स्वअस्तित्व, स्वपहिचान, स्वनिर्णय

ज्ञानु अधिकारी

लेखक प्रभा बरालको उपन्यास ‘फिलिङ्गो’ मा नारी अनुभूति, भोगाइ र सङ्घर्षको कथा बुनिएको छ । आजको नेपाली समाज, नेपाली नारीको परिवर्तित सोच र जीवनशैली लेखिएको छ । नारीका पक्षमा आवश्यकताभन्दा बढी सहानुभूति र करुणा खन्याएर लेखिएका भावनाप्रधान उपन्यासविपरीत नारी दया र सहानुभूतिकी पात्र होइन, ऊ आफैं सक्षम र सबल हुन्छे भन्ने यथार्थ प्रस्तुत गरिएको छ । पुराना सोच र मान्यताका फ्रेममा उभ्याइएका नारीपात्रको प्रयोगले आजका नारीका यथार्थलाई प्रतिविम्बन गर्न सक्दैन भन्छ उपन्यासले ।

स्वअस्तित्व, स्वपहिचान, स्वनिर्णय

उपन्यासकारहरू अक्सर आख्यानमा नारीलाई नै केन्द्रमा राखेर किन लेख्छन् ? यस विषयमा समयक्रममा डिस्कोर्स हुँदै गर्ला, तर केन्द्र बनाइएकी नारीलाई उपन्यासमा कसरी प्रस्तुत गरियो भन्ने विषयले नै महत्त्व राख्छ । बीसको दशकमा बीपीले इन्द्रमाया, चालीसको दशकमा प्रेमा शाहले मम्मी र वानीरा गिरीले ‘निर्बन्ध’ की म पात्रका माध्यमबाट नारीको स्वअस्तित्व चेत, स्वतन्त्रता प्रेम र विद्रोही रूप प्रस्तुत गरिसकेका थिए । तर, यस अवधिका अधिकांश उपन्यासमा भने नारीलाई ठगिएका, हेपिएका, लुटिएका, दुःख पाएका, कसैको आश्रयमा रहेका कारुणिक पात्रकै रूपमा चित्रण गरिएका छन् । नारी विषयमै लेखिए पनि धेरैजस्ता उपन्यासमा आदर्श पात्र वा पाठकको मनमा सहानुभूति जगाउने पात्रका रूपमा नारीलाई प्रयोग गरिएको पाइन्छ । यस उपन्यासमा भने परम्परागत सोच र लेखनभन्दा पृथक् भएर नारीलाई प्रस्तुत गरिएको छ । र, उपन्यासको महत्त्वपूर्ण प्राप्ति यही हो ।

मुख्य पात्र सीमान्तीको जीवनका दस वर्षको अवधिमा आएका उतारचढाव र उसले गरेका सङ्घर्ष नै यस उपन्यासको मुख्य विषयवस्तु हो । उपन्यासलाई सामान्य रूपमा सर्सर्ती पढ्दा पाठकले त्यहाँ सीमान्तीको सङ्घर्ष र जापानी परिवेशको चित्रण मात्रै देख्छन्, तर उपन्यासमा अन्य थुप्रै यस्ता सूक्ष्म यथार्थ छन्, जसले आजका सचेत नेपाली नारीको विश्वदृष्टिलाई देखाएको छ । उपन्यासको प्रारम्भमै निर्भय अर्थात् श्रीमान्को डिपेन्डेड भिसामा सीमान्ती जब जापान पुग्छे, पुगेको भोलिपल्ट बिहान उसले प्रकट गरेको ‘दुई दिनको जहाजको यात्रा, थाकेर थिलोथिलो भएको जीउ । बेस्सरी माया गरेँ भन्ठाने होलान् उनले । सायद अधिकांश जोडीले गर्ने माया पनि यस्तै होला । संसार यसरी नै चलेको होला । यही क्षणको प्रतीक्षामा उनले कयौं रात गुजारेका थिए । मैले पनि यसलाई माया नै ठानिदिएँ’ जस्ता अभिव्यक्तिले दाम्पत्य जीवनमा पुरुषको स्वेच्छाचारी प्रवृत्ति देखाएको छ । मीठो स्पर्श, भावनात्मक संवाद खोजेकी सीमान्ती पहिलो दिनमै यसबाट वञ्चित हुँदा खिन्न भएको र निर्भयको आक्रामक व्यवहारलाई माया ठानिदिन बाध्य भएको प्रस्तुत गरिएको छ । यसबाट उपन्यासले अधिकांशतः नारी पुरुषबाट आत्मीय र सम्मानित प्रेम चाहन्छन् भन्ने देखाइएको छ ।

उपन्यासमा देखाइएको अर्को महत्त्वपूर्ण सन्दर्भ नारीहरूको आर्थिक पक्ष हो । कुनै पनि नेपाली नारी आफूले विवाह गरेर आएको घरपरिवार र सम्बन्ध भत्काउन चाहँदैनन् । उनीहरू सम्बन्धलाई सुमधुर बनाउन हरेक प्रकारले प्रयास गरिरहन्छन् र अति भएपछि मात्रै विरोध वा विद्रोहमा उत्रन्छन् भन्ने यथार्थलाई उपन्यासमा सीमान्तीकै माध्यमबाट देखाइएको छ । उपन्यासमा निर्भयको हेपाहा प्रवृत्ति र जापानी प्रेमिकासँग उसको सम्बन्धमाथि सीमान्तीले विद्रोह गरेकी छ । ऊ भन्छे– ‘म टुक्रिन चाहन्नँ, म फुट्न चाहन्नँ । मलाई आकाशमा स्वच्छन्द उड्न देऊ । मलाई मै बनेर बाँच्न सक्ने विश्वासको धर्ती देऊ, जहाँ मेरै स्वभावमा बाँच्न सकूँ ।’ र, अन्त्यमा सीमान्तीले आफ्नो बाँकी जीवनको गन्तव्यबारे आफैँले निर्णय लिएकी छे । यो नै यस उपन्यासको सबैभन्दा सुन्दर पक्ष हो । बच्चा जन्माउने वा नजन्माउने, निर्भयसँग बस्ने वा नबस्ने, जापानमा नै बस्ने वा नेपाल फर्कने, माइत जाने वा बाहिरै डेरा गरी बस्ने, कुन विषय पढ्ने, जीवनको गन्तव्य केलाई बनाउनेजस्ता यावत् विषयमा सीमान्तीले एक्लै निर्णय गरेकी छे र ती निर्णयहरूमा ऊ अत्यन्तै सन्तुष्ट छे । नारीका लागि परम्परित मूल्यमान्यताले तोकिदिएको जस्तो साँघुरो छैन आजको संसार भन्ने यथार्थ उपन्यासले भन्छ ।

उपन्यासका अजिला म्याम, नीलम म्याम र सीमान्तीजस्ता पात्र आजका चेतनशील नारी हुन् र उनीहरूको उपस्थितिले के देखाउँछ भने अब यी नारीहरूले बिस्तारै समाजको नेतृत्व गर्नेछन् । उनीहरूको काम र प्रोत्साहनबाट अब अरू सीमान्तीहरूको निर्माण हुनेछ । अब यो कहिल्यै नरोकिने यात्रा हो । र, यो यात्रामा चाहेर, नचाहेर एक दिन पितृसत्ताले झुक्नैपर्छ भन्छ उपन्यास ।

लेखकको नियात्राकार व्यक्तित्वको प्रभाव उपन्यासमा प्रशस्तै छ । अधिकांश ठाउँमा पाठकले आख्यान नभई नियात्रा नै पढिरहेको अनुभूति गर्छन् । ‘आँखा आँखामा नाच्छ हिरोसिमा’, ‘गुडियाको गाउँ’ जस्ता परिच्छेद पढ्दा यस्तो अनुभूति हुन्छ । उपन्यासमा सीमान्तीको जीवन सङ्घर्ष देखाउनुभन्दा पनि उसमा जागृत स्वपहिचान, स्वाभिमान र स्वतन्त्र जीवनप्रतिको सचेततालाई देखाउन खोजिएको छ । जापानी परिवेशका कतिपय प्रसङ्गको पुनरावृत्ति हुनु, समसामयिक सन्दर्भ नआउनु, कलात्मकताको अपेक्षा रहनु र अन्त्यमा निर्भयप्रति सीमान्तीमा देखिएको भावुकता यस उपन्यासका सीमा हुन् । उपन्यास पढिसक्दा भने एउटा प्रश्नले लखेटिरहन्छ– आज पनि एक्लो केटीलाई बहालमा बस्न एउटा कोठा त नपत्याउने यो बैगुनी सहरमा सीमान्तीले जस्तै सरल बाटो हिँडेर सहज रूपमै नेपालका कति महिला लक्ष्य प्राप्तिमा पुग्लान् ?

महिलालाई समर्पण गरी महिलामाथि लेखिएको यस उपन्यासको लेखक, प्रकाशक, सम्पादक, कलाकार सबैमा महिलाको उपस्थिति देखिएको छ । साहित्यको बहुआयामिक क्षेत्रमा सक्षम र सबल भएर यो स्थानसम्म आइपुग्न नारी साहित्यकारलाई झन्डै एक शताब्दी समय पर्खनुपरेको यथार्थ इतिहासले बताउँछ । समग्रमा नारीको आत्मविश्वास र स्वनिर्णयले प्राप्त गरेको सफलताको कथा बोकेको फिलिङ्गो नेपाली साहित्यको पठनीय कृति हो ।

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?