एउटा विद्यालयको कायाकल्प- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटा विद्यालयको कायाकल्प

मोरङको मिक्लाजुङ, सानोसफेवाको सिर्जना आधारभूत विद्यालयमा ३ जनामात्र विद्यार्थी बाँकी रहेपछि स्थानीय सरकारले बन्द गर्ने निर्णय गर्‍यो । तर, सर्वसाधारणको विरोधपछि निर्णय कार्यान्वयन हुन सकेन । ‘गाईगोठ’ जस्तै त्यो विद्यालय अहिले चिटिक्क देखिन्छ । र, विद्यालयमा ३ दर्जन विद्यार्थी छन्, नानीबाबुका लागि कम्प्युटर ल्याब, बुक कर्नर र स्मार्ट टेलिभिजन पनि ।
हेमन यात्री

समथल झर्न बिर्सिएको, पहाड उक्लनसमेत नसकिरहेको एउटा गुमनाम टापुजस्तो गाउँ– सानोसफेवा । मिक्लाजुङ गाउँपालिकाको एउटा दुर्गम बस्ती । यसलाई मोरङ जिल्लाको कर्णाली क्षेत्र भने पनि हुन्छ । त्यसो त सानोसफेवामा धेरै थोक सानासाना छन् । बस्ती सानो छ । घरहरू साना छन् । विद्यालय सानो छ । सानोसफेवाको आकाश सानो छ । सानोसफेवाको आकाशमा उड्ने चराहरूसमेत साना मात्रै उड्छन् ।

४० वर्षअघि म जन्मिँदा अहिलेको सानो विद्यालयसमेत थिएन सानोसफेवामा । सडक, बिजुली बत्ती झनै परकै कुरा थियो । पिउने पानीको बन्दोबस्त थिएन । एक देश गएर कुवाबाट गाग्रो वा बाँसको ढुङ्ग्रोमा पानी भरेर ल्याउनुपर्थ्यो । प्राथमिक तहको शिक्षा लिन दुई घण्टा उकालो हिँडेर उत्तरे (टाँडी निमावि) जानुपर्थ्यो । सानोसफेवामा मैले आफ्नो बालापन यस्तै सेरोफेरोमा बिताएँ ।

पानीघट्टजस्तो घुमिरह्यो समय । सानोसफेवामा दिनदिनै केटाकेटीको संख्या बढिरहेको थियो । तर, विद्यालयको अभाव भने खड्किइरह्यो । केटाकेटी टाढाको विद्यालय हिँडेर जानुपर्ने सास्ती अभिभावकले अनुभव गरिसकेका थिए । एक दिन बा–आमाहरू आफ्ना बालबच्चाको शैक्षिक दुःख सम्बोधन गर्न तयार भएसँगै २०५० सालको एउटा बिहानीमा सुरु भयो श्री सिर्जना आधारभूत विद्यालयको नयाँ अध्याय । विद्यालय स्थापना भएसँगै जिल्लाबाटै खटिएर आए– शिक्षक लक्ष्मीप्रसाद काफ्ले । काफ्ले सरको उपस्थितिसँगै विद्यार्थीहरू बडो उत्साहले विद्यालय आउन सुरु गरे । कक्षा ३ सम्म स्वीकृत भएर आएको विद्यालय क्रमशः कक्षा ४ र ५ थपिएसँगै विद्यार्थीहरूको चाप बढ्दै गयो । ५ कक्षासम्म सञ्चालनमा आएपछि शिक्षक दरबन्दीको अभावमा माथिल्लो कक्षा सञ्चालन गर्न भने सम्भव भएन ।

केही वर्ष विद्यालय आफ्नो कीर्ति फैलाउँदै विछट्टै राम्रोसँग चल्यो । राम्रो पठनपाठन हुने भएकाले निकै टाढाबाट समेत अभिभावकहरू आफ्ना नानी भर्ना गर्न ल्याउँथे । तत्कालीन रमितेखोला गाविसभरिका प्राथमिक तहमध्ये सबैभन्दा उत्तम विद्यालयको रूपमा स्थापित थियो सिर्जना आधारभूत विद्यालय । उबेला विद्यालयको अवस्था निकै राम्रो थियो भन्ने प्रमाणस्वरूप विद्यालयको भित्तामा झुन्डिरहेकै छ– स्रोत केन्द्रस्तरीय विद्यालयको सिर्जनात्मक कार्यक्रमहरूमा सिर्जना प्राविले हासिल गरेको सफलताको प्रमाण–पत्रहरू ।

भौतिक पूर्वाधार विकासका लागि आधा निद्रा छोडेर, आधा पेट बसेर विद्यालयका लागि समय दिन्थे अभिभावकहरू । भौतिक संरचना निर्माणका लागि प्रत्येक वर्ष तिहारमा चन्दा सहयोग संकलन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गर्थ्यौं हामी । नृत्य, गायन, वाद्यवादन र नाटकको प्याकेज बोकेर हप्तौंसम्म टाढा–टाढा पुग्थ्यौं । हिँड्दा–हिँड्दै खुट्टा सुन्निएर दुख्थे । हामी दुखेकै खुट्टाले चाच्थ्यौं । गाउँदा–गाउँदा घाँटी सुकिसक्थ्यो । सुकेकै घाँटीले गाउँथ्यौं । के दिन, के रात हप्तौंसम्म चल्थ्यो यो क्रम । कहिलेकाहीँ एक ठाउँदेखि अर्को ठाउँ जाँदा बाटैमा रात पर्थ्यो । जङ्गलको साँघुरो बाटो, खुट्टा ठोक्किएर रगताम्मे हुन्थ्यो । लडेर चोट लाग्थ्यो कसैलाई । कसैलाई ज्वरो आउँथ्यो, टाउको दुख्थ्यो । सब तनावबीच कार्यक्रम सफल बनाएर घर फर्किन्थ्यौं । र, युद्ध जितेर फर्किएको लडाकुजस्तो ढुक्कको सास फेर्थ्यौं । यसरी सङ्कलन भएको रकम विद्यालयको भौतिक संरचना निर्माणमा खर्च हुन्थ्यो ।

...

एक दिन लक्ष्मी सरले विद्यालय छाडेर गए । सानोसफेवामा दसौं वर्ष बिताएर घरपायक सरुवा मिलाएर गए । यहाँ आउँदा उनको ओठमाथि जुँगाले राम्रोसँग धर्कोसमेत तानेको थिएन । सानोसफेवाकै कुवाको पानीले यौवन मजबुद बनाए, विवाह गरे, सन्तान उत्पादन गरे र परिपक्व मानिस भएर फर्किए । उनको प्रस्थानपछि विद्यालयको गति ओरालो लाग्न सुरु भयो । उनैले नियुक्ति दिएर राखेका एक स्थानीय शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएर गएका थिए । स्थानीयको नेतृत्व पाएपछि विद्यालयमा प्रगतिको ग्राफ बढ्ला सोचेका थिए अभिभावकहरूले । तर, ठीक उल्टो हुँदै गयो । विद्यालय–अभिभावकबीच समन्वय टुट्दै जान थाल्यो । अनियमित पठनपाठनका कारण विद्यार्थी र अभिभावकहरूमा विद्यालयप्रति वितृष्णाले घर बनाउन थालिसकेको थियो । प्रधानाध्यापकको कैयन् अकर्मण्यताबीच अभिभावकले विद्यालय सुधारको पहल नगरेका होइनन् । तर, अभिभावकलाई निराशाबाहेक केही हात लागेन । बरु दिनदिनै खस्किँदै गइरहेको विद्यालयमा केटाकेटी नपढाउने भनेर अभिभावकहरू आफ्ना नानीलाई विद्यालयबाट निकालेर अन्तै लैजान थाले ।

दिनहरू बित्दै गए, हप्ता, महिना, वर्षहरू फेरिए । विद्यालयमा हेडमास्टरहरू फेरिए, विद्यालय व्यवस्थापन समिति फेरिए, तर विद्यालयको अवस्था फेरिएन, झन्झन् खस्किँदै गयो । पछि आएका हेडमास्टरहरूले समेत विद्यालय सुधारका लागि कुनै पहल गरेनन् । बरु सानोतिनो गल्तीहरू गर्दै हिँडे ।

तीन वर्षअघि, पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा जम्मा ३ जना मात्रै विद्यार्थी बाँकी रहे । त्यहीबेला स्थानीय सरकार अर्थात् गाउँपालिकाबाट एक जम्बु टोली सरकारी मानिस आए । विद्यालयको खातापाता पल्टाए । मोबाइलको क्यालकुलेटर थिचेर केके हिसाब निकाले । र, विद्यालय बन्द गर्ने निर्णय सुनाए । संयोगले त्यस दिन म गाउँ पुगेको थिएँ । सरकारी अधिकारीहरूको निर्णय सुनेर कटक्कै भयो मन । ननिको लागिरह्यो । नजिकमा विद्यालय नहुँदाको पीडा नमज्जासँग अनुभव गरेको मानिस, जो म आफैं थिएँ । दुई दिदीहरूको पछि लागेर घण्टौं उकालो हिँडेर विद्यालय पुग्ने गरेको आफ्नै कहालीगाग्दो अतीत सम्झिएँ । र, सरकारसमक्ष ‘नो’ भनेर कराएँ । विद्यालय बन्द गर्न मिल्दैन भनेँ । एक जना मात्रै विद्यार्थी भएको अवस्थामा पनि विद्यालय बन्द गर्नुहुन्न भनेँ । देशभरिका कैयौं विध्यार्थीविहीन विद्यालयको उदाहरण राखेँ । मैले ‘नो’ भनिरहेँ । र, भनेँ, ‘हामीलाई एक महिनाको समय दिनुस्, एक महिनापछि फेरि तपाईंहरू अनुगमनमा आउनुहोला । विद्यालयको अवस्थामा यस्तै रहे, ठीक छ बन्द गरौंला ।’ निकैबेरको रस्साकसीपछि विद्यालय बन्द गर्न आएको स्थानीय सरकार एकमहिने भाका बोकेर फर्कियो । म भने गाउँमै रहेँ ।

...

तीन वर्षपछि । गएको चैत २३ गते गाउँपालिका अर्थात् हाम्रा स्थानीय सरकारका प्रतिनिधीहरू विद्यालयमा हाजिर थिए, जसले तीन वर्षअघि विद्यार्थी अभावले विद्यालय बन्द गर्ने निर्णय सुनाएका थिए । तर, यसपटक उनीहरू पहिलेझैं विद्यालय बन्द गर्न आएका थिएनन् । विद्यालयको २८औं वार्षिकोत्सव अवसरमा प्रविधिमैत्री विद्यालय घोषणा गर्न आएका थिए । पहिलेजस्तो ३ जना मात्रै विद्यार्थी थिएनन्, ३ दर्जनभन्दा बढी विद्यार्थीअघि कम्प्युटर ल्याबको उद्घाटन गरे । विद्यालयमा स्मार्ट टेलिभिजन जोडेको देखे, जहाँबाट करिब एक दर्जन शिशु कक्षाका नानी रमाउँदै पाठ सिकिरहेका थिए । खेल सामग्रीसहितको मैदान, दिवा खाजाघर, प्रत्येक कक्षाकोठामा बुक कर्नरसहितको पाठ्यसामग्री... । तीन वर्षअघि उनीहरूले जस्तो विद्यालय देखेर गएका थिए, त्यस्तो केही थिएन । बिलकुल फरक थियो विद्यालयको चित्र । तीन वर्षपछि विद्यालयमा उनीहरूले जे देखे, सामूहिक स्वरमा भने– ‘कायापलट भएछ ।’

उनीहरूले भनेको यो ‘कायापलट’ त्यत्तिकै भएको होइन । तीन वर्षअघि एक महिनाको समय मागेपछि हामीले जुन प्रयास गरेका थियौं, त्यही प्रयासले यहाँसम्म ल्याइपुर्‍याएको थियो । त्यो एक महिनाभित्र विद्यालय सेवा क्षेत्रको प्रत्येक घरमा घरदैलो कार्यक्रम लिएर हिँड्यौं । विद्यार्थी भर्ना कार्यक्रममा प्रत्येक विद्यार्थीलाई निःशुल्क पोसाक र झोलासहितको प्याकेज दिएका थियौं । विद्यार्थीका लागि विभिन्न प्रकारका छात्रावृत्तिको कार्यक्रम राखेका थियौं । हाम्रो घरदैलो कार्यक्रमको प्रभाव सकारात्मक देखियो । एक महिनाको समयसीमामा हामीले तीनबाट चौबीस जना विद्यार्थी जम्मा गर्‍र्यौं । र, एक महिनापछि हामी आफैं सरकारसामु विद्यालयको प्रगति विवरणसहित हाजिर भयौं । सरकार उस्तो खुसी नभए पनि दुःखी भने भएन । सरकारको प्रतिक्रिया सुनिसकेपछि वेगले दौडिरहेको हाम्रो सासको लयले तत्काल केही राहत पायो ।

यस वर्ष सामान्य बित्यो । नियमित पढाइ सञ्चालन भयो, शैक्षिक सत्र सकियो । दोस्रो वर्षको मध्यतिरबाट फेरि सरकारलाई सनक चढ्न थाल्यो । पहिलेजस्तो विद्यालय बन्दै गर्नुपर्छ भन्ने त थिएन । तर, देशैभरिका विद्यालयमा भएको दरबन्दी मिलान गर्ने क्रममा विद्यार्थी संख्या कम भएको कारण देखाएर सरकारले हाम्रो विद्यालयको एउटा दरबन्दी कटौती गरेको सूचना निकाल्यो । यो हाम्रा लागि अप्रत्याशित थियो । कक्षा ५ सम्म चलिरहेको विद्यालयमा जम्मा दुईवटा प्राथमिक तहको दरबन्दी थिए । एउटा दरबन्दी काटिदिएपछि एक जना शिक्षकले कसरी १–५ कक्षा सञ्चालन गर्ने ? स्थानीय सरकारले फेरि एकपटक अव्यावहारिक, अपरिपक्व निर्णय गरेको थियो । यसरी तोकिदिएको मापदण्ड पूरा गर्दै जाने हो भने देशैभरिका हजारौं केटाकेटीले प्राथमिक तहको शिक्षासमेत पार गर्ने अवस्था रहँदैन । एउटा उदाहरण यही विद्यालयलाई लिन सकिन्छ । दुई दरबन्दीले मुस्किलले कक्षा ५ सम्म चलिरहेको विद्यालयमा एउटा दरबन्दी कटौती गरेपछि कक्षा पाँच सञ्चालन गर्न सम्भव रहँदैन । दुःखले कक्षा ३ चल्न सक्छ । र, यहाँका विध्यार्थीको सबैभन्दा ठूलो डिग्री भनेकै कक्षा ३ हुन जान्छ । माथिल्लो कक्षा पढ्न दुई घण्टा उकालो बाटो छिचोल्नुपर्ने हुन्छ । सस्याना केटाकेटीका लागि त्यो असम्भव हो । डेरा गरेर पढ्न अभिभावकको खल्ती रित्तो छ । सानोसफेवाका नानीहरूले लिने शैक्षिक डिग्री कक्षा ३ मात्रै हो ? माथिल्लो कक्षा पढ्न पाउने हक छैन उनीहरूसँग ?

...

फेरि सरकारलाई ‘नो’ भन्यौं । भौगोलिक विकटता र न्युन जनसँख्याका आधारमा यस क्षेत्रका कुनै पनि विद्यालयले सरकारको मापदण्ड पूरा हुन सक्दैन । सरकारले भनेजस्तो विद्यार्थी संख्याको आधारमा दरबन्दी कायम गर्ने हो भने देशभरिका केहीबाहेक अधिकांश विद्यालयले सरकारको मापदण्ड पूरा गर्न सक्दैनन् । तर, पहुँचवालाहरूको मोलमोलाइमा आ–आफ्ना विद्यालयमा भएको दरबन्दी जोगाउँदै आइरहेको जगजाहेर छ । अधिकांश विद्यालयहरूले फर्जी विद्यार्थी संख्या राखेर विद्यालय सञ्चालन गरिरहेकै छन् । विद्यालय सुधारका लागि व्यवस्थापनमा ध्यान पुर्‍याउनपर्छ भन्ने बोध गरिसकेको हामीले चोरबाटाको छनोट भने गरेनौं । हामीले यसपटक पनि सरकारसँग ‘नो’ भन्यौं । आक्रोश पोख्यौं । बिन्ती बिसायौं । तर, सरकारले हाम्रो कुरा सुन्न चाहेन बरु विद्यालयलाई चिठी लेखेर निर्देशन दियो, ‘त्यस विद्यालयमा कायम रहेको एउटा दरबन्दी कटौती भएको हुँदा उक्त दरबन्दीसहितको शिक्षक अर्को विद्यालयमा रमाना दिएर पठाउनू ।’ तर, यसपटक पनि हामीले अटेर गर्‍यौं । ‘नो’ भनिरह्यौं । हाम्रो अटेर, तत्परता वा हुटहुटी के देखेर हो, सरकारले कटौती गरिसकेको दरबन्दी त्यही विद्यालयमै कायम गरिदियो ।

...

एक दिन, टाउकामा दुई हात बाँधेर ओछ्यानमा पल्टिरहेको थिएँ । विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर मन डुलिरहेकै थियो । एक ठाउँमा पुगेर टक्कै रोकियो मन । भर्खरै गाउँमा बिजुली पुगेको छ, त्यसको प्रयोजन विद्यालयमा हुनुपर्छ । तर, गर्ने कसरी ? मनैले जवाफ दियो– केही थान कम्प्युटर जोडिदियो भने केटाकेटी प्रविधिसँग नजिक हुन्छन् । र, केटाकेटीहरूमा विद्यालयप्रति आकर्षण पनि बढ्ला । तर, कम्प्युटर किन्ने पो कसरी ? सरकारले पक्कै दिने होइन । ‘विद्यालय बन्द गर्नू’ भनिरहने सरकारले के सहयोग गर्ला ? त्यसपछि सामाजिक सञ्जालमा जोडिएका नजिकका साथीहरूको छोटो सूची बनाएँ । र, विद्यालयको तर्फबाट सहयोगको प्रस्ताव राख्दै गएँ । नभन्दै मेरो प्रस्तावले बिस्तारै आकार लिन सुरु गर्‍यो । अभियानमा देशविदेशबाट साथीहरूले हैंसे गर्नुभयो । कति साथीहरू आफ्नै आग्रहमा स्वतः जोडिन आउँदाको अनुभूति... आहा ! कम्ता खुसीको क्षण थिएन त्यो ।

लक्ष्मी पूजाको बिहान, गएको कात्तिक १७ गते । हातमा रङको बट्टा र ब्रस बोकेर विद्यालयअघि उभिएँ म । फोहोर र झाडीबीच काम गर्न सुरु गर्दा एक्लै थिएँ म । साथीहरूले अल्छी गरे वा चाडपर्वका कारण केही दिन काम गर्न आएनन् । म भने भाइटीकाको दिनसमेत विद्यालयमा एक्लै रङ पोतिरहेको थिएँ । तिहारपछि भने साथीहरू छिटफुट जोडिँदै आउनुभयो । कति साथीहरू त एकै दिन पनि विद्यालयमा उपस्थित भएनन् । उनीहरू भन्थे रे– ‘सरकारले गर्ने काम हामीले किन गर्ने ?’ कुरा ठीकै थियो । बाटोघाटो, स्कुल, स्वास्थ्य चौकी, पुलपुलेसो सरकारले बनाउने हो । तर, सरकारले नबनाए के गर्ने ? हामीले गर्न सक्ने काम आफैं गर्ने कि नगर्ने ? सरकारलाई गरिदेऊ भनेर घच्घच्याउने काम गर्ने कि नगर्ने ? यसको उत्तर उनीहरूसँग थिए, थिएनन् कुन्नि ! विद्यालयको पछिल्लो अवस्थासँग भने राम्रै जानकार थिए उनीहरू । तर, अधिक युवा साथीहरूले निःशुल्क श्रमदान गरेर साथ दिए । कात्तिकबाट सुरु भएको काम करिब ४/५ महिनासम्मै चल्यो । यसबीच कहिलेकाहीँ साथीहरूको सहयोगबाहेक, हर दिन विद्यालयमा काम गर्ने एक्लैजसो थिएँ म । घरबाट बिहान निस्केर साँझ मात्रै फर्कन्थेँ । काम गर्दागर्दै कहिले खानसमेत भुलिदिन्थेँ । कहिलेकाहीँ आमा आएर खान सम्झाउनुहुन्थ्यो । काममा जति नै दुःख भए पनि बन्दै गरेको विद्यालय देखेर आफैंसँग खुसी हुन्थेँ । यो ठीक भइरहेको छ भनेर आफैंले आफैंलाई धाप दिन्थेँ । कामले थाकेको बखत सस्याना केटाकेटीसँग संवाद गरेर थकान मेट्थेँ । बितेको पाँच–छ महिनाभित्र विद्यालयसँग यति पारिवारिक भएछु म, आफ्नो परिवारभन्दा बेसी विद्यालयका लागि सोच्ने भइसकेको थिएँ ।

दिन–रात काममा जोतिएपछि बुझ्दै गएँ– विद्यालयमा कति धेरै खाल्डाखुल्डी रहेछन् । कतै केही नमिलिरहेको, केही नपुगिरहेको । हुन पनि मैले विद्यालयमा काम सुरु गर्दा त्यो कुनै शैक्षिक संस्था नभई बेवारिसे छोडिएको गाईगोठजस्तै थियो । वरिपरि झाडी र फोहोरबाहेक केही थिएन । कक्षाकोठामा जतासुकै कागजको फोहोर र ढुङ्गाको थुप्रो । लेउ र माकुराको जालोले भरिएको शौचालय ।

यतिसम्म ठीकै थियो, उदेकचाहिँ कतिखेर भने सस्याना शिशु कक्षाका नानीहरूलाई बस्ने गतिलो चकटीसमेत थिएन, नानीहरू चिसै भुइँमा बस्थे, चिसै भुइँमा बसेर खाजा खान्थे । यति हुँदाहुँदै पनि विद्यालय सम्झेर आइरहेका थिए नानीहरू र शिक्षकहरू ।

...

अहिले विद्यालय, विद्यालयजस्तै देखिन्छ । नानीहरूका लागि बालमैत्री कक्षाकोठा छ । स्मार्ट टेलिभिजनमा पढ्छन् उनीहरू । खेलमैदान छ । खेलसामग्री छ । कम्प्युटर ल्याब छ । व्यवस्थित दिवा खाजाघरमा बसेर खाजा खान्छन् नानीहरू । रमाउँदै पढ्छन्, पढ्दै रमाउँछन् । अस्तिसम्म रुँदै विद्यालय आउने नानीहरू, हिजोआज हाँस्दै–रमाउँदै आउँछन् । महिनौं विद्यालय परिसरमा काम गरिरहँदा कक्षाकोठाबाट निस्किरहेका शिक्षकहरूलाई देख्थेँ– कपाल, पोसाक र हातभरि चकको धूलैधूलो बोकेर निस्किरहेका हुन्थे । विद्यालय स्थापनाको २८ वर्षपछि अहिले कक्षाकोठाको कालोपाटी, चक–डस्टरले समेत पालो पाइसकेको छ । हिजोआज शिक्षकहरू कक्षाकोठाबाट बाहिर निस्कँदा उनीहरूका कपाल, पोसाक र हातका औंलासमेत सफा देखिन्छन् ।

प्रकाशित : असार ११, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

जिल खानुका विरुद्ध

दिमाग र व्यवहारमा बाह्रौं शताब्दी बोकेर एक्काइसौं शताब्दीको गुड्डी हाँक्नुमा हामी आफूलाई महान् र चेतनशील ठान्छौं।
केशव सिलवाल

एक्काइसौं शताब्दीको प्रभासमा हाम्रो सनातनी समाज र साँघुरो मनोदशालाई खोतल्दै आइपुगेकी छन्– शान्ति प्रियवन्दना । उनको कवितासङ्ग्रह ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ ले वर्तमान समाज र समयलाई अग्रभागमा राखेर हामीतर्फ प्रश्नको झटारो हानेको छ । एक्काइसौं शताब्दीलाई कसरी एक्काइसौं शताब्दी बनाउने, त्यो मूलमन्त्रमा शान्तिका शब्दहरू संकेन्द्रित छन् ।

एकातिर धामी–झाँक्री, बोक्सी, छुवाछुत र विभेदलाई पिठ्युँमा बोकेर हिँडिरहेको हाम्रो समाज छ, अर्कोतर्फ विज्ञान–प्रविधि र सूचना सञ्चारको चम्किलो एक्काइसौं शताब्दी छ । कस्तो अनौठो विरोधाभास ? कस्तो अचम्म ? अनि हामी यही विभेदी समाजको सदस्य एक्काइसौं शताब्दी आयो भन्दै ठमेलतिर घुम्न निस्कन्छौं, पबमा रमाउँछौं, सपिङ मल र क्यूएफएक्सतिर रल्लिन्छौं । दिमाग र व्यवहारमा बाह्रौं शताब्दी बोकेर एक्काइसौं शताब्दीको गुड्डी हाँक्नुमा हामी आफूलाई महान् र चेतनशील ठान्छौं । देशका शासक गृह प्रवेश गर्दा कालो बोका काट्छन्, राँगो ढाल्छन् र आफूलाई परिवर्तनको वाहक भएको व्याख्यान छाँट्छन् । किन हुन्छ यस्तो ? हो, यहीँ जिल्लिन्छ एक्काइसौं शताब्दी ।

शासकले देखाउने बाटो नै कलुषित भएपछि समाज हिँड्ने त उही बाह्रौं शताब्दीको बाटो न हो । कस्तो मजाले, कस्तो सशक्त प्रश्न उठाएकी छन् शान्तिले । मान्छेलाई विष्टा खुवाउने, भूतप्रेत मन्छिँदै खरानीका डल्ला र खुर्सानी दोबाटोमा राख्ने ढोँगी र रोगी मानसिकताले सिंगारिएका मानवका खोपटालाई एक्काइसौं शताब्दीको मानिस भन्न नसकिने शान्तिको ठहर छ । समाजलाई यसरी प्रखर र पारदर्शी ढङ्गले पर्गेल्न सक्ने, आफैंलाई गाली गर्न सक्ने खुवी कवि शान्तिसँग छ ।

शान्ति मूलतः पश्चगमनमा दौडिरहेको, विभेदकारी र महिलाद्वेषी मानसिक प्रदूषण भरिएको समाजप्रति आफ्ना असन्तोष अभिव्यक्त गरिरहने सचेत कवि हुन् । हाम्रो मनोदशाका एक–एक एकाइको पोस्टमार्टम गर्न चाहन्छिन् उनी । एउटा कविलाई अर्को कविले चिन्ने भनेको उसको विचारबाट हो, कविताबाट हो । महिला संवेदना र खासगरी आमाबारे लेखिएका शान्तिका कविता बढी मार्मिक र अब्बल छन् । आमा के हुन् ? आमा के होइनन् ? यी प्रश्नका उत्तर धेरै खोजिएका छन् किताबमा । मायालु आमा भन्दै आमाको उत्पीडनमा पर्दा हाल्न तयार सन्तानको हूलले आमाको परिभाषा दिन सक्दैन । सन्तानले बुझ्नेभन्दा आमाको दैनिकी भिन्दै छ, उनको दुःख समाजको दुःखबाट टाढा छैन, उनको खिइएका दस नङ्ग्राको समाजशास्त्र पढ्न नसक्नु सन्तानको निरक्षरपना हो । आमालाई आदर्शको भ्युटावर चढाउनुभन्दा आमाको दुःखको विश्वविद्यालय पढ्न सक्नुपर्छ । कवि शान्ति आमालाई पढ्छिन् ।

शान्ति प्रश्न गर्छिन्– कुन माटोले बन्छन् आमाहरू ? उनलाई प्रिय लाग्छ विद्रोही आमा, पुराना शास्त्रका ग्रन्थहरू धुजाधुजा पारेर दोबाटोमा मिल्काइदिने आमा, पिठ्यूँको छाला खुइलिने गरी ढुङ्गा र पानी बोकेर ठड्याएको धरोहरमा उँचा भनिने मान्छेहरूले प्रवेश रोक लगाएपछि आस्था नै सेलाउने आमा । अर्कोतर्फ, चिन्ता छ उनलाई– महाराजा–महारानीका लहडी इतिहास पढेर कतै छोरीहरूको दिमागमा आघाती भुस्सा भरिने त होइन ? उनी छोरीलाई दोस्रो खालको इतिहास पढ्न उत्प्रेरित गर्छिन् । छोरीलाई दोस्रो दर्जामा दर्ता गर्ने अपाहिज दिमागलाई ठेगान लगाउने संघर्ष र प्रतिरोधको इतिहास ।

शान्तिका कविता सुबोध, सरल र सरस छन्, शाब्दिक गुजुल्टो छैनन्, तर मनमस्तिष्कलाई झस्काउने, झक्झकाउने बिहानीको चिरबिर र सौम्य आभाजस्ता छन् । समाजको ढोंगलाई उधिन्न, मानसिक विरेचनका लागि र आफ्नै पोस्टमार्टमका लागि शान्तिका कविता पढ्नुपर्छ । आमा, छोरी र महिला प्रतिरोधबाहेक तपाईं यसमा भुइँ मान्छेका कविता, धरातलका कविता, खुट्टामा जुत्ता नभएकाहरूको कविता, जीर्ण फूलको कविता, पाइला र नाम्लोका कविता पढ्न सक्नुहुनेछ । कविता बन्न के चाहिन्छ ? प्रवुद्धहरू बहसमा संलग्न छन् । तर, यसको उत्तर सहज छ महोदय, मान्यवर । आम कविता बन्न भुइँ मान्छेका कुरा आउनुपर्छ, तिनको भावना, चाहना र संवेदना समेटिएको हुनुपर्छ । ढोंगी, चिल्ला र उडन्ते आत्मकेन्द्रित मन्थनलाई कविता मान्न सकिन्न । त्यो कविता होला, तर त्यो दूषित कविता हो, साँघुरो कविता हो । कविताको उडान भुइँमा छ, आकाशमा होइन । शान्तिका कवितामा त्यो भुइँ पाइन्छ ।

‘आगोको घर’ कविता रच्ने शान्ति बिलकुल भिन्न कवि हुन्, विद्रोही हुन् । यहाँ त शान्तिको नाममा भित्रभित्र कोहराम मच्चाउनेको अतिशय जगजगी छ । ऐयासी बाँच्ने मुठीभरलाई शान्ति छ, बाँकीलाई त रातदिन गलपासो छ । यस्तो विषम समयमा विद्रोहको हतप्रभ विश्रामलाई कवि शान्ति औंला ठड्याउँछिन् । परिवर्तनको सरदारसँग उनी प्रश्न गर्छिन्– क्रान्ति कहाँ पुग्यो ? सिंहदरबारमा ? संसद् भवनमा ? नवधनाढ्यहरूको महलमा ?

शान्तिलाई आगोको कवि पनि भन्न सकिन्छ । आफ्नो परिचय फेरिदिने बाबुसँग उनी झगडा गर्छिन् । उनी चुपचाप बस्ने शान्तिप्रेमी कवि होइनन् । यो फरेबी शान्तिलाई खलबल्याईदिने अशान्त कवि हुन् उनी ।

महोदयहरू, विद्रोह किन हुन्छ ? कवितामा विद्रोह आउन हुन्छ कि हुँदैन ? बहस गर्दै गर्नुहोस् । हामीलाई त विद्रोह नै कविता हो, आफूले भोगेका अमानुषिक पीडा नै कविता हुन् । हाम्रा लागि त निलो पसिनाको धारा नै कविताको लय हो ।

शान्तिका अशान्त कविता नै हाम्रा कविता हन् । पारिजात हिँडेको बाटोमा हिँडेर हुँकार प्रकट गर्ने शान्तिलाई कवितामा स्वागत छ । आखिर, न्यायबद्ध विद्रोह शान्तिकै लागि हुने हो ।

प्रकाशित : असार ११, २०७९ ०८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×