३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१
कोसेली

आर्किटेक्चर र शक्तिको नेपाली कथा

कवि आइराले ‘सिंहदरबारमा लागेको आगो’ कवितामा लेखेका थिए– ‘गाँजा प्रयोग गर्न पाउने लाइसेन्स/खारेज गर्ने घोषणा हुनुभन्दा/एक हप्ताअघि नै लागेको/यो आगो/शिवजीले पठाएको दण्ड हो ।’
अभि सुवेदी

नेपालको राजनीतिक इतिहासमा शासक र तिनका शक्ति संघर्ष, तिक्डम, हैकम, जित, पराजय अनि आन्दोलनका कथा पढ्न पाइन्छ । यो सबैतिरका इतिहासको चरित्र हो । तर, नेपालमा भवन निर्माण अथवा आर्किटेक्चर र शक्ति अनि शासनको विषयमा खासै केही लेखिँदैन । त्यो एउटा निकै ठूलो कुरा छुटेको हो भनेर मान्नुपर्छ । हुन त यो विषय सूक्ष्म छ अनि सोझै भन्न नसकिने किसिमको छ । त्यसैले नलेखिएको हो । नेपालमा खासगरी काठमाडौं उपत्यकामा ठूला दरबारजस्ता भवन बनाउने मनोग्रन्थि र शासनको सम्बन्ध छ । राणा शासनबाट यस विषयमा पस्न सकिन्छ । छलफलपछि काठमाडौंका मेयरलाई छोटो पत्र लेखिएको छ ।

आर्किटेक्चर र शक्तिको नेपाली कथा

ठूला घर वा महल बनाउनेका शासन र शक्तिसँग जोडिएका मनोग्रन्थि हुनेरहेछन् । राणाहरूले दरबारहरू बनाए अनि तिनलाई शासन, सम्पत्ति र शक्तिसँग जोडे । त्यो कुरा नेपाली शासकहरूको लगभग मनोग्रन्थि नै बनेको छ । राजधानीमा जुन व्यवस्थाबाट आए पनि शक्तिमा बस्नेहरूले गतिला महल बनाउने र त्यसैका धन्दा गर्ने मनोग्रन्थिलाई आफ्नो चरित्र बनाएका उदाहरण छ्याप्छ्याप्ती भेटिन सक्छन् । अझ गतिला महल र शक्तिको बीचमा सम्बन्ध बनाउने तिनका चरित्र राणाकालीन आर्किटेक्चर र शक्तिसँग मेल खान्छन् । भवन बनाउने अनि ती भवनलाई शक्तिका केन्द्र बनाउने शासकहरू दलका नायक हुनु स्वाभाविक भएको देख्न सकिन्छ । तिनका त्यस्ता भवनमोहलाई बुझेर अरू त्यसबाट फाइदा लिनेहरूले पनि भवन बनाइदिन सक्छन् । तर, मुख्य कुरा नेपाली इतिहासमा आर्किटेक्चर र शक्तिको सम्बन्ध निकै ध्यान दिन लायकको छ । यो मनोग्रन्थिले राजनीतिलाई पनि प्रभाव पारेको देख्न सकिन्छ ।

अलिकता सूक्ष्म अध्ययनको विषय हो यो । भवनलाई कसरी शक्तिसँग जोडिन्छ, त्यसको उपासना कसरी गरिन्छ अनि त्यसबाट पैसाको खेल कसरी हुन्छ भन्ने मुख्य विषय हो । यी माथि भनिएका कुराबाहेक उन्नाईस सय नब्बे साल र दुई हजार बहत्तर सालका भैंचालासँग आर्किटेक्चर र शक्तिका कथा अनौठोसँग जोडिएका छन् । कस्ता महल बनिए र कस्ता महलका संरक्षण गरिए अनि कसरी गरिए, तिनको पछाडिका राजनीति के थिए भन्ने छलफलमा आएकै विषय हुन् । राणा कालपछिका प्रजातान्त्रिक र पञ्चायती युगमा शासकहरूले भवनलाई कसरी लिए भन्ने विषयमा त्यति छलफल हुँदैनन् । पञ्चायतकालमा भवन र शक्तिको सम्बन्ध बुझाउने एउटा भवन नारायणहिटी राजदरबार हो । राणा महलहरूभन्दा भिन्न ‘गोरखा शैली’ को त्यो दरबारसँग शक्तिका कथा जोडिएका थिए ।

राजा महेन्द्रले यो दरबार बनाइसकेपछि अमुक रकम लिएर राज्यलाई त्यो बेचिदिएका कथा पनि बाहिर आए । तर, अहिले आएर यो दरबार हेर्दा यसमा राणा ब्यारोकले प्रयोग गरेको स्पेसको ढाँचा र बाहिर देखाउने हैकमको चरित्र फरक देखियो । राणाहरूका भवनहरूले पछिसम्म कार्यालय र अरू प्रशासनिक अनि ब्याङ्कको प्रयोजनलाई काम दिए, जुन नारायणहिटी दरबारले दिन सक्दैनथ्यो । जुलाई ९, १९७३ मा सिंहदरबारमा आगो लाग्यो । आइरा कोहेन नामक अमेरिकी हिप्पी कविका यी तलका अनौठा हरफमा र गन्धर्वहरूका केही गीतमा बाहेक त्यो विशाल राणा शासनको शक्तिको भवनमाथि लेखिएका र गाइएका कविता, गीत र पढ्नलायकका न्यारेटिभ मैले अरू खासै केही भेटिनँ । ‘सिंहदरबारमा लागेको आगो’ शीर्षक कवितामा आइराले यस्ता हरफ लेखे ः ‘गाँजा प्रयोग गर्न पाउने लाइसेन्स/खारेज गर्ने घोषणा हुनुभन्दा/एक हप्ताअघि नै लागेको/यो आगो/शिवजीले पठाएको दण्ड हो ।’ तल केही आफ्ना संस्मरणतिर फर्किन्छु ।

पहिले विद्यार्थी भएर काठमाडौं आउनुअघि मैले मनमा यहाँका दरबारहरू र महल हेर्ने चाहना साँचेर राखेको थिएँ । यहाँ आएपछि ती महलहरू खोजीखोजी हेर्ने काममा लागें । ती राणाकालीन दरबार र महल थिए । तिनको विषयमा साधारण जानकारी मात्र लिएको थिएँ । सिंहदरबारदेखि अरू प्रायः सबै राणाकालीन महल र तिनले ओगटेका भूमि, बरबगैंचा भेटेसम्म हेरें । भानुभक्त आचार्यले बयान गरेको कान्तिपुरी त्यो थिएन । उनको काल्पनिकीमा उल्लेख भएका सहरहरू उनले पनि देखेका थिएनन् । अहिलेको नारायणहिटी दरबारको साँध अहिलेको बारसम्मै थियो । त्यहाँ बाटो छेउबाट देखिने पानीका टनेलहरू राणा दरबार परिवेशका विलासितापूर्ण जलसयर गर्ने ठाउँ थिए भनेर मलाई एक कविले भने । यी सबै थलोहरू शक्तिशालीका शासन गर्ने आर्किटेक्चर वा भवनकला थिए । पछि बुझ्दा तिनको शैली युरोपेली नवब्यारोक वा एसियाली ब्यारोक रहेछ । भारतीय उपमहाद्वीपमा अंग्रेजको लामो शासनकालमा यो शैलीमा महलहरू बनिए । अंग्रेजले छोडेर हिँड्दा त्यस्ता महलहरू अनेकौं किसिमले प्रयोग भए ।

नेपालमा अंग्रेजको शासन नभएकाले नेपाली राणावंशका शासकहरूले नेपाली जनताकै धन प्रयोग गरेर ती ब्यारोक शैलीका भवनहरू बनाए । ती ठूला खेत र फाँट ओगटेर बनाइएका थिए । यहाँको भूमिको कुरालाई डा. बाबुराम भट्टराईको विद्यावारिधि शोध हेर्नुपर्छ । ती सर्वसाधारण जनताबाट अलग हुने, शक्तिका अनौठा र किञ्चित् विकृत मनोग्रन्थिका रचना थिए ।

तर, त्यो बेला मलाई एउटा ठूलो संजोग पर्‍यो । आईएको एउटा अकिञ्चन विद्यार्थी मेरो सम्पर्क भने आफूलाई मन परेका केही साहित्यकारहरूसँग भयो । तिनमध्ये सिद्धिचरण श्रेष्ठ उर्फ काजी दाइ र कवि नाटककार बालकृष्ण सम थिए । बालकृष्ण समको घरमा यसै सोध्दै खोज्दै पुगें । एउटा फुच्चे विद्यार्थीसँग पनि समले लामो कुरा गरे ।

यो भेटघाटको विषयमा एउटा लेखसमेत लेख्न भ्याएँ । भवानी घिमिरेका दाजु कमलप्रसाद घिमिरेको साहित्यिक पत्रिका ‘बिहान’ (अङ्क ५, २०२०) मा ‘समज्यूसँग एक बिहान’ शीर्षकमा त्यो छापियो । मेरो अर्को संजोग आर्किटेक्चर विषयकै थियो । त्यो संजोगले मेरो आजपर्यन्त काठमाडौको आर्किटेक्चर, शक्ति, जनता र शासन विषयमा दृष्टिकोण बनिएको छ । कवि सिद्धिचरण श्रेष्ठसँग चिनजान भएपछि एक दिन उनकोमा जाँदा कविले भने, ‘भाइ, मसँग भक्तपुर आउनोस् । त्यहाँ एउटा नेवार भाषाको कविको गोष्ठी हुँदै छ । एउटा बस जान्छ ।’

त्यो मेरो पहिलो र रोमाञ्चक यात्रा थियो । कविले मलाई भक्तपुर दरबारको अन्तपुरदेखि बाहिरको नेवार आर्किटेक्चरको घुमाई घुमाई वर्णन गरिदिए । भक्तपुर दरबारभित्र पस्ने एउटा ढोकामाथि पृथ्वीनारायण शाहका सिपाहीले हानेका गोलीका खोपिल्टा देखाए, कविले । मैले महल र शक्तिबीचको एउटा आन्दोलित इतिहासको सानो झल्का थाहा पाएँ त्यो दिन । त्यो भ्रमणले मेरा केवल राणाका महल र हैकमका कथाभन्दा भिन्न मानवजनिन आर्किटेक्चरबारे आँखा खोलिदियो । लामा प्राज्ञिक लेखहरू लेखिसकें । विद्यार्थीहरूलाई शोधहरू पनि गराइसकें । पछि ‘आरुका फूलका सपना’ (२०५८) नाटक लेखें ।

अन्त्यमा थोरैमा केही कुराहरू लेखिहाल्छु । जुनसुकै शैलीका भए पनि अनि जस्ता इतिहासबाट आएका भए पनि नेपाल उपत्यकाका भवन र परिवेशहरूको रक्षा गर्ने जिम्मा कसैको भएन । राणाहरूको स्वामित्वबाट गएपछि भवन र वृक्षहरूको संरक्षण भएन । राज्यले तिनको प्रयोग गर्‍यो, तर बिजोग बनाएर छोडिदियो । तिनलाई भूकम्पपछि रेट्रोफिटिङ गरेर बचाइएन ।

बालुवाटारमा भूमि लुछीकरण भएदेखिका कथा छन् । वृक्षहरू काटिदिएका कथा छन् । सबै राणा दरबारमा सय वर्ष नाघेका वृक्षहरू काटिए । अब काठमाडौंमा यस्ता भवन र परिवेशको रक्षा राज्यले वा सरकारले गर्दैन, पक्का छ । त्यसैले मेयर बालेन शाहको काँधमाथि यो आएको छ । उपमेयर सुनीता डङ्गोलको दायित्वमा परेको छ । एकाध हरफमा बालेनलाई एउटा खुलापत्र लेख्छु–

यो महान् संरक्षणको काम काठमाडौंका मेयरको दायित्वभित्र पर्छ । मेरो सल्लाह छ, पहिला तुरुन्तै त्रिचन्द्र कलेजको संरक्षणबाट सुरु गरिहाल्नोस् । यो प्रधानमन्त्री वा अरू ठूला मान्छे पढेको कलेज, बनाइहाल्छन् नि भन्ने भ्रम नराख्नुहोस् । आधी शताब्दीभन्दा बढी पढाएको शिक्षक र एक लेखकको आह्वान हो यो । तपाईंको प्रतिक्रिया सुन्न मात्र होइन, काम हेर्न पर्खेको छु । छिट्टै एकपटक त्यहाँ जानुहोस् । मैले भनेको कुरा त्रिचन्द्रले मुख खोलेर, घडीको नाद उचालेर तपाईंलाई भन्नेछ । त्यो बोली रानीपोखरीका तरङ्गमा दौडिनेछ । शुभकानासहित ।

प्रकाशित : श्रावण १४, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?