जाजरकोटका आमाहरु
पोल्टाबाट खसेका घामहरु
पाठेघरका क्रन्दनमा लतपतिएका छन्
सपनाका खेतबारीमा बज्र परेर
हराएका छन् सपनाहरु
मातृपीडाका गणितहरु नाप्ने मिटर
कुन देवताका प्रयोगशालाका प्रविष्ट छ ?
देव– प्रयोगशाला : रासायनिक विवर्तन
थर्मस फ्लासभरि मातृपीडाका रङहरु
पोजेटिभ छन् कि नेगेटिभ ?
वन्सेन वर्नरमा ग्याँसीय आगो बलेका छन्
कि आमाका आर्तनादहरु ?
लाफिङ ग्याँस सुँघेर हाँस्न पल्केका कथित देवताहरु
बयान बक्स होस् !
उभिएर हिउँचुलीमाथि
बाउन्ने मनहरु कहाँ अग्लिन्छन् ?
हेर ! समय जाँतोको ढाड भाँचेर
विभेदका धारिला दाँतहरु उम्रिरहेका छन्
जहाँ खानका लागि विषाक्त च्याउ खेती हुन्छ
लिलामघर : स्वास्थ्यको मूल्य कति पर्छ ?
गरिब छौ, भुत्रोको न्याय !
निमुखा छौ, भुत्रोको न्याय !
निर्बल छौ, भुत्रोको न्याय !
काला सुनका कोट भिरेका न्यायमूर्तिहरु
इँजार र दौराका तुनामा सुन बेर्छन्
न्याय कसरी बेच्नुपर्छ
न्याय बजारका बिक्रेतालाई थाहा हुन्छ
न्यायको सेयर बजारमा रित्तो गोजीको के काम ?
न्यायको सुन बजारमा फाटेको टोपीको के काम ?
न्यायको मुद्रा बजारमा मैलिएका गुन्युचोलीको के काम ?
ओ आमाहरु !
वैश्विक उक्ष्णताको ताण्डवीय देशमा
काला पहाडहरुमा परिवर्तित हिमालहरुलाई हेर
अनि धुरूधुरू आँसु बगाऊ
भेरीमा डोबहरु मात्र शेष नरहून् भन्नका लागि !
धुरूधुरू नरोऊ भन्ने धर्मराजहरुले सुनून्
आमाहरु नरोए पाठेघरबाट खोला बग्दैनन्
झरना झर्दैनन्, मूल फुट्दैनन्
पाद टिप्पणी :
बालुवाटारले आश्वासन दिन्छ, न्याय दिँदैन
सिंहदरबारले आश्वासन दिन्छ, न्याय दिँदैन
आँखामा पट्टी बाँधेको गान्धारी युग महात्मा :
नवराजहरुलाई मारेर भ्यालेन्टाइन–डे मनाउन व्याकुल छ
आमाका कोखबाट जन्मेका बलात्कारी पुस्ताहरु
बलात्कारविरोधी नारा सुनी मदनोत्सव मनाउँदै छन्
सद्दे आाखाका ‘अन्धा’ हरु
घुम्ने कुर्सीमाथि नघुमी बसेका छन्
समीकरण छ– ‘प्रेम जघन्य अपराध हो !’
ओ अपराधी छोराका आमाहरु !
किन राजधानी धाउँछौ
बदलामा आफ्नै आासुका वेणी, त्रिवेणी, सहस्र वेणीतर्फ लाग
छोराहरुका अपराध प्रायश्चित्त गर्न ।
रजगज – डाँकाहरुको देशमा
नैतिकताका गायत्री मन्त्र
जीव विज्ञानका हराएका कडीझैँ विलुप्त छन्
कुर्सीमा बस्नेहरुलाई धेरै ‘भ्रष्टाचारी ! भ्रष्टाचारी !’ नफलाक
तिमीलाई सदाचारको शिक्षा दिन ती सक्षम छन्
सृष्टि स्रष्टाको कि विभेद – बनियाँहरुको ?
अनुत्तरित प्रश्न यथावत् छ
यसर्थ, युगका पालुवा फेरिन्छन्
अजम्मरी बााचिरहन्छन् विभेद वृक्षहरु !
हरे ! अधर्मका खानी धर्मका शास्त्रहरु
विभेद वृक्षलाई बोधिवृक्ष भनी प्रचार गरिरहन्छ
‘वन्ली बुद्ध वाज नट वोर्न इन नेपाल
बट् डिस्क्रिमिनेसन वाज अल्सो वोर्न इन नेपाल’
टुम् छ्या ! टुम् छ्या !
मट्टीतेलका खाली टिन ठटाएर
खलंगामा लाखेनाच चलेको छ
बेहोसीमा इन्द्रजात्राहरु निस्केको बेला
युगीन अघोरीहरु गिद्ध विस्थापन गरी
नवराजका मासुहरु लुछिरहेछन्
धैर्यधारण गर आमाहरु !
पर्ख आमाहरु !
तिम्रा आँसुका अविराम भेरीहरुमा नुहाएर
युगयुग अकालमा मर्न अभिशप्त नवराजहरुबाट
नवराजहरु जन्मिरहनेछन्
नवराजहरु हुर्किरहनेछन्
नवराजहरु नजन्मिए
नवराजहरुलाई आमाहरुले नजन्माए
कसरी नवदेशको जन्म हुन्छ र
जाजरकोटका आमाहरु ?
प्रकाशित : असार ४, २०७९ ०९:२३