जब सिकारी किसान बने  - कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
मान्छेको कथा 

जब सिकारी किसान बने  

मानव इतिहासको लामो कालखण्ड सिकार–खोजीमुलोको यायावरी युग थियो । स्थायी बसोबास र कृषि त करिब १० हजार वर्षअघि मात्रै सुरु भएको हो । नेपालमा त त्योभन्दा धेरैपछि । कृषि युगको सुरूवात मान्छे र पृथ्वीकै इतिहासमा आमूल परिवर्तनकारी एक आविष्कार थियो ।  
सुरेश ढकाल

आफ्नो एउटा घर र केही जग्गा होस् ! केही सम्पत्ति र बैंक ब्यालेन्स ! सानो सुखी परिवार अनि ती सबैको सुरक्षा गरिदिने एउटा सबल राज्य ! आजको मान्छेको समृद्धिको काल्पनिकीमा सायद यी आधारभूत विषय हुन् । तर, मानवशास्त्री मार्सल सालिनले जुन प्राकृत समृद्ध समाजको परिभाषा गरे तिनमा माथि लेखिएका कुनै पनि सूचक थिएनन्, त्यहाँ परिवार, निजी सम्पत्ति र राज्यको अस्तित्व निर्माण भइसकेको थिएन ।

मानिसहरू स्वतन्त्र र स्वच्छन्द थिए । अर्थात् त्यो कृषिको आविष्कार पूर्वको समाज थियो । आज हामीले बुझे–जानेको परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति कृषिको आविष्कारपछिका परिघटना थिए ।

प्राप्त पुरातात्त्विक अवशेष र प्रमाणहरूले के संकेत गर्छन् भने कृषिकालको तुलनामा सिकारी युगमा मान्छे विरलै अनिकाल वा भोकमरीले मर्थे । कृषिमा आश्रितहरूभन्दा धेरै विविधतायुक्त थियो उनीहरूको खानाको स्रोत । र, ती खाना पोषणयुक्त पनि थिए । कृषि गर्ने मान्छेहरू त सीमित अन्नबाली वा जनावरमा भर पर्थे जीविकोपार्जनका लागि । सीमित खाद्यस्रोतमा मात्रै भर पर्नुपर्दा सुक्खा, अतिवृष्टिजस्ता प्राकृतिक प्रकोपको समेत जोखिम बढी हुन्थ्यो, तर पाषाणकालीन यायावरीहरूमा त्यस्तो जोखिम निकै न्यून हुन्थ्यो । कृषिका तुलनामा सिकारयुगका पुर्खाहरू कम समयमै बढी पोषणयुक्त खाना जुटाउन र सिकार बटुल्न सक्थे ।

हजारौं पुस्ता र लाखौं वर्ष यायावरी जीवन बिताउनेहरू किन स्थायी बसोबास र खेती किसानीतिर लागे होलान् ? प्रश्न अभिरुचिपूर्ण अवश्य छ, तर उत्तर सहज छैन । कृषिको सुरुवातका सम्भावित कारण केही उपलब्ध पुरातात्त्विक प्रमाणका आधारमा निर्मित अनुमान र अवधारणामा आधारित छन् । तर, तिनका परिणाम भने प्रस्ट र प्रत्यक्ष छन् । तिनै परिणामका आधारमा कृषिको आविष्कारलाई एक आधारभूत आविष्कार भनिएको हो, नवपाषाणकालीन क्रान्ति भनिएको हो । संक्षिप्तमा यसै कान्तिपुर ‘कोसेली’ मा गत फागुन १४ गते प्रकाशित ‘मान्छेको कथा’ मा पनि चर्चा गरिसकिएको थियो कि आजको मान्छेको काल्पनिकीमा अटेको समृद्ध समाजको जग कृषि युगको सुरुवातसँगै बनेको थियो ।

कृषि : एक आधारभूत आविष्कार

आगो, धातु, लिपि र कृषिको आविष्कार मानव इतिहासका यस्ता परिघटना हुन्, जसले अरू धेरै आविष्कार सम्भव गराए । यी आविष्कारका कथासँग मान्छेका कैयौं रोचक कथा गाँसिएका छन् । तीमध्ये एउटा थियो– मान्छेलाई खेती गर्न के विषयले बाध्य बनायो ? यो त्यति पुरानो कथा पनि होइन, यस विषयमा अनेक खोज, अनुसन्धान भएका छन्, तर आज पनि कसैले ढुक्कसँग भन्न सकेका छैनन् आखिर कृषिको सुरुवात किन र कसरी भयो ? मानवशास्त्री, पुरातत्त्वविद्हरूका अनवरत प्रयत्न, शृंखलाबद्ध उत्खनन, अनुसन्धान र अध्ययनले केही सम्भावित कारण बताएका छन् । तर, जसरी कृषिको प्रारम्भपछिका परिणामबारे भन्न सकिन्छ यसको प्रारम्भबारे निश्चित रूपमा केही भन्न सकिएको छैन ।

लाखौं वर्ष सिकार, कन्दमूल संकलन गरेर जीवन गुजारा गरे पाषाणकालीन यायावरहरूले, जो एकै ठाउँमा केही दिनदेखि केही हप्तासम्म मात्रै बस्थे । र, तिनीहरू सिकारका लागि ढुंगे हतियार प्रयोग गर्थे । सुरुसुरुमा हतियार धारिला र प्रभावकारी थिएनन्, त्यसैले मान्छेहरू ठूला जनावर सिकार गर्न सक्दैनथे । र, मान्छेहरू साना–साना झुन्डमा मात्रै बस्थे, एकै ठाउँमा धेरै जना बस्न सक्ने सम्भावना पनि हुँदैनथ्यो । उनीहरू छिटोछिटो एक ठाउँबाट अर्को ठाउँ सरिरहन्थे, मान्छेहरू यायावर थिए ।

तर, तिनै होमो सापिएन्सले २० हजार वर्ष आसपास हतियार बनाउने सीप, कौशलमा यसरी उन्नति गर्दै गए कि अब उनीहरू धारिला, साना तर प्रभावकारी ढुंगे हतियार बनाउन सक्ने भए । मान्छेले धनुकाँण, भालाजस्ता चुच्चो र टाढाबाट पनि प्रहार गर्न सकिने हतियार प्रयोगमा ल्याए, जसको सहायताले उनीहरू ठूला जनावर पनि सिकार गर्न सक्ने भए । हतियारको चोटले घाइते भएका ठूला जनावरलाई घेरा हाल्न, खेद्न, धरापमा पार्न धेरै मान्छे चाहिने भयो । साथै ठूला जनावरको सिकारपछि ती मासु लामो समयसम्म भण्डारण गरेर राख्न सकिँदैनथ्यो, तुरुन्तै सक्नुपर्ने हुन्थ्यो । यसरी आवश्यकता र स्रोतको उपलब्धताले मान्छेहरू ठूला समूहमा बस्न सक्ने भए । त्यति मात्रै होइन एकै ठाउँमा तुलनात्मक रूपले लामो समय बस्न सक्ने भए । यो नवपाषाणकालीन अर्थात् ढुंगेयुगको पछिल्लो कालखण्डको कुरा थियो ।

यसै क्रममा १०–१२ हजार वर्षपहिले मान्छेहरूले पश्चिम एसिया, खाडीवरिपरिका स्थानहरूमा स्थायी बसोबास र कृषिको सुरुवात गरे । कृषि युगको सुरुवातसँग सम्बन्धित प्रारम्भिक प्रमाणहरू भने सामान्य थिए । जस्तै, स्थायी बासस्थानका अवशेषहरू, माटाका भाँडाका टुक्राहरू (यद्यपि माटाका भाँडा प्रचलनमा आउनुभन्दा पहिले पनि कृषिका केही प्रमाण फेला परेका छन्) र डढेका वनस्पतिका बीजावशेषहरू, जुन जंगली अवस्थाका भन्दा फरक थिए । त्यस्तै खाद्यान्न भण्डारण गर्न, कुट्न, पिस्न प्रयोग हुने औजारका अवशेषहरू थप प्रमाण थिए मानिसका स्थायी बसोबास र खेतीपातीका ।

सिकागो विश्वविद्यालयका मानवशास्त्री रोवर्ट जे ब्रेडउडको नेतृत्वमा बहुविधाका अनुसन्धानकर्ता संलग्न टोलीले सन् १९४० र ५० को दशकमा इराकी कुर्दिस्तानी क्षेत्रमा एक व्यवस्थित अध्ययन गरेको थियो । र, त्यसपछि खाडी क्षेत्रका अन्य भूभागमा गरिएका उत्खनन–अध्ययनको निष्कर्ष थियो– अफ्रो–युरोएसियाली संगमविन्दु, ‘मध्यपूर्व’ को खाडीक्षेत्रवरिपरि नै यायावरी जीवन त्यागी स्थायी बसोबास र कृषि (खेती तथा पशुपालन) सुरु गर्ने पहिलो मानव समुदायको उदय भएको थियो । अर्का अमेरिकी पुरातत्त्वविद् रिचार्ड म्याकनेसले मेक्सिकोको तेहुवकाना उपत्यकामा गरेको उत्खननले त्यत्तिकै रोचक मकैखेतीको सुरुवातका तथ्यहरू बाहिर ल्याए, जसले ‘नयाँ विश्व’ भनेर चिनिने अमेरिकी महादेशमा लामो अवधिदेखि कृषि युगमा प्रवेश गरेको बुझाइलाई विस्तारित गर्न सहयोग पुग्यो । र, कृषिको आविष्कारसम्बन्धी विश्वको बुझाइलाई परिष्कृत बनाउन सहयोग पुर्‍यायो ।

‘मध्यपूर्व’ का ती क्षेत्रहरू जस्तै : इराक, इरान, जोर्डन, टर्की आदि, जहाँ कृषिका अधिकांश आदि–प्रमाण फेला परेका छन् । ती भू–भागलाई उर्वर अर्धचन्द्र अर्थात् फर्टाइल क्रेसेन्ट पनि भनियो । १० हजार वर्षपहिले मानव जातिले अन्टार्टिकाबाहेक संसारका सबै महादेशमा आफ्नो साम्राज्य विस्तार गरिसकेको थियो, तर पृथ्वीको उपरोक्त क्षेत्रमै कृषिको सुरुवात किन भयो होला ? त्यस ठाउँमा सुरुवात भएको कृषिको अभ्यास अन्य क्षेत्रका मान्छेहरूले कसरी सिके होलान् ? एक ठाउँबाट अर्को ठाउँसम्म यसरी कृषिको प्रसार कुन माध्यमबाट भयो होला ? यी मानव इतिहासका रोचक प्रश्न र प्रसंग हुन् ।

कृषियुगको सुरुवात : किन र कहाँ ?

एकभन्दा बढी व्याख्या छन् कृषिको आविष्कारबारे, तर ती कुनै पनि अन्तिम व्याख्या ठहर हुन सकेका छैनन् ।

लामो अवधिसम्म कृषि आविष्कारको प्रमुख कारक ठानिन्थ्यो– जनसंख्या वृद्धिलाई । त्यस व्याख्याअनुसार, मान्छेको संख्या यसरी बढिसकेको थियो कि लाखौं वर्ष धानेको सिकार र खोजीमुलोले उक्त बढेको जनसंख्या धान्न सक्ने अवस्थै रहेन । बढ्दो जनसंख्या धान्न केही न केही जुक्ति अनिवार्यजस्तै भइसकेको थियो । र, त्यो थियो– कृषिको आविष्कार । अमेरिकी मानवशास्त्री मार्क कोहेन थिए यस्तो जनसंख्या वृद्धिको प्राक्कल्पनाकार । तर, पुरातात्त्विक उत्खनन र अन्वेषणहरूले यो सिद्धान्त पुष्टि हुन सकेन । बरु कृषिको सुरुवातपछि जनसंख्या बढेको यथेष्ट प्रमाण फेला परे । मानवशास्त्री लेविस विनफोर्डले कृषिको सुरुवात भएको भनिएकै स्थानहरूमा गरिएको उत्खननका आधारमा भनेका थिए– वास्तवमा कृषिको सुरुवातपछि जनसंख्या ह्वात्तै बढेको थियो ।

घुमन्ते जीवनको अन्त्य र स्थायी बसोबास, अतिरिक्त उत्पादन र खाद्य सुरक्षा, महिला–पुरुष सहवासको सम्भावना बढ्नु, जन्मदर बढ्नु र शिशु मृत्युदर कम हुनु ! जनसंख्या बढ्नुका कारण यी हुन सक्थे, जुन सिकारी युग अर्थात् घुमन्ते युगमा सम्भव हुने थिएन ।

अस्ट्रेलियन पुरातत्त्वविद् गोर्डन चाइल्डको अवधारणा फरक थियो । खाडीका ती क्षेत्रहरू, जहाँ पछिल्लो हिमयुग (अनुमानित १२,००० वर्षसम्म) को अन्त्यसँगै लामो समय खडेरी पर्‍यो, सबै मानिस र जनावरहरू पानी स्रोतका छेउछाउ झुम्मिन थाले । त्यस्ता मरुउद्यानहरूमा लामो समय बिताउँदा जनावर र मान्छेबीच निकटता बढ्न गयो । र, अन्ततोगत्वा केही छनोटमा परेका जनवारलाई मान्छेले घरपालुवा बनाए । त्यसपछि मात्रै खेती सुरु भएको थियो । तर, प्रमाणहरू भन्छन्– जौ, गहुँजस्ता अन्नबालीका प्रथम प्रमाण त्यस्ता मरुद्यानवरिपरि नभई अन्यत्रै पाइएको थियो ।

ब्रेडउडको अध्ययनले के इंगित गर्‍यो भने जहाँ पहिलेदेखि नै गहुँका रैथाने प्रजाति थिए, तिनै ठाउँमा आंशिक रूपमा खेती गरिएका गहुँका प्रजाति पनि भेटिएका थिए । र, साथमा भेटिएका थिए– खल, सिलौटा, ओख्ली, ढुंगे हँसिया र भण्डारणका लागि बनाइएका थिए अन्नगारहरू । ब्रेडउडको मतअनुसार, कुनै प्रजातिको प्राकृतिक/मौलिकस्थलमै लामो समयसम्म मानिससँगको अन्तर्क्रियाको परिणामस्वरूप ती प्रजाति क्रमश: मान्छेको आवश्यकताअनुकूल हुन थाले । यसरी हेर्दा उर्वर अर्धचन्द्र वरिपरिको भू–भाग, जहाँ अन्नका रैथाने प्रजाति थिए र मान्छेले संकलन–उपभोग गर्थे सोही ठाउँमै उक्त प्रजातिलाई मान्छेले आफूअनुकूल बनाउन सके र क्रमश: ती अन्यत्र फैलिन थाले । यसरी प्रजातिको मूल थलो जहाँ हो सोही ठाउँमै तिनलाई मानिसले आफूअनुकूल बनाउन थाले । पुनरुत्पादनका लागि ती प्रजाति मानिसमा निर्भर हुन थाले । यो सिद्धान्तलाई नाभिकीयस्थलको सिद्धान्त (न्युक्लियर जोन थिएरी) भनिन्छ ।

लेविस बिनफोर्डको मत फरक थियो । उनका अनुसार, वातावरणीय परिवर्तन र बढ्दो जनसंख्याका कारण मौलिक थलोमा स्रोतसँगको सन्तुलन खलबलियो र प्रजातिहरूको मौलिक थलोभन्दा बाहिर मानसिले खेतीको जुगाड गरे । यस्तो सिद्धान्तलाई सीमान्त क्षेत्रको सिद्धान्त (एज जोन थिएरी) भनियो ।

कृषिको आविष्कारका लागि वातावरणीय प्रतिकूलता र जनसंख्या वृद्धि कारक हुन्, तर पर्याप्त थिएनन् । सायद एकभन्दा बढी प्रक्रिया संयुक्त रूपमै जिम्मेवार थिए– कृषि युगको सुरुवातका लागि । फरक–फरक स्थानमा विभिन्न प्रजातिहरूको स्वतन्त्र उद्भव भएको थियो । र, खेतीप्रणालीमा तिनको विकास पनि भएको थियो । किन र कसरी कृषिको प्रारम्भ भयो ? केही अस्पष्टता भए पनि यसका परिणाम भने प्रत्यक्ष र प्रस्ट छन् ।

यहाँ भन्नैपर्ने एउटा विषय के हो भने कृषि युगभन्दा पहिले पनि महिला र पुरुषबीच भूमिका विभाजन थियो, जुन कृषिको प्रारम्भसँगै सघन बन्यो । महिला पनि यदाकदा सिकारमा संलग्न हुन्थे भन्ने प्रमाण नभएका होइनन्, तर मूलत: पुरुषहरू सिकार गर्थे र महिला कन्दमूललगायत वनस्पतिजन्य खानाको खोजी र प्रशोधन । परिवारको पालनपोषणमा महिलाको भूमिका महत्त्वपूर्ण थियो नै । खाद्यान्नको ठूलो हिस्सा खोजीमुलोबाटै प्राप्त हुन्थ्यो, जुन मूलत: महिलाको काम थियो । महिलाहरूले नै ती खानयोग्य वनस्पतिका प्रजातिलाई नजिकबाट नियालेका थिए, बोटबिरुवाको प्रकृति बुझेका थिए । कुन वनस्पति खान हुने हो र कुन होइन भन्ने ज्ञान पनि पहिलो पटक महिलाहरूलाई नै हुन्थ्यो । सहज बुद्धिबाट मात्रै त्यो जान्न सकिन्थ्यो । उनीहरूले पुर्खाबाट जाने–बुझेका वनस्पतिको मात्रै संकलन, प्रशोधन र उपभोग गरेनन् बरु नयाँनयाँ प्रजाति परीक्षण गर्दै गए । कतिपय वनस्पति विषालु हुन्थे र ज्यान पनि जान सक्थ्यो । यसरी वनस्पतिसँगको सान्निध्यता, अनुभवजनित सामूहिक ज्ञान र ज्ञानको पुस्तान्तरणमा महिलाहरूको महत्त्वपूर्ण भूमिका रहन्थ्यो । वनस्पतिसँग यस्तो सान्निध्यता भएकै कारण वर्षौंदेखि संकलन गरेर खाने अन्नको जंगली प्रजातिलाई नै उनीहरूले घरपालुवा र आफूअनुकूल बनाउन सकेका हुन् । मानवशास्त्री मार्गरेट एहर्नबर्ग दावा गर्छिन् कि कृषिको सुरुवात महिलाले नै गरेका हुन् किनभने लामो समयसम्मको निकट अवलोकन र ज्ञान उनीहरूसँग नै थियो । बार्बरा रथ (सन् २००६) आफ्नो अनुसन्धानात्मक लेखमार्फत थप प्रस्ट पार्छिन् कि लैंगिक सवाल मूल प्रश्न हो, महिलाको महत्त्वपूर्ण भूमिका थियो कृषिको सुरुवातका लागि । तर, आफ्नै भूमिका र स्वच्छन्दतालाई नियन्त्रित गर्ने यस्तो निर्णय महिलाले किन गरे होलान् ?

मान्छे र पृथ्वीको फेरिएको कथा

कृषि आविष्कारले मान्छेको शारीरिक र बौद्धिक–शैली मात्रै बदलेन, उनीहरूले घरपालुवा बनाएका प्राणी–वनस्पतिको समेत आकृति, संरचना र आनुवंशिक चरित्र नै बदल्यो । खेती गर्न थालिएका प्रजाति अब जंगलीस्वरूपमा जस्तै प्राकृतिक र स्वत: अंकुरण नहुने भयो । त्यसका लागि ती प्रजातिलाई मानिसकै सहायता चाहिने भयो । यद्यपि कृषिमा अभ्यस्त हुन थालेपछि जंगली वनस्पति, पर्यावरण आदिबारे मान्छेको बृहद् ज्ञान भने खुम्चिँदै जान थाल्यो ।

कृषिको कारण प्रतिएकाइ भूमिले धेरै जनसंख्या थेग्न सक्ने भयो । अध्ययनअनुसार, सिकारी युगमा सहज जीविकोपार्जनका लागि प्रतिव्यक्ति करिब दुई वर्ग किमि भूमि आवश्यक पर्थ्यो भने अब प्रति वर्गकिमि कृषि जमिनले एक हजार मान्छेलाई पाल्न सक्ने भयो । यो अनुमान केही दशक पहिलेको थियो । जब यसरी जनसंख्याको वृद्धि र जनघनत्व दुवै बढ्न गयो, यसले पृथ्वीको धरातलीय र भौतिक स्वरूपमा समेत परिवर्तन गरायो ।

कृषिको सुरुवात र स्थायी बसोबास सह–उद्विकासी प्रक्रिया थिए । प्रतिएकाइ भूमिले धेरै जनसंख्या धान्न सक्ने भएपछि स्थायी बसोबासले ठूला बस्तीहरू र क्रमश: सहरको स्वरूप लिँदै जान थाले । उत्पादित अन्न थन्क्याउन ठूला अन्नागारहरू बनाइए । केवल बसोबासको संरचनामा मात्र होइन सामाजिक संरचना पनि बदलिन थाल्यो । र, नातागोता प्रणाली विस्तारित र जटिल हुँदै गए ।

कृषिको जटिल प्रक्रियाका लागि श्रमको विभाजन विशिष्टीकृत बन्दै गयो । तर, खाद्य सुरक्षाका कारण मानिसहरू दैनिक गुजाराका लागि भौंतारिनु पर्दैनथ्यो । परिणामत: मान्छेले कला, सीप, कौशलमा विषेशज्ञता र विशिष्टता हासिल गर्दै गए । सोहीअनुरूप प्रविधिको उन्नति पनि भयो । मनोविनोद र चित्तानन्दका लागि अनेक जात्रा–पर्व, सांस्कृतिक उपायहरू देखापर्न थाले । कृषिमा आधारित संस्कृतिको प्राक्स्वरूप र चरित्र त्यसरी निर्माण भएको थियो ।

अधीनस्थ भुखण्डको सीमांकन, श्रम विभाजन, राजनीतिक संगठनको विकास, अतिरिक्त उत्पादन, फुर्सद, वितरण र व्यापार–साटफेर अनि द्वन्द्व ! यी सबैको समुच्च परिणाम थियो, सभ्यताको उद्भव । उर्वर र उत्पादनशील भूमि, अक्सर नदी र पानीका स्रोत आसपासमा नै यस्तो सभ्यताको विकास भएको थियो ।

त्यो बलशाली नेता, जसले अधीनस्थ भूभागमा बस्ने मानिसलाई श्रम विभाजनअनुसार उत्पादनमा लगाउन सकोस्, भूभाग र अतिरिक्त उत्पादनको रक्षा गर्न सकोस् ! ऊ नै गणप्रमुख वा सामन्त अर्थात् मुख्य नेता बन्थ्यो, जुन अन्ततोगत्वा पारिवारिक विरासतको रूपमा पुस्तान्तरण हुन थाल्यो । यसरी निश्चित भू–भाग, राजनीतिक संगठन र विरासतमा प्राप्त हुने कुल परम्पराको नेतृत्वले नै अन्तत: राज्य र राजतन्त्रको उद्भव गराएको थियो । त्यसैले मानवशास्त्री लिविस हेनरी मोर्गन र पछि फ्रेडरिक एंगेल्सले सिद्धान्तकै रूपमा स्थापित गरे कि कृषि युगपछि नै निजी सम्पत्ति, परिवार र राज्यको उदय भएको हो ।

हाम्रो वाग्मती सभ्यता पनि उपत्यकाको मलिलो, उर्वरशील भूमिको परिणाम नै थियो । मध्यकालीन कला, संस्कृतिको वैभव र सबल राज्य यही उर्वर भूमिकै कारण सम्भव भएको हो । विश्वका आदि–सभ्यता यस्तै कृषिका लागि उपयुक्त नदी किनारका स्थायी बसोबासीले निर्माण गरेका थिए ।

नेपालमा कृषियुग

मध्यअसारको समय छ । नेपाली किसानहरू सबैभन्दा बढी व्यस्त छन् यतिबेला । तर, चार–पाँच हजार वर्ष मात्रै पहिले पनि उनीहरूलाई यस्तो चटारो हुँदैनथ्यो । अर्थात् उतिबेला नेपालीले कृषिलाई जीवनको मूल आधार बनाइसकेका थिएनन् । तर, कहिलेदेखि नेपालमा खेती सुरु भयो भन्ने केही अनुमानका अलावा यसको प्रामाणिक इतिहास सायद छैन ।

कृषि/पशुपालन क्रमश: पश्चिम एसियाबाट दक्षिण एसिया हुँदै नेपालसम्म आइपुगेको सहज अनुमान लगाइन्छ । भारतीय उपमहाद्वीपमा पहिलो कृषि: पशुपालन र अन्न उत्पादनको प्रमाण मेहरगढ, हाल पाकिस्तानमा भेटिएको थियो, जुन अनुमानित आठ हजार वर्ष पुरानो थियो । त्यस्तै केही प्रजातिले भने सिल्करोडको बाटो तिब्बत/चीन हुँदै नेपालको उत्तर–पूर्वी नाकाबाट यहाँको वर्तमान सरहदभित्र प्रवेश गरेको अनुमान गर्न सकिन्छ । तर, त्यो समयबारे त्यस्तो कुनै प्रस्ट पुरातात्त्विक प्रमाण भने छैन । केही पौराणिक कथाहरूका आधारमा अनुमानित कथ्य पनि नसुनिएका होइनन्, तर ती प्रमाण होइनन् । इपू ३०००–२५०० तिर दक्षिणी गंगा मैदानबाट उत्तरतिर सर्दै आएका मानव झुन्डहरूले धान खेती नेपालमा भित्र्याएको हुन सक्ने अनुमान गरिन्छ । यो अनुमान पनि करिब त्यसै अवधितिर भारतको विहार र उत्तर प्रदेशमा धान खेती सुरु भएका प्रमाणका आधारमा गरिएका हुन् । यस्ता अनुमानहरू भौगोलिक सामीप्यता र पारिस्थितिक समानताका आधारमा गरिएका हुन् । यसरी हेर्दा धान दक्षिणबाट नेपालमा प्रवेश गर्‍यो । कोदो, जवार उत्तरबाट करिब तीन हजार वर्षपहिले भित्री एसिया हुँदै व्यापारिक रेशम मार्गको बाटोबाट चीन र क्रमश: नेपाल प्रवेश गरेको हुन सक्ने अनुमान गरिन्छ । यद्यपि पुरातात्त्विक अध्ययनले के पनि देखाउँछ भने हडप्पामा चार हजार वर्षपहिले अर्थात् २००० इपूमै जवार/जुनेलोका प्रमाणहरू पाईएको छ, जुन अफ्रिकामा भेटिएको प्रमाणभन्दा पुरानो हो । नेपालमा समेत पुरातात्त्विक अन्वेषण गरेकी नर्वेली पुरातत्त्वविद् प्राध्यापक आर. हल्यान्ड (जो मेरी गुरुआमा पनि थिइन्) को अध्ययनको निचोड थियो– जंगली अवस्थामै रहेको जवार–जुनेलोको संवर्द्धन र आकृतिगत सुधार गर्दै खेती गर्न थालिएको एसियामा नै पहिले हो ।

करिब तीन हजार इपूतिर नेपालको वर्तमान सरहदभित्रको केही भागमा खेती–पशुपालनको सुरु भएको हुन सक्छ । यो खासगरी कश्मीर उपत्यकामा प्राप्त खेतीका प्रमाणहरूको समयावधि र पश्चिमबाट पूर्व सर्दै आएका मानिसहरूको झुन्डले कर्णाली/जुम्ला क्षेत्रमा खेती भित्र्याएका पनि हुन सक्छन् भन्ने अनुमानमा आधारित छ । पश्चिमबाट पूर्वतिर बसाइँ सराइका प्रमाणहरू र भौगोलिक एवं वातावरणीय सामीप्यताका कारण यस्तो अनुमान गरिएको हो । यसरी नेपालमा तीन दिशाबाट (दक्षिण, उत्तर र पश्चिम) खेती भित्रिएको हुन सक्छ । खेतीपातीसँगै त्यतिबेलाका मानिसहरूमा जंगल, नदीनाला, तालतलैया, सिमसार आदिको पनि पर्याप्त र सामूहिक ज्ञान थियो, यद्यपि सामान्यीकरण भने नमिल्न सक्छ । रैथाने प्रजाति र स्वतन्त्र विकासका प्रमाण पनि होलान् । तर, ती उपलब्ध प्रमाण उर्वर खाडीक्षेत्रमा सुरु भएर अन्यत्र प्रसार भयो भन्नेभन्दा प्राचीन छैनन् ।

आलु, मकैजस्ता उत्तर अमेरिकी भूखण्डबाट प्रसारित बाली भने नेपालमा धेरै पछि मात्रै भित्रिएका थिए । भास्को डिगाँमाले सन् १४९८ मा भारतसम्मको व्यापारिक मार्ग पत्ता लगाइसकेपछि १६औं–१७औं शताब्दीतिर मात्रै पोर्तुगालीहरूले भारतमा मकै, आलु परिचित गराएका थिए । त्यसपछि क्रमश: नेपालमा आएको हुन सक्ने सहज अनुमान हो ।

कृषि अर्थात् मान्छेको कथा

कृषि आविष्कारको कथा खासमा मान्छेको कथा हो : जीवन निर्वाहको परम्परागत व्यवहार परिवर्तनको अपरम्परागत निर्णयको कथा । आज हामी बाँचिरहेको विश्व, समय, संस्कृति र वैचारिकीको सूत्रपात १० हजार वर्षअघि कृषिको आविष्कारसँगै भइसकेको थियो । यो संसार बदल्ने परिघटना भूगोलको सबै भागमा एकै पटक भएको भने अवश्य थिएन । आज हामीले खेती गर्ने र हाम्रो भान्छामा पाक्ने प्रमुख खाद्यान्नको मौलिक भूमि विभिन्न महादेश थिए । र, केही हजार वर्षको अन्तरालमा मूलत: मानिसको बसाइँ सराइको प्रक्रियामार्फत त्यो हामीसम्म आइपुगेको थियो । नेपालमा बालीनाली र पशुपालनको सुरुवातबारे पर्याप्त अनुसन्धान हुनै सकेको छैन । तसर्थ हामीसँग सीमित ज्ञान मात्रै छ । अर्थात् हामीलाई केही हजार वर्षपहिलेको हाम्रै इतिहासको पनि ज्ञान छैन ।

(शनिबार प्रकाशन हुने ‘कोसेली’बाट)

प्रकाशित : असार १०, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्

रूखले लेखेको पृथ्वीको इतिहास

रुखहरु सम्झिन्छन्, हिँड्छन्, बोल्छन् र लेख्छन् । खासमा रुखहरु इतिहासकार हुन्, जो जलवायुका कथा लेख्छन् । सापिएन्सभन्दा रुखहरु यस मानेमा फरक छन् कि तिनले झूटो बोल्दैनन्, झूटो इतिहास लेख्दैनन् । पृथ्वीमा झूट सापिएन्सले मात्रै बोल्न सक्छ, लेख्न सक्छ किनभने ऊसँग बोल्ने मुख छ, पोत्ने मसी छ र लेख्न कागज छ ।
रमेश भुसाल

घरछेउ उभिएको उतिसको रूखमा पात सिउने फिस्टो चिप्चिप्चिप् गर्दै छ । अलि परको लहरे पीपलमा कोइली निरन्तर कुक् कु कुक् कु स्वर निकालिरहेको छ । हुन त रूख पनि हिँडिरहेका होलान्, चराले पनि पक्कै केही भनिरहेकै होलान् । तर, रूखको गति नाप्न नसकेकाले र चराको भाषा नबुझेकाले मलाई ती सबै अर्थहीन लागिरहेका छन् । टाढा जानु छ, उकालिएर सगरमाथाको टुप्पो हेर्न । हुन त टुप्पो हेर्न सगरमाथै जानुपर्दैन, खासमा जाने त सगरमाथाको फेद हेर्न हो ।

पूर्वबाट सूर्य उदाउँदै वा पश्चिममा अस्ताउँदै छ । यो सूर्य पनि एकै समय एउटै पृथ्वीमा कसैका लागि उदाइरहेको हुन्छ, कसैका लागि अस्ताइरहेको । एकै समय एउटै कुरा उदाउने र अस्ताउने कसरी हुन्छ ? त्यो उदाउनु वा अस्ताउनु पनि एउटा मीठो भ्रम हो ।

पाँच वर्षअघि रोपेको बेलौतीको बिरुवा हलक्क बढेर एक तला बराबरको रूख भएको छ । फूल फुलेर फल हाल्ने बेला हुँदै छ । पृथ्वीमा हिँड्ने रूखहरू पनि छन् । दक्षिण अमेरिकी देश इक्वेडरको सुमाको रिजर्भमा वर्षमा २० मिटरसम्म हिँड्ने पामका रूखहरू छन् भनेर बीबीसीमा छापिएको वर्ष अर्थात् सन् २०१५ मा मैले यी बेलौती रोपेको थिएँ । यदि यो बेलौती पनि बर्सेनि २० मिटर हिँड्थ्यो भने अहिले छिमेकीको भइसक्थ्यो । घर र बेलौतीको उमेर एउटै हो, दुवै उभिएकै छन् । तर, फरक के छ भने बेलौती आकासिँदै छ, घर स्थिर । हुन त पृथ्वीमा रूखबिरुवा, जनावर, कीराफट्यांग्रा जन्मिन्छन् र मर्छन् भन्छन्, तर मलाई लाग्छ– वास्तवमा पृथ्वीमा हरेक कुरा जन्मिन्छ र मर्छ । के माटो मर्दैन ? के ढुंगा मर्दैन वा जन्मिँदैन ? ढुंगा मरेर माटो जन्मिन्छ, माटो मरेर ढुंगा । पृथ्वीको उत्पत्तिका बेला यहाँ कहाँ माटो थियो र ? एउटै तातो ढिक्को थियो पृथ्वी । लाखौं वर्षहरूमा ढुंगा मर्‍यो र माटो जन्मियो, माटो मर्‍यो र ढुंगा जन्मियो । त्यसैले यहाँ सबैले मर्नैपर्छ । बस, समयको मात्रै कुरा हो ।

बेलौतीको हाँगामा दुइटा डांग्रे आइपुगे । ती डांग्रे देखेपछि मैले कोलिन टजले लेखेको किताब ‘द ट्री’ सम्झिएँ । टजले भनेका छन्, ‘खासमा हामी अरू प्रजातिभन्दा भिन्न हुनुको एउटा मुख्य कारण हाम्रा हातहरू हुन् । फुक्काफाल छाड्न सकिने बलिया हातले हामीलाई खासमा मान्छे बनाएका हुन् ।’ ती डांग्रेसँग हात छैन, तर पखेटा छन् । छेउमा उभिएको कुकुरसँग खुट्टारूपी हात छन््, जुन उसले हरहमेसा प्रयोग गरिरहनैपर्छ, उभिन मात्रै पनि । चराले पनि पखेटा फिजार्नैपर्छ उड्न मात्रै । मैले हात र खुट्टाले टेकेर कुकुरजस्तै भएर हेरें । बेलौतीको रूखमुनि चार हातखुट्टा टेकेर कुकुरजस्तै उभिएपछि मलाई मान्छे बनाउन हातले खेलेको भूमिकाप्रति कुनै शंका रहेन । तपाईं पनि एक पटक त्यसो गरेर आफ्नो शंका मेटाउन सक्नुहुन्छ ।

खासमा हाम्रा यी हातहरूलाई फुक्काफाल छाड्न सकिने बनाएको रूखहरूले हो । टजका अनुसार, हाम्रा पुर्खाले जमिनमा झर्नुअघि कम्तीमा आठ करोड वर्ष रूखहरूमा बिताएका थिए । रूखमा झुन्डिएर चचहुई गर्दागर्दै हामीले हातलाई फुक्काफाल पार्न सक्यौं । हुन त हात्ती र सुंगुर पनि चलाख छन्, दिमाग तिनीहरूको पनि छ, तर फुक्काफाल हात छैनन् । लोखर्के तीक्ष्ण भए, बाँदरले पनि जमिन छुन–छुन खोजे, तर ती रूखमै अड्किए । मान्छेका पुर्खा भने अलि अघि निस्के । र, रूख छाडेर जमिनमा झरेपछि हातलाई फुर्सदिलो बनाए, खुट्टालाई व्यस्त गराए । यदि हाम्रा हात फुक्काफाल हुँदैनथे भने हामी पनि डल्फिन र हात्तीजस्तै तीक्ष्ण, तर निराश प्राणी भएर बाँच्न बाध्य हुन्थ्यौं भन्ने टजको भनाइ छ । फुर्सदिला हात बनाएपछि मान्छे भएको सापिएन्सले बलिया पाखुरा र चलायमान औंला घुमाएर आज पृथ्वीमा राज गरिरहेको छ । तिनै हात र दिमागको सहाराले बनाएको गाडी चढेर म बेलौतीबाट टाढा हुँदै सहरिया ज्याकारान्डाको बीचबाट हुइँकिएर विमानस्थल पुग्छु ।

काठमाडौं–लुक्लाको १३५ किलोमिटरको हवाई दूरी तय गर्न जहाज सुरुमा जोडले करायो । र, त्यसपछि बेस्सरी उचालियो । छेउमा घुमिरहेको पंखामा विश्वासको डोरो बाँधेर उड्न लागेको मन थोरै हल्लियो । जहाज काठमाडौंबाट पूर्वोत्तर उड्यो । तुवाँलोले ढाकिएकाले भूगोल अनुमान गर्न सकिए पनि ठम्याउन हम्मेहम्मे थियो । तैपनि केहीबेरमै पोहोर गएको यामानको बाढीले थुपारेको गेग्य्रानमय मेलाम्ची ठम्याउन सकें । जहाजले खोलो तर्‍यो र लाग्यो जिरीतिर । जिरी बजारलाई देव्रे पारेर ३५०० मिटरको लामजुरा काटेर केहीबेरमा उत्तर मोडिएपछि जहाज स्वाट्टै झर्‍यो र घसारियो १२ डिग्रीको उकालो लुक्लाको रनवेमा । हल्का उकालिएर पहाडमा ठोकिएला कि झैं गरे पनि केही मिटर वरैबाट सरक्क दाहिने मोडियो र टक्क उभियो । आफ्ना पेटबाट हामीलाई निकाल्यो र केही झोला ओकल्यो । केहीबेरमै फेरि पेटमा अरू मान्छे हुल्यो, झोलाको गाँस टिपेर चिच्यायो । र, फेरि उकालियो । के मान्छेसँग हात नहुँदो हो त उसले जहाज बनाउँथ्यो वा उडाउँथ्यो ?

लुक्ला छेउछाउमा लहरे पीपल देखिएनन् वा कम्तीमा मैले देखिनँ । यता त सल्ला उभिएका छन् वरिपरि, माथिमाथिसम्म पनि गुराँस र सल्लाहरूले कब्जा जमाएका छन् । ठाउँअनुसारका स्वरूप बनाएर उभिएका छन् रूखहरू । जति कम उचाइ उति चौडापाते रूख ! जति माथि चढ्यो उति सुइरापाते रूख ! यो पृथ्वीमा झन्डै ७३ हजार प्रजातिका रूख छन्, जसमध्ये १२ प्रतिशत त अहिलेसम्म अभिलेखीकरणसमेत गरिएको छैन भन्छन् अनुसन्धानकर्ताहरू ।

रेस्टुराँका मानिसले खाना पकाएर पस्किदिए । केही वर्ष मात्रै भो तिनले ग्यास बाल्न थालेको, नभए त तिनको जीवन दाउरामै चलेको थियो । खच्चडले ग्यास बोकेर नल्याएको दिन हरिबिजोक हुन्छ, त्यसैले चाङ पारेर दाउरा पनि राखेका छन् नजिकै । रूख नभएको भए आगो हुँदैनथ्यो, भान्सा हुँदैनथ्यो । ढुंगेयुगबाट तामे हुँदै फलामसम्म आइपुगेको मानव सभ्यतालाई त्यही आगोले धकेलेको थियो । त्यसपछि सापिएन्स बाफको युगमा प्रवेश गर्‍यो, तर त्यो बाफ पनि आगोले नै निकालेको थियो । त्यसपछि सापिएन्सले इन्धन खोस्य्रो र इन्धन बाल्ने इन्जिन बनायो । अहिले आगोबाट सुरु भएको सापिएन्स ऊर्जाको यात्रा आणविकसम्म पुगेको छ ।

म नोटबुक लिएर लेख्न बसेको छु । दूधकोसीपारिको भीरमा सल्ला उभिएका छन् । र, एकटकले मैलाई हेरिरहेछन्जस्तो लागिरहेको छ । म रूखलाई फगत उभिएको मात्रै देख्छु । म रूखलाई निःशब्द देख्छु । म रूखलाइ निर्धो देख्छु । म रूखलाई आरा पर्खेर बसेको मुढो देख्छु । म रूखलाई केवल मेरो फोक्सो भर्ने अक्सिजनको भकारी भनेर बुझ्छु । रूखहरू लेख्दैनन्, तर तिनले लेखिने कापी बनाउँछन् । छापिने किताब तिनैको देन हो, जहाँ हामी अक्षर भर्छौं र विद्वान् कहलिन्छौं । तर, म किताब

पढ्दा न रूख मरेको देख्छु न कापीमा लेख्दा रूखको आवाज सुन्छु । रूखले पकाएर खान दिन्छन्, तर पनि भातमा म रूख देख्दिनँ, दालमा पात तैरिएको चाल पाउँदिनँ । विगतका केही महिना मलाई रूखले बडो तानिरहेका छन् । मैले पढिरहेका रूखका घेरा अध्ययन गरेर जलवायु इतिहास बुझ्ने भेलेरी ट्रयुटको ‘ट्री स्टोरी : अ हिस्ट्री अफ द वर्ल्ड रिटर्न इन रिंग्स’ र कोलिन टजको ‘द ट्री अ न्याचुरल हिस्टी’ ले विगतका केही महिना रूखमय बनाउँदै थिए ।

खच्चड, चौंरी, भरिया, पर्यटक यी सबै बाटामा नदेखिएका होइनन्, तर मलाई लेउबारे चासो छ । मोन्जोखोला तर्नुअघि किनारछेउ बिसाउँदा मैले लेउको राज देखें । यो माछाको आहारा मात्रै होइन । यो खासमा वरिपरि उभिएको रूखहरूको जननी हो । टजले लेखेका छन्, ‘खासमा रूखको उद्गम एककोषीय लेउ थियो । अहिलेको पृथ्वीमा रूखको साम्राज्यको उदय लेउबाट भएको थियो, जो एक अर्ब वर्षजति अघि पृथ्वीमा उदाए । साढे चार अर्ब वर्षअघि बनेको पृथ्वीमा साढे तीन अर्ब वर्षतिरबाट पहिलो सजीव वस्तुको उदय भयो र त्यसको साढे दुई अर्ब वर्षपछि पहिलो वनस्पतिको उत्पत्ति भयो अर्थात् एककोषीय लेउ ।’

बयालीस करोड वर्षजति अघि यी ठूला रूखहरू बन्ने प्रक्रिया सुरु भयो । र, ती रूख सलाईका काँटीजत्रा थिए, जसलाई राइनियोफाइट्स भनियो, स्कटल्यान्डको गाउँको नाममा नामकरण गरिएको थियो । छत्तीस करोड वर्षजति अघि बीउबाट उम्रने रूख निस्किए । सलाईका काँटीजत्रा रूखहरूको समयमा पृथ्वी कस्तो हुँदो हो हँ ? लेउ नै मेरो वरिपरिका ठिंग्रे सल्ला, अंगेरी, फलाँट, खस्रु, चिमाल, गुराँस बनेका हुन् त ? म प्रश्न गर्छु । विज्ञानले भन्छ– हो, तर मेरो मगजले त्यो लामो इतिहासको मापन गर्न सकिरहेको छैन । अहिले पनि पृथ्वीमा रूखले भन्दा बढी अक्सिजन समुद्रभित्रका लेउ, ब्याक्टेरियालगायतले उत्पादन गर्छन् । पृथ्वीको अक्सिजनको एक मुख्य स्रोत समुद्र हो, जहाँ ५० देखि ७० प्रतिशत अक्सिजन उत्पादन हुन्छ ।

चराहरू कराइरहेछन् बास बस्ने तर्खरमा । बिहान काठमाडौंको लहरे पीपलमा उदाएको घाम सायद कुनै अर्को ठाउँमा उभिएको अर्को रूखको टुप्पोमा उदाइसकेको छ । मोन्जोमा उभिएको होटलका भर्‍याङ, सुतेको खाट, बस्ने कुर्सी, छेउको झ्याल सबै कुनै बेला रूख थिए । यी भूतपूर्व रूखहरूले मलाई सुताए, बसाए र रात कटाउन सहयोग गरे ।

बिहानै मोन्जोमा बारीको डिलछेउ सल्लाको हाँगोमा उभिएको राजा कागले के छ हो सोल्टी भनेजसरी पलक्क हेर्‍यो र शानले उडेर दूधकोसी तर्‍यो । तामे ढुकुर तरकारी बारीमै केहीबेर टहलियो भने हरियो चिचिलकोटे छेउको एउटा खाँबोमा अडिएर जंगल पस्यो ।

मोन्जो कटेपछि राष्ट्रिय निकुन्जको काउन्टरमा पैसा बुझाएर चेक–जाँचपछि मात्रै अगाडि बढ्न दिने भनेर कर्मचारी बसेका छन् । यो पृथ्वीमा सापिएन्सको मात्रै कर्मचारी हुन्छ । तिनै फुक्काफाल हातले नाम लेख्यो, टिकट दियो र रकम लियो । उसले एउटा बोर्डमा लेखेको छ, ‘यो निकुन्जमा ठिंग्रे सल्ला, सल्ला, देवदार, भोजपत्र, धुपी पाइन्छन् ।’

जोरसल्लेमा खच्चडका घण्टी टिङटिङ बजिरहेको छ । तर, त्योभन्दा जोडले कराइरहेको छ दूधकोसी नदी । केही मास्तिर सगरमाथाको पश्चिमतिरबाट झरेको भोटेकोसी र शिरतिरबाट झरेको दूधकोसी नारिएपछि बनेको हो दूधकोसी । म थकाइ मार्न अडिएँ, बाटाछेउको एउटा बडेमानको ढुंगामा । यो ढुंगामा छापिएको छ झ्याउ । यो झ्याउले बडेबडे चट्टान पगाल्ने क्षमता राख्छन् र माटो बनाउँछन् । यी साना छन्, तर असाध्यै महत्त्वपूर्ण छन् । ढुंगा, चट्टानमा टाँसिएका झ्याउले पगालेका, कोतरेर बनेका माटामा जम्मन्छन् कैयौं रूखहरू, बन्छन् कैयौं जंगल । पारिको सल्लो, केही परको टिम्मुरलाई उभ्याउने काममा पनि झ्याउको सहयोग थियो । यहाँका झ्याउ खोज्न सन् १९६२ मा जेजे पोयल्ट नाम गरेका वैज्ञानिक यता हिँडेका रहेछन् । उनले खोजेका झ्याउ अहिले सायद अस्ट्रियाको ग्राज विश्वविद्यालयको कुनै कोठामा राखिएको होला ।

२,८६५ मिटरमा रहेको जोरसल्लेबाट उकालिएको पहाड ८,८४८.८६ मिटरमा टुंगिनैपर्छ किनभने त्योभन्दा माथि पृथ्वी छैन । उकालिएका पहाडमा खोपिएका छन् सल्ला, गोब्रेसल्ला, गुराँस र अन्य धेरै छिमेकीहरू । यस्तो लाग्छ, रूखको पनि देश हुन्छ, प्रदेश हुन्छ, गाउँपालिका हुन्छ, वडा हुन्छ । तिनको आफ्नै समाज हुन्छ, तिनको आफ्नै संसार हुन्छ । जर्मन अनुसन्धानकर्ता पिटर वेलेवेनले लेखेको किताब ‘द हिडन लाइफ अफ ट्रिज : ह्वाट दे फिल, हाउ दे कम्युनिकेट’ मा रूखलाई सामाजिक प्राणी भनेका छन् र तिनले कुराकानी गर्छन् भन्छन् । उनी अफ्रिकाको खयर प्रजातिको रूखले जिराफले पात खान सुरु गर्‍यो भने एउटा रसायन उत्पादन गर्छ र हावामा फाल्छ भन्छन् । र, त्यो गन्ध सुँघेर छिमेकी रूखहरूले जिराफ उनीहरूसम्म आउनुअघि नै हावामा विषाक्त रसायन फालिदिन्छन्, जसका कारण तिनको पात जिराफले खान सक्दैन । पिटरले लेखेका छन्, ‘केही रूख यति सामाजिक हुन्छन् कि ढालिएपछि बाँकी रहेको ठुटोलाई पनि सयौं वर्षसम्म बचेका रूखहरूले चिनी र अन्य तत्त्व खुवाएर बचाइराख्छन् ।’ हुन सक्छ, ती ठुटा नै अहिले जंगलमा उभिएका रूखहरूका बा–आमा हुन् ।

एउटा कुकुरले दुइटा झारललाई बेस्सरी लखट्यो । झारल भीरतिर हराए, कुकुर शानले बाटोतिर फर्कियो । र, उकालो लाग्यो नाम्चेतिर । नाम्चेमा चकाचक छ । कफी बसाइरहेछ, भात पाकिरहेछ, साग भुटिँदै छ, बियरको क्यान उभिएको छ । ढुंगा खापेर सापिएन्सले अनेकन् घर बनाएको छ, रूख काटेर भर्‍याङ बनाएको छ । यस्ता संरचनाको समूहलाई उसले गाउँ वा सहर भन्ने गरेको छ ।

पश्चिममा भोटेकोसीपारिको कोंग्दे हिमालमा अलिअलि हिउँ छ । हिमाल पहिला ह्वाइट हुन्थ्यो अहिले ब्ल्याक एन्ड ह्वाइट भएको छ । अलि घोरिएर हेर्दा म रूखहरू हिमालतिर उकालो लाग्दै गरेको देख्छु । हिउँ कम हुँदै जाने, तातोपना बढ्दै जाने गरेपछि रूखहरू उकालो लाग्छन् । ह्वाइट हिमाल ब्ल्याक हुँदै रंगीन होलान् ? पूरै हिमालभरि गुराँस फुल्लान् वा भोजपत्रले कब्जा गर्लान् ? उकालो लागेको झ्याउले पगालेर काला चट्टानलाई माटो बनाउला ? काला वा हरिया हिमाल त अहितकर हुन्छन् । हिमाल त सेतै ठीक ।

होटलका मालिक छेउमै आएर बसे । वातावरणका कुरा गर्ने मान्छे आएका छन् भन्ने थाहा पाइसकेछन् क्यार । सीधै विषय प्रवेश गरे, ‘यो पृथ्वी त धेरै तात्यो कि क्या हो ? प्रलय हुन्छ कि क्यो हो ?’

‘किन त्यस्ता लाग्यो त तपाईंलाई ?,’ आशय बुझे पनि कुरा लम्ब्याउने हेतुले मैले सोधें ।

‘२५ वर्षअघि सानो थियो इम्जा ताल । अहिले कत्रो डरलाग्दो भइसक्यो,’ उनले भने, ‘हुन त अब सगरमाथा कालो कसरी भयो भनेर हेर्न पनि त खैरे आउला नि !’ उनलाई खैरेको चिन्ता हुनु स्वाभाविक नै होला र कुरो गहिरो छ । मुख्य प्रश्न त खोलै पो बग्ला कि नबग्ला भन्ने हो ! हिउँ पो पर्ला कि नपर्ला भन्ने हो ! खैरेले पैसा ल्याएर होटल त चल्ला, तर जीवन पो चल्ला कि नचल्ला भन्ने पो हो । ‘डरमर्दो त छ साहुजी, तर खैरेको भन्दा पनि चिन्ता हिमालको हो,’ मैले हाँसेर भनेँ ।

‘हुन त हो, तर हामीले के नै गर्न सक्छ र ? हामीले पगालेको हैन हिमाल,’ उनले भने ।

उनको कुरा पनि सही हो । चौंरी, खच्चडमा अन्न बोकाएर खाएका मान्छेलाई, मोटर वरिपरि नगुडाएका मान्छेलाई केको दोष ? जलवायु परिवर्तन गराइरहेको हरितगृह ग्यास निकाल्ने सापिएन्समध्ये सबैभन्दा कम ग्यास उत्सर्जन गर्ने सापिएन्स यता हिमालतिर बसेका छन् । एउटा सापिएन्सले अर्को सापिएन्सलाई मारमा पारेको छ यो पृथ्वीमा ।

कान्छा शेर्पा ९० वर्षका भए । तेन्जिङ र एडमन्ड हिलारीसँग सगरमाथा चढ्ने टोलीका सदस्य कान्छा घमाइलो दिनमा आफ्नै घरमा गफिए । तेन्जिङ–हिलारीलाई खुम्बु आइसफल कटाए, क्याम्प–टुमा टेन्ट गाडेर फर्केका थिए कान्छा । उनका साथीहरू तेन्जिङ–हिलारीले चुचुरो टेकेर फर्के । त्यसपछि पनि उनले अरू धेरैलाई सगरमाथा चढाए, तर आफूले कहिल्यै चुचुरो टेक्न भने पाएनछन् । सधैं भरिया भएर गए, अरूलाई टुप्पातिर धकेलेर फेदतिर पर्खेर जिन्दगी बित्यो । पहिलो सफल आरोहण दलका उनीबाहेक सबै अहिले मरिसके । अरू हुँदा त उनको मानमनितो खासै थिएन, तर अहिले एक मात्रै जीवित इतिहास बनेका उनलाई मान्छेहरू खोजीखोजी भेट्न आउँछन्, जसरी हामी आयौं । ‘अहिले हामीले हिमाललाई हेप्यो । जे मन लाग्यो त्यही गर्‍यो । त्यसैले हिमाल रिसायो । दोष पृथ्वीको छैन, हाम्रो छ । हामी अब सुध्रनुपर्छ नभए प्रलय हुन्छ,’ उनले मन्द स्वरमा भने ।

कोंग्दे हिमाल र जूनबीच मीठो संवाद भइरहेछ सायद । कुकुर एकोहोरो भुकिरहेकाले सुत्न हम्मेहम्मे छ । एउटा सल्लाको रूख बढो शान्त भएर उभिइरहेछ बाटोछेउ । मैले केही महिनादेखि नै ‘इतिहासकार रूखहरू’ बारे पढ्दै थिएँ, त्यसैले कुकुरको भुकाइ, जूनको सौन्दर्यमा मैले अक्षर मिसाएँ । बाटामा देखे–भेटेका रूख सम्झन मन लाग्यो । ‘ट्री स्टोरी : अ हिस्ट्री अफ र्वल्ड रिटर्न इन रिंग्स’ किताबमा भेलेरी ट्रयुटले यता सगरमाथामा जस्तै हिउँको राज हुने उत्तरी गोलार्द्धको रुस नामक देशमा रहेको साइबेरियाको प्रसंगमा लेखेकी छन्, ‘रुसको साइवेरियामा सन् १९०८ को जुन महिनाको ३० तारिखका दिन एउटा भयंकर ठूलो घटना भयो, जसलाई टुंगुस्का भनिन्छ । त्यो घटनामा लगभग २,१५० वर्गकिलोमिटरको क्षेत्रफलमा रहेका लगभग आठ करोड रूखहरू सोत्र्यान परे एकै पटक । कुनै उल्कापिण्ड पृथ्वीमा झरेको अनुमान गरियो । तर, लगभग सय वर्षपछि पनि त्यो घटनाको मुख्य कारण यकिन हुन सकेको थिएन ।’

यो इतिहास केलाउन सन् २००४ मा भागानोफ नाम गरेका अनुसन्धानकर्ताले त्यहाँका केही रूखहरू खोपेर घेराको अध्ययन गरे । बचेका रूखहरूको अध्ययन गर्दा त्यो वर्ष बनेका रूखको घेरमा रहेका कोषिकाहरू केही तोडमोड भएको भेटे । त्यसको अर्थ हुन्थ्यो, त्यो वर्ष त्यहाँ कुनै ठूलो वस्तुले हानेको थियो, भयंकर जोडले हानेको थियो । रूखहरूमा त्यस्ता घटनाका इतिहास लेखिएका हुन्छन् । पछिल्ला केही दशकमा रूख खोपेर इतिहास खोज्ने विज्ञान नै मौलाएको छ, जसलाई डेन्ड्रोक्रोनोलोजी भनिन्छ । नेपालमा पनि यसरी सयौं रूखलाई खोपेर जलवायु इतिहास लेख्न थालिएको दुई दशकभन्दा बढी भइसक्यो । मेरा एक मित्र नारायण गैरेले ‘इतिहासकार रूखबारे’ विद्यावारिधि गरेका छन् । उनी विगतका एक दशक यस्तै पुराना रूख खोज्दै हुम्ला, डोल्पा, सगरमाथा सबैतिर पुगेका छन् ।

तिनी रूख खोपेर काठको सुइरो निकाल्छन् र त्यसलाई पढेर उमेर पत्ता लगाउँछन् । ती रूखमा लेखिएका सयौं वर्षअघिका जलवायु इतिहास केलाउँछन् । रूखहरू पृथ्वीमा सबैभन्दा लामो बाँच्ने सजीव प्राणी हुन् । अहिले पृथ्वीमा उभिएका केही रूखहरूले पूरै मानव सभ्यताको उतारचढाव देखेका छन् । अहिले अमेरिकाको क्यालिफोर्नियामा भएका व्रिस्टलकोन पाइन अर्थात् एक किसिमको सल्लो मात्रै पनि पाँच हजार वर्ष पुरानो छ । र, उभिएकै छ । जुनबेला इजिप्टमा पिरामिडसम्म उभिएको थिएन, त्योबेला जन्मेको मेथुसेलह नाम गरेको त्यो सल्लोले पूरै मानवसभ्यता भोगेको छ । पुँजीवाद, मार्क्सवाद, साम्यवाद, समाजवाद त जाबो केही सय वर्ष मात्रै अघि जन्मेका हुन्, जसबारे सापिएन्स बडो बहस गरिबस्छ ।

अघिल्लो बर्ष गैरेले हुम्लाको सिमकोट नजिकैको डाँडाफायामा उभिएको गोब्रेसल्लो खोपेर सन् १,७८० देखि २००८ सम्मको जाडोको न्यूनतम तापक्रम निकालेका थिए । अनुसन्धानले हिउँदको न्यूनतम तापक्रम बीसौं शताब्दीको सुरुवातदेखि नै निरन्तर बढिरहेको देखाएको थियो, तर शताब्दीको पछिल्लो समय त्यो दर बढ्दो देखिएको थियो । रूख हरेक वर्ष एक घेरो गोलाइ फिँजारिन्छ । जति धेरै घेरा त्यति वर्षको रूख । तर, त्यस वर्षको जलवायु चक्र भने माइक्रोस्कोपले नै पढ्नुपर्छ । कुनै पनि फेरबदललाई उनीहरूले हिसाबकिताब गर्छन् र त्यो वर्षको तापक्रम निकाल्छन् वा कति वर्षा वा खडेरी के थियो भन्ने जाँच्ने गर्छन् । विगतको ६ सय वर्षसम्मको जलवायु सूचनासमेत निकालिएको छ नेपालमा । गैरेले डोल्पाको एउटा सल्लोको ४०५ वर्ष लामो उमेर–तालिका पढेर सन् १,७०७ मा निकै खडेरी परेको वर्ष थियो भन्ने निष्कर्ष निकालेका छन् । त्यो रूखले सन् १७५६ देखि १७६८, भारतको इस्ट इन्डिया खडेरी नामक १७९० देखि ९६ सम्मको खडेरी पछिल्लो अर्थात् भिक्टोरियन ग्रेट ड्रट नामक १८७६ देखि ७८ सम्मको खडेरीको इतिहास कैद गरेको गरेको अनुसन्धानले देखाएको थियो ।

रूख पढेर कोंग्दे हिमालतिर फर्केर मैले अँध्यारो समय काटें उज्यालोको पर्खाइमा । यो पृथ्वीमा कसैका लागि त्यही समय उज्यालो हुन्छ त कसैका लागि अँध्यारो । उज्यालो–अँध्यारो पनि एउटा मीठो भ्रम हो । नाम्चेबाट उकालो लागेर खुम्जुङ पुगिन्छ । यहाँ घरका छाना हरियो जस्ताले छाइएका छन् । सँगै बसेका गाइडले भने, ‘त्यो हरियो रङको जस्ता चराहरूका लागि छाइएको हो । चराहरूले हरियो जस्ता मन पराउँछन् भनेर यस्तो गरेको ।’ सापिएन्सले भएका हरिया रूख छप्काउँछ अनि चरा बोलाउन हरिया जस्ता लगाउँछ । खुम्बिला हिमालको कुनै भाग खसेर बनेको खाल्डोजस्तो देखिन्छ खुम्जुङ, जसको बीचमा लामो पहिरोको एउटा धर्सो छ । यता खुम्जुङमा मान्छेभन्दा धेरै त घर छन् । रूखभन्दा धेरै यामानका ढुंगा छन् ।

माथि चढेपछि झर्नैपर्छ, त्यसैले ओरालो झरेर पखेटे जहाजमा चढें । बिहानको घामले डामेपछि बाफिएका पहाडले पातलो बादलरूपी सेतो बर्को ओढेका छन् । कान्छा शेर्पा तेन्जिङ र हिलारीलाई सगरमाथा चढाउन भारी बोकेर भक्तपुरबाट १७ दिनमा नाम्चे पुगेका थिए रे, तर म त ३० मिनेटमै लुक्लाबाट काठमाडौं आइपुगें । सापिएन्सको हातले उड्ने जहाज बनाएर कमालै गर्‍यो । तिनै हातले गर्दा म उड्ने मान्छे भएँ, गुड्ने मान्छे भएँ । सापिएन्सको यो पछिल्लो परिचय हो । यही परिचय अहिले पृथ्वीलाई बोझ हुन थालिसक्यो । भाग्यमानी भन्दाभन्दै ज्या भन्नुपर्ने पो हो कि, के थाहा ? सापिएन्सले आफूलाई बाठो प्राणी मान्छ, बुद्धिमान प्राणी घोषणा गरेको छ, त्यसैले ज्या हुनुअघि नै यो संकटमा रहेको पृथ्वीको उद्धार गर्ला कि ? पृथ्वीको भन्दा पनि खासमा उसैको भलो हुनेथियो, यदि उसले बुझेमा ।

बेलौतीको रूखमुनिबाट कुकुरजस्तै हातले टेकेर सुरु गरेको यात्रा मैले बेलौतीमुनि आएर बिसाएँ । मलाई फेरि एक पटक कुकुरजस्तै बन्न मन लाग्यो । बाटामा देखेका लेउदेखि झ्याउसम्म, उतिसदेखि भोजपत्रसम्म सम्झिएँ ।

बेलौतीको रूखमुनि बसेर फुक्काफाल हातलाई प्रयोग गर्दै ल्यापटप खोलेपछि भने एउटा इमेलले मलाई झस्कायो । इमेलको शीर्षक छ– ‘अघिल्लो वर्ष रूखहरूलाई के भयो ?’ र्वल्ड रिसोर्सेज इन्स्टिच्युटको ग्लोबल फरेस्ट वाचले लेखेको छ, ‘अघिल्लो वर्ष मात्रै हरेक एक मिनेटमा १० वटा फुटबल मैदान बराबरको जंगल मासियो पृथ्वीमा । एक वर्षमा मात्रै एक करोड दस लाख हेक्टर जंगल स्वाहा भयो ।’ खासमा रूखसँगै इतिहास पनि गयो । ‘फन्डामेन्टल्स अफ डेन्ड्रोक्रनोलोजी’ किताबका लेखक जेम्स स्पियरले लेखेका छन्, ‘रूखहरू सम्झन्छन् र तिनले झूट बोल्दैनन् । मानिसले लेखेका इतिहासमा कैयौं झूट होलान, तर रूखले लेखेको इतिहास सत्य हुन्छ ।’ पृथ्वीमा झूट सापिएन्सले मात्रै बोल्न सक्छ । झूट उसले मात्रै लेख्न सक्छ किनभने ऊसँग लेख्ने हात छ, पोत्ने मसी छ र छाप्ने कागज छ । इतिहास काटेर, भविष्य मासेर सापिएन्स कहाँ पुग्ने होला हँ ?

प्रकाशित : असार ४, २०७९ ०९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×