१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
कोसेली

अनुवाद बर्बाद किन नहोस् !

बजारमा अनूदित रचना र कृतिहरु बरोबर देखापर्ने गरेका छन्, खासगरी अंग्रेजी भाषाबाट नेपालीमा । तर, अंग्रेजीका पारिभाषिक शब्दहरुको मानक अझै बनिनसकेको, अनुवाद–गुणवत्ताको मूल्याङ्कन हुने परिपाटी बसिनसकेको र अनुवाद सीपमाथि कुनै तालिम, प्रशिक्षण कतैबाट हुने नगरेको आजको अवस्थामा सहीभन्दा गलत अनुवादले प्रश्रय पाएमा आश्चर्य मानिरहनु पर्दैन ।
वसन्त थापा

‘हिमाल’ मासिक पत्रिकामा एउटा आवरण–कथा आएको थियो गत साल कात्तिकको अंकमा । त्यसको शीर्षक थियो– ‘सौम्य शक्ति’ । त्यसै शीर्षकलाई केन्द्रमा राखेर लेखिएका थिए त्यसमा प्रकाशित प्रायः आलेखहरू । यसअघि नदेखिएको, नेपाली शब्दकोशमा प्रविष्टि नभएको र अचानकझैं देखा परेको पारिभाषिकजस्तो देखिने यस नौलो शब्दावलीको अर्थ के हो ?

अनुवाद बर्बाद किन नहोस् !

केहीबेर यसै अन्योलमा पत्रिकाका पानाहरू अगाडि–पछाडि पल्टाउँदै जाँदा फ्याट्ट बल्यो दिमागी ट्युबलाइट र बोध भयो, ‘ए, अंग्रेजीको ‘सफ्ट पावर’ पो भन्न खोजिएको रहेछ ।’

तर, त्यस ज्ञानबोधका साथसाथै अर्को पूरक प्रश्न पनि उब्जियो मनमा– के ‘सौम्य शक्ति’ ले अंग्रेजी ‘सफ्ट पावर’ को सही अर्थ बोध गराउँछ ? के यो अनुवाद उपयुक्त छ ?

नरम, कोमल, मुलायम, नाजुक भन्ने बुझाउँछ अंग्रेजीको ‘सफ्ट’ शब्दले । तिनको पर्यायमा सौम्य शब्द पनि नपर्ने होइन । तर, ‘सफ्ट’ जोडिएर बनेका अंग्रेजीका अन्य संयुक्त शब्द पनि छन्, जस्तै ः ‘सफ्ट वाटर’, ‘सफ्ट भ्वायस’, ‘सफ्ट वेयर’, ‘सफ्ट कपी’, ‘सफ्ट सोयल’ आदि । अब ‘सौम्य शक्ति’ कै सिद्धान्त अनुसरण गरेर तिनलाई नेपाली स्वरूप दिने हो भने भन्नुपर्ने हुन्छ : सौम्य जल, सौम्य आवाज, सौम्य माटो, सौम्य प्रतिलिपि, सौम्य असबाब आदि । यसैअनुरूप चल्ने हो भने अंग्रेजीको ‘सफ्ट सोप’ को अनुवाद त कस्तो पो होला !

चलनचल्तीमा बरोबर आइरहने अंग्रेजी शब्दलाई नेपाली स्वरूप दिने ‘हिमाल’ पत्रिकाको सम्पादकीय टोलीको सत्प्रयासलाई मान्दामान्दै पनि ‘सौम्य शक्ति’ ले मूल शब्दको अर्थ वहन गर्न नसकेको र यो एकांगी तथा अपूर्ण छ भन्नैपर्छ ।

‘हिमाल’ पत्रिकामा सौम्य शक्ति भनेर छापिएको केही पछि स्तम्भकार सीके लालले ‘कान्तिपुर’ दैनिकको आफ्नो लेखमा अंग्रेजीको त्यसै शब्दलाई बुझाउन ‘नम्र शक्ति’ भनेर लेखे । त्यसमा पनि चित्त नबुझेर यस पंक्तिकारले मोबाइल फोनमा उनलाई सन्देश पठायो ः ‘नम्र’ नभनी ‘नरम’ भन्नु पो राम्रो होला कि’ भनेर । उनले पंक्तिकारको सुझाव सही हो भन्दै पुनर्विचार गर्ने बताए । यो थियो २ तारिख डिसेम्बर २०२१ को कुरा ।

अनुवाद गर्दा शब्दको अन्यान्य प्रयोग कस्तो हुन सक्छ त्यसबारे पनि विचार पुर्‍याउनुपर्ने हुन्छ । अनि मूल भाषाको शब्दलाई जस्ताको तस्तै ठाडो र शाब्दिक अनुवाद गर्ने प्रयास नगरी त्यसमा अन्तरनिहित लाक्षणिक अर्थ र भावलाई समात्ने उपाय व्यावहारिक हुन्छ । ‘सफ्ट पावर’ विपर्याय हो ‘हार्ड पावर’ को । हार्ड पावरलाई ‘कडा शक्ति’ वा ‘कठोर शक्ति’ भनेर ठाडो गरी नसमातेर त्यसलाई ‘यान्त्रिक शक्ति’ भनेर बुझ्ने हो भने त्यसको विपर्याय ‘मानव शक्ति’ हुन जान्छ । अझ यसको विस्तारित अर्थ मानव सृजनाशक्ति भनेर बुझ्न सकिन्छ । अरूसित कम्प्युटर, सुपर कम्प्युटर, रकेट आदिको निर्माण गर्ने यान्त्रिक शक्ति छ भने हामीसित केही नयाँ रचना गर्ने, सृजना गर्ने मानवोचित प्रतिभाको शक्ति छ, जस्तो साहित्य, संगीत, कला इत्यादि सृजना गर्ने शक्ति । सफ्ट पावरको निहितार्थ त्यही हो । अब ‘सौम्य शक्ति’ ले मूल शब्दको मर्म र अर्थलाई कुन हदसम्म समात्न सक्यो वा सकेन त्यो आफैँंमा छलफलको विषय हुन सक्छ ।

‘हिमाल’ समूहकै सम्पादकीय ज्यासलबाट निसृत र त्यही वृत्तबाट बहुधा अभ्यास गरिने अर्को एउटा शब्दको उल्लेख गर्नु पनि यहाँ सान्दर्भिक होला । त्यो शब्द हो – लोकरिझ्याइँ । यो अंग्रेजी शब्द ‘पपुलिज्म’ लाई बुझाउन उपयोग गरिएको नेपाली शब्द हो । अचेलभरि विश्व राजनीतिमा जताततै ‘पपुलिज्म’ को लहर चलेको छ र ‘पपुलिस्ट’ हरू नै शासनसत्तामा पुगिरहेका छन् । त्यही भएर ‘पपुलिज्म’ को नेपाली समानार्थी शब्द खोज्ने क्रममा देखा पर्न गएको हो– लोकरिझ्याइँ । यो आफैंमा त्यति खराब रूपान्तरण देखिँदैन, तर समस्या कहाँ पर्न जान्छ भने लोकरिझ्याइँ गर्ने ‘पपुलिस्ट’ लाई चाहिँ के भन्ने ? यी दुवै अंग्रेजी शब्दका लागि सीके लाल भने ‘लोकरञ्जन’ वा ‘जनरञ्जन’ र ‘लोकरञ्जक’ वा ‘जनरञ्जक’ शब्द चलाउँछन् । आकाश–पाताल एक गरेर जनतालाई खुसी पार्ने, फुल्याउने, उचाल्ने, मख्ख पार्ने, सपना देखाउने काम ‘पपुलिज्म’ हो भने त्यस्तो काम गर्ने राजनीतिक नेता ‘पपुलिस्ट’ हो । अर्थात् दुवै खाले संज्ञालाई बरु सीके लालको अनुवादले समात्न सकेको देखिन्छ यसरी हेर्दा । यद्यपि यी शब्दावली हिन्दीमा पहिलेबाटै प्रयुक्त हुँदै आएका हुन् ।

पत्रपत्रिकामा नेपाली भाषामा लेखरचना छपाउने प्रायः सबैजसो विद्वान् आफूले लेखेका कुरामा जोड दिन वा त्यसलाई प्रस्ट्याउन नेपाली रूपान्तरणका साथै त्यसको अंग्रेजी मूल शब्दलाई देवनागरीमा कोष्ठकभित्र पनि दिने गर्छन् । तिनमा सीके लाल एक्ला छैनन् । प्रा. कृष्ण खनाल, प्रमोद मिश्र, कनकमणि दीक्षित, उत्तमबाबु श्रेष्ठ, अच्युत वाग्ले, राजेन्द्र महर्जन प्रभृत्ति धेरै जना पर्छन् । व्यावसायिक अभ्यासका कारण अंग्रेजीमा बढी हात चल्ने भएकाले सम्भवतः उनीहरू त्यसो गर्छन् । या हुन सक्छ, अंग्रेजीमा सोचेर नेपालीमा लेख्ने गर्छन् उनीहरू । त्यसले गर्दा उनीहरूलाई नेपाली समानार्थी शब्द खोज्नुपर्ने हुन्छ र करबलले अनुवाद गर्न पुग्छन्, तर आफूले सुझाएको नेपाली रूपान्तरणप्रति आफैं पक्कापक्की नभएकाले कोष्ठकमा अंग्रेजी शब्द पनि खुलाउने दुःख गर्छन् ।

प्राध्यापक दुर्गाप्रसाद भण्डारी थिए, अंग्रेजी भाषा साहित्यका पोख्त विद्वान् र नेपाली भाषाका उत्तिकै सिद्धहस्त लेखक । उनका प्रबन्धहरूको सँगालो ‘मृगस्थली’ शीर्षक पुस्तकमा संगृहीत रचनाहरूमा धेरै अंग्रेजी शब्दहरूको रोचक नेपाली अनुवाद पाइन्छन् । ‘प्लेटोनिक लभ’ लाई ‘अशरिरी प्रेम’, ‘की होल’ लाई ‘कुञ्जी छिद्र’, ‘नोस्टाल्जिया’ लाई ‘स्मृतिरमण’ भनेर प्रा. भण्डारीद्वारा अनुवाद गरिएका शब्दहरू यस पंक्तिकारको स्मृतिपटलमा नमेटिनेगरी अंकित छन् ।

तर, सबै लेखकले गरेका शब्दानुवादलाई आँखा चिम्लेर स्वीकार गरिहाल्न भने सकिन्न । ती सही नहुन सक्छन् वा तिनले मूल शब्दको अर्थ स्पष्ट रूपले वहन गर्न नसकेको हुन सक्छ । वास्तवमा कोष्ठकभित्र अंग्रेजी मूल शब्द राखिएबाट नै अनुवादको अपूर्णता प्रकट हुन्छ । प्रयुक्त नेपाली शब्दबाटै पाठकले अर्थबोध गर्न सक्नुपर्छ । तब मात्रै पाउँछ अनुवादले पूर्णता ।

त्यसै हुनाले त्यस्ता शब्दानुवाद तत्तत् लेखकको निजी सृजना र पेवाझैं बन्न गएका छन् । एउटाले गरेको अनुवाद अर्कोले टिपेर चलाएको पाइँदैन । कतिपय शब्दानुवाद सही नै भए पनि तिनले आम मान्यता पाएर प्रचलनमा आएको देखिँदैन । तर, फेरि अर्कातिर अमुक स्रोतबाट निसृत शब्दानुवादहरू छ्यासछ्यास्ती पाइन्छन् र केही कारणले तिनको प्रचलन व्यापक भएको देखिन्छ गलत र नमिल्दा नै भए पनि । अहिलेलाई यसका दुईवटा उदाहरण अघि सार्न सकिन्छ– ‘जवाफदेहिता’ र ‘बालमैत्री’ वा मैत्रीको पुच्छर जोडेर बनाइएका पाठकमैत्री वा वातावरणमैत्री आदि शब्दहरू ।

अंग्रेजी भाषाको तालमा हिँड्ने रहरबाट प्रेरित सम्भवतः कुनै अंग्रेजीबाज विकासे बुद्धिजीवीका अधकल्चा दिमागका उपज हुन् व्याकरणीय सिद्धान्तविपरीत बनेका यी शब्दहरू । विकासेहरूको कार्यशैली नै शब्दजाल बुनेर कुनै कुरालाई चिटिक्क गरी प्रस्तुत गर्ने हुन्छ । जस्तो उनीहरूले लेख्ने दस्तावेजमा ‘गरिब’ र ‘गरिबी’ भन्ने शब्दावली भरिसक्के पर्दैन । तिनका ठाउँमा ‘विपन्न’ र ‘विपन्नता’ शब्दावली उपयोग गर्छन् । त्यो पढ्ने गरिब पनि ‘हामी गरिब होइन विपन्न पो रहेछौं’ भनेर मख्ख पर्छ । यो ‘जवाफदेहिता’ भन्ने कुरूप शब्द पनि त्यही बाटो भएर भित्रिएको हो नेपाली शब्द संसारमा । अंग्रेजीको ‘एकाउन्टेबिलिटी’ शब्दको बलात् गरिएको नेपालीकरण हो यो । वास्तवमा अंग्रेजीको ‘एकाउन्टेबिलिटी’, ‘रेस्पोन्सिबिलिटी’, ‘एन्सरेबिलिटी’ आदि शब्दको तात्त्विक अर्थ एउटै हो — जिम्मेवारी । ‘यस घटनाको जिम्मेवारी कसको हो’ वा ‘यस घटनाको जवाफदेही कसको हो’ वा ‘यस घटनाको उत्तरदायित्व कसको हो’ भन्ने वाक्यको अर्थ एउटै लाग्छ । तर, हामीले बुझ्यौं, कसैलाई समात्न पर्‍यो भने उसलाई ‘एन्सरेबल’, ‘रेस्पोन्सेबल’ होइन ‘एकाउन्टेबल’ पो बनाउनुपर्छ भनेर । त्यसैले ‘एकाउन्टेबिलिटी’ भन्ने शब्दलाई के–के न पाएझैं गरी समात्यौं र सुझी न बुझी भन्न थाल्यौं ‘जवाफदेहिता’ । यसो गर्दा हामीले जवाफदेही आफैंमा काफी छ र त्यसले ‘एकाउन्टेबिलिटी’ को अर्थ वहन गर्छ भन्ने बुझेनौं । अनि अरबी/फारसी मूलको यस शब्दमा असुहाउँदो गरी ‘ता’ वर्णको फुँदा हाल्ने हाँसउठ्दो काम गर्‍यौं — दौरा सुरुवालमाथि टाई भिरेजसरी । अब कसरी बुझाउने ती अंग्रेजीबाजहरूलाई– भन्नै छ भने जवाफदेही भन्नोस् त्यसमा अनावश्यक ‘ता’ प्रत्यय थपेर जवाफदेहिता नभन्नोस्, त्यो अशुद्ध हो भनेर ?

अब पछिल्तिर ‘मैत्री’ जोडिएको शब्दको चर्चा गरौं, जस्तै ‘बालमैत्री’ । अंग्रेजीको ‘चाएल्ड फ्रेन्डली’ लाई जान्नेसुन्ने भनाउँदाहरूले दिएको नेपाली रूप हो यो । ‘फ्रेन्डली’ जोडिएका अरू पनि अंग्रेजी शब्द प्रचलित छन्— रिडर फ्रेन्डली, इन्भाइरन्मेन्ट फ्रेन्डली आदि । सबैले बुझेकै कुरा हो– मैत्री भनेको मित्रता हो, मितेरी हो, दोस्ती हो, जसलाई बुझाउने अंग्रेजी शब्द हो ‘फ्रेन्डसीप’ । ‘फ्रेन्डली’ को अर्थ त मित्रवत्, मित्रतापूर्ण भन्ने लाग्छ । अंग्रेजीमा ‘ही इज फ्रेन्डली’ भन्दा त्यसको अर्थ ‘ऊ मिलनसार वा फरासिलो छ’ भन्ने अर्थ लाग्छ । त्यसैले ‘फ्रेन्डली’ लाई जसरी मैत्री भनेर प्रयोग गरिएको छ त्यो गलत छ । त्यसको सट्टा बरु ‘अनुकूल, सुहाउँदो, हितैषी, हितकारी, उपयोगी, उपकारी’ जस्ता शब्द उपयोग गरेर वातावरणसुहाउँदो, वातावरणअनुकूल, बालोहितकारी, जनहितैषी आदि सद्दे शब्दको निर्माण गर्न सकिन्थ्यो । तर, यिनै बिसद्दे शब्दहरूको प्रचलन रोक्नै नसकिने गरी व्यापक बन्न गएको छ ‘बाइरोडको बाटो’ जस्तै । बरु ‘बाइरोडको बाटो’ लाई एक हिसाबले ठीक हो भन्न सकिएला, किनभने यसको सृजना जनबोलीबाट भएको हो । तर, मैत्री जोडिएका माथि उल्लिखित शब्दहरूलाई स्विकार्नु गाह्रो छ, किनभने यिनको निर्माण अधकल्चा बुज्रुकहरूको अल्पज्ञानका कारण भएको हो । अर्को कुरा, कथ्य रूप मात्र छ बाइरोडको बाटाको, लेख्य छैन । तर, जवाफदेहिता र बालमैत्री जस्ता शब्दहरूको लेख्य रूप भाषालाई बिटुल्याउँदै निर्बाध अघि बढिरेहको छ, जो भाषाको संवर्द्धन चाहनेहरूका लागि चिन्ताको विषय हो । यस्ता अरू पनि बग्रेल्ती छन् बेढंगका शब्दानुवाद । यी त केवल नमुना हुन् ।

के ठीक हो के बेठीक हो र अनुवादमा केलाई मानक मान्ने त्यो भनिदिने कुनै निकाय वा आधिकारिक संस्था हामीकहाँ भइदिएन । अनुवाद त्रुटिपूर्ण भएमा त्यो औंल्याइदिने कोही भएन । बरु राणाकालमा नेपाली भाषा प्रकाशिनी समितिअन्तर्गतको नेपाली भाषानुवाद परिषद्ले अनुवादको कार्यलाई नियन्त्रण र नियमन गर्ने चलन रहेको थाहा हुन्छ जनकलाल शर्माको संस्मरणात्मक लेखबाट । उनको एउटा लेखमा उल्लेख भएअनुसार, व्यक्ति र पसलको नामपाटीसमेत भाषानुवाद परिषद्को स्वीकृतिबेगर जथाभावी राख्न पाइन्नथ्यो उसबेला । कलकत्तामा पढेर ‘डेन्टल सर्जन’ बनेका व्यक्तिले सोही नाउँको सूचनापाटी राखिपाउन गरेको निवेदनमा निजलाई ‘दन्तचिकित्सक’ र एउटा हजाम पसलको नामपाटी ‘गणेश एन्ड ब्रदर्श’ राखिपाऊँ भनेर कसैले चढाएको अर्को निवेदनमा ‘गणेश र दाजुभाइ’ राख्नु भन्ने आदेश परिषद्ले दिएको प्रसंग उनले लेखेका छन् । सन् १९७० मा पहिलोचोटि काठमाडौं आउँदा यस पंक्तिकारले ‘फलाना केश कर्तन सदन’ भन्ने नामपाटी खिचापोखरीमा देखेको थियो । धरानमा ‘सेलुन’ भन्न र सुन्न अभ्यस्त यस पंक्तिकारका लागि नौलो कुरा थियो त्यो । त्यसैगरी ‘चमेनागृह’ पनि धरानमा रहँदा नसुनेको अर्को शब्द थियो । सम्भवतः उहिलेकै भाषानुवाद परिषद्को हैकमको रहलपहल प्रभाव थिए ती नामपाटी ।

विश्वका भाषाहरूमा वलिष्ठतम स्थानमा रहेको अंग्रेजी भाषासितको हाम्रो दैनन्दिन कारोबार बढिरहेको छ र यो बढी नै रहनेछ । यसमा किञ्चित् शंका छैन । विशाल भाषा भण्डारको धनी अंग्रेजी भाषाको शब्दकोशमा ४ लाखभन्दा बढी मूल शब्द समेटिएको मानिन्छ र प्रत्येक वर्ष घटीमा तीन हजार नयाँ शब्दले त्यसमा प्रविष्टि पाउँछन् भनिन्छ । त्यसको तुलनामा हाम्रो ‘नेपाली बृहत् शब्दकोश’ मा ६० हजार पनि शब्द छैनन् । अहिले बल्ल अनेक राष्ट्रिय भाषा र अन्य नानाविध स्रोतबाट तानतुन गरेर अर्को ९० हजार शब्द थप्ने काम भइरहेको बुझिएको छ । त्यो थपिए पनि हाम्रो शब्द भण्डारले अंग्रेजीसित कुम जोड्न सक्ने अवस्था त छँदै छैन । यस्तो अवस्थामा ‘ब्लाक’ भनेको ‘कालो’ भने जसरी हरेक अंग्रेजी शब्दको ठ्याक्क मिल्ने शब्द हामीसित नहुनु स्वाभाविक हो । त्यसो गर्न खोज्नु अंग्रेजीको हात्ती लम्काइ देखेर धुरी चढ्न खोज्नुजस्तो मात्र हुनेछ । त्यस्तो समृद्ध भाषाको शब्दशब्दको ठ्याक्कै मिल्ने नेपाली रूपान्तर पाउन सकिएन भनेर हतारिँदै जथाभावी अनुवाद गर्न जरुरी छैन । छैन वा भेटिएन भने अंग्रेजी मूलकै शब्द चलाउँदा पनि केही फरक पर्दैन । दक्षिण अमेरिकाको ‘पाम्पास’ लाई पाम्पास नै भनौं न किन घाँसे मैदान भनिरहनुपर्‍यो ? अफ्रिकी महादेशको चिनारी बनेको ‘बाओबाब’ वृक्षलाई त्यही नामबाटै पुकारौं न । परम्परागत रूसी जनजीवनको हिस्सा मानिएको ‘समोबार’ लाई बुझाउन किन अर्को शब्द खोजिराख्न पर्‍यो ? अनि धैर्यपूर्वक खोजीपसे अप्ठेरो ठानिएको अंग्रेजी शब्दको नेपाली रूपान्तर पनि फेला पर्न सक्छ । हत्त न पत्त ‘भोयरिज्म’ भनिहाल्न पर्दैन । खोजेमा ‘दर्शन रति’ वा ‘दृश्यसुख’ भनेर अरूले चलाएको मिल्ने शब्द पनि भेट्टाउन सकिन्छ । अंग्रेजीको ‘अल्टिमेटम’ नेपालीमा ‘अन्तिमेत्थम्’ हुन सक्छ भनेर हामीमध्ये कतिले हेक्का राखेका छौं ? यो त ‘बृहत् नेपाली शब्दकोश’ मा उल्लेख भएकै शब्द हो । हाम्रो भाषा भण्डार अपेक्षाकृत सानै भए पनि हामीसँग पनि यस्ता शब्दहरू छन्, जसको सही अर्थ दिने शब्दहरू अंग्रेजीमा पनि पाइँदैनन् । एकल शब्दमा हामी कमजोर नै छौं, तर दुई–चार शब्द बढी खर्चेर व्याख्या गरी त्यस समस्याको निराकरण खोज्न सकिन्छ । तसर्थ मिहिनेतसाथ खोजेमा भेटिन सक्छ, नभए नयाँ शब्दको निर्माण गर्न पनि पछि हट्न हुँदैन । हो, मिहिनेत भने दुवै अवस्थामा उत्तिकै चाहिन्छ । हामीले परिशुद्ध पारिभाषिक शब्द खोज्न, केलाउन परेमा निर्माण गर्न र तिनको संग्रह गर्नलाई मिहिनेत गर्न बाँकी नै रहेको तथ्य भने एकदम सत्य हो ।

यस सन्दर्भमा भारतले केन्द्रीय स्तरमा गरेको प्रयास र अभ्यास हाम्रा लागि मननीय हुन सक्छ साथै अनुकरणीय पनि । हिन्दी भाषामा अन्तर्निहित कमीकमजोरीलाई महसुस गरेर जवाहरलाल नेहरू प्रधानमन्त्री छँदै सन् १९६१ मा भारतको केन्द्रीय सरकारले एउटा आयोग बनायो ‘वैज्ञानिक तथा तकनिकी शब्दावली आयोग’ नामको । त्यस आयोगको मुख्य काम थियो– अंग्रेजी भाषाका पारिभाषिक शब्दहरूलाई हिन्दीमा रूपान्तरण गर्ने । रसायनशास्त्र, भौतिकशास्त्र, जीवशास्त्र, वनस्पति, गणित आदि विज्ञानका यावत् हाँगाबिँगादेखि लिएर समाजशास्त्र, अर्थशास्त्र, मानवशास्त्र, राजनीति, दर्शन, भाषाशास्त्र, ललितकला र संगीत आदि समाजविज्ञानअन्तर्गतका विषयमा देशभरिका कहलिएका विद्वान्हरूलाई समावेश गरी आयोगले समितिहरू बनायो । संवैधानिक र कानुनी शब्दहरूको हिन्दी रूपान्तरणका लागि छुट्टै ‘विधि शब्दावली’ समिति पनि बनायो भारत सरकारले उसैबेला । सम्बन्धित समितिहरूले लोकव्यवहारमा रहेका रैथाने र प्रान्तीय भाषाहरूमा प्रचलित शब्दहरूको निरूपण गर्‍यो । नयाँ निर्माण गरिनुपर्ने शब्दहरूलाई संस्कृतका धातुहरूका आधारमा बनायो । यो एउटा बृहत् आयोजना थियो, समय त लाग्यो । तर, आयोगले ‘बृहत् पारिभाषिक शब्द संग्रह’ नाम दिएर सन् १९७३ मा मानविकी तथा सामाजिक विज्ञान शब्दावली दुई ठेलीमा र विशुद्ध विज्ञान विषयक शब्दावली अर्को दुई ठेलीमा प्रकाशित गरायो । ‘विधि शब्दावली संग्रह’ त त्यसअघि सन् १९७० मै प्रकाशित भइसकेको थियो । ती शब्दसंग्रहमा भेटिन्छ ‘कम्प्युटर’ शब्दलाई उसैबेला उनीहरूले हिन्दीमा ल्याएका थिए ‘अभिकलित्र’ भनेर । उनीहरूले यन्त्र कम्प्युटरलाई अभिकलित्र भने अनि व्यक्तिलाई अभिकलक । ‘कम्प्युटिङ’ कार्यलाई उनीहरूले अभिकलन भने । कालान्तरमा कम्प्युटर बुझाउनलाई उनीहरूले ‘संगणक’ भन्ने शब्द पनि चलाउन लागे । अभिकलित्र वा संगणक दुवै निर्माण गरिएका शब्द हुन्, जसको प्रचलन व्यवहारमा विरलै भेटिन्छ, त्यो अर्को कुरा हो । तर, उनीहरूले आवश्यक परे उपयुक्त अवसरमा उपयोग गर्ने सकिने आफ्नो भन्ने शब्द त निर्माण गरे, गाँठी कुरा त्यो हो ।

साथै ‘एकेडेमी’ लाई अकादमी, ‘टेक्निकल’ लाई तकनिकी, ‘क्लासिक’ लाई क्लासिकी, ‘कोडिफिकेसन’ लाई कोडीकरण, ‘कम्प्युटराइज्ड’ लाई कम्प्युटरीकृत भनेर हिन्दीकरण पनि भारतीयहरूले गरे । अलेक्जेन्डर हिन्दीमा सिकन्दर कहलिन्छ, प्लेटो अफलातुन र एरिस्टोटल अरस्तु । ग्रेगोरियन पात्रोका महिनाहरूलाई पनि हिन्दीकरण गरेर उनीहरू भन्छन् ः फरवरी, मई, अगस्त, सितम्बर, अक्टुबर, दिसम्बर । नेपालीमा भने कोही मे भन्छौं, कोही ‘मई दिवस’ मनाउँछौं । कोही अगस्ट भन्छौं, कोही अगस्त लेख्छौं । हामीले प्लेटो भन्ने कि अफलातुन ? अरस्तु भन्ने कि एरिस्टोटल ? अलेक्जेन्डर भन्ने कि सिकन्दर ? यो अन्योल कायम छ र हामी आफुखुसी तिनलाई चलाउँछौं मानकीकरणको वास्ता नगरी ।

हामीले अनुवादको सर्वप्रचलित, सर्वग्राह्य, सर्वस्वीकृत मानक स्थापित गर्न नसकेकाले यस्तो अन्योल रहन गएको हो । त्यस्तो मानक स्थापित गर्ने दिशातर्फ संगठित, व्यवस्थित र आधिकारिक पाइला हामीले कहिल्यै चालेनौं । सिद्धान्ततः यो काम गर्नुपर्ने हो प्रज्ञा–प्रतिष्ठानले, त्रिभुवन विश्वविद्यालयको नेपाली विभागले र शिक्षा मन्त्रालयले । सरकारको सरोकारवाला मन्त्रालयले पारिभाषिक शब्दहरूको संग्रह र निर्माणको प्रयोजनकै लागि निश्चित हदम्याद र जिम्मेवारी दिएर एउटा उच्चस्तरीय निकाय गठन गर्नुपर्ने हो । त्यस्तो निकायले नेपाली पारिभाषिक शब्दहरूको आधिकारिक र प्रामाणिक संग्रह निकाल्नुका साथै त्यसलाई अद्यावधिक पनि गरिराख्नुपर्ने हो, जसरी हाम्रो छिमेकीले उहिल्यै गरिसकेको छ ।

भारतीय लेखिका गीताञ्जली श्रीद्वारा लिखित हिन्दी उपन्यास ‘रेत समाधि’ को अंग्रेजी अनुवाद ‘टुम्ब अफ स्यान्ड’ इन्टरन्यासनल बुकर प्राइजबाट केही समयअघि पुरस्कृत भएबाट अनूदित कृतिलाई बेलायतमा कुन हदसम्म प्रोत्साहन दिने गरिन्छ, त्यो बुझ्न सकिन्छ । त्यो पुरस्कार विश्वका अन्य भाषाबाट अंग्रेजीमा अनुवाद गरेर बेलायतमा छापिएको पुस्तकलाई दिने गरिन्छ । अरू भाषाको राम्रो साहित्यलाई उत्कृष्ट अनुवाद गरेर ल्याई अंग्रेजी भाषाको ज्ञानभण्डार बढाएबापत दिइएको हो त्यो पुरस्कार । मूल कृतिको मौलिकता त यसै पनि बेजोड हुनैपर्‍यो, त्यसको अनुवाद पनि उत्तिकै उम्दा हुनुपर्‍यो । अनुवाद झुर भएमा मौलिक कृतिको रस पनि हराउँछ । त्यसैले त्यस पुरस्कारको राशिमा मूल लेखक र अनुवादक दुवैको बराबर भागीदारी हुन्छ । हामीकहाँ अनेकन् किताबहरूको अनुवाद गर्ने काम भइरहेकै छ, खास गरी अंग्रेजीबाट । तर, त्यस्ता अनूदित किताबहरूको अनुशीलन, परिशीलन गर्ने र तिनको गुणवत्ताको जाँचपरख गर्ने काम भने व्यवस्थित तवरमा हुन सकेको छैन । उत्कृष्ट ठहरिएको अनूदित कृतिलाई पुरस्कृत गर्ने काम त धेरै टाढाको कुरा भयो ।

आफ्नो भाषाको भण्डार भर्न र साहित्यको श्रीवृद्धिका लागि अरू भाषाका उत्कृष्ट कृतिहरूलाई अनुवाद गरेर नेपाली भाषामा ल्याउनु एकदम जरुरी छ, तर सही तरिका र सही ढंगले । त्यसका लागि अनुवाद कर्मलाई हरसम्भव तरिकाले प्रोत्साहित गरिनु आवश्यक छ । तर, स्वाङ्गे प्राज्ञ, झोले अध्यापक, खरिदिएको प्रमाणपत्र बोक्ने विद्वान् र मूढमतिका नेताहरूको बोलवाला भएको मौजुदा माहोलमा अनुवाद प्रवर्द्धन र भाषा संवर्द्धनबारे सोच्ने फुर्सद कसैलाई देखिन्न । न कुनै प्रोत्साहन, न कुनै मार्गदर्शन, न कुनै प्रशिक्षण ! भुइँफुट्टा तालमै चलिरहेको छ, हामीकहाँ अनुवाद कर्म । यस्तो अवस्थामा नेपाली अनुवाद बर्बाद किन नहोस् ?

प्रकाशित : श्रावण १४, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?