फलाम निकाल्ने आग्रेका कथा- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फलाम निकाल्ने आग्रेका कथा

अनिल बुढामगर

अनिल बुढामगर — कुनै बेला मलाई संसारका फिल्म फेस्टिवलहरूमा पुग्ने भूत चढेको थियो । दशकअघि (१८ वर्षको उमेरमा) साथमा एउटा क्यामरा, एउटा ट्राइपोड अनि थर्मकल बोकेर ६ जनाको समूहमा निस्केको थिएँ– भेडाहरूका लिडर ‘लोम्बा’ खोज्न । लोम्बाको मृत्युपछि गोठालालाई पर्ने समस्यामाथि बनेको थियो, मेरो पहिलो छोटो फिल्म– लोम्बा ।

फेस्टिवल पुग्ने सपनाले छाडेन । सन् २०१७ मा ‘लोम्बा’ ले अमेरिकालगायत मुलुकमा अवार्ड जित्यो । तर, अवार्डले गाली गरे, ‘फेस्टिवलवाला फिल्म बनाएर मात्रै घरजग्गा बेचेर फिल्म बनाउने निर्माताको पैसा उठ्छ त ?’ कसैको घर–व्यवहार उजाडेर फिल्म बनाउनु हुन्न भन्ने सोचले पखेटा हाल्यो । एक दशकसम्म फिल्म बनाउनै सकिनँ ।

फेस्टिवलहरूमा पुग्ने सपना बिस्तारै हराए । फिल्मबाट टाढिँदै अमेरिका पलायनको बाटो रोजेँ । एक साता थाइल्यान्ड जेलको चिसो हावा खाएर आफ्नै देश फर्किएँ । त्यसपछि ? फेरि फर्किएँ, फिल्ममै ।

लकडाउनपछि फलाम खानीमाथि डकुमेन्ट्री बनाउन ‘जेलबाङ सेवा समाज’ का अध्यक्ष रामप्रसाद बुढामगर र कवि विष्णु सन्यासको पछि लागेर रोल्पा जेलबाङ पुगेँ । खानी–कथा खोज्यौं । त्यहाँका मान्छेका जीवनशैली, पहिरन, बोलीचाली, दर्शन अन्य ठाउँका भन्दा भिन्न थियो । फलाम खानीको इतिहास पनि एउटा नभनिएकै कथा थियो ।

इतिहास भन्छ– जेलबाङमा विसं १६८७ मा सुरु भएको थियो, फलाम खानी । गजुलकोटे राजा कर्णपाल सिंहले इरिबाङ, पाछाबाङबाट सिपालु मगर झिकाएर खबाङमा फलाम उत्खनन गराए । उनैका पालादेखि जेलबाङमा फलाम, तामा र सुन खानी सुरु भयो ।

विसं १६८७ देखि १८४३ सम्म जेलबाङबाट गजुलकोटमा १५५ वर्षसम्म करका रूपमा सरकारलाई फलाम बुझाउँदै आएको र १८४३ मा गजुलकोट कब्जा भइसकेपछि जेलबाङलगायत पूर्व क्षेत्रका गाउँहरू प्यूठानमा गाभिए । १८४३ देखि २०१७ सम्म जेलबाङवासीले प्यूठानमा १३६ धार्नी फलाम बुझाउँदै आएका रहेछन् । २०१७ सालयता रोल्पा जिल्ला भइसकेपछि पनि अन्य जिल्लाका खानी बन्द थिए । तर, रोल्पामा २०४६ सालसम्म फलाम खानी चलेको रहेछ ।

यो इतिहास उनेर कसरी चल्ने चित्र अर्थात् चलचित्रको माध्यमबाट देखाउने ? निकै पोल्यो । फेरि, खानी चलिरहेको समयमा काम गर्ने व्यक्तिहरूको नाम र उनीहरूका कथा खोज्न कवि सन्यासलाई आग्रह गरेँ । उनले खोजेर ल्याए । ती कथामध्ये १० वर्षको उमेरदेखि खानीमा काम गरेका ८६ वर्षे वृद्ध रज बुढामगरका जेठा छोरा खानी बन्द भएकै कारण कालापार हिँडेको र नफर्केको साथै खानीकै कारण बिदेसिने क्रममा कान्छा छोरालाई पनि त्यसबेलाको शाही सेनाले मारेको कथाले मन छोयो । कथा पाएपछि चलचित्र बनाउने निर्णय लिएँ । जेलबाङ गाउँसँग भेट्ने वाचा लिएर काठमाडौं फर्कियौं ।

काठमाडौं आएपछि मेरो काम जेलबाङको कथालाई नेपालको खानी इतिहाससँग मिसाउनु थियो । नेपालमा खानी कति सालदेखि सुरु भयो ? खोजीले निदाउन दिएन । खानी विभागको पुस्तकालयमा खानीबारे खोजेँ । दुःखको कुरो, खानी विभागको पुस्तकालयमै खानी–इतिहास पाइएन । उल्टो उनीहरूले भने, ‘वृत्तचित्र बनाएपछि एक कपी हामीलाई पनि दिनुहोला है सर ।’ जे होस्, लेखक नवीन विभासको सहयोगले केही मात्रामा इतिहास जम्मा गरेँ ।

त्यसपछि खानी–कथालाई कहिले मीठो भाषाले सम्झाएँ, कहिले तीतो भाषाले गाली गरेँ । कति रात ननिदाएरै उज्याला भए । चलचित्रबाट के भन्ने अर्थात् के देखाउने कुराले सताउन थाल्यो ।

निर्माताले दिएका थिए, १५ दिन समय । अघिल्लो रातसम्म पनि चलचित्रको रूप आएन । १७ औं दिनमा बल्ल ‘आग्रे’ अर्थात् ‘द आइरन डिगर’ नाम जुर्‍यो वृत्तचित्रको । जुर्‍यो, चलचित्रबाट भन्ने कथा पनि– सरकारले खानी बन्द गरेपछि जेलबाङ गाउँको जनजीवनमा परेको असर । सुटिङका लागि पुनः रोल्पा–यात्रा सुरु भयो ।

खानी गाउँसँग फेरि भेट

कहिले खाएर, कहिले नखाएर सुटिङ गरियो । मनले खाएको पात्रअगाडि क्यामरा राख्दा नबोल्ने । तर, क्यामरा लुकाउँदा छोराजस्तै गरी खुलेर बोल्ने । पटकपटक एउटै पात्रको पछि लाग्दा दिन लम्बिने र निर्माताको बजेट बढ्ने पीडाले सतायो । ११ औँ दिनमा प्रोडक्सनको काम सकियो । पोस्ट प्रोडक्सन सुरु भयो । तर, नसकिँदै कोरोनाको दोस्रो लहर सुरु भयो । लकडाउन भयो । म जन्मभूमि रुकुम तकसेरा गएँ ।

लकडाउनका कारण २०२१ को अन्तिम दिन सम्पादन सकियो । २०२२ को पहिलो रात १२ बजे ‘आग्रे’ चलचित्रको पोस्टर रिलिज भयो ।

फेस्टिवल–यात्रा

प्रायः सोच्छु– मैले देखेको, भोगिरहेको र सुनिरहेको कथाहरूलाई चलचित्रको माध्यमबाट दर्शकको काखमा पुर्‍याउन सक्छु कि सक्दिनँ ?

‘आग्रे’ लाई फिल्म फेस्टिवल र प्रचारप्रसारमा नलैजाउँ भनेर निर्मातासँग भनेँ । तर, उनीहरूले मानेनन् । मसँग भएका फुटेजलाई के बनाउन सकिन्छ भन्ने सोचमै एक वर्ष बित्यो । तर, पनि फेस्टिवलमा पुग्छ वा पुग्दैन भन्ने कुराले सताइरह्यो ।

अन्तर्राष्ट्रिय फेस्टिवलहरूमा पठाउन थालेँ । बडेमानका फेस्टिवल कुर्ने समय नभएकाले ‘दक्षिण एसिया’ फिल्म फेस्टिवलमा पठाएँ । तीन हजारमध्ये ६४ चलचित्र छानिए, ‘आग्रे’ पनि छानियो । छनोटले टिम खुसी भयो । प्रिमियर माग्ने फेस्टिवलबाहेक अरू फेस्टिवलमा पनि पठाउन थाल्यौं । अहिलेसम्म ‘आग्रे’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलहरूमा नौ देशमा नौ फेस्टिवलमा छनोट भयो । र, यसले तीन देशमा तीन उत्कृष्ट डकुमेन्ट्री अवार्ड पायो ।

निर्माता त खुसी भए । तर, मन एउटै प्रश्नले पोलिरहन्छ– नेपाली चलचित्रकर्मी खुसी हुनुपर्ने कहाँनेर हो ? नेपाली चलचित्रको बजार व्यवस्थापनमा कि फेस्टिवलमा हजार फिल्मकर्मी अघि अवार्ड थाप्दा ?

प्रकाशित : श्रावण १४, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्

कमरेडको जनै !

सुविन न्यौपाने ‘कान्जिभाइ’

समाजवादी आदर्श बोकेकाहोनहार कमरेडअमेरिकाको स्विमिङ पुलतिरकिन रमाइरहेछन् भिरेर जनै ?

कुनै चिन्ता छैन अब कमरेडलाई

जनै खटिराको,

भइसकेको छ तय

नास्तिकतादेखि आस्तिकताको पृथक् यात्रा ।


सम्झेलान् कि बिर्सिसके होलान्

कमरेडले आजभोलि,

रोल्पा र रूकुमका राता बस्ती ?

सुसेल्लान् कि नसुसेल्लान्

भन्ज्याङ र देउरालीहरुले,

मुक्तिको सचेत सुसेली ?

सम्झेलान् कि बिर्सिसके होलान्

सल्यानका राताम्मे वन पाखाहरु ?

कस्तो क्रान्ति गर्छन् होला

कमरेड आजकल ?

मगजमा क्रान्तिका खत

बाँकी होलान् कि नहोलान् ?

कस्ता धारणा बुन्दा हुन् शक्तिराष्ट्रबारे

अमेरिका भासिएका कमरेड ?

मुक्तिको बीउ रोपेको भूमि

कसरी बुझ्दा हुन् अहिले ?


बिर्से कि सम्झँदै होलान्

आफैंले बोकेको रक्तरञ्जित झन्डा ?

चेको छापामार युद्ध ?

मार्क्सको पुाजीको ठेली ?

लेनिनको अक्टोबर क्रान्ति ?

सम्झेलान् कि बिर्से होलान्

अधिकारका अनेकन् आन्दोलन ?

गुनगुनाउलान् कि नाइँ

लालझुपडीका संगीतहरु ?

पोल्दै होला कि नहोला

सयौं राता सहिदका सम्झनाले ?


पुँजीपति भएका छन् कमरेड

आजकल

बिहानै डुलाउँछन् जर्मन सेफर्ड

जप्छन् देउताको नाम

गर्छन् पितृ श्राद्ध

सेलाउँछन् पिण्ड–

सेलफोनमा भिडियोबाटै ।


साँच्चै, स्मृतिको डिलमा उभिएर

कस्तो वैचारिक उडान भर्दै होलान्

कमरेड आजकल ?

प्रकाशित : श्रावण १४, २०७९ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×