कलासँगै व्यापारको उडान- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

कलासँगै व्यापारको उडान

यहाँ ‘पिर’ मा यौनकर्मीको सानो दृश्य राख्दा राजनीतिक मुद्दा बन्यो । जबकि त्योभन्दा भयंकर विषय कान्सजस्ता प्लेटफर्ममा कदर हुन्छ । यस्ता फेस्टिभलले भन्दा रहेछन्– तपाईंको देशमा कुण्ठित विचार हामीलाई सुनाउनुस्, हामी त्यसलाई कदर गर्छौं, वास्तविकता देखाउन डराउँदैनौं ।
सुरक्षा पन्त

मैले अभिनय गरेको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ का लागि कान्स रेड कार्पेटमा उभिँदै गर्दा नेपाल धेरै सानो महसुस भएको थियो । तर, जब कार्यक्रममा छिरें र प्रिमियरमा मेरो फिल्म हेरेँ, पर्दामा त नेपाल निकै विशाल लाग्यो । ठूलो भीडले हाम्रा हिमाल हेरिरहेका थिए, नेपालीहरू हेरिरहेका थिए । फिल्ममार्फत नेपाली मन, मानवता देखिइराख्दा आफैंलाई लाग्यो– ओहो नेपाल त विशाल देश पो छ त ! नेपालबारे दुई कुरा महसुस भयो– बाहिर सानो जस्तो, भित्र ठूलो ।

बाहिर त नेपाल एउटा देश हो भनेर बुझाउनुपर्ने अवस्था आउने रहेछ । भारत र नेपाल एउटै–एउटै हो भनेर धेरै झुक्किने रहेछन् ।

फिल्मका लागि नेपाल एकदम भर्जिन छ । विषयवस्तु र भौगोलिकताका हिसाबले पनि जोडिएको छैन । विदेशीहरूलाई नेपालप्रति निकै कौतूहल र जिज्ञासा छ । फिल्म हेरिसकेपछि मैले ‘त्यही नै मेरो देश हो’ भनेर चिनाइरहँदा धेरैले आश्चर्य मुद्रामा हेरे र घुम्न आउन मन लागिरहेको बताए ।

‘द एट माउन्टेन्स’ मा नेपालको एउटी केटी, जो एक्लै भ्रमण गर्न हिँडेकी छे । उसैलाई नेपाल घुम्न आएको फिल्मको मुख्य कलाकारले भेटिसकेपछिको यात्रामा यी दुईको सामीप्यता बढ्छ । प्रेमिल सम्बन्ध बन्छ । समग्रमा यो फिल्मले नेपाली र नेपालीपनको प्रतिनिधित्व गरेजस्तो मलाई अनुभूत हुन्छ । यो एक पुरस्कृत पुस्तकमा आधारित हो । यसका लेखक धेरैपटक नेपाल आइसकेकाले पनि नेपालप्रतिको बुझाइ प्रस्ट छ ।

ती लेखक कान्समा पनि आएका रहेछन्, भेटघाट भयो । प्रेस मिटमा फिल्मका मुख्य कलाकार अघि बसेका थिए । म पछाडि कुनातिर थिएँ, त्यतिखेर पनि हो मलाई नेपाल सानो महसुस भएको । त्यहाँ नेपाल कस्तो लाग्यो भनेर प्रश्न उठ्यो । दुई जना बूढाबूढीले फिल्म मेकरलाई ‘नेपालमा अझै पनि आमाबाबुसँग छोराछोरी बस्छन्, त्यहाँ घुम्न जानुभयो भने मान्छेहरू खुसी पाउनुहुन्छ, उनीहरूको सभ्यता अझै पनि छ, परिवार भन्ने चीज छ, एकअर्कामा सहयोगी भावना छ’ भनेर मज्जाले वर्णन गरिदिए । एक हिसाबले त त्यो हो पनि र होइन पनि भन्ने भयो । किनभने हामीमा अहिले कताकति पश्चिमा हावाले पनि छुन थालेको छ ।

नेपालको उत्कृष्ट चीज प्रकृति पनि हो । यो अतुलनीय छ । अर्को, यहाँको मानव सभ्यता । हामी एकदम सहयोगी रहेछौं । त्यसको प्रतिनिधित्व पुस्तकले गरिदिएकाले फिल्म पनि रुचाइयो ।

कान्समा मुभी प्रिमियर र मार्केट सेक्सन भन्ने हुँदोरहेछ । त्यहाँ विभिन्न देशका मान्छे आउने रहेछन्, आ–आफ्ना क्याम्प लगाएर फिल्म प्रचार गर्न र म्युजिक बेच्न । त्यो मूलतः कलाको बजार हो । आफ्नो उत्पादनलाई कसरी बेच्ने भन्ने कौशल पनि हुनुपर्ने रहेछ, बनाएर मात्रै हुँदैन । यस्ता फेस्टिभलमा अवार्ड पाउने फिल्मले विश्व यात्रा गर्ने नै भयो । यो कला मात्रै नभएर मूलतः व्यापारमा बदलिन्छ । फिल्मले देशको अर्थतन्त्रलाई पनि सहयोग गर्छ ।

त्यहाँ मैले अरू देशका सिनेमा पनि हेर्ने मौका पाएँ । जापान, दक्षिण अफ्रिका, सिंगापुरजस्ता एसियाली मुलुककै उपस्थिति पनि सानदार रहेछ । बलिउडको अझै अलि ठूलो उपस्थिति देखें, तर नेपाल त्यसमा परेन । नेपाल किन छैन भनेर सोच्दा नेपालले आफ्नो कथामा गर्व नै गरेन । एउटा सानो सामान्य घरको स्टोरी पनि मैले देखाउन सकेँ भने त्यो ठूलो स्टोरी हो, त्यो विश्वले रुचाउँछ है भन्ने विश्वास छैन आफैंमा । हामीहरूलाई विदेशी शैली नक्कल गर्नु छ, पश्चिमाजस्तै हुनु छ, आधुनिक बन्नु छ । त्यही चीज पनि हामीले उपयुक्त ढंगले देखाउन सक्दैनौं किनभने नक्कल पनि त्यो स्तरको हामीले गर्न सक्दैनौं । त्यसैले हामी खिचडीजस्ता भयौं, न यताका न उताका ।

कति जना ‘नेपाल भारत नै होइन र ?’ भनेर झुक्किँदा मलाई त्यो महसुस भयो । बलिउडको डान्स, फाइटको आफ्नै मसलेदार शैली छ । हाम्रो पनि त्यस्तै हो, तर त्योभन्दा अलग कसरी देखिने भन्ने नेपाली फिल्मकर्मीले बुझ्नु जरुरी छ । हाम्रो व्यक्तित्व के हो भनेर खोजिनुपर्छ । जस्तो ः मैले इरानी फिल्म हेर्दा यो इरानी, कोरियन हेर्दा यो कोरियन भन्ने स्वतः आभास हुन्छ । उनीहरूले आफ्नै किसिमको अर्ग्यानिक कथा बनाएका छन् । ती फिल्म हेर्दा साउथ कोरियामै गएको या इरानमै गएको महसुस हुन्छ । कान्समा उत्कृष्ट नायिकाको अवार्ड जितेको अली अब्बासीको इरानी फिल्म ‘होली स्पाइडर’ ले त्यहाँ ७ मिनेटको ‘स्ट्यान्डिङ अभेसन’ पायो । त्यो त्यहाँको रियल स्टोरी रहेछ, जहाँ वेश्याहरूलाई एउटा सिरियल किलरले मारेको कथा छ । त्यो फिल्म इरानमै चाहिँं प्रदर्शनमा प्रतिबन्ध लगाइएको रहेछ । तर, उनीहरूले कान्समा देखाए । वाहवाही बटुले ।

यसकारण पनि लाग्यो– कान्स यस्तै विद्रोही फिल्मकर्मी मिलेर बनेको ठाउँ हो । हाम्रो नेपालमा प्रकाश सपुतको ‘पिर’ मा एउटा सानो यौनकर्मीको दृश्य राख्दा राजनीतिक मुद्दा बन्यो । जबकि त्योभन्दा भयंकर कुरा कान्सजस्ता प्लेटफर्ममा त्यसरी कदर गर्दा रहेछन् । यस्ता फेस्टिभलले भन्दा रहेछन्– तपाईंको देशमा कुण्ठित भएका विचारहरू हामीलाई सुनाउनुस्, हामी त्यसलाई एप्रिसिएट गर्छौं, वास्तविकता देखाउन हामी डराउँदैनौं । कला भनेको कताकता विद्रोह पनि त हो ।

विश्वका फिल्महरू यहीँ बसेर इन्टरनेटबाट हेर्नु र कान्समा गएर हेर्नुमा निकै फरक रहेछ । युट्युब र हलमा गएर हेरेजस्तो फरक । हलमा गएर फिल्म हेर्दा धेरै दर्शक हुन्छन्, इनर्जी सेयर हुन्छ । त्यहाँ एकले अर्कालाई कदर गर्ने माहोल अन द स्पट बनिरहेको हुन्छ । त्यहाँ इमोसनको लेभलै अर्कै हुन्छ । विभिन्न देशका मान्छेसँगै बसेर फिल्म हेर्दा अर्को देशको व्यक्तिले कसरी सोच्दो रहेछ, त्यो हेर्न पाइने । ऊ के कुरामा हाँस्यो, के कुरामा गम्भीर बन्यो भन्नेले पनि फिल्म निर्माणमा आइडिया हुने रहेछ । अडियन्ससँग बस्दा ऊ के कुरामा रोयो, के कुरामा रोएन भनेर इमोसन एक्स्पेरिमेन्ट गर्न पाइयो, ग्लोबल अडियन्स बुझ्न पाइयो । घरमै बसेर हेर्दा त अडियन्स बुझ्न पाइँदैन । फिल्म विश्लेषण गर्न सकिन्छ, मेकिङमा सकिएला, तर त्यो मेकिङले अडियन्सलाई कसरी प्रभाव गर्छ भन्ने थाहा हुँदैन । त्यसैले फेस्टिभलहरू भइरहनुपर्छ । त्यसले कम्तीमा अरुको माइन्डसेट बुझ्न पाइयो । फेस्टिभलमा हामी पुग्नुपर्छ ।

रेड कार्पेट फेसनका लागि फोकस रहेछ । रेड कार्पेटमा सबै क्यामरा एउटै स्पेसमा जम्मा हुन्छन् । त्यहाँ तपाईंलाई अटेन्सन लिन मन छ, विद्रोह गर्न मन छ, केवल हिँड्न मन छ, या सुन्न मन छ, त्यो ५ मिनेटमा पाइँदो रहेछ । म मेरो टिमको मेम्बर भएर हिँडेको थिएँ । कति जना त यो नेपाली हो कि, यिनीहरूमध्येकै कोही भनेर कन्फ्युज देखिन्थे । अनुहारले पनि उनीहरू मसँग बोल्दा आफ्नै भाषामा बोलिरहेका थिए । ‘एट माउन्टेन टिम’ले मलाई आफ्नो परिवारजस्तै अनुभूति दिलाए ।

ड्रेस डिजाइनर : तेन्जिङ छेतेन भुटिया


फोटो : अन्जिल मास्के

नगएको भए धेरै कुरा मिस हुन्थ्यो । कान्सले मलाई चिनाइदियो । भोलि विदेशी फिल्ममा काम गर्न नेटवर्किङ पनि भयो । आफूले नेपाली फिल्म बनाएर त्यहाँ जान सकेको भए त झन् राम्रो हुने थियो । त्यस्तो भएको भए म मेरै भाषाको फिल्म देखाउथेँ, मेरै मान्छेहरूको सर्कलमा बस्न पाउँथेँ । टिममा हाम्रो रिप्रिजेन्टेसन हुन्थ्यो होला । ‘आमा’ फिल्म गएको भए ! त्यो मलाई खुब मिस भएको थियो । त्यो नेपालको अर्गानिक स्टोरी हो । नेपालको संस्कृति र अस्पतालहरूको बेथितिबारे फिल्मले बोलेको छ । त्यो स्टोरी उनीहरूले रुचाउँथे होलाजस्तो पनि लाग्यो ।

‘आमा’ प्रिमियर हुनेलायकको फिल्म थियो । फिल्म बनाउँदा फेस्टिभल टार्गेट गरेर पनि बनाउनुपर्ने रहेछ । नेपालमा भन्ने कथा नै फेस्टिभलले छान्छ भन्ने ग्यारेन्टी हुन्न । फेस्टिभलले यहाँका व्यावसायिक शैलीका फिल्म लिँदैनन् । जनरा आर्टिस्टिक हुनुपर्‍यो । हामीले त्यो क्राइटेरिया मिट गर्न सकेका छैनौं, स्टोरी टेलिङमा पनि ।

हामी एउटा सानो पोखरीमा व्यावसायिक भइरहेका छौं । तर, हाम्रा दर्शकश्रोता यहाँ मात्र होइन, बाहिर पनि छन् । फिल्मको बजार संसारभरै हुन्छ । सबैले बुझ्ने भनेको मानवीय संवेदना हो । भाषा मात्रै होइन । त्यसको तहलाई केलाउन सक्नुपर्‍यो । रचनात्मक बन्नुपर्‍यो । त्यसैले हामीले आफ्नो कथा भन्नचाहिँ छुटाउनुभएन ।

हामीले फिल्ममा सांस्कृतिक विविधता समेट्नै सकेका छैनौं । पहिले आफ्नो संस्कृति बुझ्नुपर्‍यो । हामीले त सामान्य मान्छेले नदेखेका विषय देखाउने हो । यस्ता सक्षम मान्छेहरू हामीकहाँ अझै राम्ररी आइसकेजस्तो लागेन मलाई । स्टोरी भन्ने आइडिया, प्याटर्न र स्किलमै अलिकति परिवर्तन गर्नुपर्‍यो । सहकार्य गरौं भन्ने संस्कार भने हामीमा खासै छैन ।

हाम्रा कलाकारको अभिनयलाई नराम्रो भन्न मिल्दैन । तर, हामी आफूलाई जबरजस्ती प्रमाणित गर्न अभिनय गरिरहेका छौं । कथालाई आत्मसात् गरेर अभिनय गर्ने कलाकार नै मैले कम भेटेँ । उनीहरूचाहिँ अभिनयबाट स्टोरी पनि भन्छन्, अभिनय मात्रै देखाउँदैनन् । स्टोरीमा प्रतिबद्ध हुन्छन्, एक प्रकारले स्टोरीप्रति सरेन्डर गरेका छन् । उनीहरू र हामीमा एउटा फरकचाहिँ यो पनि देखिन्छ ।

सूत्र ब्रेक गर्न सक्ने मान्छे प्रायः कान्समा पुग्दा रहेछन् । सूत्रभन्दा बाहिर जान सक्ने, विद्रोह गर्न सक्ने । व्यावसायिक हिसाबले सूत्रमै जाँदा पनि ठीक त छ, तर कहिलेकाहीँ सूत्र ब्रेक गरेर फेस्टिभलहरूमा पुर्‍याउन सकियो भने अझै राम्रो हुने रहेछ ।

कान्सजस्ता विश्वस्तरका फेस्टिभलका मापदण्ड पछ्याउन हामीलाई झन्झटिलो लाग्दो रहेछ । त्यो बुझ्न सक्यौं भने हामी धेरै जना त्यहाँ जान सक्छौं । सर्ट आउट गरेका मान्छेहरू टाकनटुकन पारेर गइहाल्छन् । अनुभवले आइरहेका मेन स्ट्रिमका जान सकिरहेका छैनन् । त्यो नजानेर जटिल भएको छ । अथवा त्यहाँ जान सक्छु भन्ने कन्फिडेन्स पनि नभएको हो कि हामीमा ? यसका लागि हामीले एउटा संयन्त्र नै बनाउनुपर्छ, जसले ती प्रक्रियाहरू बुझेर सहायता गरोस् ।

चलचित्र विकास बोर्ड त यसका लागि जिम्मेवार नै छैन । यसमा बोर्ड नै माध्यम भएर उसले नीतिगत तहम्म पुर्‍याउन सक्नुपर्ने हो । बोर्डले हामीलाई बोलाएर के–के समस्या पर्‍यो, के गर्नुपर्ने रैछ त भनेर कुराकानी गर्नुपर्ने हो । कि त उनीहरू राजनीतिक छन्, या उनीहरूले यसको भ्यालु बुझेका छैनन्, मलाई थाहा छैन । जस्तो ः ब्युटी पेजेन्टका लागि हिडन ट्रेजर भन्ने एउटा सानो संस्थाले प्रतियोगीको यात्रा, उनीहरूको बसाइ, फोटो, विज्ञापन सबैको तारतम्य मिलाइदिन्छ । त्यस्तै फिल्म पनि फेस्टिभलमा जाँदा उनीहरू राष्ट्रको पहिचान भएर गएका हुन्छन्, देशका लागि दूत भएर गएका हुन्छन्, त्यसमा देशको चासो हुनुपर्‍यो । त्यस्तो संयन्त्रले जान सहयोग गरोस्, सिस्टम बनाइदेओस् । मेरै सहभागिताको सवालमा, मैले विकास बोर्डलाई ‘कान्स जाँदै छु’ भनेर जानकारी गराएको थिएँ, तर त्यस्तो सहयोग केही पाइनँ ।

हलिउड, बलिउडका कलाकारमा हामीसँग भन्दा बढी आत्मविश्वास हुँदो रहेछ । म आफैं संघर्ष गरेर गएको हुनाले ममा अलि नभएको होला । मलाई देशको साथ छ भन्ने फिलिङ भएको भए त्यो आत्मविश्वास हुने रहेछ । ममा केही आइडिया थिएन । गाइडेन्स गर्ने कोही भएन । म पछाडिबाटै हेर्छु, अगाडि जान्न भन्ने किसिमको अवस्था थियो । उनीहरूलाई राष्ट्रको साथ थियो, त्यो उनीहरूको व्यवहारमा झल्किन्थ्यो । आत्मविश्वास त ममा थियो होला, तर त्यतिले मात्रै नहुँदो रहेछ ।

यहाँ मेरो करिअर, मेरो रोल मेरो कन्ट्रोलमा भएजस्तो लाग्दैन । तर, मेरो अभिनयलाई मैले कसरी सुधार गर्न सक्छु, ‘बिटविन द लाइन’ मा कसरी काम गर्न सक्छु, इमोसनको गहिराइलाई कसरी व्यक्त गर्न सक्छु ? भन्नेमा मेरो कौतूहल बढेको छ । किनभने अरू कलाकारको प्रस्तुति हेर्न पाएँ । भाषाको कुरा गरौं, सबै नेपाली कलाकारले अंग्रेजी बोल्न सक्छन् भन्ने छैन । हाम्रा कलाकारलाई भाषाका लागि सहयोग गर्ने अनुवादक भइदिए अलि सहज हुने वातावरण देखेँ । हामीलाई केही कुरामा अन्योल भयो भने ‘मेरो यो सेक्सन हेर्ने यो मान्छे छ’ भन्ने भइदियो भने आत्मविश्वासको तह बढ्ने रहेछ ।

उनीहरू सबटेक्स्टमा खेलेर सिनेमा बनाउँदा रहेछन्, हामीभन्दा धेरै इमोसनल लाग्यो । कलालाई हामीले भन्दा धेरै रेस्पेक्ट गरेझैं लाग्यो । कलाकार लाई एकदम धेरै सम्मान गर्छन् उनीहरू । फलाना देशको कलाकार भनेपछि हाम्रो देश, संस्कृतिबारे बुझ्न खोज्ने, ‘तपाईं नेपालको हो ?’ भनेर आश्चर्यजस्तो प्रकट गर्ने । कोही त हामीजस्तै अलमलमा पनि पनि छन् । कति देशबाट पहिलोपटक आउने पनि थिए । कतिपय अफ्रिकन वा बंगलादेशीहरू, मजस्तै अलि अलमलमा देखेँ ।

मलाई त्यहाँ अरू फिल्म हेर्दा कस्तो मजाले मान्छेको इमोसन बुझेको होला भन्ने लाग्यो । हाम्रोमा त जबर्जस्ती देखाइरहेको हुन्छ नि । सबटेक्स्टमा खेल्ने खुबी हामीमा अझै पुगेको छैन । हामीले अझै अभ्यास गर्नुपर्छ भन्ने लाग्यो । कन्टेन्ट त जुन पनि राम्रै हुन्छ । कथा त अहिले यहाँ बोलिराखेको विषयमा पनि बन्न सक्छ, तर हामीबीच जुन सबटेक्स्ट चलिरहेको छ, त्यो प्रस्तुति बुझ्न सक्ने क्षमता हामीमा अलि कम छ ।


प्रकाशित : असार ११, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

जुगौं लामो एक दिनको कथा

प्रदीप ज्ञवाली

युद्धबन्दी युवाको कपाल खौरिइयो । रौँका जरासमेत उखेलियो । सुत्केरी ऊँटलाई मारेर कल्चौंडोको छाला काढियो र त्यसको कलिलो पत्रलाई काटेर युवाको मुडुलो टाउकामा टन्टनी बेरियो । टाउकाले भुइँ छुन नमिल्ने गरी गर्दनमा काठको जुवा भिराइयो । अनि हात–खुट्टा बाँधेर, निर्जन बस्तीमा, पानी पनि पिउन नदिईकन टण्टलापुर घाममा लडाइयो ।

घाम चर्किंदै गयो । उँटको छाला कक्रकिँदै गयो । एक दिन होइन, दुई दिन होइन, हप्तौं घाममा राखेपछि ऊँटको छालाले टाउकोलाई फलामको पाताले जस्तै चरप्प अँठ्याउन थाल्यो । छाला सुक्दै गयो, रौं पलाएर त्यसैभित्र छिर्न खोज्यो, कडा छाला छेड्न नसकेपछि फेरि घुम्रिएर उसकै टाउकामा छिर्‍यो र त्यसले हजार सियो रोपिएजस्तै असह्य यातना दिन थाल्यो ।

आङै सिरिङ्ग पार्ने यस्तो यन्त्रणा पार गरेर बाँचेको त्यो बन्दी हप्तौंपछि यस्तो प्राणीका रूपमा खडा भयो, जसको स्मरण शक्ति थोपै बाँकी नरहेर रित्तिएको थियो । आफू को हुँ भन्ने पत्तै छैन, कहाँबाट आएँ भन्ने सुद्दी नै छैन । न आमाको याद, न बाबुको सम्झना । आफूलाई दुई गाँस खान दिने मालिकबाहेक कोही नचिन्ने । कुनै डर नभएको, कुनै गुनासो नगर्ने । मालिकले अह्राएको आँखा चिम्लेर मान्ने । मालिकले मार् भनेर अह्राए जोकसैलाई मार्न तयार । एउटा बीभत्स र क्रूरतम प्रक्रियाबाट दास बनाइएको युद्धबन्दी, अर्थात् मान्कुर्त ।

मान्कुर्त, जसबारे थाहा पाएरै पनि आफन्तजन उनलाई फर्काउन जाने आँट गर्दैनथे । कसरी जानु ? थाहा पाए युद्धपिपासुहरू मार्न आइलाग्थे । मान्कुर्तलाई फिर्ता ल्याएरै पनि के गर्ने ? एउटा जिउँदो पत्थर, सास फेरिरहेको लास सदृश पात्र ।

किर्गिस्तानका प्रसिद्ध उपन्यासकार, कथाकार र नाटककार चिङ्गिज आइत्मातोभ (१९२८–२००८) को उपन्यास ‘द डे लास्टस् मोर द्यान अ हन्ड्रेड इयर्स’ (जुगौं लामो एक दिन) भित्रको एउटा हृदयविदारक प्रसङ्ग हो यो । कथानक, प्रस्तुति र शिल्पको दृष्टिले यो उपन्यास उत्कृष्ट र कालजयी छ । एक जना कज्जाक श्रमिक येदिगेईले आफ्नो पुरानो साथीलाई मुस्लिम परम्पराअनुसार दफन गर्न तय गरेको एक दिनको यात्रावरिपरि यो उपन्यास घुम्छ । तर, त्यस एक दिनभित्र के मात्र छैन ? कजाकास्तान र किर्गिस्तानका घाँसे मैदान (स्तेपी) का रैथानेहरूको सङ्घर्षपूर्ण जीवनको श्यामश्वेत पेन्टिङ छ । मान्कुर्तको त्रासद जिन्दगी छ । अमर गायक रैमाली–आगाको दुःखान्त प्रेमकथा छ । अन्तरिक्षयात्रीले हाम्रो आकाशगङ्गा बाहिरको प्राणीजगत्सँग गरेको सम्पर्क र अन्तर–ब्रह्माण्डीय यात्राको श्वैरकल्पना छ । स्तालीनकालमा आलोचकहरूमाथि गरिने अन्याय र कारबाही छ । र, आफ्नो सुख–दुःखको साथी कारानार नामको ऊँटसँग येदिगेईको सम्बन्धको जेलिएको पाटो छ ।

चौबीस घण्टाको छोटो क्यानभासमा मिथ र विज्ञान, राजनीति र संस्कृति एवं मानव र पशुपन्छीका कथाहरूको यति अद्भुत बुनोट आइत्मातोभले मात्रै गर्न सक्छन् ।

त्यसो त स्मृतिपट (फ्ल्यासब्याक) मा सिङ्गो जिन्दगी उतार्ने उनको शैली चर्चित पुस्तक ‘फेयरवेल गुल्सारी’ (‘बूढो र घोडा’ शीर्षकमा नेपालीमा अनूदित) मा पनि झल्किएको छ, जहाँ पूर्वाग्रहपूर्ण ढङ्गले पार्टीबाट निष्कासित एक जना पाको योद्धाले मरणोन्मुख अवस्थाको आफ्नो घोडासँग एकालापमार्फत बाँडेको पीडा र सपनाले भावुक बनाउँछ ।

‘जुगौं लामो एक दिन’ मा बोराल्नी–बुरान्यी नाम गरेको सानो रेलवे स्टेसनमा काम गर्ने येदिगेईलाई श्रीमती उकुबाला आएर खबर दिन्छे– काजान्गाप रहेनन् । खबर अप्रत्याशित थिएन किनभने चालीस वर्षभन्दा लामो समयदेखिको अन्तरङ्ग साथी धेरै दिनदेखि मृत्यु कुरिरहेको थियो । श्रीमतीलाई आवश्यक कुरा अह्राएर ऊ कार्यालयको काम छोट्याई घरतिर लाग्छ । आफन्तलाई खबरखाबर, भोलिपल्ट दाहसंस्कारका लागि आवश्यक प्रबन्ध, मलामी र गाउँलेलाई खुवाउन खानाको तयारी ! काजान्गापको बोर्डिङ स्कुल पढेको ‘आधुनिक’ छोरालाई बाबुको मृत्युसंस्कार रीतपूर्वक र सम्मानजनक हुनुपर्छ भन्ने सम्झाउने सास्ती ! सबै काम सकेर भोलिपल्ट बिहानै एउटा ट्याक्टरमा लास राखेर मृतकको छोरा र ज्वाइँ, ऊँटमा आफू, चिहान खन्न एउटा एक्साभेटरसहित मलामी लिएर ऊ ३० किलोमिटर टाढा रहेको निर्जन थलोतिर लाग्छ । कष्टपूर्ण यात्रा पार गरेर साँझ पर्ने बेला आन्ना–बेइत समाधि (आमाको विश्रामस्थल) पुग्दा पुलिसले बाटो छेक्छ । सुनाइन्छ– ‘यो जग्गा सरकारले विशेष कामका लागि कब्जा गरेको छ, अब समाधिस्थल भत्किन्छ र यहाँ रकेट प्रक्षेपण केन्द्र बन्छ ।’ नोकरशाही सत्ता र आफ्नो संस्कार एवं संस्कृतिअनुरूप शव समाधिस्थ गर्न चाहने दुई मूल्यबीचको द्वन्द्वमा हार खाएर उनीहरू फर्किन्छन् । येदिगेईले काजान्गापको ज्वाइँको गाली खान्छ । तर, पनि कसैको कुरा नसुनी बीच बाटामै शव दफन गर्छ ।

उपन्यासको मूल कथा यत्ति हो । तर, यसबीच येदिगेईको स्मृतिपटमा आउने–जाने सन्दर्भ भने व्यापक छन् ।

जुन समाधीस्थलमा उनीहरूलाई पुग्न दिइएन, आहानअनुसार त्यो नाइमान–आनाको समाधि थियो । नाइमान आना, युद्धमा पति गुमाएकी विधवा । बदला लिन हिँडेको छोरोसमेत मारिएको अपुष्ट खबरले मुटु चिरिएकी आमा । तैपनि कि छोराको सास भेटिएला कि लास भनेर कुरेकी जीर्ण रूख । यस्तैमा एक दिन सामान बेच्न हिँडेका घुमन्ते व्यापारीहरूले ऊँटको बथान चराइरहेको मान्कुर्तबारे गरेको कुरा उनको कानमा पर्छ । मनमा पहिरो जान्छ । किनकिन लाग्छ, पक्कै पनि त्यो मेरै छोरा हुनुपर्छ । अनि सुनसान रातमा, तम्बुबाट बाहिर आउँछिन् र ऊँटमा चढेर छोरा खोज्न स्तेपीको अनन्त यात्रामा निस्कन्छिन् । भौतारिँदा भौतारिँदा अचानक ऊँटको बथान हाँकिरहेको छोरो भेट हुन्छ । तर, त्यो भेट छोरासँग थियो कि पत्थरसँग ? न आमा देख्दा आँखा रसिलो छ, न अनुहारमा कुनै भाव, ऊ त सुक्खा, निष्प्राण मुढोजस्तो ! न आफ्नो नाम सम्झिन्छ, न लोरी सुनेर बाल्यकालतिर फर्किन्छ । बल्लतल्ल निस्केको एउटै आवाज– ‘को आमा ? म कसैलाई चिन्दिनँ । मेरो कोही आमा छैन । मालिकबाहेक मेरो कोही छैन ।’

त्यस्तो स्थितिको सामना एउटी आमाले कसरी गरी होलिन् ?

तैपनि आमाको मन । हरेस खाँदिनन् । थाहा पाएर युद्धपिपासुहरूले झन्डै सिध्याउन्नन् । तै, लुकेर जोगिन्छिन्् । छोराको स्मरणशक्ति फर्काउन र घर लैजान सकेको गर्छिन् । तर, मालिकले मान्कुर्तलाई मार्न अह्राएको कुरा उनलाई के थाहा ? स्तेपीको अनन्त विस्तारमा खोज्दै उनी जब फेरि छोरो नजिकै पुग्छिन् र तिम्रो बाबुको नाम दोनेनबाई हो र तिम्रो जोलामान हो भनेर सम्झाउन खोज्छिन्– एउटा तिखो वाण सन्न गर्दै आउँछ र आमालाई ठहरै पार्छ । ढल्दै गरेकी आमाको मुखमा झुन्डिन्छ– ‘दोनेनबाई’ ‘दोनेनबाई’ ।

भनिन्छ, त्यसै बेला उनको टाउकोबाट सेतो रुमाल खस्यो । त्यसले सेतो चराको रूप लियो । र, त्यसउपरान्त त्यो चरा गीत गाउँदै भौंताइरहेको छ– दोनेनबाई...दोनेनबाई......। (नाइमान आना ढलेकै ठाउँमा येदिगेईले साथी काजान्गापको लास गाडेको थियो ।)

मानवीय दासताको भयानक त्रासदी । मुक्तिका लागि आमाको बलिदानी सङ्घर्ष । मातृ बात्सल्यको वर्णनातीत गहिराइ । युद्धबन्दीको ‘ब्रेनवास’ र दासत्वको अतीतलाई पुनर्जीवन दिएर लेखकले आफू बाँचिरहेको समाज र पुँजी, जड सत्ता र शक्तिले नयाँ दासत्वका लागि खेलेको भूमिकामाथि पनि प्रश्न खडा गरेका छन् ।

उपन्यासमा बुनिएको अर्को रोचक उपकथा हो, सोभियत सङ्घ र अमेरिकाको संयुक्त अन्तरिक्ष परियोजना । लेखकको कल्पनाशीलता गज्जबको छ– अन्तरिक्ष स्टेसनमा पुगेका सोभियत र अमेरिकी अन्तरिक्ष वैज्ञानिकले अचानक अर्कै लोकको रेडियो सिग्नलमार्फत सन्देश सुनेको । उक्त लोकका प्राणीले पृथ्वीका मानवजातिसँग सम्पर्क गर्न र ब्रह्माण्डको भविष्यबारे छलफल गर्न चाहेको । उनीहरूलाई आफ्नो लोकमा लैजान लेस्नाया ग्रुद नाम गरेको यान पठाएको । के गर्ने, के गर्ने भन्दाभन्दै दुई जना अन्तरिक्षयात्री यो अवसर गुमाउन नहुने निष्कर्षसहित अर्कै लोकतिर हिँडेको । त्यो खबर पाएर सोभियत र अमेरिकाको नेतृत्ववृत्तमा खैलाबैला मच्चिएको । अन्त्यमा त्यो मिसन नै अन्त्य गर्ने, सबै गुपचुपमा राख्ने र पृथ्वीका लागि नयाँ सुरक्षाकवच बनाउने समझदारी भएको ।

उपन्यासमा अबुतालिप नामक एक जना अभागी पात्रको सन्दर्भ पनि छ । ऊ युद्धमोर्चामा लड्दा–लड्दै घाइते भएर युगोस्लाभिया पुगेको थियो र त्यहीँ उनीहरूको पक्षमा लडेको थियो । तर, उसको यही विगतले जिन्दगीमा तिखो काँडा बनेर घोचिरहन्छ । उसमाथि युद्धमा घात गरेको र विदेशीका लागि काम गरेका बात लाग्छ । स्कुलहरूमा पढाउँदै हिँड्छ, अलि दिनपछि खेदिन्छ । पेटको आगो निभाउन लालाबालासहित भौतारिँदै बोराल्नी–बुरान्यी आइपुगेको उसलाई येदिगेईले आश्रय दिन्छ । काममा लगाइदिन्छ । उनीहरू आत्मीय साथी बन्छन् । अबुतालिप नानीहरूलाई पढ्न, लेख्न सिकाउँछ । भविष्यमा आफ्ना सन्तानले बाबुले जिन्दगीमा के–के भोग्नुपर्‍यो सबै थाहा पाऊन् भनेर डायरी लेख्न थाल्छ । तर, यही डायरी उसलाई फसाउने पासो बन्छ । डायरीमा उल्लेख गरिएका विभिन्न प्रसङ्गलाई स्तालिनको विरोध गरेको र सोभियत प्रणालीको आलोचना गरेको अर्थ लगाएर उसलाई गिरफ्तार गरिन्छ । हिरासतमै उसको रहस्यमय मृत्यु हुन्छ । उसकी श्रीमती जारिपा र येदिगेईले उसको मृत्युको खबर ढिलो मात्रै थाहा पाउँछन् । पीडाको अनन्त गहिराइबाट त्यस परिवारलाई बाहिर निकाल्न येदिगेईले गरेको सहयोग र बच्चालाई दिएको न्यानो माया मनै छुने खालको छ । तर, रहँदाबस्दा उसभित्र जारिपाप्रति एकतर्फी प्रेम पलाउँछ । अबुतालिपको मित्रतामा डुबेको येदिगेई उसलाई मरणोपरान्त भए पनि मिथ्या आरोपबाट उन्मुक्ति दिलाउन राजधानी अल्मा–आतासम्म पुग्छ । एक जना चिनेजानेको साथीको सहायताले नेताहरूसँग भेट्छ । मिथ्या आरोप फिर्ता गराउँछ । दोषी प्रहरीलाई बर्खास्त गराउँछ र फर्किन्छ ।

आइत्मातोभका बाबुलाई पनि कुनै बेला यसरी नै ‘सोभियतविरोधी बुर्जुवा राष्ट्रवादी’ भनेर पार्टीबाट निष्कासन गरिएको थियो । कतै उनले यस प्रसङ्गमार्फत आफ्नो पीडा पो पाठकमाझ बाँड्न खोजेका हुन् कि ?

उपन्यासमा गर्मीमा आगोको भुङ्ग्रोजस्तो तातिने र जाडोमा हिउँको कठ्याङ्ग्रिने पहाड बन्ने सारेजोकको चित्रण जीवन्त छ । येदीगेईले युवावस्थामा बिताएको अराल सागरका उत्ताल तरङ्गको वर्णनले पाठकलाई उतै पुर्‍याउँछ । आइत्मातोभ सोभियत लेखक सङ्घका सदस्य एवं राज्यका विभिन्न निकायको जिम्मेवारीमा थिए । तर, त्यस जिम्मेवारीले उनलाई एक जना सचेत र आलोचनात्मक चेतले युक्त लेखकका रूपमा तत्कालीन सोभियत सत्ताका कमजोरीहरूलाई उजागर गर्न रोकेको छैन । बरु मिथ र विज्ञान कथामार्फत उनले यस प्रसङ्गलाई झनै जीवन्त बनाएका छन् ।

आइत्मातोभका विभिन्न परिचय छन्– गोर्वाचोभका सल्लाहकार, राजदूत, सांसद आदि । तर, ‘फेयरवेल गुल्सारी’, ‘जामिलिया’, ‘प्रथम शिक्षक’ जस्ता उपन्यास, नाटक र कथाका स्रष्टा उनको मूल पहिचान भने मानव जातिको स्वातन्त्र्य र गरिमाको पक्षपोषण गर्ने लोकप्रिय र पठनीय स्रष्टाका रूपमा रहेको छ ।

प्रकाशित : असार ११, २०७९ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×