१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बुइँगलमा कमरेड

आमा बिहान–बेलुकै चोङेमा कमरेडहरुले फेरेको पिसाब बोकेर बाँसझ्याङ पुग्नुहुन्थ्यो । पिसाब फालेपछि फर्केर चोङे धुनुहुन्थ्यो र फेरि बुइँगल उक्लिनुहुन्थ्यो । त्यो उहाँको नित्य काम थिएछ । 
शकुन्तला जोशी

जसै यो आरु फुल्न थाल्छ मलाई आफ्नै जोवन फर्केर आएजस्तो लाग्छ । तर, सधैं फुलिराख्दैन । फुलेका पनि सधैं अडिराख्दैन । कोही चिचिला भएर हुर्कन्छन्, कोही ईः यसरी भुँई झर्छन् । हाँगा पनि सधैं कहाँ यस्तै रहँदो हो । सुक्ला एकदिन र भुइँ झर्ला ।’ हजुरआमा (अजी) का कुरा नयाँ थिएनन्, तर अभिव्यक्ति बडो मार्मिक !

बुइँगलमा कमरेड

बिहानभरि बारीमा मल ओसारेर थकित म गोर्कीको ‘मेरो विश्वविद्यालय’ किताब पढ्दै अजीछेउ बसेकी थिएँ । अकस्मात् मेरो ध्यान आरुका फूलतिर खिचिए । हुर्किंदै थिएँ, उमेरको बढ्दो गरिमासँगै मलाई पनि आरुजसरी फुल्न मन हुँदै थियो ।

‘अजी, जोवन फर्काइदिने भए त यो आरु सधैं फुले पनि हुने है !’

‘तबै त, त्यस्तो भए म फेरि तँजस्तै हुन्थें होला । जोवनकालका लाहुरेहरू फेरि जिस्क्याउन आउँथे होलान् । ती सबै कहाँ–कहाँ पुगे होलान् ! म मुखियाकी छोरी, कमकरी (कर्मशील) देखेर लोभिने त धेरै थिए नि ! तर, हाम्रो बाको हैकमअघि पर्न कसैको आँट थिएन ।’ अजी त आरुका फूल हुँदै उमेरका दौंतरीहरू पो सम्झिन थाल्नुभो ।

हावाले बग्रेल्ती भुइँमा झरेका थिए फूलहरू । चर्को घाम थियो । हजुरआमा घरमुन्तिर सियालमा बस्नुभएको थियो । बेला–बेला जोवनकाल सम्झिनुहुन्थ्यो । आरुका फूलले सायद गुलाबी उमेर याद दिलाएको हुनुपर्छ । ठ्याक्कै सम्झना छैन, तर उहाँको उमेर ६५ वर्ष आसपास थियो । जिन्दगी अघि बढ्दै जाँदा मानिसलाई छुटिगएको समय सम्झना हुँदो हो ।

झरेका झरिगए, बचेका फूल चिचिला हुन्थे । हावाहुरीबाट जोगिएका चिचिला एक दिन मीठो आरु हुन्थ्यो । म जन्मिनुपहिले बुबाले ल्याएर रोप्नुभएको रे त्यो आरुको रूख । रूखमा अझै गुलाबी फूल फुल्छन् । तर, फूलहरूमा याद उनिबस्ने हजुरआमा अब हुनुहुन्न । यो वर्ष पनि आरु फुल्यो, केही भुइँ झरे हुन्, कति चिचिला बढ्दै छन् । घरमा बुबा–आमा हुनुहुन्छ, तर उहाँहरूलाई आरुका फूल हेरेर भावुक हुने समय छैन । यो वर्ष आरुका बोटनेर अर्कै कर्म चलिरहेछ ।

मलाई यहाँ आरुको बोट सम्झिनु थिएन, घर सम्झिनु थियो । घर भन्नु अस्तित्वको जरा सम्झिनु थियो । घर र आरुको बोट मेरो त्यही जरा हो ।

अस्ति एकाबिहानै आमालाई फोन गरें– ‘ममी, साँच्ची आरु फुलिसक्यो ?’

‘फुलो नि अस्ति, चिचिला पो लागिसको त । अस्ति हुरीले नाश गरो धेरै फूल । किन सोधेको ? यहाँ चिलबिल भाको बेला । तिमेरु फर्केन आउँदैनौ । बर्खा लागिसको । कहिले घर बनाइसक्नु होला !’ आमाको आवाजमा सकस, गुनासो मिसिएको थियो ।

‘अनि त्यो चोंङे नि ?,’ मैले सोधें ।

‘हँ ? के भन्छ यो ? कुन चोङे ?,’ आमा झर्किनु भो ।

‘त्यो के बुइँगलको, ध्वाँसो लागेको के ।’

‘था’ छैन मलाई चोङेसोङे ! अब तेरो बाउको जीवन त्यही चोङेकै कथामा उनियो । तँ पनि त्यसैको पछि लाग् । खै, फाल्या हो कि, राख्नु भा छ, बाउलाई नै सोध् है । मलाई हतार छ,’ आमाले फोन काट्नु भो ।

मोबाइल–ग्यालरी अन गरें । जीवनमा खास धेरै अर्थ नराख्ने अनगिन्ती तस्बिरले कता परेछ पुराना फोटो । निकै बेरपछि भेटियो हाम्रो सग्लो घरको फोटो, हेरिरहें । अब यो घर यही ग्यालरीमै सीमित छ । भर्खर बुबाले मेसेन्जरमा पठाउनुभएको यो घरको क्रमिक अवसानको फोटो पनि छ । छानो उधार्दादेखि घरविहीन सिनित्त जमिनको फोटो । मलाई त्यो फोटो खासमा हेर्न मन थिएन ।

हाम्रो निम्नमध्यमवर्गीय परिवार । हजुरबा–आमाको रातदिनको परिश्रमले सिर्जेको सृष्टि । पाखोलाई बारी, मूल फुटेको भू–क्षेत्रमा बारीलाई खेत बिराउनुहुन्थ्यो हजुरबा । झिसमिसे बिहानदेखि साँझ अबेरसम्मै अविराम हलो–कोदालो उहाँको नित्य थियो । यही श्रमको नित्यले हजुरबा–आमाले आफ्नै बुताको भरमा तीनतले घर बनाउनुभएको रहेछ । आफैंले आरा तानेर काटेका सरा, बलो, खाँबाहरू, आफैंले फुटाएका ढुंगा, मुछेका माटो । उमेरको नब्बेको दशक नजिकसम्म हजुरबा–आमाले उज्यालिएको त्यो घर । मेरी आमाले १६ वर्षको उमेरदेखि स्याहारेको घर । त्यो जमानामा गाउँकै ठूलो र राम्रोमध्येको घर थियो हाम्रो । पूर्व र उत्तरतर्फ लामो बरन्डा । बरन्डामा चढेर म गाउँ हेर्थें । अझ तल बग्ने तमोर र उत्तरतिर वारपारै फैलिएको हिमशृंखला हेर्न खुबै आनन्द आउँथ्यो । फक्ताङ्लुङदेखि कञ्चनजंघा हुँदै सगरमाथासम्म लहरै देखिने । अरूको आँखा छलेर म धुरी चढ्थें र नियाल्थें वरिपरि । म दुई/तीन कक्षा पढ्दो हुँ त्यतिखेर । एक दिन धुरी चढ्न माथ्लो तलाको सानो लिस्नु उक्लिँदै थिएँ । लिस्नुको

अन्तिम खुट्किलोबाट टाउको के माथि निकाल्नु, हंसले ठाउँ छोड्यो । आबुइ ! ओठबाट मसिनो आवाज निस्कियो । म झसंगै भएँ, बुइँगलको तलामा बुबाजस्तै देखिने दुई जना मान्छे बसिरहेका थिए । आँखा जुध्यो, ती मुस्कुराए । एकजनाले मलाई माथि आउन हातले इसारा गरे । ‘आउनोस् !,’ फुस्सफुसाएको स्वरमा अर्काले संकेत गरे । अप्ठ्रायो मान्दै माथि उक्लें । नजिक गएँ र नमस्कार गरें । उनीहरूले नमस्कार फर्काए र ह्यान्डसेक गर्न हात बढाए । मैले बिस्तारै हात मिलाएँ । बुबाजस्तै मान्छेसँग मैले पहिलो पटक त्यसरी हात मिलाएको थिएँ । उनीहरू दुवैको हात तातो थियो र केही नरम पनि । उनीहरूको ओछ्यानमा गजरामाथि राडी, दुईवटा सिरानी र पातलो सिरक थियो । एकाछेउमा झोला र केही कपडा थिए । किताब, डायरी र कलम सामुन्ने थिए । किताबको गातामा कसैको फोटो थियो । बस्नुअघि सानो स्वरमा सोधें, ‘तपाईंहरू को ? कसरी यहाँ आएर बसेको ?’

‘बिस्तारै बोल्नुपर्छ । अरूले सुन्न सक्छन्,’ गोरो–पातलो अनुहारकाले भने ।

भनें, ‘यहाँ कोही त छैन । किन लुकेको नि ? अनि पाइखाना लागे के गर्ने ? यहीँ फेर्ने हो र ?,’ अहो ! आफ्नै प्रश्नले झसंग भए, ‘छिः यिनले ईं बुइँगलमै पो पिसाब फेर्छन् कि कसो ?’ यताउति हेरें ।

पातलेले हाँस्दै भने, ‘हेहे कहीँ पिसाब पनि घरभित्र, तेई पनि बुइँगलमा फेर्छन् त ?’

म एक्कै छिनमा उनीहरूसँग घुलमिल भएँ । उनीहरूले आफूहरू घरमा बसेको कुरा कसैलाई नभन्न मलाई वाचा गराए । पछि थाहा भयो, पातलेको नाम प्रभात रहेछ, अर्का किताब पढिरहनेचाहिँ विशाल । मैले पहिलोपल्ट बुइँगलमा ‘कमरेड’ भेटें । कमरेडहरूलाई लुकाएर खाना खुवाउने काम आमाको रहेछ । पछि बुइँगलमा खाना लिएर जानेबेला आमाले मलाई पाले राख्न थाल्नुभो । म पनि ठिनिमिने कुखुरा चोर स्याल र बेसारो (चील प्रजाति) धपाउने निहुँले घरवरिपरि चियो गर्थें ।

बुबा दिउँसो स्कुल पढाउनुहुन्थ्यो । रात परेपछि कहिले कमरेडहरूसँग साउतीमा आधा रातसम्मै बात मार्नुहुन्थ्यो । कहिले फुलिस्केपको पन्नामा के–के लेखिराख्नुहुन्थ्यो । धेरै रात घरबाट अन्यत्रै हिँड्नुहुन्थ्यो । पछाडि फर्काएर कोरिएको कपाल, सर्ट–प्यान्ट र कपडाको जुत्ता, देब्रे कम्मरमा चुप्पी, त्यतैपट्टि भिरेको छड्के ब्याग, हातमा दुई ब्याट्रीवाला टर्च लाइट र घंगारुको लौरो ! बुबाको पातलो खिरिलो ज्यानको हुलिया थियो यो । घरमा उहाँको बास कमै हुने । आमाका हजार भुक्तमान हुन्थ्यो, मेसिनजस्तो ननस्टप दगुरिरहनुपर्ने । हजुरबाको चर्को रापताप । त्यस्तोमा आमालाई जोखिमपूर्ण नयाँ जिम्मेवारी थपियो– बुइँगलका कमरेडहरूको सेवा । कहिलेकाहीँ आमालाई म पनि सघाउँथें ।

चोङेमा पिसाब

एक बिहान देखें– आमा हातमा चोङे बोकेर लिस्नुबाट तल झर्दै हुनुहुन्थ्यो । घरपछाडि जानु भो । घरमा पूजा पनि थिएन, फेरि पूजाआजामा आलो बाँसको सानो चोङे मात्रै प्रयोग हुन्थ्यो । के होला त ध्वाँसे चोङेमा ? आमा ग्वाली, भैंसीको थलो नाघेर बाँस झ्याङतिर जानु भो । म पाइला दबाएर पछिपछि गएँ । बाँस झ्याङमा पाइखाना थियो, आमाले चोङेबाट पाइखानामा के फालेको ? आमाले मलाई देखिहाल्नु भो, ‘यो केटीको काम छैन ? किन पछि लागिराको ? सिर्कना भेट्टाउलास् है तैंले !’

मैले सोधिहालें, ‘के फालेको ममी चोङेबड ?’

‘चुपो लाग् ! तेरा थुतुनो ! सुन्ला अरुले, हैन तँलाई सप्पै कुराको खोजिनीति किन चाहियो हँ ? पिसाब हो पिसाब, ऊ माथि... ।’ माथि बुइँगलतिर संकेत गर्नुभो । घीनले मेरो मुख बिग्रियो । त्यसपछि था’ भो, आमा बिहान–बेलुकै चोङेमा कमरेडहरूले फेरेको पिसाब बोकेर बाँसझ्याङ पुग्नुहुन्थ्यो । पिसाब फालेपछि फर्केर चोङे धुनुहुन्थ्यो र फेरि बुइँगल उक्लिनुहुन्थ्यो । त्यो पनि उहाँको नित्य थिएछ । कमरेडहरू बुइँगलमा दस–पन्ध्र दिनसम्म बस्थे र फेरि कुनै रात निशाचरजस्तो सुटुक्क निस्केर कतै अलप हुन्थे । फेरि आउँथे ।

चोङेको कथा थाहा पाएपछि पनि म बुइँगल चढिरहें । सोच्थें, तर चोङेमा कसरी पिसाब फेर्दा हुन् ? फेरि दुई जना सँगै छन्, लाज लाग्दैन ? छिः फोहोरीहरू !

बुइँगलमा गाउँकै काकाहरू पनि चढ्न थाले । सबै साउतीमा बोल्थे । हातैले रङरङका साइनपेनले पर्चा लेख्थे– नेकपा माले जिन्दावाद ! खै केके हो मुर्दावाद !

राति बटुवाको हिँडडुल बन्द भएपछि कमरेडहरू, बुबा र गाउँका मान्छे घरको भुइँतलामै जम्मा हुन्थे । दैलोको आग्लो, जस्केला ढप्काइएको हुन्थ्यो । फलामे र पित्तलका टुकीहरू बलिरहेका हुन्थे । ठिक्कको स्वरमा छलफल गर्नुहुन्थ्यो । किसान, विद्रोह, पञ्चे, पार्टी, संगठन, सदस्यता, पर्चा... अनेक शब्द दोहोरिरहन्थ्यो । कहिलेकाहीँ चकले केही लेखिएको रातो तुल भित्तामा झुन्ड्याइन्थ्यो । गीत गाउनुहुन्थ्यो, मुठी कसेर हात उठाउनुहुन्थ्यो । गीत घाँस–दाउरामा निनीहरूले गाउने वा दमाई माइलो काकाहरूले कुर्रा लाउँदै गाउने लोकभाकाको हुन्नथ्यो । पछि बुझेँ, ती गीत कम्युनिस्टले गाउने अन्तर्राष्ट्रिय गीत थिए ।

त्यसरी कार्यक्रम हुने रात हामी पहरेदारी गर्थ्यौं । आमा, कान्छी निनी घरवरिपरि घुमिरहनुहुन्थ्यो । म र भाइ (माधव) जस्केला र आँगनमा टहलिन्थ्यौं । कोही आइरहेको संकेत पाए दौडेर खबर गर्नुपर्थ्यो । उहाँहरू बत्ती झ्याप्प निभाएर चुप लाग्नुहुन्थ्यो । केही बेरपछि फेरि बत्ती बल्थ्यो । भालेको तेस्रो डाकसम्म उहाँहरू कार्यक्रम सक्नुहुन्थ्यो र चाल मारेर गाउँलेहरू घरघर लाग्थे । आमाहरू भने एक निद्रा सुत्दा–नसुत्दै उठेर ढिकी, जाँतो गर्नुपर्ने ।

अचेल सम्झन्छु, आमाहरूले जिन्दगी कसरी आधा–अँधेरी भोग्दै आए हुन् । त्यो कथा कि त्यही घरलाई थाहा थियो कि आमाहरूलाई । पछिपछि बुबाबारे सोध्दै घरमा पुलिस आउन थाल्यो । दिउँसो स्कुल पढाइरहेका बुबा अरू बेला पुलिसको आँखाबाट अन्यत्र उम्किएर हिँड्नुहुन्थ्यो । अनेक चलाखीले उम्किरहनु भो । त्यसैबीच इलाममा रत्नकुमार बान्तवादेखि देशका विभिन्न ठाउँमा क्रान्तिकारीहरू मारिए । आजसम्म पनि बुबा, विशाल अंकल कहीँ न कहीँ क्रान्तिमै हुनुहुन्छ । मीठो गीत गाउने प्रभात अंकल भने आन्दोलनबाट पलायन हुनुभयो रे । म हाइस्कुल पढ्ने भएँ, प्रजातन्त्र आयो । बुबाहरूको पार्टी खुला भयो । कमरेडहरूले बुइँगलमा लुक्नु नपर्ने भयो । आमा पनि चोङेमा पिसाब ओसार्ने जिम्मेवारीबाट मुक्त हुनुभयो ।

लाल कमरेडहरू

तर न घर न आमा, क्रान्तिकारीहरूलाई आश्रय दिनबाट मुक्त भएनन् । देशमा माओवादी ‘जनयुद्ध’ सुरु भयो । हाम्रो घर पुनः त्यस क्षेत्रको क्रान्तिकारीको मुख्य सेल्टर बन्यो । तर, त्योपालि कोही बुइँगलमा भने चढेनन् । बुबाले त्यसबीच घरमा चार कोठा थपिसक्नुभएको थियो । तिनै कोठामा माओवादी कमरेडहरू आश्रित हुन्थे ।

उनीहरू आलोपालो आइरहने, गइरहने । नयाँ क्रान्तिकारीलाई भातखाजाको जोहो गर्ने जिम्मा फेरि आमालाई आयो । कैयौं छाक आफ्नो भागको खाना क्रान्तिको नाममा पस्किनुभयो । ‘जनयुद्ध’ भरि आमाले पटकपटक खाना बसालिरहनुभयो । थाल माझिरहनुभयो, बिस्तारा धोइरहनुभयो । आमा र त्यो घरले कमरेडहरूलाई अनेक जोखिममा जोगाइररहे ।

एक दिन ‘जनयुद्ध’ ले सिंहदरबारमा आएर बिसौनी लायो । गणतन्त्र आयो, क्रान्ति नायकहरू सत्तासीन भए । अनेक धन्धाले मालामाल हुन थालेपछि ‘लाल कमरेड’ हरूको रङ फेरिँदै गयो । मेरा बुबा–आमाको पनि रङ फेरियो । अनेक रोगले ऐया–आत्था आमाको गीतको भाका बन्यो । बुबाले भिरिहिँड्ने छड्के ब्याग सिंगौरीमा ध्वाँसोले छोपिएर झुन्डिएको छ ।

बुबाको ज्यान कमजोर बन्यो, आर्थिक रूपमा उठिनसक्नु ऋणको भारीले किचिनुभयो । हो, घरको पनि रङ फेरियो, छाना फेर्न नसकेर बुइँगलमा पानी चुहिने भयो । स्याहार पुगेन सायद, हजुरबाले बलियो गरी बनाएको घरमा भित्रभित्रै धमिरा छिर्‍यो । हाम्रो ओत, जरा, शिर त्यो घर ! अनेक क्रान्तिको साक्षी त्यो घर ! पुराना नयाँ कमरेडहरूलाई जोगाउने त्यो घर ! अन्ततः पार्टी र क्रान्तिका लागि सेल्टर बन्नु थिएन । हुनेवाला क्रान्तिको उभार अहिल्यै उठिसकेको छैन । घर बचाउने बुबाको अनेक कोसिसका बावजुद त्यो घर ढल्यो । अब न पिँढीमा बसेर आरुका फूल हेर्दै जोवन–कथा हाल्ने हजुरआमा हुनुहुन्छ, न त पिँढी नै छ । न त सिकुवामा बसेर घुम बुन्ने हजुरबा, न त सिकुवा नै । घर ढल्नु त जरैसँग आफ्नै अस्तित्व ढल्नुजस्तो पो रहेछ । त्यसका एक–एक ढुंगामा कुँदिएको रातो अक्षर मेटिनु रहेछ । सिकुवा, दैलो, मझेरी, अगेना, भर्सेली, खोपी, लिस्नु, बुइँगल, चुली र चुलीबाट देखिने हिमालचुली सबै हराउनु पो रहेछ ।

माथि कञ्चनजंघाबाट निस्रित तमोर जुगजुगदेखि सेताम्य छाल उराल्दै उसरी नै बगिरहेछ । हामीले भत्काउने कल्पनासम्म नगरेको हाम्रो घरको अब स्वरूप बदलिँदै छ । त्यही जमिनमा बुइँगलबिनाको नयाँ घर बन्ने भएको छ । आमाले ४६ वर्षदेखि हरबिहान पोतारो लगाएको दैला, अँगेनाको स्वरूप फेरिनेछ । मेरो लेखिन बाँकी प्रेम कथा बचाइदिने छानो फेरिनेछ । घुमिरहने यो पृथ्वीमा स्थायी त केही छैन, न यो जीवन नै छ । यतिबेला बोध गर्दै छु, आफू हुन जरा हुनुपर्ने रहेछ । जरा हल्लियोजस्तो लागेर यतिबेला मनै खल्बलिएको छ । बुबा–आमा भने पसिना मिसाएर त्यही जमिनमा हाम्रा लागि नयाँ जरा हाल्दै हुनुहुन्छ । घरको जग हाल्ने अनेक चटारोबीच आमा फोनमा लालबहादुर खाती र तीर्थकुमारीको गीत गुनगुनाउनुहुन्छ–

‘बारीको डिलमा ओखरबोट

ओखरबोटमा चिल बस्यो

भन्नै नहुने माया

तिमीसित साह्रै नै दिल बस्यो’ ।

प्रकाशित : असार १८, २०७९ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?