कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एच–पपको कर्कश लहर

भारतमा बढ्दो ‘इस्लामोफोबिया’ का पछाडि हिन्दु दक्षिणपन्थी कलाकारले बनाउने घृणामिश्रित गीतको ठूलो भूमिका छ । यी गायक–गायिकाको सञ्जाल ठूलै भइसकेको छ ।
अब मान्छे उचाल्न नेता चाहिँदैन । भक्तिभाव जगाउने गीत बनाए पुग्छ, गेरु वस्त्र लगाएर हिंसा भड्काउने कलाकार तैनाथ गरे पुग्छ ।
सजना बराल

एच–पप अर्थात् ‘हिन्दुत्व–पप’ (खासमा भजन) । यसलाई ‘भारतीय संगीतको नयाँ विधा’ भन्ने कि के ? किनभने विधा जसरी नै, तर डरलाग्दो किसिमले स्थापित हुँदै आएको छ । यसअन्तर्गतका गीतहरू विशेषतः मुसलमान समुदायद्वेषी हुन्छन् । सो समुदायप्रति घृणा फैलाउने, उनीहरूको ठाडो अपमान गर्ने र देशै छोडेर पाकिस्तान जाओ भन्नेसम्मका शब्द तथा आशय समेटिएका हुन्छन् गीतमा । हिन्दु धर्म र अहिलेको सत्ताधारी दल तथा यसका नेता/कार्यकर्ताहरूको भने गीतमा अपार महिमा गाइन्छ ।

एच–पपको कर्कश लहर

एच–पप विधाका गीतहरूको भिडियो युट्युब, टिकटक, फेसबुकहरूमा जताततै राखिएका छन् । तिनमा लाखौं भ्युज छन् । ह्वाट्स एप समूहमा हुरहुरी फवार्ड हुन्छन् । गायक–गायिकाहरूले मासिक लाखौं भारतीय रुपैयाँ आम्दानी गर्छन् । स्टेज कार्यक्रमका लागि तिनको देश दौडाहा चल्छ । सुन्तला रङ वा गेरु वस्त्र भिरेर ती नाच्दै गाउँछन्, ‘इनसान नही हो सालो, हो तुम कसाई/बहुत हो चुका हिन्दु–मुस्लिम भाइ–भाइ ।’ यसको अर्थ– तिमीहरू ‘मान्छे होइनौ, कसाई हौ/हिन्दु र मुसलमानलाई दाजु–भाइ भनेको धेरै भयो अब ।’

अन्य केही गीतका बोल र शब्दहरू यस्ता छन् :

– अगर हिन्दुस्तान मे रेहना होगा, तो वन्दे मातरम केहना होगा... (भारतमा बस्नु छ भने मातृभूमिको गुणगान गाउनुपर्छ) ।

– जो नाबोले जय श्रीराम, फिर तो उसको कब्रिस्तान... (जसले जय श्रीराम भन्दैन, उसलाई चिहानघारीमा पुर्‍याउनुपर्छ) ।

– तलवारे लेहेराओ और घर से बाहर आओ, लभ–जिहाद फैलानेवालोका द इन्ड कर डालो... (तरबार बोकर घरबाहिर आऊ, लभ–जिहाद फैलाउनेलाई मारिदेऊ) ।

– हिन्दुका हे हिन्दुस्तान, मुस्लिम जाओ पाकिस्तान... (भारत हिन्दुहरूको हो, मुसलमानहरू पाकिस्तान जाऊ) ।

(नोट : यी शब्दहरू जस्ताको तस्तै लेखेर हामीले घृणामिश्रित गीतको प्रचार गर्न वा सम्बन्धित समुदायलाई थप पीडा दिन खोजेका होइनौं ।)

घृणाभावले भरिएको समकालीन भारतीय राजनीतिबाट प्रभावित निश्चित सम्प्रदायद्वेषी यस्ता ‘भजन’ हरू भारतको आम संस्कृतिको नयाँ हिस्सा बनेका छन् । यो असाध्यै चिन्ताको विषय हो, छिमेकीका नाताले हाम्रा लागि पनि । उग्र हिन्दुवादीहरूले आयोजना गर्ने र्‍याली तथा सभाहरूमा यी गीत मुसलमान समुदायविरुद्ध गाउने गरिएको छ । हिन्दुहरूका चाडपर्वमा समेत मुसलमानविरोधी गीत बजाएर नाच्ने/गाउने गरिन्छ । यसले गर्दा हिन्दु र मुसलमानबीच बेलाबखत झडप हुने गरेका छन् । त्यसमा धेरै क्षति मुसलमानकै हुन्छ ।

गत चैत २७ गते (राम नवमीका दिन) मध्यप्रदेशको खरगोन सहरमा मुसलमानविरोधी गीत लाउडस्पिकरमा घन्काउँदै उग्र हिन्दुहरूको एउटा टोली मुसलमान बस्ती हुँदै ‘शोभायात्रा’ मा निस्किएको थियो । हातमा तरबार र लठ्ठी बोकेर मुसलमानविरोधी गीतमा नाच्दै हिँडेका उग्र हिन्दुवादी र अपमानित महसुस गरेका टोलका मुसलमानले एकअर्कालाई ढुंगा हान्न थाले । पत्थरबाजी सुरु भएपछि माहोल असाध्यै तनावग्रस्त बन्यो ।

खरगोनको मस्जिद, मुसलमानका घर, पसल र सवारीसाधनमा आगो लगाइयो । प्रहरी र आन्दोलनकारी घाइते भए । एक व्यक्तिको मृत्युसमेत भयो । सहरमा कर्फ्यु जारी गरियो । रातारात दर्जनौं मुसलमान परिवार त्यस ठाउँबाट विस्थापित भए । ‘एकै दिनमा हाम्रो जिन्दगी तहसनहस भयो,’ मस्जिदका एक अधिकारी, हिदयतुल्लाह मन्सुरीले ‘लस एन्जलस टाइम्स’ सँग भनेका छन् ।

भारतमा बढ्दो इस्लामोफोबिया (मुस्लिमविरुद्ध पूर्वाग्रह) का पछाडि हिन्दु दक्षिणपन्थी कलाकारहरूले बनाउने घृणामिश्रित, हिंसा प्रोत्साहन गर्ने गीत (हेट सङ) र तिनका म्युजिक भिडियोको पनि ठूलो भूमिका छ । यस्ता गीतसंगीत निर्माण गर्ने कलाकारको पनि सञ्जाल ठूलै भइसकेको छ । चुनाव, अधिवेशन, सभा–समारोहजस्ता राजनीतिक कार्यक्रमका बेला होस् वा विभेदकारी कानुनहरू ल्याइँदा होस् वा प्रतिपक्ष तथा सर्वसाधारणले विरोध जनाएका बेला होस्, यी कलाकारहरू फटाफट भजन शैलीका सत्तासमर्थक गीत रिलिज गरिहाल्छन् ।

केही दिनअघि भारतीय जनता पार्टी (भाजपा) की तत्कालीन प्रवक्ता नुपुर शर्मा र निष्कासित नेता नवीनकुमार जिन्दलले पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेका थिए । तिनको भिडियो भाइरल बनेपछि मुस्लिम देशहरूले विरोध गरे । तिनमा कतार, इरान, कुवेत, इन्डोनेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स, ओमन, बहराइन, अफगानिस्तान, पाकिस्तान गरी करिब १५ वटा देश सामेल थिए । अलकायदाले भारतमा आत्मघाती हमला गर्ने चेतावनीसमेत दियो ।

बाध्यतावश भाजपाले नुपुर र नवीनजस्ता उच्चपदस्थ नेतालाई पहिलो पटक पार्टीको सबै पदबाट हटायो । कतार, यूएई, साउदी अबरजस्ता देशले विरोध नगरेका भए भाजपाले नुपुर र नवीनविरुद्ध पक्कै कुनै कदम चाल्ने थिएन । यी देशसँग भारत तेललगायत सामग्री आयातमा निर्भर छ । तसर्थ सम्बन्ध जोगाउन भए पनि मोदीले पार्टी प्रवक्ता नुपुरलाई पदबाट हटाएको भारतीय राजनीतिक विश्लेषकरू बताउँछन् । यसअघि यस्ता घटनामा पार्टीले कुनै कदम चाल्ने वा वास्ता गर्ने गरेको थिएन । मुस्लिम देशहरूले पनि भारतको आन्तरिक मामिला ठानेर प्रतिक्रिया जनाउने गरेका थिएनन् । आपत्तिजनक टिप्पणी गरेर नुपुर र नवीन निष्कासित भइरहँदा गायक प्रेम कृष्णवंशीले ‘खेल तुम्हारे बढे निराले, हम्ने भी बढी खेलेँ हे, नुपुर नवीन नहीँ अकेले, संग महादेव के चेले हे...’ गीत तयार पारेर म्युजिक भिडियोसहित युट्युबमा राखे । त्यसको अघिल्लो दिन (५ जुन) मा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जन्मदिनमा ‘ह्याप्पी बड्डे टु यु, जियो हजारों साल आप महाराज...’ बोलको गीत रिलिज गरेका थिए । युट्युबमा रहेको यसको भिडियोमा ‘शुभकामना र आई लभ यु योगी बाबा’ जस्ता कमेन्ट आएका छन् ।

भारतको ‘क्विन्ट मिडिया’ ले सन् २०१९ मा बनाएको एक भिडियो रिपोर्टअनुसार, कृष्णवंशी महिनामा ५ देखि ७ वटा यस्ता गीतहरू सार्वजनिक गर्छन् । उनी पहिले भोजपुरी गीत गाउँथे । कम्प्युटर साइन्स इन्जिनियरसमेत रहेका उनी हिजोआज हिन्दु समुदाय र धार्मिक कार्यक्रममा हिन्दुवादी गीत गाउँछन् ।

अर्की उग्र हिन्दुवादी गायिका छिन् लक्ष्मी दुबे । पहिले–पहिले हिन्दु–मुस्लिम भ्रातृत्वसम्बन्धी गीत गाउने उनी सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपश्चात् मुस्लिमविरोधी गीत गाउन थालिन् । ‘म कुनै पार्टीसँग आबद्ध छैन, तर हिन्दुका लागि गरेको सबै कुराका लागि म मोदीलाई धन्यवाद दिन्छु,’ उनले अल जजिरासँग भनेकी छन्, ‘म मुसलमानविरुद्ध गीत गाउँदिनँ । भारतको नुन खाएर पाकिस्तानलाई समर्थन गर्नेका विरुद्ध गाउँछु ।’ दुबेको युट्युब च्यानलमा करिब ३ लाख फलोअर छन् । कुल १ सय २० वटा भिडियो अपलोड गरिएको छ । करिब ३ करोड भ्युज छ । उनी आफ्ना गीतले हिन्दु समुदायमा सचेतना फैलाउने बताउँछिन् । ‘हुडी र ट्राउजर लगाउने किशोरकिशोरीहरू अचेल गेरु वस्त्र लगाउँछन्,’ उनी भन्छिन्, ‘हिन्दुवादका लागि उनीहरू त्याग गर्न तयार छन् । म सबै हिन्दुलाई जम्मा गरेर ठूलो सैन्य दल निर्माण गर्न चाहन्छु ।’

उग्र राष्ट्रवादी र हिन्दुवादी गीत बनाएर चर्चित बनेका अन्य कलाकार हुन्, सन्दीप आचार्य, सञ्जय राना, सञ्जय फैजाबादी, पवन वर्मालगायत । उनीहरू हिन्दु राष्ट्रवादलाई प्रश्रय दिन्छन् । पाकिस्तान र चीनविरुद्ध गाउँछन् । विवादित भूमि कश्मीरसम्बन्धी आफ्नो गीतमा सञ्जय लय हाल्छन्, ‘कश्मीर हे जान हमारी नाकर नियत खोटी, पाकिस्तानमे आकर पिटुँ आजाएगी पटी... ।’

भारतमा २० करोडभन्दा धेरै मुस्लिम जनसंख्या छ । करिब साढे १ अर्ब जनसंख्यामध्ये १४ प्रतिशत मुस्लिम छन् । इन्डोनेसिया र पाकिस्तानपछि मुस्लिमको जनघनत्व धेरै भएको तेस्रो ठूलो देश हो भारत । तर, दुबेजस्ता कलाकार भारतलाई हिन्दु राज्य घोषणा गर्नुपर्ने बताउँछन् । उनीहरूका गीतले देशभर मुस्लिमविरोधी भावना फैलाउन प्रस्टै मद्दत गरिरहेका छन् । मन्सुरीले ‘लस एन्जलस टाइम्स’ सँग भनेका छन्, ‘यस्ता गीत रोक्न कसैले वास्ता गरेको छैन ।’

खरगोनमा मुस्लिमविरोधी गीत कसले बजाउन सुरु गर्‍यो, प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । उग्र मुसलमानविरोधी शब्द समेटिएका हिन्दुवादी भक्ती गीतहरू सामाजिक सञ्जालभरि छरपस्टै छन् । मुस्लिमहरूको परिकार, लवाइ, अन्तरजातीय विवाह सबैप्रति गीतमार्फत आलोचना र घृणा व्यक्त गरिन्छ । यसबारे प्रहरी, न्यायालय, नेता, सांसद कोही बोलेका छैनन् । केही विज्ञले भने घृणा फैलाउने यस्ता रचनामाथि कानुनै बनाएर यथाशीघ्र लागू गर्नुपर्ने बेला आएको बताएका छन् ।

केही समयअघि काठमाडौं आएका भारतका वरिष्ठ पत्रकार रवीश कुमारले भारतको आईटी सेलबारे डरलाग्दो विवरण सुनाएका थिए । उनका अनुसार, त्यहाँ राजनीतिक दलका आ–आफ्ना आईटी फार्महरू छन् । केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ले सबैभन्दा धेरै आईटी सेल खडा गरेको छ । र, लाखौंलाई रोजगारी दिएको छ । यिनै आईटी सेलले पार्टीको प्रचार, विपक्षीको आलोचना र मुस्लिमजस्ता सीमान्तकृत समुदायविरुद्ध घृणा फैलाउन ‘कलाकार’ उत्पादन गर्छन् ।

रवीशले भनेका थिए, ‘बजारमा प्रवेश गर्दा उनीहरू सुरुमा समाजलाई लोकतान्त्रिक बनाउन आएका हौं भन्छन् । त्यसपछि कन्टेन्ट क्रिएटर, मिम क्रिएटरको रूपमा मानिसहरूलाई रोजगारी र आकर्षक तलब दिन्छन् । कर्पोरेट कार्यालय ठानेर मानिसहरू र असल पत्रकारसमेत तिनकोमा जागिर खान जान्छन् । र, अन्त्यमा ट्रोल आर्मीमा परिणत हुन्छन् । भारतमा यस्तो भएको छ, नेपालमा नहोला भन्न सकिन्न ।’ जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसर ब्रह्म प्रकाशका अनुसार, घृणा भरिएका गीतले भारतको धार्मिक हिंसाको शैली परिवर्तन गरिदिएको छ । उनी भन्छन्, ‘अब मान्छे उचाल्न नेता चाहिँदैन । भक्तिभाव जगाउने गीत बनाए पुग्छ, गेरु वस्त्र लगाएर हिंसा भड्काउने कलाकार तैनाथ गरे पुग्छ ।’

भारतमा आईटी सेल यति शक्तिशाली भइसकेको छ, डिजिटल स्पेसमा एउटा गीत बन्द भए सेलले तुरुन्तै अर्को अपलोड गरिहाल्छ । एउटा प्लाटफर्ममा गीत हटाए अर्कोमा आउँछ । यस्ता कम्पनी स्थापित हुन समय नलाग्ने र एक पटक स्थापित भएपछि हटाउन मुस्किल पर्ने पत्रकार रवीश कुमारको भनाइ थियो । ‘यी रातारात खडा हुन्छन्,’ उनी भन्थे, ‘खडा हुनै नदिन तपाईंहरू बेलैमा सतर्क हुनुहोस् ।’

भारतमा जे हुन्छ, ढिलो–चाँडो हामीकहाँ पनि त्यो दोहोरिने गरेको छ । छिमेकमा उपद्रो हुँदा त्यसको प्रभाव हामीलाई पर्ने गरेकै छ । राम्रो के छ भने हामीकहाँ अहिलेसम्म संगठित रूपमा आईटी सेलहरू खडा भइसकेका छैनन् । रवीशका अनुसार, बजारै सानो देखेर पनि तिनले आँखा नलगाएका हुन सक्छन् । तर, ‘स्कोप’ देखेमा तिनले जातीय, धार्मिक, साम्प्रदायिक विभाजन ल्याउन कति पनि समय लगाउँदैनन् । समाज बिथोल्न तिनले गीत–संगीत, फिल्म, मिम, भाषण, कविता, उपन्यास हरेक विधाको उपयोग गर्छन् । त्यो सबै हुन नदिन हामीले भारतबाट पाठ सिक्नुपर्छ । होइन भने हामीकहाँ पनि गीत–संगीतका उग्रवादी नयाँ विधाहरू थपिनेछन् । र, त्यसअन्तर्गतका रचना समाज र समुदायका लागि असाध्यै कर्कश साबित हुनेछन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : असार ४, २०७९ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?