कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

युद्धमा देखाइएका सपना

गंगा बीसी

माओवादी ‘जनयुद्ध’ को फरकफरक परिभाषामध्ये एक हो– युद्धको रहस्य । सुरुवाती दिनमा खासगरी युवायुवती युद्धको परिभाषा नबुझी लडाइँमा होमिए, उनीहरूलाई युद्धको रहस्यले कसरी आकर्षित गर्‍यो ? युद्ध आफैँमा एक शक्ति भएका हुनाले त्यसले युवाहरूलाई तान्नु स्वाभाविक थियो ।

युद्धमा देखाइएका सपना

युद्धमा उठेका बन्दुक नै रहस्य भएपछि त्यसले युवायुवतीलाई जबरजस्त तान्यो । अझ माओवादीले ‘बन्दुकको नालबाट सत्ता जन्मिन्छ’ भन्ने नारा दिएपछि युद्धमा सामेल हुन युवाहरूको ताँती नै लाग्यो, जानी–नजानी । युद्धमा देखाइएका सपना कति पूरा भए ? कति पूरा भएनन् ? त्यो छुट्टै बहसको विषय बन्न सक्ला । सपना धेरै थिए । सपना बोकेर घरबाट भागी युद्ध मैदानमा होमिने युवायुवती यतिबेला वयस्क भइसकेका छन् । युद्ध समाप्त भयो, तर यद्धका घाउ, अपुरा सपना अझै छन् । युद्धका नायकहरू केन्द्र, प्रदेश र स्थानीय सरकारमा छन् । केही पात्र सडकमै छन् । सरकारमा भए पनि, नभए पनि युद्धका पात्रहरूसँग अझै अधुरा सपना छन् ।

तिनै अधुरा सपना भएमध्येकी एक हुन– सीता विक । जब माओवादी युद्ध सुरु भएको थियो, त्यसबेला त्यो रहस्यमय थियो । किनकि युद्धको यात्रा कहाँ गएर टुंगिने हो स्पष्ट थिएन । तर, युद्ध रोमाञ्चक यात्रा थियो । नौ कक्षा पढ्दै सीतालाई लडाकुले लगाएको कम्ब्याट र बोकेको बन्दुकले आकर्षित गर्‍यो । उनी युद्धमा होमिने पहिलो कारण त्यही थियो । घरबाट भागेर युद्ध लड्न जानु बाध्यताभन्दा रहर बढी थियो उनका लागि ।

१६ वर्षे युवती सशस्त्र युद्धमा होमिनु राजनीतिक कारण मात्रै हो भन्न मिल्दैन । उनलाई माओवादी सौन्दर्यशास्त्रले तानेको पनि होइन । उनलाई युद्धको क्रान्तिकारी ‘रोमान्टिसिज्म’ ले तानेको देखिन्छ । माओवादी युद्ध, हतियार, सांस्कृतिक कार्यक्रम आदिले रोल्पा, रुकुममा जसरी युवायुवतीलाई आकर्षण गरेको थियो, त्यसरी नै सीतालाई सुरुमा आकर्षित गरेको देखिन्छ ।

सीताको किताब ‘जनयुद्धका संस्मरणहरू’ मा २०५६ देखि २०६३ सम्म उनले भोगेका ओरोह–अवरोहलाई डायरीका रूपमा प्रस्तुत गरिएको छ । १६ वर्षे उमेरमा युद्धमा होमिएकी एक युवती बटालियन कमान्डरले देखेको संसार र पुनःस्थापित संसदमा विधायकका रुपमा प्रवेश गरिसकेपछि देखेको सिंहदरबार उनलाई कताकता विरोधाभास लाग्छ । राज्यसत्ता कब्जा गर्ने सपना सिंहदरबार प्रवेशसँगै धर्मराएको उनले महसुस गरेकी छन् । माओवादीको न राज्य सत्ता कब्जा गर्ने नीति सफल भयो, न त्यतिबेला आफूले चाहेजस्तो प्रणाली तय गर्न सक्यो । संस्मरणमा उनी यस्तै महसुस गर्छिन् ।

‘जसरी सिंहदरबार प्रवेश गर्दाको जोस र जाँगर थियो, पछि बिस्तारै हराउँदै गएको महसुस हुँदै गयो । सामूहिक सोच विचारभन्दा व्यक्तिगत इच्छाआकांक्षाहरू विकास भएजस्तो, वर्गसंघर्षभन्दा वर्ग समन्वयतिर उन्मुख भएका हो कि जस्तो लाग्न थालेको छ,’ २५ पुस, २०६३ मा लेखेको संस्मरणमा उनले उल्लेख गरेकी छन् । हुन त २०६३ पछि माओवादी पार्टीमा अन्तरसंघर्ष यति चर्किएर गयो कि अन्ततः पार्टी विभाजन हुन पुग्यो । साम्यवादको सपना बोकेका ‘कमरेडहरू’ दायाँबायाँ लाग्दा सीता र उनका सहयात्रीले बोकेका सपना पनि त्यसरी नै तितरबितर भएका छन् ।

उनले युद्धकालीन जीवनमा जित–हारको राम्ररी महसुस गरेकी छन् । युद्धमा जित र हार स्वाभाविक मानिए पनि ‘जसरी पनि’ जित्ने सपना बोकेर हिँडेका माओवादी लडाकुका लागि हार स्वीकार गर्नु बलिदान दिनु थियो । दर्जनौं मोर्चामा सहभागी भएकी सीताका लागि रुकुमको खारा मोर्चा ठूलो क्षति थियो । उनका लागि मात्रै होइन, माओवादी ‘जनयुद्ध’ कै लागि ठूलो क्षति भयो त्यो । त्यस हारपछि माओवादीले युद्ध रणनीतिलाई बिस्तारै बदलेको थियो । २०६१ चैत २५ मा खारा आक्रमणमा सीता घाइते भइन् । दर्जनौं माओवादी मारिएको त्यो लडाइँको सम्झना उनका लागि आङै सिरिङ्ग पार्ने खालको छ । आँखै अगाडि साथीहरू क्षतविक्षत हुँदा देखिने दृश्य कल्पनाभन्दा बाहिर हुन्छ । तर, कतिपय नेताले त्यसलाई बेवास्ता गरेको टिप्पणी उनको छ । ‘लडाइँको मैदानमा कोही साथीहरू दृष्टिविहीन भए त कैयौंको अवस्था निकै दर्दनाक बनेर रहेको छ । यो कुरा आज आएर कसैकसैलाई कथाजस्तो लाग्न सक्छ,’ उनले महसुस गरेकी छन् ।

युद्धमा माओवादीले ‘वर्गीय प्रेम’ शब्द निकै चलाए । वर्गीय प्रेमअन्तर्गत विवाह पनि अभिन्न अंग मानिन्थ्यो । सीताको पनि युद्ध मोर्चामै विवाह भयो, युद्ध मोर्चामै विछोड । खारामा श्रीमान् जलनको मृत्युपछि उनले जीवनको नयाँ परिभाषा खोज्ने प्रयास गरेकी छन् । ‘आवश्यकतामा बलिदान दिनसमेत पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेर हामीले जनवादी विवाह गरेका थियौँ । विवाह गरेको आठ महिना नपुग्दै इतिहासले त्यो कुरा पुष्टि गर्‍यो । युद्ध आफैंमा निर्मम र कठोर हुँदोरहेछ,’ उनले लेखेकी छन् । सहिद लोग्नेका सपना साक्षी राखेर उनले २०६४ मा दोस्रो विवाह गरिन्, सहिद जलनका बुबाआमा (उनका सासू, ससुरा) लाई आमन्त्रण गरेर । नेपाली समाजमा पूर्वश्रीमान्का बुबाआमालाई साक्षी राखेर दोस्रो विवाह गर्नु परम्परागत समाजको रेखाभन्दा बाहिर थियो । राजनीतिक चेतना र युद्धले निम्त्याएको परिस्थिति चिर्दै उनले दोस्रो विवाह गरिन् । शान्ति प्रक्रियामा आइसकेपछि युद्धमा भएका धेरै अन्तरजातीय विवाहमा पनि विग्रह आएका छन् । सीताले शान्ति प्रक्रियामा आइसकेपछि अन्तरजातीय विवाह गरेकी थिइन्, जुन अन्तरजातीय विवाहविच्छेद गर्ने माओवादी कार्यकर्ताका लागि व्यंग्य थियो ।

युद्धमा देखेका सुन्दर सपना पूरा नभएपछि निदाउन नसकेका सीताहरूको एउटा समूह सडकमा छ, युद्धमा भएका बलिदानले अर्कोथरी सीताहरूको समूह सिंहदरबारमा मस्तसँग निदाइरहेको तीतो सत्य सबैसामु छ । १० वर्षे माओवादी युद्धले एउटा वर्गलाई सिंहदरबार र अर्कोलाई सडकमा झारिदिएको छ । युद्धका पात्र र प्रवृत्तिहरूबाट फेरि पनि ‘हुने खाने’ र ‘हुँदा खाने’ वर्ग जन्मिएको सीताको संस्मणमा व्यक्त भएको छ ।

२०५६ देखि २०६३ सम्म सीताले भोगेका युद्ध, प्रेम, विछोड, मिलन, विद्रोह, संघर्ष र रूपान्तरण जीवनका उतारचढाव हुन् । एक युवतीले यति धेरै परिस्थिति अनुभूति गर्नु यो पुस्तकको मुख्य विशेषता हो ।

प्रकाशित : असार ३२, २०७९ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?