आर्किटेक्चर र शक्तिको नेपाली कथा- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

आर्किटेक्चर र शक्तिको नेपाली कथा

कवि आइराले ‘सिंहदरबारमा लागेको आगो’ कवितामा लेखेका थिए– ‘गाँजा प्रयोग गर्न पाउने लाइसेन्स/खारेज गर्ने घोषणा हुनुभन्दा/एक हप्ताअघि नै लागेको/यो आगो/शिवजीले पठाएको दण्ड हो ।’
अभि सुवेदी

नेपालको राजनीतिक इतिहासमा शासक र तिनका शक्ति संघर्ष, तिक्डम, हैकम, जित, पराजय अनि आन्दोलनका कथा पढ्न पाइन्छ । यो सबैतिरका इतिहासको चरित्र हो । तर, नेपालमा भवन निर्माण अथवा आर्किटेक्चर र शक्ति अनि शासनको विषयमा खासै केही लेखिँदैन । त्यो एउटा निकै ठूलो कुरा छुटेको हो भनेर मान्नुपर्छ । हुन त यो विषय सूक्ष्म छ अनि सोझै भन्न नसकिने किसिमको छ । त्यसैले नलेखिएको हो । नेपालमा खासगरी काठमाडौं उपत्यकामा ठूला दरबारजस्ता भवन बनाउने मनोग्रन्थि र शासनको सम्बन्ध छ । राणा शासनबाट यस विषयमा पस्न सकिन्छ । छलफलपछि काठमाडौंका मेयरलाई छोटो पत्र लेखिएको छ ।

ठूला घर वा महल बनाउनेका शासन र शक्तिसँग जोडिएका मनोग्रन्थि हुनेरहेछन् । राणाहरूले दरबारहरू बनाए अनि तिनलाई शासन, सम्पत्ति र शक्तिसँग जोडे । त्यो कुरा नेपाली शासकहरूको लगभग मनोग्रन्थि नै बनेको छ । राजधानीमा जुन व्यवस्थाबाट आए पनि शक्तिमा बस्नेहरूले गतिला महल बनाउने र त्यसैका धन्दा गर्ने मनोग्रन्थिलाई आफ्नो चरित्र बनाएका उदाहरण छ्याप्छ्याप्ती भेटिन सक्छन् । अझ गतिला महल र शक्तिको बीचमा सम्बन्ध बनाउने तिनका चरित्र राणाकालीन आर्किटेक्चर र शक्तिसँग मेल खान्छन् । भवन बनाउने अनि ती भवनलाई शक्तिका केन्द्र बनाउने शासकहरू दलका नायक हुनु स्वाभाविक भएको देख्न सकिन्छ । तिनका त्यस्ता भवनमोहलाई बुझेर अरू त्यसबाट फाइदा लिनेहरूले पनि भवन बनाइदिन सक्छन् । तर, मुख्य कुरा नेपाली इतिहासमा आर्किटेक्चर र शक्तिको सम्बन्ध निकै ध्यान दिन लायकको छ । यो मनोग्रन्थिले राजनीतिलाई पनि प्रभाव पारेको देख्न सकिन्छ ।

अलिकता सूक्ष्म अध्ययनको विषय हो यो । भवनलाई कसरी शक्तिसँग जोडिन्छ, त्यसको उपासना कसरी गरिन्छ अनि त्यसबाट पैसाको खेल कसरी हुन्छ भन्ने मुख्य विषय हो । यी माथि भनिएका कुराबाहेक उन्नाईस सय नब्बे साल र दुई हजार बहत्तर सालका भैंचालासँग आर्किटेक्चर र शक्तिका कथा अनौठोसँग जोडिएका छन् । कस्ता महल बनिए र कस्ता महलका संरक्षण गरिए अनि कसरी गरिए, तिनको पछाडिका राजनीति के थिए भन्ने छलफलमा आएकै विषय हुन् । राणा कालपछिका प्रजातान्त्रिक र पञ्चायती युगमा शासकहरूले भवनलाई कसरी लिए भन्ने विषयमा त्यति छलफल हुँदैनन् । पञ्चायतकालमा भवन र शक्तिको सम्बन्ध बुझाउने एउटा भवन नारायणहिटी राजदरबार हो । राणा महलहरूभन्दा भिन्न ‘गोरखा शैली’ को त्यो दरबारसँग शक्तिका कथा जोडिएका थिए ।

राजा महेन्द्रले यो दरबार बनाइसकेपछि अमुक रकम लिएर राज्यलाई त्यो बेचिदिएका कथा पनि बाहिर आए । तर, अहिले आएर यो दरबार हेर्दा यसमा राणा ब्यारोकले प्रयोग गरेको स्पेसको ढाँचा र बाहिर देखाउने हैकमको चरित्र फरक देखियो । राणाहरूका भवनहरूले पछिसम्म कार्यालय र अरू प्रशासनिक अनि ब्याङ्कको प्रयोजनलाई काम दिए, जुन नारायणहिटी दरबारले दिन सक्दैनथ्यो । जुलाई ९, १९७३ मा सिंहदरबारमा आगो लाग्यो । आइरा कोहेन नामक अमेरिकी हिप्पी कविका यी तलका अनौठा हरफमा र गन्धर्वहरूका केही गीतमा बाहेक त्यो विशाल राणा शासनको शक्तिको भवनमाथि लेखिएका र गाइएका कविता, गीत र पढ्नलायकका न्यारेटिभ मैले अरू खासै केही भेटिनँ । ‘सिंहदरबारमा लागेको आगो’ शीर्षक कवितामा आइराले यस्ता हरफ लेखे ः ‘गाँजा प्रयोग गर्न पाउने लाइसेन्स/खारेज गर्ने घोषणा हुनुभन्दा/एक हप्ताअघि नै लागेको/यो आगो/शिवजीले पठाएको दण्ड हो ।’ तल केही आफ्ना संस्मरणतिर फर्किन्छु ।

पहिले विद्यार्थी भएर काठमाडौं आउनुअघि मैले मनमा यहाँका दरबारहरू र महल हेर्ने चाहना साँचेर राखेको थिएँ । यहाँ आएपछि ती महलहरू खोजीखोजी हेर्ने काममा लागें । ती राणाकालीन दरबार र महल थिए । तिनको विषयमा साधारण जानकारी मात्र लिएको थिएँ । सिंहदरबारदेखि अरू प्रायः सबै राणाकालीन महल र तिनले ओगटेका भूमि, बरबगैंचा भेटेसम्म हेरें । भानुभक्त आचार्यले बयान गरेको कान्तिपुरी त्यो थिएन । उनको काल्पनिकीमा उल्लेख भएका सहरहरू उनले पनि देखेका थिएनन् । अहिलेको नारायणहिटी दरबारको साँध अहिलेको बारसम्मै थियो । त्यहाँ बाटो छेउबाट देखिने पानीका टनेलहरू राणा दरबार परिवेशका विलासितापूर्ण जलसयर गर्ने ठाउँ थिए भनेर मलाई एक कविले भने । यी सबै थलोहरू शक्तिशालीका शासन गर्ने आर्किटेक्चर वा भवनकला थिए । पछि बुझ्दा तिनको शैली युरोपेली नवब्यारोक वा एसियाली ब्यारोक रहेछ । भारतीय उपमहाद्वीपमा अंग्रेजको लामो शासनकालमा यो शैलीमा महलहरू बनिए । अंग्रेजले छोडेर हिँड्दा त्यस्ता महलहरू अनेकौं किसिमले प्रयोग भए ।

नेपालमा अंग्रेजको शासन नभएकाले नेपाली राणावंशका शासकहरूले नेपाली जनताकै धन प्रयोग गरेर ती ब्यारोक शैलीका भवनहरू बनाए । ती ठूला खेत र फाँट ओगटेर बनाइएका थिए । यहाँको भूमिको कुरालाई डा. बाबुराम भट्टराईको विद्यावारिधि शोध हेर्नुपर्छ । ती सर्वसाधारण जनताबाट अलग हुने, शक्तिका अनौठा र किञ्चित् विकृत मनोग्रन्थिका रचना थिए ।

तर, त्यो बेला मलाई एउटा ठूलो संजोग पर्‍यो । आईएको एउटा अकिञ्चन विद्यार्थी मेरो सम्पर्क भने आफूलाई मन परेका केही साहित्यकारहरूसँग भयो । तिनमध्ये सिद्धिचरण श्रेष्ठ उर्फ काजी दाइ र कवि नाटककार बालकृष्ण सम थिए । बालकृष्ण समको घरमा यसै सोध्दै खोज्दै पुगें । एउटा फुच्चे विद्यार्थीसँग पनि समले लामो कुरा गरे ।

यो भेटघाटको विषयमा एउटा लेखसमेत लेख्न भ्याएँ । भवानी घिमिरेका दाजु कमलप्रसाद घिमिरेको साहित्यिक पत्रिका ‘बिहान’ (अङ्क ५, २०२०) मा ‘समज्यूसँग एक बिहान’ शीर्षकमा त्यो छापियो । मेरो अर्को संजोग आर्किटेक्चर विषयकै थियो । त्यो संजोगले मेरो आजपर्यन्त काठमाडौको आर्किटेक्चर, शक्ति, जनता र शासन विषयमा दृष्टिकोण बनिएको छ । कवि सिद्धिचरण श्रेष्ठसँग चिनजान भएपछि एक दिन उनकोमा जाँदा कविले भने, ‘भाइ, मसँग भक्तपुर आउनोस् । त्यहाँ एउटा नेवार भाषाको कविको गोष्ठी हुँदै छ । एउटा बस जान्छ ।’

त्यो मेरो पहिलो र रोमाञ्चक यात्रा थियो । कविले मलाई भक्तपुर दरबारको अन्तपुरदेखि बाहिरको नेवार आर्किटेक्चरको घुमाई घुमाई वर्णन गरिदिए । भक्तपुर दरबारभित्र पस्ने एउटा ढोकामाथि पृथ्वीनारायण शाहका सिपाहीले हानेका गोलीका खोपिल्टा देखाए, कविले । मैले महल र शक्तिबीचको एउटा आन्दोलित इतिहासको सानो झल्का थाहा पाएँ त्यो दिन । त्यो भ्रमणले मेरा केवल राणाका महल र हैकमका कथाभन्दा भिन्न मानवजनिन आर्किटेक्चरबारे आँखा खोलिदियो । लामा प्राज्ञिक लेखहरू लेखिसकें । विद्यार्थीहरूलाई शोधहरू पनि गराइसकें । पछि ‘आरुका फूलका सपना’ (२०५८) नाटक लेखें ।

अन्त्यमा थोरैमा केही कुराहरू लेखिहाल्छु । जुनसुकै शैलीका भए पनि अनि जस्ता इतिहासबाट आएका भए पनि नेपाल उपत्यकाका भवन र परिवेशहरूको रक्षा गर्ने जिम्मा कसैको भएन । राणाहरूको स्वामित्वबाट गएपछि भवन र वृक्षहरूको संरक्षण भएन । राज्यले तिनको प्रयोग गर्‍यो, तर बिजोग बनाएर छोडिदियो । तिनलाई भूकम्पपछि रेट्रोफिटिङ गरेर बचाइएन ।

बालुवाटारमा भूमि लुछीकरण भएदेखिका कथा छन् । वृक्षहरू काटिदिएका कथा छन् । सबै राणा दरबारमा सय वर्ष नाघेका वृक्षहरू काटिए । अब काठमाडौंमा यस्ता भवन र परिवेशको रक्षा राज्यले वा सरकारले गर्दैन, पक्का छ । त्यसैले मेयर बालेन शाहको काँधमाथि यो आएको छ । उपमेयर सुनीता डङ्गोलको दायित्वमा परेको छ । एकाध हरफमा बालेनलाई एउटा खुलापत्र लेख्छु–

यो महान् संरक्षणको काम काठमाडौंका मेयरको दायित्वभित्र पर्छ । मेरो सल्लाह छ, पहिला तुरुन्तै त्रिचन्द्र कलेजको संरक्षणबाट सुरु गरिहाल्नोस् । यो प्रधानमन्त्री वा अरू ठूला मान्छे पढेको कलेज, बनाइहाल्छन् नि भन्ने भ्रम नराख्नुहोस् । आधी शताब्दीभन्दा बढी पढाएको शिक्षक र एक लेखकको आह्वान हो यो । तपाईंको प्रतिक्रिया सुन्न मात्र होइन, काम हेर्न पर्खेको छु । छिट्टै एकपटक त्यहाँ जानुहोस् । मैले भनेको कुरा त्रिचन्द्रले मुख खोलेर, घडीको नाद उचालेर तपाईंलाई भन्नेछ । त्यो बोली रानीपोखरीका तरङ्गमा दौडिनेछ । शुभकानासहित ।

प्रकाशित : श्रावण १४, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

हामी यस्ता किन छौं ?

हामी यति हिंस्रक किन छौं ? मान्छे ‘इभोलुसन’ मार्फत विकसित हुँदै गइरहेको हो भने किन सभ्यताकै ठूलो नरसंहार बीसौं शताब्दीमा आइपुगिसकेपछि पनि भयो ? संस्कृति, राज्य, धर्म जसरी निर्माण भएका छन्, त्यस प्रक्रियामा ‘ब्रेनको इभोलुसन’ कसरी भइरहेको छ ? प्राध्यापक रोबर्ट स्यापोल्स्कीको किताब ‘बिहेभ’ ले शताब्दियौंदेखि मान्छेले खोजिरहेका जटिलतम प्रश्नमाथि विमर्श गरेको छ ।
विष्णु सापकोटा

आजको विषयवस्तुमा पस्नुअघि एउटा आफ्नै कथा भन्नु जरुरी छ ।

स्याङ्जाको सबैभन्दा पुरानो भनेर चिनिएको म पढ्ने मातृभूमि स्कुलमा त्यो दिन मध्यान्तर सकिँदै थियो । माध्यमिक तहका विद्यार्थीबीच सानातिना हात हालाहालका घटना त कहिलेकाहीं भई नै रहेका हुन्थे । तर, त्यस दिनको घटना विशेष थियो ।

सिद्धार्थ राजमार्गतिर घर भएका हामीहरूका लागि स्कुल हाम्रोतर्फबाट आँधीखोलाको पारि थियो । अर्थात् आँधीपारि । हामी नौ कक्षामा हुँदा आँधीपारितिरको सबैभन्दा दादा बले अर्थात् बलबहादुर थियो । आँधीवारितिरको दादा तेजे अर्थात् तेजबहादुर थियो । खै के अलिखित समझदारी हुँदो हो यी दुईका बीच कुन्नि ? यिनीहरू त्यस दिनसम्म एकअर्कासँग कहिल्यै भिडेका थिएनन् । तागतमा पछाडि भएका हामी निर्धा ‘फुच्चे’ हरूका के मनोविज्ञान हुँदो हो खै ? बले र तेजे ‘सिंगल’ लडे भने कसले जित्दो हो भनेर हामी जहिल्यै उत्सुक हुन्थ्यौं ।

‘हाफ टाइम’ सकिनैलाग्दा जब हामीहरू खाजा खाएर प्रांगणतिर आउँदै थियौं, वरिपरिका कुनाहरूबाट स्कुलका लगभग सबै विद्यार्थी स्तब्ध भएर बीच चौरको दृश्य हेरिरहेका थिए । बले र तेजेले एकअर्कालाई सके जति हानिरहेका थिए । पहिलोपटक स्कुलका आँधीवारि र पारि दुईतिरका यी दुई जना दादाहरूको ‘सिंगल–सिंगल’ परिरहेको थियो । उनीहरू नलडुन्जेल ‘यिनीहरू लडे भने हेर्न मजा हुन्थ्यो’ भन्ने अवचेतनको कामना एउटा कुरा थियो, तर उनीहरू वास्तवमै लडिरहेको हेर्नु एकदम डरलाग्दो भएको थियो । अझ यसकारण पनि कि अरू केटाहरू लडे भने बले वा तेजे जो नजिक आउँछ, उनीहरूमध्ये एउटाले छुट्याइदिन सक्थे । यहाँ त नजिक गएर उनीहरूको लडाइँ छुट्याउन सक्ने कोही थिएन । स्कुलका सरहरू (त्यतिबेला म्याडम कोही हुनुहुन्नथ्यो) खाजा खाएर फर्किसक्नुभएका थिएनन् । केही दूरी राखेर हामीहरू केवल हेरिरहेका थियौं । लडाइँको अन्त्य कसरी हुने हो ! त्रास झन् बढिरहेको थियो ।

उनीहरू लड्दालड्दै इतिहास, भूगोल र नेपाली विषयका सरहरू कताकताबाट आउँदै, सायद देखे नदेखेजस्तो गर्दै आफ्नो कार्यालयतिर जानुभयो । लडाइँ घरी बलेले जित्छजस्तो हुन्थ्यो, घरी तेजेले । तर, रोकिने छाँट थिएन । त्यही उत्कर्षबीच बलेले आफ्नो उचालेको हात केही लुलो पार्‍यो । तेजेले पनि अचानक आफ्नो आक्रमणको तेज घटायो । किनकि रमिते विद्यार्थीमध्ये कसैले भीडबाट अनायास उच्चारण गरेको थियो– बालचन सर ! बले र तेजे दुवैका आँखा पर दुईतले भवनको माथिको हेडसरको कोठाबाट बाहिर निस्कँदै गरेका बालचन्द्र थापामाथि परे । बालचन सर (हामी त्यसरी नै भन्थ्यौं) तलतिर झर्दै गर्दा हामी सबैले राहत अनुभव गर्‍यौं । बले र तेजे केही हुँदै नभएजस्तो पार्दै आफ्ना नियमितका संगतिसँग मिसिँदै तितरबितर भए ।

जीवनमा यति नसोच्नुपर्ने विषय सोचेको छु नि मनमनै, ती किन सोचेको हुँला भनेर आफैंलाई सम्झाउन सजिलो भएको छ ।

रोबर्ट स्यापोल्स्की

मान्छेको जीवनमा औसतमा एक दिनमै कति घटना भएका हुन्छन् । कतिमा रमिते भइएको हुन्छ । ती कति नै सम्झिएको हुन्छ र ! तर, बले र तेजेको त्यो ऐतिहासिक लडाइँ जसरी बिनाकुनै आवाज आफैं रोकिएको थियो, त्यो घटना मैले वर्षौंसम्म सम्झी नै राखेको थिएँ– सधैं विस्मित हुँदै । त्यसको सात वर्षपछि कीर्तिपुरमा पढ्दै गर्दा एक दिन मलाई थाहा भयो, बले र तेजेको लडाइँ कति बेला रोकिन्छ भनेर त त्यसको चार सय वर्षपहिले नै तय भएको रहेछ– जतिबेला अंग्रेजले आफ्नो साम्राज्य फैलाउन जताततै उपनिवेशहरू खडा गर्दै हिँड्न थालेका थिए । त्यतिबेला मलाई के थाहा सन् १८३५ मै बेलायती साम्राज्यले भारतमा अंग्रेजी शिक्षा ऐनमार्फत भारतीयहरूलाई आफ्नो भाषा र साहित्य पढाउन थालेको रहेछ । अंग्रेजी पढाउन मात्रै नेपालमा ऐन बनेको त सुनेको छैन, तर मैले जान्दादेखि नै बले र तेजेभन्दा मात्र होइन, ऐनभन्दा बलियो थियो– अंग्रेजी ।

बालचन्द्र सर अंग्रेजी पढाउनुहुन्थ्यो । ‘इङ्लिस सर’ वरिपरि आएपछि स्थानीय विद्यार्थीका लडाइँहरू बिनाआवाज रोकिन्थे । नेपाली र इतिहासका सरहरू सक्नुहुन्नथ्यो । अरू गणित, विज्ञानका सरहरूले जस्तो ‘इङ्लिस सर’ ले कसैलाई चड्कन लगाउनु पनि पर्दैनथ्यो । उहाँका लागि बेलायतीले त्यो काम दुई सय वर्षपहिले बन्दुक चलाएरै स्थापित गरिदिइसकेका थिए । मातृभूमि स्कुलमा मात्रै होइन, अंग्रेजी पढाउने सर कमजोर भएको मैले जिल्लाका अरू स्कुलमा पनि थाहा पाइनँ ।

नेपालमा त खासै कसैले कहिल्यै सोधेनन्, तर पछि पढ्न जाँदा होस् वा कामका सिलसिलामा बेलायत र अमेरिकातिरकै धेरै ‘अंग्रेज’ साथीभाइले उत्सुक भएर सोधे– ‘तैंलै नेपालमा अंग्रेजी साहित्य किन पढेको होस् ?’ त्यसपछि मलाई वास्तविक राजनीतिक उत्तरको जरुरी भएको थियो । त्यो उत्तर खोज्न थालेपछि मैले मेरो प्यारो बालचन्द्र सरलाई धेरै सम्झन थालेको हुँ ।

स्कुल सकेपछि पनि म बले र तेजेजस्तो बलियो हुने सम्भावना कहिल्यै थिएन । मेरो बलियो हुने एक मात्र उपाय थियो– अंग्रेजी । म अंग्रेजी साहित्य पढ्न आएको ऐतिहासिक कारण यही थियो होला, जुन सयौं वर्षपहिले विश्व इतिहासले तय गरिदिएको थियो ।

तर, इतिहास त्यतिमै कहाँ रोकिन्थ्यो र ! जब साहित्य पढ्नै थालियो– त्यसमा डुब्ने काम धेरै भयो, उत्रिने कम । कहिल्यै मान्छेका भावनाका पत्रहरूभन्दा ठूलो सत्य अरू केही नलाग्नेजस्तो भयो । आस्था भनेकै शब्दका शक्तिमाथि हुन थाल्यो र तिनका जादुसँग प्रेम । जीवनको सौन्दर्यानुभूति कलामार्फत हुने लत लाग्यो । विम्बमा भन्दा जीवन कविताजस्तो लाग्न थाल्यो, कविता जीवनजस्तो । कविताको ठाउँमा उपन्यास भने पनि भयो, चित्रकला भने पनि । बाहिर नभने पनि, नलेखे पनि, मनमा आउने भावनालाई गम्भीरतापूर्वक लिन थालियो । तर, यो सबै गत वर्षसम्मको कुरा थियो, जतिबेलासम्म मैले यो पुस्तक पढेको थिइनँ, जसबारे कुरा सुरु गर्नै इतिहासको यत्रो विचरण गर्नुपरेको छ ।

साहित्य भने पनि आखिर यो दर्शनतिर मिसिइहाल्छ, जसरी दर्शन साहित्यमा अभिव्यक्त हुन्छ । त्यसमाथि आफ्नै मनोवृत्तिका कारण पनि हुन सक्छ, हामी मान्छेले जे सोच्छौं, त्यस्तो किन सोच्छौं भन्ने विधामा मेरो पहिल्यैदेखि रुचि थियो । केही वर्षपहिले पढेको नोबेल पुरस्कार विजेता ड्यानिएल कान्हेम्यानको ‘थिंकिङ, फास्ट एन्ड स्लो’ मेरो मन पर्नेमध्येको पुस्तक भएको थियो । त्यसैले यो भन्नु त अत्युक्ति नै हुन सक्छ कि एउटा पुस्तकले वर्षौंदेखिको मेरो चिन्तनको भँगालो नै बदलिदियो । तर, ढुक्कसँग केचाहिँ भन्न मन लागेको छ भने यो पुस्तक पढेपछि मनमा आउने विचार, भावना, आवेग, संवेग र आफ्नै कुनै घटनाप्रतिका प्रतिक्रियालाई पहिलेभन्दा बढी अवलोकन र परीक्षण अवश्य गर्ने गरेको छु । मैले जे सोचेँ, त्यस्तो किन सोचेँ ? मैले जे गरेँ, त्यस्तो किन गरें ? हामीले जे पनि गर्छौं, यो सबै गर्ने–गराउने वा नगर्ने–नगराउने आखिर हाम्रो दिमागले नै हो । त्यसले काम कसरी गर्छ त ? अथवा त्यसले जसरी काम गर्छ, त्यसरी किन गर्छ ? स्ट्यान्फोर्ड विश्वविद्यालयका प्राध्यापक रोबर्ट स्यापोल्स्कीको किताब ‘बिहेभ’ ले शताब्दियौंदेखि मान्छेले खोजिरहेका यस्ता जटिलतम प्रश्नको वैज्ञानिक ‘उत्तर’ दिएको छ । यी यस्ता आदिम प्रश्न हुन्, जसको अन्तिम उत्तर सायद कहिल्यै पाइनेछैन । तर, उनको किताबलाई सम्बन्धित विधाका धेरै विद्वान्ले हाम्रो दैनन्दिनको मानव आचरण कसरी तय हुन्छ र समग्र व्यक्तित्वले कसरी आकार ग्रहण गर्छ भनि बुझाउने अहिलेसम्मकै सबैभन्दा उत्कृष्टमध्येको किताब भनेका छन् ।

‘बिहेभ’ को सबैभन्दा सुन्दर पक्ष के छ भने यसले अहिलेसम्म बृहत्, जटिल र रोचक विषयमा गरिएका इतिहासदेखि वर्तमानसम्मका खोज–अनुसन्धान–पुस्तकमध्ये मुख्यमुख्य जो छन्, तिनीहरूको निचोड पनि सँगसँगै पस्केको छ, सम्बन्धित अध्यायमा । लेखक आफैं स्विर्काछन्–यो पुस्तक पढ्न जटिल छ । स्नायुविज्ञानदेखि मनोविज्ञानसम्मका तथ्यहरू, अहिलेसम्मका सम्बन्धित वैज्ञानिक खोजका सन्दर्भ सामग्रीहरू र तिनमा टेकेर गरेका विमर्शहरू पढ्दापढ्दै ‘ओभरह्वेल्मिङ’ नै लाग्छ । त्यसमाथि अनगिन्ती प्रयोग हुन पुगेका जीवविज्ञान र अन्य विज्ञानका प्राविधिक शब्दावलीले पठनलाई बेलाबेला दुरूह नै बनाउँछन् । तर, पढ्दै जाँदा मैले गरेको अनुभव के हो भने यस्तो ‘ब्रेन’ जस्तो दुर्ज्ञेय विषयमा, जसबारे छिचोल्न–पर्गेल्न मानव जातिलाई अझै कति समय लाग्ने हो थाहै छैन– यति गहन कुरा लेख्न योभन्दा सजिलो भाषामा सम्भव नै थिएन कि ?

जहाँजहाँ बुझ्न–बुझाउन अति गाह्रोजस्तो लाग्छ, त्यहाँत्यहाँ लेखक स्यापोल्स्की स्वयम् भनिहाल्छन्, ‘यो अलिक साधारण पाठकलाई अभेद्य लाग्न सक्छ, तर केही छैन । एकछिन पर्ख, नआत्तिऊ । म तिमीले बुझ्ने हिसाबमा केही दृष्टान्त दिइहाल्छु नि एकैछिनमा ।’ अनि जब उनी उदाहरण दिन्छन्– गैर–प्राविधिक शब्दमा, तबचाहिँ बुझेबुझेजस्तो लाग्छ । तर, मलाई यसमा के पनि लाग्छ भने संसारका कुनै पनि विधाका ‘मास्टरपिस’ हामी सबैले सम्पूर्णतामा कहिले नै पो बुझेका छौं होला र ? लिओनार्दो दा भिन्चीकी मोनालिसालाई हामीले पूरै बुझेका छौं र ? जोन किट्सकै कविताप्रतिका हाम्रा बुझाइ पनि त ‘कामचलाउ’ नै हुन् । त्यसैले ‘बिहेभ’ मैले जति बुझें, त्यसबाट के बुझेँ भने मेरो आफ्नै ‘बिहेबिअर’ म आफैंले सबै कहिल्यै पनि बुझ्न सक्नेछैन । त्यो बोधपछि यो लेख लेख्न बसेको हुँ ।

किताबको एउटा प्रमुख ‘निष्कर्ष’ छ– हामी मानिस निरन्तर रूपमा झट्ट सुन्दा असान्दर्भिक लाग्ने अवचेतनका यस्ता स–साना ‘स्टिमुलस’ वा उत्प्रेरकहरूबाट प्रभावित हुँदै आफ्ना व्यवहार र निर्णय गरिरहेका हुन्छौं कि ती स्टिमुलसहरूबारे हामी आफैंलाई केही थाहै हुँदैन । अर्थात् हामी कुनै सन्दर्भमा किन एक वा अर्कोखाले आचरण गर्छौं वा सोच्छौं भन्नुका पछाडि अवचेतनको जुन पृष्ठभूमिले काम गरेको हुन्छ, त्यो हामी आफैंलाई थाहै हुँदैन । एउटा उदाहारण लिऊँ । हामीले गर्ने कुनै पनि बिहेबिअर (कुनै सोच, कुनै घटनाप्रतिको हाम्रो प्रतिक्रिया, वा कुनै घटनामा खुसी–बेखुसी हुने कुरा) किन त्यस्तो भयो भन्ने विषय त्यो बिहेबिअर गर्नुको ठीक एक सेकेन्डअघि आफूभित्र के भइरहेको थियो भन्नेले प्रभावित पार्छ । त्यो एक सेकेन्डलाई त्यसअघिका केही मिनटमा के भएको थियो भन्नेले । र, ती केही मिनटलाई लाखौं वर्षदेखि हाम्रो मानव मस्तिष्क कसरी विकसित हुँदै आएको छ भन्ने विषयले । हामीले गर्ने हाम्रा प्रत्येक व्यवहारमा यी तीनवटै तहको समष्टि हुने गर्छ । (केही जटिल लाग्यो है ? एकैछिन पख्नोस् । चुरो कुरो नै यही हो) ।

कुनै एक सुन्दर व्यक्ति देख्दा मन त्यसै आह्लादित किन हुन्छ होला ? त्यसमा मानवको सौन्दर्यबोध गर्ने इभोलुसन प्रक्रियाको लाखौं वर्षको इतिहास छ । तर, त्यो सुन्दर व्यक्ति देख्नुभन्दा केही मिनटअघि तपाईंलाई के भएको थियो नि ? तपाईं कुनै समाजवादी सोचमा त हुनुहुन्थेन ? त्यसो भए तपाईंलाई लाग्न सक्छ– ‘संसारमा यतिका धेरै मान्छे एक छाक खानका लागि देह बेच्न विवश हुनुपरेको छ । यस्तो असमान संसारमा त्यस्ता रूपका सौन्दर्यको के अर्थ ? सौन्दर्य भनेको त सामाजिक न्यायका लागि गरिने संघर्षमा छ ।’ अनि भर्खर एक सेकेन्डअघि तपाईंको दिमागमा कुनै ‘आफ्नी’ हुन नसकेकी सुन्दर प्रेमिकाको सम्झना आएको थियो कि ? वा कार्यालयका सहकर्मीसँग हिजो भएको कुनै नमीठो कुराकानीको ? यसरी एउटा कुनै अपरिचित सुन्दर व्यक्ति देख्दा आफूले कसरी प्रतिक्रिया गरिन्छ भन्नेमा ब्रेनका यी तीनै भागले काम गरेका हुन्छन् र त्यसको आधारमा हाम्रो आचरण तय भएका हुन्छन् ।

तर, महत्त्वपूर्ण तथ्य के रहेछ भने हाम्रो व्यवहारलाई सहजीकरण गर्दै आकार दिने ब्रेनका यी विभिन्न भागले हो, तर व्यवहारको स्रोत भने ब्रेन स्वयम् होइन । जस्तो कुनै सुगन्ध वा नराम्रो गन्धको स्रोत बाहिर हुन्छ । त्यसलाई प्रोसेस गर्ने पो ब्रेनले हो । तर, हाम्रो दिमागमा दर्ता भएका वर्षौंदेखिका गन्धहरूसँगका स्मृतिका अन्तरसम्बन्धले अहिले नाकमा परेको कुनै गन्धप्रति हाम्रो प्रतिक्रिया प्रभावित हुँदो रहेछ । इभोलुसनको प्रक्रियामा हामीमा पुस्तौंदेखि सर्दै आएको स्मृति त हुने नै भयो ।

एउटा थप रोचक तथ्य के भने बाहिरी ब्रह्माण्ड त यति अपराम्पार छ कि यसलाई अहिलेसम्म मान्छेको दिमागले यसको अति सानो अंश मात्र बुझ्न सकेको छ । त्यही ब्रह्माण्ड बुझ्ने हाम्रो आफ्नो निजी भनिएको ब्रेनभित्रको ब्रह्माण्ड फेरि बाहिरी ब्रह्माण्डजस्तै अबोधगम्य छ ।

त्यसैले किताब पढ्दा मेरो मनमा बारम्बार एउटा प्रश्न आएको थियो : यदि म आफैं एक अंश पनि बुझ्न सक्दिनँ, यसले कसरी काम गर्छ भनेर भने, यो मेरो ‘आफ्नै’ दिमागलाई आफ्नो भन्ने कि अरू कसैको ? मेरो भए त मैले यसलाई बुझ्न सक्नुपर्ने हो नि, होइन ? र, मैले आफैंले आफैंलाई दिएको उत्तर हो– अरू कसैको त किन भन्नु, तर यो मेरो ब्रेन पनि ब्रह्माण्डकै अंश हो र यसले कसरी काम गर्छ भन्ने पूरै मैले सायद कहिल्यै थाहा पाउने छैन । यो बनेको नै यसरी छ कि मैले आफूलाई जो ‘म’ भन्छु, त्यसले यो पूरै बुझ्न गाह्रो छ । अथवा मान्छेको जातले अहिलेसम्म यो उपकरणलाई बुझ्न सकेको छैन । यसलाई बुझ्न प्रयोग गर्ने फेरि यो स्वयम्लाई नै हो । स्यापोल्स्की पनि किताबमा भन्छन्– ‘नोथिङ कम्स फ्रम नोथिङ । नो ब्रेन इज यान आइल्यान्ड ।’ अर्थात्, मेरो ब्रेन मसँग आउँदा लाखौं वर्षका मानव सेल, हर्मोन र अरू के–के जाति सँगै लिएर आएको छ । यो कुनै छुट्टै टापु होइन, यो संसारका सबै विषयसँग जोडिएको छ । यसरी हेर्दा लाग्छ, मभित्रको जुन चेतना छ (जसलाई मोडरेट गरेर यो लेख लेख्दै छु), त्यो मेरो ब्रेनको एउटा कुनै सानो अंश हो । यो चेतना भन्ने चीज यति सानो होला कि यसले ब्रेनभित्र के कुरा कसरी काम गर्छन्, त्यहाँभित्र केके छन्, यसका अल्गोरिदमले कसरी काम गर्छन् भन्ने धेरै थाहा पाउनै सक्दैन । र, थाहा पाउनु सायद जरुरी पनि नभएको भएर हो कि ? थाहा पाउनु जरुरी हुन्थ्यो भने प्रकृतिले मलाई त्यसरी नै डिजाइन गरेको हुन्थ्यो कि– थाहा पाउन सक्ने गरी ? करोडौं वर्षको इभोलुसन–इतिहासमा यसरी यी विषय लेख्न–बोल्न मिल्ने यो भाषा बनेकै आखिर एक लाख वर्ष पनि त भएको छैन ।

हुन त दिमागको मात्रै के कुरा, जीवविज्ञानले अहिलेसम्म मान्छेको आफ्नै शरीरबारे पनि कति नै जानेको छ र ? त्यसैले गत वर्ष औषधि विज्ञानतर्फको नोबेल पुरस्कार जे विषयमा दिइएको थियो, त्यो सुन्दा मलाई हाँसो उठेको थियो । घामको न्यानोपन वा मायालुको अंकमालको न्यानो स्पर्शको सेन्सेसनलाई हाम्रो शरीरले कसरी स्नायुप्रणालीसम्म पुर्‍याउँछ भन्ने खोजका लागि भर्खर २०२१ को नोबेल दिइएको थियो । हेर्नोस् त, अति साधारण लाग्ने विषय होइन र यो ? तर, खोइ त यो त भर्खर एक वर्षपहिले मात्रै हामीले थाहा पायौं । अर्थात्, हामी मानवले भयंकर प्रगति, के जाति, कति–कति गर्‍यौं भनेर आफैंलाई जति धाक लगाए पनि आफ्नै शरीरबारे त कति नै थाहा छ र विज्ञानलाई ! ब्रेन पनि अंश त शरीरकै भयो । तर, शरीरका सबै सवाल चलाउने, खासगरी हाम्रो आचरणलाई मोडरेट गर्ने जुन ब्रेन छ, त्यसबारे त अहिलेसम्म यति कम थाहा छ कि थाहा पाउन कति बाँकी छ भन्ने नै थाहा छैन ।

‘बिहेभ’ एउटा अन्तरविधागत कृति पनि हो । लेखकको मूल आधार विज्ञान भए पनि किताबमा उनले साहित्यदेखि दर्शन, कविदेखि दार्शनिकका विचारलाई पनि ल्याउँदै चिरफार गरेका छन् । टोमस हब्सदेखि जिन–ज्याक रुसोसम्म, धर्मशास्त्रदेखि मानवशास्त्रसम्म, इभोलुसनका सिद्धान्तदेखि चरणहरूसम्म उनी हामीलाई यसरी डोर्‍याउँछन् कि एक जना मान्छेको दिमागले विषयहरूको विशालतालाई विज्ञको तहबाट यति विहंगम विमर्श गर्न कसरी सकेको होला भन्ने पनि लागेको थियो, पढ्दै गर्दा । विश्वयुद्धमा काम गरेको मानव ब्रेनदेखि संस्कृति निर्माणमा देखिने प्रक्रिया, अपराधशास्त्रदेखि सामाजिक न्याय, करुणा र घृणाले कसरी काम गर्छन् भन्नेदेखि विश्व राजनीतिका इतिहासमा यी सबै विषय कसरी जोडिन्छन् भन्नेसम्म पढ्दा अचम्मै लागेको के पनि हो भने कसरी उनले यो ब्रेनको विधालाई हाम्रो समाजका सबैजसो महत्त्वपूर्ण विधासँग जोडेर हेर्न सकेका होलान् ?

मैले यो किताब २०२० को सेप्टेम्बरमा किनेको थिएँ, क्याम्बोडियाको राजधानी प्नोम पेनमा । उक्त वर्षको मार्च महिनादेखि कोरोनाको सन्त्रास यसरी भएको थियो कि त्यसले मानवतालाई खुत्रुक्क घुँडा टेकाएकै हो । भयंकर प्रगति गरिरहेको मानव जातिलाई एउटा आँखाले नदेखिने भाइरसले एकअर्काबाट भाग्नुपर्ने बनाएको थियो । मुख लुकाएर हिँड्नुपर्ने त अहिलेसम्म पनि बनाएकै छ । दोस्रो विश्वयुद्धको भयानकताप्रति असंवेदनशील टिप्पणी गरेजस्तो नसुनियोस्, तर त्यतिबेला मरेका ५५ लाख मानिसभन्दा लाखौं बढीलाई कोभिडले अहिलेसम्म लगिसकेको छ । जति बाँचेका छौं, अहिलेसम्म आइपुग्दा यसको त्रासदी त घटेको छ । तर, त्यो कोभिडको पहिलो वर्षको सेप्टेम्बरसम्म आइपुग्दा अब आफ्ना आफन्तसँग कहिल्यै पनि भेट नहुने पो हो कि भन्ने भएको थियो । मेरी पार्टनर रुचि र म त सँगै थियौं क्याम्बोडियामा, तर हवाई उडान निषेधित भएका कारण नेपाल कहिले फर्कन पाउने भन्ने अनिश्चित थियो । फर्कंदा दुवै जना सग्लै फर्कने हो कि एउटालाई उतै सद्गत गरेर, त्यसको समेत दुई जनाले सल्लाह गर्नुपरेको थियो । आखिर हामी दुईमध्ये एक बिदा भइहालेको खण्डमा अर्कोको पहिलो समस्या त त्यही सद्गत कसरी गर्ने भन्ने नै हुनेवाला थियो ।

त्यस्तो मानसिक उबडखाबडको समयमा मलाई जे पढे पनि धीत नमर्ने भइरहेको थियो । दा भिन्चीले वास्तवमा जीवनमा के विषयको खोजी गरिरहेका थिए होलान् आफ्नो कलामार्फत ? तिनले त्यो प्राप्त गरे होलान् कि नाइँ ? जोन किट्सले कुन प्रेरणाले मरेका मानिसको लास लुकीलुकी खोतलेर हेर्नुपरेको होला ? अस्तित्ववादको त्यत्रो कुरा गरिसकेपछि पनि जाँ पल सात्रलाई फेरि किन लेखिराख्नुपरेको होला ? आफैं प्रकाण्ड विद्वान् भनी कहलिएका महाकवि देवकोटाले जीवनको अन्तिमतिर पुग्दा ‘न ज्ञान भो बुद्धि, न भो विवेक’ भनेर कुन ज्ञान र विवेकको के विषय इंगित गरेका थिए होलान् ? मलाई यस्तैयस्तै ‘एक्स्ट्रिम’ विषयतिर मात्रै रुचि भइरहेको थियो । तर, जे पढे पनि र युट्युबमा जे हेरे पनि धीत पटक्कै नमर्ने भइरहेको थियो । ठीक त्यहीबेला जसरी ‘बिहेभ’ फेला परेको थियो, यसले मलाई एउटा बौद्धिक थेरापीको काम गरेको थियो । कतिपय कोरोनाअघिका, वर्षौंदेखि मनमा भएका प्रश्नको पनि यसले केही ‘कामचलाउ’ उत्तरहरू दिएको थियो ।

हामी मान्छेभित्र असलपन कहाँबाट आउँछ ? हामी यति हिंस्रक किन हुन सक्छौं ? मान्छे इभोलुसनमार्फत यदि विकसित हुँदै गइरहेको हो भने किन सभ्यताकै ठूलो नरसंहार (दुई विश्वयुद्ध) बीसौं शताब्दीमा आइपुगिसकेपछि पनि भयो ? मान्छे अहिले झन् पहिलेभन्दा बढी क्रूर भएका हुन् ? त्यसो भए केलाई सभ्य भएको भन्ने ? अहिलेसम्मका संस्कृति, राज्य, धर्म जसरी निर्माण भएका छन्, त्यस प्रक्रियामा हाम्रो ब्रेनको इभोलुसन कसरी भइरहेको छ ? यी यस्ता प्रश्न हुन्, जसमा जति पनि विमर्श हुन सक्छन्, जस्तो यस पुस्तकले गरेको छ । तर, पुस्तकका केही निष्कर्ष भने छुटाउनै मन नलाग्ने खालका छन् । जस्तो हामी आफूले अक्सर सोचेर, तार्किक रूपमा आफ्नो आचरण गर्छौं भन्ने ठान्छौं नि, त्यस्तो होइन । हाम्रा बढीजसो बिहेबिअर तत्क्षणका वातावरणका परिणाम हुन् (जहाँ इतिहास पनि मिसिएको हुन्छ) । संस्कृति–संस्कारले हाम्रो आचरण निर्धारण गरेको हुन्छ कि ब्रेनले ती संस्कृति बनाएको हुन्छ ? स्यापोल्स्की भन्छन्– यी दुवै सँगसँगै हुर्कन्छन् । अर्थात्, ब्रेन प्लास्टिक हुन्छ र यो बनेकै त्यसरी हो । यो सधैं उस्तै रहँदैन । स्मृति दिमागमा यसरी भण्डारण भएर बसेका हुन्छन् कि ति जति धेरै भए पनि तिनका लागि ठाउँ नपुग्ने भन्ने कुरै छैन । जस्तो तीन हजार शब्दको यो लेख लेख्दा सायद तीन लाख अरू शब्द मेरो मनमा घुमिसके होलान् । ती सबै अब स्मृतिमा बसिसके । ती पनि मेरा भइसके अब । यद्यपि ती बाहिर आएकै छैनन् । आज मनमा केही कल्पना गरियो भने त्यो पनि स्मृति बनेर बसिहाल्छ, जसरी आज भेटेको कोही साथी सधैं मनमा बस्छ ।

विशिष्टीकृत ज्ञानका रूपमा महत्त्वपूर्ण मात्र होइन, दैनन्दिनका हाम्रा औसत मानव उत्सुकताका विविध सवालमा पनि पुस्तकले अति रोचक तथ्य पेस गर्छ । जस्तो मैले गर्ने मेरो कुनै व्यवहारमा मेरा सेल, हर्मोन आदिको भूमिका कति हुन्छ होला ? र, तत्कालको वरिपरिको वातावरणको कति ? किन मलाई मेरो आफ्नो (देश, संस्कृति, परिवार, लेख) भन्नेबित्तिकै माया लाग्छ र कसरी मैले मेरै समाजका केही मान्छेलाई आफ्ना ठान्छु र अरूलाई अर्कै ? किन कोही मान्छे पहिलोपटक देख्दा नै मन पर्दैन ? किन कसैसँग पहिलो नजरमै भुतुक्क भइन्छ ?

यस्ता प्रश्नका बहुविधागत जवाफ रोचक त हुने भइहाले । मलाई अर्को घत परेको स्यापोल्स्कीको निष्कर्ष छ : हामी मान्छेको जात कुनै विषयको आनन्द लिनभन्दा पनि अक्सर आनन्दको खोजी वा अपेक्षा मात्रै गरिरहेका हुन्छौं । जब त्यो खोजेको चीज अघि आइपर्छ, त्यसमा रमाउनुभन्दा अर्को नभएको विषयको अपेक्षा गर्नतिर लागिहाल्छौं । अर्थात् खुसी वा शान्ति केवल निरन्तरको अपेक्षा मात्रै हो, प्राप्ति होइन ।

हामीमा उत्पन्न हुने प्रत्येक सोचाइ (र कार्य) का पछाडि त्यसको पृष्ठभूमि हुन्छ र त्यो पृष्ठभूमिपछाडि अर्को पृष्ठभूमि । इभोलुसनको जालोमा हामीहरू सबै यसरी जेलिएका छौं कि जुन चिन्तनलाई हामीले आफ्ना भन्छौं तिनीहरू हजारौं जालोहरूका सह–उत्पादन मात्रै हुन् । तिनीहरू आफैंमा स्वतन्त्र हुन सम्भव छैन किनकि हाम्रो ब्रेन कुनै छुट्टै सार्वभौम सत्ता नै होइन । जस्तो, बले र तेजे त्यो दिन त्यसरी स्कुल प्रांगणमा नलडेका भए तपाईंहरूले यो लेख यसरी पढ्नु नै हुने थिएन ।

अन्त्यमा ‘बिहेभ’ पढेपछि मेरा आफ्ना भनिएका विचारहरूलाई आफैंले एउटा परीक्षण गर्न सजिलो भएको छ । र, ऐनमौकामा तिनको अपनत्व नलिन त यस पुस्तकले झनै सजिलो बनाएको छ । त्यसमाथि जीवनमा यति नसोच्नुपर्ने विषय सोचेको छु नि मनमनै, ती किन सोचेको हुँला भनेर आफैंलाई सम्झाउन सजिलो भएको छ ।

यदि तपाईंलाई पनि आफ्ना सबै गोप्य तथा सार्वजनिक आचरण र मनमा आउने सोचाइप्रति आफैंसँग प्रश्न छन् भने ‘बिहेभ’ पुस्तकमा केही हप्ता घोत्लिनु तपाईंको बौद्धिक स्वास्थ्यका लागि रोमाञ्चक हुन सक्छ ।

प्रकाशित : श्रावण १४, २०७९ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×