२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भाषाक्रान्तिका पर्याय स्वतन्त्र उम्मेदवार

स्वतन्त्र उम्मेदवारहरूको उदयलाई राजनीतिको भाष्यले मात्रै व्याख्या गर्न सक्दैन । सिद्धान्तका आधार भाषिक हुन्, तर ती कसरी साधारण रूपमा अभिव्यक्त हुन्छन्, त्यो चुनौती हो ।
अभि सुवेदी

अहिलेको चुनावमा केही स्वतन्त्र उम्मेदवारको पक्षमा आएको लहर भाषा र अभिव्यक्तिको क्रान्ति हो । यो राजनीतिसँग त यसै पनि जोडिएको छ, तर राजनीतिको कुन चरित्रको प्रतिक्रियास्वरूप यो लहर जन्मियो भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हो । म यो लहरलाई चेतनशील भाषिक प्रयोगको रूपमा हेर्छु । यस लेखमा त्यही विषयको छलफलसम्म उठाएको छु ।

भाषाक्रान्तिका पर्याय स्वतन्त्र उम्मेदवार

यस लहरको राजनीतिक व्याख्या हुनु सबैभन्दा स्वाभाविक विषय हो । यसमा पनि अनेकौं दृष्टिकोणबाट गरिएका व्याख्या छन् । स्वतन्त्र उम्मेदवारले चुनावै जितेको धेरै होइन, ७५३ स्थानीय सरकारमा केवल तेह्र पालिकामा प्रमुख र चार जनाले उपप्रमुख जित्नुलाई स्वतन्त्र उम्मेदवारको राष्ट्रव्यापी विजयको लहर भन्न सकिँदैन । अहिले चर्चामा आएका जितहरूमा बालेन शाह– काठमाडौ, हर्क साम्पाङ– धरान र गोपाल हमाल– धनगढी हुन् । त्यसमा काठमाडौं नगरपालिकाको मेयरमा युवक बालेन शाहको जितले स्वतन्त्र उम्मेदवारको लहरलाई चेतनाको एउटा नयाँ तरंगको रूपमा लिने भाष्यको जन्म भएको छ । म यो लहरलाई राजनीतिमा भाषाको दिक्कलाग्दो र किञ्चित् मन खुम्च्याउने प्रयोगको विरोधको अभिव्यक्ति हो भन्ने मान्छु । यो भाषिक विद्रोहका अनेकौं चरित्र छन् । केवल परिचित भाषा मात्र नभएर संवाद र सम्प्रेषणका अनेकौं माध्यमको प्रयोग भएको छ अहिले ।

क्यानाडाका मार्सल मकलुहान मिडिया पण्डित भनेर चिनिन्छिन् । साठीको दशकको आरम्भतिरै तिनको युवा जगत् र आमसञ्चार जगत्मा प्रभाव पर्न थालेको थियो । हामी विश्वविद्यालयमा पढ्ने सन् साठीका अन्तिम वर्षतिर हिप्पीसम्मत अराजक विचार राख्ने युवा थियौं । त्यो मार्क्सवाद त्यसमा पनि लियोन ट्राटस्कीको विचारको मिश्रित प्रभाव पनि जोडिएको बेला थियो युवामा । अहिेले बालेन शाह र मिडियाको चर्चाले ल्याएका तरंगमा म यो प्रसंग ल्याउन उपयुक्त ठान्छु । मकलुहानको सन् १९६४ मा प्रकाशित किताब अन्डरस्ट्यान्डिङ मिडियाः द एक्टेन्सन अफ म्यान अथवा ‘मिडियाबोध : मानिसकै विस्तार’ भन्ने शीर्षकले नै यो कुरा बोल्छ । मिडियाका चरित्र बुझ्नु मानिसको आयामकै विस्तार हो भन्ने मकलुहानको विचार आज झन् महत्त्वपूर्ण भएको छ । मुद्रित, दृष्टिगत, सांगीतिक, चित्रात्मक सबै प्रकारको माध्यमबाट सन्देश प्रवाहित हुन थालेको त्यो समय भयानक परिवर्तनकारी थियो । मकलुहानले रेडियो, कम्प्युटर, टेलिभिजन, फिल्मलाई लिएर आफ्ना निष्कर्ष निकाले । अनि भने ती माध्यमको दूरगामी प्रभाव सामाजिक, दार्शनिक र सौन्दर्यमूलक कुरामा पनि पर्छ । पछि नब्बेको दशकदेखि निजी कम्प्युटर र विद्युतीय चिठीको फ्रयोग सुर भयो । त्यसले भाषिक प्रयोगमा परिवर्तन ल्यायो । त्यसपछिको समयमा इन्टरनेट, वैश्विक वेब आयो, अनि ‘डिजिटल ह्युमानिटिज’ अथवा मानविकी अध्ययन आएपछि शिक्षा लिने र प्रयोग गर्नेको संख्या बढ्यो । यो प्रसंग ल्याउनुको अर्थ मेरो एउटै छ । भाषिक प्रयोगका आयामको अहिले विस्तार भएको छ । त्यसो त त्यो विद्युतीय प्रयोगबाट भाषा प्रयोग कुण्ठित गराउने डिक्टेटर शासक र तिनका स्वतन्त्र अभिव्यक्तिको नियन्त्रण गर्ने काम पनि भएका छन् । तर अभिव्यक्तिका माध्यमको विस्तार भएकाले अहिले स्वतन्त्रता भएका मुलुकहरूमा भाषिका प्रयोगका उन्मुक्तिका प्रकारहरू व्यापक रूपमा उपलब्ध छन् । त्यसैले अहिले युवाहरूमा सञ्चारका विभिन्न माध्यमबाट भाषा प्रयोग गर्ने चाहना हुनु स्वतन्त्रताबोधी चेतना हो । अहिलेका स्थानीय चुनावमा युवाहरूले विद्युतीय आमसञ्चारको माध्यमको प्रयोग गर्नु र त्यही माध्यमबाट विचारहरू राख्नु भाषिक अभिव्यक्तिमा परिवर्तन खोज्नु हो ।

नेपालको अहिलेको लोकतान्त्रिक प्रणाली एउटा राजनीतिक उपलब्धि हो । यो अनेकौं आन्दोलन र उत्थानका चेतनाले बनिएको छ । हामी सबैलाई थाहा छ, अहिले नेपालमा बोली अनि भाष्यको प्रयोग र त्यसको व्यापक प्रचार गर्नेहरू राजनीतिकर्मीहरू हुन् । ती धेरैजसो सिद्धान्तका कुरा त गर्छन्, तर तिनमा दर्शनका सिर्जनशील चिन्तन नभएर खेलाडी र बाजी मार्ने चेतनाको प्रभाव बढी छ । तिनले प्रयोग गरेका भाषाको अर्को पक्ष छ श्रोताको उपस्थिति । तिनले बोलेका कुरा सुन्ने जहाँ हेरे पनि मासको अर्थ जमात हुन्छ । नेताहरूले बोलेका कुरामा कम प्रतिभा र बुद्धिको प्रयोग देखिन्छ । एक प्रकारले तिनै कुरा मुद्रण हुने अनि तिनै कुरा सुनिने कारणले गर्दा मानिसहरूमा एक प्रकारको दिक्क लाग्ने अवस्थाको सिर्जना भएको छ । अघिल्लो पुस्ताका मानिसहरू त जेनतेन यस्ता भाष्यलाई पचाउने बानी परेका छन् । तर, युवा पुस्ताले त्यस्ता भाषामा अनि तिनले गरेका प्रतिज्ञामा कुनै सिर्जनशील र नयाँ कुरा भेट्दैनन् । अनि भाष्यको प्रयोग र सिर्जना गर्ने माध्यमको खोजी गर्छन् । अहिले युवाहरूले स्थानीय चुनावमा खासगरी बालेन शाहको चुनाव अभियानमा नयाँ भाष्यको खोजी गर्दै गरेको देखियो । राजनेताहरू दिक्कलाग्दा र अशिष्ट बोली बोल्दा एक प्रकारको लय र अनुप्रास मिलाउँछन् । ती एक प्रकारका अर्कै किसिमका र्‍याप भट्ट्याउँछन् । बालेन शाह र युवाहरूका र्‍यापका कुरा धेरै आए । तिनका र्‍यापमा सामाजिक चेतना र परिवर्तनका चाहना देखिए । राजनेताहरूका भाँति नपरेका र्‍यापमा कुनै लय, विचार र सपनाको संयोग भेटिँदैन । र्‍यापको एउटा बलियो राजनीतिक आरम्भ छ । खासगरी अफ्रिकी मूलका अमेरिकीहरूको र्‍याप संगीत श्वेतजातिको दबदबाको विरोधमा जन्मिएको गायनको माध्यम हो । यसले पछि राजनीतिक विद्रोहको अर्थ लियो । प्रसिद्ध राजनीतिक र्‍याप गाउनेका चर्चित गीतहरू उपलब्ध छन् । बराक ओबामाको र्‍याप गायकहरूसँग नजिकको सम्बन्ध थियो, तर पछि उनी यसबाट अलग भए । र्‍याप सोझै मासमा गएर गाइने रचना भएकाले यसको प्रयोग धेरैले गरे । यो नाटकीय हुन्छ अनि स्वतःस्फूर्त हुन्छ । यसको दुरुपयोग पनि भएको छ, जसले गर्दा र्‍याप गाउनेको चरित्र नकारात्मक रूपमा पनि लिइन्छ । हामी सडक नाटक र र्‍यापको सम्बन्ध देख्छौं । नेपालमा राल्फा र्‍याप थिएनन्, तर आफ्ना कुरा लिएर सोझै मासमा जाने तिनको शैली र सामर्थ्यसँग र्‍यापका चरित्र मिल्छन् ।

स्वतन्त्र उम्मेदवार अनि तिनको पक्षमा आएका समर्थनका लहरले राजनीतिक चिन्तक, जोडदार विश्लेषक र हामीजस्ता साहित्य र नाटकवृत्तका मानिस आदि सबैलाई छोएको छ । काठमाडौ नगरपालिकाको चुनाबमा बालेन्द्र शाहको पक्षमा उठेको लहरले पहिले तरङ्गित बनाउँन थालेको हो । स्वतन्त्रताका ती जितहरू अहिले ठूला चर्चाका विषय भएका छन् । आश्चर्य, विस्मय र आक्रोश मिश्रित प्रतिक्रियाहरूको बाढी आएको छ । म यो छोटो छलफलमा राजनीति विश्लेषण गर्न चाहन्नँ । विज्ञ राजनीतिशास्त्री र पत्रकारहरूले लेखिरहेका छन् । यो लहर आउन थाल्दा मेरा मित्र र विद्यार्थी अनि केही साहित्यकारहरूले भनेका कुरामा एउटा अनिश्चित उमंग थियो । त्यो कायमै छ । कुनै गहिरो राजनीतिक मीमांसा थिएन । चुनाव त्यस्तै हुन्छ जहाँ पनि । एमाले बनाम गठबन्धनका दलहरूको चुनावी प्रतिस्पर्धा नै यो चुनावको मुख्य मानक हो । यो मानकभन्दाबाहिर गएर जे हुन्छ, त्यसले प्रतिक्रियाहरू जन्माउने नै भयो । तर, मतदाताले माथि भनिएका नगर नेतृत्व गर्न उठेका उम्मेदवारहरूलाई किन मत दिएर जिताए ? काठमाडौं राजधानीको मेयरका उम्मेदवार राजनीतिमा कुनै परिचय नभएका युवालाई किन मतदाताले भोट दिए ? यो लहर के थियो र कसरी चल्यो ? यी युवकले राजनीतिका हेभिवेट अथवा दलले उठाएका उम्मेदवारहरूलाई किन जिते ? यी विषयमा मीमांसा भएको छैन । खासगरी बालेन्द्र शाहको विषयमा धेरै प्रतिक्रिया जन्मेका छन् । ती विश्लेषकले राजधानीको अन्तर्मुखी, मधेस अमैत्री अनि युवा र तिनका चाहनालाई उपेक्षा गर्ने संस्कृतिको आधार राखेका छन् । कतिले यी बालेन्द्र शाहलाई अमुक राजनीतिक रहस्यवादसँग पनि जोडेका छन् । तर, बलियो समीक्षा गर्नेहरूले मिडियाको लहर अनि त्यसको भाष्यलाई यिनका जितको कारण मानेका छन् । अहिले यो उदयलाई राजनीतिका भाष्यले मात्र व्याख्या गर्न सक्दैन । सिद्धान्तहरूका आधार भाषिक हुन्, तर ती कसरी साधारण रूपमा अभिव्यक्त हुन्छन् त्यो चुनौती हो ।

कुनै खास सिर्जनशील कुरा नगर्ने, काम तातोभुत्लो केही नगर्ने, कल्पना पनि खासै नभएका स्थानीय सरकारका पदाधिकारीका कुरा सुनिबसेका अलग भाष्य खोजिबस्ने नगरका मानिसले स्वतन्त्र मेयर छाने भन्नुको अर्थ मेरा निम्ति सकारात्मक कुरा हो र सिर्जनशील भाषाको खोजीको पर्याय हो ।

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?