फिल्म

गेरुवा वस्त्र ओढेका सिनेमा

धर्म र हिन्दुत्वको नाराले भारतीय समाजलाई विभाजित गरिरहेको यो बेला अब सिनेमाले समेत विभाजनकारी भूमिका खेल्न थालेको छ ।
रघु पन्त

केही दिनअघि कोलकातामा ‘अमर्त्य सेन अनुसन्धान केन्द्र’ को उद्घाटन गर्दै नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध अर्थशास्त्री अमर्त्य सेनले भारतमा व्याप्त धार्मिक विभाजन र आपसी घृणाको स्थितिप्रति चिन्ता व्यक्त गर्दै भने, ‘भारत सामुन्ने वर्तमान समयमा राष्ट्र पतनको खतरा सबैभन्दा ठूलो संकटको रूपमा देखापरेको छ ।’

गेरुवा वस्त्र ओढेका सिनेमा

कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘देशमा देखापरेको विभाजनको अवस्थाले आफू डराएको र चिन्तित रहेको’ बताए र थप भने, ‘म देशमा असाधारण विभाजन देखिरहेछु । भारत केवल हिन्दु संस्कृतिको मात्र प्रतिनिधित्व गर्ने देश होइन । मुस्लिम संस्कृति पनि देशको जीवन्त इतिहासको एक हिस्सा हो । वर्तमान परिस्थितिको सामना गर्न सहनशील र सहिष्णु भएर मात्रै पुग्दैन । अहिलेको अवस्थाको मुकाबिला गर्न हिन्दु र मुस्लिमहरूले एकसाथ मिलेर कम गर्नु आवश्यक छ ।’

विदेश बसिरहेका विख्यात अर्थशास्त्री यसरी भारतको वर्तमान अवस्थाप्रति चिन्तित किन भए ? भारतमा हिन्दु र मुसलमानबीच अविश्वास एवं द्वन्द्व बढ्दो छ । यो द्वन्द्व र अविश्वासले साम्प्रदायिक हिंसा तथा दंगा चर्कंदो छ । कश्मीरमा हिन्दु मार्ने र राजस्थानमा मुस्लिम युवाले हिन्दु दर्जी मार्ने हालैका घटना यही अविश्वास र द्वन्द्वले जन्माएका हुन् ।

बढ्दो मन्दिर–मस्जिद विवादले यस्तो द्वन्द्वलाई भारतका विभिन्न प्रान्त र सहरहरूमा बढाउँदै लगेको छ ।

भारतका पूर्व विदेश राज्यमन्त्री शशी थरुरले दुई वर्षअघि लेखेका थिए, ‘१९४७ मा जन्मिएको आफ्नो देशको मूल चरित्र लगभग गुमेको चिन्ता धेरै भारतीयले गर्न थालेका छन्...। स्थापनाकालदेखि भारत एक धर्मनिरपेक्ष राष्ट्र रहँदै आएकामा अब यो हिन्दु राष्ट्र बन्नेतर्फ अग्रसर छ कि भन्ने चिन्ता छाउन थालेको छ । संकीर्ण मानसिकताले निर्देशित साम्प्रदायिक चरित्रले भारतले टाढिँदै गएका युवालाई कहिल्यै आकर्षित गर्ने छैन...। सबैको अधिकार तथा सम्मानको प्रत्याभूत गर्ने उदार लोकतान्त्रिक भारतले मात्रै त्यो समूहलाई तान्नेछ । पछिल्ला ६ वर्षमा हिन्दु राष्ट्रवादका समर्थक जितको भ्रममा दंग परेका छन्, तर भारतको वास्तविक चरित्रका लागि संघर्ष अझै चलिरहेको छ ।’ भारतमा अहिले मुस्लिमहरू त्रासमा छन् । तर, धर्मको गलत प्रयोगलाई भारतीय सरकारले ‘हिन्दुत्व’ को नारा दिएर चर्को रूपमा प्रोत्साहित गरिरहेको छ । र, यस्तो अप्रजातान्त्रिक कदमविरुद्ध विश्वव्यापी अलोचना पनि बढिरहेकै छ ।

धर्मको प्रयोग

धर्मले मानिसलाई जोड्न सक्छ, जुधाउन पनि सक्छ । अधिकांश धर्म हिंसा प्रयोग गरेर पनि विस्तार भएका छन् । बौद्ध र जैनजस्ता धर्मले शान्ति, अहिंसा, प्रेम र सद्भावमा जोड दिएर हिंसाविरुद्ध आफूलाई उभ्याएका छन् । तर, इसाई, मुस्लिम र केही हदसम्म हिन्दु धर्मले समेत आफ्नो प्रभाव विस्तारका लागि हिंसाको प्रयोग गरेको छ ।

भारतीय जनता पार्टीले हिन्दुत्व भावना जगाउन अयोध्याको बाबरी मस्जिद ध्वंस गरी राम मन्दिर बनाउने नाराका आधारमा भारतमा साम्प्रदायिक अविश्वास र विभाजन चर्कायो । नरेन्द्र मोदीको सरकार त्यही विभाजनलाई प्रयोग गर्दै दोस्रोपल्टसमेत चुनाव जितेर सरकार बनाउन सफल भयो ।

अहिले भारतमा धार्मिक र जातीय विभाजनको खाल्डो झन् गहिरो हुँदै गएको छ । बाइस करोड मुसलमानले आफूलाई असुरक्षित ठान्न थालेका छन् । मुसलमान मात्रै होइन, भाजपा र वर्तमान सरकारको विरोध गर्नेलाई अनेक प्रकारले हतोत्साहित पार्न सरकारी संयन्त्रको दुरुपयोग निरन्तर बढ्दो छ ।

शाहरूख खानका छोरा आर्यन खानलाई लागूऔषध मुद्दामा फँसाउन खोज्नु, हिन्दुत्वविरोधी वा भाजपा मन नपराउने कलाकारहरूलाई विभिन्न रूपमा त्रसित पार्नु र भाजपाविरोधी सञ्चारमाध्यमहरूलाई मुद्दाहरू लगाउनु, थुन्नु भारतीय सरकारको दैनन्दिन कार्यजस्तै हुन थालेको छ । ‘हिन्दुत्व’ को नाराका आडमा जातीय र धार्मिक द्वन्द्व बढाउने प्रमुख माध्यम बनेको छ– धर्म । धार्मिक र जातीय द्वन्द्वले भारतमा सामाजिक विभाजन चर्काउँदै लगेको छ ।

ब्रिटिसहरूले भारत छोडेर जाने भएपछि तत्कालीन भारत विभाजित गरी पाकिस्तान बनाए । पाकिस्तान पनि बंगालको आन्दोलन र भारतीय हस्तक्षेपले विभाजित भएपछि स्वतन्त्र बंगलादेश अस्तित्वमा आयो । भारत विभाजन भएर पाकिस्तान बन्ने भएपछि भारतमा पर्ने भूभागमा रहेका लाखौंलाख मुसलमान पाकिस्तानतर्फ गए, लाखौं हिन्दु पाकिस्तानबाट भारततर्फ आए । विभाजन क्रममा लाखौं हिन्दु र मुलसमान मारिए । हजारौं महिला बलात्कृत भए ।

विभाजनको यो कालखण्डबारे निकै राम्रा किताबहरू लेखिएका छन्, सुन्दर सिनेमा, टेलिफिल्म र सिरियलहरू बनेका छन् । त्यसबेलादेखिको यो समस्या अर्थात् हिन्दु–मुस्लिमबिचको द्वन्द्व भारत, पाकिस्तान र बंगलादेशमा बेलाबेला देखापर्ने गरेकै छ । संख्यात्मक रूपमा पनि ठूलो अर्थात् झन्डै बाइस करोड मुसलमान रहेकाले भारतमा भने बेलाबेलामा साम्प्रदायिक दंगा हुने गरेको छ ।

भारतको संसदीय राजनीतिलाई सिद्धान्त, विचार, नीति र कार्यक्रमले भन्दा जात, धर्म र सम्प्रदायको भावनाले बढ्ता प्रभावित पार्छ । र, धार्मिक, जातीय, राजनीतिक विभाजन झन् बढ्ने गरेको छ । कश्मीर समस्या भारत स्वतन्त्र हुने बेलादेखिकै हो । भारत–पाकिस्तानबीचको विवाद र द्वन्द्वमा भारतका मुस्लिमसमेत पिसिन थालेका छन् । भाजपाको सरकार बनेपछि यस समस्यालाई हिन्दुत्ववादी दृष्टिकोणबाट व्याख्या र चित्रण गर्ने प्रवृत्ति सञ्चारमाध्यम, सिनेमा क्षेत्रमा समेत बढ्दो छ । धर्म र हिन्दुत्वको नाराले भारतीय समाजलाई विभाजित गरिरहेको यो बेला अब सिनेमाले समेत विभाजनकारी भूमिका खेल्न थालेको छ ।

सिनेमाको प्रयोग

जसरी राजनीतिमा धर्मको प्रयोग गर्ने गरिएको छ उसैगरी कलाका विभिन्न रूपहरूको पनि राजनीतिमा सही वा गलग प्रयोग हुने गरेको छ । कलाका विभिन्न माध्यमहरूमध्ये प्रभावशाली र तत्काल गहिरो छाप छोड्ने माध्यम हो– सिनेमा । हिट्लरले जर्मनी र आफ्नो व्यक्तिगत प्रभाव वृद्धि गर्न तत्कालीन समयका केही प्रतिभाशाली फिल्म निर्देशकलाई प्रयोग गरेका थिए ।

अहिले भारतमा केही निर्देशकले भाजपाको हिन्दुत्वमा आधारित अन्ध राष्ट्रवादलाई प्रोत्साहित गर्ने सिनेमाहरू धमाधम बनाउन थालेका छन् । फिल्ममा मुसलमानहरूलाई अपराधी, क्रूर, अत्याचारी र अमानवीय चरित्रका देखाउने प्रवृत्ति बढ्दो छ । विभिन्न आतंकवादी मुस्लिम संगठन र तालिबानहरूका मध्ययुगीन चिन्तन, व्यवहारका कारण यस्तो चित्रण सर्वसाधारणलाई विश्वसनीय पनि लाग्छ । अब मुस्लिममाथिको नकारात्मक चित्रण र अन्धराष्ट्रवादलाई प्रोत्साहन गरिएका दुई भारतीय सिनेमाको चर्चा गरौं ।

द कश्मीर फाइल्स

चार महिनाअघि मात्रै अर्थात् ११ मार्च २०२२ मा प्रदर्शित यो फिल्म भारतमा सफल र चर्चित भयो । जम्मा १५ करोड भारुमा बनेको यो फिल्म भारतका विभिन्न स्थानमा ५० दिनभन्दा बढी चल्यो । र, ३५३ करोड भारुभन्दा बढी कमाउन सफल भयो ।

विवेक अग्निहोत्रीको निर्देशन, लेखन रहेको यो फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी, दर्शन कुमारजस्ता नाम चलेका कलाकारको अभिनय छ । कश्मीर स्वतन्त्र बनाउने मागसँगै ‘मुस्लिम आतंकवादी’ हरूले कश्मीरी पण्डितहरूको हत्या गर्न थाल्छन् । सन् नब्बेको दशकदेखि सुरु भएको यो द्वन्द्व अझै जारी छ । यकिन तथ्यांक नभए पनि अहिलेसम्म सात सयभन्दा बढी कश्मीरी पण्डित मारिएको र पचहत्तर हजारभन्दा बढी कश्मीरी पण्डित परिवारले कश्मीर छोडेर भारतका विभिन्न ठाउँमा आन्तरिक शरणार्थी भएर जीवन बिताउनुपरिरहेको छ भनिन्छ । कश्मीर वर्षौंदेखि अशान्त र संकटकालीन अवस्थामा बाँचिरहेको छ । सिनेमाका पात्रहरू जीवन्त छन् । अभियन पनि सफलतापूर्वक गरेका छन् कलकारहरूले ।

फिल्ममा कश्मीर र जवाहरलाल नेहरू युनिभर्सिटी (जेएनयू) मा घटेका कतिपय घटनालाई आधार बनाइएको भए पनि तिनको चित्रण र व्याख्यामा भने सत्यलाई बंग्याइएको छ । जस्तो पल्लवी जोशीले खेलेको एएनयू (भन्न खोजेको जेएनयू) की प्राध्यापक राधिका मेननको भूमिकाकै चर्चा गरौं न !

जेएनयूमा राजनीतिशास्त्र पढाउने प्राध्यापिका निवेदिता मेनन राजनीतिशास्त्र र इतिहासकी समेत विद्वान् मानिन्छिन् । उनका कैयौं किताब चर्चित छन् । उनै निवेदिताकै व्यक्तित्वलाई आधार बनाएर राधिका मेननको चरित्र निर्माण गरिएको भनिन्छ ।

जेएनयूमा भाजपा सरकारविरुद्ध आन्दोलन चर्किरहेको थियो– सन् २०१६ मा । सडकमा दिनहुँ विरोध प्रदर्शन गर्दै विद्यार्थीहरू प्रहरीका लाठी खाइरहेका थिए । सरकार जेएनयूको स्वायत्ततामा समेत हस्तक्षेप गरिरहेको थियो । सन् २०१६ को मार्च महिनामै जेएनयू–स्टेडियममा हजारौं विद्यार्थीसामु एक घण्टाभन्दा लामो भाषण गर्दै निवेदिता मेननले कश्मीरबारे ऐतिहासिक तथ्य व्यक्त गरेकी थिइन् । भाषण गरेबापत उनीविरुद्ध प्रहरीमा रिपोर्ट गरी देशद्रोहीको मुद्दा चलाउन थुनामा राख्नुपर्ने आवाजसमेत भाजपा पक्षधर मानिस र सञ्चारमाध्यमहरूले उठाए ।

ठ्याक्कै स्टेडियमको यही दृश्यलाई ‘द कश्मीर फाइल्स’ मा उतारिएको छ । फिल्ममा यो दृश्य जीवन्त देखाउन निर्देशक सफल छन् र पल्लवी जोशीले अभिनय पनि सुहाउँदो गरेकी छन् । यद्यपि वास्तविक जीवनकी निवेदिता मेनन र सिनेमाकी प्राध्यापिका राधिका मेननको व्यक्तित्व भने फरक छ । यो फिल्मले जेएनयूजस्तो प्रतिष्ठित विश्वविद्यालय र त्यहाँका प्राज्ञहरूलाई लाञ्छित गरेको छ ।

फिल्मका लागि निर्देशकले प्रशस्त अध्ययन, अनुसन्धान गरेको देखिन्छ । तर, घटनाहरूको चित्रण, सिनेमाले दिने न्यारेसन, सार अनि सत्यमाथि भने उनले एकपक्षीय खेलबाड र गम्भीर राजनीतिक षड्यन्त्र गरेका छन् । फिल्मले आम दर्शकलाई मुसलमानविरोधी, भारतीय कांग्रेस पार्टीविरोधी र भाजपा समर्थक बनाउने राजनीति कुटिल ढंगले गरेको छ । यथार्थलाई ठाउँठाउँमा बंग्याएर झूटको खेतीसमेत गरिएको छ । फिल्म हिन्दुहरूको संवेदनासँग खेल्न र मुस्लिमविरोधी भावना भड्काउन सफल छ । अर्धसत्य आरोपित गर्दै फिल्मले सत्यको एकलौटी र मनमौजी व्याख्या गर्छ । भारतीय जनमानसमा व्याप्त धार्मिक, जातीय विभाजन चर्काएर भाजपाको पक्षमा जनमत निर्माण गर्न यो फिल्मले बलियो सहयोग पुर्‍याउने देखिन्छ ।

प्रदर्शन भएको भोलिपल्टै यसका निर्माता, निर्देशकलाई भेटेर नरेन्द्र मोदीले फिल्मको प्रशंसा गर्दै बधाई दिएका थिए । भारतीय राजनीतिक दलहरू र संसद्मा समेत फिल्म चर्चाको विषय बनेको थियो । त्यहाँका राजनीतिक दल, सञ्चारमाध्यम, बुद्धिजीवी र आम जनता सिनेमाको पक्ष–विपक्षमा बाँडिएका थिए । बुद्धिजीवीहरूले गम्भीर प्रश्नहरू उठाउँदै सिनेमाको आलोचना गरे । राजनीतिक उद्देश्य र विचारका लागि फिल्म कसरी प्रयोग हुन्छ ? यसको उदाहरण यो फिल्म बनेको छ । दर्शकलाई हेरुन्जेल बाँध्न र हेरिसकेपछि उद्वेलित बनाउन फिल्म सक्षम छ ।

उरी : द सर्जिकल स्ट्राइक

आतंकवादीहरूले सन् २०१६, १८ सेप्टेम्बरको बिहान जम्मु–कश्मीरस्थित भारतीय सेनाको क्याम्पमा हमला गरेर १६ जना जवानको हत्या गरेका थिए । हमलापछि भारत–पाकिस्तानबीच सम्बन्ध झन् बिग्रियो । संयुक्त राष्ट्र संघ, अमेरिका, रुस, फ्रान्स, चीन आदि देशले यो आक्रमणको विरोध गरेका थिए । हमलापछि तत्कालीन भारतीय गृहमन्त्रीले प्रस्तावित रुस/अमेरिका भ्रमण रद्द गरे । पाकिस्तानविरुद्ध भारतले विश्वव्यापी रूपमा कूटनीतिक अभियान चलायो । २०१६ को नोभेम्बरमा पाकिस्तानमा हुने भनिएको सार्क सम्मेलन बहिष्कार गर्ने घोषणा भारतले गर्‍यो । त्यसदेखियता सार्क सम्मेलन अहिलेसम्म हुन सकेको छैन । भारतले यस हमलाको उचित समयमा जवाफ दिने घोषणाा गर्‍यो र केही समयपछि सर्जिकल स्ट्राइक गर्‍यो ।

हिन्दी फिल्म ‘उरी ः द सर्जिकल स्ट्राइक’ त्यही आतंकवादी आक्रमण र त्यसविरुद्ध भारतले गरेको जवाफी आक्रमणको कथामा आधारित छ । सन् २०१९ मा सिनेमा प्रदर्शन भएको थियो । निर्देशक आदित्य धरले निर्देशन गरेको सिनेमामा विक्की कौशल, यामी गौतम, मोहित राणाहरूले अभिनय गरेका छन् । पच्चीस करोड भारुमा बनेको यो फिल्म पनि हिट भएको थियो र तीन सय बयालीस करोड भारुभन्दा बढी कमाएको थियो ।

भारतीय सेना र मोदी सरकारको प्रशंसा गर्ने यो सिनेमा भारतीय राष्ट्रवादलाई प्रोत्साहित गर्ने उद्देश्यले बनाइएको लाग्छ । सत्य घटनामा आधारित भनिए पनि फिल्ममा धेरै काल्पनिक कथा जोडिएका छन् । उरी आक्रमणमा घाइते भएको भारतीय मनस्थितिलाई सुमसुम्याउने कथा भएकाले पनि यो सिनेमा भारतमा हिट भएको हुन सक्छ । फिल्म हेरुन्जेल यसले तानिरहन्छ । नायक मेजर विहान सिंह (विक्की कौशल) ले आक्रमणमा जानुअघि

आफ्नो टोलीलाई जोस्याउन कराएर सोध्छ, ‘हाउ द जोश ?’ टोली कराएर जवाफ दिन्छ– ‘हाई सर ।’ यो डाइलग त्यसबेला चल्तीमा थियो । मोदीले आफ्ना मन्त्रीहरूलाई ‘हाउ द जोश’ भनी सोध्दा उनीहरूले ‘हाई सर’ भनी जवाफ दिने गरेको चर्चा भारतीय अखबारहरूमा थियो । मोदी र भाजपाको नेतृत्व भएको वर्तमान ‘भारतीय राष्ट्रवाद’ लाई प्रचारित र प्रोत्साहित गर्न तथा मुसलमानविरुद्ध आक्रोश फैलाउन फिल्म सफल छ ।

फिल्ममा निर्देशकले केही विषयमा ध्यान नपुर्‍याएको देखिन्छ । सैनिक आक्रमणको नेतृत्व सेनाकै जनरल वा कमान्डरले गर्छन्, तर फिल्ममा सुरक्षा सल्लाहकारले गरेको देखिन्छ । यस्तो देखाउनु त्रुटि हो वा राजनीतिक उद्देश्यका लागि ? जवाफ त निर्देशकले मात्रै दिन सक्लान् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारले बोल्ने एउटा संवाद छ– ‘नयाँ हिन्दुस्तान है, घर मे घुसेगा भी और मारेगा भी ।’ यस संवादले भारतीय संस्थापन पक्षमा रहेको छिमेकीहरूप्रतिको हेपाहा दृष्टिकोण देखाउँछ । हाम्रो कालापानी, लिपुलेक र लिम्पियाधुरामा वर्षौंदेखि कब्जा जमाएर भारत बसेको छ । अन्य सीमाक्षेत्रमा थिचोमिचो गर्न उसले छाडेको छैन । यो सिनेमाले भारतीय सैनिकवाद र उसको प्रभुत्ववादी दृष्टिकोणलाई सुविचारित रूपबाट भारतीय जनमानसमा देशभक्तिका रूपमा स्थापित गर्न खोजेको छ ।

कलाको सबैभन्दा प्रभावशाली र महँगो माध्यम सिनेमाले भावना, घृणा र जातीय प्रतिशोधको व्यापार कसरी गर्छ ? यी सिनेमाले भन्छन् । त्यसैले त भन्ने गरिन्छ— सिनेमा निर्माण अत्यन्तै गम्भीर जिम्मेवारी हो ।

भारतीय सिनेमामा यतिबेला रचनात्मक दृष्टिकोण, कलात्मक सिर्जनशीलता र मौलिक रचना कर्मको नितान्त अभाव छ । सत्ताको संरक्षण र सहयोग पाउन बम्बईका सिनेकर्मीहरू धमाधम गेरुवा राष्ट्रवादको बर्को ओढ्न थालेका छन् । ‘द कश्मीर फाइल्स’ र ‘उरी ः द सर्जिकल स्ट्राइक’ यही गेरुवा बर्को ओढेका दुई फिल्म हुन् । ‘हेट स्टोरी’ (घृणाको कथा) र ‘हेट फिलिङ’ (घृणाको अनुभूति) बोकेका यी सिनेमाले मुस्लिमप्रति चरम घृणा फैलाउँछन्, विभाजन चर्काउँछन् र अन्ध राष्ट्रवाद बढाउँछन् । कसरी फिल्मले राजनीति र धर्म बोक्छ अनि घृणा, द्वन्द्व चर्काउँछ ? यो जान्न पनि यी सिनेमा हेर्नुपर्छ ।

प्रकाशित : असार ३२, २०७९ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?