कबड्डी : अब खेल्न पुग्यो- कोसेली - कान्तिपुर समाचार

कबड्डी : अब खेल्न पुग्यो

कबड्डी–४ अर्थात् फाइनल म्याचसम्म आइपुग्दा फिल्मको अर्गानिक विशेषता, कथाको स्वाभाविकता र गति पहिलेका शृंखलाको तुलनामा कमजोर छ । अलिकति चिकन, अलिकति प्याज, गाजरका केही टुक्रा र सागका केही पात हालेर फापरको रोटीलाई बर्गर बनाएझैं लाग्छ फिल्म ।
मानिसले रचना गर्ने कलाको आधार मूलतः ऊ बाँचिरहेको समाज र समय हो । सिनेमा पनि यही समाजको प्रतिविम्ब, प्रतिक्रिया र सिर्जना हो ।
रघु पन्त

सिनेमा या त जिम्मेवार हुन्छ या गैरजिम्मेवार । यदि तपाईं आफ्नो समयलाई बुझेर फिल्म बनाइरहनुभएको छ भने जिम्मेवार फिल्म बन्छ,’ प्रसिद्ध निर्देशक, कवि, गीतकार, पटकथाकार गुलजारले सन् १९९६ मा दिएको एक अन्तर्वार्ताको अंश हो यो ।

सन् १९९४ मा दिएको अर्को अन्तर्वार्तामा गुलजार फिल्मको बजार, व्यावसायिकता एवं लोकप्रिय र कलात्मक फिल्मका श्रेणीबारे भन्छन्, ‘...यो श्रेणी कसले बनायो, श्रेणीहरू तपाईंहरू बनाइरहनुभएको छ । व्यावसायिक हित त हुन्छ । सिनेमा ‘आर्ट फर लाइफ’ हो । ...यदि तपाईं ‘रिफर्म’ गरिरहनुभएको छैन भने रिकर्ड त गर्नुहोस् । कुनै पनि कलाको यो भूमिका रहनुपर्छ । अब जो फिल्मकारहरू रिकर्ड गर्न सकिरहेका छैनन्, वास्तवमा तिनीहरू फास्ट फुड बेचिरहेका छन् । त्यसैले त म भन्ने गर्छु, सिनेमा या त जिम्मेवार हुन्छ या गैरजिम्मेवार ।’

नेपाली सञ्चारमाध्यम र सिनेमा दर्शकहरूमा यतिबेला ‘कबड्डी–४’ को चर्चा छ । सिनेमाले दर्शकको ध्यान तान्न सफल भएको छ । र, व्यावसायिक रूपमा सिनेमा निर्माता, निर्देशकहरूले अपेक्षा गरेभन्दा बढी सफल भएको छ । सिनेमाको व्यावसायिक सफलतासँगै यसका विविध पक्षबारे चर्चा–परिचर्चा, प्रशंसा र आलोचना हुन थालेको छ । सिनेमाका लेखक, निर्देशक र कलाकारहरूले ती सबै प्रकाशित आलोचना र समीक्षाको गम्भीर अध्ययन पनि गर्नुपर्छ ।

किन गर्नुपर्छ ? किनभने सिनेमा निर्माण व्यावसायिक मात्रै नभइ एउटा जिम्मेवारीयुक्त र महत्त्वपूर्ण सिर्जनात्मक कर्म हो । यस्तो सिर्जनात्मक काम, जसले आफ्नो समयको, एउटा कालखण्डको अभिलेख राख्छ । गुलजारका शब्दमा भन्ने हो भने ‘रिकर्ड’ गर्न सक्छ । ‘रिफर्म’ का लागि आवाज उठाउन सक्छ, उत्प्रेरणा दिन सक्छ ।

त्यसैले गुलजारको शब्द ‘फास्ट फुड’ को यहाँ उल्लेख गर्दै भन्नुपर्छ– सिनेमा ‘फास्ट फुड’ जस्तो हुनु हुँदैन । जसलाई खाएर एकछिन पेट भर्न त सकिन्छ, तर अन्ततः त्यसले स्वास्थ्यलाई हानि गर्छ ।

हलिउडदेखि बलिउडसम्मै सिनेमा शृंखला अर्थात् सिक्वेल बनाउने चलन बढ्दै गएको छ । कुनै सिनेमा चल्यो भने पुरानै नाम राखेर त्यसको दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं भागसम्म बनाउने चलन देखिन थालेको छ । यो चलन नेपाली सिनेमामा पनि देखिँदै छ । ताजा उदाहरण– ‘कबड्डी–४’ । ‘कबड्डी–४’ लाई कबड्डी शृंखलाको ‘फाइनल म्याच’ भनिएको छ । कबड्डी–४ हेरेपछि दर्शकलाई पनि अनुभव हुन्छ– ‘ल अब कथा सकियो’ ।

‘कबड्डी’ को पहिलो शृंखला हेर्दा मलाई जोमसोममा बसेर स्थानीय अर्गानिक फापरको रोटी त्यहीँको तरकारी र गोलभेंडाको अचारसँग खाएझैं स्वादिलो लागेको थियो । कथावस्तु, पात्रहरूको चयन, संवाद र दृश्यांकनले एउटा स्वाद दिएको थियो । सिनेमामा खिचिएका दृश्यहरू मौलिक र मनोरम थिए । छायांकनले आँखालाई शीतल बनाएको थियो । कथा कालीगण्डकी बगेजस्तै गतिमान बगेको थियो । संवादहरू स्वादिला र चोटिला थिए । फिल्म हेरेर दर्शक हलबाहिर निस्कँदा उनीहरूले एक प्रकारको तृप्ति र आनन्द अनुभूति गरेका थिए ।

‘कबड्डी’ को दोस्रो शृंखलाले पनि पहिलोको गतिलाई पक्रेको थियो । मुस्ताङकै कोदोको ढिँडो जोमसोममा बसेर गुन्द्रुक मस्यौराको झोल र गोलभेंडाको अचारमा चोप्दै खाएझैं तिख्खर मौलिक स्वाद दोस्रोमा पनि थियो । कथाको गति, संवाद, अभिनयमा पहिलो शृंखलाकै ताजापन दोस्रोमा पनि देखिएको थियो ।

‘कबड्डी’ को तेस्रो शृंखलामा कथाको सारवस्तु केही कमजोर थियो । तर, सिनेमा अघिल्ला दुई भागको पृष्ठभूमिमा उभिएको हुनाले त्यसमा गति र दर्शकलाई उत्सुक बनाउने ठाउँ थियो । त्यही स्पेसमा तेस्रो शृंखला उभिएको थियो । काजी (दयाहाङ) को बिरक्तिएको मनलाई नायिकाका रूपमा उपासना सिंहको प्रवेशले आकर्षित गरेको थियो ।

तेस्रो शृंखलाचाहिँ भृकुटीमण्डपबाहिर फुटपाथमा बेचिने पोलेको मकैजस्तो थियो । पहाडमा फलेको मकै नुन–खुर्सानीसँग खाँदाझैं स्वाद थियो, कबड्डीको तेस्रो भाग । यही शृंखलामा कथाले नयाँ ट्वीस्ट लिएको थियो र अब के हुन्छ भन्ने उत्सुकता बाँकी छोडेको थियो । कबड्डीको जुन तिख्खर स्वाद पहिलो र दोस्रोमा थियो, तेस्रो भागसम्म आइपुग्दा त्यो केही कम भइसकेको थियो ।

कबड्डी–४ अर्थात् चौथो भागसम्म आइपुग्दा फिल्मको अर्गानिक विशेषता, कथाको स्वाभाविकता र गति पहिलेका शृंखलाको तुलनामा कमजोर भएको छ । केही चिकन, केही प्याज, केही गाजरको टुक्रा र केही सागका पात हालेर फापरको रोटीलाई बर्गर बनाएझैं लाग्छ फिल्म कतैकतै ।

तर, अघिल्ला भागको संरचनामा उभिएको कबड्डी–४ ले आफ्नो कथा, गति र स्वाभाविकता पूरै गुमाएको भने छैन । फिल्मले दर्शकलाई हेरुन्जेल बाँधेरै राख्छ । केही कमजोर दृश्यहरू भए पनि सामान्य दर्शकका लागि हेरुन्जेल फिल्म मनोरञ्जनात्मक छ ।

दर्शकलाई बाँध्ने भनेको पटकथा, संवाद र अभिनयले हो । त्यसमा संगीत र फिल्मको दृश्यांकनको पनि उत्तिकै भूमिका हुन्छ । पटकथा पहिलेको तुलनामा कसिलो र गतिमान छैन । कतिपय दृश्यले उत्सुकता जगाउँदैन, जस्तो सिनेमाको उत्तरार्द्धतिर बेहुली लिएर मोटरसाइकलमा भाग्दाको दृश्य । यो दृश्यमा सक्कली नायिका मोटरसाइकलमा छैनन् भन्ने पूर्वानुमान दर्शकले गरिसकेका हुन्छन् । त्यसैले मोटरसाइकलको पछिपछि बमकाजीको टोलीले बाइक कुदाएको दृश्य दर्शकलाई उत्सुक बनाउने खालको छैन ।

लाखौं वर्षदेखि मानव समाज छ । हजारौं भाषा, संस्कृति र समुदायका मानिस पृथ्वीका विभिन्न भूभागमा बस्छन् । तिनका आआफ्ना संस्कृति, धर्म, भाषा, गीत, लोकगीत, दुःख र सुखका कथा छन् । लाखौं वर्षदेखि मानिसले प्रेम गर्दै आइरहेका छन् । जबसम्म मानव समाज अस्तित्वमा रहन्छ, प्रेम पनि अस्तित्वमा रहनेछ । जबसम्म समाज रहन्छ, समाजमा विभिन्न प्रकारका द्वन्द्व र अन्तर्विरोधहरू पनि रहन्छन् । मानिसले रचना गर्ने कलाको आधार मूलतः ऊ बाँचिरहेको समाज र समय हो । सिनेमा पनि यही समाजको प्रतिविम्ब, प्रतिक्रिया र सिर्जना हो । समय वा बाँचिरहेको कालखण्डको कथा हो, प्रस्तुति हो ।

यस अर्थमा कबड्डीले हाम्रो समयको कथा समय चेतनाअनुसार भन्नुपर्थ्यो । त्यो भन्ने क्रममा कबड्डी–४ केही चुकेको छ । खासगरि यो सिनेमाले नारीलाई हासिल गर्ने साधनको रूपमा हेर्न खोजेको झल्को केही दृश्यमार्फत् दिन्छ ।

कबड्डीको पहिलो शृंखलाबाट सुरु भएको एकतर्फी प्रेमलाई दोस्रो शृंखलामा जसरी टुंग्याइएको छ, त्यो एकदमै स्वाभाविक, न्यायिक र उचित छ । प्रेम दोहोरो हुन्छ । साँचो मिलन दुईतर्फी सहमतिमा मात्रै हुन्छ । कसैले कसैलाई मन पराउन सक्छ, तर त्यो प्राप्तिको आधार बन्दैन यदि जसले चाहेको उसलाई अर्को पक्षले मन पराउँदैन भने । फिल्मको दोस्रो शृंखलाको अन्तिमतिर आफूले मन पराएको केटोसँग भागिरहेकी मैयाँलाई जब रोकेर आफ्नो कब्जामा काजीले लिन खोज्छ, त्यसबेला मैयाँले कडा रूपमा विद्रोह गर्छे र ‘म मरिगए पनि तँलाई स्विकार्दिन’ भन्छे । यहीँनेर काजी भावनात्मक रूपमा पराजित हुन्छ र कब्जामा आइसकेकी मैयाँलाई छोड्छ । यो दृश्यमा दयाहाङले प्रभावकारी ढंगले आफ्नो पात्र बाँचेका छन् । कबड्डी–कबड्डी अर्थात् दोस्रो भाग फिल्मको सारांश र समय चेतनाको अभिव्यक्ति पनि हो ।

प्रेम दुईतर्फी सहमतिको आधारमा हुर्कन्छ र अघि बढ्छ । बलजफ्ती छेकेर, कब्जा गरेर शारीरिक रूपले नियन्त्रणमा कसैलाई लिए पनि प्रेम प्राप्त गर्न सकिँदैन बरु घृणा हात लाग्छ । त्यसैले कसैले तिम्रो प्रेमलाई अस्विकार्छ भने त्यो अस्वीकारलाई स्वीकार गर भन्ने लोकतान्त्रिक चेतना र सन्देश कबड्डीको दोस्रो भागले दिन्छ । तर, यो शृंखलाले केटीलाई जुत्तासँग तुलना गरेको छ । ‘आफूले मन पराएको जुत्ता पो जुत्ता, नभए खाली खुट्टै ठीक’ भन्नेजस्ता संवाद लोकप्रिय भए पनि तिनले दिने सन्देश हो– महिलाहरू भोगका साधन हुन्, उपभोग गर्ने साधन हुन् । र, यो सन्देश महिलाद्रोही छ ।

कबड्डी र कबड्डी–कबड्डी अर्थात् पहिलो र दोस्रो शृंखलाकी नायिकाको चरित्र चित्रण सुदृढ, स्वाभाविक र सामयिक लाग्छ । त्यो तुलनामा कबड्डी–४ की नायिका शिक्षिका शान्तिको चरित्र निर्माण फितलो छ ।

कबड्डीकी सुरुकी नायिका मैयाँभन्दा पृष्ठभूमि, शिक्षा र अनुभवका आधारमा कबड्डी–४ की शान्ति स्वाभाविक रूपमै परिपक्व र दृढ देखिनुपर्थ्यो । पढे–लेखेकी र शिक्षिकासमेत रहेकी शान्ति (मिरुना मगर) आफूलाई अपहरण गरेर बलजफ्ती विवाह गर्न खोज्ने बमकाजीअघि निरीह बनेर आँसु खसालेर बस्नु स्वाभाविक लाग्दैन ।

‘म तिमीलाई मन पराउन्न, तिमीले मलाई यसरी बलजफ्त थुनेर राख्नु हुँदैन । यो कानुनी रूपमा पनि अपराध हो । म तिमीलाई आफ्नो जीवनसाथी मान्न सक्दिन’ भनेर विद्रोहका शब्द बोल्न सक्ने र बमकाजीविरुद्ध बोलीले भए पनि प्रतिरोध गर्न सक्ने प्रशस्त ठाउँ हुँदाहुँदै यो स्पेसलाई ठीक ढंगले चित्रण र प्रयोग गर्न पटकथाकार, संवाद लेखक र निर्देशक चुकेका छन् । सबभन्दा नराम्ररी निर्देशक चिप्लेको र चुकेको ठाउँ नै यही दृश्य हो । शान्तिको व्यक्तित्व, उसको आत्मबल, प्रेमप्रतिको दृढता, सिनेमाको सन्देश र सामयिक चेतना प्रवाह गर्ने महत्त्वपूर्ण अवसर यहीँनेर थियो । कबड्डी–४ मा आफ्नो समय अभिव्यक्त गर्ने ठाउँ हुँदाहुँदै यहाँनिर चुक्चुकाउने ढंगले लेखक–निर्देशक चुक्नु नमज्जालाग्दो छ ।

सिनेमाको अघिल्ला कडीमा झाँक्रीले लठ्याएर पेट बोकाएको तथ्यलाई निर्देशकले कसरी बिर्सेको र झाँक्रीलाई अस्वाभाविक ढंगले किन चोख्याउनुपरेको ? यो दृश्य कबड्डी–४ मा आवश्यकतै थिएन ।

यस्ता विभिन्न कमीकमजोरी हुँदाहुँदै पनि कबड्डी–४ लाई दर्शकले मन पराएका छन् । फिल्म हिट भएको छ । अपेक्षाभन्दा बढी कमाइ गर्न सफल भएको छ । किन होला ?

किनभने यो सिनेमाका पात्रहरूसँग दर्शकहरूले अपनत्वको भाव राखेका छन् । काजी र बीके मात्रै होइन, अरू पात्र पनि हाम्रो समाजका प्रतिनिधि पात्र नै हुन् । सिनेमामा उनीहरूको उपस्थिति स्वाभाविक लाग्छ । तिनीहरू हाम्रै दैनिन्दिन जीवन वरपर देखिएझैं लाग्छ ।

काजीको एकोहोरो प्रेम असफल भएको छ, पटकपटक । त्यसैले त्यस पात्रमा अनेकौं कमजोरी भए पनि त्यसप्रति दर्शकमा सहानुभूति त कतै कतै । विगतका तीन भागमा कबड्डीका विभिन्न पात्र हेरेका दर्शकलाई ती पात्र परिचित लाग्छन् ।

कबड्डी–४ का पात्रहरूको अभिनय पनि प्रभावशाली छ । विजय बरालको चरित्र चित्रण कथामा स्वभाविक छ, त्यो पात्रमा उनी फिट देखिएका छन् । सौगात मल्ल कतैकतै नाटकीय र लाउड लाग्छन् । मिरुना मगरका लागि अभिनय देखाउने स्पेस धेरै छैन फिल्ममा । उनको अभिनय स्वभाविक छ । गीत–संगीत उपयुक्त छ ।

सिनेमा हाम्रो समयको अत्यन्तै प्रभावकारी कला माध्यम हो । यसले लाखौंलाख मानिससँग आफूलाई जोड्न, प्रभावित गर्न, रुवाउन, हँसाउन अनि उनीहरूका संवेदनालाई उद्वेलित र प्रेरित पनि सक्छ । त्यसैले यो माध्यमको प्रयोग सोची–बिचारी गर्नुपर्छ ।

प्रेम भावनात्मक रूपमा मन जितेर मात्रै गर्न सकिन्छ । प्रेम सहमति र स्वीकृतिमा मात्रै हुन्छ । असहमति र बलजफ्तीमा प्रेम फुल्दैन । आजको पुस्तालाई यो सिकाउनु जरुरी छ । कबड्डीका शृखंलाहरूले महिला हरण गर्ने, छोप्ने चलनलाई महिलामण्डित गर्न खोजेझैं देखिन्छ, यो जरुरी छैन । छोप्ने चलन अधिकार होइन, कानुनी रूपमा दण्डनीय हो भन्ने तथ्यलाई हाम्रा सिनेमाहरूले बुझाउन सक्नुपर्छ ।

प्रेम पुरुषको मात्रै अधिकारको विषय होइन । नारीहरू पनि प्रेममा पुरुषजत्तिकै अधिकार राख्छन् । प्रेम गर्ने तरिका परिवर्तन भएको छ । प्रेम सहमति, सहकार्य र समर्पणको आरम्भ हो, त्यहाँ कुनै पनि प्रकारको हिंसा र बलजफ्ती चल्दैन । आजको पुस्ता र समय फेरिएको छ । यो फेरिएको समयको कथा भन्नु आजको आवश्यकता हो ।

कबड्डीका चारै शृंखला व्यावसायिक रूपमा सफल भए । सिनेमा चर्चित नै रह्यो । तर, हामीलाई ‘जिम्मेवार’ र उल्लेख गर्नलायकका सिनेमा चाहिएका छन् । कबड्डीको टिमले यो आवश्यकता बिर्सनु हुँदैन ।

रामबाबु गुरुङले सुरु गरेको कबड्डी खेल कबड्डी–४ सँगै सकियो । कबड्डी–४ मा विभिन्न कमीकमजोरी छन्, तर रामबाबुमा आफ्नो परिवेशको कथा पस्किन सक्ने खुबी छ । सिनेमा निर्माण एउटा सामूहिक सिर्जनाको परिणाम हो । त्यहाँ संगीत, संवाद, सिनेमाटोग्राफी, कथा र अभिनयलगायत अरु अनेकौं पक्ष मिलाई–मिलाई माला उन्दा फूल उनेजस्तै उन्नुपर्छ, तब मात्रै राम्रो सिनेमा बन्छ ।

रामबाबुको सफलता कबड्डी–४ मै नटुंगियोस् । उपेन्द्र सुब्बा, दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बरालजस्ता साहित्य र रंगमञ्चको अनुभव भएका मानिसहरू उनको टिममा छन् । यो टिमले अझै राम्रा सिनेमा निर्माण गर्न सक्छ । त्यसको लागि अध्ययन, अनुसन्धान र मिहिनेत जरुरी हुन्छ ।

नेपाली सिनेमाको मौलिक भाषा, लय र प्रस्तुति निर्माण गर्न नेपाली जनजीवनमा थुप्रै कथा छन् । त्यो खोज्ने र तिनमा फिल्म बनाउने जाँगर रामबाबुमा नमरोस्, किनभने उनी यो समयको एक सम्भावना बोकेका निर्देशक हुन् ।

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्

जब महेन्द्रले पाँच–पाँच बिघा जमिन बक्सिए...

राजा महेन्द्रको जन्मोत्सवमा फोटो छपाउन म कलकत्ता गएँ । छपाएर ल्याएपछि फोटो दरबार पुग्यो । फोटोमा राजाको एउटा दाँत कालो देखियो अर्थात् भाँचिएजस्तो । राजाले भने, ‘मेरो सुनको दाँत त कालो पो आएछ ।’
दुर्गाप्रसाद श्रेष्ठ

यो घटना ०१९ सालतिरको हो । ‘गोरखापत्र’ मा राजा महेन्द्रको एउटा कविता छापियो– मवीवि शाहको नाउँबाट– ‘रारा की अप्सरा’ ! रारा दहको नैसर्गिक सौन्दर्यको वर्णन गर्दै लेखिएको थियो कविता । उपमा–अलंकारले भरपूर । मलाई पछि थाहा भयो– मवीवि शाह नेपालका राजा रहेछन्– महेन्द्रवीरविक्रम शाहदेव !

म बनारसमा एमए पढ्दापढ्दै आफ्नी शिष्याको बिहामा आएको थिएँ र पछि ‘प्रगति’ का सम्पादक नारायणप्रसाद बाँस्कोटाको कृपाले सरकारी जागिरदार भएँ । प्रेस (मुद्रणस्थल, छापाखाना) सम्बन्धी ज्ञान भएकाले ‘गोरखापत्र’ छापाखानामा खटाइएँ । गोरखापत्र छापाखाना वस्तुतः गोरखापत्र अखबार छाप्ने हेतुले स्थापना गरिएको रहेछ ।

‘ह्यान्ड कम्पोजिङ’ द्वारा लेख–समाचार ‘कम्पोज’ (विन्यास ?) गरिन्थ्यो र ह्यान्ड–फेड ‘गिद्धे प्रेस’ मा अखबार छापिन्थ्यो । मेसिनको नाउँ त ‘इगल’ (अंग्रेजीमा नाउँ) थियो, तर स्थानीय भाषामा ‘गिद्ध’ बाट ‘गिद्धे’ प्रचलित भयो । पछि ‘कोलम्बो प्लान’ अन्तर्गत बेलायतबाट एक जना ‘एडभाइजर’ आए । उनको सिफारिसअनुसार, ‘लाइनोटाइप’ मेसिन आएपछि ‘ह्यान्ड कम्पोजिङ’ बन्द भयो । अखबार र अन्य सामग्री छाप्न स्वचालित मुद्रण मेसिन पनि आयो । सूचना प्रविधिको विकासमा यो पहिलो कदम थियो । त्यसपछि एएफपीका सल्लाहकारहरूसँग सम्झौता भएपछि ‘टेलिप्रिन्टर’ पनि जडान भयो, त्यसपछि राष्ट्रिय संवाद समितिले समाचार सम्प्रेषणको दिशामा आधुनिक प्रविधि अपनायो ।

‘प्रगति’ का सम्पादक नारायण बाँस्कोटालाई प्रचार विभागमा डाइरेक्टर बनाएपछि त्यसको आमूल परिवर्तन भयो र पछि ‘सूचना–प्रसार मन्त्रालय’ खडा भएपछि त्यो सूचना विभागमा परिवर्तन भयो ।

प्रचार विभागमार्फत ‘पञ्चायती व्यवस्था’ को फिल्मी शैलीमा प्रचार गर्न नेपालको पहिलो चलचित्र ‘आमा’ को निर्माण गरियो । ‘आमा’ मा काम गर्ने कलाकार र गायकहरू सबै सरकारी जागिरदार थिए– शिवशंकर, भुवन थापा, वसुन्धरा भुसाल, इन्द्रलाल, भैरवबहादुर थापा आदि । अनि उत्तम नेपाली र म पनि । गायकहरू थिए– खनारायणगोपाल, तारादेवी आदि । हीरासिंहलाई राजा महेन्द्रले भारत भ्रमणका बेला बम्बईमा भेटेर ‘तिमी नेपालमा काम गर्छौ ?’ भनी सोधेर ‘आमा’ बनाउने जिम्मेवारी दिइएको रहेछ । मेरो बुबा काशीबहादुर श्रेष्ठलाई ‘गोरखापत्र’ को सम्पादकमा नियुक्त गर्न महेन्द्रबाट बोलाइएको रहेछ । बुबालाई जागिर खान मन लागेन र बिन्ती गर्नुभएछ, ‘सरकार, मेरो पत्रिका ‘उदय’ लाई केही आर्थिक मदत बक्से त्यसैमार्फत सेवा गर्नेछु ।’

‘उदय’ लाई प्रचार विभागबाट विज्ञापन दिने आदेश भएपछि ‘अरू केही चाहिन्छ ?’ भनी राजाले सोधे । त्यसपछि बुबाले भन्नुभयो, ‘सरकार, मेरो छोरा दुर्गाप्रसादको नेपाली कथासंग्रह छाप्न आर्थिक मद्दत पाऊँ ।’ तुरुन्तै १२ सय भारु बकस भएछ । यसप्रकार मेरो कथासंग्रह ‘सम्झनाको बादल’ प्रकाशित भयो । पछि यो मराठी र तेलेगु भाषामा पनि प्रकाशित भयो ।

यो चाहिँ २०२८ सालको घटना हो । रौतहटमा हिन्दु–मुसलमान दंगा भएछ । त्यसको शान्ति–सुव्यवस्थाका लागि रामनारायण श्रेष्ठ अञ्चलाधीशको अध्यक्षतामा गृह मन्त्रालयको एउटा टोली खटाइयो । समाचार सम्प्रेषणका लागि मलाई पनि खटाइयो । साथै सेनाको एक टुकडी पनि खटाइएको थियो । सेनाको अधिकृतका साथ म पनि जिपमा बसेर गस्ती गर्न गाउँगाउँ जान्थेँ ।

हामी बस्न चौरमा फुसको झुपडी बनाइएको थियो । खाटहरूको व्यवस्था पनि थियो । नजिकै इनारको पानीले बिहान नुहाउँथ्यौं । रामनारायण श्रेष्ठले बरखी बार्नुभएको रहेछ र बिहानै उठेर नुहाएर तर्पण दिनुहुँदो रहेछ । करिब एक महिनापछि सबै साम्य भएपछि निरीक्षण गर्न राजाको सवारी भयो । हाम्रो टोलीका सबैले एक लाइनमा उभिएर सरकारको स्वागत गर्‍यौं । रामनारायणले सबैको परिचय गराउनुभयो । परिचय पाएपछि राजाले सोधे, ‘तिमी काशीबहादुरको छोरा होइन ?’

‘हो सरकार,’ मैले भनेँ । जाने बेलामा राजाले रामनारायणसँग कुराकानी गरे । त्यहाँबाट राजा ‘दियालो बंगला’ मा बस्ने गरी चितवन हिँडे ।

‘दुर्गाजी, टोलीका सबैलाई सरकारबाट ‘चन्द्रनिगाहपुरमा पाँच–पाँच बिघा जमिन व्यवस्था गरिदिनू’ भन्ने हुकुम भयो । ल, बधाई छ ।’

म सबेलाबजार, धनुषामा जन्मेको ! सुनेर खुसी लाग्यो । तर, अफसोस ! त्यही राति राजालाई हृदयाघात भएपछि नहुने घटना भयो । हाम्रो सपना चकनाचूर भयो । एक पटक राजाको जन्मोत्सवका पोस्टर छपाउन म कलकत्ता गएँ । सानो साइजको फोटोबाट ठूलो आकार (२०”–३०”) को पोस्टर छपाउनुपर्ने । कलकत्ताबाट छपाएर ल्याइयो र नमुना दरबार पठाइयो । फोटोमा राजाको मुहारमा एउटा दाँत कालो देखियो अर्थात् भाँचिएजस्तो । अब सबैले मेरो जागिर जाने भयो भने । सचिव सुन्दरप्रसाद शाह पनि रिसाए र त्यो पोस्टरको नमुना लिएर दरबार पठाए । संवाद सचिव रेणुलाल सिंहलाई पोस्टर दिएँ । उनले सरसर्ती हेरेपछि राजालाई देखाउन भनी लिएर गए । एक छिनपछि उनी फर्केर आउनुभयो ।

म भित्रभित्रै डराइरहेको थिएँ । तर, संवाद सचिवसँग सोध्ने आँट आएन । रेणुलालले एक छिनपछि भने, ‘ठीक छ भनी बक्स्यो । तर, ‘मेरो सुनको दाँत त कालो पो आएछ’ भनिबक्स्यो ।’मैले अफिस फर्केर रेणुलालको सन्देश सुनाएँ । ‘दुर्गाजीको जागिर जाने भो’ भनी आस गरी बसेका सबै खिस्स भए । देश–विदेशका प्रतिभालाई कदर गर्ने राजा महेन्द्रको बानी ‘काबिल–ए–तारिफ’ हो । ‘आमा’ फिल्मको निर्माण गर्ने कुरा उठ्दा राजाबाट प्रेमप्रकाश मल्ललाई पनि गीत गाउने मौका दिनू भन्ने हुकुम भएछ । प्रेमप्रकाश मल्लले राजाको नेपालगन्ज सवारीका बेला क्याम्पमा गीत गाएर सुनाउँदा आवाज मन परेर उनलाई मौका दिनू भनेका रहेछन् । उर्दूमा यस्तोलाई ‘कद्रदँ’ अर्थात् ‘कदर गर्न जान्ने मान्छे’ भन्छन् । राजा महेन्द्र यस्तै थिए ।

तर, अफसोस कलकत्ता पुगेर मल्लजीलाई ‘डेंगु’ ले समातेछ र एक हप्ता होटलको कोठैमा बस्नुपर्‍यो । उनले स्वर्णिम मौका गुमाए । ‘आमा’ फिल्म बनेर आएपछि ‘जयनेपाल सिनेमाघर’ मा ‘प्रिमियम शो’ भयो । राजा र राजपरिवारका साथै उच्चपदस्थ व्यक्तिविशेषले पनि ‘आमा’ हेरेपछि जयनेपालमै त्यसको नियमित प्रदर्शन भयो ।

‘आमा’ मा काम गर्ने सबैलाई राजाबाट दुई–दुई हजार पुरस्कार दिनू भन्ने हुकुम भयो । त्यो बेला सुनको भाउ दुई सय रुपैयाँ तोला थियो । अहिले कति भयो त ? खैर ।

यो मैले राजा महेन्द्रको गुणगान गाएको होइन । देशको नेतृत्व गर्ने मान्छे कस्तो हुनुपर्छ, त्यसको उदाहरण पेस गरेको । कसैले अन्यथा लिन्छ भने के गर्न सकिन्छ ?

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×