देली भितर, देली भाइर

त्यही अँध्यारोमा मैले देखें– म आफ्नै लासनजिक विर्मा र छोरीको हात समातेर देउडा गाउँदै छु । एउटा मीठो र मादक लयमा चलायमान छन् हाम्रा पैताला । चकमन्न अँध्यारो भए पनि मलाई लाग्यो, फेरि उज्यालो भयो । एक छिनपछि कसैले त्यही उज्यालोमाथि माटो खन्याइदियो । तर, पनि अँध्यारो भएन ।
उमा सुवेदी

विर्मा, ए विर्मा, ढोका खोल् ! म आइपुगेँ !’

देली भितर, देली भाइर

मध्यरातमा म आफ्नै झुपडीको ढोकाअगाडि उभिएँ र बिस्तारै कराएँ । विर्माले मेरो आवाज सुनिनँ । छोरी त यतिबेला के जागा हुँदी हो, उसले सुन्ने कुरै भएन । सोचेँ, जब भोलि बिहान आफूलाई मेरो काखमा देख्छे, अनि जिल्ल पर्छे । छोरीसितको यो सान्निध्यको कल्पनाले मात्रै पनि मलाई बेचैन बनाइसकेको थियो ।

भित्र सर्‍याकसुरुक आवाज आयो । मैले विर्माका चुरा बजेको आवाज सुनेँ । मलाई त्यो आवाज आज पनि उत्तिकै मोहक र मादक लाग्यो । विर्माले बत्ती बाली । मेरो मन उज्यालो भयो । मैले विर्माका पाउको आवाज सुनेँ । कति सुन्दर छन् विर्माका पाउ अनि उत्तिकै मोहक छ उसको हिँडाइको लय । उसको पदचाप ढोकैनेर आएर रोकियो । उता विर्मा, यता म । बीचमा काठको ढोका । कतिबेला ढोका खुल्ला भनेर म अधैर्य थिएँ । यतिबेला मैले यात्राका सारा थकान बिर्सिएको थिएँ । जेठको प्रचण्ड गर्मीलाई पनि मैले बिर्सिएँ र आफ्नी प्यारी विर्मासँगको मिलनको आशाले चिसो बतास बनेर मेरो आत्मालाई शीतल बनाइरहेको थियो । आत्मा शीतल भएपछि शरीरको गर्मीले धेरै नसताउने रहेछ ।

अरू बेला भइदिएको भए दिल्लीबाट रोडबेजको बसले एकै रातमा बनवासा ल्याइपुर्‍याउँथ्यो । त्यसपछि बोर्डर नाघेर नेपाली भूमिमा आएपछि बस या माइक्रो चढेर उही दिन घर आइपुगिन्थ्यो । तर, यसपटक त्यस्तो सहज यात्रा भएन । दिल्लीबाट हिँडेपछि कतै ट्याक्टर चढेर, कतै रिजर्भ बसको छतमा कोचिएर र कतै पैदल हिँड्दै म तीन दिनमा बल्लबल्ल बनवासा आइपुगेँ । महाकालीको पानीलाई उदेक मानेर हेर्दै म नेपालको सिमानामा प्रवेश गरेको थिएँ । कुनै बेला यतैकतै उभिएर भारततिर हेर्दै नारा लगाएको थिएँ— महाकाली नदी साझा हो, पानी आधाआधा हो ।

तर, समयक्रमसँगै मेरो आवाज कमजोर भयो । मसँगै आवाज मिसाउने अरूहरूका आवाज पनि उसरी नै कमजोर भए र बिस्तारै हराए । नियतिले मलाई यति थिलथिलो बनाइदियो कि म रोजगारीको खोजीमा त्यही देशमा पुगेँ, जोसित मेरो पानी खोसेको गुनासो गरेको थिएँ । पहिलोपल्ट दिल्लीतिर लाग्दा म चढेको बसमा मजस्तै थुप्रै कर्महारा थिए । सबैको आँखामा मृत सपनाका अवशेष थिए । सबैका ओठमा पीडाका गीत थिए । सबैका अनुहारमा एकै खालका उदासीका बाक्ला बादल थिए ।

...

मेरो मनले सोझो हिसाब गर्‍यो, अब पाँच–सात सेकेन्डमै विर्माले ढोका खोल्छे । तर, पाँच–सात सेकेन्ड त के पाँच–सात मिनेटसम्म पनि ढोका खुलेन । पदचाप हराएका विर्माका पैताला ढोकानिरै अडिएका थिए । मैले ढोकाबाहिरबाटै उसको शरीरको वास्ना अनुभूत गरिरहेको थिएँ । सायद ऊ ढोकाबाहिर उभिएको को होला भनेर बुझ्न र विश्वस्त हुन चाहन्थी । उसले मध्यरातमा एक्कासि म घर आइपुग्छु भनेर चिताएकी पनि थिइन सायद । केही डराएको जस्तो आवाजमा बिस्तारै सोधी, ‘को हौ ?’

‘मु तेरो पोइ । चिनिन कि !’

सायद ऊ जिल्ल परी । सायद खुसी पनि भई । बिचरी, यतिका वर्ष मबिनै बसी । उमेरदार केटी । हामी र हाम्रो भविष्यबारे कतिकति सपना देखेकी थिई होली ।

आफ्ना कतिकति रहरहरू मनको दराजमा पोको पारेर अझै जतनसाथ राखेकी होली । भातभान्सा गर्दा पनि कल्पनामा डुब्दी हो । मेरो मनमा ऊप्रति झनै माया उर्लेर आयो । तर, भित्रबाट फेरि आवाज आयो, ‘हँ, को हौ मेरा पोइ भन्ने ?’

‘हरे, कसो नचिनेकी ! मु अर्जुन । तेरो पोइ हुँ ! छटै ढोका खोल् ! सात वर्षअघि धनगढी बजारमा गौरा पर्वको दिन तेरो हात समाईकन देउडा नाच्ने चेलो मै हुँ । त्यसपछि हाम्रो पिरम गाढा भैगो र मुसँग भागी आएकी थिइस् ।’

म भित्रभित्रै कुतकुतिँदै उसलाई हाम्रो रोमाञ्चक विगत सम्झाउन थालेँ ।

म अतीतको राजमार्गतिर अझै हान्निएँ । मैले देखेँ, म गोठालो गएको छु र जंगलमा लामो स्वर तानेर गाउँदै छु ठाडी भाका र पोख्दै छु मनका विरह व्यथा । अनि सम्झिएँ, आफ्नै विवाहमा हुड्के नाचिरहेका साथीहरूसँगै मन थाम्नै नसकेर गाएको

हुड्क्यौली । सम्झनाको बाढी उर्लिंदै गयो । सम्झिएँ, आफ्नै छोरी छायाको न्वारनमा छिमेकीहरूसँग खुट्टामा ताल मिलाएर हल्लिँदै धमारी गाएको । सम्झिएँ, विर्माको हात समातेर बिस्तारैबिस्तारै खुट्टाका तालमा ताल मिलाउँदै देउडा गाएको ।

अतीतका हरेक स्मृतिले मनलाई आनन्दित बनाउँदै गए । मलाई आफ्नो मनभित्रको यो आनन्द विर्मासित पोख्न हतार भइसकेको थियो । विगतले मनमा ढकमक्कै बाबरी फुलाइसकेको थियो । विर्माले ढोका खोल्छे भनेर सास नफेरी ढोकातिर हेरिरहेँ । तर, अझै ढोका खुलेन ।

गरिबी र घरव्यवहारले न्याक्दै लगेपछि मेरो र विर्माको जीवनबाट रौनकहरू हराउँदै गएका थिए । तर, यसपटक म पुसे पन्ध्रसम्म बसेर विर्मा र छोरीलाई आफ्नै हातले बनाएको डुप्का र बटुक ख्वाउँछु । मैले पकाएको भुने रोटी विर्माले पहिलेजस्तै सारै मीठो मानेर खान्छे ।

विर्मासित मायाप्रेम बसेपछि ऊसँगै कन्यौलका बेला डुप्कामा पैसा डुबाएको कुरा सम्झिएँ । डुप्कामा डुबाएको पैसा हामी दुवै मिलेर खोजेका थियौं । पैसा, त्यो पैसा उसैले पाएकी थिई । छिमेकी हुर्के बाजेले भनेका थिए, ‘जसको भागमा डुप्काको पैसा पर्छ, त्यो भाग्यशाली र धनी हुन्छ ।’ तर, हाम्रो भाग्यले हामीलाई साथ दिएन । गरिबीले हामीलाई छोड्दै छोडेन । हाम्रो माया, हाम्रो सम्बन्ध गरिबीमा हुर्कियो र यसलाई गरिबीले नै निचोर्यो ।

तर, यसपालि समयले साथ दिन्छ कि ! आसै त हो ।

‘तम्रो बोली अर्कैअर्कै छ । काँ बाटी आयौ ?’

‘हिजोदेखि खाँसीले परेसान गरेको छ । बाटाको धूलोमाटो लाग्याको होला । रातदिन हिनिखेर आयाको हुँ’, मैले जवाफ दिएँ ।

विर्मा एक छिन मौन भई ।

अब भने मलाई उसको मौनता भारी हुन थाल्यो । म उसलाई गम्लङ्ग अँगालो हाल्न आतुर थिएँ । तर, उसका हात भने अझै पनि ढोकाको चुकुलसम्म पुगेका थिएनन् । उसका हातका चुराहरू स्थिर थिए । उसले ढोकापारिबाटै फेरि सोधी, ‘खाँसी हो कि के हो नि ? चेकजाँच गराउनु पडैन ?’

एक छिन रोकेर फेरि बोली, ‘खै, मुलाई त तम् मेरा पोइ हौजस्तै लाग्दैनौ । तसो भए भन, तम्रो कै आँखामी कोठी छ ? दायाँ कि बायाँ ?’

विर्माको यो प्रश्नले मलाई लाग्यो, म आफ्नो घरको ढोकाअगाडि होइन, अदालतको कठघरामा उभिएको छु । दिक्क पनि लाग्यो । अघिसम्म बिर्सिएको थकाइले फेरि एकैपटक गाँज्यो मलाई । घर आइपुगेकामा शीतलताको आभास भएको आत्मामा फेरि मधेसको तातो पस्यो र गर्मीले कन्चटबाट तपतपी पसिना बग्न थाल्यो । म निथ्रुक्क भिजेँ । तर, म विर्माको प्रश्नको जवाफ दिन बाध्य थिएँ ।

‘दायाँमी छ । गालाभन्दा अलि मथि । बायाँतिर निधारमी काट्याको दाग छ । तुँलाई ब्याअरि ल्याएको साल खल्यानमी दाउरा चिद्दा चोट लाग्याको । तुइले तो ओखतो लाइदेकी थी । भुलिगई कि त ? अब पन तेरो पोइ हुँ कि हैन भन्ने शंका मानेकी छैत ?’

यति भन्न भ्याउँदा नभ्याउँदै मलाई खोकी आइहाल्यो । एक मिनेटसम्मै खोकीले सतायो । केहीबेरलाई सास फेर्नै पनि गाह्रो भयो । पसिनाले शरीर फेरि निथ्रुक्क भयो । कतिबेला घरभित्र पस्न पाउँला र आरामले आफ्नो ओछ्यानमा उत्तानो पछारिएर ढुक्कको साँस फेरुँला भन्ने तीव्र अत्यासले सताउनु सतायो ।

ढोकापारि पूरै निस्तब्धता छायो । विर्माका चुरा बज्दै बजेनन् । भित्र कुनै सर्‍याकसुरुक भएन । प्रश्न–उत्तर सबै बन्द भइसकेका थिए । मैले नै सोधेँ, ‘विर्मा, छटाई ढोका खोल्ने । कै खोल्ली नै ढोका एत्ना बेरसम्म ? मेरो हण पिड भया छ । गरम गरम पन भया छ ।’

‘ए तमलाई जोरो पन आयाको छ ? तसो भए पक्कै कोरोना हो तमलाई ।’

विर्माको यो वाक्यले मलाई पूरै स्तब्ध बनायो । मध्यरातको अँध्यारो मेरो मनभित्र प्रवेश गरेको थियो । म एउटा अजिबको चकमन्नमा रुमल्लिएँ । कानमा असंख्य झ्याउँकिरी कराएको आभास भयो ।

‘नाइ नाइ मु अब ढोका खोल्लैन । नगरपालिकाले क्वारेन्टिन बनायाको छ । भारतबाटी आउने सबैलाई क्वारेन्टिन नबसीकन घर नजानू भन्याको छ । तमीलाई कसैले भनेको नाइ ? कि भागीकन आयाका हौ ? तमी भागीकनै आयाजसा छौ । आभ छटै खुसीराम दाइलाई फोन गरीकन क्वारेन्टिनमै जाओ । खान्याबस्या सबै उतै दिन्या गर्‍याको छ । चौध दिन त्यइँ बस्नू । त्यैपछि कोर्ना नभयाको कागज ल्यै मात्र घर आउनू ।’

विर्माले निकै रूखो स्वरमा आदेश दिई । उसको यस्तो आवाज यसअघि कहिल्यै सुनेको थिइनँ । उसको आवाजमा त संगीतकै मीठास थियो, मादकता थियो । आज यति कठोर कसरी भयो ?

मेरा लागि यो रात प्रगाढ अँध्यारोको राजमार्गजस्तै भयो । यो राजमार्गमा म हिँडिरहेको छु कि स्थिर छु, मलाई नै थाहा भएन । किनभने हिँडाइले मलाई यति थकाइसकेको थियो कि मभित्र अब अरू हिँड्ने आकांक्षा नै शेष नभएजस्तो भएको थियो ।

कोरोना हो कि होइन म कसरी जानूँ ? त्यति दिमाख मेरो काँ छ र ? म त एक सामान्य मजदुर न हुँ । श्रम गर्न छ वर्षअघि घरमा भर्खर जन्मिएकी छोरी र जहान छाडेर भारतको दिल्ली पुगेको थिएँ । जाने बेला मोहन्याल बाबासित प्रार्थना गरेको थिएँ, ‘हे मोहन्याल बाबा, मेरो जहान परिवारको रक्षा गर ।’

समाजले रक्षा गर्ला भन्ने विश्वास थिएन । गरिब छरछिमेकीले रक्षा गर्लान् भन्ने झन् के विश्वास हुन्थ्यो । मेरा लागि यो ठाउँमा मोहन्याल बाबा जति विश्वासिलो कोही थिएनन् । उनै मेरो आफन्त, उनै मेरा देवता ।

विशाल थियो दिल्ली । तर, दिल्लीको दिल म गरिब नेपालीका लागि कहिल्यै विशाल हुन सकेन । दिल्लीले सबैभन्दा पहिला मेरो नाम खोस्यो र मलाई बहादुर बनाइदियो । जब पहिलोपल्ट मलाई कसैले बहादुर भनेर बोलायो, म भित्रभित्रै हाँसेँ र सोचेँ, ‘बहादुर भैदिएको भए आफ्नै गाउँको खेतबारीमा खेती गर्थें हुँला । आफ्नै गाउँमा धमारी गाएर रमाउँथे हुँला । आफ्नैका बिहेबारीमा देउडा गाउँथेँ हुँला ।’

विर्माको कुरा सुनेर मेरा पैतालाहरू जमिनमा गाडिएजस्ता भए । आफ्नै घर र आँगन यसरी बिरानो बनिदिन्छ भन्ने मैले चिताएकै थिइनँ । सोचेको थिएँ, मेरो आवाज सुन्नेबित्तिकै उसले खुसी भएर ढोका खोल्छे र हुत्तिएर मलाई अँगाल्छे । मेरै मुटुको ढुकढुकीसँग उसको मुटुको गति साट्छे । तर, त्यस्तो केही भएन । मेरै घरको ढोका मेरा लागि खुलेन । मलाई लाग्यो, विर्माले भनेको कोरोनाको किरो मेरो रगतमा सल्बलाइरहेको छ र त्यसले मेरो जीवनबाट वास्ना र स्वाद खोस्दै छ ।

ढोकानिर फेरि चुरा बज्यो । तर, त्यो आवाज फेरि अलिक पछाडि फर्कियो । फेरि एक छिन चुरा बजेन । फेरि बज्यो र चुरासँगै आवाज आयो, ‘हेलो, पुलिस हौ के, यहाँ मेरा पोइ दिल्लीबाट आयाका छन् । बेस्मारी खोक्दा छन् । घरभित्र आउँछु भन्याका छन् । मुइले ढोका खोल्याकी छैन । तमी आईकन क्वारेन्टिन पुगाउनु पडो ।’


...

स्कुलको पुरानो कोठामा भारतबाट आउनेहरूलाई क्वारेन्टिन गरेर राखिएको छ । तीन दिन भइसक्यो म यहाँ आएको । मलाई भेट्न विर्मा आएकी छैन । मेरो दिन उदासीमा बितिरहेछ र रात पनि ।

सँगै बसेका साथीहरूलाई हेर्छु । उनीहरूको आँखामा अत्यासबाहेक केही देख्दिनँ । मानौं एउटा अज्ञात भाइरसले चाँडै उनीहरूको फोक्सोमा पसेर उनीहरूको घाँटी अँठ्याउँदै छ । मेरो खाटसँगै सुतिरहेको एक जना केटा छिनछिनमा आत्तिँदै उठ्छ र कराउँछ, ‘आयो, आयो ।’

मैले सोधेँ, ‘को आयो ?’

‘हिजो बाहिर रूखमा झुन्डिएर आत्महत्या गर्ने कमल जिउँदो भएर आयो । झिमिक्क निदायो कि सपनामा आएर मलाई पनि सँगै आइज भन्छ । यो कोरोनाले त के गर्छ थाहा छैन, त्यो भूत भएको कमलले चाहिँ मलाई लान्छजस्तो छ ।’

भाइरस र भूत ! क्वारेन्टिनमा यी दुईको आतंक छ र त्यो आतंकले हामी सबैको अस्तित्वमा जरो गाडेर बसेको छ । हामी सबै हरेस खाएजस्ता भएका छौं । सबैको अनुहार सोहोरिएको छ र पहेँलिएको छ । मानौं हामी सबै जन्डिसले ग्रसित भएका छौं ।

कोठाको बत्ती मधुरो छ । त्यही मधुरो बत्तीको धिमे उज्यालो हेरेर रात बिताउँछु । कताकता त्यही उज्यालोमा झ्यालतिर छोरी र विर्माको छाया सल्बलाएजस्तो आभास भइरहन्छ । त्यही छाया हेर्दाहेर्दै कतिखेर निदाउँछु थाहै पाउँदिनँ ।

सपनामा कमल आयो, जसले हिजो बिहान आँपको रूखमा झुन्डिएर आत्महत्या गरेको थियो ।

अस्ति म क्वारेन्टिन आएकै दिन उसले आफ्नो सपना सुनाएको थियो– जहानलाई लिएर बडिमालिका दर्शन गर्न जाने । बडिमालिकाको आशीर्वाद लिएर बाँकी जीवन देशमै बिताउने । यहीँ श्रम गर्ने, यहीँ पसिना बगाउने । अस्ति नै त हो, ऊ भविष्यको सुखद कल्पनाले मुग्ध भएको थियो र हामी सबैलाई समातेर देउडा नचाएको पनि । ऊसँगै हामी सबैले बिस्तारैबिस्तारै पैताला चाल्दै देउडा गाएर आफ्नो दुःखकष्टलाई बिर्सने प्रयास गरेका थियौं । तर, जसले हामीलाई खुसी हुनुपर्छ भनेर देउडा नचायो, बिहानै उसैले आत्महत्या गर्‍यो । उसैले सहन सकेन क्वारेन्टिनभित्रको अत्यास, अनिश्चय र एक्लोपन ।

एउटा अज्ञात खुसीले मेरो मन मुग्ध हुन्छ । मेरो ओठमा मुस्कान पलाउँछ । क्वारेन्टिनमा सबै अत्यास र चिन्ता ओढेर सुतिसकेका छन् या सुतेको अभिनय गरिरहेका छन् । म आफ्नो कोठाबाट निस्कन्छु । फेरि आफ्नो घरतिर हेर्छु । पर देखिएको मेरो घरभित्रको उज्यालोमा सल्बलाइरहेका छायाहरूतिर हेर्न थाल्छु । छाया सजीव भएर मनिर आउँछ । विर्मा र छोरीका छायाहरूले मेरो हात समात्छन् । म उनीहरूसँगै पैताला चलाउँछु । चकमन्न छ । तर, मन केही उज्यालिएको छ । अचानक पैतालानिर केही चिसो कुरा लटपटिएको आभास हुन्छ, हेर्छु । मेरो खुट्टामा कालो डोरी बेरिएको छ । हठात् च्वास्स गर्छ र त्यो डोरी फुत्किएर भाग्छ ।

मलाई साँपले डस्यो भन्ने थाहा पाइहालेँ । चिच्याउन खोजेँ । सकिनँ । एकनासले खोकी लाग्यो । जिउमा आगो लागेजस्तै भयो । शरीरबाट पसिनाको नदी बग्यो । म सम्हालिन सकिनँ ।

जमिनमा ढलें ।

...

राति नै स्वास्थ्यकर्मीहरूले मेरो लाश खाल्टोमा गाड्दै थिए । क्वारेन्टिनमा कोही रोइरहेका थिएनन् । वातावरणमा गाढा अँध्यारो र उस्तै गाढा मौनता व्याप्त थियो ।

त्यही अँध्याारोमा मैले देखें, म आफ्नै लास नजिक विर्मा र छोरीको हात समातेर देउडा गाउँदै छु । एउटा मीठो र मादक लयमा चलायमान छन् हाम्रा पैताला ।

चकमन्न अँध्यारो भए पनि मलाई लाग्यो फेरि उज्यालो भयो । एक छिनपछि कसैले त्यही उज्यालोमाथि माटो खन्याइदियो । तर, पनि अँध्यारो भएन ।

प्रकाशित : असार ४, २०७९ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?