अँकृष्णका एक सय एक कथा- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अ(कथा)

अँकृष्णका एक सय एक कथा

कार्ल मार्क्स ले भनेका थिए– ‘जे कुरामा पनि सन्देह गर ।’ अँकृष्णले यो वाक्यलाई आफ्नो जीवनको मूलमन्त्र बनाएका छन् । त्यसैले कतैबाट घर पुग्दा उनी जहिले पनि जहानमाथि सन्देह गर्छन् र सोध्छन्, ‘घरमा बस्दा पनि किन गाजल लगाएकी ? झ्यालबाहिर कसलाई हेरेर बसेकी ?’
नयनराज पाण्डे

बोल्दा छिनछिनमा रोकिएर ‘अँ–अँ’ गरिरहने भएकाले उनलाई धेरैले अँकृष्णे भनेर चिन्छन् । तर, अरूहरूले भने या हेपे भन्दैमा लेखकले पात्रलाई हेप्नु हुँदैन । हेपेर उसको नाम बिगार्नु पनि हुँदैन । त्यसैले अबउप्रान्त उनलाई अँकृष्ण नै भनिनेछ । 

अँकृष्ण आफैंमा कथा पनि हुन् र कथाका पात्र पनि । उनी मान्छेबाट किताबमा रूपान्तरित हुन सक्दा हुन् त लोकप्रिय कथासंग्रहको रूपमा पाठकहरूका हातहातमा हुने थिए । उनी बेस्टसेलर कहलिने थिए र उनका पछाडि प्रकाशकहरू एडभान्ससहित लाम लागेका हुने थिए । उनको जीवनमा घटनाका अनेकन् शृङ्खला र लस्करहरू छन् । त्यसैले उनी घटनाका मिसिल हुन् । साह्रै पठनीय मान्छे हुन् । उनको चरित्रमा अनेक रङ र आयाम छन् । त्यसैले उनी उल्लेखनीय पात्र हुन् । यी सबै कारणले उनको व्यक्तित्व र सोच, उनका बोलाइ, गराइ, लेखाइ, लवाइ, खवाइ, भोगाइ, बुझाइहरू गजब–गजबका छन् र ती सबैले एक–एक उम्दा कथा बन्ने हैसियत राख्छन् । यहाँ उनका कथाहरूलाई कतै एक–दुई, कतै तीन–चार या पाँच–सात लाइनमा प्रस्तुत गरिएका छन् । तर लाइन, हरफ, प्याराग्राफ या शब्द संख्यामा तपाईं नअल्मलिनुहोला । किनभने तल उल्लिखित हरेक बुँदाहरू आफैंमा पूर्ण कथा हुन् । लामा कथा हुन् । बस्, यी कथाका आगेपिछेका र छिपेलुकेका उपकथाहरू, उपप्रसंग एवं अरू मुख्य र सहायक घटनाक्रमहरू के–के हुन सक्लान् भनेर सोच्ने, पत्ता लगाउने या खोतलखातल गर्ने जिम्मा तपाईंजस्ता मेरा प्रिय पाठकको हो ।

त्यसैले अब तपाईं प्रिय पाठकहरूसमक्ष प्रस्तुत छ– अँकृष्णका एक सय एक कथा ।

(१) अँकृष्ण कमरेड लालबहादुरको छोराको अन्तर्जातीय विवाहको भोजमा भुँडी चर्किने गरी खाएर साँझ सात बजे घर आए र साढे सात बजेतिर तल्लो जातको केटासित प्रेम गरेको थाहा पाएर छोरीलाई बेस्मारी भकुरे ।

(२) अँकृष्णले पसिनाको गन्ध मन नपराउनेहरू सामन्ती हुन् भनेर कविता लेखेकै दिन साँझ अमेरिकाबाट आफूलाई महँगो अत्तर उपहार ल्याइदिने साथीलाई डिनरका लागि बोलाए ।

(३) यसपालिको स्थानीय चुनावमा मेयरमा कम्निस्टलाई, उपमेयरमा कांग्रेसलाई, वडाअध्यक्षमा अँकृष्णले राजावादीलाई भोट हाले । मतपत्रमा रहेको दलित महिला र महिलाको कोठामा छापै लगाएनन् ।

(४) एकपटक अँकृष्ण छिमेकी महिलाले आफ्नो घरको आँगनमा सुकाउन राखेको ब्रा चोरीमा समातिएका थिए । तर, अरू छिमेकीहरूले भने आँगनमा ब्रा सुकाउनै नहुने भनेर उल्टो महिलाको आलोचना गरे । महिलाहरूको जनसंख्या बढी भएको त्यस वडामा अँकृष्ण त्यसै वर्ष वडाअध्यक्षमा निर्वाचित भए ।

(५) पिसाब फेर्दा फुरेको कविताले प्रज्ञा महोत्सवमा प्रथम पुरस्कार पाएदेखि अँकृष्णलाई प्रोस्टेटको समस्या वरदान साबित भएको छ । अचेल पिसाब फेर्दाफेर्दै फुरेका उनका कवितालाई एकेडेमीले खूब मन पराउँछ । यस्ता कवितालाई त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापकहरूले सुकविता नामकरण गरेर पढाइरहेका छन् । अँकृष्ण सुकविताका ट्रेन्ड–सेटर हुन् । यसबापत एउटा प्रतिष्ठानले उनलाई सत्यमोहनको चित्र अंकित ढ्याके पदक पनि प्रदान गरेको छ ।

(६) पशुपतिनाथले नै नेपाल र नेपालीको रक्षा गरेको हो भन्ने कुरामा अँकृष्ण विश्वस्त छन् । तर, पकेटमारको डरले यदाकदा मात्र पशुपतिनाथ पुग्छन् ।

(७) अँकृष्णकी जहानले विदेश बस्ने छोराहरूलाई हरेकपल्ट फोनमा सोध्छिन्– कहिले नेपाल आउँछौ बाबु ?

(८) छोरीलाई छोटो लुगा लगाउन नदिने अँकृष्णले आफ्नो मोबाइलको मेमोरी फुल भएपछि हिजो मात्रै बीसवटा पोर्न भिडियोहरू डिलिट गरे ।

(९) नाङ्गै खुट्टा हिँड्ने गरिबहरूका बस्तीमा राहत वितरण गर्न जाँदा अँकृष्णले जहिले पनि स्केचर कम्पनीको मुलायम जुत्ता लगाउँछन् ।

(१०) सरकारले नेपालको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई सामेल गरेको खुसियालीमा घरमा दीपावली गरेका थिए अँकृष्णले । उनकी छोरी त्यसलगत्तै भारतीय दूतावासको छात्रवृत्तिमा नयाँ दिल्लीस्थित जेएनयूमा राजनीतिशास्त्रमा मास्टर्स गर्न गइन् ।

(११) प्रेमिका मिलनका दिन होटलमा जानुअघि जहिले पनि अँकृष्णले जहानको ब्यागबाट ‘ह्याप्पिडेन्ट’ चोर्छन् । तर, उनले आजका मितिसम्म पनि चुइंगम खाएका छैनन् ।

(१२) चाकडी, चुक्ली फिटिक्कै मन पराउँदिनँ भन्ने अँकृष्णले आफ्नो कुरा आमालाई लगाइदिएको भनेर विगतमा धेरैपटक कान्छो छोरा कुटेका छन् । अस्ति जेठ ५ गते उनले गृहमन्त्रीसित अनुरोध गरेर त्यही कान्छो छोरालाई गुप्तचरमा जागिर ख्वाए ।

(१३) बीपीलाई ओभररेटेड लेखक र नेता ठान्ने अँकृष्णले ट्वीटरमा भारतीय प्रधानमन्त्री मोदीलाई फलो गरेका छन् ।

(१४) जीवनमा पहिलोपल्ट जहानसहित पोखराको लेकसाइडमा होटलमा बास बस्न पुगेका अँकृष्णसित रिसेप्सनमा बसेको केटाले ‘सरलाई अस्ति बसेकै कोठा दिऊँ ?’ भनेर सोधेपछि रातभरि होटलमा उनकी जहान रोइरहिन् ।

(१५) गाई काट्ने महापापी हो भन्ने अँकृष्ण एकपटक एउटा ज्यानमुद्दामा समातिएका थिए । पछि फैसलामा न्यायाधीशले लेखे, ‘मेरो चित्तमा यो मान्छे काइदाको लाग्यो । यसलाई छाडिदिनू ।’

अँकृष्णले पास गरिदिएको बाटो छेउको एक कट्ठा घडेरीमै ती न्यायाधीशले घर बनाए ।

(१६) पोहर आफूले आमा कुटेको दिन नै अँकृष्णले टोलमा नवनिर्मित आमाघर नामक वृद्धाश्रमको शिलान्यास गरेका थिए ।

(१७) अँकृष्णलाई कसैले पनि रक्सी खाएको देखेका छैनन् । रक्सी खाँदा ओढ्ने बेग्लै सिरक छ उनको शयनकक्षमा । जहानले ‘गर्मीमा किन सिरक ओढेको’ भनेर सोध्दा उनले सधैं जवाफ दिन्छन्, ‘मार्क्स पढिरहेछु ।’

(१८) अँकृष्णलाई साइकल पनि चलाउन आउँदैन । तर, उनीसित मोपेडदेखि डोजरसम्म चलाउन पाउने भनेर यातायात व्यवस्था विभागले हाल सालै जारी गरेको सक्कली ड्राइभिङ लाइसेन्स छ ।

(१९) अँकृष्णको पछिल्लो कवितासंग्रहको कभरको पुछारतिरको पेजमा रहेको उनका प्रकाशोन्मुख कृतिहरूको लिस्टमा उनले नयनराज पाण्डे नामक एक जना सी ग्रेडका आख्यानकारसित आफ्नो नाममा छपाउनका लागि खुसुक्क किनेको उपन्यास पनि समावेश छ । अहिले उक्त पाण्डुलिपिमा भाषा सम्पादनको काम भइरहेको छ ।

(२०) कुनै समय कुमार नगरकोटी बन्छु भनेर अँकृष्णले केही रात घाट र चिहानघारीतिर पनि बिताएका थिए । एक रात भूतै देखेपछि जुत्ता छाडेर कुलेलम ठोके । पछि कुमार नगरकोटीले उनको त्यही छुटेको जुत्ताका बारेमा कविता लेखे । त्यही पढेर अँकृष्णले थाहा पाए, जसलाई उनले मध्यरातमा भूत ठाने, कुमार नगरकोटी तिनै रहेछन् ।

(२१) केही वर्षयता अँकृष्णलाई जुत्ता किन्नैपरेको छैन । किनभने उनको टोलमै बडेमानको मन्दिर बनेको छ, जसको प्रवेशद्वारमै लेखिएको छ– जुत्ताचप्पल बाहिर ।

(२२) अँकृष्णकी ९० वर्षीया आमाले पोहर साल कालीगण्डकीमा हाम फालेर आत्महत्या गरिन् । नदीमाथिको पुलको डिलमा उनले छोडेकी थिइन्, हिजो मात्रै बुझेको तीन महिनाको वृद्धभत्ता र अँकृष्णले बजारबाट किनेर नल्याइदिएको औषधिको प्रेस्क्रिप्सन ।

(२३) नेताहरूसित निकट हुन पाइने लोभमा फलित ज्योतिषीको अध्ययन थालेको तीन महिनामै अँकृष्णलाई नेपालका पूर्वप्रधानमन्त्रीले गाडी नै पठाएर भेट्न बोलाए र सोधे– मेरो छोरो प्रधानमन्त्री हुन्छ कि नाइँ ?

(२४) ‘बा, म स्कुलबाट फर्कंदा सरले जंगलमा लगेर मलाई बलात्कार गर्नुभयो । म अब के गरूँ ?’, फोनमै रोइरहेकी कान्छी छोरीलाई उनले फोनमै हप्काए, ‘तँलाई मेकअप गरेर स्कुल जान कसले भनेको थियो ? बेज्जत गरिस् हाम्रो । तँ अब कहिल्यै घर नफर्की ।’

त्यसपछि आत्महत्या गरेकी आफ्नी कान्छी छोरीको फोटो पारिवारिक एल्बमबाट अँकृष्णले उहिल्यै हटाइसकेका छन् ।

(२५) जहानलाई पाठेघरको घाउले दु:ख दिइरहेको वास्ता गर्दैनन् अँकृष्णले र लेख्छन्– ‘देश दुख्छ ।’

(२६) अँकृष्णले कुकुर पालेका छैनन् । तर, उनकै घरको गेटमा कसैले बोर्ड झुन्ड्याइदिएको छ– कुकुरदेखि सावधान ! रोचक कुरा के भने, हरेक बिहान त्यही बोर्डमुनि कुनै कुकुरले पिसाब फेरेर जान्छ । अँकृष्णलाई लाग्छ, त्यो कुकुरको नभएर उनकै टोलकै कुनै मनुवाको कर्तुत हो । एक दिन उनले गेटमा सीसीटीभी जडान गरे । बिहान आफैंले फुटेज हेरे र आफैंलाई आफ्नो गेटमा पिसाब फेरिरहेको देखे । त्यस दिनदेखि राति सुत्ने बेलामा सधैं उनी आफैंले आफ्नो खुट्टामा सिक्री बाँध्ने गर्छन् ।

(२७) उनी घरमा बाघ भएर गर्जिन्छन् र जहानको सातो लिन्छन् । अनि मुसो भएर आफ्नै क्षेत्रका सांसदज्यूको चाकरीमा जान्छन् र भिजेको बिरालो भएर लुरुलुरु फर्किन्छन् । घर आएर फेरि बाघ हुन्छन् । राति ओछ्यानमा बाँदर भएर जहानलाई गिजोल्छन् र कुकुर भएर निदाउँछन् । उनकी जहानलाई लाग्छ, उनको घर गजबको चिडियाघर हो, जहाँ उनलाई एउटा पशुले कैद गरेर राखेको छ ।

(२८) अँकृष्णलाई समाजले चुतिया भन्छ । तर, उनको युट्युब च्यानलमा भने बीस हजार सब्सक्राइबर भइसकेका छन् । यो संख्या तीव्र गतिमा बढ्दो क्रममा छ ।

(२९) हालै प्रकाशित नेपालका प्रगतिशील साहित्यकार नामक कृतिमा अँकृष्णको नाम पनि समावेश छ । उनी नेपाली साहित्य अनुवाद भएर विश्व बजारमा जानुपर्छ भन्ने मान्यता राख्छन् । त्यसैले आफ्नै खर्चमा अचेल भानुभक्तको रामायणको चिनियाँ भाषामा अनुवाद गराउँदै छन् ।

(३०) अमेरिकामा घर किन्ने सुरसारमा रहेको छोरोलाई केही अघिमात्र उनले हुन्डी गरेर बीस हजार डलर पठाइदिएका थिए । एमसीसीविरुद्धको जुलुसमा सहभागी भएको भोलिपल्टको कुरा त हो नि यो ।

(३१) अँकृष्णको शयनकक्षमा मदन भण्डारी, राजा महेन्द्र र माओको फोटो छ । उनी राजेन्द्र लिङ्देन र चेग्वेभेराको पनि फोटोको खोजीमा छन् ।

(३२) सरकारले बलात्कार मुद्दामा हदम्याद हटाउला भन्ने कुराको अँकृष्णलाई बहुतै डर छ । तर, उनकै छिमेकमा बस्ने एक बालिका (जसलाई अँकृष्णले भान्जी भनेर चकलेट दिने गर्थे) लाई भने हदम्याद हट्ने दिनको प्रतीक्षा छ । अचेल घरमा चकलेट लिएर आउने हरेक पाहुनासित ती बालिका असाध्यै डराउँछिन् ।

(३३) विश्वविद्यालयको पाठ्यक्रम बनाउने एक प्राध्यापक र उनकी जहानको चाकडी गरेपछि अँकृष्णको एउटा कविता स्नातक तह तृतीय वर्षको पाठ्यक्रममा सामेल भयो । कविताको पहिलो लाइन यस्तो छ– ‘रातो चन्द्र सूर्य जंगी निशान हाम्रो ।’

यो कविता त गोपालप्रसाद रिमालको हो भनेर एक प्राध्यापकले आपत्ति प्रकट गरेपछि अँकृष्णले प्रतिवादमा तर्क दिए, ‘यो मेरो मौलिक कविता हो । रिमालको कवितामा ‘रातो र चन्द्र सूर्य’ थियो, मेरोमा ‘चन्द्र सूर्य’ को बीचमा ‘र’ छैन ।’

हाम्रो विश्वविद्यालयमा अँकृष्णको कविता लोकप्रिय छ र उनी सम्मानित छन् ।

(३४) खानेपानीको ट्यांकीमा सुनका ढिका र पैसाका बिटा लुकाउने एक नेताका छिमेकी हुन् अँकृष्ण । हरेक बिहान तिनै नेताको घरको धाराबाट एक अम्खोरा पानी ल्याएर स्नान गर्छन् उनी र घरभरि छर्किन्छन् । नि:शुल्क सुनपानी उपलब्ध गराएर आफू र आफ्नो घरलाई पवित्र बनाउन योगदान गरेकोमा ट्यांकीवाला नेताप्रति कृतज्ञ छन् उनी ।

(३५) चिन्तनहीन नेताहरूका कारण देश फोहोर भयो भन्ने अँकृष्ण भर्खर भर्खर मात्र आफूले पाल्न ल्याएको बडेमानको डोबरम्यान प्रजातिको कुकुरलाई बाटामा दिसापिसाब गराउन मर्निङवाकमा आफूसँगै लैजान्छन् ।

(३६) अँकृष्णले आफ्नो टोलको नाम ‘गणतन्त्र टोल’ राखेका छन् । अचेल उनी आफ्नो टोलमा राजतन्त्र र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्छ भनेर बेलाबेला भाषण गर्दै हिँड्छन् र कहिलेकाहीँ नारा पनि लगाउँछन्– ‘विचारभन्दा माथि देश ।’

(३७) सशस्त्र द्वन्द्वकालमा एउटा मन्दिरबाट पुरातात्त्विक महत्त्वको (माफिया बजारमा करोडौं मूल्य पर्ने) सात सय वर्ष पुरानो मूर्ति लुटेका एक नेताले अँकृष्णसमक्ष खुसुक्क प्रस्ताव पेस गरेका छन्, ‘तपाईंको नाममा एउटा गोकुलधाम बनाम्, जहाँ हरेक बिहान सद्गुरुले नैतिकता र सदाचारबारे भिडियो प्रवचन दिनुहुनेछ । पैसा म हाल्छु । वर्षमा लाख पर्यटक आउँछन् । करोड कमाइन्छ ।’

त्यही प्रयोजनका लागि अँकृष्णले भर्खरै एउटा प्राइभेट लिमिटेड कम्पनी दर्ता गराएका छन् ।

(३८) प्रगतिशील चेतना निर्माणका लागि किताबको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने मान्यता राख्ने अँकृष्णले नवविवाहित बुहारीलाई प्रथम गृहप्रवेशको अवसरमा भानुभक्तको ‘वधूशिक्षा’ उपहार दिए ।

(३९) किताब उनको प्रिय जिनिस हो । बहुतै माया गर्छन् किताबलाई । केही वर्षअघि विद्यार्थीहरूले विश्वविद्यालयमा रहेको किताबहरूको संग्रहालयमा आगो लगाउन खोज्दा उनले विद्यार्थीलाई सलाई उपलब्ध गराए, आफैं किताब जलाउनतिर लाग्दै लागेनन् ।

(४०) रुकुम पश्चिमको सोती गाउँमा आफ्नी प्रेमिका भेट्न गएका जाजरकोटका नवराज विकलाई कथित उपल्ला जातिका व्यक्तिहरूले उनका पाँच जना साथीसहित लखेटीलखेटी हत्या गरेको र हातखुट्टा बाँधेर भेरी नदीमा फालेको विरोधमा आफू केन्द्रीय सदस्य रहेको ‘चेतनशील नागरिक समाज, काठमाडौं नामक संस्थाको आयोजनामा भएको र्‍यालीमा सहभागी भएका अँकृष्णले र्‍यालीबाट फर्केपछि आफूमाथि सुनपानी छर्किएर मात्र घरभित्र प्रवेश गरे ।

(४१) अंग्रेजी म्लेक्षहरूको भाषा ठान्ने अँकृष्णले छोराले अमेरिकाको भर्जिनियामा घर किनेको दिन टोलमा एक सय आठ लड्डु वितरण गरे ।

(४२) ‘देशले रगत मागे मलाई बली चढाऊ’ भनेर बेसुरमा गाएको आफ्नो भिडियो सामाजिक सञ्जालमा राखेकै दिन अँकृष्णले पनि अमेरिकाको ग्रिन कार्डका लागि लाइन लागेर आवेदन भरे ।

(४३) एक क्रान्तिकारी पार्टीका जिल्ला नेताले गएको स्थानीय निकायको चुनावमा अँकृष्णलाई मेयरको लागि टिकट दिनुपर्छ भनेर जोडदार लबिइङ गर्दै सिफारिस–पत्रमा यस्तो लेखेका थिए– ‘अँकृष्ण असल मान्छे हुन् । उनले आफ्नो पुख्र्यौली गाउँमा दलितहरूका लागि बेग्लै धारा बनाइदिएका छन् ।’

(४४) अँकृष्णले नेपाली साहित्यको उत्थानका लागि एउटा साहित्यिक पत्रिका पनि चलाएका छन् । तर, उनी लेखकहरूलाई पारिश्रमिक दिँदैनन् । उनको तर्क छ, ‘लेखक, साहित्यकारहरू पैसामुखी भए भने उनीहरूको सिर्जना स्तरीय हुँदैन ।’

धेरै साहित्यकारहरूले आफ्नो सामाजिक सञ्जालमा ‘अँकृष्णजीले म र मेरो रचनालाई पत्रिकामा स्थान दिएकामा नतमस्तक भएको छु’ भनेर स्टाटस राख्ने गर्छन् र भोलिपल्टै रवि मिश्र या अविनले लेखकको झोले टाइपको कार्टुन बनाउँदा भने धुनधान विरोध गर्छन् ।

त्यसैले अँकृष्ण र नेपालका धेरै स्वनामधन्य लेखकबीच सुमधुर सम्बन्ध कायम छ । चाँडै अँकृष्णको पत्रिकाको स्वर्ण अंक निस्कँदै छ ।

(४५) सेयर बजारमा पनि हात हालेका अँकृष्णसित सबै नेपालीलाई देशको उन्नति, प्रगतिको चाहना राख्ने असल नागरिक बनाउने सानदार उपाय छ । उनी भन्छन्, ‘समग्र देशलाई प्राइभेट लिमिटेड बनाएर र त्यसको आईपीओ जारी गरेर सबै नेपालीलाई दस–दस कित्ता सेयर दिने व्यवस्था मिलाउन सके सबै नेपाली सेयरधनी हुनेछन् र प्रगतिको कामनामा संलग्न हुनेछन् ।’

यो अवधारणा काइदाको लागेर देशको प्रथम महिलाले अँकृष्णलाई दर्शनभेटका लागि बोलाइबक्सियो र भनिबक्सियो– ‘सहकार्य गरौं ।’

(४६) प्रकृतिप्रेमी हुन् अँकृष्ण । त्यसैले उनले आफ्नो बस्तीमा खोला मिचेर बसेका सुकुम्बासीहरूलाई धपाए । उनीहरूका टहराहरू डोजर लगाएर नष्ट गरिदिए । केही महिनापछि त्यही जग्गा माफिया यतीकुमारलाई उपलब्ध गराउन सहयोग गर्दै भने, ‘अब यहाँ यतीजीले भ्युटावर बनाउनुहुनेछ । त्यहाँबाट विरूप सुकुम्बासी बस्ती हैन, अब देखिनेछन् खोलामा विचरण गर्न आउने साइबेरियनलगायतका पाहुना चराहरू ।’

हो, साँच्चै प्रकृतिप्रेमी हुन् अँकृष्ण ।

(४७) कार्ल मार्क्स ले भनेका थिए– ‘जे कुरामा पनि सन्देह गर’ ।

अँकृष्णले यो वाक्यलाई आफ्नो जीवनको मूलमन्त्र बनाएका छन् । त्यसैले कतैबाट घर पुग्दा उनी जहिले पनि जहानमाथि सन्देह गर्छन् र सोध्छन्, ‘घरमा बस्दा पनि किन गाजल लगाएकी ? झ्यालबाहिर कसलाई हेरेर बसेकी ?’

यही निहुँमा अँकृष्णले हरेक साँझ जहानलाई बेस्मारी भकुर्छन् र मध्यरातमा प्रेमिकालाई मायालु एसएमएस पठाउँछन् । जहानले एकपटक उनले पठाएको त्यस्तो एसएमएस देखेपछि स्वामीको चरित्रप्रति सन्देह गरिन् र यसवापत फेरि स्वामीबाट पिटाइ प्राप्त गरिन् । अँकृष्ण भन्छन्, ‘तिरियाहरूलाई सन्देह गर्ने अधिकार छैन । सन्देह गर्ने ठेक्का म या मजस्ता मार्क्स वादीको मात्र हो ।’

प्रिय पाठक ! के तपाईंसित पनि यस्तो ठेक्कापट्टाको लाइसेन्स छ ?

(४८) अँकृष्णले मुद्दा जिताउने ठेक्का पनि लिने गर्छन् । कुनै मुद्दा जित्नु छ भने उनी श्रीमान्हरूका घरमा म्यारिज खेल्न जान्छन् र जानाजान लाखौं हारिदिन्छन् । त्यसैले म्यारिज उनका लागि जुवा होइन, समाजसेवा हो ।

(४९) मेरा लागि अँकृष्ण फगत पात्र हुन् । तर, मेरा रचनामा यी साह्रै अनैतिक, अधम र पामर पात्रको रूपमा उल्लिखित हुन थालेपछि मलाई लाग्यो, यस्ता पात्रले समाजमा नकारात्मक असर पार्छन् । त्यसैले मैले अँकृष्णको अन्त्य गरिदिने विचार गरें । कथानकमा उनको समाप्तिको योजना बुन्न मात्र के लागेको थिएँ, मैले घरअगाडिको सडकमा होहल्ला सुनें । म हतारहतार झ्यालनिर गएँ । झ्यालबाट मैले देखें, सारा सहर फोहोरको थुप्रोमाथि बसेर ‘अँकृष्ण अमर रहून्’ भनेर नारा लगाइरहेको छ । त्यो भीडमा अहिले मेरा यी पंक्तिहरू पढिरहनुभएको तपाईं अर्थात् मेरो प्रिय पाठक पनि हुनुहुन्थ्यो । म अब भ्रममा छु, तपाईं बिरामी हुनुहुन्छ कि म ? हामीमध्ये कसैको दिमाग त पक्कै सड्केकै हो । कि तपाईंको कि मेरो ?

(५०) हिजो अचानक अँकृष्ण मेरो घरमा आए । मैले ढोका खोलेको मात्र के थिएँ, उनले ड्याम्म मेरो मुखमा मुक्का हिर्काए । धन्न म छलिएँ र उनको प्रहारबाट जोगिएँ । उनी आवेशमा कराइरहेका थिए, ‘साले, तैंले मेराबारेमा केके कथा लेख्दै छस् रे ! कसरी थाहा पाइस् मेराबारेमा यतिका कुरा ?’

एकै छिनमा कोठामा मेरी जहान आत्तिँदै आइन् । उनले देखिन्, मेरो सामुन्नेको भित्तामा रहेको ठूलो ऐना चकनाचुर भएको छ र मेरो दाहिने हात रक्ताम्मे छ ।

उनले आत्तिँदै सोधिन्, ‘के भएको तपाईंलाई ? किन ऐनामा हिर्काउनुभएको ?’

मैले जिल्ल परेर फुटेको ऐनातिर हेरें । ऐनाका टुक्राभरि अँकृष्णका अनुहारहरू छरिएका थिए ।

(५१) मेरो घरको ऐनाका टुक्राहरूबाट निस्किएका अँकृष्ण हतार–हतार एउटा ऐना पसलमा पुगे । त्यहाँ सयौं ऐना थिए । ती सयौं ऐनामा उनको प्रतिविम्ब देखियो । तर, रोचक कुरा के भने, हरेक ऐनामा उनका फरक–फरक अनुहार देखिएका थिए ।

प्रिय पाठक ! अँकृष्णको एउटा अनुहार तपाईंसित पनि मिल्छ भन्ने कुरा के तपाईंलाई थाहा छ ?

पक्कै थाहा छ । उसोभए आफ्नो अनुहारका बाँकी कथाहरू लेख्नका लागि तपाईंभन्दा योग्य पात्र अरू को हुन सक्छ ? यहाँ मैले अँकृष्णका एकाउन्न कथा मात्र लेख्न सकें । बाँकी कथा लेख्ने जिम्मा तपाईंको । शीर्षकको चिन्ता भने पटक्कै नगर्नुस् ।

शीर्षक मैले माथि नै लेखिसकेको छु– ‘अँकृष्णका एक सय एक कथा !’

शनिबार प्रकाशित हुने 'कोसेली' बाट

प्रकाशित : जेष्ठ २७, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

पहिरो खसेपछि संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध

दीपेन्द्र शाक्य

संखुवासभा — पहिरो खसेपछि संखुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर-दक्षिण सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका-३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले बताए ।

उक्त क्षेत्रमा दुई दिनदेखि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको रजकले बताए । अवरुद्ध सडकको पहिरो हटाउन चारसम्म दिन लाग्ने उनको भनाइ छ ।

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिकाका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सडक सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७९ १८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×