कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३
किताब

सत्तालाई चुनौती दिने जनसाधारण

योगमायाले अनुयायीहरुसँग गरेको मृत्युवरण के राजनीतिक अवज्ञा थियो ? योगमायाले सुरू गरेको अभियानको परिणामपछि के भयो ? श्री सर्वार्थ योगवाणीका श्लोकहरुमा प्रतिविम्बित अन्तर्विरोधी चिन्तन योगमायाको हो वा लिपिबद्ध गर्ने दौरान सम्पादित भयो ?
अर्चना थापा

राष्ट्रिय, स्थानीय र सामूहिक स्मृतिहरूले देशको इतिहास बन्छ । किनकि एतिहासिक स्मृतिमा त्यस देशको समाज, परिवेश, संस्कृति, परिचय, परम्परा र घटनाहरूको स्पन्दन हुन्छ । त्यसैले प्रत्येक देश र जनसमुदायको आ–आफ्नो इतिहास हुन्छ । र, त्यो इतिहास आवश्यक हुन्छ । तर, इतिहास लेखनमा सत्ता र शक्तिको चलखेलका कारण र विभिन्न राजनीतिका कारण जहाँ केही स्मृतिहरूलाई आवश्यक ठानिन्छ, त्यहीँ अनावश्यक ठानिएका स्मृतिहरूलाई ‘इरेज’ पनि गर्ने काम हुन्छ । यदि ऐतिहासिक स्मृतिहरू सत्यपक्षीय र जनपक्षीय हुन्थे भने राष्ट्रिय इतिहासमा सीमान्तकृत समुदाय, श्रमजीवी समुदाय, महिला शोषण, दलित दलन र जनजातिहरूको इतिहासले पनि ठाउँ पाउँथे ।

सत्तालाई चुनौती दिने जनसाधारण

भोजपुरको मझुवाबेंसीलाई कार्यस्थल बनाएर जहानियाँ शासनमा फस्टाएको जातीय, लैंगिक र वर्गीय शोषण, उत्पीडन र भष्ट्राचारको विरुद्ध हुँकार गर्ने योगमायाले आफ्ना ६८ अनुयायीसँगै अरुण खोलामा हाम फालेको घटना असी वर्ष पनि पुगेको छैन । तर, योगमायाको जीवन अनुभव, आसाम प्रवासको अनुभव, जनचेतनाका लागि गरेको संघर्ष र तत्कालीन शासकसित गरेको सत्य–धर्म भिक्षाका सत्य–तथ्यहरूको विवरण ऐतिहासिक स्मृति र विस्मृतिको दोसाँधमा छ । विदेशी इतिहासकारहरूले नेपालको इतिहास लेखनको सुरुवात गरेको सय वर्ष जति हुन लागे पनि नेपाली इतिहासकारहरूले २००७ सालदेखि मात्र इतिहास लेख्न सुरु गरेका थिए ।

कथा, किंवदन्ती, प्राचीन स्तम्भ, अभिलेख, पुरातात्त्विक खोज र जनगीतजस्ता संकलित स्रोत र प्रमाणबाट किरातकाल, मल्लकाल, शाह र राणाकालको इतिहास लेखिए पनि निमुखा समुदायको प्रतिनिधित्व गर्ने योगमायाको इतिहास त्यति प्राचीन छैन । तर, पनि तत्कालीन इतिहासकारहरूले उनको इतिहासलाई लिपिबद्ध गर्न आवश्यक किन ठानेनन् ? जबकि अरू देशमा योगमायाभन्दा अघिका सत्ता विद्रोही महिलाहरूको संघर्षलाई त्यस देशको राष्ट्रिय इतिहासमा दर्ज गरिएको छ । उदाहरणका लागि, फ्रान्सेली क्रान्ति दौरान शासकको विरोधमा त्यहाँका महिलाहरूले निकालेको विरोध र्‍याली (सन् १७८९), अफ्रिकी मूलकी कार्लोटा लुसुमीले आफ्नो र अरू दासहरूको मुक्तिका लागि क्युबाको बगानमा गरेको विद्रोह (सन् १८४३), जिम्बावेमा उपनिवेशिक शासनको विरोध गर्ने नेहन्दा न्याकासिकानाको विद्रोह (सन् १८९६) र अरू थुप्रै उदाहरण छन् ।

आजको दिनमा हामी श्री सर्वार्थ योगवाणीमा उल्लिखित श्लोकका आधारमा, योगमायाका अनुयायी र आलोचकहरूको भनाइको आधारमा र प्राप्त केही ऐतिहासिक प्रमाणको आधारमा योगमायाको इतिहासलाई बुझ्ने र लेख्ने प्रयासमा छौं । उपलब्ध प्रमाण र स्थानीयहरूका ‘न्यारेटिभ’ का अनुसार थाहा हुन्छ– तत्कालीन समाजमा व्याप्त जातिप्रथा, सतीप्रथा र विभिन्न खाले दमन र शोषणको विरोध गर्ने योगमाया लोकतान्त्रिक संस्कृतिकी पक्षधर थिइन् । हुन त योगमायाले बाँचेको नेपाली परिवेशमा नारीवादी चिन्तनको उदय भएको थिएन र नारीवाद कुनै अटल, अपरिवर्तनशील चिन्तन पनि होइन । संकुचित नारीवादी व्याख्यानुसार, नारीमुक्तिका संवाहक नारीहरू मात्र नारीवादी हुन्छन् । तर, मेरो बुझाइमा पुरुष हैकमतन्त्रका सम्पूर्ण अभ्यास र विश्वासविरुद्धको अभियान नै नारीवादी अभियान हो, जसले नारी र पुरुष दुवैलाई पुरुष हैकमवादी सोच र चिन्तनबाट मुक्ति दिलाउँछ । तत्कालीन परिवेशको पुरुष प्रभुत्व रहेको सामन्ती व्यवस्था, ब्राह्मणवादी वर्चस्व रहेको सामाजिक र सांस्कृतिक आचारविचार, पुरुष प्रधान अर्थतन्त्र र न्याय व्यवस्था सबै पितृसत्ताकै परिणाम थिए । यदि योगमायाको विद्रोह तीप्रति लक्षित थियो भने योगमाया किन र कसरी नारीवादी भइनन् ?

योगमायाले बाँचेको रूढिवादी समाज र मध्ययुगीन सरहको सामन्ती संस्कृतिमा धर्म र पितृसत्ताको पकड बलियो थियो । तत्कालीन समाजमा पुरुष हुनका लागि पौरुष र वीरता आवश्यक थियो भने ‘आदर्श’ र ‘सुसंस्कृत’ खस–आर्य नारी हुनका लागि मौनता, धैर्य, सहनशीलता, सुन्दरता, कोमलता, गृहस्थ जीवनको चौघेरामा बाँधिएर ‘मालिक’ (पति) को सेवा र भार्याधर्मको पालना आवश्यक थिए । नारीको अस्तित्व पुरुषआश्रित थियो र नारीद्वेषी चलनहरूलाई प्राकृतिक मानिन्थ्यो ।

योगमायाले ती मान्यताहरूको अवज्ञा गरिन् । पतिआश्रित अस्तित्वलाई लत्याउँदै उनले आफ्नो स्वतन्त्र अस्तित्व रोजिन् । नारीमाथि लादिएको मौनताको नियमको उल्लंघन गर्दै योगमायाले आफ्ना विचारलाई श्लोक र भजनमार्फत सार्वजनिक वृत्तमा मुखरित गरिन् । आजको समयमा कुनै नारीले सामाजिक मान्यताविपरीत काम गर्‍यो भने उसको चरित्रहत्या गरिन्छ । ऊमाथि लाञ्छना लगाइन्छ र सामाजिक बहिष्करण गरिन्छ भने तत्कालीन समयमा योगमायाले कस्ता उपेक्षाहरू भोग्नुपर्‍यो होला ? प्रश्न उठ्छ, के यस्तै कारणहरूले गर्दा योगमायाको इतिहासलाई विस्मृतिको गर्भमा पुरिने प्रयास गरियो ?

श्री सर्वार्थ योगवाणीका श्लोकहरू मात्र पढेर योगमायाको जीवन, चिन्तन र विद्रोहको विश्लेषण गर्नु अनुपयुक्त हुन्छ किनकि ती श्लोकहरू उनकी छोरी नैनकलाको वाचनबाट लिपिबद्ध गरिएको हो । तसर्थ ती श्लोकहरू योगमायाको इतिहासको अपुरो पाटो हो ।

जबसम्म योगमायाको आसाम प्रवासको जीवन, उनले माग गरेको सत्य–धर्म–भिक्षाको सार, राणा सरकारमा चढाएको बिन्तीपत्रका २६ मागहरू र अन्य विवरण थाहा हुँदैन, हामीले योगमायाप्रति न्याय गर्दैनौं । योगमायाले आफ्ना अनुयायीहरूसँग गरेको मृत्युवरण के राजनीतिक अवज्ञा थियो ? योगमायाले सुरु गरेको अभियानको परिणामपछि के भयो ? श्री सर्वार्थ योगवाणीका श्लोकहरूमा प्रतिविम्बित अन्तर्विरोधी चिन्तन योगमायाको हो वा लिपिबद्ध गर्ने दौरान सम्पादित भयो ? यस्ता थुप्रै अनुत्तरित प्रश्नको जवाफका लागि योगमायाको विस्मृत इतिहासको उत्खनन आवश्यक छ ।

जब इतिहासको कुनै महत्त्वपूर्ण पात्रलाई ‘इरेज’ गर्ने प्रयास गरिन्छ भने ती मौन र विस्मृत हुन लागेका ऐतिहासिक सत्यतथ्यको खोजी गर्ने दायित्व सरकार र इतिहासकारको हुन्छ । किनकि समाजको इतिहास बुझ्न शासकको मात्र होइन, सत्तालाई चुनौती दिने जनसाधारणको इतिहास पनि आवश्यक हुन्छ ।

(हालै प्रकाशित किताब ‘जीवनी र मूल्याङ्कन योगमाया’ बाट)

प्रकाशित : असार २५, २०७९ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?