हामी आफैंलाई थाहै हुँदैन । एउटा उदाहारण लिऊँ । हामीले गर्ने कुनै पनि बिहेबिअर (कुनै सोच, कुनै घटनाप्रतिको हाम्रो प्रतिक्रिया, वा कुनै घटनामा खुसी–बेखुसी हुने कुरा) किन त्यस्तो भयो भन्ने विषय त्यो बिहेबिअर गर्नुको ठीक एक सेकेन्डअघि आफूभित्र के भइरहेको थियो भन्नेले प्रभावित पार्छ । त्यो एक सेकेन्डलाई त्यसअघिका केही मिनटमा के भएको थियो भन्नेले । र, ती केही मिनटलाई लाखौं वर्षदेखि हाम्रो मानव मस्तिष्क कसरी विकसित हुँदै आएको छ भन्ने विषयले । हामीले गर्ने हाम्रा प्रत्येक व्यवहारमा यी तीनवटै तहको समष्टि हुने गर्छ । (केही जटिल लाग्यो है ? एकैछिन पख्नोस् । चुरो कुरो नै यही हो) ।

कुनै एक सुन्दर व्यक्ति देख्दा मन त्यसै आह्लादित किन हुन्छ होला ? त्यसमा मानवको सौन्दर्यबोध गर्ने इभोलुसन प्रक्रियाको लाखौं वर्षको इतिहास छ । तर, त्यो सुन्दर व्यक्ति देख्नुभन्दा केही मिनटअघि तपाईंलाई के भएको थियो नि ? तपाईं कुनै समाजवादी सोचमा त हुनुहुन्थेन ? त्यसो भए तपाईंलाई लाग्न सक्छ– ‘संसारमा यतिका धेरै मान्छे एक छाक खानका लागि देह बेच्न विवश हुनुपरेको छ । यस्तो असमान संसारमा त्यस्ता रूपका सौन्दर्यको के अर्थ ? सौन्दर्य भनेको त सामाजिक न्यायका लागि गरिने संघर्षमा छ ।’ अनि भर्खर एक सेकेन्डअघि तपाईंको दिमागमा कुनै ‘आफ्नी’ हुन नसकेकी सुन्दर प्रेमिकाको सम्झना आएको थियो कि ? वा कार्यालयका सहकर्मीसँग हिजो भएको कुनै नमीठो कुराकानीको ? यसरी एउटा कुनै अपरिचित सुन्दर व्यक्ति देख्दा आफूले कसरी प्रतिक्रिया गरिन्छ भन्नेमा ब्रेनका यी तीनै भागले काम गरेका हुन्छन् र त्यसको आधारमा हाम्रो आचरण तय भएका हुन्छन् ।

तर, महत्त्वपूर्ण तथ्य के रहेछ भने हाम्रो व्यवहारलाई सहजीकरण गर्दै आकार दिने ब्रेनका यी विभिन्न भागले हो, तर व्यवहारको स्रोत भने ब्रेन स्वयम् होइन । जस्तो कुनै सुगन्ध वा नराम्रो गन्धको स्रोत बाहिर हुन्छ । त्यसलाई प्रोसेस गर्ने पो ब्रेनले हो । तर, हाम्रो दिमागमा दर्ता भएका वर्षौंदेखिका गन्धहरूसँगका स्मृतिका अन्तरसम्बन्धले अहिले नाकमा परेको कुनै गन्धप्रति हाम्रो प्रतिक्रिया प्रभावित हुँदो रहेछ । इभोलुसनको प्रक्रियामा हामीमा पुस्तौंदेखि सर्दै आएको स्मृति त हुने नै भयो ।

एउटा थप रोचक तथ्य के भने बाहिरी ब्रह्माण्ड त यति अपराम्पार छ कि यसलाई अहिलेसम्म मान्छेको दिमागले यसको अति सानो अंश मात्र बुझ्न सकेको छ । त्यही ब्रह्माण्ड बुझ्ने हाम्रो आफ्नो निजी भनिएको ब्रेनभित्रको ब्रह्माण्ड फेरि बाहिरी ब्रह्माण्डजस्तै अबोधगम्य छ ।

त्यसैले किताब पढ्दा मेरो मनमा बारम्बार एउटा प्रश्न आएको थियो : यदि म आफैं एक अंश पनि बुझ्न सक्दिनँ, यसले कसरी काम गर्छ भनेर भने, यो मेरो ‘आफ्नै’ दिमागलाई आफ्नो भन्ने कि अरू कसैको ? मेरो भए त मैले यसलाई बुझ्न सक्नुपर्ने हो नि, होइन ? र, मैले आफैंले आफैंलाई दिएको उत्तर हो– अरू कसैको त किन भन्नु, तर यो मेरो ब्रेन पनि ब्रह्माण्डकै अंश हो र यसले कसरी काम गर्छ भन्ने पूरै मैले सायद कहिल्यै थाहा पाउने छैन । यो बनेको नै यसरी छ कि मैले आफूलाई जो ‘म’ भन्छु, त्यसले यो पूरै बुझ्न गाह्रो छ । अथवा मान्छेको जातले अहिलेसम्म यो उपकरणलाई बुझ्न सकेको छैन । यसलाई बुझ्न प्रयोग गर्ने फेरि यो स्वयम्लाई नै हो । स्यापोल्स्की पनि किताबमा भन्छन्– ‘नोथिङ कम्स फ्रम नोथिङ । नो ब्रेन इज यान आइल्यान्ड ।’ अर्थात्, मेरो ब्रेन मसँग आउँदा लाखौं वर्षका मानव सेल, हर्मोन र अरू के–के जाति सँगै लिएर आएको छ । यो कुनै छुट्टै टापु होइन, यो संसारका सबै विषयसँग जोडिएको छ । यसरी हेर्दा लाग्छ, मभित्रको जुन चेतना छ (जसलाई मोडरेट गरेर यो लेख लेख्दै छु), त्यो मेरो ब्रेनको एउटा कुनै सानो अंश हो । यो चेतना भन्ने चीज यति सानो होला कि यसले ब्रेनभित्र के कुरा कसरी काम गर्छन्, त्यहाँभित्र केके छन्, यसका अल्गोरिदमले कसरी काम गर्छन् भन्ने धेरै थाहा पाउनै सक्दैन । र, थाहा पाउनु सायद जरुरी पनि नभएको भएर हो कि ? थाहा पाउनु जरुरी हुन्थ्यो भने प्रकृतिले मलाई त्यसरी नै डिजाइन गरेको हुन्थ्यो कि– थाहा पाउन सक्ने गरी ? करोडौं वर्षको इभोलुसन–इतिहासमा यसरी यी विषय लेख्न–बोल्न मिल्ने यो भाषा बनेकै आखिर एक लाख वर्ष पनि त भएको छैन ।

हुन त दिमागको मात्रै के कुरा, जीवविज्ञानले अहिलेसम्म मान्छेको आफ्नै शरीरबारे पनि कति नै जानेको छ र ? त्यसैले गत वर्ष औषधि विज्ञानतर्फको नोबेल पुरस्कार जे विषयमा दिइएको थियो, त्यो सुन्दा मलाई हाँसो उठेको थियो । घामको न्यानोपन वा मायालुको अंकमालको न्यानो स्पर्शको सेन्सेसनलाई हाम्रो शरीरले कसरी स्नायुप्रणालीसम्म पुर्‍याउँछ भन्ने खोजका लागि भर्खर २०२१ को नोबेल दिइएको थियो । हेर्नोस् त, अति साधारण लाग्ने विषय होइन र यो ? तर, खोइ त यो त भर्खर एक वर्षपहिले मात्रै हामीले थाहा पायौं । अर्थात्, हामी मानवले भयंकर प्रगति, के जाति, कति–कति गर्‍यौं भनेर आफैंलाई जति धाक लगाए पनि आफ्नै शरीरबारे त कति नै थाहा छ र विज्ञानलाई ! ब्रेन पनि अंश त शरीरकै भयो । तर, शरीरका सबै सवाल चलाउने, खासगरी हाम्रो आचरणलाई मोडरेट गर्ने जुन ब्रेन छ, त्यसबारे त अहिलेसम्म यति कम थाहा छ कि थाहा पाउन कति बाँकी छ भन्ने नै थाहा छैन ।

‘बिहेभ’ एउटा अन्तरविधागत कृति पनि हो । लेखकको मूल आधार विज्ञान भए पनि किताबमा उनले साहित्यदेखि दर्शन, कविदेखि दार्शनिकका विचारलाई पनि ल्याउँदै चिरफार गरेका छन् । टोमस हब्सदेखि जिन–ज्याक रुसोसम्म, धर्मशास्त्रदेखि मानवशास्त्रसम्म, इभोलुसनका सिद्धान्तदेखि चरणहरूसम्म उनी हामीलाई यसरी डोर्‍याउँछन् कि एक जना मान्छेको दिमागले विषयहरूको विशालतालाई विज्ञको तहबाट यति विहंगम विमर्श गर्न कसरी सकेको होला भन्ने पनि लागेको थियो, पढ्दै गर्दा । विश्वयुद्धमा काम गरेको मानव ब्रेनदेखि संस्कृति निर्माणमा देखिने प्रक्रिया, अपराधशास्त्रदेखि सामाजिक न्याय, करुणा र घृणाले कसरी काम गर्छन् भन्नेदेखि विश्व राजनीतिका इतिहासमा यी सबै विषय कसरी जोडिन्छन् भन्नेसम्म पढ्दा अचम्मै लागेको के पनि हो भने कसरी उनले यो ब्रेनको विधालाई हाम्रो समाजका सबैजसो महत्त्वपूर्ण विधासँग जोडेर हेर्न सकेका होलान् ?

मैले यो किताब २०२० को सेप्टेम्बरमा किनेको थिएँ, क्याम्बोडियाको राजधानी प्नोम पेनमा । उक्त वर्षको मार्च महिनादेखि कोरोनाको सन्त्रास यसरी भएको थियो कि त्यसले मानवतालाई खुत्रुक्क घुँडा टेकाएकै हो । भयंकर प्रगति गरिरहेको मानव जातिलाई एउटा आँखाले नदेखिने भाइरसले एकअर्काबाट भाग्नुपर्ने बनाएको थियो । मुख लुकाएर हिँड्नुपर्ने त अहिलेसम्म पनि बनाएकै छ । दोस्रो विश्वयुद्धको भयानकताप्रति असंवेदनशील टिप्पणी गरेजस्तो नसुनियोस्, तर त्यतिबेला मरेका ५५ लाख मानिसभन्दा लाखौं बढीलाई कोभिडले अहिलेसम्म लगिसकेको छ । जति बाँचेका छौं, अहिलेसम्म आइपुग्दा यसको त्रासदी त घटेको छ । तर, त्यो कोभिडको पहिलो वर्षको सेप्टेम्बरसम्म आइपुग्दा अब आफ्ना आफन्तसँग कहिल्यै पनि भेट नहुने पो हो कि भन्ने भएको थियो । मेरी पार्टनर रुचि र म त सँगै थियौं क्याम्बोडियामा, तर हवाई उडान निषेधित भएका कारण नेपाल कहिले फर्कन पाउने भन्ने अनिश्चित थियो । फर्कंदा दुवै जना सग्लै फर्कने हो कि एउटालाई उतै सद्गत गरेर, त्यसको समेत दुई जनाले सल्लाह गर्नुपरेको थियो । आखिर हामी दुईमध्ये एक बिदा भइहालेको खण्डमा अर्कोको पहिलो समस्या त त्यही सद्गत कसरी गर्ने भन्ने नै हुनेवाला थियो ।

त्यस्तो मानसिक उबडखाबडको समयमा मलाई जे पढे पनि धीत नमर्ने भइरहेको थियो । दा भिन्चीले वास्तवमा जीवनमा के विषयको खोजी गरिरहेका थिए होलान् आफ्नो कलामार्फत ? तिनले त्यो प्राप्त गरे होलान् कि नाइँ ? जोन किट्सले कुन प्रेरणाले मरेका मानिसको लास लुकीलुकी खोतलेर हेर्नुपरेको होला ? अस्तित्ववादको त्यत्रो कुरा गरिसकेपछि पनि जाँ पल सात्रलाई फेरि किन लेखिराख्नुपरेको होला ? आफैं प्रकाण्ड विद्वान् भनी कहलिएका महाकवि देवकोटाले जीवनको अन्तिमतिर पुग्दा ‘न ज्ञान भो बुद्धि, न भो विवेक’ भनेर कुन ज्ञान र विवेकको के विषय इंगित गरेका थिए होलान् ? मलाई यस्तैयस्तै ‘एक्स्ट्रिम’ विषयतिर मात्रै रुचि भइरहेको थियो । तर, जे पढे पनि र युट्युबमा जे हेरे पनि धीत पटक्कै नमर्ने भइरहेको थियो । ठीक त्यहीबेला जसरी ‘बिहेभ’ फेला परेको थियो, यसले मलाई एउटा बौद्धिक थेरापीको काम गरेको थियो । कतिपय कोरोनाअघिका, वर्षौंदेखि मनमा भएका प्रश्नको पनि यसले केही ‘कामचलाउ’ उत्तरहरू दिएको थियो ।

हामी मान्छेभित्र असलपन कहाँबाट आउँछ ? हामी यति हिंस्रक किन हुन सक्छौं ? मान्छे इभोलुसनमार्फत यदि विकसित हुँदै गइरहेको हो भने किन सभ्यताकै ठूलो नरसंहार (दुई विश्वयुद्ध) बीसौं शताब्दीमा आइपुगिसकेपछि पनि भयो ? मान्छे अहिले झन् पहिलेभन्दा बढी क्रूर भएका हुन् ? त्यसो भए केलाई सभ्य भएको भन्ने ? अहिलेसम्मका संस्कृति, राज्य, धर्म जसरी निर्माण भएका छन्, त्यस प्रक्रियामा हाम्रो ब्रेनको इभोलुसन कसरी भइरहेको छ ? यी यस्ता प्रश्न हुन्, जसमा जति पनि विमर्श हुन सक्छन्, जस्तो यस पुस्तकले गरेको छ । तर, पुस्तकका केही निष्कर्ष भने छुटाउनै मन नलाग्ने खालका छन् । जस्तो हामी आफूले अक्सर सोचेर, तार्किक रूपमा आफ्नो आचरण गर्छौं भन्ने ठान्छौं नि, त्यस्तो होइन । हाम्रा बढीजसो बिहेबिअर तत्क्षणका वातावरणका परिणाम हुन् (जहाँ इतिहास पनि मिसिएको हुन्छ) । संस्कृति–संस्कारले हाम्रो आचरण निर्धारण गरेको हुन्छ कि ब्रेनले ती संस्कृति बनाएको हुन्छ ? स्यापोल्स्की भन्छन्– यी दुवै सँगसँगै हुर्कन्छन् । अर्थात्, ब्रेन प्लास्टिक हुन्छ र यो बनेकै त्यसरी हो । यो सधैं उस्तै रहँदैन । स्मृति दिमागमा यसरी भण्डारण भएर बसेका हुन्छन् कि ति जति धेरै भए पनि तिनका लागि ठाउँ नपुग्ने भन्ने कुरै छैन । जस्तो तीन हजार शब्दको यो लेख लेख्दा सायद तीन लाख अरू शब्द मेरो मनमा घुमिसके होलान् । ती सबै अब स्मृतिमा बसिसके । ती पनि मेरा भइसके अब । यद्यपि ती बाहिर आएकै छैनन् । आज मनमा केही कल्पना गरियो भने त्यो पनि स्मृति बनेर बसिहाल्छ, जसरी आज भेटेको कोही साथी सधैं मनमा बस्छ ।

विशिष्टीकृत ज्ञानका रूपमा महत्त्वपूर्ण मात्र होइन, दैनन्दिनका हाम्रा औसत मानव उत्सुकताका विविध सवालमा पनि पुस्तकले अति रोचक तथ्य पेस गर्छ । जस्तो मैले गर्ने मेरो कुनै व्यवहारमा मेरा सेल, हर्मोन आदिको भूमिका कति हुन्छ होला ? र, तत्कालको वरिपरिको वातावरणको कति ? किन मलाई मेरो आफ्नो (देश, संस्कृति, परिवार, लेख) भन्नेबित्तिकै माया लाग्छ र कसरी मैले मेरै समाजका केही मान्छेलाई आफ्ना ठान्छु र अरूलाई अर्कै ? किन कोही मान्छे पहिलोपटक देख्दा नै मन पर्दैन ? किन कसैसँग पहिलो नजरमै भुतुक्क भइन्छ ?

यस्ता प्रश्नका बहुविधागत जवाफ रोचक त हुने भइहाले । मलाई अर्को घत परेको स्यापोल्स्कीको निष्कर्ष छ : हामी मान्छेको जात कुनै विषयको आनन्द लिनभन्दा पनि अक्सर आनन्दको खोजी वा अपेक्षा मात्रै गरिरहेका हुन्छौं । जब त्यो खोजेको चीज अघि आइपर्छ, त्यसमा रमाउनुभन्दा अर्को नभएको विषयको अपेक्षा गर्नतिर लागिहाल्छौं । अर्थात् खुसी वा शान्ति केवल निरन्तरको अपेक्षा मात्रै हो, प्राप्ति होइन ।

हामीमा उत्पन्न हुने प्रत्येक सोचाइ (र कार्य) का पछाडि त्यसको पृष्ठभूमि हुन्छ र त्यो पृष्ठभूमिपछाडि अर्को पृष्ठभूमि । इभोलुसनको जालोमा हामीहरू सबै यसरी जेलिएका छौं कि जुन चिन्तनलाई हामीले आफ्ना भन्छौं तिनीहरू हजारौं जालोहरूका सह–उत्पादन मात्रै हुन् । तिनीहरू आफैंमा स्वतन्त्र हुन सम्भव छैन किनकि हाम्रो ब्रेन कुनै छुट्टै सार्वभौम सत्ता नै होइन । जस्तो, बले र तेजे त्यो दिन त्यसरी स्कुल प्रांगणमा नलडेका भए तपाईंहरूले यो लेख यसरी पढ्नु नै हुने थिएन ।

अन्त्यमा ‘बिहेभ’ पढेपछि मेरा आफ्ना भनिएका विचारहरूलाई आफैंले एउटा परीक्षण गर्न सजिलो भएको छ । र, ऐनमौकामा तिनको अपनत्व नलिन त यस पुस्तकले झनै सजिलो बनाएको छ । त्यसमाथि जीवनमा यति नसोच्नुपर्ने विषय सोचेको छु नि मनमनै, ती किन सोचेको हुँला भनेर आफैंलाई सम्झाउन सजिलो भएको छ ।

यदि तपाईंलाई पनि आफ्ना सबै गोप्य तथा सार्वजनिक आचरण र मनमा आउने सोचाइप्रति आफैंसँग प्रश्न छन् भने ‘बिहेभ’ पुस्तकमा केही हप्ता घोत्लिनु तपाईंको बौद्धिक स्वास्थ्यका लागि रोमाञ्चक हुन सक्छ ।

प्रकाशित : श्रावण १४, २०७९ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×