१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मतदाता–पाठक पेवा होइनन्

आफ्ना रचनाको व्याख्या उसको अर्थभन्दा फरक भयो भने लेखक रिसले आगो हुन्छ । तर, त्यो आगोको अर्थ छैन । पाठकले लगाएको अर्थ नै अमुक कृतिको आत्मा हो।
अभि सुवेदी

मतदाता, पाठक र कलाका दर्शक कसैका निजी तजबिजका मानिस हुँदैनन । तर, विडम्बना के छ भने मतदातालाई राजनीतिक दल, पाठकलाई लेखक अनि दर्शकलाई कलासाधकले आफ्ना पेवा ठान्ने परम्परा छ । यो लगभग सबैतिर प्रयोग भइआएको देखिएको छ ।

मतदाता–पाठक पेवा होइनन्

यहाँ पहिले म नेपालका एकाध राजनीतिक घटनाक्रमले उजागर गरेका मतदाता विषयका केही कुरा राख्न चाहन्छु । तर, मतदाताका विषयमा केही चिन्तन र अध्ययन गर्ने क्रममा आफू साहित्यकार भएकाले साहित्यका पाठकका कुरा पनि ल्याउनु उपयुक्त देख्छु । केही समयदेखि नेपालको राजनीतिक बहसमा त्रिकोणात्मक अभ्यास भइआएको देखिएको छ । आफू राजनीतिक विश्लेषक नभएको हुनाले यस लेखमा अलि फरक विषय उठाइएको छ ।

राजनीतिक गठबन्धन र एकल दलजनिन राजनीतिले उठाएका केही विषयले मलाई किञ्चित्चकित बनाएको छ । अहिलेको छलफलमा दलहरूका भाषिका अनौठा देखिएका छन् । खासगरी स्थानीय चुनावको सिलसिलामा दलहरूले चुनाव क्षेत्र मात्रै होइन, मतदाता पनि बाँडेको विषय अनौठो छ । अमुक दलले गठबन्धनमा सम्झौता भएअनुसार मत नपाएपछि गुनासो गरेका, घुर्की र धम्की लगाएका घटना उदेकलाग्दा छन् । दलहरूका आफ्ना पक्का मानिएका मतदाता भनेका तिनका पार्टी सदस्य र कार्यकर्ता हुन् । अरू बाँकी मानिस स्वतन्त्र हुन्छन् । प्रजातान्त्रिक प्रणालीमा तिनले मतदान गर्छन् । ती अमुक दलले मागेअनुसार मत दिँदैनन् । आफ्नै विवेकले भोट हाल्छन् । दलका कार्यकर्ताले आफ्ना दललाई मत दिन्छन्, स्वाभाविक हो । तर, दलहरूले हामीलाई यति प्रतिशत भोट आउनुपर्थ्यो, नआएकाले यो सरासर धोका भयो भन्नुको अर्थ उनीहरूले मतदातालाई पनि पेवा ठानेको बुझियो । यो लोकतान्त्रिक प्रणालीमा अनौठो कुरा हो । गठबन्धनले वा एकल दलले बाँड्दैमा मतदाता किन बाँडिने ? अनि त्यस्तो विश्वास राजनीतिक दलले किन लिने ? यी हुन् प्रश्न ।

पोपुलिज्म भन्ने अहिले राजनितिक मीमांसामा धेरै चलेको विषय हो । दक्षिण अमेरिकातिर पोपुलिज्म अलिक देब्रे ढल्केको अर्थमा लिइन्छ भने युरोपेली र अमेरिकी वृत्तमा यसलाई अलिक दक्षिणपन्थी अर्थमा लिइन्छ । तर, पोपुलिज्मको प्रयोग राजनीतिक नेता वा नायकको व्यक्तित्ववरिपरि विकसित हुन्छ । त्यहाँ कोही हिरो हुन्छ, जसलाई पोपुलिज्मको आधार मानिन्छ । नेपालजस्तो राजनीतिक दलहरू मुख्य तत्त्व भएको ठाउँमा नेता र दलवरिपरि पोपुलिज्मको विकास गर्ने क्रम बढेको देखिन्छ ।

नेपालका राजनीतिक नेताहरूका चरित्र, गुण, तिनका इतिहास र तिनका कार्यक्षमता पनि छलफलमा आइबस्ने हुनाले नेपाली राजनीतिमा पोपुलिज्मको एकल चरित्र छैन । मलाई त्यो कुरा सकारात्मक लाग्छ । तर, मतदातालाई पेवा ठान्ने दल र नेताहरूको भ्रमले भने हास्यरस जन्माउँछ । निष्कर्षमा, मतदाता राजनीतिक दल वा नेताका पेवा हुँदैनन् । त्यो कुरा बुझ्न नेपाली राजनेताहरूले ढिलो गरे अथवा अमुक ठाउँका मतदातालाई आफ्ना पेवा ठानेर काम गरे उनीहरूले पश्चात्ताप गर्ने अवस्था आउन सक्छ । जनताले काठमाडौं, धरान, धनगढी र अरू ठाउँमा देखाएको चरित्र मतदातालाई पेवा ठान्नु हुँदैन भन्ने कुराको सङ्केत हो ।

साहित्यकारले पनि पाठकलाई पेवा ठान्ने परम्परा छ । अरू देशका साहित्यमा पनि छ । यस विषयमा पछिल्लो समयमा जोडदार मीमांसा र प्रयोग भएका छन् । पश्चिममा खासगरी फ्रान्समा पाठक लेखकका पेवा होइनन् भन्ने सिद्धान्तको जन्म भएको हो । रोलाँ बार्थ र मिसेल फुकोले त लेखिसकेपछि अमुक रचना गर्ने लेखक सकिन्छ अथवा उसको मृत्यु हुन्छसम्म भने । उनीहरूको यो भनाइ एउटा दार्शनिक चिन्तनकै क्रममा आएको थियो र समीक्षामा आएका ठोकुवा सिद्धान्तको विपक्षमा थियो ।

समीक्षकले अर्थ ठोकुवा गर्ने अनि लेखकले मेरो अर्थ यही मात्र हो भन्ने कुराले गर्दा साहित्य पठनपाठन र समीक्षामा एकल पद्धति स्थापित हुँदै आएको कुरा बुझिन्छ । तर, पछिल्लो समय त्यो पद्धतिले काम गर्न छाडेको कुरा यथार्थ भइसकेको छ । लेखक उसका रचनाको व्याख्या उसले ठानेको अर्थभन्दा फरक भयो भने रिसले आगो हुन्छ । तर, त्यो आगोको अर्थ छैन । पाठकले लगाएको अर्थ अमुक कृतिको आत्मा हो । समीक्षकले भनेको कुरा होइन । त्यसैले हिजोआज समालोचना विधा नै संकटमा पर्न लागेको छ । लेखकले मैले यस्ता सिद्धान्त र विचारले लेखेको हुँ, यसको अर्थ यस्तै हुनुपर्छ भन्नुको अब कुनै अर्थ छैन ।

म आफैं आफ्नो समालोचकीय लेखनको इतिहासतिर फर्केर हेर्छु । ती किताबहरूमा र साहित्यिक पत्रिकाहरूमा आएका छन् । अहिले लाग्छ, एउटा परम्परामा लेखिएछ । कतिपय समालोचनामा अर्थ ठोकुवा गरिएछ । तर, पछिल्ला वर्षहरूमा त्यसमा परिवर्तन गरेको छु । नेपाली लेखकहरूले अनेकौं किसिमले आफूले लेखेको अर्थ नै अन्तिम सत्य भएको कुरा गरिहिँडेका भेटिन्छन् । तर, पाठक लेखकका पेवा होइनन् । ती स्वतन्त्र पाठकले साहित्यलाई गति दिएका छन्, अर्थ दिएका छन् अनि दिएका छन् नयाँ जीवन । तर, पाठकको स्वाधीनताले लेखकको महत्त्व घट्दैन । यसले साहित्य लेखनलाई नयाँ चुनौती र ज्यान दिन्छ । लेखकले त्यो बुझ्न सक्नुपर्छ । त्यसैगरी स्वतन्त्र भएर भोट दिने मतदाताको निर्णयले राजनीतिमा नयाँ गति ल्याउँछ । नयाँ सिर्जनशील चुनौतीहरू जन्मिन्छन् ।

चित्रकलाको समीक्षा गरेको लामो अनुभवका आधारमा भन्छौं– चित्रकारले आफ्ना अर्थ अमूर्त र सरल चित्रमा राखेर प्रोजेक्सन गर्न चाहन्छन् । समीक्षकको अर्थ आफ्नै हुन्छ, तर प्रत्येक दर्शकले आफैं लगाउँछ चित्रकलाको अर्थ । त्यसमा सहयोग गर्ने केही आधार हुन्छन् । त्यस्ता आधार राजनीतिमा पनि हुन्छन् । प्रजातान्त्रिक, समाजवादी आदि भन्नु सैद्धान्तिक आधारको कुरा गर्नु हो । त्यो एक स्वस्थ र लोकतान्त्रिक अभ्यास हो । त्यस्तो साहित्यमा पनि हुन्छ । विधाहरू हुन्छन्, अनि तिनका सिद्धान्त र नियम हुन्छन् । तिनका प्राज्ञिक अभ्यास हुन्छन् । तिनका विश्वविद्यालयदेखि लिएर साधारण प्रकाशन र पाठकसँग सम्बन्ध हुन्छन् । त्यसले स्वतन्त्र अभ्यासको परम्परा बनिन्छ । त्यो मानिसको सिर्जनशील कर्म र त्यसको परम्परा हो । नेपालमा पनि त्यो भएको छ ।

तर, राजनीतिक दलहरूले मतदातालाई पेवा ठान्नु अप्रजातान्त्रिक धारणा राख्नु मात्र नभएर आत्मवञ्चना पनि हो । अधिनायकतावादी शासक र शासन भएका मुलुकमा मतदातालाई पेवा मात्र होइन, आफ्नो बसभित्रका मानिस ठानिन्छ । ‘डिक्टेटरसिप’ त्यसैबाट जन्मिने हो । साहित्यमा पनि त्यस्तो ‘डिक्टेटर’ ले अर्थ निष्पत्तिमा नियन्त्रण गर्छ । त्यस्ता पद्धतिमा लेखकहरू दण्डित भएका छन्, तिनका विचारलाई दबाइएका छन् । लेखक जेल गएका छन् र हताहत भएका छन् । दल नभएका देशमा विचारमाथि नियन्त्रण गरिन्छ । त्यहाँ मतदाता हुँदैनन् । तिनका नक्कली स्वरूपहरू मात्र हुन्छन् ।

हाम्रो अहिलेको पद्धतिमा लोकतान्त्रिक अभ्यास छ । तर, यसमा दलहरूले मतदाता गतिशील, स्वतन्त्र र स्वविवेकी हुन्छन् भन्ने मान्नु अत्यन्त आवश्यक भएको छ । त्यही धारणालाई आफ्नो राजनीतिक दर्शनको आधार मान्नु राम्रो हुन्छ ।मतदाताहरू स्वतन्त्र हुँदै जानु सकारात्मक हो । जसरी साहित्यका पाठक पढेर आफैं अर्थ निष्पत्ति गर्न स्वतन्त्र छन्, त्यस्तै मतदाताहरू उम्मेदवार र दल छान्न स्वतन्त्र छन् । त्यसैगरी कलाकारहरू आफ्ना कलाका कलेवर रचना गर्न स्वतन्त्र हुन्छन् । यी सबै स्वतन्त्रता स्वस्थ र कालिक चेतनासम्मत छन् किनभने लोकतन्त्रमा मतदाता स्वतन्त्र र परिवर्तनशील हुन्छन् । स्वस्थ साहित्यिक परम्परामा पाठक अर्थ निर्धारण गर्दा ज्ञान, भावना र काल्पनिकीको प्रयोग गर्छन् । त्यसबाट गतिलो अभ्यास जन्मिन्छ ।

अन्त्यमा एउटा कुरा भन्नुपर्छ । राजनीति गर्नेका आधार मतदाता नै हुन् । साहित्य रचना गर्नेका लक्षित समुदाय पाठक नै हुन् । अमूर्त वा सरल चित्र रचना गर्ने वा मूर्तिकला वा वास्तुकला रचना गर्नेका उपासक तिनको प्रयोग गर्नेहरू नै हुन् । त्यसैले त्यो अभ्यास स्वाभाविक हो । तर, त्यो विश्वासलाई उचित र विवेकपूर्ण ढङ्गले प्रयोग हुनु सिर्जनशील र लोकतान्त्रिक अभ्यास हो ।

प्रकाशित : असार १८, २०७९ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?