‘शताब्दी घर’ कुरिरहेको साथी- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
घरको कथा

‘शताब्दी घर’ कुरिरहेको साथी

फणीन्द्र संगम

यतिबेला गाउँको जवानी निख्रिएको छ । सामर्थ्य हराएको छ । विदेश उड्ने अनि सहर पस्ने युवाको यादमा गाउँघर नियास्रिएका छन् । ठूलो सपना बोकेर सहर पस्नेहरूमा रहर त छ, तर गन्तव्य छैन । फर्किऊँ आफू हिँडिरहने गोरेटोले नचिन्ने हो कि ? पँधेरो, चौतारोले ‘को हौ तिमी’ भनेर सोध्ने पो हो कि ? साँच्चै गाउँ बिरानो बनेको छ ।

तर, अचानक एक दिन आरकेले राजधानी छाड्यो । कवि । फोटोपत्रकार । पर्यावरण चिन्तक । सामाजिक अभियन्ता । अर्थात्, प्रिय साथी आरके अदीप्त गिरी राजधानीबाट ‘पलायन’ भयो ।

कोरोना महामारीसँगै जब लकडाउन भयो, यहीबीच ऊ पर्वतको कुश्मा फर्कियो । गाँवै फर्किहाल्ने संकेत उसमा थिएन । तैपनि कालीगण्डकी दोहन र कुश्मा–पर्यटनबारे गुनगुन–गुनगुन गरिबस्थ्यो । बागबजारमा गल्लीहरूमा चिया पिउँदा होस् या साँझको मित्रमण्डलीमा, बेलाबेला आवेगमा आउँथ्यो– ‘सम्पदा, नदीनाला, इतिहासप्रति कसलाई चिन्ता छ यहाँ ? नदी उत्खनन, कलासंस्कृति र पर्यावरणमाथि कुनै मिडियाले गम्भीर बहस चलाए ?,’ ऊ धारिला र गम्भीर प्रश्नहरूसँग खेल्न रुचाउँथ्यो ।

आरके अदीप्त गिरि ।

एक दिन बुद्धनगरको उजामा क्याफेमा हामी गफिइरहेका थियौं । त्यही बेला सामाजिक अभियन्ता मिलन राई टुप्लुक्क आइपुगे । आरकेले झोलाबाट कागजपत्र निकालेर देखाउन थाल्यो । उसले त कुश्मा कला परियोजनाको सिंगो खाका नै तयार पारिसकेको रहेछ । संस्थाको लोगो, बोर्डको डिजाइन, योजनाका प्रस्ताव बोकेर विभिन्न क्षेत्रका विज्ञसँग सल्लाह लिन ऊ राजधानी आइपुगेको रहेछ । काठमाडौंका संरक्षणहीन सार्वजनिक जग्गामा खुला पार्क बनाउने अभियानमा लागेका मिलनसँग केही आइडिया आदानप्रदानपछि हामी छुट्टियौं ।

लगत्तै कुश्मा फर्किएको आरकेले मस्तिष्कमा मास्टरप्लान बनाउन थाल्यो । परियोजनालाई गति दियो । कालीगण्डकी बचाऔं अभियानको नेतृत्व लिइसकेको उसले कविहरूलाई समेट्दै कवितामार्फत आवाज अझ बुलन्द बनायो ।

श्रवण मुकारुङको शब्दमा कर्ण दासले गाएको गीतले भन्छ–

ए कालीगण्डकी, हे आमागण्डकी

माकुराको माउ भयो तिम्रो जिन्दगी

कुश्मालाई मुकाम बनाएपछि कला, साहित्य, पर्यटनजस्ता विविध विषय–चिन्तनमै व्यस्त बन्यो ऊ । तर, परियोजनालाई कसरी अघि बढाउने ? दिमागमा झ्वाट्ट आयो– आफूले सानैदेखि देख्दै आएको पुरानो घर, जुन कुश्माको माझगाउँमा अलिखित इतिहास बनेर उभिएको थियो । यही पुरानो घरबाट उसले इतिहास नियाल्यो । पुर्खाहरूको पौरख महसुस गर्‍यो र पसिनाको बास्ना अनुभव गर्‍यो ।

राम गिरीले यो घर छाडेको १२ वर्ष बितिसकेको थियो । संरक्षणविहीन घरलाई सम्पदाका रूपमा अघि बढाउने खाका सुनाएपछि उनी विश्वस्त बने । गिरी परिवारको विरासत मात्रै नभई सिंगो कुश्माको इतिहास हुन सक्छ भन्ने बुझेपछि आरकेको प्रस्तावमा ‘लालमोहर’ लगाइदिए । २०७८ मंसिरदेखि आरके यही घरको कुरुवा बनेको छ, जसलाई नाम दिइएको छ– शताब्दी घर ।

घरधनी रामका अनुसार, यही घरमा खाईखेली हुर्केका ६/७ पुस्ता गिरी परिवारले पखेटा हालिसकेका छन् । उनी इतिहास सम्झन्छन्, ‘तीन सय वर्षभन्दा अगाडि जिजुहजुरबुबा धनराज गिरी यता आउँदा कुश्माको प्रकृतिसँग लोभिनुभएछ । हराभरा फाँट र उर्वर भूमि देखेर यतै घर बसाउने सोच बनाउनुभएछ । उहाँपछिका पुस्ता यही छानोमुनि हुर्किएको हामीले सुन्दै आएका हौं । त्यस आधारमा पनि यो घर तीन सय वर्ष पुरानो हो ।’

धनराजका पाँच छोरा थिए– नरसिंह, कालु, प्रसाद, दौलत र ईश्वर । कान्छो ईश्वरको भागमा पर्‍यो यो घर । उनका तीन भाइ छोरामध्ये महन्त यहीँ बसे । त्यसपछि उनका कान्छो छोरा बलभद्रको सन्तानले यो घर संरक्षण गरे । बलभद्रका ६ भाइ छोरामध्ये राइँलो हुन्, राम । ‘मेरा सन्तान पनि यही घरमा हुर्किएका हुन्,’ उनी भन्छन्, ‘त्यतिका सन्तानलाई छहारी दिएको घर अझै बाँचिरहोस् । बलियो इतिहास बनोस् ।’

अनेक पुस्ता विस्तार गरिरहँदा यो घर सामाजिक परिवर्तनको पनि साक्षी बनिरह्यो । त्यसबेला बस्ती विकासको क्रममै थियो । सबैतिर फुसका छाना मात्रै थिए । यो घरमा भने जस्तापाता हालियो, त्यही पनि बटौली (बुटवल) बाट ल्याएर । सडक सुविधा नहुँदा ८ दिन बोकाएर ल्याइएको थियो । झन्डै ८० वर्षअगाडि पहिलोपटक जस्तापाता हालिएको उनी अनुमान गर्छन् ।

बरन्डामा कलात्मक बुट्टा कुँदिएको, जस्ता हालिएको चिटिक्कको घर सबैको नजरमा पर्न थाल्यो । पर्वत सदरमुकाम कुश्मा बनेपछि राजनीतिक, प्रशासनिक केन्द्र बन्दै गयो । २०२४ सालतिर जिल्ला पञ्चायत सभापति अमृतप्रसाद जोशीले कार्यालय राख्नका लागि यही घर रोजेको गिरी सम्झन्छन् । सुरुवातमा भूमिसुधार कार्यालय बसेपछि यो घर सबैको केन्द्र बन्दै गयो ।

पोखरा–बागलुङ (मध्यपहाडी) लोकमार्गलाई छोएर बसेको कुश्मा पर्यटकीय हब बन्दै छ । तर, त्यसबेला सडक सञ्जाल थिएन । यो घर बनाउन नजिकका जंगलबाट काठ तथा ढुंगा बोकाएर ल्याइएको थियो । अग्रजहरूका अनुसार बार्दलीको मात्रै बुट्टा कुँद्न एक महिना समय लागेको गिरी बताउँछन् । यी कलात्मक बुट्टामा काठकै पेचकिलाले जोडिएको छ, फलामका काँटी कतै प्रयोग नगरिएको यो कला अद्भुत लाग्छ ।

पहाडे शैलीको घरको आफ्नै इन्जिनियरिङ छ । घरअगाडि ठूलो आँगन छ, ढुंगाले छापिएको । बाहिर तगारो । पिँढी, माइली पिँढी । आँटी, माइली आँटी । मझेरी । बार्दली । भित्र परम्परागत लिस्नो । धनकुटी । फराकिलो सिरानतला । ठूला जोडी थामले पिलरको काम गरेका छन् । धूवाँ लागेका निदाल र सरा फलामभन्दा दह्रा लाग्छन् । ढुंगामाटो, पानीइँटाले मजबुत घरभित्र गर्मी र जाडो वातानुकूलित अनुभूत हुन्छ । नयाँ वर्षको छेको यहाँ पुग्दा मैले बाल्यकाल बिताएको इलाम साङरुम्बाको पुरानो घर सम्झिएको थिएँ, जसको अहिले भग्नावशेष पनि बाँकी छैन ।

तीनतले घरमा परियोजनाले विभिन्न योजना बनाएको छ । पहिलो तलामा पुस्तकालय र सभाकक्ष । दोस्रो तला थिएटर । बार्दलीमा ग्यालरी । सिरानतलामा सांस्कृतिक संग्रहालय, जहाँ विभिन्न जातजातिका वेशभूषा, बाजागाजा रहनेछन् । ‘पहिलेको धनकुटीलाई ज्ञानकुटी बनाउने सोच छ,’ आरकेको योजना छ, ‘जहाँ बसेर कुनै सर्जकले साधना गर्न सकून् ।’ वाङ्मयका सबै विधालाई शताब्दी घरमा अटाउने र यहीँ बसेर समाज–इतिहासको चिन्तन गर्न सकिने सोचलाई परियोजनाले मूर्तरूप दिँदै छ ।

भौतिक विलासका नाममा मासिँदै गएका ऐतिहासिक धरोहर जोगाउन आरकेजस्ता युवामा जागरुकता चाहिने रहेछ, जसले कुश्मा मात्रै होइन अन्य ठाउँका यस्ता ऐतिहासिक सम्पदा नमेटियोस् भन्ने सन्देश दिन्छ । ‘विभाजित समाजलाई यही सम्पदामार्फत जोड्ने प्रयास भइरहेको छ,’ आरकेमा निश्चिन्तता देखिन्छ, ‘गाउँलाई सहरसँग, सहरलाई गाउँसँग जोड्ने बेला हो यो ।’

यहीँका युवा प्रनिश गिरी स्थानीय सरकारबाट गर्नुपर्ने काम व्यक्तिको आँटबाट सुरु भएकामा खुसी छन् । ‘कुनै बेला यो घर भत्किन सक्थ्यो, तर जीवन पायो । यो घरको कुरा मात्रै होइन, हामीले मौलिक धरातल बिर्सनु पनि हुँदैन भन्ने सन्देश पनि हो,’ उनी भन्छन् ।

आफ्ना सबै रहर मदुसमा थन्क्याएर हिँडिरहेको आरकेको यो कर्म ट्विटर स्पेसमा बसेर ‘देश बनाउनेहरू’ का लागि पनि सत्प्रेरणा हो, जसको प्रयासले एउटा इतिहास नामेट हुनबाट जोगिएको छ । शताब्दी घर समाज जोड्ने सेतु बनोस् ।

प्रकाशित : असार १८, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

रंगमञ्च जाग्दो छ

क्लासिक वा चर्चित कृति मञ्चमा हेर्न पाउनु दर्शकका लागि नयाँ स्वाद पक्कै हो । तर, अनुवाद र रुपान्तरणको मात्रै भर पर्दा मौलिक नाटक लेखनमै विराम त लाग्ने होइन ?
फणीन्द्र संगम

काठमाडौँ — लेखक नारायण वाग्लेलाई केही वर्षअघि उपन्यास ‘पल्पसा क्याफे’ माथि सिनेमा बनाउने प्रस्ताव आयो । उनले सोचविचार त गरे, तर स्वीकृति दिएनन् । किताबमाथि बनेका धेरैजसो नेपाली सिनेमा ‘फ्लप’ भइरहेकामा उनको अस्वीकृति पो थियो कि !उनी यत्ति भन्छन्, ‘सायद त्यो बेला म तयार थिइनँ ।’

तर, प्रकाशनको १८ वर्षपछि ‘पल्पसा क्याफे’ फरक प्लेटफर्ममा प्रकट भयो, मण्डला थिएटरमा । १७ दिन हाउसफुल चलेको नाटक हेर्न आएका कतिपय दर्शक टिकट नपाएर फर्किनुपर्ने अवस्था बन्यो । वाग्ले प्रदर्शनको नवौं दिन मण्डला पुगेका थिए । नाटक हेरेपछि उनले लेखे, ‘पात्रहरूलाई गरेको स्नेह तिनको चित्रणमा देखिन्छ र त नाटक खुलेको छ कलाकारहरूको अभिनयमा । मेरा आँखा रसाए । रसिला आँखा आफैँमा बलिया अक्षर हुन् ।’

निर्देशक विमल सुवेदीको इमानदार प्रयासकै कारण आफू उपन्यास सुम्पन तयार भएको उनको भनाइ छ । ‘किताबलाई केही अर्थ्याउँछु भन्ने उहाँको सोच पाएँ । कुनै नाट्यकर्मीले कुनै उपन्यासलाई मैले देखेको हिसाबले नाट्य रूप दिन्छु भन्छ भने लेखकले किन बाँध बाँध्नु भनेर स्विकारेको हुँ,’ वाग्ले भन्छन् । नाटकमा आफ्ना पात्रहरू जीवन्त हुन पाएको र त्यो लेखकका लागि हौसलाको विषय भएको उनले बताए ।

निर्देशक सुवेदी राम्रा नाटकको अभाव पूर्ति गर्न उपन्यासको सहारा लिनुपरेको बताउँछन् । ‘बाहिर पनि आख्यानमाथि नाटक बन्ने पुरानै चलन हो । हामीकहाँ राम्रा नाटक निकै कम छन्,’ उनले भने, ‘कथा वा उपन्यास जेमा काम गरे पनि हाम्रो त हो नि ।’

‘पल्पसा क्याफे’ मात्रै होइन एकै समय कौसी थिएटरमा चलेको ‘उलार’ मा पनि दर्शकको घुइँचो लाग्यो । नयनराज पाण्डेको उपन्यासमा आधारित नाटकलाई चे शंकरले निर्देशन गरेका हुन् । उही समयमा पुरानो घरमा ‘जनयुद्ध’ को विषयलाई लिएर ‘खत’ प्रदर्शन भयो । सुलक्षण भारतीको लेखन–निर्देशन रहेको नाटकले पनि प्रशंसा कमायो । केही समयअघि थिएटर मलमा पारिजातको उपन्यासमा आधरित ‘शिरीषको फूल’ प्रदर्शन भयो । ‘पोखरामा पनि देखायौं,’ थिएटर मलका निर्देशक केदार श्रेष्ठ भन्छन्, ‘चुनावलगत्तै चितवन, नेपालगन्ज र बुटवल जाने तयारी छ ।’ नाटकलाई अञ्जान प्रदीपले निर्देशन गरेका हुन् ।

कौसी थिएटरकी संस्थापक निर्देशक आकांक्षा कार्की उपन्यासका पाठक धेरै भएकाले नाटकमा आकर्षण बढेको बताउँछिन् । ‘थिएटरमा आउनेबाहेक किताबका पाठक पनि छन्, किताबमाथि नै नाटक बनेपछि उनीहरू उत्साहपूर्वक आएका हुन्,’ उनले भनिन् । आख्यानमाथि नाटक निर्माण गर्दा निकै चुनौतीपूर्ण हुने उनको बुझाइ छ । ‘पल्पसा क्याफेमा फिल्म बन्ला भन्ने सोचिन्थ्यो, तर नाटकमा आयो । उलारजस्तो उपन्यासलाई पनि नाटकमा ल्याउँदा सीमितताका कारण न्याय गर्न सकिन्न भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘अंग्रेजी नाटकलाई नेपालीमा अनुवाद गर्नु सम्भव हुन्छ, नेपाली आख्यानलाई नाटकमा रूपान्तरण गर्नु असम्भव त होइन, तर चुनौती बढी छ । किताबमा पाठकले गरेको कल्पना नाटकमा नपाउन पनि सक्छन् । त्यो तुलनाको जोखिम सधैं रहन्छ ।’ पुस्तक नै शक्तिशाली छ भने नाटक बनाउँदा निर्देशकीय क्षमतासँग तुलना गर्ने डर रहने उनले बताइन् ।

शिल्पी थिएटर भने यतिबेला मुक्त रंगमञ्च ‘अलिकति उज्यालो’ अभियानमा देश दौडाहामा व्यस्त छ । कोरोना महामारीले दुई वर्ष ठप्प बनेका अन्य थिएटर पनि जुर्मुराइरहेका छन् । आरोहण गुरुकुल गत पुसदेखि नियमिततामा फर्किएको छ । कुञ्ज थिएटरमा आफ्नो मुकाम बनाएर सुरुमा ‘पुतलीको घर’ मञ्चन गर्‍यो । भर्खरै ‘स्कुल’ नाटक प्रदर्शन सकाएको गुरुकुल ‘कोही किन बर्बाद होस्’ को तयारीमा जुटेको छ ।

राजधानीबाहिर पोखराको गन्धर्व थिएटर, मोरङका आरोहण गुरुकुल, झोराहाट, वृत्तान्त, झापाका कदम र परिवर्तन थिएटरले स्थानीय दर्शकलाई नाटक हेर्ने बानी लगाइरहेका छन् । यो सक्रियताले रंगमञ्चमा दर्शकको उपस्थिति बाक्लिँदो छ भने नाट्यकलाप्रतिको विश्वास बढेको छ ।

पछिल्लो समय नेपाली किताबमाथि नाटक निर्माण हुनुलाई राम्रो संकेत मान्छन्, लेखक अविनाश श्रेष्ठ । ‘कथा वा उपन्यास नाटकसम्म जाने प्रक्रिया निकै कठिन हुन्छ । यसमा नाटकको विधागत प्रारूप, संरचनादेखि मञ्च र दर्शकको पनि हेक्का हुनुपर्छ,’ उनले भने, ‘अहिले थिएटरमा मिहिनेतपूर्वक काम भइरहेका छन्, त्यो सुखद संकेत हो ।’

मौलिक नाटककै अभाव अनुवाद–रूपान्तरण परम्पराबाटै सुरु भएको नाटकमा पहलमानसिंह स्वाँरको प्रवेशपछि मात्रै मौलिक लेखन भित्रिएको मानिन्छ । त्यसअघि पौराणिक संस्कृत नाटकलाई नेपालीमा अनुवाद गर्ने चलन थियो । विसं १९६३ मा ‘अटलबहादुर’ लेखेर अनुवाद वा नाट्य रूपान्तरणको ट्रेन्डलाई स्वाँरले भत्काइदिए । उनको आगमनसँगै त्यसपछिका नाटककारले मौलिक लेखनको बाटो समाउँदै कलम चलाउन थालेका हुन् । बालकृष्ण समले ‘मुटुको व्यथा’ (विसं १९८६) मार्फत नेपाली नाटकमा आधुनिकता भित्र्याएपछि लेखनमा प्रयोग हुन थाल्यो । उनले आफ्नै नाटक ‘मुकुन्द इन्दिरा’ निर्देशन गरेपछि मञ्चीय दृष्टिकोणले ठूलै चर्चा पाएको र टिकट काटेर हेर्ने प्रचलन बढेको पुराना नाट्यकर्मीहरू बताउँछन् ।

समले पाश्चात्य दुःखान्त नाट्य परम्परा तथा शेक्सपियरेली नाट्य प्रभाव आत्मसात गरे । त्यसो त यसअघि नै अंग्रेजी, हिन्दी, उर्दु, फारसी, अरबी र बंगाली नाटकको प्रभाव पनि नेपाली नाटकले ग्रहण गर्दै आएको थियो । अहिले भने मौलिक नाटकको अभावकै कारण विदेशी कृतिको अनूदित र नेपाली आख्यानको रूपान्तरित नाटकको संख्या बढी देखिन्छ ।

यसअघि पनि आख्यानमाथि धेरै नाटक बनिसकेका छन् । नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’, हृदयचन्द्र सिंह प्रधानको ‘एक चिहान,’ लीलबहादुर क्षेत्रीको ‘बसाइँ’, प्रदीप नेपालको ‘बर्बरिक’ रंगमञ्चमा चढिसकेका छन् । इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ र ‘जार’, शंकर लामिछानेको ‘आत्माको मीमांसा’, श्याम साहको ‘लाटीको छोरो’, महेशविक्रम शाहको ‘बेड नं ९९’, उपेन्द्र सुब्बाको ‘लाटो पहाड’, भवानी भिक्षुको ‘हारजित’ लगायत कथा पनि नाटकमा रूपान्तरण भइसकेका छन् ।

पछिल्लो दुई महिना चर्चित तीन उपन्यासमाथि बनेका नाटकले रंगमञ्चप्रतिको ठूलो उत्साह जगाए पनि त्यसको निरन्तरतामा चुनौती देख्छन्, निर्देशक केदार श्रेष्ठ । ‘नेपालमा मौलिक नाटक लेखन खस्किँदै गएको अवस्थामा आख्यानलाई नाट्य रूपान्तरण गर्नुले दर्शकको इच्छा त पूर्ति होला,’ उनी भन्छन्, ‘तर, यो समय नाटक लेख्नका लागि हामीलाई राम्रो विकल्प र अवसर पनि हो ।’ उनका अनुसार, जति नाटक लेखिएका छन्, ती रंगमञ्चमै काम गरिरहेका कलाकार वा निर्देशकले लेखेका छन् । त्यसलाई उनी ‘बाध्यता’ को लेखन भन्छन् ।

निर्देशक आकांक्षा कार्की राम्रा विदेशी साहित्यलाई नेपाली दर्शकसामु पस्किनु नै ठूलो कुरा भएको बताउँछिन् । ‘सधैं मौलिक–मौलिक भन्दा त्यो निश्चित दायरामा खुम्चिन्छ, दृष्टिकोण सीमित हुन्छ,’ उनले भनिन्, ‘अनूदित नाटकले बुझाइको आयाम फराकिलो बनाउन सघाउँछ ।’

निर्देशक विमल सुवेदी नाटक लेखकलाई प्रोत्साहन नहुँदा मौलिक नाटकको अवस्था कमजोर बनेको बताउँछन् । ‘उपन्यास वा फिल्म लेख्दा त्यसले लेखकलाई राम्रो पारिश्रमिक मिल्छ, बजारमा चर्चा हुन्छ,’ उनले भने, ‘नाटकमा उति नै समय र मिहिनेत चाहिन्छ । नाटक लेखकलाई ठूलो लगानी गर्ने चलन छैन ।’

त्यसो त नाटक आफैँमा जटिल विधा हो । लेखेर मात्रै यसको विधागत ‘धर्म’ पूरा हुँदैन । कविता लेखेर हतार–हतार फेसबुकमा पोस्ट्याउन वा उपन्यासको ड्राफ्ट बोकेर प्रकाशककहाँ दौडिन जति सजिलो छ नाटकले त्यसरी हतारको यात्रा गर्दैन । मञ्चदेखि लाइट, साउन्ड र दर्शकसम्म जोडिनुपर्छ । ‘गहन विधा भएकैले जसतसले नाटक लेख्न सक्दैन,’ लेखक अविनाश श्रेष्ठ भन्छन्, ‘मान्छेले कम समयमा प्रशंसा, सुख, प्रसिद्धि सबै चाहन्छ । कविता वा उपन्यास लेख्न उति गाह्रो भएन, तर नाटक धेरै विधासँग अन्तरसम्बन्धित भएकाले निकै जटिल लेखन हो । यसमा कविता, कथा, उपन्यास, संगीतसँगै अभिनय र दर्शक पनि जोडिएका हुन्छन् ।’

राजधानीबाहिर पनि रंगमञ्च चलायमान हुनु र दर्शक ओइरिनु नेपाली नाट्य क्षेत्रका लागि सुखद पक्ष हो । हाल थिएटरहरूले दर्शकको मनोविज्ञान बुझेर नयाँ–नयाँ नाटकमा काम गरिरहेका छन् । क्लासिक वा चर्चित कृति मञ्चमा हेर्न पाउनु दर्शकका लागि नयाँ स्वाद भने पक्कै हो । तर, अनुवाद र रूपान्तरणको मात्रै भर पर्दा मौलिक नाटक लेखनमै विराम त लाग्ने होइन ?

प्रकाशित : वैशाख ३१, २०७९ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×