जाजरकोटका आमाहरु

सरुभक्त

पोल्टाबाट खसेका घामहरु
पाठेघरका क्रन्दनमा लतपतिएका छन्
सपनाका खेतबारीमा बज्र परेर
हराएका छन् सपनाहरु

जाजरकोटका आमाहरु

मातृपीडाका गणितहरु नाप्ने मिटर

कुन देवताका प्रयोगशालाका प्रविष्ट छ ?

देव– प्रयोगशाला : रासायनिक विवर्तन

थर्मस फ्लासभरि मातृपीडाका रङहरु

पोजेटिभ छन् कि नेगेटिभ ?


वन्सेन वर्नरमा ग्याँसीय आगो बलेका छन्

कि आमाका आर्तनादहरु ?

लाफिङ ग्याँस सुँघेर हाँस्न पल्केका कथित देवताहरु

बयान बक्स होस् !


उभिएर हिउँचुलीमाथि

बाउन्ने मनहरु कहाँ अग्लिन्छन् ?

हेर ! समय जाँतोको ढाड भाँचेर

विभेदका धारिला दाँतहरु उम्रिरहेका छन्


जहाँ खानका लागि विषाक्त च्याउ खेती हुन्छ

लिलामघर : स्वास्थ्यको मूल्य कति पर्छ ?


गरिब छौ, भुत्रोको न्याय !

निमुखा छौ, भुत्रोको न्याय !

निर्बल छौ, भुत्रोको न्याय !


काला सुनका कोट भिरेका न्यायमूर्तिहरु

इँजार र दौराका तुनामा सुन बेर्छन्

न्याय कसरी बेच्नुपर्छ

न्याय बजारका बिक्रेतालाई थाहा हुन्छ


न्यायको सेयर बजारमा रित्तो गोजीको के काम ?

न्यायको सुन बजारमा फाटेको टोपीको के काम ?

न्यायको मुद्रा बजारमा मैलिएका गुन्युचोलीको के काम ?


ओ आमाहरु !

वैश्विक उक्ष्णताको ताण्डवीय देशमा

काला पहाडहरुमा परिवर्तित हिमालहरुलाई हेर

अनि धुरूधुरू आँसु बगाऊ

भेरीमा डोबहरु मात्र शेष नरहून् भन्नका लागि !


धुरूधुरू नरोऊ भन्ने धर्मराजहरुले सुनून्

आमाहरु नरोए पाठेघरबाट खोला बग्दैनन्

झरना झर्दैनन्, मूल फुट्दैनन्


पाद टिप्पणी :

बालुवाटारले आश्वासन दिन्छ, न्याय दिँदैन

सिंहदरबारले आश्वासन दिन्छ, न्याय दिँदैन


आँखामा पट्टी बाँधेको गान्धारी युग महात्मा :

नवराजहरुलाई मारेर भ्यालेन्टाइन–डे मनाउन व्याकुल छ

आमाका कोखबाट जन्मेका बलात्कारी पुस्ताहरु

बलात्कारविरोधी नारा सुनी मदनोत्सव मनाउँदै छन्


सद्दे आाखाका ‘अन्धा’ हरु

घुम्ने कुर्सीमाथि नघुमी बसेका छन्

समीकरण छ– ‘प्रेम जघन्य अपराध हो !’


ओ अपराधी छोराका आमाहरु !

किन राजधानी धाउँछौ

बदलामा आफ्नै आासुका वेणी, त्रिवेणी, सहस्र वेणीतर्फ लाग

छोराहरुका अपराध प्रायश्चित्त गर्न ।


रजगज – डाँकाहरुको देशमा

नैतिकताका गायत्री मन्त्र

जीव विज्ञानका हराएका कडीझैँ विलुप्त छन्

कुर्सीमा बस्नेहरुलाई धेरै ‘भ्रष्टाचारी ! भ्रष्टाचारी !’ नफलाक

तिमीलाई सदाचारको शिक्षा दिन ती सक्षम छन्


सृष्टि स्रष्टाको कि विभेद – बनियाँहरुको ?

अनुत्तरित प्रश्न यथावत् छ

यसर्थ, युगका पालुवा फेरिन्छन्

अजम्मरी बााचिरहन्छन् विभेद वृक्षहरु !


हरे ! अधर्मका खानी धर्मका शास्त्रहरु

विभेद वृक्षलाई बोधिवृक्ष भनी प्रचार गरिरहन्छ

‘वन्ली बुद्ध वाज नट वोर्न इन नेपाल

बट् डिस्क्रिमिनेसन वाज अल्सो वोर्न इन नेपाल’


टुम् छ्या ! टुम् छ्या !

मट्टीतेलका खाली टिन ठटाएर

खलंगामा लाखेनाच चलेको छ

बेहोसीमा इन्द्रजात्राहरु निस्केको बेला

युगीन अघोरीहरु गिद्ध विस्थापन गरी

नवराजका मासुहरु लुछिरहेछन्


धैर्यधारण गर आमाहरु !

पर्ख आमाहरु !

तिम्रा आँसुका अविराम भेरीहरुमा नुहाएर

युगयुग अकालमा मर्न अभिशप्त नवराजहरुबाट

नवराजहरु जन्मिरहनेछन्

नवराजहरु हुर्किरहनेछन्


नवराजहरु नजन्मिए

नवराजहरुलाई आमाहरुले नजन्माए

कसरी नवदेशको जन्म हुन्छ र

जाजरकोटका आमाहरु ?

प्रकाशित : असार ४, २०७९ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?