कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
घरको कथा

‘शताब्दी घर’ कुरिरहेको साथी

फणीन्द्र संगम

यतिबेला गाउँको जवानी निख्रिएको छ । सामर्थ्य हराएको छ । विदेश उड्ने अनि सहर पस्ने युवाको यादमा गाउँघर नियास्रिएका छन् । ठूलो सपना बोकेर सहर पस्नेहरूमा रहर त छ, तर गन्तव्य छैन । फर्किऊँ आफू हिँडिरहने गोरेटोले नचिन्ने हो कि ? पँधेरो, चौतारोले ‘को हौ तिमी’ भनेर सोध्ने पो हो कि ? साँच्चै गाउँ बिरानो बनेको छ ।

‘शताब्दी घर’ कुरिरहेको साथी

तर, अचानक एक दिन आरकेले राजधानी छाड्यो । कवि । फोटोपत्रकार । पर्यावरण चिन्तक । सामाजिक अभियन्ता । अर्थात्, प्रिय साथी आरके अदीप्त गिरी राजधानीबाट ‘पलायन’ भयो ।

कोरोना महामारीसँगै जब लकडाउन भयो, यहीबीच ऊ पर्वतको कुश्मा फर्कियो । गाँवै फर्किहाल्ने संकेत उसमा थिएन । तैपनि कालीगण्डकी दोहन र कुश्मा–पर्यटनबारे गुनगुन–गुनगुन गरिबस्थ्यो । बागबजारमा गल्लीहरूमा चिया पिउँदा होस् या साँझको मित्रमण्डलीमा, बेलाबेला आवेगमा आउँथ्यो– ‘सम्पदा, नदीनाला, इतिहासप्रति कसलाई चिन्ता छ यहाँ ? नदी उत्खनन, कलासंस्कृति र पर्यावरणमाथि कुनै मिडियाले गम्भीर बहस चलाए ?,’ ऊ धारिला र गम्भीर प्रश्नहरूसँग खेल्न रुचाउँथ्यो ।

आरके अदीप्त गिरि ।

एक दिन बुद्धनगरको उजामा क्याफेमा हामी गफिइरहेका थियौं । त्यही बेला सामाजिक अभियन्ता मिलन राई टुप्लुक्क आइपुगे । आरकेले झोलाबाट कागजपत्र निकालेर देखाउन थाल्यो । उसले त कुश्मा कला परियोजनाको सिंगो खाका नै तयार पारिसकेको रहेछ । संस्थाको लोगो, बोर्डको डिजाइन, योजनाका प्रस्ताव बोकेर विभिन्न क्षेत्रका विज्ञसँग सल्लाह लिन ऊ राजधानी आइपुगेको रहेछ । काठमाडौंका संरक्षणहीन सार्वजनिक जग्गामा खुला पार्क बनाउने अभियानमा लागेका मिलनसँग केही आइडिया आदानप्रदानपछि हामी छुट्टियौं ।

लगत्तै कुश्मा फर्किएको आरकेले मस्तिष्कमा मास्टरप्लान बनाउन थाल्यो । परियोजनालाई गति दियो । कालीगण्डकी बचाऔं अभियानको नेतृत्व लिइसकेको उसले कविहरूलाई समेट्दै कवितामार्फत आवाज अझ बुलन्द बनायो ।

श्रवण मुकारुङको शब्दमा कर्ण दासले गाएको गीतले भन्छ–

ए कालीगण्डकी, हे आमागण्डकी

माकुराको माउ भयो तिम्रो जिन्दगी

कुश्मालाई मुकाम बनाएपछि कला, साहित्य, पर्यटनजस्ता विविध विषय–चिन्तनमै व्यस्त बन्यो ऊ । तर, परियोजनालाई कसरी अघि बढाउने ? दिमागमा झ्वाट्ट आयो– आफूले सानैदेखि देख्दै आएको पुरानो घर, जुन कुश्माको माझगाउँमा अलिखित इतिहास बनेर उभिएको थियो । यही पुरानो घरबाट उसले इतिहास नियाल्यो । पुर्खाहरूको पौरख महसुस गर्‍यो र पसिनाको बास्ना अनुभव गर्‍यो ।

राम गिरीले यो घर छाडेको १२ वर्ष बितिसकेको थियो । संरक्षणविहीन घरलाई सम्पदाका रूपमा अघि बढाउने खाका सुनाएपछि उनी विश्वस्त बने । गिरी परिवारको विरासत मात्रै नभई सिंगो कुश्माको इतिहास हुन सक्छ भन्ने बुझेपछि आरकेको प्रस्तावमा ‘लालमोहर’ लगाइदिए । २०७८ मंसिरदेखि आरके यही घरको कुरुवा बनेको छ, जसलाई नाम दिइएको छ– शताब्दी घर ।

घरधनी रामका अनुसार, यही घरमा खाईखेली हुर्केका ६/७ पुस्ता गिरी परिवारले पखेटा हालिसकेका छन् । उनी इतिहास सम्झन्छन्, ‘तीन सय वर्षभन्दा अगाडि जिजुहजुरबुबा धनराज गिरी यता आउँदा कुश्माको प्रकृतिसँग लोभिनुभएछ । हराभरा फाँट र उर्वर भूमि देखेर यतै घर बसाउने सोच बनाउनुभएछ । उहाँपछिका पुस्ता यही छानोमुनि हुर्किएको हामीले सुन्दै आएका हौं । त्यस आधारमा पनि यो घर तीन सय वर्ष पुरानो हो ।’

धनराजका पाँच छोरा थिए– नरसिंह, कालु, प्रसाद, दौलत र ईश्वर । कान्छो ईश्वरको भागमा पर्‍यो यो घर । उनका तीन भाइ छोरामध्ये महन्त यहीँ बसे । त्यसपछि उनका कान्छो छोरा बलभद्रको सन्तानले यो घर संरक्षण गरे । बलभद्रका ६ भाइ छोरामध्ये राइँलो हुन्, राम । ‘मेरा सन्तान पनि यही घरमा हुर्किएका हुन्,’ उनी भन्छन्, ‘त्यतिका सन्तानलाई छहारी दिएको घर अझै बाँचिरहोस् । बलियो इतिहास बनोस् ।’

अनेक पुस्ता विस्तार गरिरहँदा यो घर सामाजिक परिवर्तनको पनि साक्षी बनिरह्यो । त्यसबेला बस्ती विकासको क्रममै थियो । सबैतिर फुसका छाना मात्रै थिए । यो घरमा भने जस्तापाता हालियो, त्यही पनि बटौली (बुटवल) बाट ल्याएर । सडक सुविधा नहुँदा ८ दिन बोकाएर ल्याइएको थियो । झन्डै ८० वर्षअगाडि पहिलोपटक जस्तापाता हालिएको उनी अनुमान गर्छन् ।

बरन्डामा कलात्मक बुट्टा कुँदिएको, जस्ता हालिएको चिटिक्कको घर सबैको नजरमा पर्न थाल्यो । पर्वत सदरमुकाम कुश्मा बनेपछि राजनीतिक, प्रशासनिक केन्द्र बन्दै गयो । २०२४ सालतिर जिल्ला पञ्चायत सभापति अमृतप्रसाद जोशीले कार्यालय राख्नका लागि यही घर रोजेको गिरी सम्झन्छन् । सुरुवातमा भूमिसुधार कार्यालय बसेपछि यो घर सबैको केन्द्र बन्दै गयो ।

पोखरा–बागलुङ (मध्यपहाडी) लोकमार्गलाई छोएर बसेको कुश्मा पर्यटकीय हब बन्दै छ । तर, त्यसबेला सडक सञ्जाल थिएन । यो घर बनाउन नजिकका जंगलबाट काठ तथा ढुंगा बोकाएर ल्याइएको थियो । अग्रजहरूका अनुसार बार्दलीको मात्रै बुट्टा कुँद्न एक महिना समय लागेको गिरी बताउँछन् । यी कलात्मक बुट्टामा काठकै पेचकिलाले जोडिएको छ, फलामका काँटी कतै प्रयोग नगरिएको यो कला अद्भुत लाग्छ ।

पहाडे शैलीको घरको आफ्नै इन्जिनियरिङ छ । घरअगाडि ठूलो आँगन छ, ढुंगाले छापिएको । बाहिर तगारो । पिँढी, माइली पिँढी । आँटी, माइली आँटी । मझेरी । बार्दली । भित्र परम्परागत लिस्नो । धनकुटी । फराकिलो सिरानतला । ठूला जोडी थामले पिलरको काम गरेका छन् । धूवाँ लागेका निदाल र सरा फलामभन्दा दह्रा लाग्छन् । ढुंगामाटो, पानीइँटाले मजबुत घरभित्र गर्मी र जाडो वातानुकूलित अनुभूत हुन्छ । नयाँ वर्षको छेको यहाँ पुग्दा मैले बाल्यकाल बिताएको इलाम साङरुम्बाको पुरानो घर सम्झिएको थिएँ, जसको अहिले भग्नावशेष पनि बाँकी छैन ।

तीनतले घरमा परियोजनाले विभिन्न योजना बनाएको छ । पहिलो तलामा पुस्तकालय र सभाकक्ष । दोस्रो तला थिएटर । बार्दलीमा ग्यालरी । सिरानतलामा सांस्कृतिक संग्रहालय, जहाँ विभिन्न जातजातिका वेशभूषा, बाजागाजा रहनेछन् । ‘पहिलेको धनकुटीलाई ज्ञानकुटी बनाउने सोच छ,’ आरकेको योजना छ, ‘जहाँ बसेर कुनै सर्जकले साधना गर्न सकून् ।’ वाङ्मयका सबै विधालाई शताब्दी घरमा अटाउने र यहीँ बसेर समाज–इतिहासको चिन्तन गर्न सकिने सोचलाई परियोजनाले मूर्तरूप दिँदै छ ।

भौतिक विलासका नाममा मासिँदै गएका ऐतिहासिक धरोहर जोगाउन आरकेजस्ता युवामा जागरुकता चाहिने रहेछ, जसले कुश्मा मात्रै होइन अन्य ठाउँका यस्ता ऐतिहासिक सम्पदा नमेटियोस् भन्ने सन्देश दिन्छ । ‘विभाजित समाजलाई यही सम्पदामार्फत जोड्ने प्रयास भइरहेको छ,’ आरकेमा निश्चिन्तता देखिन्छ, ‘गाउँलाई सहरसँग, सहरलाई गाउँसँग जोड्ने बेला हो यो ।’

यहीँका युवा प्रनिश गिरी स्थानीय सरकारबाट गर्नुपर्ने काम व्यक्तिको आँटबाट सुरु भएकामा खुसी छन् । ‘कुनै बेला यो घर भत्किन सक्थ्यो, तर जीवन पायो । यो घरको कुरा मात्रै होइन, हामीले मौलिक धरातल बिर्सनु पनि हुँदैन भन्ने सन्देश पनि हो,’ उनी भन्छन् ।

आफ्ना सबै रहर मदुसमा थन्क्याएर हिँडिरहेको आरकेको यो कर्म ट्विटर स्पेसमा बसेर ‘देश बनाउनेहरू’ का लागि पनि सत्प्रेरणा हो, जसको प्रयासले एउटा इतिहास नामेट हुनबाट जोगिएको छ । शताब्दी घर समाज जोड्ने सेतु बनोस् ।

प्रकाशित : असार १८, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?