कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाजेलाई भान्काको चिठी

विश्व–कथाका महारथी आन्तोन चेखबको स्मृतिमा जुलाई महिनाभरि संसारमा विविध गतिविधि हुन्छन् । यसपालि हामीले तिनै महान् लेखकका कथाहरुमाथि विमर्श गरेका छौं ।
अभय श्रेष्ठ

लेखक जगदीश घिमिरेले ‘अन्तर्मनको यात्रा’ किताबमा भर्तृहरिको जीवन–प्रसंगसँग रुसका महान् कथाकार आन्तोन चेखब (१८६०–१९०४) को एउटा कथा हुबहु मिलेको उल्लेख गरेका छन् । एक जना प्रजाले राजा भर्तृहरिलाई अजम्मरी हुने फल दिन्छन् । राजाले त्यो फल नगरवधू प्रेमिकालाई दिन्छन् । नगरवधूले सिपाही प्रेमी अश्वपाललाई, अश्वपालले दरबारकी नर्तकीलाई र नर्तकीले राजालाई नै दिन्छिन् । स्वार्थको यो गोलचक्कर थाहा पाएपछि भर्तृहरि दिक्दार हुन्छन् र भाइ विक्रमादित्यलाई राजपाठ सुम्पी संन्यासी भएर वनवास जान्छन् । पुस्तकका अनुसार, चेखबको कथामा एक बिरामीले डाक्टरलाई एउटा उपहार दिन्छ । डाक्टरले त्यो उपहार प्रेमिकालाई, प्रेमिकाले अर्कै प्रेमीलाई र प्रेमीले डाक्टर पत्नीलाई अनि पत्नीले फेरि डाक्टरलाई नै दिन्छे (अन्तर्मनको यात्रा, पृष्ठ. १४३, बुकहिल संस्करण) ।

बाजेलाई भान्काको चिठी

बहुरूपी सत्य

घिमिरेले उल्लेख गर्न खोजेको चेखबको त्यस कथाको शीर्षक हो, ‘अ वर्क अफ आर्ट’ । त्यसको सार र संवेदना घिमिरेले लेखेभन्दा नितान्त भिन्न छ । भर्तृहरिको प्रसंगमा प्रेमका नाममा मानिसहरूका आ–आफ्नै स्वार्थ र धोकाबाजीको कथा छ । चेखबको कथामा भने अबोध बालकले कृतज्ञता स्वरूप दिएको उपहारबारे फरक वर्गको फरक संवेदना र अवधारणा छ ।

गरिब बालक सासा स्मिरनोभ डा. कोसेलकोभलाई मैनबत्ती अड्याउने अनुपम कलाकृति उपहार दिन्छ । त्यसको दीपाधारमा इभको वेशभूषामा दुई युवती उभिएका हुन्छन् । त्यो उसको स्वर्गीय बाबुले छाडिगएको एक मात्र स्मृति–चिह्न हुन्छ । डाक्टरलाई शुल्क तिर्न नसक्दा सासाले त्यही दुर्लभ चीज डाक्टरलाई उपहार दिएको हुन्छ । सासा त डाक्टरलाई त्यस उपहारको जोडी नै दिन चाहन्थ्यो । तर, ऊसँग त्यही एउटा मात्र थियो । डाक्टरलाई लाग्छ, कलाका दृष्टिले उत्कृष्ट भए पनि दुई युवतीको अदाले त्यसमा अश्लीलता झल्किन्छ । पत्नी, छोराछोरी र ग्राहकले देखे वित्यास पर्छ भनेर ऊ त्यो उपहार वकिल मित्र उहोभलाई दिन्छ । उहोभको मनस्थिति डाक्टरको भन्दा भिन्न हुँदैन । त्यो उपहार ऊ हास्य कलाकार सासकिनलाई दिन्छ । सासकिनले पुरानो कलाकृति संकलन केन्द्रमा बेचिदिन्छ । त्यो संकलन केन्द्र सासाकै आमाको हुन्छ । सासा खुसी हुँदै फेरि त्यही उपहार डाक्टरलाई थमाउँदै भन्छ, ‘म तपाईंलाई त्यसको जोडी उपहार दिन चाहन्थेँ । बल्ल भेटेँ । कृपया अस्वीकार नगर्नु होला Û’

आफ्नो ज्यान बचाइदिने दयालु डाक्टरप्रति एउटा अबोध बालकको अनुपम सद्भाव र चोखो कृतज्ञता नै कथाको चुरो हो । बालक निःस्वार्थ छ । उसलाई देश, दुनियाँको धारणासँग कुनै सरोकार छैन । तर, डाक्टर, वकिल र कलाकारलाई दुनियाँले के सोच्छन् भन्ने चिन्ता छ । कथाले यसरी बहुरूपी सत्यको अति सूक्ष्म चित्रण गर्छ ।

कालजयी साहित्य

भारतका प्रख्यात कवि तथा पत्रकार रघुवीर सहाय भन्छन्, ‘साहित्य र पत्रकारिता दुवैको उद्देश्य नयाँ मानवीय सम्बन्धको खोजी गर्नु हो । तर, पत्रकारिताले भइसकेको कुरा लेख्छ, साहित्यले के हुनेवाला छ भन्ने जनाउँछ ।’ अर्थात् साहित्य कालजयी हुन्छ, जहाँ आज लेखिएको विषयको सान्दर्भिकता युगौँसम्म रहिरहन्छ । हाम्रै कवि रिमाल र भूपिहरूका कवितालाई गहिराइमा हेर्दा पनि छर्लंग हुन्छ । चेखबका कथा र नाटकले १९औँ शताब्दीको रुसी मनोविज्ञानका कथा भन्छन्, तर ती संसारका जुनसुकै कुनामा जुनसुकै समय उत्तिकै सान्दर्भिक लाग्छन् । ती कृति पढ्दा हामीले अहिले लेख्न छुटाएको विषय उनले उहिल्यै लेखिसकेझैँ लाग्छ ।

चेखब मान्छेका करुणा र क्रूरतालाई गहिराइमा पुगेर नियाल्ने दुर्लभ कथाकार हुन् । ‘व्यथा’ मा गरिब वृद्ध इयानो आफूले केही दिनअघि मात्रै जवान छोरा गुमाएको असम्भार दुःख बग्गी चढ्नेहरूलाई सुनाउन चाहन्छ । तर, उसको व्यथा सुन्ने धैर्य र सहानुभूति प्रकट गर्ने हृदय कसैसँग छैन । ऊ बग्गी तान्ने घोडीलाई सुनाएर मन हलुका पार्छ । संवेदना र क्रूरताको कायल पार्ने अर्को कथा हो– ‘शत्रुहरू’ । एक जना डाक्टरको बालक छोराको भर्खरै निधन भएको हुन्छ । छोराको लासअगाडि घुँडा टेकेर उसकी पत्नी विलाप गरिरहेकी हुन्छे । यस्तै बेला छोराको सद्गत नगरी ऊ मानवताका नाताले हृदयाघात भएकी महिलाको उपचार गर्न पुग्छ । तर, महिलाले अर्को पुरुषसँग पोइल जान लोग्नेसँग नाटक गरेकी हुन्छे । यो थाहा पाउँदा डाक्टर रिसले चुर हुन्छ । डाक्टरको त्यो असीम संवेदनशीलतालाई नबुझी लोग्नेचाहिँ धनको तुजुक देखाउँदै सोध्छ, ‘किन रिसाउँछौ ? मैले तिमीलाई त्यसै ल्याएको होइन । भन, तिम्रो फिस कति भयो ?’

‘बैदारको मृत्यु’ मा चेखब व्यर्थको विषयमा मान्छेले आफ्नो अमूल्य समय र जीवन नष्ट गरिरहेकामा चिन्ता प्रकट गर्छन् । इभान द्मित्रिच चेर्भ्याकोभ अर्कै कार्यालयको जर्नेलसामु हाच्छिउँ गर्दा पछुतो मान्छ र बारम्बार माफी माग्छ । जर्नेल यसलाई गम्भीरतापूर्वक लिँदैन । भोलिपल्ट जर्नेलको घरमै गएर ऊ फेरि माफी माग्छ । जर्नेल बेस्सरी रिसाउँछ । बिचरा बैदार भित्रभित्रै कुँडिएर घर पुग्छ र सुतेकै अवस्थामा उसको मृत्यु हुन्छ । (समालोचकहरूले विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’ लाई यसै कथाको प्रभाव भनेका छन् ।)

चेखबका अधिकांश कथाको सान्दर्भिकता संसारमा मानव समाज रहुन्जेल जीवित रहन्छ भनिन्छ । उनको सर्वाधिक चर्चित कथा हो– ‘छेपारो’ । यसमा जारकालीन प्रहरी हाकिमको दास मनोविज्ञान राम्ररी झल्किन्छ । सुनार रिउकिनको औँला छाडा कुकुरले टोकेपछि बजारमा तमासा हुन्छ । प्रहरी हाकिम अचुमेलोभ रिउकिनको पक्ष लिँदै कुकुर छाड्नेलाई सजाय दिन्छु भन्छ । भीडबाट कसैले त्यो कुकुर जर्नेल जिगालोभको हो भन्नासाथ उसको बोली फेरिन्छ । ऊ रिउकिनलाई नै गाली गर्छ । सँगै हिँडिरहेको प्रहरी जवानले ‘जर्नेलकहाँ यस्तो चुत्थो कुकुर छैन’ भनेपछि ऊ फेरि रिउकिनलाई ढाडस दिन्छ । जर्नेलको भान्छेले कुकुर जर्नेलको भाइको भनेपछि हाकिम त्यही भुस्याहा कुकुरको सुन्दरताको बखान गर्दै फेरि रिउकिनलाई नै कारबाही गर्ने धम्की दिन्छ ।

संवेदनहीनताको मूल्य

चेखबले किशोर र बालबालिकाको संवेदनाबारे थुप्रै कथा लेखेका छन् । तीमध्ये एउटा विश्वप्रसिद्ध कथा हो– ‘भान्का’ । नौ वर्षे अनाथ सार्की भान्का जुकभलाई हजुरबाले सहरमा काम सिक्न पठाएका हुन्छन् । मालिक, उसको परिवार र सहकर्मीहरू उसलाई असह्य दुःख दिन्छन् । अन्ततः कोही नभएको मौका पारेर ऊ हजुरबालाई आफ्ना सारा दुःख बयान गरेर चिठी लेख्छ । विचरा त्यो अबोध बालक खाममा हजुरबाको ठेगाना लेख्छ– गाउँमा हजुरबा । अनि हुलाक कार्यालयको बाकसमा चिठी खसाल्छ ।

किशोर–किशोरीप्रति अभिभावक र ठूलाहरूको संवेदनहीनताको मूल्य कति महँगो पर्छ भन्ने तीतो सत्य ‘भालोद्या’ कथाले प्रकट गर्छ । किशोर मनोविज्ञानको यति संवेदनशील कथा संसारभरि दुर्लभ छ । १५ वर्षे अन्तर्मुखी भालोद्याको सुषुप्त अनुरागको नौनीमा न्युता नामकी ३० वर्षे थसुल्ली आगो झोसिदिन्छे । जब भालोद्या ऊसँग प्रेम निवेदन गर्छ, न्युता ऊप्रति कठोर उपेक्षा र घृणा प्रकट गर्छे । उता भालोद्याकी आमा भने सधैँ ऋण काटेर जुवातासमा डुबिरहन्छे । तनावको पल्लो फालमा पुगेर भालोद्या आफ्नै मुखमा पेस्तोल दाग्छ । ‘केटाहरू’ शीर्षक कथामा भने लेन्तिलोभ र भालोद्या नामका दुई किशोर अमेरिका जान भनेर घरबाट भाग्छन् । एक रातको हन्डर खाएर दुवै जना फर्कन्छन् ।

चेखबले १९ औँ शताब्दीको जारकालीन रुसी समाजमा मान्छे नगनिएका, कसैको नजरमा नपरेका मान्छेहरूको विषाद, खिन्नता, असफलता, आशा र निराशालाई कथामा प्रेमपूर्वक सम्बोधन गरे । अनि ठालूहरूको क्रूरता र पाखण्डलाई छताछुल्ल पारिदिए । उनलाई प्रेम गर्ने अनगिन्ती युवती थिए । आफैं चिकित्सक भए पनि आजीवन शारीरिक रूपले रोगी चेखबसँग लाइका मिजोनोवाले, लिदिया एबिलोव र ओल्गा निप्परले मनप्राणै तप्काएर प्रेम गरे । चेखबका कथामा यिनै नारी अनेक अवतारमा बारम्बार आइरहन्छन् ।

भान्या मामाको नियति

जम्मा ४४ वर्ष बाँचेका चेखबले छ सय कथा र केही नाटक लेखे । तीमध्ये ५० कथा र चार नाटक विश्वप्रसिद्ध छन् । नाटकमध्ये ‘भान्या मामा’ मलाई सबैभन्दा विशेष लाग्छ । संसारका सारा परिश्रमीहरूका सपनाको हत्या कसरी भइरहेको छ ? नाटकले यसको चित्तबुझ्दो जवाफ दिन्छ ।

भान्या मामा र सोन्या भान्जी । नाटकका यी दुई परिश्रमी जीवको सौन्दर्य बिनाअर्थ नष्ट भइरहेको हुन्छ । उनीहरू प्राध्यापक सेरेब्राकोभ (सोन्याको बाबु) को सेवामा जीवनभरि परिश्रम गर्छन् । सोन्याकी आमाको मृत्यु भइसकेको हुन्छ । गाउँमा खेतीपातीमा कडा परिश्रम गरेर उनीहरू सहरमा प्राध्यापकलाई खर्च पठाउँछन् । जमिन सोन्याकी आमाको हुन्छ । आफूले कुनै अंश नलिई भान्याले पूरै जग्गा दिदीलाई छाडिदिएको थियो । जमिनको ऋण उतार्न उनीहरू जिउज्यान लगाएर काम गर्छन् । आफूलाई जति दुःख भए पनि मानसिक रूपले उनीहरू खुसी हुन्छन् किनभने त्यस्ता व्यक्तिलाई उनीहरूले आफ्नो परिश्रमको फल पठाएका थिए, जो विश्वविद्यालयमा विज्ञान पढाउँथ्यो, अन्वेषण गरेर, किताब लेखेर समाजमा उज्यालो छर्थ्यो । सोन्या रातरातभरि नसुती पुस्तक सारेर बाबुलाई नोट पठाइदिन्छे । उनीहरूको विश्वास त्यतिखेर खण्डित हुन्छ, जब त्यो वृद्ध २७ वर्षीया कोरली येलेना आन्द्रेयेब्नालाई काखी च्यापेर घर फर्कन्छ । प्राध्यापक त्यो जमिन बेचेर मस्को फर्कन चाहन्छ । आफूले रगत, पसिना बहाएको जमिन खोसिने भएपछि भान्या मामासँग एक मात्र विकल्प बाँकी रहन्छ– विद्रोह ।

चेखबको यो नाटक म्याक्सिम गोर्की पनि खुबै रुचाउँथे । ‘म भावुक मान्छे होइन, तपाईंलाई थाहै छ,’ चेखबलाई उनले पत्रमा लेखेका थिए, ‘तर, यो नाटक हेरेपछि एउटी आइमाईजस्तै म क्वाँक्वाँ रोएँ ।’ मस्कोमा यसको ४१ औँ प्रदर्शनपछि गोर्कीले फेरि लेखेका थिए, ‘सारा दर्शक डाँको छाडेर रोए, कलाकारहरू पनि रोए ।’

अन्त्यमा

कतिपय समालोचक चेखबलाई मौलिक दर्शन नभएका लेखक भनेर आरोप लगाउँछन् । तर, उनका कथा र नाटकले त्यसको स्पष्ट खण्डन गर्छन् । ‘द हाउस विथ मेजानाइन’ मा अनुदार स्वभावकी लिदियासँग चित्रकारले गरेको सानदार बहसले मानव मुक्तिबारे उनको प्रस्ट विचार झल्किन्छ । चित्रकार भन्छ, ‘श्रमको उचित बाँडफाँट भएपछि मात्र मान्छे आफ्नो जीवनको आनन्दबारे सोच्न समर्थ हुन्छ । त्यसपछि नै हामी रोगको उपचार होइन, नियन्त्रण गर्न सक्छौँ । बाँकी समय विज्ञान र कलाको समृद्धिमा लगाउन सक्छौँ ।’

प्रकाशित : श्रावण १४, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?