कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१
मान्छेको कथा 

जब सिकारी किसान बने  

मानव इतिहासको लामो कालखण्ड सिकार–खोजीमुलोको यायावरी युग थियो । स्थायी बसोबास र कृषि त करिब १० हजार वर्षअघि मात्रै सुरु भएको हो । नेपालमा त त्योभन्दा धेरैपछि । कृषि युगको सुरूवात मान्छे र पृथ्वीकै इतिहासमा आमूल परिवर्तनकारी एक आविष्कार थियो ।  
सुरेश ढकाल

आफ्नो एउटा घर र केही जग्गा होस् ! केही सम्पत्ति र बैंक ब्यालेन्स ! सानो सुखी परिवार अनि ती सबैको सुरक्षा गरिदिने एउटा सबल राज्य ! आजको मान्छेको समृद्धिको काल्पनिकीमा सायद यी आधारभूत विषय हुन् । तर, मानवशास्त्री मार्सल सालिनले जुन प्राकृत समृद्ध समाजको परिभाषा गरे तिनमा माथि लेखिएका कुनै पनि सूचक थिएनन्, त्यहाँ परिवार, निजी सम्पत्ति र राज्यको अस्तित्व निर्माण भइसकेको थिएन ।

जब सिकारी किसान बने  

मानिसहरू स्वतन्त्र र स्वच्छन्द थिए । अर्थात् त्यो कृषिको आविष्कार पूर्वको समाज थियो । आज हामीले बुझे–जानेको परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति कृषिको आविष्कारपछिका परिघटना थिए ।

प्राप्त पुरातात्त्विक अवशेष र प्रमाणहरूले के संकेत गर्छन् भने कृषिकालको तुलनामा सिकारी युगमा मान्छे विरलै अनिकाल वा भोकमरीले मर्थे । कृषिमा आश्रितहरूभन्दा धेरै विविधतायुक्त थियो उनीहरूको खानाको स्रोत । र, ती खाना पोषणयुक्त पनि थिए । कृषि गर्ने मान्छेहरू त सीमित अन्नबाली वा जनावरमा भर पर्थे जीविकोपार्जनका लागि । सीमित खाद्यस्रोतमा मात्रै भर पर्नुपर्दा सुक्खा, अतिवृष्टिजस्ता प्राकृतिक प्रकोपको समेत जोखिम बढी हुन्थ्यो, तर पाषाणकालीन यायावरीहरूमा त्यस्तो जोखिम निकै न्यून हुन्थ्यो । कृषिका तुलनामा सिकारयुगका पुर्खाहरू कम समयमै बढी पोषणयुक्त खाना जुटाउन र सिकार बटुल्न सक्थे ।

हजारौं पुस्ता र लाखौं वर्ष यायावरी जीवन बिताउनेहरू किन स्थायी बसोबास र खेती किसानीतिर लागे होलान् ? प्रश्न अभिरुचिपूर्ण अवश्य छ, तर उत्तर सहज छैन । कृषिको सुरुवातका सम्भावित कारण केही उपलब्ध पुरातात्त्विक प्रमाणका आधारमा निर्मित अनुमान र अवधारणामा आधारित छन् । तर, तिनका परिणाम भने प्रस्ट र प्रत्यक्ष छन् । तिनै परिणामका आधारमा कृषिको आविष्कारलाई एक आधारभूत आविष्कार भनिएको हो, नवपाषाणकालीन क्रान्ति भनिएको हो । संक्षिप्तमा यसै कान्तिपुर ‘कोसेली’ मा गत फागुन १४ गते प्रकाशित ‘मान्छेको कथा’ मा पनि चर्चा गरिसकिएको थियो कि आजको मान्छेको काल्पनिकीमा अटेको समृद्ध समाजको जग कृषि युगको सुरुवातसँगै बनेको थियो ।

कृषि : एक आधारभूत आविष्कार

आगो, धातु, लिपि र कृषिको आविष्कार मानव इतिहासका यस्ता परिघटना हुन्, जसले अरू धेरै आविष्कार सम्भव गराए । यी आविष्कारका कथासँग मान्छेका कैयौं रोचक कथा गाँसिएका छन् । तीमध्ये एउटा थियो– मान्छेलाई खेती गर्न के विषयले बाध्य बनायो ? यो त्यति पुरानो कथा पनि होइन, यस विषयमा अनेक खोज, अनुसन्धान भएका छन्, तर आज पनि कसैले ढुक्कसँग भन्न सकेका छैनन् आखिर कृषिको सुरुवात किन र कसरी भयो ? मानवशास्त्री, पुरातत्त्वविद्हरूका अनवरत प्रयत्न, शृंखलाबद्ध उत्खनन, अनुसन्धान र अध्ययनले केही सम्भावित कारण बताएका छन् । तर, जसरी कृषिको प्रारम्भपछिका परिणामबारे भन्न सकिन्छ यसको प्रारम्भबारे निश्चित रूपमा केही भन्न सकिएको छैन ।

लाखौं वर्ष सिकार, कन्दमूल संकलन गरेर जीवन गुजारा गरे पाषाणकालीन यायावरहरूले, जो एकै ठाउँमा केही दिनदेखि केही हप्तासम्म मात्रै बस्थे । र, तिनीहरू सिकारका लागि ढुंगे हतियार प्रयोग गर्थे । सुरुसुरुमा हतियार धारिला र प्रभावकारी थिएनन्, त्यसैले मान्छेहरू ठूला जनावर सिकार गर्न सक्दैनथे । र, मान्छेहरू साना–साना झुन्डमा मात्रै बस्थे, एकै ठाउँमा धेरै जना बस्न सक्ने सम्भावना पनि हुँदैनथ्यो । उनीहरू छिटोछिटो एक ठाउँबाट अर्को ठाउँ सरिरहन्थे, मान्छेहरू यायावर थिए ।

तर, तिनै होमो सापिएन्सले २० हजार वर्ष आसपास हतियार बनाउने सीप, कौशलमा यसरी उन्नति गर्दै गए कि अब उनीहरू धारिला, साना तर प्रभावकारी ढुंगे हतियार बनाउन सक्ने भए । मान्छेले धनुकाँण, भालाजस्ता चुच्चो र टाढाबाट पनि प्रहार गर्न सकिने हतियार प्रयोगमा ल्याए, जसको सहायताले उनीहरू ठूला जनावर पनि सिकार गर्न सक्ने भए । हतियारको चोटले घाइते भएका ठूला जनावरलाई घेरा हाल्न, खेद्न, धरापमा पार्न धेरै मान्छे चाहिने भयो । साथै ठूला जनावरको सिकारपछि ती मासु लामो समयसम्म भण्डारण गरेर राख्न सकिँदैनथ्यो, तुरुन्तै सक्नुपर्ने हुन्थ्यो । यसरी आवश्यकता र स्रोतको उपलब्धताले मान्छेहरू ठूला समूहमा बस्न सक्ने भए । त्यति मात्रै होइन एकै ठाउँमा तुलनात्मक रूपले लामो समय बस्न सक्ने भए । यो नवपाषाणकालीन अर्थात् ढुंगेयुगको पछिल्लो कालखण्डको कुरा थियो ।

यसै क्रममा १०–१२ हजार वर्षपहिले मान्छेहरूले पश्चिम एसिया, खाडीवरिपरिका स्थानहरूमा स्थायी बसोबास र कृषिको सुरुवात गरे । कृषि युगको सुरुवातसँग सम्बन्धित प्रारम्भिक प्रमाणहरू भने सामान्य थिए । जस्तै, स्थायी बासस्थानका अवशेषहरू, माटाका भाँडाका टुक्राहरू (यद्यपि माटाका भाँडा प्रचलनमा आउनुभन्दा पहिले पनि कृषिका केही प्रमाण फेला परेका छन्) र डढेका वनस्पतिका बीजावशेषहरू, जुन जंगली अवस्थाका भन्दा फरक थिए । त्यस्तै खाद्यान्न भण्डारण गर्न, कुट्न, पिस्न प्रयोग हुने औजारका अवशेषहरू थप प्रमाण थिए मानिसका स्थायी बसोबास र खेतीपातीका ।

सिकागो विश्वविद्यालयका मानवशास्त्री रोवर्ट जे ब्रेडउडको नेतृत्वमा बहुविधाका अनुसन्धानकर्ता संलग्न टोलीले सन् १९४० र ५० को दशकमा इराकी कुर्दिस्तानी क्षेत्रमा एक व्यवस्थित अध्ययन गरेको थियो । र, त्यसपछि खाडी क्षेत्रका अन्य भूभागमा गरिएका उत्खनन–अध्ययनको निष्कर्ष थियो– अफ्रो–युरोएसियाली संगमविन्दु, ‘मध्यपूर्व’ को खाडीक्षेत्रवरिपरि नै यायावरी जीवन त्यागी स्थायी बसोबास र कृषि (खेती तथा पशुपालन) सुरु गर्ने पहिलो मानव समुदायको उदय भएको थियो । अर्का अमेरिकी पुरातत्त्वविद् रिचार्ड म्याकनेसले मेक्सिकोको तेहुवकाना उपत्यकामा गरेको उत्खननले त्यत्तिकै रोचक मकैखेतीको सुरुवातका तथ्यहरू बाहिर ल्याए, जसले ‘नयाँ विश्व’ भनेर चिनिने अमेरिकी महादेशमा लामो अवधिदेखि कृषि युगमा प्रवेश गरेको बुझाइलाई विस्तारित गर्न सहयोग पुग्यो । र, कृषिको आविष्कारसम्बन्धी विश्वको बुझाइलाई परिष्कृत बनाउन सहयोग पुर्‍यायो ।

‘मध्यपूर्व’ का ती क्षेत्रहरू जस्तै : इराक, इरान, जोर्डन, टर्की आदि, जहाँ कृषिका अधिकांश आदि–प्रमाण फेला परेका छन् । ती भू–भागलाई उर्वर अर्धचन्द्र अर्थात् फर्टाइल क्रेसेन्ट पनि भनियो । १० हजार वर्षपहिले मानव जातिले अन्टार्टिकाबाहेक संसारका सबै महादेशमा आफ्नो साम्राज्य विस्तार गरिसकेको थियो, तर पृथ्वीको उपरोक्त क्षेत्रमै कृषिको सुरुवात किन भयो होला ? त्यस ठाउँमा सुरुवात भएको कृषिको अभ्यास अन्य क्षेत्रका मान्छेहरूले कसरी सिके होलान् ? एक ठाउँबाट अर्को ठाउँसम्म यसरी कृषिको प्रसार कुन माध्यमबाट भयो होला ? यी मानव इतिहासका रोचक प्रश्न र प्रसंग हुन् ।

कृषियुगको सुरुवात : किन र कहाँ ?

एकभन्दा बढी व्याख्या छन् कृषिको आविष्कारबारे, तर ती कुनै पनि अन्तिम व्याख्या ठहर हुन सकेका छैनन् ।

लामो अवधिसम्म कृषि आविष्कारको प्रमुख कारक ठानिन्थ्यो– जनसंख्या वृद्धिलाई । त्यस व्याख्याअनुसार, मान्छेको संख्या यसरी बढिसकेको थियो कि लाखौं वर्ष धानेको सिकार र खोजीमुलोले उक्त बढेको जनसंख्या धान्न सक्ने अवस्थै रहेन । बढ्दो जनसंख्या धान्न केही न केही जुक्ति अनिवार्यजस्तै भइसकेको थियो । र, त्यो थियो– कृषिको आविष्कार । अमेरिकी मानवशास्त्री मार्क कोहेन थिए यस्तो जनसंख्या वृद्धिको प्राक्कल्पनाकार । तर, पुरातात्त्विक उत्खनन र अन्वेषणहरूले यो सिद्धान्त पुष्टि हुन सकेन । बरु कृषिको सुरुवातपछि जनसंख्या बढेको यथेष्ट प्रमाण फेला परे । मानवशास्त्री लेविस विनफोर्डले कृषिको सुरुवात भएको भनिएकै स्थानहरूमा गरिएको उत्खननका आधारमा भनेका थिए– वास्तवमा कृषिको सुरुवातपछि जनसंख्या ह्वात्तै बढेको थियो ।

घुमन्ते जीवनको अन्त्य र स्थायी बसोबास, अतिरिक्त उत्पादन र खाद्य सुरक्षा, महिला–पुरुष सहवासको सम्भावना बढ्नु, जन्मदर बढ्नु र शिशु मृत्युदर कम हुनु ! जनसंख्या बढ्नुका कारण यी हुन सक्थे, जुन सिकारी युग अर्थात् घुमन्ते युगमा सम्भव हुने थिएन ।

अस्ट्रेलियन पुरातत्त्वविद् गोर्डन चाइल्डको अवधारणा फरक थियो । खाडीका ती क्षेत्रहरू, जहाँ पछिल्लो हिमयुग (अनुमानित १२,००० वर्षसम्म) को अन्त्यसँगै लामो समय खडेरी पर्‍यो, सबै मानिस र जनावरहरू पानी स्रोतका छेउछाउ झुम्मिन थाले । त्यस्ता मरुउद्यानहरूमा लामो समय बिताउँदा जनावर र मान्छेबीच निकटता बढ्न गयो । र, अन्ततोगत्वा केही छनोटमा परेका जनवारलाई मान्छेले घरपालुवा बनाए । त्यसपछि मात्रै खेती सुरु भएको थियो । तर, प्रमाणहरू भन्छन्– जौ, गहुँजस्ता अन्नबालीका प्रथम प्रमाण त्यस्ता मरुद्यानवरिपरि नभई अन्यत्रै पाइएको थियो ।

ब्रेडउडको अध्ययनले के इंगित गर्‍यो भने जहाँ पहिलेदेखि नै गहुँका रैथाने प्रजाति थिए, तिनै ठाउँमा आंशिक रूपमा खेती गरिएका गहुँका प्रजाति पनि भेटिएका थिए । र, साथमा भेटिएका थिए– खल, सिलौटा, ओख्ली, ढुंगे हँसिया र भण्डारणका लागि बनाइएका थिए अन्नगारहरू । ब्रेडउडको मतअनुसार, कुनै प्रजातिको प्राकृतिक/मौलिकस्थलमै लामो समयसम्म मानिससँगको अन्तर्क्रियाको परिणामस्वरूप ती प्रजाति क्रमश: मान्छेको आवश्यकताअनुकूल हुन थाले । यसरी हेर्दा उर्वर अर्धचन्द्र वरिपरिको भू–भाग, जहाँ अन्नका रैथाने प्रजाति थिए र मान्छेले संकलन–उपभोग गर्थे सोही ठाउँमै उक्त प्रजातिलाई मान्छेले आफूअनुकूल बनाउन सके र क्रमश: ती अन्यत्र फैलिन थाले । यसरी प्रजातिको मूल थलो जहाँ हो सोही ठाउँमै तिनलाई मानिसले आफूअनुकूल बनाउन थाले । पुनरुत्पादनका लागि ती प्रजाति मानिसमा निर्भर हुन थाले । यो सिद्धान्तलाई नाभिकीयस्थलको सिद्धान्त (न्युक्लियर जोन थिएरी) भनिन्छ ।

लेविस बिनफोर्डको मत फरक थियो । उनका अनुसार, वातावरणीय परिवर्तन र बढ्दो जनसंख्याका कारण मौलिक थलोमा स्रोतसँगको सन्तुलन खलबलियो र प्रजातिहरूको मौलिक थलोभन्दा बाहिर मानसिले खेतीको जुगाड गरे । यस्तो सिद्धान्तलाई सीमान्त क्षेत्रको सिद्धान्त (एज जोन थिएरी) भनियो ।

कृषिको आविष्कारका लागि वातावरणीय प्रतिकूलता र जनसंख्या वृद्धि कारक हुन्, तर पर्याप्त थिएनन् । सायद एकभन्दा बढी प्रक्रिया संयुक्त रूपमै जिम्मेवार थिए– कृषि युगको सुरुवातका लागि । फरक–फरक स्थानमा विभिन्न प्रजातिहरूको स्वतन्त्र उद्भव भएको थियो । र, खेतीप्रणालीमा तिनको विकास पनि भएको थियो । किन र कसरी कृषिको प्रारम्भ भयो ? केही अस्पष्टता भए पनि यसका परिणाम भने प्रत्यक्ष र प्रस्ट छन् ।

यहाँ भन्नैपर्ने एउटा विषय के हो भने कृषि युगभन्दा पहिले पनि महिला र पुरुषबीच भूमिका विभाजन थियो, जुन कृषिको प्रारम्भसँगै सघन बन्यो । महिला पनि यदाकदा सिकारमा संलग्न हुन्थे भन्ने प्रमाण नभएका होइनन्, तर मूलत: पुरुषहरू सिकार गर्थे र महिला कन्दमूललगायत वनस्पतिजन्य खानाको खोजी र प्रशोधन । परिवारको पालनपोषणमा महिलाको भूमिका महत्त्वपूर्ण थियो नै । खाद्यान्नको ठूलो हिस्सा खोजीमुलोबाटै प्राप्त हुन्थ्यो, जुन मूलत: महिलाको काम थियो । महिलाहरूले नै ती खानयोग्य वनस्पतिका प्रजातिलाई नजिकबाट नियालेका थिए, बोटबिरुवाको प्रकृति बुझेका थिए । कुन वनस्पति खान हुने हो र कुन होइन भन्ने ज्ञान पनि पहिलो पटक महिलाहरूलाई नै हुन्थ्यो । सहज बुद्धिबाट मात्रै त्यो जान्न सकिन्थ्यो । उनीहरूले पुर्खाबाट जाने–बुझेका वनस्पतिको मात्रै संकलन, प्रशोधन र उपभोग गरेनन् बरु नयाँनयाँ प्रजाति परीक्षण गर्दै गए । कतिपय वनस्पति विषालु हुन्थे र ज्यान पनि जान सक्थ्यो । यसरी वनस्पतिसँगको सान्निध्यता, अनुभवजनित सामूहिक ज्ञान र ज्ञानको पुस्तान्तरणमा महिलाहरूको महत्त्वपूर्ण भूमिका रहन्थ्यो । वनस्पतिसँग यस्तो सान्निध्यता भएकै कारण वर्षौंदेखि संकलन गरेर खाने अन्नको जंगली प्रजातिलाई नै उनीहरूले घरपालुवा र आफूअनुकूल बनाउन सकेका हुन् । मानवशास्त्री मार्गरेट एहर्नबर्ग दावा गर्छिन् कि कृषिको सुरुवात महिलाले नै गरेका हुन् किनभने लामो समयसम्मको निकट अवलोकन र ज्ञान उनीहरूसँग नै थियो । बार्बरा रथ (सन् २००६) आफ्नो अनुसन्धानात्मक लेखमार्फत थप प्रस्ट पार्छिन् कि लैंगिक सवाल मूल प्रश्न हो, महिलाको महत्त्वपूर्ण भूमिका थियो कृषिको सुरुवातका लागि । तर, आफ्नै भूमिका र स्वच्छन्दतालाई नियन्त्रित गर्ने यस्तो निर्णय महिलाले किन गरे होलान् ?

मान्छे र पृथ्वीको फेरिएको कथा

कृषि आविष्कारले मान्छेको शारीरिक र बौद्धिक–शैली मात्रै बदलेन, उनीहरूले घरपालुवा बनाएका प्राणी–वनस्पतिको समेत आकृति, संरचना र आनुवंशिक चरित्र नै बदल्यो । खेती गर्न थालिएका प्रजाति अब जंगलीस्वरूपमा जस्तै प्राकृतिक र स्वत: अंकुरण नहुने भयो । त्यसका लागि ती प्रजातिलाई मानिसकै सहायता चाहिने भयो । यद्यपि कृषिमा अभ्यस्त हुन थालेपछि जंगली वनस्पति, पर्यावरण आदिबारे मान्छेको बृहद् ज्ञान भने खुम्चिँदै जान थाल्यो ।

कृषिको कारण प्रतिएकाइ भूमिले धेरै जनसंख्या थेग्न सक्ने भयो । अध्ययनअनुसार, सिकारी युगमा सहज जीविकोपार्जनका लागि प्रतिव्यक्ति करिब दुई वर्ग किमि भूमि आवश्यक पर्थ्यो भने अब प्रति वर्गकिमि कृषि जमिनले एक हजार मान्छेलाई पाल्न सक्ने भयो । यो अनुमान केही दशक पहिलेको थियो । जब यसरी जनसंख्याको वृद्धि र जनघनत्व दुवै बढ्न गयो, यसले पृथ्वीको धरातलीय र भौतिक स्वरूपमा समेत परिवर्तन गरायो ।

कृषिको सुरुवात र स्थायी बसोबास सह–उद्विकासी प्रक्रिया थिए । प्रतिएकाइ भूमिले धेरै जनसंख्या धान्न सक्ने भएपछि स्थायी बसोबासले ठूला बस्तीहरू र क्रमश: सहरको स्वरूप लिँदै जान थाले । उत्पादित अन्न थन्क्याउन ठूला अन्नागारहरू बनाइए । केवल बसोबासको संरचनामा मात्र होइन सामाजिक संरचना पनि बदलिन थाल्यो । र, नातागोता प्रणाली विस्तारित र जटिल हुँदै गए ।

कृषिको जटिल प्रक्रियाका लागि श्रमको विभाजन विशिष्टीकृत बन्दै गयो । तर, खाद्य सुरक्षाका कारण मानिसहरू दैनिक गुजाराका लागि भौंतारिनु पर्दैनथ्यो । परिणामत: मान्छेले कला, सीप, कौशलमा विषेशज्ञता र विशिष्टता हासिल गर्दै गए । सोहीअनुरूप प्रविधिको उन्नति पनि भयो । मनोविनोद र चित्तानन्दका लागि अनेक जात्रा–पर्व, सांस्कृतिक उपायहरू देखापर्न थाले । कृषिमा आधारित संस्कृतिको प्राक्स्वरूप र चरित्र त्यसरी निर्माण भएको थियो ।

अधीनस्थ भुखण्डको सीमांकन, श्रम विभाजन, राजनीतिक संगठनको विकास, अतिरिक्त उत्पादन, फुर्सद, वितरण र व्यापार–साटफेर अनि द्वन्द्व ! यी सबैको समुच्च परिणाम थियो, सभ्यताको उद्भव । उर्वर र उत्पादनशील भूमि, अक्सर नदी र पानीका स्रोत आसपासमा नै यस्तो सभ्यताको विकास भएको थियो ।

त्यो बलशाली नेता, जसले अधीनस्थ भूभागमा बस्ने मानिसलाई श्रम विभाजनअनुसार उत्पादनमा लगाउन सकोस्, भूभाग र अतिरिक्त उत्पादनको रक्षा गर्न सकोस् ! ऊ नै गणप्रमुख वा सामन्त अर्थात् मुख्य नेता बन्थ्यो, जुन अन्ततोगत्वा पारिवारिक विरासतको रूपमा पुस्तान्तरण हुन थाल्यो । यसरी निश्चित भू–भाग, राजनीतिक संगठन र विरासतमा प्राप्त हुने कुल परम्पराको नेतृत्वले नै अन्तत: राज्य र राजतन्त्रको उद्भव गराएको थियो । त्यसैले मानवशास्त्री लिविस हेनरी मोर्गन र पछि फ्रेडरिक एंगेल्सले सिद्धान्तकै रूपमा स्थापित गरे कि कृषि युगपछि नै निजी सम्पत्ति, परिवार र राज्यको उदय भएको हो ।

हाम्रो वाग्मती सभ्यता पनि उपत्यकाको मलिलो, उर्वरशील भूमिको परिणाम नै थियो । मध्यकालीन कला, संस्कृतिको वैभव र सबल राज्य यही उर्वर भूमिकै कारण सम्भव भएको हो । विश्वका आदि–सभ्यता यस्तै कृषिका लागि उपयुक्त नदी किनारका स्थायी बसोबासीले निर्माण गरेका थिए ।

नेपालमा कृषियुग

मध्यअसारको समय छ । नेपाली किसानहरू सबैभन्दा बढी व्यस्त छन् यतिबेला । तर, चार–पाँच हजार वर्ष मात्रै पहिले पनि उनीहरूलाई यस्तो चटारो हुँदैनथ्यो । अर्थात् उतिबेला नेपालीले कृषिलाई जीवनको मूल आधार बनाइसकेका थिएनन् । तर, कहिलेदेखि नेपालमा खेती सुरु भयो भन्ने केही अनुमानका अलावा यसको प्रामाणिक इतिहास सायद छैन ।

कृषि/पशुपालन क्रमश: पश्चिम एसियाबाट दक्षिण एसिया हुँदै नेपालसम्म आइपुगेको सहज अनुमान लगाइन्छ । भारतीय उपमहाद्वीपमा पहिलो कृषि: पशुपालन र अन्न उत्पादनको प्रमाण मेहरगढ, हाल पाकिस्तानमा भेटिएको थियो, जुन अनुमानित आठ हजार वर्ष पुरानो थियो । त्यस्तै केही प्रजातिले भने सिल्करोडको बाटो तिब्बत/चीन हुँदै नेपालको उत्तर–पूर्वी नाकाबाट यहाँको वर्तमान सरहदभित्र प्रवेश गरेको अनुमान गर्न सकिन्छ । तर, त्यो समयबारे त्यस्तो कुनै प्रस्ट पुरातात्त्विक प्रमाण भने छैन । केही पौराणिक कथाहरूका आधारमा अनुमानित कथ्य पनि नसुनिएका होइनन्, तर ती प्रमाण होइनन् । इपू ३०००–२५०० तिर दक्षिणी गंगा मैदानबाट उत्तरतिर सर्दै आएका मानव झुन्डहरूले धान खेती नेपालमा भित्र्याएको हुन सक्ने अनुमान गरिन्छ । यो अनुमान पनि करिब त्यसै अवधितिर भारतको विहार र उत्तर प्रदेशमा धान खेती सुरु भएका प्रमाणका आधारमा गरिएका हुन् । यस्ता अनुमानहरू भौगोलिक सामीप्यता र पारिस्थितिक समानताका आधारमा गरिएका हुन् । यसरी हेर्दा धान दक्षिणबाट नेपालमा प्रवेश गर्‍यो । कोदो, जवार उत्तरबाट करिब तीन हजार वर्षपहिले भित्री एसिया हुँदै व्यापारिक रेशम मार्गको बाटोबाट चीन र क्रमश: नेपाल प्रवेश गरेको हुन सक्ने अनुमान गरिन्छ । यद्यपि पुरातात्त्विक अध्ययनले के पनि देखाउँछ भने हडप्पामा चार हजार वर्षपहिले अर्थात् २००० इपूमै जवार/जुनेलोका प्रमाणहरू पाईएको छ, जुन अफ्रिकामा भेटिएको प्रमाणभन्दा पुरानो हो । नेपालमा समेत पुरातात्त्विक अन्वेषण गरेकी नर्वेली पुरातत्त्वविद् प्राध्यापक आर. हल्यान्ड (जो मेरी गुरुआमा पनि थिइन्) को अध्ययनको निचोड थियो– जंगली अवस्थामै रहेको जवार–जुनेलोको संवर्द्धन र आकृतिगत सुधार गर्दै खेती गर्न थालिएको एसियामा नै पहिले हो ।

करिब तीन हजार इपूतिर नेपालको वर्तमान सरहदभित्रको केही भागमा खेती–पशुपालनको सुरु भएको हुन सक्छ । यो खासगरी कश्मीर उपत्यकामा प्राप्त खेतीका प्रमाणहरूको समयावधि र पश्चिमबाट पूर्व सर्दै आएका मानिसहरूको झुन्डले कर्णाली/जुम्ला क्षेत्रमा खेती भित्र्याएका पनि हुन सक्छन् भन्ने अनुमानमा आधारित छ । पश्चिमबाट पूर्वतिर बसाइँ सराइका प्रमाणहरू र भौगोलिक एवं वातावरणीय सामीप्यताका कारण यस्तो अनुमान गरिएको हो । यसरी नेपालमा तीन दिशाबाट (दक्षिण, उत्तर र पश्चिम) खेती भित्रिएको हुन सक्छ । खेतीपातीसँगै त्यतिबेलाका मानिसहरूमा जंगल, नदीनाला, तालतलैया, सिमसार आदिको पनि पर्याप्त र सामूहिक ज्ञान थियो, यद्यपि सामान्यीकरण भने नमिल्न सक्छ । रैथाने प्रजाति र स्वतन्त्र विकासका प्रमाण पनि होलान् । तर, ती उपलब्ध प्रमाण उर्वर खाडीक्षेत्रमा सुरु भएर अन्यत्र प्रसार भयो भन्नेभन्दा प्राचीन छैनन् ।

आलु, मकैजस्ता उत्तर अमेरिकी भूखण्डबाट प्रसारित बाली भने नेपालमा धेरै पछि मात्रै भित्रिएका थिए । भास्को डिगाँमाले सन् १४९८ मा भारतसम्मको व्यापारिक मार्ग पत्ता लगाइसकेपछि १६औं–१७औं शताब्दीतिर मात्रै पोर्तुगालीहरूले भारतमा मकै, आलु परिचित गराएका थिए । त्यसपछि क्रमश: नेपालमा आएको हुन सक्ने सहज अनुमान हो ।

कृषि अर्थात् मान्छेको कथा

कृषि आविष्कारको कथा खासमा मान्छेको कथा हो : जीवन निर्वाहको परम्परागत व्यवहार परिवर्तनको अपरम्परागत निर्णयको कथा । आज हामी बाँचिरहेको विश्व, समय, संस्कृति र वैचारिकीको सूत्रपात १० हजार वर्षअघि कृषिको आविष्कारसँगै भइसकेको थियो । यो संसार बदल्ने परिघटना भूगोलको सबै भागमा एकै पटक भएको भने अवश्य थिएन । आज हामीले खेती गर्ने र हाम्रो भान्छामा पाक्ने प्रमुख खाद्यान्नको मौलिक भूमि विभिन्न महादेश थिए । र, केही हजार वर्षको अन्तरालमा मूलत: मानिसको बसाइँ सराइको प्रक्रियामार्फत त्यो हामीसम्म आइपुगेको थियो । नेपालमा बालीनाली र पशुपालनको सुरुवातबारे पर्याप्त अनुसन्धान हुनै सकेको छैन । तसर्थ हामीसँग सीमित ज्ञान मात्रै छ । अर्थात् हामीलाई केही हजार वर्षपहिलेको हाम्रै इतिहासको पनि ज्ञान छैन ।

(शनिबार प्रकाशन हुने ‘कोसेली’बाट)

प्रकाशित : असार १०, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?