गितारका तारमा गुन्जिरहेको एउटा आवाज

अरूण थापा जीवित रहेका भए ७० वर्षका हुन्थे । उनी पनि अरु संगीतकर्मीले जस्तै देशका विभिन्न सांगीतिक कार्यक्रममा पुरस्कार–सम्मान लिँदै–दिँदै हुन्थे सायद । तर, उनी बितेको पनि २४ वर्ष लाग्यो– यही साउन ५ देखि । आज अरूण सबैका मनमा छन् । उनको आवाज संगीतप्रेमीको हृदयमै गढेर बसेको छ । २४ औं स्मृति दिवसमा अरूणको सम्झना :
भूपेन्द्र खड्का

नसा–नशामा अरुण
साहित्यकार सरुभक्तले सिग्रेट पिउँदा (जतिखेर उनी सिग्रेट पिउँथे) सँगै रहेका अरुण थापा सिग्रेटको खिल्लीमा गाँजा भर्थे र पिउँथे । सिग्रेटका सिकारुजस्ता लाग्ने उनी गाँजाको साथमा ठर्रा ‘शट’ हान्थे । अनि उनका नसामा नशाको मात चढ्थ्यो र त्यो मात संगीतमा उत्रन्थ्यो । त्यसपछि गितार फिटेर गाउँथे– किशोरकुमार र नारायणगोपालहरूका गीत !

गितारका तारमा गुन्जिरहेको एउटा आवाज

जीवनका लयहरू समात्दै गर्दा संगीतका लय पक्रेका अरुणको संगीत–यात्राको लय पोखराले हालिदिएको हो र विलयको कारक पनि पोखरा नै हो । पोखराका विनोद गौचन, विक्रम गुरुङ, सरुभक्त, तीर्थ श्रेष्ठ, सरोजगोपालहरूको साहित्यिक र सांगीतिक ग्याङमा गितार फिट्दै चिम्सा आँखामा मुस्कान भर्ने अरुण आफ्नै जीवनका लयहरू खोज्दा प्रेम, विवाह, वियोगको लयमा अल्झिए र तिनै लयहरूमा विलय भए ।

विशेषतः साहित्यकारका संगतमा हुर्किएका अरुणका गीति रोजाइ पनि उच्च विम्बात्मक छन् । आफ्ना सबै गीतमा फरक गीति विम्ब र भावका शब्दलाई संगीतमा ढालेका र अरूको संगीतमा गाएका गीतमा पनि उस्तै शब्द छनोट गरेका अरुण नामजस्तै आदित्य छन्, संगीतका लयहरूमा सूर्य नै बनेर उदाएका छन् ।

कुलतको लतका कारण तीन वर्ष नख्खु जेल र सदरखोरको जीवनबाट उनी रिहा त भए, तर नशाको क्रूर झ्यालखानाबाट कहिल्यै मुक्त हुन सकेनन् । बागबजारको ‘कान्तिपुर गेस्ट हाउस’ मा आफैंले सृजना गरेका धूनहरू (साथीहरूका जिन्स ज्याकेटसमेत) बेचेर ‘नशाको धुन’ खोजेका अरुण जति बदनाम भए पनि खासमा ‘नामी’ गायक हुन् । आजको पुस्ताले संसारका पछिल्ला प्रविधिमा आएका गीतहरू सुन्दै गर्दा पनि अरुणकै गीत पहिलो रोजाइमा हुनुले पनि यसको पुष्टि गर्छ ।

किन गाइन्छन् त अरुणका गीत सजिलै ? यो जिज्ञासा जसको मनमा पनि हुन सक्छ । उत्तर पनि सरल र सहज हुन सक्छ– राम्रो गाएर वा राम्रो भएर । यसको जवाफ यतिले मात्रै पक्कै पुग्दैन । जुन कलाकारको आत्मामा ‘सुर’ हरूको बास हुन्छ, तिनको जीवन बेसुर भए पनि अरूलाई संगीतका सुरहरूमा हिँडाउने क्षमता हुन्छ । उसको आत्माले कहिल्यै ढाँट्दैन– फुत्किएको जीवनको लय फेरि मिलाउन सकिन्छ, तर सुर फुत्किएको संगीतको लय बाहिर आउनासाथ बेसुरा भइजान्छ । अरुण संगीतको सुर सिकाउने ‘सुरिला’ शिल्पी हुन् ।

माइनर कर्ड्समा अरुण

अरुण थापाका मुस्किलले ४ दर्जनजति गीत सुन्न पाइन्छ । तीमध्ये २० वटा गीत त सु–सफल र कालजयी छन् । ती सफल गीत अधिकांश ‘माइनर कर्ड्स’ मा कम्पोज गरिएका छन् । कतिपय गीत ‘मेजर कर्ड्स’ मा भए पनि अन्तराका कतिपय स्थानमा माइनरमै पुगेका छन् । माइनर कर्ड्स ‘मेलोडी’ र ‘हार्मोनिक’ हुन्छन् । हार्मोनिकले ‘टोनिक’ लाई अझै बढी ‘डेकोरेसन’ गर्छ, लयलाई ‘इम्प्रोभाइज’ गर्छ । माइनर कर्ड्समा बनाइएका गीतमा संगीत–संयोजकलाई काम गर्ने धेरै ठाउँ हुन्छ । माइनर कर्ड्समा गीतमा लय भर्दा धेरै ‘अप्सन’ हरूमा खेल्न पाइन्छ । ‘एक्सिडेन्टल नोट’ हरूलाई प्रयोग गर्न सकिन्छ । यस्ता गीत सुन्दा सजिला र सुरम्य लाग्छन्, तर गाउन निकै कठिन हुन्छ ।

‘डी’ माइनरमा बनाइएको गीत हो, ‘म रोए पनि तिमी हाँसिदिनू’ (शब्द–संगीत– भूषण खरेल, अरुण थापा) । करहवा ताल (४/४) मा बनाइएको यो गीत राग भैरवीमा आधारित छ । प्रातःकालमा गाइने यस रागमा प्रायः वियोगात्मक गीत सृजना गर्ने गरिन्छ । शुद्ध रे, ग, ध, नि प्रयोग भए पनि यस रागमा बाह्रै स्वर प्रयोग गर्न सकिन्छ । अरुणको गायिकीको उच्चकला यस गीतमा यसरी नै देखिएको हो ।

त्यस्तै, अरुण थापाको अर्को गीत ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो’ (शब्द–संगीत– भैरवनाथ रिमाल कदम, अरुण थापा) ‘सि’ माइनरमा कम्पोज गरिएको हो । निकै गाह्रो मानिने ताल दीपचन्दी (७/८) मा बनाइएको यो गीत शिवरञ्जनी रागमा आधारित छ । रातमा प्रायः गाइने यो रागमा बिन्दास भएर गाउन सकिन्छ । अरुणको यस गीतको लालित्यपूर्ण गायिकी यसकारण यो गीतमा छ ।

अरुणको अर्को चर्चित गीत हो– ‘साँझको जूनसँगै आउँछौ तिमी भनेर’ (शब्द–संगीत– किशोर गुरुङ, अरुण थापा) । ‘सि’ माइनर, करहवा ताल (४/४) मा बनाइएको यस गीतमा राग काफी र खमाजको मिश्रण छ । राग काफीको आरोह ग, नि कोमल स्वर भए पनि शुद्ध प्रयोग हुँदा गीतको गायिकी राम्रो सुनिन्छ । अरुणको यही विशेषता छ, यस गीतमा ।

अरुण थापाका राष्ट्रिय गीतमा एक मात्रै चर्चित गीत ‘करोडौं मुटुहरूको ढुकढुकी नेपाल’ (शब्द–संगीत– नवराज कार्की, सरोजगोपाल) पनि ‘जि’ माइनरमा बनाइएको गीत हो । गीतको लयमा उनले झुम्मिँदै गाउँदा सुनिने आवाजले जोकोहीलाई लठ्ठ बनाउँछ ।

मेजर कर्ड्समा अरुण

माइनर कर्ड्समा सुरवीर सुनिने अरुणका केही चर्चित गीतहरू मेजर कर्ड्समा छन् । त्यसमध्येको सबैभन्दा चर्चित गीत हो, ‘जति माया लाए पनि, जति कसम खाए पनि’ (शब्द–संगीत– विनोद गौचन, अरुण थापा) ।

संगीतकार राजु सिंहले तयार पारेको ‘जति माया लाए पनि’ को स्वर–लिपी

‘इ’ मेजरमा बनाइएको यो गीत सेलो बिट (२/४, ४/४) मा छ । खमाज रागमा आधारित यस गीतको कम्पोजिसनमा प्रयोग भएको रिपिटेसनका कारण गाउँदा अर्कै प्रकारको आनन्द आउँछ । शृंगार रसले ओतप्रोत हुने खमाज रागलाई ठुमरीको रागिनी पनि भनिन्छ । रातको दोस्रो प्रहरमा गाइने यस रागमा कोमल ‘नि’ स्वरको विशेष प्रयोग हुन्छ । मध्य र तार सप्तकमा गाइने यस रागमा आधारित यो गीतमा अरुणको स्वरको कला चुलिएको छ । त्यसैले पनि अरुण यस गीतको गायिकीमा खास खुलेका छन् ।

त्यस्तै, अरुण थापाको अर्को निकै चर्चित गीत हो, ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ’ (शब्द–संगीत– राजेन्द्र रिजाल, राम थापा) । बीबीसी नेपाली सेवाको विश्वव्यापी सर्वेक्षणको टप–१० मा सातौँ नम्बरमा सूचीकृत यो गीत ‘इ’ मेजरमा कम्पोज गरिएको छ । करहवा (४/४) तालमा बनाइएको यस गीतलाई पश्चिमा भाषामा कन्ट्री सङ भन्दा पनि फरक पर्दैन । राग वसन्तलाई टच गरेर बनाइएको यो गीत रोमान्टिक छ किनकि वसन्त रागलाई रोमान्टिक राग मानिन्छ । यसमा तीव्र र शुद्ध ‘म’ को प्रयोग गरिन्छ । अरुणको यस गीतमा पनि सोही स्वरको प्रयोग भएको छ ।

अपवाद अरुण

२०५४ सालमा अरुणका पछिल्ला गीतहरूको एल्बम ‘अरुण’ लोकार्पण कार्यक्रममा उनी स्वयम् उपस्थित भएनन् । बागबजारस्थित शंकरदेव क्याम्पसको विपरीत दिशामा भएको ‘जि–फन्ट’ को कार्यालय रहेको घरमा मगर भाषासेवीहरूको पत्रिका ‘लाफ’ को कार्यालय थियो, चौथो तल्लामा । लोकार्पण कार्यक्रम सुरु भयो । त्यहाँ उपस्थित करिब ५० जनाले आधा घण्टासम्म चुपचाप अरुणलाई कुरे । एक घण्टासम्म पनि उनी नआएपछि एल्बम लोकार्पण गरियो । एल्बम लोकार्पण गर्दै प्रमुख अतिथि बैरागी काइँलाले स्यामुअल बेकेटको नाटकको कथा सुनाएको सम्झन्छन्, सोही एल्बमको एउटा गीतका गीतकार सन्जोग लाफा मगर, ‘यो त स्यामुअल बेकेटको नाटक ‘वेटिङ फर गडोट’ जस्तो भयो । भगवान्ले मोजा खोजिदेलान् भनेर भगवान्को प्रतीक्षा गरेको, भगवान् नै आएनन् ।’

कल्पना गर्न सकिन्न कि कोही कलाकार आफ्नो गीति एल्बमको लोकार्पण समारोहमा आफैं छुटोस्, तर यसमा अरुण अपवाद रहे । उनी त्यतिबेला जीवन वियोगको पीडा र ड्रग्सको नशामा निर्लिप्त थिए । संजोग सम्झन्छन्, ‘सुख–दुख भुलेर, चाहे आँधी चलोसलगायतका गीत बजाइयो । त्यसपछि दाइलाई खोज्न गएको कतै भेटाइएन । भोलिपल्ट थाहा भयो, बागबजारबाटै उनलाई पुलिसले पक्रेको रहेछ ।’

त्यस्तै, २०५२ साल मंसिरमा आयोजना भएको एकल साँझमा ठडिँदा पनि नशाको लैबरीमा उनले गाए । कार्यक्रम सुरु हुने बेलाभन्दा अघि उनी दुई घण्टा ट्वाइलेटमा हराएका थिए । अरुण थापा प्रतिष्ठानका अध्यक्ष सन्दन थापा सम्झन्छन्, ‘अरुण दाइले अन्य जति सांगीतिक कार्यक्रममा सहभागिता जनाए, त्यहाँ उनले नशालाई अघि र आफूलाई पछि लगाएर प्रस्तुत भए ।’

‘नाम होस्, चाहे बदनाम होस् तर गुमनाम नहोस्’ भन्ने उखान अरुणकै जीवनमा लागू हुन्छ । पोखरामा संगीत जीवनको पूर्वार्द्धमा अरुण निकै चर्चित थिए । संगीतका धेरै बैठकी र कार्यक्रमहरूमा उनले आफ्नो गायिकीले प्रभुत्व जमाउँथे ।

प्रेमको बर्बादीपछि सुरु भएका दिनमा कहिले मदिरा, कहिले गाँजा, कहिले लागूऔषध प्रयोग र ओसारपसारको आरोपमा उनी पक्राउ पर्दा बदनाम भए । उनलाई त्यति बेलाका संगीत क्षेत्रका मानिसले पनि सहयोगसम्म गरेनन् । उनको कुलतलाई ‘सु–लत’ मा ल्याउन कसैले चासो देखाएनन् र पनि अरुण गुमनाम रहेनन् ।

कहिले दार्जिलिङमा, कहिले पोखरामा, कहिले झम्सीखेलमा, त कहिले बागबजारमा गितारका तारमा आफ्नो जीवनका चीत्कार ओकल्ने अरुण संगीतका सुरहरूजस्तै ‘सुर’ मा थिए, केवल उनको जीवन ‘बेसुर’ बनेको हो ।

(यस आलेखमा ‘लय’ भरिदिने प्रसिद्ध संगीतकार राजु सिंहप्रति आभार व्यक्त गर्छु । साथै, ‘जतिमाया लाए पनि’ गीतको स्वर–लिपि (नोटेसन) का लागि म उहाँप्रति कृतज्ञ छु ।)

प्रकाशित : श्रावण ७, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?