जेठा बा !
धूमिल अनुहारमा
पिँढीमा बसिरहन्छन् रे
सोचमग्न, विचारशील
एक्ला जेठा बा
स्मृतिहरुको जुलुस बोकेर ।
लाग्छ— सिङ्गो पहाड उभिएका हुन् जेठा बा
पहाडको हरियाली मरेर
फुस्रोफुङ्गोझैं
रुखहरु
विनापात खडेरीले झरेको झैं
सुकेका हाँगाहरु मात्र
ठिङ्ग गलेर हात फैलाएझैं
वर्षौंदेखि कोहीकोही कुरिरहेझैं
उदास, हतास, जीर्ण
उत्तरार्द्धमा छन् रे जेठा बा ।
पहिले–पहिले यस्ता थिएनन्
गाउँको सोझो, इमानदार, कर्तव्यनिष्ठ सिपाही
एउटा सिङ्गो खम्बा
कसैको दुःखमा दुःख बाँड्ने
कसैको सुखमा सुख साट्ने
गाउँका मियो थिए
उनको चाल, उनको मान,
उनको शान, उनको हँसाइ, उनको बोलाइ, उनको हिँडाइ
विछट्टै हँसिलो, रसिलो
भरिलो अनुहार बोकेर
सबका प्यारो थिए
आज जेठा बाका थाकेका आँखाहरुले
चुपचाप सोध्न खोजेका प्रश्न
एउटा लामो आख्यान हो
जेठा बाको मुजामुजा परेको अनुहार
कुप्रिएको ढाड
सुकेको ज्यान
जीवनीको एउटा सिङ्गो किताब हो ।
यो किताबमा धेरैथोक अटाए
तमाम आफन्तजन,
छोराछोरी, नातिनातिना
जो घुमिरहेछन् अचेल देश–विदेश
आफ्नै बा बिर्सेर ।
उहिले मलाई पनि
पिठ्युँमा बोकेर हिँड्थे
‘हट् घोडा हट्’ भन्दै
आफ्ना इच्छाहरु मारेर
मेरा हरइच्छा पूरा गरेर
लक्का जवान बनाए
बदलामा दिने केही छैन मसँग
विदेशबाट रूँदै सम्झिनुसिवाय
जसै तिम्रो फेरिएको अनुहार
हेर्न मन छ,
तिम्रो आँखाको डिलमा बास बस्न
तिम्रो भागेका खुसीहरु सँगाल्न
र, हामीले हिँड्ने तारे खेत
हामीले पौडने बुदरी खोला
हाम्रो वनपाखामा गम्कने आवाजहरु
घनीभूत पार्न
परदेशबाट फिर्ती हुनेछ यो छोरो !
प्रकाशित : श्रावण १४, २०७९ ०८:५२