मैले रोजेँ, रुन र तिमीलाई माया गर्न- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मैले रोजेँ, रुन र तिमीलाई माया गर्न

याङको कल्पनामा काठमाडौं हावामा झुलिरहेको प्राचीन र सुन्दर सहर हो, जहाँ वाग्मती र विष्णुमती चोमोलोङ्माबाट पग्लिएर आएको पानीबाट पोषित छन् र यिनका पवित्र पानी पनि ईश्वरको आँसु र पसिनाझैं देखिन्छन् ।
याङका कविताहरू यस शताब्दीको शान्त र मौन प्रहरको खोजी गर्छन्, जहाँ अधिकांश मानिसहरू थाकेका छन्/र, घण्टीहरू बजिरहेका छन्/यौटा प्रतिध्वनि बोकेर चराहरूको छायामाथि ।’
युयुत्सु आरडी शर्मा

मलाई लाग्छ यो मेरा लागि गर्वको कुरा हो’, प्रख्यात चिनियाँ लेखक याङ सिङसियाङ भन्छन्, ‘कि मेरो कविता म नेपाल पुग्नुअघि नै पुगिसकेका छन् ।’मलाई पठाइएको याङका कविताको पाण्डुलिपिमा रहेको उनको छोटो प्राक्कथन पढ्दा म अति आश्चर्यचकित भएको थिएँ । प्राक्कथनमा उनी थप्छन्, ‘हरेक कवि, कुनै अपवादबिना, भाषा मागेर मात्र बाँच्न बाध्य हुन्छ ।’

रेनमेन विश्वविद्यालय, बेजिङबाट पठाइएको याङको कवितासंग्रहको अंग्रेजी पाण्डुलिपि पढ्दा म निकै आन्दोलित भएको थिएँ । त्यसले मलाई आधुनिक चिनियाँ ‘मुड’ को नाडी समात्न सहयोग गरेजस्तो लागेको थियो । त्यसका साथै आधुनिक नेपाली कविताको उग्र अनुहारको पुनर्मूल्यांकन गर्न पनि सहयोग गरेको थियो । तथाकथित परम्परागत ढर्राले सर्वहाराको श्रमिक जीवनको संघर्ष र विजयको गाथाको गुणगानको ठीक विपरीत विश्वकै लागि सबथोक निर्माण गरिरहेको महाशक्ति चीनको भित्री संसारले खोजेको यौटा मौन र चकमन्न क्षणको खोजी र त्यसको स्तुतिगान याङका कवितामा देख्न सकिन्छ । यसर्थ याङका कविताले आधुनिक चीनको पृथक्, तर प्रखर प्रस्तुति गरेझैं मलाई लागेको छ ।

याङका कविताहरू यस शताब्दीको शान्त र मौन प्रहरको खोजी गर्छन्, जहाँ ‘अधिकांश मानिसहरू थाकेका छन्/र, घण्टीहरू बजिरहेका छन्/यौटा प्रतिध्वनि बोकेर चराहरूको छायामाथि ।’

एउटा हरियो रूखको झलकले उनलाई दुःखी बनाउँछ र ‘म किन रूख बन्न सकिन’ भनेर विलाप गर्छन् । पैँतीस वर्षसम्म बाँचेको समय उनलाई धेरै लाग्छ, उनलाई लाग्छ– उनीसित ‘ठूलो स्वरमा कसैलाई सराप्ने हिम्मत छैन/ न त हल्लाखल्ला गरी प्रेम गर्न सक्ने आँट ।’ यौटा शालीन वसन्त रात्रिमा उनी एक्लै सुराको ग्लास पिउँदै संघर्षरत देखिन्छन्, ‘निर्माण गर्न मेवाहरूको यौटा दुर्ग’, जसभित्र उनले सम्पूर्ण फरकहरूलाई बस्ने सहमति दिनेछन् ।

उनी देब्रे खुट्टाहरूले धार्मिक ग्रन्थहरू पढ्छन् र आफूलाई एउटा एक्लिएको बूढो मानिस ठान्छन्, यति बूढो कि उनीसित कुरा गर्ने कोही मानिस छैन, जसले केही गर्न सक्दैन रक्सी खानेबाहेक र बादलहरू गन्नुबाहेक । झ्यालको डिलमा बसिरहेको आफ्नो बिरालोलाई कफीका गेडाहरू खुवाउनेबाहेक । अर्को एउटा कवितामा उनी शब्दहरूसित ब्लफ खेल्ने कुरा गर्छन् र आफूलाई ‘यौटा मृत बाघ देख्छन्/अतीतका भुवाहरू गनिरहेको/धूलो र जुम्राले भरिएको ।’ उनी सराप्छन् ती सबैलाई, जसले मानिसहरूलाई पिँजडाको सुगासरी चुप लगाउने प्रयास गरेका छन् ।

याङले जीवन, वृद्धकाल र त्यससँग सम्बन्धित चिन्तालाई यौटा चामत्कारिक पाराले पाठकसमक्ष राखेका छन् । उनी उनको ‘कन्चटमा देखेका सेता कपाललाई समयको खेलौना’ ठान्छन् । याङ लोखर्केहरूको उपनाम खोज्छन् र सल्लाका रूखहरूको गोत्र पत्ता लगाउने प्रयास गर्छन् । उनी बतासमा उडिरहेका कीराहरूलाई अन्तरपुस्ताहरूको विस्मृत मित्रहरू ठान्छन् र यस ब्रह्माण्डको लम्बाइ त्यसैले नाप्छन् । उनी परम आनन्द भेट्छन् एउटा सेतो कमिजमा, जो वसन्त यामका लागि पर्याप्त छ र कालो छातामा गृष्म ऋतु धान्ने क्षमता राख्छ ।

‘मेरो एक मात्र चाहना’, याङ भन्छन्, ‘अरू केही होइन तिम्रो असल प्रेम हो ।’ याङको ‘तिमी’ कुनै प्रेमका वा व्यक्तिविशेष नभएर सम्पूर्ण विश्व रहेछ । यस अर्थमा याङको तिमीको परिभाषाभित्र नेपाल पनि पर्छ । मैले पाएको याङको कविताको संक्षिप्त प्राक्कथानमा उनले काठमाडौँ आउने काल्पनिक यात्राको विवरण पनि राखेका छन् । कहिल्यै नेपाल नआए पनि उनको कल्पनाको संसारमा उनी काठमाडौँ पुग्ने यात्राको कुरा विस्तारमा गर्छन् । एउटा एक्सप्रेस ट्रेन समातेर सिज्याहुआङ, ताइयोन, इनचुवान, ल्यानचाओ र सिनिङ हुँदै ल्हासा स्टेसन पुग्छन् र त्यहाँबाट बस समातेर अर्को कल्पनाको उडान लिन्छन्– डाक्जे, मेड्रो गोंगकार र गोङ्पो क्यादमा र निङ्ची, मिलिन र टिङ्ग्री हुँदै अन्तमा चोमोलुङ्मा (सगरमाथा) ले आफ्नो अनुहार देखाएको उल्लेख गर्छन् । हाम्रा कवि कालिदासको पात्रझैं यात्रा गर्दै उनी सगरमाथालई हिमालको तेस्रो राजकुमारीको उपाधि दिन्छन् । त्यसपछि काठमाडौँ र बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने कुरा गर्छन् ।

नेपाल पुग्ने यस्ता काल्पनिक उडानहरू उनी हजारौंचोटि यस जीवनकालमा लिएको उल्लेख गर्छन् । उनी काठमाडौँलाई कल्पना हावामा लहरिरहेको यौटा स्वर्गसरी सहरका रूपमा लिन्छन् । चर्चित लेखक कालमिनोको इटालो काल्भिनो अदृश्य सहरहरूको पारामा यो सहर यति विशिष्ट छ कि विश्वप्रसिद्ध मार्को पोलोले पनि यहाँ पुग्न नसकेको उनको भनाइ छ । उनी काठमाडौँप्रतिको आकर्षणको तुलना प्रसिद्ध अर्जेन्टिनी लेखक जर्ज लुई बोर्खेजसित गर्छन्, जो प्राचीन चीनबाट निकै प्रभावित थिए भनिन्छ । तर, उनी कहिल्यै चीन पुग्न सकेका थिएनन् । चीनको ज्यादै नजिक जापान पुगेर त्यहाँ भेटिएको चिनियाँ शिलालेख देख्दा अति प्रसन्न भएका थिए र आफ्ना औंलाहरूले निकै बेर त्यसमा कुँदिएका चिनियाँ लिपिहरू सुमसुम्याइरहेका थिए ।

त्यसैगरी याङको कल्पनामा काठमाडौँ हावामा झुलिरहेको प्राचीन र सुन्दर सहर हो, जहाँ वाग्मती र विष्णुमती चोमोलोङ्माबाट पग्लिएर आएको पानीबाट पोषित छन् र यिनका पवित्र पानी पनि ईश्वरको आँसु र पसिनाझैं देखिन्छन् । याङ आफूलाई यौटा भिक्षु सम्झेर काठमाडौँ, भादगाउँ र पोखराको भूमिमा लम्पसार भई ईश्वरलाई प्रणाम गरिरहेको देख्छन् । याङ उनका नेपाली दाजुभाइसित महान् धरणी सूत्रको उच्चारण गरिरहेको सुन्दा आफ्नै जीवनको सत्य र जादूगरको अनुभूति आफ्नो प्रार्थना र काल्पनिक यात्रामा गर्छन् ।

यो सब पढेपछि म उठें । मलाई आफू एउटा स्वप्नबाट ब्युँझिएझैं लाग्यो । ह्वाइट लोटस बुक सपअगाडि वाग्मती पुलमाथि बगिरहेको भयावह मोटरहरूको भीड देख्दा ती मलाई आकाशबाट खसेझैं लाग्यो । बाहिर रेलिङमा उभिएर धूवाँ, धूलो र ट्राफिक हल्लाले रन्थनिएको मेरो अनुहार कस्तो देखिएको होला भन्ने मैले कल्पना गर्न सकिनँ । मेरा आँखा रसाएका थिए ।

मैले ईश्वरले याङलाई काल्पनिक उडानमा मात्र सीमित राखेकामा धन्यवाद व्यक्त गरें र उनको पाण्डुलिपिको शीर्षक एकचोटि ठूलो स्वरमा कराएँ । त्यो स्वरमा काठमाडौँको भयावह अजिंगरझैंँ देखिने अश्लील ट्राफिकको भीडमाथि मैले फालिदिएको थिएँ उनको कविता– मैले रोजेँ रुन र तिमीलाई माया गर्न ।

याङका सात कविता

अनि धेरैजना रोए

अनि धेरैजना रोए

धेरै नै

कतिले आँसु खसाले प्रेमका लागि

कति रोएको त कारण नै थाहा भएन

आँसुले भिजेकाहरू सुन्दर हुन्छन्

कहिलेकाहीँ म पनि मजासित रोएर

मेरो मुटुलाई यौटा चट्टानमा परिणत गर्न चाहन्छु

छाडेर मेरा आँसुहरूलाई तिनका उचित ठाउँमा

म यस संसारलाई बिदाइको चुम्बन गर्न चाहिरहेछु ।

०००

मैले रोजेंँ रुन र तिमीलाई माया गर्न

पानीमा डुब्नेहरू पौडिन रोज्छन्

भगौडाहरू रोज्छन् उम्कने बाटाहरू

पुलिस रोज्छ बर्दी र आँखामा छर्ने पिरो धूलो

हुस्सुले रोज्छ बेजिङको आकाशमा रुमल्लिइरहन

मानिसहरू रोज्छन् मौनता र मखुण्डो

फेरिइरहने वंशको सट्टा समयले रोज्छ

यौटा स्थायी शासक

अन्धकारले रोज्छ निल्न सबथोक

आफ्नो छायामा पहिल्यै विलय भइसकेको सबथोक

मेरी मायालु यहाँ यस अन्धकारमा

मैले रोजें रुन र तिमीलाई माया गर्न

०००

एउटा शताब्दीका लागि

धेरैजसो मानिसहरू थकित छन्, मलाई थाहा छ

घण्टको लामो नाद अझै बजिरहेको छ

यसै संसारमा म सुन्छु यसको प्रतिध्वनि

माथिबाट छानिएर आएको एउटा चराको छाया


यसलाई असफलता भन्न सकिन्न

न त आम मानिसहरूले झैं खुसियाली मनाउन सक्थ्यौँ

हामीहरू यहीं नै रहनुपर्छ

माथि बादलहरूलाई हेर्दै र हावा बहेको सुन्दै ।

०००

बुद्ध, कृपया मलाई लैजानुहोस्

एक्लो ब्युँझँदै, म संगीत बजाउँछु

तलतिर म झुक्छु, मेरा आँसुहरू पोखाउँदै

चराहरू मलाई तिम्रो सद्भावना पठाउँछन्

यौटाले सोध्छ म किन रुन्छु ?


एक्लो ब्युँझँदै, म बुद्धलाई सम्झन्छु

म तल झुक्छु, मेरा आँसुहरू झरिरहन्छन्


चराहरू आँसु खसाल्छन् मेरो छेउ

यौटीले मलाई उसका पखेटाहरूमा अडेस लगाउन दिन्छे


एक्लै पल्टिरहँदा, हे बुद्ध

मलाई लैजान भनिदिनू चराहरूलाई ।

०००

म ग्रन्थहरू पढ्छु देब्रे खुट्टाले

म ग्रन्थहरू पढ्छु देब्रे खुट्टाले

बुद्ध मेरा निम्ति काँध थाप्दैन

म ग्रन्थहरू पढ्छु दाहिने खुट्टाले

बुद्ध यौटा आत्मीय मुस्कानद्वारा मलाई अभिनन्दन गर्छन्

किन, देब्रो खुट्टा र दाहिने खुट्टा यति फरक ?


बुद्ध यसो भन्छन्

देब्रे अथवा दाहिने, सही अथवा गलत

सही सही नै हुन्छ

गलत सधैं गलतै हुन्छ भन्ने छैन


बुद्ध यसो भन्छन्

यसरी नै चल्छ संसारको चलन

०००

एक समुद्री सिपी

समुद्री तटमा भेटिएको एउटा सिपी

एउटा सिपी मौनताको

वेगवान छालहरूले निख्खर पारेको


एकपछि अर्को छालद्वारा अंगालिएको

फरफर परेको सिपी

मानिसहरूद्वारा टिपिएर एकातिर मिल्काइएको सिपी


सिपी समुद्रको मुटु हो

एकदम बलियो फेरि कति क्षीण

बतासले भरिएको, पानीले परिपूर्ण

यस्तो लाग्छ विश्वको सबैथोक

यसको मौन मुटुमा थुनिएको होस्


म रुन्छु यौटा सिपी टिपिरहँदा

यसको विनम्रतामा जुन मानिसका अनुहारजस्तै छ

म देख्छु असफलता

सारा अद्भुत कार्यहरूको ।

०००

पाउन सक्दिन आफूलाई आफ्ना काममा

मेरो पहिलो कुरा, बिहानीको नास्ता खानु साटो तिमीलाई चुम्बन गर्नु हो

खानेकुरासँग आत्मा हुँदैन,

तिम्रा ओठ भने ज्यादै मीठा छन्

मेरो दोस्रो कुरा, पढ्नुको सट्टा तिमीलाई चुम्नु हो

शब्दहरूसँग खालि त्यसका आकार मात्र छन्,

तिम्रो जिब्रो भने सुगन्धित छ

मेरो तेस्रो कुरा खाजापछि निदाउनु हैन

मेरो चौथो कुरा न त हिँड्नु, काम गर्नु हो

न त साथीहरूलाई साँझ ५ बजे भेट्नु हो


मेरो अन्तिम कुरा बेलुकीको प्रार्थना भन्नु हैन

(के ईश्वर मदेखि थकित भइसक्यो र उसले मलाई त्यागिसक्यो ?)

मृत्यु म खोज्दिनँ, म बाँच्न चाहन्छु

ताकि म तिमीलाई प्रेम गर्न सकुँ

जे पनि म गर्छु त्यहाँ आफूलाई पाउँदिनँ

तिमीलाई चुम्बन गरिरहँदाबाहेक

म जे जति गर्छु त्यहाँ अमरत्व पाउँदिनँ

तिमीलाई माया गर्नुबाहेक

र अँगालोमा बेर्नुबाहेक, हाम्रा आँसुमा धमिलिएका बतासमा ।


नेपाली अनुवाद —युयुत्सु आरडी शर्मा

प्रकाशित : असार ४, २०७९ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्

जब महेन्द्रले पाँच–पाँच बिघा जमिन बक्सिए...

राजा महेन्द्रको जन्मोत्सवमा फोटो छपाउन म कलकत्ता गएँ । छपाएर ल्याएपछि फोटो दरबार पुग्यो । फोटोमा राजाको एउटा दाँत कालो देखियो अर्थात् भाँचिएजस्तो । राजाले भने, ‘मेरो सुनको दाँत त कालो पो आएछ ।’
दुर्गाप्रसाद श्रेष्ठ

यो घटना ०१९ सालतिरको हो । ‘गोरखापत्र’ मा राजा महेन्द्रको एउटा कविता छापियो– मवीवि शाहको नाउँबाट– ‘रारा की अप्सरा’ ! रारा दहको नैसर्गिक सौन्दर्यको वर्णन गर्दै लेखिएको थियो कविता । उपमा–अलंकारले भरपूर । मलाई पछि थाहा भयो– मवीवि शाह नेपालका राजा रहेछन्– महेन्द्रवीरविक्रम शाहदेव !

म बनारसमा एमए पढ्दापढ्दै आफ्नी शिष्याको बिहामा आएको थिएँ र पछि ‘प्रगति’ का सम्पादक नारायणप्रसाद बाँस्कोटाको कृपाले सरकारी जागिरदार भएँ । प्रेस (मुद्रणस्थल, छापाखाना) सम्बन्धी ज्ञान भएकाले ‘गोरखापत्र’ छापाखानामा खटाइएँ । गोरखापत्र छापाखाना वस्तुतः गोरखापत्र अखबार छाप्ने हेतुले स्थापना गरिएको रहेछ ।

‘ह्यान्ड कम्पोजिङ’ द्वारा लेख–समाचार ‘कम्पोज’ (विन्यास ?) गरिन्थ्यो र ह्यान्ड–फेड ‘गिद्धे प्रेस’ मा अखबार छापिन्थ्यो । मेसिनको नाउँ त ‘इगल’ (अंग्रेजीमा नाउँ) थियो, तर स्थानीय भाषामा ‘गिद्ध’ बाट ‘गिद्धे’ प्रचलित भयो । पछि ‘कोलम्बो प्लान’ अन्तर्गत बेलायतबाट एक जना ‘एडभाइजर’ आए । उनको सिफारिसअनुसार, ‘लाइनोटाइप’ मेसिन आएपछि ‘ह्यान्ड कम्पोजिङ’ बन्द भयो । अखबार र अन्य सामग्री छाप्न स्वचालित मुद्रण मेसिन पनि आयो । सूचना प्रविधिको विकासमा यो पहिलो कदम थियो । त्यसपछि एएफपीका सल्लाहकारहरूसँग सम्झौता भएपछि ‘टेलिप्रिन्टर’ पनि जडान भयो, त्यसपछि राष्ट्रिय संवाद समितिले समाचार सम्प्रेषणको दिशामा आधुनिक प्रविधि अपनायो ।

‘प्रगति’ का सम्पादक नारायण बाँस्कोटालाई प्रचार विभागमा डाइरेक्टर बनाएपछि त्यसको आमूल परिवर्तन भयो र पछि ‘सूचना–प्रसार मन्त्रालय’ खडा भएपछि त्यो सूचना विभागमा परिवर्तन भयो ।

प्रचार विभागमार्फत ‘पञ्चायती व्यवस्था’ को फिल्मी शैलीमा प्रचार गर्न नेपालको पहिलो चलचित्र ‘आमा’ को निर्माण गरियो । ‘आमा’ मा काम गर्ने कलाकार र गायकहरू सबै सरकारी जागिरदार थिए– शिवशंकर, भुवन थापा, वसुन्धरा भुसाल, इन्द्रलाल, भैरवबहादुर थापा आदि । अनि उत्तम नेपाली र म पनि । गायकहरू थिए– खनारायणगोपाल, तारादेवी आदि । हीरासिंहलाई राजा महेन्द्रले भारत भ्रमणका बेला बम्बईमा भेटेर ‘तिमी नेपालमा काम गर्छौ ?’ भनी सोधेर ‘आमा’ बनाउने जिम्मेवारी दिइएको रहेछ । मेरो बुबा काशीबहादुर श्रेष्ठलाई ‘गोरखापत्र’ को सम्पादकमा नियुक्त गर्न महेन्द्रबाट बोलाइएको रहेछ । बुबालाई जागिर खान मन लागेन र बिन्ती गर्नुभएछ, ‘सरकार, मेरो पत्रिका ‘उदय’ लाई केही आर्थिक मदत बक्से त्यसैमार्फत सेवा गर्नेछु ।’

‘उदय’ लाई प्रचार विभागबाट विज्ञापन दिने आदेश भएपछि ‘अरू केही चाहिन्छ ?’ भनी राजाले सोधे । त्यसपछि बुबाले भन्नुभयो, ‘सरकार, मेरो छोरा दुर्गाप्रसादको नेपाली कथासंग्रह छाप्न आर्थिक मद्दत पाऊँ ।’ तुरुन्तै १२ सय भारु बकस भएछ । यसप्रकार मेरो कथासंग्रह ‘सम्झनाको बादल’ प्रकाशित भयो । पछि यो मराठी र तेलेगु भाषामा पनि प्रकाशित भयो ।

यो चाहिँ २०२८ सालको घटना हो । रौतहटमा हिन्दु–मुसलमान दंगा भएछ । त्यसको शान्ति–सुव्यवस्थाका लागि रामनारायण श्रेष्ठ अञ्चलाधीशको अध्यक्षतामा गृह मन्त्रालयको एउटा टोली खटाइयो । समाचार सम्प्रेषणका लागि मलाई पनि खटाइयो । साथै सेनाको एक टुकडी पनि खटाइएको थियो । सेनाको अधिकृतका साथ म पनि जिपमा बसेर गस्ती गर्न गाउँगाउँ जान्थेँ ।

हामी बस्न चौरमा फुसको झुपडी बनाइएको थियो । खाटहरूको व्यवस्था पनि थियो । नजिकै इनारको पानीले बिहान नुहाउँथ्यौं । रामनारायण श्रेष्ठले बरखी बार्नुभएको रहेछ र बिहानै उठेर नुहाएर तर्पण दिनुहुँदो रहेछ । करिब एक महिनापछि सबै साम्य भएपछि निरीक्षण गर्न राजाको सवारी भयो । हाम्रो टोलीका सबैले एक लाइनमा उभिएर सरकारको स्वागत गर्‍यौं । रामनारायणले सबैको परिचय गराउनुभयो । परिचय पाएपछि राजाले सोधे, ‘तिमी काशीबहादुरको छोरा होइन ?’

‘हो सरकार,’ मैले भनेँ । जाने बेलामा राजाले रामनारायणसँग कुराकानी गरे । त्यहाँबाट राजा ‘दियालो बंगला’ मा बस्ने गरी चितवन हिँडे ।

‘दुर्गाजी, टोलीका सबैलाई सरकारबाट ‘चन्द्रनिगाहपुरमा पाँच–पाँच बिघा जमिन व्यवस्था गरिदिनू’ भन्ने हुकुम भयो । ल, बधाई छ ।’

म सबेलाबजार, धनुषामा जन्मेको ! सुनेर खुसी लाग्यो । तर, अफसोस ! त्यही राति राजालाई हृदयाघात भएपछि नहुने घटना भयो । हाम्रो सपना चकनाचूर भयो । एक पटक राजाको जन्मोत्सवका पोस्टर छपाउन म कलकत्ता गएँ । सानो साइजको फोटोबाट ठूलो आकार (२०”–३०”) को पोस्टर छपाउनुपर्ने । कलकत्ताबाट छपाएर ल्याइयो र नमुना दरबार पठाइयो । फोटोमा राजाको मुहारमा एउटा दाँत कालो देखियो अर्थात् भाँचिएजस्तो । अब सबैले मेरो जागिर जाने भयो भने । सचिव सुन्दरप्रसाद शाह पनि रिसाए र त्यो पोस्टरको नमुना लिएर दरबार पठाए । संवाद सचिव रेणुलाल सिंहलाई पोस्टर दिएँ । उनले सरसर्ती हेरेपछि राजालाई देखाउन भनी लिएर गए । एक छिनपछि उनी फर्केर आउनुभयो ।

म भित्रभित्रै डराइरहेको थिएँ । तर, संवाद सचिवसँग सोध्ने आँट आएन । रेणुलालले एक छिनपछि भने, ‘ठीक छ भनी बक्स्यो । तर, ‘मेरो सुनको दाँत त कालो पो आएछ’ भनिबक्स्यो ।’मैले अफिस फर्केर रेणुलालको सन्देश सुनाएँ । ‘दुर्गाजीको जागिर जाने भो’ भनी आस गरी बसेका सबै खिस्स भए । देश–विदेशका प्रतिभालाई कदर गर्ने राजा महेन्द्रको बानी ‘काबिल–ए–तारिफ’ हो । ‘आमा’ फिल्मको निर्माण गर्ने कुरा उठ्दा राजाबाट प्रेमप्रकाश मल्ललाई पनि गीत गाउने मौका दिनू भन्ने हुकुम भएछ । प्रेमप्रकाश मल्लले राजाको नेपालगन्ज सवारीका बेला क्याम्पमा गीत गाएर सुनाउँदा आवाज मन परेर उनलाई मौका दिनू भनेका रहेछन् । उर्दूमा यस्तोलाई ‘कद्रदँ’ अर्थात् ‘कदर गर्न जान्ने मान्छे’ भन्छन् । राजा महेन्द्र यस्तै थिए ।

तर, अफसोस कलकत्ता पुगेर मल्लजीलाई ‘डेंगु’ ले समातेछ र एक हप्ता होटलको कोठैमा बस्नुपर्‍यो । उनले स्वर्णिम मौका गुमाए । ‘आमा’ फिल्म बनेर आएपछि ‘जयनेपाल सिनेमाघर’ मा ‘प्रिमियम शो’ भयो । राजा र राजपरिवारका साथै उच्चपदस्थ व्यक्तिविशेषले पनि ‘आमा’ हेरेपछि जयनेपालमै त्यसको नियमित प्रदर्शन भयो ।

‘आमा’ मा काम गर्ने सबैलाई राजाबाट दुई–दुई हजार पुरस्कार दिनू भन्ने हुकुम भयो । त्यो बेला सुनको भाउ दुई सय रुपैयाँ तोला थियो । अहिले कति भयो त ? खैर ।

यो मैले राजा महेन्द्रको गुणगान गाएको होइन । देशको नेतृत्व गर्ने मान्छे कस्तो हुनुपर्छ, त्यसको उदाहरण पेस गरेको । कसैले अन्यथा लिन्छ भने के गर्न सकिन्छ ?

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×