१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘बरु विज्ञापन कलात्मक छन्’

कवि, अनुवादक चन्द्र गुरूङको कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ हालै प्रकाशित भएको छ । उनले थुप्रै अंग्रेजी, अरबिक तथा हिन्दी कविताको नेपाली अनुवाद गरेका छन् ।

‘बरु विज्ञापन कलात्मक छन्’

यसअघि उनका कवितासंग्रह ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ (विसं २०६४) र अंग्र्रेजी अनुवाद ‘माई फादर्स फेस’ (सन् २०२०) प्रकाशित छन् । कवि चन्द्र गुरुङसँग किताब–वार्ता :

पढ्नु केका लागि होला ?

किताबभित्रको सुन्दर संसारसम्म पुग्ने यात्राको थालनी पढाइबाट मात्रै सम्भव हुन्छ । वास्तवमा पढाइ एउटा कला हो । पढ्नु आफैंभित्रको दुनियाँमा पस्नु हो ।

हालै पढेको कुनै किताब ?

हालैका यी बर्खाका दिनमा मैले लेखक भूपिनको ‘मैदारो’ उपन्यास पढें । उपन्यास मार्मिक रहेछ । ‘मैदारो’ मा नेपाली समाजमा लामो समयदेखि जरा गाडेर बसेको छुवाछुतको समस्याले दलित समुदायले भोगेको पीडा लेखिएको छ ।

किताब असाध्यै मन पर्‍यो भने त्यसलाई के गर्नुहुन्छ ?

मन परे साथीहरूलाई पढ्न सिफारिस गर्छु । प्रायः नजिकका साथीलाई त्यही किताब किनेर उपहार दिन्छु । किताब जत्तिको सुन्दर र बहुमूल्य कोसेली मलाई अरू केही लाग्दैन ।

नेपाली साहित्मा प्रकाशित पछिल्ला किताबमाथि तपाईंको खास टिप्पणी सुनाउनुस् न !

भाषाको जादु र विषयवस्तुको गहनता, साथै यी दुईको कलात्मक प्रस्तुति छैन भने साहित्यको कुनै पनि विधा उत्कृष्ट बन्न सक्दैन । थुप्रै नयाँ कृतिमा दृश्य वा घटनाहरूको सपाट वर्णन मात्रै पाइन्छ, यसरी स्तरीय साहित्य तयार हुन सक्दैन । झन् बजारलाई लक्ष्यमा राखेर लेखिएका पुस्तकहरू त पानीका फोकाहरूजस्तै हुन् । अहिलेका साहित्य कलात्मक छैनन् बरु समाचार र विज्ञापनहरू कलात्मक बन्दै गइरहेका छन् ।

किताब छान्ने कसरी ? तपाईंको अनुभव ?

किताब भान्साका लागि आलु–प्याज किनेजस्तो होइन रहेछ । र, किताब तरकारीझैँ कुहिएर जाने पनि होइन रहेछ । यसकारण मलाई नयाँ किताब किन्न कहिल्यै हतार रहन्न । साथीभाइबाट थाहा पाएर र रिभ्युहरू पढेर मात्रै किन्ने गरेको छु । म हतारमा कमसल किताब किनेर समय र पैसा बर्बाद गर्दिनँ ।

पठनले केलाई सघाउँछ ?

पुस्तक पठनले जीवनमा एउटा असल साथीलेझैँ खुसीहरू बढाइदिन्छ । मानिसको ज्ञानको दायरा फराकिलो पारिदिन्छ । पठनले संसार, समाज र वरिपरिको परिवेशतिर चिहाउने एउटा झ्याल खोलिदिन्छ ।

किताबले सबैथोक नजिकबाट नियाल्दै ती चीजको सौन्दर्य खोज्न सिकाउँछ, सुखदुःख अनुभव गर्न सिकाउँछ । यी सुखदुःखहरूलाई भाषाको सहयोगले शब्दहरूमा सुन्दर रूप दिन सिकाउँछ । पठनले हामीलाई जीवन र समाजसित जोड्दो रहेछ । जीवन र समाजलाई नजिकबाट हेर्न र बुझ्न सघाउँदो रहेछ ।

पढेमध्ये ‘बेस्ट बुक’ ?

धच गोतामेको उपन्यास ‘घामका पाइलाहरू’ । धचका पाइलाहरू मेरा लागि असाध्यै प्रिय छ । ती ‘पाइलाहरू’ पटक–पटक दोहोर्‍याइरहन्छु ।

हुर्कंदै गर्दा घर वा स्कुलमा कस्ताखाले किताब थिए ?

मेरो बाजे नरबहादर गुरुङले केही किताब जम्मा गरेर राखेको सम्झना छ । ती किताबहरू बाजेका लाहुरे साथीहरूले बिदामा आउँदा ल्याइदिएका थिए । धेरैजसो इतिहास, अनेक पौराणिक तथा धार्मिक किताबहरू थिए । बाजे प्रायः गाईबस्तुसित लेकतिरै गोठमा बस्नुहुन्थ्यो । कहिलेकाहीँ मात्रै घरमा आउनुहुन्थ्यो । म बाजेले जम्मा गरेका ती किताबहरू बाकसबाट झिकेर बीचका पाना च्यात्दै जहाज बनाएर उडाउँदै बेंसीमा स्कुल जाने गर्थें ।

किताब छान्न पूर्वअध्ययनले कत्तिको काम गर्छ ?

बजारमा थुप्रै किताब छन् । ती किताब महँगा पनि छन् । हतारमा किनेको गलत किताबले पैसा र समयको बर्बादी गर्छ । यसकारण किताब छान्न पूर्वअध्ययनले बहुत काम गर्छ । यसले पाठकलाई आफ्नो टेस्टको किताबसम्म पुग्न सहयोग गर्छ ।

प्रकाशित : असार ४, २०७९ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?