‘बसाइँ’ लाई पनि उपन्यास भनी पढ्यौं- कोसेली - कान्तिपुर समाचार

‘बसाइँ’ लाई पनि उपन्यास भनी पढ्यौं

दीपक सापकोटा

पाँच दशकदेखि कथा, कविता, उपन्यास, निबन्ध र नाटकमा विशिष्ट उपस्थिति देखाउने राजव बीस वर्षयता अमेरिकामा छन् । र, नेपाली साहित्यलाई निरन्तर आख्यानका नयाँ–नयाँ पुस्तक दिइरहेका छन् । जहाँ जान्छन्, त्यही समाजको सामाजिक संवेदनालाई कथ्य बनाउँछन् । आफ्नो भोगाइसँग मिसिएको समाजको सूक्ष्म पर्यवेक्षणलाई आख्यानका विविध उपकरण र प्रविधिले सुसज्जित तुल्याएर पाठकसम्म पुग्छन् ।

भर्खरै नेपालबाट दुस्साहसिक अवतारमा अमेरिका पुगेका नेपाली युवाका सपना र यथार्थको तीव्र घर्षणमा केन्द्रित उनको नयाँ उपन्यास ‘काफ्काको काम सकियो’ प्रकाशित छ । यस अन्तर्वार्तामा उनले उपन्यासलाई एक सिंगो घर र कथालाई त्यसको मात्र एक कोठाका रुपमा परिभाषित गरे । उनको विचार छ, ‘विश्व साहित्य जगत्ले स्विकारेको स्वरुपमा हाम्रा आख्यानहरु हुनु जरूरी छ ताकि तिनका अगाडि हाम्रो स्वरुपको उपस्थिति अप्राकृतिक, होचो र हास्यास्पद नहोस् ।’ आख्यानकार राजवसँग दीपक सापकोटाले गरेको वार्ता :

तपाईं निरन्तर आख्यान लेखिरहनुभएको छ । नेपाल, भारत र संसारभरिकै आख्यान पढिरहनुभएको छ । विश्व आख्यानको भूमिमा नेपाली आख्यान कहाँनिर उभिएको छ ?

आधुनिक आख्यान लेखनमा हामीले कलम चलाउन थालेको नौ दशक पूरा हुँदै छ । यस अवधिमा गुरुप्रसाद मैनाली, पुष्करशमशेर, विश्वेश्वरप्रसाद कोइराला, गोठाले, विजय मल्ल, रमेश विकल, पोषण पाण्डे हुँदै आजका लेखकसम्म आइपुग्दा तीबाट अन्य मुलुकसँग दाँजिन सक्ने धेरै अब्बल सिर्जना भएका छन् । यो मैले कथाको लेखन सन्दर्भमा मात्र भन्न खोजेको हुँ । किनभने कथाको तुलनामा हामीसँग संख्यामा पनि र स्तरमा पनि ओजपूर्ण उपन्यास कम छन् । नवीन अन्वेषण, यथार्थलाई खोतल्ने औजार र शिल्पमा हाम्रा आख्यान अझ राम्रा हुन सकेका छैनन् । यथार्थभित्र लुकेको सत्यलाई पर्गेल्न हामीले आफ्नै किसिमका उपकरण (टुल्स) र त्यसको प्रयोगको सीप अझ प्रखर रूपमा देखाउन बाँकी नै छ ।

कतिपय लेखकले कथालाई नै तन्काएर उपन्यास बनाएका उदाहरण छन् । कथा र उपन्यासको भेद के हो ? यी दुईबीचको भेद शब्द संख्या मात्रै हो कि अरू पनि केही छ ?

तन्काएर लेखिएको कथा लामो कथा बन्ला, तर उपन्यास बन्दैन । उपन्यास र कथाका आ–आफ्ना विधागत सीमा र मर्यादा छन् । नचाहेर पनि तिनको रूपविधानलाई मान्न जरुरी छ । कुनै समय हामीले ‘बसाइँ’ लाई पनि उपन्यास भनेर पढ्यौं, त्यसमा केही औपन्यासिक तत्त्व छ भनेर मान्यौं, अनि त्यसलाई उपन्यासको लघु स्वरूपमा राख्यौं । अब आएर त्यही स्वरूप र फैलावटको आख्यानलाई उपन्यास भन्न हिच्किचाउनुपर्छ । विश्व साहित्य जगत्ले स्विकारेको स्वरूपमा हाम्रा आख्यान हुनु जरुरी छ ताकि तिनका अगाडि हाम्रो स्वरूपको उपस्थिति अप्राकृतिक, होचो र हास्यास्पद नहोस् । आफ्नो आँतमा हजारौं शब्द बोकेर उपन्यास असीमित कुद्न सक्छ । तर, कथाले उपन्यासझैं मनलाग्दी कुद्न, उफ्रन पाउँदैन । यस तथ्यमा कथा आफ्नो स्वरूपमा खुम्चने र उपन्यास फुक्ने विधा हो । उपन्यासलाई स्वरूप अनुसारले लघुउपन्यास र उपन्यासमा वर्गित गर्न सकिन्छ । आर्किटेक्टको भाषामा भन्दा कथा घरको एउटा कोठा हो भने उपन्यास सिंगै घर हो । सिंगो घर र त्यसको एउटा कोठाबीच जत्ति फरक हुन्छ कथा र उपन्यासबीच त्यही किसिमको अन्तर हुन्छ ।

भिक्षु, गोठाले, बीपी, रमेश विकल, पारिजातदेखि पछिल्लो छिमलको नेपाली आख्यानलाई हेर्ने हो भने यसको स्तर खुम्चिँदै गएझैं लाग्छ । के यो खुम्चिएकै हो ?

समकालीन आख्यानलाई इंगित गर्ने कोसिसको सन्दर्भमा तपाईंको मनमा यस्तो प्रश्न जागेको होला । यो घच्घच्याउने प्रश्न हो । तर, के बुझ्नुस् भने आजका आख्यानकार आफ्ना पूर्वज आख्यानकारभन्दा स्तर र प्रयोगमा धेरै अगाडि बढिसकेका छन् ।

बजारलाई लक्ष्य गरेर बिकाउ ध्येयले लेखिने आख्यानका स्तरको चिन्ता नगरे हुन्छ । तपाईं– हाम्रो चिन्ता साहित्यिक उपन्यासबारे हो । एक वर्षमा मुस्किलले पाँच, छवटा साहित्यिक उपन्यास निस्कन्छन् । आजभन्दा तीन, चार दशकअघिको दाँजोमा यस संख्यालाई पनि धेरै मान्नुपर्छ । यी संख्यामा पनि दुईवटा मात्रै स्तरीय र प्रखर उपन्यास देखियो भने खुसी मनाउनुपर्छ । स्तर कायम गर्न अन्वेषण, मिहिनेत, धैर्य र अध्ययनको आवश्यकता पर्छ । कुनै कृतिमा रातारात स्तर आएको हुँदैन । ‘माधवी’, ‘सुम्निमा’, ‘अलिखित’, ‘खैरेनीघाट’, ‘अविरल बग्दछ इन्द्रावती’, ‘पर्खालभित्र र बाहिर’, ‘तोरीबारी, बाटा र सपनाहरू’, ‘अलिखित’, ‘प्रेतकल्प’, ‘लू’, ‘रणहार’ लगायत उपन्यासको स्तर रातारात बनेको होइन । यसपछाडि त्यस कृतिका लेखकको काफी समय अध्ययन, अनुसन्धान, प्रचुर लेखनश्रममा बितेको छ ।

संसारभरिकै आख्यान खुम्चिँदै गएको हो कि ? नत्र ‘अन्ना कारेनिना’ वा ‘वार एन्ड पिस’ अथवा ‘उजेनी ग्रान्दे’ र पछिल्लो अवधिको ‘वन हन्ड्रेड इयर्स...’ जस्ता कृति आज किन सिर्जना भएनन् ?

बिलकुल होइन । यो निवृत्त हुने बेलाको थाकिसकेको बूढो शिक्षकको जस्तै कुरो भयो । स्वभावतः पहिलेको दाँजोमा आज हरेक देशको आख्यान लेखनको स्तर र संख्या माथि उठेको र बढेको छ । त्यसकारण गाब्रियल गार्सिया मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’, ‘लभ इन द टाइम अफ कलेरा’, ‘द अटम अफ प्याट्रियार्क’ स्तरका उपन्यास किन लेखिएन भन्ने प्रश्न नउठ्नुपर्ने हो । यता केही वर्षमा रोबर्टो ब्लानो, पल अस्टर, सलमान रुस्दी, ओह्रान पामुक, जोनाथन ह्र्‍यान्जेन, हारुकी मुराकामी, काजुकी इस्वरगो, कोल्सन ह्वाइटहेड आदि अनेक लेखकका एक से एक उपन्यास हाम्रा सामुन्ने आइरहेका छन् ।

पछिल्लो समयको नेपाली आख्यान र समग्र साहित्य नै लोकप्रियतामुखी हुँदै गएको देखिन्छ । लेखकमा तत्काल चर्चित भइहाल्ने र बिक्री हुने लोभ अचाक्ली देखिन्छ । यसले नेपाली साहित्यमा कस्तो प्रभाव पार्ने देख्नुभएको छ ?

स्तरीय भएर लोकप्रिय हुनु वा त्यस्तो हुने कोसिस गर्नुमा म कुनै खराबी देख्दिनँ । असल कृतिले अत्यधिक बिक्री होस् भन्ने चाह राख्नु जायज हुन्छ । तर, कृतिको तौलभन्दा चर्चा र बिकाउ हुने कोसिसमा अनेक स्टन्ट गर्नु खराब हो । यसले सुरुमा माछोमाछो पछि हुँदा भ्यागुतो देखिने उखान चरितार्थ गर्छ । यस्तो शैलीले लेखकको व्यक्तित्वको भविष्य र विश्वसनीयतालाई जोखिममा पार्छ ।

सस्तो लोकप्रियता तात्कालिक हुन्छ, गम्भीरताले दीर्घजीवन प्राप्त गर्छ । धेरै बाँच्नु र च्याउझैं छिट्टै उम्रनु र सड्नुमा फरक हुन्छ । यो नबिर्सौं ।

तपाईं काठमाडौंको मरुटोलमा जन्मे–हुर्केको मान्छे । तर, तपाईंको आख्यान तराई–मधेसदेखि अमेरिकी समाजसम्म फैलिएको छ । यसरी बिलकुल नयाँ भूमिको जनजीवनमाथि आख्यान लेख्न कुन विषयमा ध्यान पुर्‍याउनु जरुरी छ ?

लेखन कथ्यमाथिको दृष्टिकोण र संवेदनात्मक कलाचेतले डोरिएको हुन्छ । दृष्टिकोण र संवेदनात्मक चेत भएन भने आफ्नो कथ्यको ठीक पहिचान गर्न सकिन्न । यस्तो पहिचान आफू बाँचेको जीवनको परिवेश र भोगाइबाट मात्र सम्भव हुन्छ । यसमा कल्पनाले केही गर्न सक्दैन । कल्पना कथ्य विस्तारको सहायक हुन सक्छ, सम्पूर्ण हुन सक्दैन । कल्पना कथ्यलाई बाटो लाउने कुरो मात्र हो । मुख्य कुरो भोगाइ, दृष्टिकोण र संवेदनात्मक तीव्रता नै हो ।

हेर्नुस्, म काठमाडौंको मरुटोलमा जन्मेको त अवश्य हुँ, तर मलाई काठमाडौं सहरले मात्र होइन यसको काँठ डाँछीले र मधेसको बन्जरिया गाउँले पनि हुर्काएका हुन् । मामाघर नुवाकोटको खानी गाउँले पनि मलाई हुर्कायो । मेरो हुर्काइमा यी परिवेशको गहिरो भूमिका छ । पुर्ख्यौली बसाइ र हाल आफ्नो चाहले अमेरिका बसाइकै कारण मेरा लागि यो सम्भव भएको हो । नेवारी–भोजपुरी दुवै मेरा प्रिय भाषा हुन् । थोरबहुत यी भाषा बोल्छु, बुझ्छु । यी दुवै भाषामा हुर्किएको, बढेको हुँ ।

त्यसैले आख्यानमा काठमाडौंको गल्ली, काँठ र मधेसको गाउँ, तिनका भाषा र अमेरिकी परिवेश सहज रूपमा प्रकट हुन पायो । म आफ्नो परिवेशविमुख हुने लेखक होइन । सुरुदेखि नै परिवेशको इमानदारी र वर्गीय चेत मेरो लेखनमा रहन थालेको हो ।

आख्यानका लागि पछिल्लो समय दक्षिण अमेरिका र अफ्रिका सबैभन्दा उर्वर भूमि मानिएका छन् । तपाईंको विचारमा त्यहाँका आख्यान यति उर्वर हुनुमा कुन खास खास तत्त्वले भूमिका खेलेका होलान् ?

शिक्षा र आर्थिक रूपले समुन्नत भएरै साहित्य उर्वर हुने हो । गरिबी, अशिक्षा, रोग, भोक र औपनिवेशिक दासत्वको मार झेलिरहेको मुलुकमा साहित्यको दर्जा धेरै तल हुन्छ । त्यसको प्राथमिकतामा अन्न, पानी, औषधिमुलोहरू पर्छन् । कथा, कविता, उपन्यास त्यसको पठन प्राथमिकतामा कम पर्छन् । तर, यस्तो विषम स्थितिमा बाँचेको समाजभित्र आफ्ना पीडाको अभिव्यक्तिका लागि छटपटाइरहेका लेखक कवि, कलाकार थुप्रै हुन्छन् । कथ्यको सन्दर्भमा भन्ने हो भने जति पीडा र यन्त्रणा लेखकले भोगे–देखेको हुन्छ उसको अभिव्यक्ति त्यत्तिकै मार्मिक र तीक्ष्ण हुन्छ । दक्षिण अमेरिकी र अफ्रिकी मुलुकहरू प्रायःले उपनिवेशको दासत्व भोगेका छन् । ती सबै मुलुक एक समयका बेलायत, जर्मनी, स्पेन, फ्रान्सजस्ता विस्तारवादी देशका उपनिवेश हुन् । तिनको घरेलु भाषा पनि अंग्रेजी, फ्रेन्च, जर्मन, स्पेनिस हुन पुग्यो । अहिले सबै ल्याटिन अमेरिकीहरूको मातृभाषा स्पानिस भएको छ । त्यस्तै कतिपय अफ्रिकी मुलुकका प्रमुख भाषा अंग्रेजी, फ्रेन्च, जर्मन र पोर्चुगिज भएको छ । स्वभावतः तिनको अभिव्यक्तिको माध्यम पनि औपनवेशिक दासत्वले लादेको अंग्रेजीजस्ता भाषा नै हुन पुगे । ती भाषाले गर्दा तिनको लेखाइ विश्वभर फैलने मौका पायो । र, तिनलाई हामीले देख्न, पढ्न सक्यौं । त्यसैले त्यताको लेखाइ उर्वर देखियो । स्वाहिली, क्रोयलजस्ता आ–आफ्ना मातृभाषामा लेख्ने अवश्य थुप्रै राम्रा अफ्रिकी आख्यानकार छन् । तर, भाषाकै कारण ती विश्व पाठकको पहुँचमा पुग्दैनन् । पुगे पनि अनुवादको माध्यमले एकदम ढिलो पुग्छन् । वोल सोयन्का, न्गुगिवा तियाङ्गो, अब्दुल रजाक गुह्रान, बेन ओकरी, नुरुद्दिन फराह, अबी डारे, चिमामान्डा गोजी अदिची यी सब अंग्रेजीमा लेख्छन् । त्यसकारण ती छिट्टै चिनिए । उन्नत देशका भाषाहरूमा लेख्ने भएकाले तिनको प्रचारप्रसार र पाठक संख्या विश्वव्यापी हुन पुग्यो । वास्तवमा औपनिवेशिक दासताबाट मुक्त भएपछि ती कतिपयले औपनिवेशिक समयको अत्याचार, दमन र दासत्वमाथि खुलेर लेख्न थाले । तिनका आख्यानलाई तिनैका आक्रान्ता देशहरूले प्रशंसा गर्न थाले । र, पुरस्कृत पनि गर्न थाले । उत्तरऔपनवेशिक लेखनको यो एउटा विडम्बना नै हो ।

संसारकै सर्वश्रेष्ठ आख्यानकार तपाईंको नजरमा को हुन् ? संसारकै सर्वश्रेष्ठ आख्यान कृति कुन होला ?

साहित्यमा यो सर्वश्रेष्ठ भन्ने भद्दा शब्द हो । त्यसकारण अब यसको प्रयोग नगरौं । हाम्रा लागि गोर्की, टल्सटय, दस्तोबस्की, तुर्गनेभ, चार्ल्स डिकेन्सन, गुस्ताव फ्लुबर्ट, फ्य्रान्ज काफ्का, जेम्स ज्वाएस, डीएच लरेन्स, भर्जिनिया वुल्फ, राल्फ एलिसन, गार्बियल गार्सिया मार्खेज, हारुकी मुराकामी, सलमान रुस्दी, मारियो भर्गिस लोसा, पल अस्टर, रोबर्टो ब्लानो, कोरम्याक म्याकार्थी आदि अनेक श्रेष्ठ छन् ।

यिनको ‘मदर’, ‘वार एन्ड पिस’, ‘अन्ना कारेनिना’, ‘फस्ट लभ’, ‘द ब्रदर्स कारमाजोभ’, ‘क्राइम एन्ड पनिस्मेन्ट’, ‘आवर म्युचुवल फ्रेन्ड’, ‘म्याडम बोभरी’, ‘प्राइड एन्ड प्रिजुडिस’, ‘मेटामर्फोसिस’, ‘ट्रायल’, ‘अमेरिका’, ‘युलिसिस’, ‘ओमन इन लभ’, ‘रेन्बो’, ‘द लाइट हाउस’, ‘इन्भिजिवल’, ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड,’ ‘द अटम अफ पाट्रिआर्क’, ‘वाइल्ड सिप चेज’, ‘मिडनाइट्स चिल्ड्रेन’, ‘फिस्ट अफ गोट्स’, ‘४३२१’, ‘द न्युयोर्क ट्रिलोजी’, ‘स्याभेज डिडेक्टिभ’, ‘ब्लड मेरिडेन’ पढ्दा राम्रो । छनोट आ–आफ्नो हुन्छ ।

अनि नेपालका सर्वश्रेष्ठ आख्यानकार र सर्वश्रेष्ठ आख्यान कृति ?

हाम्रा अग्रज आदरणीयहरू गुरुप्रसाद मैनाली, पुष्करशमशेर, भवानी भिक्षु, विश्वेश्वरप्रसाद कोइराला, हृदयचन्द्रसिंह प्रधान, दौलतविक्रम बिष्ट, मदनमणि दीक्षित, रमेश विकल, पारिजात, ध.च. गोतामे, परशु प्रधान, ध्रुवचन्द्र गौतम, जगदीश घिमिरे, भाउपन्थी, मनु ब्राजाकी आदिका कथा उपन्यास पढ्न जरुरी मान्छु । कालजयी उपन्यास मान्नुपर्ने ‘आगत’, ‘सुम्निमा’, ‘मोदिआइन’, ‘एक चिहान’, ‘ज्योति ज्योति महाज्योति’, ‘माधवी’, ‘अविरल बग्दछ इन्द्रावती’, ‘शिरीषको फूल’, ‘घामका पाइलाहरू’, ‘लिलाम’, ‘साविती’ पढ्नु जरुरी छ । हाल लेखिरहेका पुरानो र नयाँ पुस्ताका नारायण ढकाल र उनको ‘प्रेतकल्प’, गोविन्दराज भट्टराई र उनको ‘मुगलान’, नयनराज पाण्डे र उनको ‘लू’, सरुभक्त र उनको ‘चुली’, कृष्ण धरावासी र उनको ‘राधा’, नारायण वाग्ले र उनको ‘पल्पसा क्याफे’, राजन मुकारुङको ‘दमिनी भीर’, योगेश राजको ‘रणहार’, बुद्धिसागरको ‘कर्नाली ब्लूज’ र बसन्त बस्नेतको ‘महाभारा’ पढौं ।

नेपाली आख्यानका आशाका झिल्काहरू केही छन् कि ? कथा र उपन्यासमा नयाँ पुस्ताबाट के अपेक्षा गर्न सकिन्छ ? तिनले कुन कुरामा ध्यान दिनु जरुरी छ ?

अहिले धेरै राम्रा युवा लेखक प्रकाशनमा आइरहेका छन् । यो क्रम बढिरहेको छ । यो एकदम सुखद पक्ष हो । विशेषतः हरेक युगको लेखकले आफ्ना अग्रजहरू पढ्ने जाँगर लगाउनु पर्छ । र, आफ्नो छुट्टै बाटो पहिल्याउनुपर्छ । आफ्नो परम्परा र अग्रजलाई बुझे आफूले के नयाँ गर्ने, कसरी नयाँ हुने भन्ने ज्ञान स्वतः खुल्छ । अन्धकूपको आत्मश्लाघायुक्त भ्रमबाट मुक्त हुइन्छ । यसको फल नेपाली साहित्यले नवीन योगदान पाउँछ ।

‘काफ्काको काम सकियो’ मा यथार्थ र फ्यान्टासीलाई घोलघाल गर्नुभएको छ । फ्रान्ज काफ्काको ‘मेटामर्फोसिस’ को मान्छेबाट अजंगको कीरामा रूपान्तरित ग्रेगर साम्सालाई पात्र बनाउनुभएको छ । र, सँगै काफ्का पनि पात्र छन् । यसमा कुन फ्यान्टासी, कुन यथार्थ कसरी छुट्याउने होला ?

यथार्थ र फ्यान्टासीको सम्मिश्रणमै लेखेको हुँ यो उपन्यास । यसमा काफ्का र ग्रेगर साम्साको उपस्थिति अनि यसका प्रमुख पात्र रामदुलार भेडिहर र पर्वतरमण उपाध्याय पौडेल नेपालदेखि अमेरिकासम्म साङ्लो कायामा रहुन्जेलसम्मको अवस्थितिको सम्पूर्ण बयान फ्यान्टासीमै छ । यस अवधिको बीचबीचमा यथार्थ स्थितिहरूको प्रवेश पनि भइरहन्छ । विशेषतः उपन्यासमा फ्यान्टासी र यथार्थको आहोरदोहोर चलिरहन्छ । यसमा वर्णन गरिएका नेपाल, अमेरिका र मेक्सिकोका अधिकांश लोकेल वास्तविक छन् । केही लोकेल वास्तविकतासँग मेल खाने यथार्थ बयानमा छन् । कतिपय लोकेल फ्यान्टासीका छन् ।

कवि हरिशरण परियारको कविता–किताब ‘कैंची’ को विमोचनमा लेखक आहुतिले भनेका छन्, ‘विदेश बस्नु भनेको नेपाली समाजबाट कट्दै जानु, स्मृतिबाट विस्मृत हुँदै जानु हो ।... असाध्यै कम राम्रा लेखकले मात्रै विदेश बसेर आफ्नो ज्यान जोगाएका छन् । तिनलाई म राम्रो सिर्जना गरेको भन्दिनँ, ज्यान जोगाएको भन्छु । धेरै उन्नत स्तरको कलाचेतना भएका लेखक हुनुहुन्छ राजव । तर, उहाँको विदेश पलायनमा उहाँ ज्यान जोगाउने काम मात्रै गरिरहनुभएको छ ।’ खुलस्त भनिदिनुस् त– के तपाईंले अमेरिका बसेर ‘ज्यान जोगाउने काम’ मात्र गरिरहनुभएको छ त ?

मानिसका अरू धेरै किसिमका ज्यानहरू हुन्छन् । ती सबको जोडमा मानिस जीवन्त हुन्छ । मानिससँग वैचारिक ज्यान हुन्छ । राजनीतिक ज्यान हुन्छ । सांस्कृतिक ज्यान हुन्छ । साहित्यिक ज्यान हुन्छ । ऊ जहाँ जहाँ जान्छ आफ्ना यी सब ज्यानहरूका साथ पुगेको हुन्छ । ती ज्यानहरूमध्ये आहुतिजीले साहित्यिक र वैचारिक ज्यानको सन्दर्भमा त्यसो भन्नुभएको हो भने ठीक भन्नुभयो । किनभने म अमेरिका आएर मैले आफ्नो वैचारिक र साहित्यिक ज्यानलाई बिसाएको, सेलाएको छैन । यहाँ आएर मेरो साहित्यिक ज्यान अझ बलियो, दरिलो भएको छ । नेपालका सरकारी स्तरका पद र पुरस्कारको महामारी र आक्रमणबाट म जोगिएको छु । कतिपय कट्टर प्रतिबद्ध भनिनेहरूको वैचारिकता सरकारी पुरस्कार र पदले घायल भएको देख्दै नै छु । म त्यस्तो घायल हुनबाट जोगिएको छु । यस अर्थमा ठीक भन्नुभयो आहुतिजीले । आहुतिजी पनि अहिलेसम्म त्यस्तो सरकारी पद र पुरस्कारबाट घायल हुनुभएको कुरो मैले सुनेको, पढेको छैन । उहाँ सरकारी पुरस्कार र पदले भत्किनुभएको भए पनि मलाई भन्नु केही छैन । आफनो इच्छा र छनोटमा मान्छे स्वतन्त्र हुन्छ । यस सन्दर्भमा लेखक कविहरू पनि अपवादमा पर्दैनन् ।

बहस भइरहने एउटा प्रश्न सोधौं– लेखक सत्तापक्ष  हुनुपर्छ कि सत्ताविरोधी ?

लेखक विपक्षमै बस्नुपर्ने परिभाषाको प्राणी हो । विपक्षको उच्चासनबाहेक लेखकको लागि कुनै अर्को बेइमानीको होचो आसन बनेको छैन । शासकीय अन्याय, अत्याचार, दमन, सामाजिक विभेद, शोषणको विरुद्धमा बोल्नु, लेख्नु लेखक हुनुको पहिलो सर्त र अपेक्षा हो । सत्ताको पक्षधर हुनुबित्तिकै उसको लेखकीय प्रतिबद्धता र इमानदारी झ्वाइँ हुन्छ । पदमा साटिएपछि उसले आफ्ना अभीष्टहरू पूरा त गर्ला, तर ऊ लेखक हुनुको गरिमाबाट च्युत हुन्छ नै । विशेषतः उसले पाठकहरूको विश्वास गुमाउँछ । पाठकको आत्माबाट उसप्रति रहेको सम्मानको आत्मा उड्छ । लेखकको आफ्नै सत्ता हुन्छ । उसको त्यो सत्ताको नाम विपक्ष नै हो । आफ्नो यस सत्ताबाट च्युत भएपछि ऊ बकबास लेख्न थाल्छ । इमानदार लेखक खिच्चाझैं सत्ताको घर दैलो ढुक्दैन ।

भर्खरै कुरा गरियो– ‘काफ्काको काम सकियो’ मा लगभग शताब्दीअघि संसारबाट बिदा भइसकेका काफ्का र उनको ‘मेटामर्फोसिस’ को ग्रेगर साम्सा उर्फ कीरा पात्र छन् । समीक्षक भन्छन्– यो समयका धेरै आख्यानमा मान्छे छैनन् र तिनको जीवनभित्र प्रवेश गरिएको छैन । कतै अहिले आख्यान विघटन भइरहेको त छैन ?

हेर्नुस् मेरो आजसम्मको लेखनको केन्द्रमा क्रूरताबीच यातना सहेर बाँच्न विवश समाजका बन्चित र शोषित पात्रहरू नै छन् । सुरुसुरुका मेरा कथाहरू ‘रोलर’, ‘छ मन धानको संकेत’, ‘समय पीडा’, ‘हाफ क्याबी’, ‘क्रूर गद्य’ र त्यसपछिका वा हाल अमेरिकी परिवेशमा लेखिएका कथा पढ्नुस्, तिनमा अनेक परिस्थितिले सताइएका मानिसकै पीडा र सास्ती पाउनुहुनेछ । मेरो प्रतिबद्धता समाजका प्रताडित मानिसहरूको संघर्ष र पीडा खोतल्नु र तिनको पक्षमा प्रतिरोध गर्नु हो । ‘काफ्काको काम सकियो’ मा पनि यो समयको क्रूरताले विचलित आजको मानिसका संघर्ष र यातना नै छ । त्यसका मुख्य पात्रहरू रामदुलार भेडिहर र पर्वतरमण उपाध्याय पौडेल व्यवस्थाको क्रूरताले बेरोजगारीको बिचल्लीमा परेर जुनसुकै रूपमा पनि पलायन हुन बाध्य यो समयका प्रतिनिधि पात्र हुन् । काफ्का, ग्रेगोर साम्सा र फ्यान्टासीलाई तिनका पीडा, यातना, विवशता, साहस र हतास महत्त्वाकांक्षा देखाउने टुल्स बनाएको हुँ ।

प्रकाशित : असार २५, २०७९ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्

त्रिवेणीघाटको निशाचर

पनौतीको त्रिवेणीघाटमा माघको पहिलो प्रहरबाटै छिर्दै छ, मकर मेला । १२ वर्षे कुम्भपर्वको स्वागतमा हात फैलाएर तमतयार छ, पनौती सहर । भक्तजनले महिनादिनसम्म रोसी र पद्मावतीको संगममा आस्थाको डुबुल्की मार्दै गर्दा यो घाट स्वयं भने एकपटक फेरि आफ्नै इतिहासले नुहाउनेछ । त्यो इतिहासले त्रिवेणीको कथा मात्र भन्दैन, यसैले सिञ्चन गरी बसाएको पनौती सहर, संस्कृति अनि विकसित मानव–समाजको पनि सविस्तार बयान गर्छ ।
दीपक सापकोटा

त्रिवेणीघाट मान्छेको जिन्दगीजस्तै छ– कहिले सरस, कहिले नीरस, कहिले उज्यालो, कहिले अँध्यारो, कहिले भाव, कहिले अभाव, कहिले गुलजार, कहिले सुनसान ! यो घाटका आफ्नै खुसी छन्, आफ्नै दुःख छन् ।

‘मकरमासमा त्रिवेणीमा दूध बग्छ !,’ ठिहिर्‍याउने माघमा अँगेनावरिपरि बसेका हामी भुरालाई हजुरआमा भन्नुहुन्थ्यो ।

प्रायः सपनामा म उत्तरप्रयाग र शचीतीर्थ पनि भनिने पनौतीको त्रिवेणीघाट पुगिरहेको हुन्थेँ । स्वप्नविचरणमा घाटको बगरमा दौडिरहेको हुन्थेँ । कहिले जलिरहेको चिताअघि टक्क उभिन्थेँ । अर्को क्षणमा देह भस्म भइसकेपछि पानी खन्याइएको भकारीबाट उड्ने बाफको अनौठो गन्ध सुँघिरहेको हुन्थें । कतिपटक म निशाचरझैं राति अबेरसम्म घाटको आसपास घुमिरहेको हुन्थेँ । मेरो आँखाअगाडि त्रिवेणीघाटमा पानीको सट्टा दूध बगिरहेको हुन्थ्यो । मलाई थाहा छ– सपनाको सन्देश हुन्छ, इतिहास हुँदैन ।


सन् २०२० । तस्बिर : प्रशान्त श्रेष्ठ

हजुरआमा भनिरहनुहुन्थ्यो, ‘माघ महिनाभर चल्ने मकर मेलामा त्रिवेणीघाटमा नुहायो भने सबै पाप नष्ट हुन्छन् ।’ विक्रमको २०५४ र २०६६ सालको मकर मेलामा पिताजीको पछि लागेर त्यहाँ पुगेको मैले पनि स्नान गरेको थिएँ । के म पापमुक्त भइसकेँ ?

हजुरआमासँग जिउँदै थिए जादूमय लोकका कथा, मिथक र किवंदन्ती– पुराना मान्छेबाट सुनेका वा गाउँघरमै बुनिएका । अनि अरूलाई (सायद नाति–नातिनालाई) सुनाउन जतनसाथ राख्नुभएको थियो कथाहरूको कुटुरो ! हजुरआमाले सुनाएका कथाको पछिपछि लागेर म निस्किएको छु मिथक र किंवदन्तीको यात्रामा !

धेरैपछि म उस्तै बाल्यभावमा यस घाटको एकछेउ उभिएको छु । कुनै बेला समयको लय व्यर्थ हुनेगर्छ । निकैबेरदेखि नदी बगिरहेको हेरिरहेछु ः बस् नदी त बगिरहेछ । सामुन्नेको कृष्ण मन्दिरका ‘देवता’ ले पनि नदी बगेको हेरिरहेका होलान् । जैविक आनन्द ओढेर मग्न रहनेहरुका लागि घाट र नदीको भाषा केही क्रूर जरुर हुन्छ, तर जीवनान्तर अस्तित्वको आराधना गर्नेका लागि त्यही वातावरणमा अनौठो मन्त्रमुग्धता हुन्छ । नदीको वेगमा प्रतिपल नयाँ कथाले जन्म लिन्छ । मस्तिष्कमा अभिलेख नभएका नयाँ ‘देवता’ ले पनि एकैछिनमै जन्म लिन्छन् ।

त्रिवेणी र पनौती सहरलाई जान्न शताब्दियौँ पुराना आख्यान र किंवदन्तीहरूमा प्रवेश गर्नुपर्छ । तिनमा इतिहास लुकेको छ र इतिहासलाई कब्जा गरिबस्ने राजाहरू यहाँ पनि छन् । तर, पनौतीमा राजाका मात्रै कथा छैनन्, प्रजाका परिश्रमका किस्साहरू पनि छन् । यहाँ आफ्ना तिलस्मी कथाहरू साधेर बसेका ‘देवता’ हरू पनि छन् । त्रिवेणीघाट जिन्दगी र मृत्युको एउटा साँघु हो, जसले अस्तित्व र अनस्तित्वको मैत्रीबाट बनेका रहस्यमय कथा–किंवदन्तीलाई आवागमन गराइरहन्छ ।

रोसी र पुण्यमाता नदीको यो जोड जीवन र मृत्युको संगम पनि हो । यी नदीको उद्गम पहाडबाट खसिरहेको कञ्चन झरना हो । निम्छरो घामको आड लागेर म हेरिरहेछु– पुण्यमाता मिसिएपछि झनै रौसिएको रोसी । रोसी त्रिवेणीघाटबाट थोरै पूर्व लागेर दक्षिणतिर सोझिएको छ । अलिकति पर पूर्वतिर पस्थली र खोपासीका फाँटहरूलाई काटेर यसले गहिरा खोँच बनाएको छ । खोँचमाथि परपरसम्म फैलिएको फाँटको डिलमा घामका पहेँला किरण नाचिरहेका छन् ।

काठमाडौंबाट ३२ किमि दक्षिणपूर्वको काभ्रे जिल्लामा पर्ने पनौती सहर र त्रिवेणीघाटबारे ‘नेपाल महात्म्य’ मा पनि लेखिएको छ । धार्मिक ग्रन्थहरूमा पनौतीको संगमस्थल इन्द्रकी पत्नी शचीका नामबाट शचीतीर्थका रूपमा स्थापित छ । स्थानीय बासिन्दा यसै घाटलाई त्रिवेणीघाट वा त्रिवेणीधाम भन्छन् ।


त्रिवेणीघाट– सन् १९७६ । तस्बिर : जेरार्ड तोफाँ

‘वासिङ सिन्स : द मेकर मेला पिल्ग्रिमेज अफ पनौती, नेपाल’ शीर्षक लेखमा फ्रान्सेली मावनशास्त्री जेरार्ड तोफाँ लेख्छन्, ‘स्थानीय वंशावलीहरूमा यो क्षेत्र भारत, अलाहबादस्थित गंगा, यमुना र सरस्वती नदीको संगमस्थल प्रयाग क्षेत्रझैं पवित्र मानिन्छ । भारतमा प्रयागको जति महत्त्व छ, त्यति नै महत्त्व त्रिवेणीघाटको नेपाली समाजमा छ । नेपाल महात्म्यमा त्रिवेणीघाटलाई १६६ मुख्य तीर्थस्थलमध्ये एकका रूपमा वर्णन गरिएको छ ।’ घाटको ठीक सामुन्नेमा छ– कृष्ण मन्दिर । पारिपट्टि छ– ब्रह्मायणी मन्दिर । यो अद्भुत घाटको सेटिङ, डिजाइन र किंवदन्तीको प्लटले कुनै पनि मानिसलाई मन्त्रमुग्ध पार्न सक्छ ।

पनौतीको त्रिवेणी त्यस्ता घाटमध्ये एक हो, जसले आफ्नो मात्रै कथा सुनाउँदैन, आफूले सिञ्चन गरी बसाएको पनौती सहर, त्यसको इतिहास, संस्कृति, देवस्थल अनि त्यहाँ विकास भएको मानव–समाजबारे सविस्तर बयान गर्छ । यो घाट इतिहासको परिधिमा रहेर पनि समयातीत छ ।

मकरमासका बखत त्रिवेणीघाटको नदीमा पानीको सट्टा दूध बग्ने मिथक–कथा ! घाटमा नुहाएपछि पाप नष्ट हुने विश्वास ! एउटा बालकले झैँ म कहिलेकाहीँ सोच्छु– के कुनै सुदूर अतीतमा यहाँ दूध बग्थ्यो ? लेखक कृष्णप्रकाश श्रेष्ठले ‘स्थाननामकोश’ मा लेखेका छन्, ‘मकरमासमा यस त्रिवेणीमा दूध बग्छ भन्ने जनधारणा छ (पृष्ठ. २३३) ।’

हुन पनि मान्छेको सभ्यता विश्वास, अविश्वास र अन्धविश्वासको त्रिवेणी हो । त्रिवेणीघाट त्यसको प्रमाण हो । कसैको विश्वास, कसैको अविश्वास त कसैको अन्धविश्वास हुनु सभ्यताको निरन्तर सत्य हो । यही सत्यका कारण सभ्यता कहिल्यै समान प्रवाहमा छैन । सभ्यता निर्द्वन्द्व कहिल्यै हुन सक्दैन, त्यसका द्वन्द्वका रहस्यहरूलाई धर्मले मेटाइदिन्छ । त्यसपछि प्रश्नहरू निरञ्जन–निराकार बनेर विलय हुन्छन्, जसरी विश्वास, अविश्वास र अन्धविश्वास सबै बोकेर मानिसको लर्को त्यहाँ पुगेर विलय हुन्छ ।

त्रिवेणी अन्यत्र पनि छन् । तर, यहाँको त्रिवेणीमा एउटा खास रहस्य त यसको नाममै छ । त्रिवेणी भनिए पनि यहाँ दुईवटा नदीको मात्रै संगम देखिन्छ– रोसी (लीलावती) र पुण्यमाता (पद्मावती) । तर, स्थानीय बूढापाका र तान्त्रिकहरू विश्वासका साथ भन्छन्– यहाँ तीनवटा नदी बग्छन् । त्यसो हो भने तेस्रो नदी किन देखिँदैन ? ‘इन्द्रायणीको तपस्याबाट प्रसन्न भएकी पार्वती नदीका रूपमा बग्न थालेको हुनाले रुद्रवती भनिएको अनुश्रुति छ । रोसी र पद्मावतीको संगममा मिल्ने अर्को नदीलाई गुप्तवती पनि भनिन्छ (स्थाननामकोश) । र, मानिसहरू भन्छन्– रुद्रवती अर्थात् गुप्तवती गुप्त रूपमा बगिरहेकी छिन्, जुन सतहमा देखिन्नन् । ‘पनौतीका प्राचीन कथाहरू’ किताबका लेखक तुयुकाजी ताम्राकार भन्छन्, ‘गौतम ऋषिकी सुन्दरी पत्नी अहिल्याको रूपजालमा फसेर स्वर्गका राजा देवराज इन्द्रले हजार योनि हुनुपरेको र त्रिवेणीघाटमा स्नान गरेपछि उनी श्रापयोनिबाट मुक्त भएको कथा पनि यहीँ जोडिन्छ ।’

अनुसन्धाता भोगीराज चाम्लिङका अनुसार, रोसी खोलाले किराती र काठमाडौंलाई जोडेको छ । भन्छन्, ‘किराती भाषाहरूमा र पूर्वी नेपालमा किरातीहरूको थातथलोमा नदीलाई कुसी/कोसी भनिन्छ, जसरी काठमाडौंमा नदीलाई खुसी (जस्तै, सामाखुसी) भनिन्छ । त्यसैले रोसीको आदिम शब्द सम्भवतः रोकुसी वा रोखुसी हो ।’

त्रिवेणीघाटछेवैको पनौती बजारभित्रका पुराना पाटीमा बसेर बूढापाकाहरू कथा हाल्छन्– ‘जवानीमा पेट्रोम्याक्स बोकेर रोसी खोलामा माछा मार्न जाँदा एकै छिनमा निकै माछा जम्मा हुन्थे । अहिले रोसीखोलामा माछा नै हराइसके ।’ त्रिवेणीघाट क्षेत्रको रेखदेख गर्ने स्थानीय रविनभक्त कर्माचार्यलाई लाग्छ, त्रिवेणीघाटका नदीमा अहिले पानी निकै घटेको छ । उनलाई सम्झना छ, पहिले–पहिले रोसी र पद्मावती मिसिएपछिको नदीको भेल हिउँदमा पनि तर्न नसकिने हुन्थ्यो ।

पनौतीमा हालसम्म ढिकीको प्रयोग नगरिने कथामाथि डा. सुमनराज ताम्राकारले ‘पनौतीका चाडपर्वहरू र मकरमेला’ किताबमा स्थानीय अनुश्रुति टिपेका छन्, ‘पनौतीलाई वासुकि नागले संरक्षण र वेष्टित गरेका छन् । त्यसैले राजा आएर यहाँ बास बस्नु हुँदैन । नागलाई चोट लाग्छ भनेर ढिकी नकुट्ने प्रथा छ । एउटै ढुंगामाथि पनौती अडिएकाले पनि यहाँ ढिकी राख्नु हुन्न भनिन्छ ।’ नागराजाको शान्ति भंग नहोस् भनेर मानिसहरू अद्यापि ढिकी प्रयोग गर्दैनन् भनी ‘स्थाननामकोश’ मा लेखिएको छ । भनिन्छ, जसरी पनौतीमा ढिकीमा धान कुटिँदैन उसैगरी काठमाडौंमा गोरु नारेर हलो जोतिँदैन । कृषि जीवनमा आधारित नेपाली समाजमा किन हलो नजोतिएको ? किन ढिकीमा धान नकुटिएको ? रहस्यकै गर्भमा छ ।

...

त्यस वर्ष हिउँदको सुरुमै आरुबखडा फुल्न थालेको थियो । त्यही हिउँदको कुनै एक दिन, रूखबाट भुइँमा झरेका आरुबखडाको फूल अञ्जुलीभरि लिएर म त्रिवेणीघाटतिर गइरहेको थिएँ । घाटमाथिका डाँडा अरूबेला अद्भुत–मनोरम हुन्थे । त्यस दिन ती विरक्तलाग्दा थिए ।

घाट किनारका नाङ्गा–चिसा रूख भुइँतिर हेर्दै मौनी साधिरहेका थिए । सुस्ताउँदै माघको मधुरो घाम तापिरहेको, हजारौँ वर्ष बूढो बजार नजिकैका दक्षिण–पश्चिमपट्टिका पनौती–वनका डाँडा धुलाम्मे मन्डी ओढेर घाट कुरिरहेकी जीर्ण कायाकी वृद्धाजस्तै देखिन्थे । पनौती–वनलाई वन कार्यालयको कागजमा ‘थलपुवन’ लेखिएको छ । बूढाहरू यो वनको किंवदन्ती सुनाउँछन्, ‘विराट राजाको गाईगोठ भनिने थलपुवनका रूखहरू फेदमा घिउ हालेर हुर्काइएका छन्, त्यसैले यहाँका रूखका दाउरा काँचै पनि बल्छन् ।’

नदीको वहाब जाँगर हराएको बटुवाजस्तै थियो । खरानी पखालेपछि बाफ उडिरहेको चिताको भकारीनेर एउटा रूखको हाँगामा बसेको काग उच्चाटलाग्दो सुरमा एकोहोरो काँ–काँ गरिरहेको थियो । ब्रह्मनालमा एउटी मृत्युन्मुख (मुर्मूष) पाको उमेरकी महिलाका गोडा डुबाइएका थिए । त्यहाँ पुर्‍याइएको एक छिनपछि उनले आफ्ना गहिरा इनारझैं आँखा बिस्तारै चिम्लिइन् । चिसो पानीमा डुबाइएका उनका जोर खुट्टा तनक्क तन्किए । त्यति नै बेला उनको देहाशेष भयो अर्थात् देहबाट आत्मा उडेर गयो ।

अन्यत्रका घाटहरूभन्दा त्रिवेणीको ब्रह्मनाल फरक छ भन्छन्, पनौतीका प्रेमबहादुर प्रधान (७२) । उनका अनुसार, त्रिवेणीघाटको यो ९ हाते ढुंगा काशीबाट ल्याइएको हो । ‘ढुंगामा सुनको जलप लागेजस्तै पत्र–पत्र छन्, जसमा सुनका स–साना कण देखिन्छन् ध्यान दिएर हेर्दा । पनौतीका कोही पनि मानिस घरमा मर्दैनन्, अन्तिम बेला नाडी हेरेर अनिवार्य घाट लगिन्छ र ब्रह्मनालमा राखिन्छ’, प्रधान भन्छन्, ‘त्रिवेणीघाट पनौतीका बासिन्दाको मात्रै होइन । वरपरका ३० गाउँबाट दाहसंस्कारका लागि शव ल्याइन्छन् । तर, बाहिरका शव पनौती बजारभित्रबाट ल्याउन पाइँदैन, नमोबुद्धतिर जाने सडक वा रोसीपारिबाट मात्र ल्याइन्छ ।’ काशीदेखि पनौतीसम्म त्यति गह्रुंगो ढुंगा बोकेर ल्याउने सम्भावना उति देखिँदैन । सायद यो रोचक किंवदन्ती हो ।

‘देह–विलय’ माथि इतिहासविद् योगेश राज लेख्छन्, ‘सबैभन्दा पहिले रक्तसञ्चार रोकिन्छ । श्वास–प्रश्वास प्रक्रिया अवरुद्ध हुन्छ । त्यसपछि मुटुले धुकधुक गर्न छोड्छ । अंग–प्रत्यंगमा रक्त–सञ्चार नभएपछि तथा बाह्य–तत्त्वलाई भित्र र भित्री मैलालाई बाहिर लान नसकेपछि जीवन शतत हुन सक्दैन । त्यतिबेला शरीरको सबैभन्दा कमजोर स्थानदेखि जीवनी–शक्ति हराउन थाल्छ । सबैतिरबाट तेज गुँडुल्किएर बसेको अहंकारमा अस्ताउँछ । जीउ चिसिन थाल्छ (सन्ध्या–संरचना– हिन्दुनेवारहरूको मृत्युचेतना, पृष्ठ.९५) ।’ किताबमा वर्णन गरिएको यस्तो मृत्यु प्रक्रिया मैले त्यस चिसो दिन त्रिवेणीघाटमा देखेको थिएँ, ब्रह्मनालमा जीवन बिसाइरहेकी एक वृद्धाको शरीरमा ।

जसरी मेरो अञ्जुलीको आरुबखडाको फूल एक छिनअघि रूखबाट भुइँमा झरेथ्यो, उसैगरी देहबाट ती वृद्धाको श्वास बाहिर निस्केर विशाल शून्यमा विलीन भएको थियो । मेरो अञ्जुलीबाट आरुबखडाको फूल पनि उसै गरी भुइँमा झरेको थियो, जसरी अघि रूखबाट झरेथ्यो ।

...

जान्नेहरू भन्छन्– मसानघाट नै यस्तो एउटा ठाउँ हो, जहाँ बलिरहेको चिताअघि मानिसहरू जीवन र मृत्युसँग जोडिएको शाश्वत सत्यसँग साक्षात्कार गर्छन् वा त्यसको महिमा–बोध गर्छन् । यसो पनि भन्छन्– यस दुनियाँमा भएका सबै वस्तु रंगहीन हुन्छन् । पानी, हावा, अन्तरिक्ष र पूरै जगत् रंगहीन छ । मचाहिँ ‘जीवन र मृत्युको महिमा–बोध’ गरिने घाटलाई खरानी रंगको देख्छु । चितामा डढेका लासबाट खरानी रंगको धूवाँका घना गुच्छा आकाशतिर बढ्छन् । खरानी अर्थात् हलुका सिलेटी, मृत्युको रंग हो, मसानघाटको रंग हो । हावाको पातलो झोक्काले पनि उडाउँछ चिता पखालेपछिको बाँकी खरानी । झरी परेको रात, बिहान र साँझ भेलले पखालेको खरानी नदीसम्म बगेर धमिलो पानीमा मिसिन्छ । मलाई चिता सबै अवस्थामा एउटै रंगको लाग्छ । यो रंग झरी परेपछि भने केही चहकिलो देखिन्छ । हावाको वेगमा अलि धमिलो । रातको नीरवतालाई चोइट्याउने सिरेटो, चट्याङको प्रकाशमय रात वा कुहिरिलो बिहान ! घाट श्वेत–श्याम रंग मिसिएर बनेको गाढा सन्ध्या रंगको देखिन्छ । अतः घाटको रंग अनौठो हुन्छ, खरानीको जस्तो या त मट्मैलो, ध्वाँसे ।

घाट कहिले बरफभन्दा चिसो हुन्छ, जस्तो– म पुगेको माघको त्यस दिन थियो ।

घाट कहिले औधी रापिलो हुन्छ, जस्तो माघको ठन्डीमा भर्खरै ब्रह्मनालमा देह बिसाएकी वृद्ध महिलालाई जलाएपछि हुन्छ ।

तर, हमेसा घाट देखिन्छ, शोकग्रस्त ।

घाट सदियौँदेखि मौन छ, आफ्नो छेवैबाट बगिरहेको नदीका छालहरूलाई हेर्दै बसिरहेको । अर्को किनारमा उभिइरहेको ब्रह्मायणी मन्दिर पनि घाटजस्तै छ चुपचाप ।

म पनौतीको यही त्रिवेणीघाट, ब्रह्मायणी मन्दिरवरपर हलुका कदमले डुलिरहन्छु ।

...

वर्षात्मा कस्तो हुन्छ त्रिवेणीघाट ? पनौती प्रवेशपछि सम्झनाको झटारो हान्दै पुराना स्मृतिले लखेटिरहन्छन् मलाई । बेस्कन उर्लेको थियो रोसी ! २८ वर्षअघि उत्कट वर्षाका बेला बनेपा जान आमाको पछिपछि कुशादेवीबाट पनौती आएको सम्झन्छु– त्यो मानौं ‘आरीघोप्टे’ झरी परिरहेको झमक्क हुनै लागेको साँझ थियो– घार्घार, झार्झार्, दर्दर, सिरसिर...! पिठ्युँमा निदाइरहेको भाइ बोकेर च्यारच्यार आवाज आउने सेतो प्लास्टिक शिरमा ओढेर हिँडिरहेकी आमा र बहिनीका कलिला हात समाएर आमाकै पछिपछि हिँडिरहेको म ! मानौं, मेरो दिमागमा पानीफोटो बनेर थपक्कै बसेको छ त्यो बर्खे साँझ ।

पनौतीमा उत्खनन गरिएको प्राचीन लायकुअघिको ढुंगा छापेको गल्लीमा टेकेका दिनहरूको स्मृति पनि छन् मसँग (इतिहासकार ज्ञानकाजी मानन्धरको किताब ‘बनेपा सातगाउँ’ मा लायकुलाई यसरी अर्थ्याइएको छ– लायकु भनेको राजकुल हो । लायकु शब्द मल्लशासनको मध्यकालदेखि चल्दै आएको पाइन्छ) ।

कुशादेवीको एक सज्जनको घरको बुइँगलमा मकैका खोस्टाको डंगुरभित्र पुरिएको जीर्ण अवस्थामा फेला परेको थियो, भूपी शेरचनको किताब ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ । पाइन्टको पछिल्लो खल्तीमा गोलो आकारमा खुम्च्याएर राखिएको त्यस किताब घाम लागेको एक दिन त्रिवेणीघाटमा बसेर खोलेको थिएँ । नवयौवनाको बयान गर्ने ‘शुभ्र शान्त र स्निग्ध शिखा मैनबत्तीको’ यसरी मैले घाटमा बसेर पहिलोपटक पढेको थिएँ । भूपीसँग मेरो पहिलो परिचय यही घाटमा भएको थियो ।

म कुनै जोगी वा निशाचरझैं रात–साँझ बारम्बार पुगिरहेको हुन्थे– त्रिवेणीघाट, यहाँका नसा छाम्न ।

मकरमासमा धुनी जगाएर रातैभर जाग्राम बस्ने निशाचरहरू पनि महिनैभर त्रिवेणीघाटमै भेटिन्छन् । साताअघिको यो चिसो पुसमा म फेरि बाल्यकालको स्मृतितिर पस्दै त्रिवेणीघाट र पनौतीका पुराना गल्लीतिर डुलिहिँडे । २८ वर्षअघि पहिलो पाइला टेकेको लायकु दरबारको ठ्याक्कै अघि अहिले खुलेको छ– क्याफे लाम्पाटी । प्राचीन बजारको ढुंगा छापेको पुरानो गल्लीमा खुलेका छन्– अन्य ‘लिकर सप’ ।

भूपीको कविता पढेका ती दिनमा घाटकिनारको पाटीमा एउटा पुरानो किसिमको बिग्रेको घडी झुन्डिएको हुन्थ्यो । त्यसले पनि समय त दिइरहन्थ्यो– थाहा छैन, त्यो घडीले दिने समय गलत थियो वा सही ! अहिले भित्तामा त्यो घडी थिएन । गर्जिरहेको बाघको अनुहार खोपिएका ढुंगाबाट तिरतिराउने सदियौं पुराना थुप्रै ढुंगेधारा अहिले पनि छन् यहाँ । तर, ती धाराबाट विरलै पानी आउँछन् । पाटीमा भजन चलिरहेकै छ । र, अहिले पाटीमा एक जोगी बस्छन्, २४ घण्टै धुनी जगाइरहेका । उनी रातैभर घाटवरिपरि डुली हिँड्छन् मकरमासका नयाँ निशाचरजस्तै । पुराना एल्बम पल्टाउँदा देखिन्छन्– २० वर्ष पुराना तस्बिर, जसले पनौतीको पुरानो कथा भनिरहेको छ । पुराना मानिस छन् तस्बिरमा, सायद कत्तिको यस सहरमा अब कुनै चिनो बाँकी छैन । त्रिवेणीघाट पनि कैद छ तस्बिरमा– फ्रोजन भएको छ त्यो !

...

पनौती बजार हुँदै त्रिवेणी घाटसम्म पुग्ने बाटोवरपरका चोक–डबली, ढुंगेधारा, पाटीपौवाले मुक उद्घोष गरिरहेका छन्– पनौती शताब्दिऔँ पुरानो बस्ती हो । घाटका भर्‍याङ, वरपर उभिएका पाटी र तिनका भित्तामा कुँदिएका अनेक देवताका अनेक मुद्राका अनेक कला सबैमा एकतमासको प्राचीन ध्वनि अनुगुञ्जित छ । एकछिन प्रवेश गरौं पनौतीको इतिहासमा ।

महाभारत पर्वत शृंखलाको उत्तरी काखको यस नगरलाई विभिन्न कालमा विभिन्न नामले पुकारियो– ‘पूर्णमती’, ‘अश्मपुर’, ‘पूर्णवती’, ‘पुण्यवती’, ‘पानवती’, ‘पाञ्चाल’, ‘पाञ्चाल देश’, पुण्यावतीपुरी’, ‘पलाँती’, ‘पनाती’,‘पनौती ग्राम’, ‘पनौती’ ।

केही किंवदन्ती भन्छन्– राजकुमार महासत्त्वको पाञ्चाल देश नै पुण्यवती हो र यसैको अपभ्रंश भएर पनौती नाम रहेको हो । महासत्त्वले आफ्नो शरीरको रगत–मासु खुवाएर एउटी भोकी बघिनी र उसको डमरुको प्राणरक्षा गरेको आख्यान बौद्ध–साहित्यमा प्रचलित छ । पनौतीबाट ५ किलोमिटरजति सीधा पूर्वमा पर्ने नमोबुद्धको स्तूप महासत्त्वकै अस्तुमाथि उभिएको भनिन्छ ।

‘पनौतीको अगलबगलका बनेपा र खोपासी अहिलेभन्दा १४ सय वर्षअघि नै विकसित अवस्थामा आइसकेका थिए भन्ने लिच्छविकालका अभिलेखबाट बुझिन्छ’, इतिहासकार महेशराज पन्त भन्छन्, ‘पनौती त्यसै कालखण्डमा विकसित भइसकेको थियो भन्ने अनुमान गर्न सकिन्छ । पौने ६ सय वर्षअघिदेखि हामी पनौतीको उल्लेख तात्कालिक अभिलेखहरूमा भएको पाउँछौं ।’

राजा अंशुवर्मा प्रशासनलाई केन्द्रमुखी मात्रै बनाउन चाहँदैनथे । त्यसैले काठमाडौंबाहिरको खोपासी प्रदेशका जनतालाई सानातिना मुद्दा–मामिलाको छिनोफानो गराउनुपर्दा राजकुलको द्वारसम्म धाउनु नपरोस् भनी केही अधिकार स्थानीय अगुवालाई नै दिएको राजाज्ञा जारी गरेका थिए उनले । खोपासीमा भेटिएको अभिलेखबाट यही कुरा प्रस्ट हुन्छ (धनवज्र बज्राचार्य, लिच्छविकालका अभिलेख, पृष्ठ. २७४) ।

‘स्थाननामकोश’ अनुसार, राजा आनन्ददेवले बनेपाबाट ६ किलोमिटरजति दक्षिण–पूर्वतिर पुण्यवती र रोशमतीको मध्यभागमा कलिगत संवत् ४१९७ (विसं ११५३) मा आसपासका गाउँहरू मिलाएर सात सय घरधुरीको बस्ती बसाएका थिए । (आनन्ददेवको शासनकाल विसं १२०३–१२२४ मानिन्छ । त्यसैले उनले विसं ११५३ मा सात सय घरधुरीको बस्ती बसाए भन्ने मिति इतिहासको तथ्यसँग बाझ्छ ।)

ज्ञानकाजी मानन्धरले पनौतीको निर्माण आनन्ददेवले गरेको लेखेका छन्, ‘चार दिशामा चार दिक्पालहरू अनि अष्टमातृकाले परिवेष्टित, कलिगत संवत् ४१९७ मा राजा आनन्ददेवबाट निर्मित यो सहर अति पवित्रस्थल हो । काभ्रेमा अहिले पनि बृहत्तर पनौती क्षेत्रलाई ‘सात सय पनौती’ भन्ने चलन छ । किनभने राजा आनन्ददेवले त्यतिबेला सात सय घरको पनौती सहर निर्माण गरेका थिए ।’ (बनेपा सातगाउँ, पृष्ठ. ९०) ।’

सूर्यप्रसाद लाकोजू भने ज्ञानकाजीभन्दा भिन्न मत राख्छन् । आनन्ददेवले ती सात गाउँको निर्माण होइन, एकीकरण मात्र गरेको उनको विचार छ । ‘पनौतीको स्थापना आनन्द मल्लले गरेको भनिए पनि त्यसभन्दा धेरैअघि नै नगर–बस्तीको रूपमा पनौतीको विकास भइसकेको थाहा हुन्छ (पनौती, पृष्ठ. ६८) ।’

‘प्राचीन नेपाल’ किताबमा साफल्य अमात्यले पनि आनन्ददेव (मल्ल) को कथनलाई सत्य मान्न गाह्रो मानेका छन् । ‘पनौती आसपासका गाउँहरू– खोपासी, बनेपा आदिमा लिच्छविकालीन शिलालेखहरू प्राप्त भएबाट यो प्रमाणित भइसकेको छ कि ती गाउँहरू लिच्छविकालदेखि नै बसोबास तथा गुलजार थिए (पृष्ठ. १०९) ।’

इतिहासकार केदारनाथ प्रधानले चाहिँ पनौती प्रागैतिहासिक कालदेखि मानव सभ्यताको थलो रहेको जनाएका छन् । उनका अनुसार, आनन्ददेवको समयमा पनौतीको स्थापना भएको कथन मान्न कठिन छ । ‘किनभने पनौती वरिपरि– खोपासी, बनेपा, नाला, साँगामा लिच्छविकालीन अभिलेख पाइएका छन् । तेह्रौं शताब्दीदेखि नेपालको इतिहासमा देखिएका ‘भ्वन्तश्री’ (बनेपाली) राजवंशको बोलवाला भएको चौधौं शताब्दीताका बनेपा–इलाकाको सामन्त–शासक रामवर्द्धन परिवारको मूलघर पनौती थियो भन्ने दाबी गरिएको छ (बनेपाको ऐतिहासिक रूपरेखा, पृष्ठ. ३) ।’ प्रधानले पनौती, खोपासी र नजिकैको बल्थलीमा करिब ७ हजार वर्षअघिका ढुंगाका कोदालो, बन्चरो र हँसियाजस्ता हतियार भेटिएको लेखेका छन् ।

२०७७ भदौमा पनौतीमा एक प्राचीन मूर्ति भेटियो । पुरात्तत्वविद्हरूका अनुसार, त्यो मूर्ति कम्तीमा २२०० वर्ष पुरानो हो । ‘ठेट प्रमाण नभए पनि उक्त मूर्ति महिलाको आकृतिजस्तै देखिन्छ । बिहारस्थित पटना संग्रहालयको एक मूर्तिसँग त्यो मूर्ति धेरै समान रहेकाले यसलाई पहिलो शताब्दीतिरको आकलन गरिएको हो । पनौती निकै प्राचीन बस्ती हो भन्ने कुरा यहाँ भेटिएको मूर्तिले बताउँछ,’ सुमनराज ताम्राकार भन्छन् । त्यसैले भन्न सकिन्छ, पनौती कम्तीमा पनि २ हजार वर्ष पुरानो सहर हो ।

केदारनाथ प्रधानले मल्लकालको पनौतीको इतिहासलाई फरक ढंगले प्रस्तुत गरेका छन् । लेख्छन्, ‘भक्तपुरका युवराज भूपतीन्द्र मल्ल सानै छँदा कान्छी आमा र दरबारको भाजुकस मिलेर हत्याको षड्यन्त्र रची उपत्यकाबाहिर लगी मार्नू भनी हत्यारालाई खटाए । तर, उनीहरूले मारेनन्, पनौती नजिकैको कुशादेवीको जंगलमा छोडेर फर्किए । दाउरा खोज्न गएका मानिसले बालकको उद्धार गरे र पनौतीका राजप्रतिनिधि सरदारलाई जिम्मा लगाए । सरदारले बालकको पहिचान गरे र पनौतीको गद्दी उनैलाई सुम्पिए । भूपतीन्द्रले पछि भक्तपुरमा आक्रमण गरे र गद्दी हात पारे । भूपतीन्द्रले नै ब्रह्मायणीको मन्दिर स्थापना गरे । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जित्नुअघि विसं १८२२ तिर पनौती गोरखाको हात परेको थियो, तर सो भेगका तामाङहरूको समर्थन जित्न नसकेको पृथ्वीनारायणको पत्रले भन्छ (पनौतीको ब्रह्मायणी जात्रा, पृष्ठ. ६) ।’

महेशराज पन्तको लेखमा भने पृथ्वीनारायण शाहले पनौती विजय गरेको मिति फरक छ । उनी लेख्छन्, ‘झन्डै ५०० वर्षअगाडि मल्लहरूको राज्य पनि टुक्रियो र यहाँ बनेपा, काठमाडौं, भक्तपुर र पाटन यी ४ राज्य खडा भए । बनेपामा स्वतन्त्र राज्य खडा भएपछि बनेपासँगै रहेको पनौती पनि बनेपाली राज्यको अंग बन्न पुग्यो । तर, बनेपाली राजवंश छिट्टै निःसन्तान भएकाले बनेपा राज्यसँगैको गोतिया राज्य भक्तपुरमा मिल्न गयो र पनौती पनि भक्तपुरकै अंग भई विसं १८२० सम्म रह्यो । विसं १८२० कात्तिक ११ गते पृथ्वीनारायण शाहको सेनाले पनौती विजय गरेपछि पनौती नेपाल राज्यको विशाल अंग हुन पुगेको थियो । (जनैपूर्णिमादेखि रानीपोखरीसम्म, पृष्ठ. ३५) ।’

इतिहासविद्हरूको विश्वास छ– पनौतीको प्राचीन थलो पनौतीभन्दा पश्चिमको जेना वा जेलाँदे भन्ने ठाउँमा थियो । केदारनाथ प्रधानले लेखेका छन्– ‘मल्लकालको पूर्वार्द्धको अन्त्यतिर जेलाँदेमा उडुस, उपियाँहरूले सार्‍है दुःख दिएका कारण त्यहाँका सबै बासिन्दाहरू पुरानो थलो छोडी हालको थलोमा बसाइँ सरे । जेलाँदेको त्यस प्राचीन थलोमा अझै मूर्ति तथा मुद्राहरू पाइन्छन् ।’

मल्लकालको पनौतीबारे ज्ञानकाजी मानन्धर भन्छन्, ‘मल्लकालका लागि पनौती क्वाठ (सिपाही राख्ने ठाउँ) थियो । उत्खननमा यहाँ चारैतर्फ चारवटा इनार फेला परेका थिए ।’

इतिहासविद्हरूले लिच्छविकालका अंशुवर्माको जन्म पनौती क्षेत्रस्थित खोपासीमा भएको अनुमान गरेका छन् । बनेपा सातगाउँ (बनेपा, पनौती, धुलिखेल, नाला, साँगा, श्रीखण्डपुर र चौकोट) मा बसी भोटान्त प्रदेशमा नीलिम वर्मादेखि वसन्त वर्मासम्म जम्मा ४८ जनाले शासन गरेका थिए । पछि विसं ६५० तिर यस भेगका प्रशासक महासामन्त अंशुवर्माले ‘महाराजधिराज’ (बनेपा दक्षुटोलको गोरखनाथ मन्दिरनेरको अभिलेखअनुसार) उपाधि लिएका थिए (श्यामसुन्दर राजवंशी, भोँतः देशका सात गाउँ र त्यहाँका अभिलेखहरू, बनेपा सातगाउँ– स्मारिका) ।’

साफल्य अमात्यले लेखेअनुसार, पनौतीका रामवर्द्धन परिवार सामन्तमध्ये एक थिए । र, पन्ध्रौं शताब्दीमा रामवर्द्धन परिवारले पनौतीवरपर मात्र होइन, सम्पूर्ण नेपाल उपत्यकाको शासन व्यवस्थामा ठूलो भूमिका खेलेको थियो । ‘करिब ६०–६५ वर्षजति नेपाल उपत्यकाको राजनीतिमा पनौतीका रामवर्द्धन परिवारका सामन्तको बोलवाला चल्यो । जयज्योति मल्लका छोरा यक्ष मल्लको उदय (विसं १५१०) सँगै रामवर्द्धन परिवारको इतिहास पनि टुंगिएको छ । यक्षका अगाडि सामन्य रामवर्द्धन परिवारका सदस्यहरू टिक्न सकेनन् र तिनीहरूको दबदबा त्यहीँ बिलाएर गयो ।’ (‘प्राचीन नेपाल’ पृष्ठ. ११०) ।

...

यो सांस्कृतिक सहरमा जसरी जीवनका धेरै विविधता भेटिन्छन्, उसैगरी यहाँबारे कतै अभिलेख नभएका अनेकौँ किंवदन्ती र किस्साकहानी यस भेगका बूढापाकाहरूको स्मृतिमा संगृहीत छन् । किंवदन्तीहरूमा विश्वास गर्नुपर्छ भनेर होइन, तर तिनलाई सांस्कृतिक सम्पदा ठानेर जगेर्ना गर्ने हेतुले त्यस्ता केही जनश्रुतिलाई अभिलेखमा राख्न लिपिबद्ध गरिँदै छ ।

त्रिवेणीघाटनजिकै घर भएका प्रेमबहादुर प्रधानको मस्तिष्कमा यस तीर्थबारे अनेक किंवदन्ती–किस्साहरू खाँदाखाँद छन् । जान्ने भएदेखि हरेक बिहान त्रिवेणीघाट पुगेर नुहाए, ०४१ सालसम्म । त्यसपछि त्यो रुटिनमा ब्रेक लाग्यो । भन्छन्, ‘त्रिवेणीघाट त ऋषिमुनिहरू नुहाउने ठाउँ हो ।’

मैले हजुरआमाबाट सुनेको जनश्रुति उनले पनि सुनाए, ‘मकरमासमा त्रिवेणीमा दूध बगेको कुरा मैले सानो छँदा सुनेको थिएँ, बुबाबाट । मैले देख्न पाइनँ । त्रिवेणीमा दूध बगे देशमै सहकाल आउँछ भन्नुहुन्थ्यो बुबा, अनि रगत बगे देशमै अनिष्ट हुन्छ भन्नुहुन्थ्यो ।’ प्रधान सुनाउँछन्, ‘पद्मावती रातो भएर बगेको मैले आफ्नै जीवनकालमा देखेँ, २०२८ सालमा । सबैले राजा मरे भने । हामी सबैले अचम्म मानेर हेरिरह्यौं । माथिबाट बगेको रातो नदी नागदह पुगेपछि सङ्लो भयो ।’ उनले बुबाले सुनाएकै अनुश्रुति दोहोर्‍याए, ‘नागदहमा बसेका नागले रगत सोस्छन् ।’

‘त्रिवेणीघाटको कृष्ण मन्दिरसँगै संकष्टनारायण देवताको मूर्ति छ’, प्रेमबहादुर जनश्रुति सुनाउँछन्, ‘उहिले ती देवतालाई सुत्केरी हुन लागेकी महिलाका आफन्तजनले तोरीको तेल चढाउँथे । चढाइएको तेल दाहिनेतिर बगे छोरा हुने विश्वास गरिन्थ्यो, देब्रेतिर बगे छोरी । बीचबाट तेलको धारा बग्यो भने गर्भमा संकट आउँछ भनिथ्यो र यथार्थमा हुन्थ्यो पनि त्यस्तै । अब त्यो चलन हराइसक्यो ।’

आस्थाको पछाडि लागेर मानिसहरू मकरस्नान गर्न यो घाटसम्म आइपुग्छन् । पछिल्लोपटक २०६६ मा धुमधामसँग यहाँ मकर मेला लागेको थियो । अरू बेला प्रायः शान्त हुने सहरमा यस वर्षको (माघ–१) को मेलापछि भीडभाड र कोलाहल निकै बढ्नेछ । तर, महामारीको मौसममा कुम्भमेला उस्तै भव्य होला ?

त्रिवेणीघाटनेरैको इन्द्रेश्वर मन्दिरको हाताभित्र दक्षिणपट्टि उन्मत्त भैरवको मन्दिर छ । मन्दिरको टुँडालको कलाकारिता पनि शानदार छ । यहाँ युगलमूर्ति प्रशस्तै छन् । तर, ती कुनैमा कामकला खोपिएको छैन । प्यागोडा शैलीमा बनेको तीनतले इन्द्रेश्वर मन्दिरको स्थापना कहिले भयो भन्नेमा पन्तको खोजबिन छ– कम से कम साढे ६ सय वर्षअगाडि । उनी भन्छन्, ‘जयसिंहरामको पालाको एउटा शिलालेख पढ्दा उनले इन्द्रेश्वरको मन्दिरमा सुनको गजुर र ध्वजा चढाएका थिए भन्ने थाहा हुन्छ । जयसिंहरामको सम्झनामा राखिएको पनौतीको ताम्रपत्रमा विसं.१४५७ मा जयसिंहरामको मृत्यु भएपछि इन्द्रेश्वर महादेवलाई चतुर्मुख सुवर्णकोष चढाइयो भनिएको छ ।’

त्रिवेणीघाटको पाटीमा चारैतिर भव्य चित्र कोरिएका छन्– मत्स्य, कूर्म, बराह, नरसिंह, वामन, पर्शुराम, राम, कृष्ण, बुद्ध, कल्कि अर्थात् विष्णुका दस अवतार । चित्रहरूका रंग खुइलिएका छन् र ती उप्किने तरखरमा छन् । रविनभक्त कर्माचार्य पाकाबाट सुनेका कथा सुनाउँछन्, ‘यी चित्र डेढ सय वर्षअघि भक्तपुरका एक कलाकारले बनाएको इतिहास पाइन्छ । सुनेअनुसार ती कलाकारका आँखा थिएनन् ।’ केदारनाथ, मुक्तेश्वर, संकष्टनारायण, चार नारायण, कृष्ण, सूर्यनारायण, तुलानारायण, अहल्या शिला, शिवलिंग र ढुंगामा कुँदिएका अन्य कलात्मक मूर्तिले त्रिवेणीघाट एक खुला संग्रहालयजस्तो लाग्छ ।

...

पनौतीको इतिहास, मिथक र आख्यानको केन्द्रबिन्दुमा त्रिवेणीघाट नै आउँछ । ज्ञानकाजी भन्छन्, ‘यो घाटले किंवदन्तीमा कति महत्त्व राख्छ भने पशुपतिका विरूपाक्षलाई पापमोचनका लागि नेमुनिले त्रिवेणी गई स्नान गर्न सुझाएका थिए भनी संस्कृतमा लिखित ठ्यासफूमा उल्लेख छ ।’

महेशराज भन्छन्, ‘यी सबै कथा केवल पुराण हुन्, इतिहास होइनन् ।’

त्रिवेणीमा दूध बग्ने कथा केवल किंवदन्ती हो, इतिहास होइन । यस्ता मिथक–कथाहरू हजुरआमाहरूसँगै बाँच्छन्, उनीहरूले अर्को पुस्तालाई सुनाउँछन्, जसरी नदीमा दूध बग्ने कथा मेरी हजुरआमासँगै बाँच्यो र त्यो अहिले मसँग पनि अलिअलि बाँचिरहेको छ ।

प्रकाशित : पुस २४, २०७८ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×