मान्छेलाई जंगल पठाउने कविता

पृथ्वीको दुस्मन को हो ? जवाफ ‘तङसिङ’ मा छ । कवि राजा पुनियानीले खोजी निकालेको भाषामा लालित्य त छँदै छ, प्राकृतिक–सांस्कृतिक भाष्य पनि छ ।
मनोज बोगटी

हुन त यो क्लिसे भइसक्यो, तरै पनि विश्वमा अझै बहस हुन्छ– विचारधाराले साहित्य जन्माउँछ कि साहित्यले विचारधारा ? यो बहस यसकारण हुन्छ किनभने लेखनको टाउकोमा दुवैथरीको अनुहार छ ।

चल्तीका विचारधारामा साहित्य लेख्ने हो कि साहित्य लेखेर विचारधारा जन्माउने हो ? यो बहसको अन्त्य छैन । कवि राजा पुनियानीको इको कवितासंग्रह ‘तङसिङ’ बजारमा आएसँगै यो बहस पनि सतहमा छ । विश्वभरि अहिले इको एक्टिभिस्टहरू एउटै बहसमा छन्– क्लाइमेट चेन्ज कि क्लाइमेट क्राइसिस ? पृथ्वीमा घाउचोट पार्ने कि त्यो घाउचोटबाट निस्किरहेको रगत बुच्याउने ?

स्पष्ट छ, राजाले पनि चल्तीको डिस्कोर्स कवितामा हुलेका छन् । साहित्यमा पर्यावरणलाई गम्भीर लिने लेखकहरू छन्/छैनन् मलाई थाहा छैन, तर यो साहित्यमा अछुत विषय त हो नै । राजा पुनियानीको तङसिङले विज्ञानको अनुशासनमा पर्ने ‘पर्यावरण’ साहित्यको अनुशासन पनि हो भनेर दाबी गरेको छ । केही वर्षअघि फुच्ची ग्रेटा थनवर्गले विश्व थर्काइन् । विश्वभरका नेताहरूलाई ताकेर भनिन्, ‘इको सिस्टम कोल्याप्स हुँदै छ । विश्व ठूलो नरसंहारको नजिक छ । तिमीहरू पैसा र आन्तरिक आर्थिक वृद्धिको कथा मात्र सुनाइरहेका छौ । किन पृथ्वीको सुर्ता छैन तिमीहरूलाई ?’ केही वर्षपछि राजा पुनियानी सुनाइरहेछन्– पृथ्वीलाई प्लास्टिकको झोलामा हालेर कता जाँदै छौ तिमी ? थनवर्ग र पुनियानीको सुर्ताको कथ्य एकै हुन्, कथानक फरक हो । जलवायु परिवर्तन, प्रकृति दोहन वैज्ञानिक र एक्टिभिस्ट वृत्तमा चलिरहेको वैश्विक ‘हट टपिक’ हो । कवि राजा पुनियानीले त्यसलाई कवितामार्फत बहसमा ल्याउने दुस्साहस गरेका छन् । तङसिङ आजको समयको प्रमुख संकटमाथि बहस गरिरहेको महत्त्वपूर्ण काव्य–किताब हो ।

...

हाम्रोतिर खुबै चलेको र मानेको इन्द्रबहादुर राईको रहस्यवाद, आध्यात्म र आधुनिक भौतिकीबीचको सम्बन्ध खोज्नमा गरिएको यत्न जुन छ ‘लीला लेखन’, त्यो चिनियाँ ‘ताओवाद’ को नेपालीकरण मात्र हो भनेर थाहा पाउन फ्रिट्जफ काप्राको ‘द ताओ अफ फिजिक्स’ लगायत केही पुस्तक पढे भइहाल्यो । यद्यपि काप्रा र इबराका समय आ–आफ्नै सांस्कृतिक, राजनीतिक, भौतिक, वैचारिक द्वन्द्वले बनेको छ । त्यसकारण ‘कथ्य’ एकै भए पनि ‘कथानक’ अलग छ । ग्रेटा थनवर्ग र राजा पुनियानीको समय के एकै सांस्कृतिक, आर्थिक, वैचारिक, राजनीतिक द्वन्द्वले बनेको छैन त ?

विश्वमा चलिरहेको इको डिस्कोर्स नेपाली कवितामा किन नआउने त ? अर्थात् राजा पुनियानीको यत्न नयाँ छैन । नयाँ छ भने नेपाली कवितामा ‘इको’ कसरी ल्याउने, त्यसको यत्न मात्र छ । अचेल बजारमा थरीथरीका विचारहरू सर्वत्र उपलब्ध छन् । तपाईं तीमध्ये एउटा उठाउनुस् र लाग्नुस् ‘प्रोजेक्ट’ मा । किनभने साहित्य अब ‘प्रोजेक्टवर्क’ बनिसक्यो । तङसिङ क्लाइमेट क्राइसिसमाथि गरिएको पोयटिक डिस्कोर्स हो । त्यो डिस्कोर्सको प्रोजेक्ट हो ।

आखिर कविता स्वतःस्फूर्त लेखिने विषय हो कि वैचारिक मन्थनपछि काव्यिक भाषा खिपेर गरिने उत्पादन हो ? यो बहस पनि नयाँ भने छैन । तङसिङको विमोचन कार्यक्रममा जाँदै गर्दा बाटोमा पर्‍यो टिस्टा । छालहरू फाल्दै बग्ने टिस्टा जमेको पोखरी बनेको थियो । पोखरीमा जस्तो त्यहाँ केही तरंगहरू थिए । उत्तारचढाव छैन भने जीवन त जीवन बन्दैन, नदीको त गहनै छालहरूको उत्तरचढाव हो । मानिस अँध्यारामा छन्, त्यसैले बिजुली चाहियो । मानिसलाई उज्यालो पार्न टिस्टाले आफूलाई बलि चढाउनुपर्ने हो त ? जमेको टिस्टा र टिस्टाको पानी छेकेर बसेको ड्याम हेर्दै गर्दा हरकोहीले सोच्लान्– अब नदीहरूको छालमा बजार पस्यो । जहाँ बजार पस्यो, त्यसले प्रकृति डस्यो ।

संवेदनशील कवि राजा पुनियानीलाई बजार, मानिस, नदी र बिजुलीबीचको सम्बन्ध थाहा नहोला त ? पर्यावरण संकटलाई अभियान पारेर एक कवि सडक ओर्लेलान्/नओर्लेलान्, तर कवि राजा कवितामा ओर्लनु स्वाभाविक हो ।

...

कन्नड कवि अरिफ राजाको एउटा कविता छ– चे ग्वेभारा । हस्तमैथुन गर्न ऊसित आधुनिक कुनै टुल्स छैन, उसित आफ्ना हात छन् । तर, अन्डरवेयर लगाएको छ–चे ग्वेभारा–मार्का । चेलाई तल्तिर सुल्काएर ऊ हस्तमैथुन गरिरहेछ । अर्थात् बजारले चे–विचारलाई स्खलित गरिरहेछ ।

बजारले चे ग्वेभारासमेतलाई ‘अन्डरवेयर’ बनाइसकेको समयमा तपाईंका लागि बजारले विचार ‘इम्पोर्ट’ र ‘इम्पोज’ गर्नु नौलो विषय रहेन । तपाईंलाई त्यसमध्ये आफूलाई मन परेको विचारको ‘कन्ज्युमर’ बन्ने छुट छ । भारतमा पनि अचेल यस्ता ‘फेसनेबल एक्टिभिज्म’ पर्याप्त छ, जसलाई आलोचकहरू ‘फेसनेबल यथार्थवादी’ हरूको झुन्ड भन्छन् । कवि राजा पुनियानी त्यही फेसनेबल यथार्थवादी लहरका सदस्य हुन् ? तङसिङ नपढी कसरी थाहा पाउने ? राजाको तङसिङ ‘डेब्यु’ ले बहस बजार खोज्ला । तङसिङ अहिले बजारमै छ ।

...

मैले झारखण्डका कवि जेसिन्ता केरकेट्टालाई सोधें, ‘कविता वैश्विक दृष्टिकोणको ‘ड्रोनिक जुम इन’ तिर छ, तिमी आदिवासी चेतदेखि बाहिर किन निस्किँदैनौ ?’ पहिले त कवि हाँसिन् । त्यसपछि भनिन्, ‘किनभने म आदिवासी हुँ । त्यही वैश्विक पर्दामा म कहाँ छु ? त्यो म आफैंले खोज्ने हो । आदिवासी चेत मेरो यथार्थ हो, स्वैरकल्पना होइन ।’

उत्तरले मलाई धेरै ठुन्का पार्‍यो । जेसिन्ताको जवाफले मै हुँ भन्ने कविहरूलाई आफ्नो ‘औकात’ त देखाउँछ नै, कवि कर्मको लोकेसन पनि देखाउँछ । भ्रममा नपरे हुन्छ ग्लोबल भन्ने थोक हुँदैन । हरेक लोकल नै ग्लोबल हो । हरेक थोपा नै समुद्र हो होइन, त्यसबारे तपाईं आफैं चिन्तन गर्नुहोला । सोइपरी मैले कवि राजा पुनियानीलाई पनि सोधें, ‘हामी त यस्सै पनि प्रकृतिको पूजा गर्ने समुदाय हौं, तिमीलाई पृथ्वी मर्छ भन्ने सुर्ता किन लागेको ?’ राजा भन्छन्, ‘किनभने म मानिस हुँ ।’

यसको मतलब साफ छ– राजा पुनियानीको कवितासंग्रह तङसिङ ‘इको क्राइसिस’ माथि बहस गर्ने काव्यिक औजार हो । हरेक युद्धले ‘क्राइसिस’ जन्माउँछ । कि त क्राइसिसले युद्ध जन्माउँछ । जे नै भए पनि युद्ध संहारक हुन्छ । हरेक संहारले विचारका प्रकृति फेर्छ । तङसिङचाहिँ पर्यावरण र मानिसबीच चलेको युद्ध हो । यो युद्धले, जुन संहार मच्याइरहेको छ, त्यसैको ‘कन्टेक्स्ट’ माथिको ‘टेस्क्ट’ हो–तङसिङ । आदिवासी र जंगल भनेको पानी र माछाजस्तो हो, राजाको काइदा हो– लिम्बू जनजातीय मुन्धुमी लय कवितामा राख्नु । तङसिङ नामैले पाठकलाई आग्रह गरेको छ, प्रकृतिको नजिक जाऊ, सम्बन्धको नजिक जाऊ, गएर हेर, प्रकृति र सम्बन्धबीचको सम्बन्धविच्छेद ।

ग्रहहरू करोडौं छन् असंख्य सौर्यमण्डलमा । करोडौं ग्रहमध्ये एउटै पृथ्वीमा मात्र प्रकृति छ, त्यसैको दोहनमा छन् मानिस । कवि राजाले ‘किनभने म मानिस हुँ’ भनेर दिएको जवाफमा त्यही प्रकृतिमाथिको मानिसको ‘उत्तरदायित्व’ छ । तङसिङको एक्टिभिज्म भनेकै मानिसमा त्यही उत्तरदायित्वको खोज हो । पृथ्वीको दुस्मन को हो ? त्यही खोज्न तङसिङ पढ्ने हो । पाठकको सहज आस्वादनको निम्ति राजाले खोजी निकालेको भाषामा लालित्य त छँदै छ, प्राकृतिक–सांस्कृतिक भाष्य पनि छ । यति हुँदाहुँदै लछेप्रै चटकहरू पनि छन् ।

कविता पढ्दा लाग्छ, कविले बरु निबन्ध लेखे हुन्थ्यो । किनभने राजाले क्लाइमेट क्राइसिसमाथि किताबमा, अखबारमा, गुगलमा पढेको, भेटेको जति सूचना, जानकारी, बहसको किस्सा, डेटा, पर्याभियन्ताहरूको ‘वर्क’ जम्मैको सन्दर्भसंग्रह बनाएका छन्– तङसिङलाई । त्यसले ‘इको पोयट्री’ लाई नै विषय पारेर लेखेको ‘पहिलो’ किताब हो भनेर चिनाउने यत्न राजाको कवितीय ‘माइन्डसेट’ हो कि भन्ने सन्देह गराउँछ । कविता लेख्न जान्नेलाई नै कवि भनिने हो । यसको अर्थ सीधा छ, कविता लेख्न ‘कवितीय चेत’ त हुनै पर्‍यो । तर, त्यो ‘कवितीय चेत’ को ‘सेन्सर’ स्वतःस्फूर्त चल्छ कि कनेपछि ? तङसिङ पढ्दै गर्दा यो प्रश्न स्वतःस्फूर्त उत्पन्न हुन्छ ।

आख्यान–कविताका नाममा धेरै कविले प्रयोग गरेकै छन्, राजाले त्यसको सिको तङसिङमा पनि गरेका छन् । केही उरन्ठ्उेला प्रयोगसँगै अन्टसन्ट किस्सा, बीचबीचमा कविता राखेर बाहिर बाँधिएका भूमिका, देखाइका पण्डित्याइँलाई सहन सक्नेहरूका लागि तङसिङ नरिवल पनि हो, जट्टा र खबटा उप्केपछि खास फलमा पुर्‍याउँछ । लामालामा कविताले बीचबीचमा आस्वादनमा ‘इरर’ गरे पनि छोटाछोटा कविताले आस्वादनको चरमोत्कर्षमा पुर्‍याउँछ । प्रकृति दोहनका सन्दर्भमा समय चेत, विषय चेत र प्रकृति चेतसहित मानिसका संवेदनामाथि प्रहार गर्न चाहिने कविताको भाषामा कवि बोलेकै छन् । तर, पछिल्तिरका पानाहरूमा जुन ‘इको विमर्श’ मा ६ जना लेखकको भूमिका र ११ जना लेखकको शुभकामना सन्देश पढ्दा लाग्छ, राजा आफ्ना बचाउका लागि सेना खडा गरिरहेका छन् । तङसिङको इको कवितामा कति ‘इको’ छ, त्यो कविताले नै भन्ने हो, विमर्शले होइन ।

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्

जब महेन्द्रले पाँच–पाँच बिघा जमिन बक्सिए...

राजा महेन्द्रको जन्मोत्सवमा फोटो छपाउन म कलकत्ता गएँ । छपाएर ल्याएपछि फोटो दरबार पुग्यो । फोटोमा राजाको एउटा दाँत कालो देखियो अर्थात् भाँचिएजस्तो । राजाले भने, ‘मेरो सुनको दाँत त कालो पो आएछ ।’
दुर्गाप्रसाद श्रेष्ठ

यो घटना ०१९ सालतिरको हो । ‘गोरखापत्र’ मा राजा महेन्द्रको एउटा कविता छापियो– मवीवि शाहको नाउँबाट– ‘रारा की अप्सरा’ ! रारा दहको नैसर्गिक सौन्दर्यको वर्णन गर्दै लेखिएको थियो कविता । उपमा–अलंकारले भरपूर । मलाई पछि थाहा भयो– मवीवि शाह नेपालका राजा रहेछन्– महेन्द्रवीरविक्रम शाहदेव !

म बनारसमा एमए पढ्दापढ्दै आफ्नी शिष्याको बिहामा आएको थिएँ र पछि ‘प्रगति’ का सम्पादक नारायणप्रसाद बाँस्कोटाको कृपाले सरकारी जागिरदार भएँ । प्रेस (मुद्रणस्थल, छापाखाना) सम्बन्धी ज्ञान भएकाले ‘गोरखापत्र’ छापाखानामा खटाइएँ । गोरखापत्र छापाखाना वस्तुतः गोरखापत्र अखबार छाप्ने हेतुले स्थापना गरिएको रहेछ ।

‘ह्यान्ड कम्पोजिङ’ द्वारा लेख–समाचार ‘कम्पोज’ (विन्यास ?) गरिन्थ्यो र ह्यान्ड–फेड ‘गिद्धे प्रेस’ मा अखबार छापिन्थ्यो । मेसिनको नाउँ त ‘इगल’ (अंग्रेजीमा नाउँ) थियो, तर स्थानीय भाषामा ‘गिद्ध’ बाट ‘गिद्धे’ प्रचलित भयो । पछि ‘कोलम्बो प्लान’ अन्तर्गत बेलायतबाट एक जना ‘एडभाइजर’ आए । उनको सिफारिसअनुसार, ‘लाइनोटाइप’ मेसिन आएपछि ‘ह्यान्ड कम्पोजिङ’ बन्द भयो । अखबार र अन्य सामग्री छाप्न स्वचालित मुद्रण मेसिन पनि आयो । सूचना प्रविधिको विकासमा यो पहिलो कदम थियो । त्यसपछि एएफपीका सल्लाहकारहरूसँग सम्झौता भएपछि ‘टेलिप्रिन्टर’ पनि जडान भयो, त्यसपछि राष्ट्रिय संवाद समितिले समाचार सम्प्रेषणको दिशामा आधुनिक प्रविधि अपनायो ।

‘प्रगति’ का सम्पादक नारायण बाँस्कोटालाई प्रचार विभागमा डाइरेक्टर बनाएपछि त्यसको आमूल परिवर्तन भयो र पछि ‘सूचना–प्रसार मन्त्रालय’ खडा भएपछि त्यो सूचना विभागमा परिवर्तन भयो ।

प्रचार विभागमार्फत ‘पञ्चायती व्यवस्था’ को फिल्मी शैलीमा प्रचार गर्न नेपालको पहिलो चलचित्र ‘आमा’ को निर्माण गरियो । ‘आमा’ मा काम गर्ने कलाकार र गायकहरू सबै सरकारी जागिरदार थिए– शिवशंकर, भुवन थापा, वसुन्धरा भुसाल, इन्द्रलाल, भैरवबहादुर थापा आदि । अनि उत्तम नेपाली र म पनि । गायकहरू थिए– खनारायणगोपाल, तारादेवी आदि । हीरासिंहलाई राजा महेन्द्रले भारत भ्रमणका बेला बम्बईमा भेटेर ‘तिमी नेपालमा काम गर्छौ ?’ भनी सोधेर ‘आमा’ बनाउने जिम्मेवारी दिइएको रहेछ । मेरो बुबा काशीबहादुर श्रेष्ठलाई ‘गोरखापत्र’ को सम्पादकमा नियुक्त गर्न महेन्द्रबाट बोलाइएको रहेछ । बुबालाई जागिर खान मन लागेन र बिन्ती गर्नुभएछ, ‘सरकार, मेरो पत्रिका ‘उदय’ लाई केही आर्थिक मदत बक्से त्यसैमार्फत सेवा गर्नेछु ।’

‘उदय’ लाई प्रचार विभागबाट विज्ञापन दिने आदेश भएपछि ‘अरू केही चाहिन्छ ?’ भनी राजाले सोधे । त्यसपछि बुबाले भन्नुभयो, ‘सरकार, मेरो छोरा दुर्गाप्रसादको नेपाली कथासंग्रह छाप्न आर्थिक मद्दत पाऊँ ।’ तुरुन्तै १२ सय भारु बकस भएछ । यसप्रकार मेरो कथासंग्रह ‘सम्झनाको बादल’ प्रकाशित भयो । पछि यो मराठी र तेलेगु भाषामा पनि प्रकाशित भयो ।

यो चाहिँ २०२८ सालको घटना हो । रौतहटमा हिन्दु–मुसलमान दंगा भएछ । त्यसको शान्ति–सुव्यवस्थाका लागि रामनारायण श्रेष्ठ अञ्चलाधीशको अध्यक्षतामा गृह मन्त्रालयको एउटा टोली खटाइयो । समाचार सम्प्रेषणका लागि मलाई पनि खटाइयो । साथै सेनाको एक टुकडी पनि खटाइएको थियो । सेनाको अधिकृतका साथ म पनि जिपमा बसेर गस्ती गर्न गाउँगाउँ जान्थेँ ।

हामी बस्न चौरमा फुसको झुपडी बनाइएको थियो । खाटहरूको व्यवस्था पनि थियो । नजिकै इनारको पानीले बिहान नुहाउँथ्यौं । रामनारायण श्रेष्ठले बरखी बार्नुभएको रहेछ र बिहानै उठेर नुहाएर तर्पण दिनुहुँदो रहेछ । करिब एक महिनापछि सबै साम्य भएपछि निरीक्षण गर्न राजाको सवारी भयो । हाम्रो टोलीका सबैले एक लाइनमा उभिएर सरकारको स्वागत गर्‍यौं । रामनारायणले सबैको परिचय गराउनुभयो । परिचय पाएपछि राजाले सोधे, ‘तिमी काशीबहादुरको छोरा होइन ?’

‘हो सरकार,’ मैले भनेँ । जाने बेलामा राजाले रामनारायणसँग कुराकानी गरे । त्यहाँबाट राजा ‘दियालो बंगला’ मा बस्ने गरी चितवन हिँडे ।

‘दुर्गाजी, टोलीका सबैलाई सरकारबाट ‘चन्द्रनिगाहपुरमा पाँच–पाँच बिघा जमिन व्यवस्था गरिदिनू’ भन्ने हुकुम भयो । ल, बधाई छ ।’

म सबेलाबजार, धनुषामा जन्मेको ! सुनेर खुसी लाग्यो । तर, अफसोस ! त्यही राति राजालाई हृदयाघात भएपछि नहुने घटना भयो । हाम्रो सपना चकनाचूर भयो । एक पटक राजाको जन्मोत्सवका पोस्टर छपाउन म कलकत्ता गएँ । सानो साइजको फोटोबाट ठूलो आकार (२०”–३०”) को पोस्टर छपाउनुपर्ने । कलकत्ताबाट छपाएर ल्याइयो र नमुना दरबार पठाइयो । फोटोमा राजाको मुहारमा एउटा दाँत कालो देखियो अर्थात् भाँचिएजस्तो । अब सबैले मेरो जागिर जाने भयो भने । सचिव सुन्दरप्रसाद शाह पनि रिसाए र त्यो पोस्टरको नमुना लिएर दरबार पठाए । संवाद सचिव रेणुलाल सिंहलाई पोस्टर दिएँ । उनले सरसर्ती हेरेपछि राजालाई देखाउन भनी लिएर गए । एक छिनपछि उनी फर्केर आउनुभयो ।

म भित्रभित्रै डराइरहेको थिएँ । तर, संवाद सचिवसँग सोध्ने आँट आएन । रेणुलालले एक छिनपछि भने, ‘ठीक छ भनी बक्स्यो । तर, ‘मेरो सुनको दाँत त कालो पो आएछ’ भनिबक्स्यो ।’मैले अफिस फर्केर रेणुलालको सन्देश सुनाएँ । ‘दुर्गाजीको जागिर जाने भो’ भनी आस गरी बसेका सबै खिस्स भए । देश–विदेशका प्रतिभालाई कदर गर्ने राजा महेन्द्रको बानी ‘काबिल–ए–तारिफ’ हो । ‘आमा’ फिल्मको निर्माण गर्ने कुरा उठ्दा राजाबाट प्रेमप्रकाश मल्ललाई पनि गीत गाउने मौका दिनू भन्ने हुकुम भएछ । प्रेमप्रकाश मल्लले राजाको नेपालगन्ज सवारीका बेला क्याम्पमा गीत गाएर सुनाउँदा आवाज मन परेर उनलाई मौका दिनू भनेका रहेछन् । उर्दूमा यस्तोलाई ‘कद्रदँ’ अर्थात् ‘कदर गर्न जान्ने मान्छे’ भन्छन् । राजा महेन्द्र यस्तै थिए ।

तर, अफसोस कलकत्ता पुगेर मल्लजीलाई ‘डेंगु’ ले समातेछ र एक हप्ता होटलको कोठैमा बस्नुपर्‍यो । उनले स्वर्णिम मौका गुमाए । ‘आमा’ फिल्म बनेर आएपछि ‘जयनेपाल सिनेमाघर’ मा ‘प्रिमियम शो’ भयो । राजा र राजपरिवारका साथै उच्चपदस्थ व्यक्तिविशेषले पनि ‘आमा’ हेरेपछि जयनेपालमै त्यसको नियमित प्रदर्शन भयो ।

‘आमा’ मा काम गर्ने सबैलाई राजाबाट दुई–दुई हजार पुरस्कार दिनू भन्ने हुकुम भयो । त्यो बेला सुनको भाउ दुई सय रुपैयाँ तोला थियो । अहिले कति भयो त ? खैर ।

यो मैले राजा महेन्द्रको गुणगान गाएको होइन । देशको नेतृत्व गर्ने मान्छे कस्तो हुनुपर्छ, त्यसको उदाहरण पेस गरेको । कसैले अन्यथा लिन्छ भने के गर्न सकिन्छ ?

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×