कोसेली

म किन छु ? किन छैन ?

मेरो जीवनसँग मैले फेर्ने श्वासको के सम्बन्ध छ ? किन छ ? शरीरका भाग प्रायः ठोस, स्थूल र तरल छन्, तर प्राणका लागि अपरिहार्य मानिने श्वास किन देख्न र महसुस गर्न गाह्रो छ ?
सृष्टि राणा

सायद विज्ञानको कमजोर पक्ष भनेकै यसले प्रायः ‘किन’ को उत्तर दिन सकेको छैन । भौतिक विज्ञानले पृथ्वीको कणकण वा भनौं अणुअणु पत्ता लगाएको छ । यद्यपि विज्ञानले त्यो सानोभन्दा सानो अणु, त्यसको अस्तित्वको कारण र रहस्य भने पत्ता लगाउन सकेको छैन । चिकित्सा विज्ञानले पनि मानव शरीरका सूक्ष्मभन्दा सूक्ष्म, आँखाले नदेखिने कोषिकाबारे जानेको छ, तर ती कोषिकाका अस्तित्वको कारक तत्त्वबारे चित्तबुझ्दो उत्तर अहिलेसम्म दिन सकेको छैन ।

म किन छु ? किन छैन ?

विज्ञानभन्दा फरक विषयमा लागेर आफ्नो जीवन बौद्धिक क्षेत्रमै लगानी गर्ने निर्णय गरेपछि सोचें– मैले कम्तीमा पनि मानिसको अस्तित्वको कारणसम्बन्धी प्रश्नबाट मेरो चिन्तन–यात्रा सुरु गर्नुपर्छ । हामी को हौँ ? हामी किन छौँ ? तर, यस्तो चिन्तन गर्न खोज्दा लाग्यो– यी प्रश्न त महासागर हुन्, महासागर तर्न सकिँदैन ! त्यसपछि लाग्यो, सबै मानव जातिको नसके पनि कम्तीमा म आफ्नो अस्तित्वको उत्तर भने खोज्ने प्रयास गर्न सक्छु । म को हुँ ? म के हुँ ? म किन छु ? अनि विचार गरें, आफूलाई त बुझ्न नसक्नेले अरू ज्ञानको के कुरा गर्ने ? आफैंलाई नचिनी आफ्नो अरू बौद्धिक अभ्यासलाई कसरी सार्थक बनाउने ? आफैंलाई नजानी त मेरो ज्ञानको खोजी फगत एउटा ढोङ हुनेछ, औपचारिक प्रमाणपत्रको निर्जीव कागजमा सीमित ! मलाई मेरो ज्ञान–खोजीको यात्रा जीवन्त बनाउनु थियो ।

ममा यस्तो सोच आउनुमा यदाकदा सुनेका केही विचारको प्रभाव छ । कुनै ज्ञानीले भनेका थिए, ‘एक जीवित मानिसको अस्तित्वमा ब्रह्माण्डको सबै रहस्य लुकेको हुन्छ । यदि हामीले आफ्नो अस्तित्व बुझ्न सक्यौँ भने सम्पूर्ण ब्रह्माण्ड बुझ्न सक्छौं ।’ ‘गीता’ मा श्रीकृष्णले आफूभित्र ब्रह्माण्ड छ भन्न खोजेको पनि त्यही हो कि ? तर, मानव जीवनको एकाइ मात्र होइन, एउटा अणुको मात्रै पूरा डाइनामिजम वा गतिशीलता बुझ्न सक्ने हो भने पूरै ब्रह्माण्ड बुझ्न सकिन्छ भनेको पनि सुनेको थिएँ । भारतका प्रसिद्ध आध्यात्मिक गुरुले इंगित गरेका थिए, ‘हामी ठूलाठूला कुरा जानेको/बुझेको जस्तो गर्छौं, तर आफूले लिने साधारण श्वास, जुन झन्डै हाम्रो जीवितताको आधारभूत मापन हो, त्यसको डाइनामिजम वा गतिशीलता पनि बुझेका हुँदैनौं ।’ यो कुरा मलाई निकै घत पर्‍यो । महसुस भयो– ‘ओहो ! यति धेरै अध्ययन गर्दा, देश विदेशबाट विभिन्न औपचारिक अध्ययन हासिल गर्दा, आफ्नो सुरुदेखिकै जीवन बौद्धिक कसरतमा लगाउँदा पनि मलाई साधारण आफ्नै जीवनको स्रोतको त अत्तो पत्तो रहेनछ ।’

त्यस्तो महसुसपछि मैले आफ्नो श्वासप्रश्वासको गतिशीलतालाई अलिकति भए पनि नियाल्ने प्रयास गरें, तर सफलता खासै मिलेन । आफ्नो श्वासको गतिशीलता पूरै ठम्याउनै सकिनँ । मैले फेर्ने श्वासको मेरो जीवनसँग के सम्बन्ध छ र किन छ ? शरीरका भाग प्रायः ठोस, स्थूल र तरल छन्, तर प्राणका लागि अपरिहार्य मानिने श्वास भने किन देख्न र महसुस गर्न गाह्रो छ ? यस्ता प्रश्नमा जति घोत्लिए पनि मैले जवाफ भेट्नै सकिनँ । लाग्यो, अहिलेसम्मको मेरो ज्ञान त हावामा बनेको महल रहेछ– निरर्थक, गतिशीलताहीन र खोक्रो । यही अनुभवले मैले ज्ञान–खोजको दिशा परिवर्तन गर्ने निर्णय गरेँ । आफ्नो बौद्धिक अभ्यासको केन्द्रविन्दु– आफूलाई बुझ्ने, आफ्नो अस्तित्वको ‘किन’ खोज्ने– यात्रालाई बनाएँ । अनि यहाँबाट सुरु भयो मेरो एउटा अनौठो अजिब यात्रा ।

यात्रा कसरी सुरु गरें भनेर यहाँ बुझाउन सम्भव छैन । तर, मेरो यात्राका आरम्भिक अनुभवले आजसम्मका विचार/बुझाइमा सानो तरंग होइन, आँधीबेहरी नै आएको छ । म उथलपुथल भएको छु । मसँग कुनै स्पष्टता आएको छैन । झनै प्रश्नै–प्रश्नको कहालीलाग्दो पहाड देखापरेको छ, जसले हरक्षण थिच्न खोजिरहेको हो कि जस्तो भान हुन्छ । मेरो ठाउँमा अरू भएका भए धैर्यपूर्वक चुपचाप आफ्नो यात्रा अघि बढाउँथे होलान् । आफ्ना आरम्भिक अजकल्टो प्रगति देखाउन हिचकिचाउँथें होलान् । तर, म लेखक भएकाले मलाई आफ्नो अनुभव लेखेर अरूलाई बताउन मन लागिहाल्यो । त्यसैले यस लेखमा आफ्नो अस्तित्व बुझ्ने क्रममा मभित्र चलेको हुरी–बतासले ल्याएको बेचैनीको कथा लेख्दै छु । जसरी मेरा अनुभव, अनुभूति सुन्दर चिटिक्क मिलेका छैनन्, यो लेख पनि अपरिष्कृत र अपरिपक्व हुन सक्छ । धेरैलाई अमूर्त लाग्न सक्छ । यो अशान्त र अपूर्ण पनि छ, मेरो अन्तर्मनमा अहिले भएका वेदनाको अराजकता जस्तै ।

सबैभन्दा पहिले, आफ्नो अस्तित्व बुझ्ने क्रममा, मैले ‘आत्मा’ बुझ्ने प्रयास गरँ । सानैदेखि सुनेको हुँ– ‘हामीभित्र आत्मा हुन्छ, जुन अजम्बरी र सत्य हुन्छ । हामी मरेर जान्छौं, आत्मा भने मर्दैन ।’ तर, मैले आफ्नो आन्तरिक संसारभित्र आत्मा खोज्ने क्रममा कुनै ठोस अस्तित्व महसुस गर्न सकिनँ । मभित्र जे पाएँ गतिशील पाएँ, क्षणक्षणमा बदलिरहेको अनुभव हुने । एउटा कन्टिनियम वा एउटा निरन्तर गतिशीलताजस्तो । जति भित्र हेर्छु, जति गहिरिएर हेर्छ,ु कुनै ठोस अस्तित्व महसुस नै हुँदैन । कहीँ–कहीँ कता–कता केही–केहीे भएजस्तो । तर, जे छ त्यो बादलजस्तो, समय समयमा आफ्नो आकार र स्वरूप फेरिरहेको जस्तो । यदि मभित्र केही ठोस नै छैन भने त्यो कसरी अमर हुन्छ ? त्यो कसरी अपरिवर्तनीय र सत्य हुन्छ ? यदि केही त्यस्तो ठोस छैन भने म नै के हुँ ? कसरी छु ? केही विद्वान्ले भनेजस्तै के म ‘संज्ञा’ (नाउन) नभएर ‘क्रिया’ (भर्ब) हुँ ? यदि म ‘क्रिया’ हुँ वा ‘प्रक्रिया’ हुँ भने किन हुँ ? म किन यस्तो छु– म यस्तो हुँ भनेर आफूलाई बुझ्नै सक्दिनँ ?

मेरो यात्राको अर्को अनुभूति भनेको क्षणक्षणमा परिवर्तन भइरहने आन्तरिक आवाजहरू हुन् । विज्ञानले भन्छ, हामीभित्र एउटा दिमाग हुन्छ, जसले विभिन्न विचारहरू प्रवाह गरिरहन्छ । विज्ञानले दिमागलाई चेतन/अर्धचेतन/अचेतनजस्ता सूक्ष्म ढंगले पनि बुझाउने प्रयत्न गरेको छ । विज्ञानले यो पनि भनिदिन्छ– भावना/सिर्जनशीलता हाम्रो दाहिने दिमागबाट उत्पन्न हुन्छन् भने तर्कपूर्ण सोचाइ/विचारहरू देब्रे दिमागबाट आउँछन् । तर, मैले बुझ्न नसकेको विषय, हामीभित्रका सबै वैचारिक/भावनात्मक तरंगहरू एउटै दिमागको स्रोतबाट आउँछन् भने तिनीहरूमा किन एकरूपता छैन ? किन तिनीहरू एक–अर्कासँग बेलाबेलामा परस्पर विरोधमा रहन्छन् ? जस्तै विहान ६ बजे घडीको घण्टी बज्छ । मभित्रको आवाजले भन्छ, ‘उठ्ने बेला भइसक्यो, अब उठिहाल ।’ एक क्षण पनि नबित्दै फेरि उहीजस्तो लाग्ने स्थानबाट अर्को आवाजले भन्छ, ‘उठ्नुपर्दैन, अलिबेर सुते हुन्छ । हिजो धेरै थाकेका थियौ ।’ एउटै दिमागको स्रोतबाट किन विरोधाभासपूर्ण आवाजहरू आउँछन् ? किन मभित्रै राम्रो–नराम्रो, माया–रिस, खुसी–पीडा, दया–ईर्ष्याजस्ता विपरीत तरंग सहअस्तित्वमा सँगै बसेका छन् ? के यी तरंगहरू भ्रम हुन् ? कि विज्ञानले भनेको ‘दिमाग’ भ्रम हो ? यदि हाम्रो अस्तित्वको कडी ‘आत्मा’ पनि भेटिँदैन, ‘दिमाग’ पनि होइन, भने के हो त ? त्यो कहाँ छ ? त्यो किन हामी भेट्टाउन वा प्रत्यक्ष महसुस गर्न सक्दैनौं ?

आफ्नो अस्तित्वको खोजीमा मैले अर्को बुझ्न नसकेको विषय अनित्यतासँग सम्बन्धित छ । खोजक्रममा एउटा कुरा भने प्रस्ट भयो– जीवन अनित्य छ । यो घडीघडीमा बदलिरहन्छ । हामीले यो अस्थिरता नचाहे पनि जीवनमा हुने निरन्तर परिवर्तनलाई कुनै शक्ति वा स्रोतले अहिलेसम्म रोक्न सकेको छैन । विज्ञानका ठूलाभन्दा ठूला आविष्कारहरू पनि जीवनको अनित्यतालाई बदल्न असफल भएका छन् । मृत्युको अवश्यम्भाविता तोड्न सकेको छैन । अनित्यता नै म भएको संसारको नित्य सत्यजस्तो देखिन्छ । तर, यो बुझ्दाबुझ्दै पनि किन म स्थायीपनको मोह राख्छु ? म किन मृत्युसँग भाग्न खोज्छु ? मलाई किन विछोडको पीडाले सताउँछ ? म किन सधैं रहिरहने सम्बन्ध, आफ्नै स्वामित्वको बासस्थान र सुविधै सुविधाको सुनिश्चितता गर्ने कामको लागि दिन–रात खटिरहन्छु ? मेरो मन किन अटल र अमर प्रेमको खोजीमा भौंतारिन्छ ?

के यो नै जीवनको विडम्बना हो ? कि यो जीवन नै विडम्बनाको निरन्तर बगिरहने अन्तहीन तरंग हो, जसमा ‘म’ भन्ने कुनै एकल अस्तित्व नै छैन । हो, विभिन्न अणुले बनेको मेरो शरीर छ, जुन हरेक पल बदलिइरहेको हुन्छ । एक दिन यो शरीर नाश हुन्छ । धूलो वा खरानीमा परिणत हुन्छ । मैले जति खोजे पनि सधैं रहिरहने एउटा ठोस ‘म’ भन्ने कतै भेट्नै सकिनँ । जे पाएँ अनित्य पाएँ– निरन्तर गतिशील, अविरल बहावजस्तै । जति खोजे पनि आफूभित्र आफूलाई भने पाउनै सकिनँ । के मैले मेरो यात्रा नै गलत प्रश्नबाट सुरु गरें ? सही प्रश्न त, ‘म किन छु’ होइन, ‘म किन छैन’ हुनुपर्ने थियो कि ?

प्रकाशित : श्रावण १४, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?