१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
कोसेली

खाँटी कथावाचक

एटेन्वरोका डकुमेन्ट्रीमा हिमालय र नेपालको प्राकृतिक स्वरुप–सम्पदा भेटिन्छ । ‘द हिमालयज’ मा हिमालयको उत्पत्ति, मनसुनको जन्म, पर्वतीय वातावरणको कठोर जीवनगाथा, प्रकृति र मानवबीचको आपसी समन्वयमाथि वैज्ञानिक चेतना प्रस्तुत गरिएको छ सरल–सरस शैलीमा ।
एटेन्वरोको सर्वाधिक लोकप्रिय फिल्ममध्ये ‘प्लानेट अर्थ’ हेरेपछि बुझिन्छ– यो पृथ्वी सुन्दर छ । ‘द ल्यान्ड अफ गोर्खाज्’ मा उनी आफ्नै आवाजमा ६५ वर्षअघिको नेपाल र नेपालीको वर्णन गर्छन् ।

आउँदो वर्षको नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएका व्यक्तिमध्ये बेलायतका प्रकृतिविद् सर डेभिड एटेन्वरोको चर्चा अहिले चुलिँदो छ । पृथ्वीको जीवन्त स्वरूपलाई बुझ्ने, बुझाउने तथा तिनको संरक्षणबाट मानवलगायत सकल जीव–प्राणी, वन–वनस्पतिको शान्तिपूर्ण भविष्य सुरक्षित राख्ने काममा अतुलनीय योगदान पुर्‍याएकाले उनको नाम सिफारिस भएको हो ।

खाँटी कथावाचक

बेलायतको आइल्सवर्थमा सन् १९२७, मे– ८ मा जन्मिएका डेभिड एटेन्वरो अहिले ९६ वर्षका भए । यो उमेरमा पनि सशक्त रूपमा सक्रिय उद्घोषक र सटीक टिप्पणीकारका रूपमा उनी पृथ्वीको प्राकृत सौन्दर्य, जैविक विविधताको रहस्य र त्यसभित्रका मानवकर्म–दुष्कर्मका पाटोलाई श्रव्य–दृश्यका माध्यममा हामीसामु पस्कँदै छन् ।

४३ वर्ष पहिले सन् १९७९ मा उनले प्रारम्भ गरेको वन्यजन्तु विशेष शृंखलालाई बेलायतबाट बीबीसीले लगातार २६ वर्ष प्रसारण गरेको थियो । त्यस शृंखला २५३ अंकसम्म प्रसारण भएको थियो । र, त्यसलाई सुन्न–हेर्न आतुर जनसंख्या एक करोड थियो भन्ने अनुमान छ । यसैगरी ‘प्राकृत संसार’ (नेचर वर्ल्ड) शीर्षकमा ‘संरक्षण गरिनुपर्छ’ भनेर बाघ, हात्ती, गैंडा, गोही आदि दुर्लभ वन्यजन्तबारे ५० वटा टेलिशृंखला निर्माण भएका थिए । यी अथक अन्वेषकको नवीन कृति ‘डानास्टिज’ भाग–२ केही समयपछि नै सार्वजनकि हुने भएको छ । त्यस फिल्मका चार शृंखलामा हात्ती, चिता, पुमा तथा हुँडारका कथा–व्यथा समेटिनेछन् । सन् २०१८ मा प्रसारित ‘डानास्टिज’ भाग– १ ले चिम्पान्जी (वनमान्छे), इम्परर पेन्गुइन (चरा), सिंह, बाघ तथा अफ्रिकी वनकुकुरको जीवनचर्या उजागर गरेको थियो ।

डेभिड एटेन्वरोले ७० वर्ष पहिले नै प्रकृति–पत्रकारिता प्रारम्भ गरेका थिए । त्यस बेलादेखि अहिलेसम्म उनले यस पृथ्वीको जीवन्त पक्षलाई लिएर सयभन्दा अधिक श्रव्य–दृश्यका सामग्री तथा त्यस सम्बन्धी पुस्तकहरू लेखिसकेका छन् । पछिल्लो समय ‘हाम्रो ग्रहमा एउटा जीवन’ (अ लाइफ अन आवर प्लानेट) शीर्षकमा श्रव्य–दृश्य एवं पुस्तक लेखेका छन् । त्यसमा उनले आफ्नै रोजाइ र भोगाइका विषय उठाएका छन् । यस ग्रहमा आफूले देखेको, हेरेको र भोगेको समयको साक्षी बनेर उनले आफ्नै बयान सार्वजनिक गरेका छन् ।

मानवीय कारणले यस पृथ्वीको प्राणीजगत्मा सम्पूर्ण जीवसंख्या सन् १९५० देखि आजसम्म प्रतिपल घट्दै गएर आधाभन्दा कमको संख्यामा झरेको छ । पन्छी जगत्को सम्पूर्ण पिण्डको हिसाब गर्दा ७० प्रतिशत पिण्डभार पाल्तु पन्छीले ओगट्छ । र, त्यसको अधिकांश भार पाल्तु कुखुरा–कुखुरीले ओगट्छ । यस प्रकारले प्राकृत बासस्थानमा बस्ने पशु–पन्छीको ह्रास हुनुमा हामी नै जिम्मेवार छौं । पृथ्वीका सम्पूर्ण स्तनधारी प्राणीको पिण्ड राशिमा हामी मानव जातिले एक तिहाइ भाग ओगट्न थालेका छौं । हाम्रो पिण्ड राशिलाई मुसादेखि हात्ती र ह्वेलले पनि उछिन्न सक्दैन । प्राकृत रूपमा रहेका स्तनधारी प्राणीको पिण्ड सबै जोड्दा ४ प्रतिशत मात्रै पुग्छ । अधिक स्तनधारी प्राणीको पिण्ड–अंश पाल्तु जन्तुले ओगट्ने गरेको छ । किनभने मांसाहारी मानिसहरू पृथ्वीमा धेरै छन् । अहिले विश्वको जनसंख्या आठ अर्ब पुग्न लाग्यो । डेभिड एटेन्वरोको बाल्यावस्थामा सन् १९३७ तिर विश्वको जनसंख्या मात्रै दुई अर्ब तीस करोड थियो ।

पृथ्वीको वातावरण सन्तुलित राख्ने वन र वृक्षलाई मानिस जातिले सखाप पार्दै छन् । प्रत्येक वर्ष १५ अर्ब वृक्ष नष्ट हुने गरेको छ । हाम्रो वेदले उच्चारण गर्ने ‘वनसपतय शान्ति’ भन्ने मन्त्र विपरीत विश्व परिचालित छ । यस्तै–यस्तै विश्लेषणहरूमाझ उभिएर डेभिड एटेन्वरो जलवायु परिवर्तनका घटना, दुर्घटना, कोप र प्रकोपलाई हाम्रो दृष्टिपटलमा चित्रण गराउन सफल भएका छन् । विगत वर्षको २६सौं विश्व जलवायु सम्मेलनमा एउटा सकारात्मक सोच लिएर उभिए उनी । उनले भने, ‘यस पृथ्वीका विभिन्न भूगोलका विभिन्न मानिसहरूका आ–आफ्नै पृथक् क्रियाकलापबाट आजको भयावह अवस्था सिर्जना भयो । पृथक् क्रियाकलापबाट उत्पन्न साझा समस्या हो – जलवायु परिवर्तन । पृथक् क्रियाकलापको साझा समस्यालाई अब संयुक्त प्रयासको आवश्यकता छ । सबै मिलेर सहकार्यमा लाग्यौं भने जलवायु परिवर्तनको साझा समस्या हल गर्न सकिन्छ ।’ उनको पुस्ताको जनसंख्याले पुर्‍याएको क्षतिलाई नयाँ पिँढीले चमत्कारी ढंगले पुनर्निर्माण गर्नेछ भन्ने एटेन्वरोको विश्वास थियो । किनभने हजारौं हजार जीवप्राणी र जीवात्माको अध्ययनबाट उनमा एउटा विश्वास पलाएको छ । समस्या समाधानमा मानिसलाई भेट्ने अरू प्राणी यस पृथ्वीमा छैन । त्यसैगरी भोलि के होला, के गर्ने भन्ने भविष्यको चिन्तन गर्ने शक्तिमा पनि मानिसलाई अरुले भेट्दैन । तसर्थ उनका आशावादी चिन्तनहरू निकै मननीय छन् ।

एटेन्वरोको सर्वाधिक लोकप्रिय डकुमेन्ट्री फिल्ममध्ये ‘प्लानेट अर्थ’ अर्थात् ‘पृथ्वीस्वरूप यो ग्रह’ सन् २००६ मा प्रदर्शन भएपछि यो पृथ्वी कति सुन्दर छ, शान्त छ र विशाल छ भन्ने बुझ्न सजिलो भयो । त्यसको दस वर्षपछिको दोस्रो संस्करणले अत्याधुनिक उपकरण प्रयोगले पृथ्वीलाई हामीले हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउन सफल भयो । तर, पृथ्वीको दुईतिहाइ अंश ओगट्ने सागर र समुद्रको संसारबारे हामी अनविज्ञ रह्यौं । तसर्थ सन् २००१ मा ‘नीलो ग्रह’ (द ब्लु प्लानेट) प्रकाशन भएदेखि समुद्रको परिवेश र त्यहाँका जीव–प्राणी, वनस्पतिबारे आम जनता अनविज्ञ रहनु परेन । त्यसको दोस्रो संस्करणले सन् २०१७ मा नौलो तहल्का नै मच्चायो । तिनलाई टेवा पुर्‍याउने ‘फ्रोजन प्लानेट’ अर्थात् जमेको ग्रह (हिमखण्डको पृथ्वी) ले हिमाच्छादित संसारको जीवन्त पक्ष उजागर गर्‍यो । यो ग्रहलाई प्रत्यक्ष आँखाअगाडि प्रस्तुत गर्ने उपरोक्त तीन शीर्षकका पाँचवटा डकुमेन्ट्री फिल्म हेरेपछि पृथ्वीको जीवन्त स्वरूपभित्रका रहस्यहरू हामी सजिलै बुझ्न थाल्छौं ।

एटेन्वरो र नेपाल

एटेन्वरोको चिरपरिचित स्वरमा नेपाल र नेपालीको वर्णन हामी ‘द ल्यान्ड अफ गोर्खाज्’ अर्थात् ‘गोर्खालीहरूको भूमि’ नामक डकुमेन्ट्री फिल्ममा सुन्न पाउँछौं । ६५ वर्ष पहिले सन् १९५७ मा क्रिस्टोफर भोन फुरेर हाइमेन्डोर्फद्वारा छायांकन गरिएको उक्त श्याम–श्वेत फिल्मले त्यसबेलाको नेपाल कस्तो थियो भन्ने छर्लंगै देखाउँछ । त्यस फिल्मको ऐतिहासिक महत्त्व वर्तमान पिँढीले बुझ्नु अति जरुरी पनि छ । बेलायतको स्कुल अफ अफ्रिकन एन्ड ओरियन्टल स्टडिजका प्राध्यापक हाइमेन्डोर्फ मानवशास्त्री थिए । गोर्खाली सैनिकको प्रख्यातिबाट आकृष्ट भएर तिनका मातृभूमिमा मानव बसोबास र जीवनचर्याको अनुसन्धानमूलक छायांकन गर्न उनी नेपाल आएका थिए । गोरखा जिल्लाबाट काठमाडौं उपत्यका र त्यहाँबाट पूर्व लागेर विभिन्न तामाङ बस्ती, शेर्पा बस्ती, राई बस्ती र लिम्बू बस्ती चहार्दै दार्जिलिङमा यात्रा विसर्जन गरेका थिए । आजभन्दा ६०/६५ वर्ष पहिलेको नेपाल दर्शन वर्तमान पिँढीका लागि निश्चय नै रोमाञ्चकारी हुनेछ ।

सडकबिनाको नेपाल, सबै बाटोघाटो पैदल तय गर्नुपर्ने, सबै प्रकारका ढुवानीहरू थाप्लो र नाम्लो अथवा गधा–खच्चर, याक–चौंरी–झोप्कियो वा भेडा–च्यांग्राका पिठ्यूँमा लादिने दिन थिए ती । काठका अस्थायी पुल र फड्के, बेत र बाँसका झोलुंगे पुलहरूद्वारा नदी–नाला तर्नुपर्ने अवस्था थियो । कहालीलाग्दो उकाली–ओरालीमा नाङ्गो खुट्टाले हिँडिरहेका भरियाहरूको दृश्यले आजका युवायुवतीका छातीमा पीडाका डोबहरू बस्नेछन् ।

काँधमा बन्दुक र कम्मरमा खुकुरी भिरेका गोर्खाली सैनिकको चित्र मानसपटलमा बोकेर नेपाल आएका बेलायती यात्री यहाँका गोर्खाली वा नेपाली काँधमा बन्दुक होइन हलो र कोदाली देख्छन् र कम्मरमा मादल । शत्रुको शिर छिनाल्ने खुकुरीहरू रूखका डाले घाँस काट्न व्यस्त हुन्छन् । ढिकी–जाँतो, चुलो–चौका र चर्खामा व्यस्त महिलाहरू चाडपर्वमा चाँदीका कम्पनी माला र मखमली चोलो तथा सुनका तिलहरीमा नाच्छन् र गाउँछन् गोर्खाली भूमिमा ।

काष्ठकलाले सिँगारिएको गोर्खा दरबार, झिँगटी छानामा सजिएका पगौडा मन्दिरहरू, कहीँ स्लेट ढुंगा त कहीँ खर–परालले छाएका एक वा दुईतले घरहरू, सेतो कमेरो र रातो माटो पोतिएका घरलाई सुहाउँदो गरी झुन्ड्याइएका मकैका घोंगाहरू, झ्याल–बार्दलीमा सुकाउन राखेका ठूलाठूला फर्सी र काँक्राहरू अनि आँखा नअघाउन्जेल देखिने खेतबारीका कान्लाहरू त्यस फिल्ममा देख्न सक्छौं । गोरखापछि काठमाडौंको सन्दर्भमा नेवारी कलाकौशलको सौन्दर्य यहाँका मठ, मन्दिर, घर–भवनहरूमा साकार हुन्छ । नेवारी परम्परागत जात्रा, चाडपर्वका उत्सवमा जम्मा हुने मानिसका भीड, तिनका बीचमा देवी–देवताका रथ र खटहरूका जात्रा उत्साहपूर्ण देखिन्छ त्यस फिल्ममा । त्यस बेलाको जनसागरमा टोपी नलगाउने टाउको र जुत्ता लगाउने खुट्टा प्रायः देखिँदैनथ्यो । स्वयम्भू चैत्यको सेरोफेरोमा बौद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बीहरूको सामन्जस्यको उल्लेखनीय पक्षलाई फिल्मले राम्रै समेटेको छ । त्यस बेलाको नाम्चे बजार र शेर्पा संस्कृति तथा प्राकृतिक सम्पदाको छेलोखेलो फिल्ममा देखेर हामी मुग्ध हुन्छौं ।

अरुण उपत्यकाको राई संस्कृति र अरुणपारिको लिम्बुवानको चित्रण गर्दै हाइमेन्डोर्फ तथा उनकी श्रीमती उत्तरी भेगका कारभोटे समुदायमा पुग्छन् । अरुण नदी तर्ने फ्याकसिन्धेको पुलको कहालीलाग्दो यात्रा निकै रोचक देखिन्छ । बेत–बाँस र निगालोले त्यति लामो पुल बन्न कसरी सम्भव हुन्छ ? मननयोग्य विषय पनि बन्ने गरेको छ । एउटा घट्टको जाँतोमा धुपीको खाँवो जोतेर त्यसबाट धुपीको लेप बनाउने र त्यसलाई डल्लो पारेर तिब्बततिर निर्यात गर्ने प्रचलन पनि फिल्ममा देखाइएको छ । सन् १९७२ ताका अर्थात् लगभग १४/१५ वर्षपछि वनस्पति सर्वेक्षणको सिलसिलामा त्यहाँ पुग्दा सो घट्ट बन्द अवस्थामा थियो । धुपीको व्यापार थिएन । तिब्बत बदलिइसकेको थियो । हाम्रा मेटिएका इतिहासका पानाहरू यस्तै चलचित्रका छायांकनमा खोज्नु र तिनका संरक्षण गर्नु आजको आवश्यकता पनि हो ।

एटेन्वरोका आफ्नै डकुमेन्ट्रीहरूको सँगालोभित्र हिमालय र नेपालको प्राकृतिक स्वरूप र सम्पदाका थुप्रै सामग्री भेटिन्छन् । तीमध्ये ‘प्लानेट अर्थ’ अन्तर्गतको ‘हिमालय एन्ड द मनसुन’ तथा नेचर वर्ल्डअन्तर्गतको ‘द हिमालयज’ मा हिमालयको उत्पत्ति, मनसुनको जन्म, पर्वतीय वातावरणको कठोर जीवनगाथा, प्रकृति र मानवबीचको आपसी समन्वयमाथिका वैज्ञानिक चेतनालाई सरल–सरस शैलीमा प्रस्तुत गरिएका छन् ।

चन्द्रमाको सतहबाट हेर्दा नीलो स्फटिकजस्तो डल्लो पृथ्वी अँध्यारो आकाशमा उदाएको देखिन्छ । त्यसको धरातलमा ४० करोड वर्ष पहिलेको एउटा घटना उजागर हुन्छ । धर्तीका दुई विशाल भूखण्डहरू एसियाको माझमा भेटिन्छन् । आपसी रगडारगड र ठेलमठेलमा धर्ती आकाशतिर उठ्न थाल्छ । उठ्दा–उठ्दा त्यसले ५ माइलको उचाइ हासिल गर्दै हिमालय पर्वतको स्वरूप धारण गर्छ । उता समुद्रतिर पनि प्रकृतिको क्रीडा प्रारम्भ हुन्छ । समुद्र सतहको आकाशमा जलवास्पले लादिएको वायु मध्यएसियाको तात्दो भूखण्डतिर सोहोरिएर कुद्न थाल्छ । हिमालयको विशाल पर्खालले तिनको बाटो छेक्छ र पानी थाप्छ । हिमालयको दक्षिणी भूखण्डमा घनघोर वर्षा हुन्छ, तर उत्तरी भेकमा सुक्खा नै कायम हुन्छ । यस पृष्ठभूमिमा हिमालय र नेपालको श्रव्य–दृश्य एटेन्वरोका सिर्जनामा समेटिन पुग्छ । तीमध्ये मेरा स्मृतिपटलमा बारम्बार झुल्किने दृश्यहरू थोरै उल्लेख गर्ने जमर्कोमा छु ।

पाकिस्तानको कारकोरम क्षेत्रमा प्रचुर पाइने मारखोर भेडाका भाले जुधाइको दृश्य ! सोही ठाउँमा आफ्नो सिकार खोज्दै पुगेका एक हिमचितुवाको आक्रमणबाट बच्दै ठाडै ओरालो लागेर पत्थर पनि स्थिर नटिक्ने भीरको बाटामा एक पाइला पनि नबिराई कुदेर नदीमा हाम फाल्ने मारखोर भेडा ! त्यसलाई एक छिन नछोडि लखेट्ने हिमचितुवाको छायांकन कसरी सम्भव भयो ? त्यो बुझिसक्नु छैन । यस्तै सिकारको खोजमा निस्केको ब्वाँसोको प्रसंगमा एटेन्वरो भन्छन्, ‘हामीले पाल्ने घर कुकुरहरूको वंश यिनै हिमाली ब्वाँसोसँग जोडिन पुग्छ ।’

पाकिस्तानबाट भारत हुँदै नेपालको प्रसंगमा आइपुग्दा माछापुच्छ्रे् ेर अन्नपूर्ण हिमालका काखमा वसन्त फुलेको, लालीगुराँस फक्रेको, डाँफेचरी नाचेको, कस्तूरी मृगले बुर्कुसी मारेको तथा तराई क्षेत्रमा सारसका प्रणयनृत्यहरू हामी देख्न सक्छौं । हिमाली आकाशमा कर्‍याङकुरुङका बथानले मौसमी यात्रामा उड्दै गर्दा तिनलाई तितरबितर पार्दै सिकारमा उडेका शाहीबाजका क्रियाकलाप निकै रोमाञ्चित ढंगले प्रस्तुत गरिएको छ । त्यस बेला शाहीबाजले हानेको वेग प्रतिघण्टा ३०० किलोमिटरको कीर्तिमान स्थापना गर्छ । विश्वका कुनै पनि जलचर, स्थलचर वा नभचर प्राणीले यो गतिलाई उछिन्न सक्दैन । यसैगरी हिमालयको ८,००० मिटरभन्दा माथिको उचाइमा उडान भरेर बसाइँ सराइ गर्ने खोयाहाँस (बार हेडेड गुज) को अर्को कीर्तिमानी छायांकन पनि प्रविधिका हिसाबले उत्कृष्ट उदाहरण ठहरिन पुग्छ । सगरमाथाको सेरोफेरोमा लगभग ६,७०० मिटरको उचाइमा एउटा कीर्तिमानी माकुरोको कथा जोड्न पनि एटेन्वरो चुक्दैनन् । पर्वतारोहीहरूको कठिन यात्राको विसर्जनमा नेपाली झन्डा फरफराएको दृश्य पनि उत्कृष्ट देखिन्छ ।

हिमालपारिको तिब्बती क्षेत्रका वन्यजन्तुहरूको प्रस्तुति पनि रोचक र रोमाञ्चकारी देखिन्छ । फ्याउ मुसा (पिका) को दुलो भत्काउँदै सिकार खोजी हिँड्ने खैरो भालु (ब्राउन बियर) र तिनलाई पछ्याउँदै सिकार आफ्नो हातमा पार्ने ब्वाँसोको चतुर्‍याइँ पनि अचम्मलाग्दो छ । ४,००० मिटरको उचाइमा चिरु हरिणहरू घाम ताप्न बस्दा तिनका नाकको फोहराबाट निस्कने बाफको मुस्लोले क्यामराम्यानको निपुणता जाहेर गर्छ ।

विश्वमा हिमालयलाई देवात्मा भूमिको मान्यता प्राप्त छ । कैलाशजस्तो पवित्र पर्वत, गंगा र ब्रह्मपुत्रजस्ता पवित्र नदीहरूप्रतिको जनआस्था, धार्मिक एवं सांस्कृतिक विशेषता तथा तिनका सामाजिक, आर्थिक एवं वातावरणीय महत्त्वलाई पनि उनका डकुमेन्ट्रीले समेटेको छ । हिमालय त्यहाँ नभइदिएको भए दक्षिण एसिया विशाल मरुभूमि बन्ने थियो भन्ने सटीक धारणा पनि हामी सुन्न पाउँछौं ।

सबै प्रकारका जीवप्राणी र वनस्पतिको संरक्षणमा विशेष चासो राख्ने डेभिड एटेन्वरो बौद्ध दर्शनबाट अति प्रभावित देखिन्छन् । उनलाई के बोध भयो भने यहाँका मानिसहरूमा एउटा बेग्लै चेतना छ, जसले सबै जीवात्माको जीवनचर्या एकअर्कासँग गाँसिएको ‘माकुरी जालो’ जस्तो छ । त्योभन्दा पनि नौलो सोचको धार्मिक आस्था उनले अनुभव गरे । त्यो भनेको प्राणीले जुनी फेर्दै जाने र एक दिन हामी पनि अरू जीवात्माको जुनीमा पुग्नेछौं भन्ने विश्वास । यस धारणाले अरू प्राणीप्रतिको करुणाभाव जीवन्त राख्छ भन्ने विश्वास जगाउँछ । यस हिमालयको पर्वतीय परिवेशमा केही बौद्ध धर्मावलम्बीहरू पर्वत र प्रकृतिलाई चढाउन ‘आकाशीय दाह संस्कार’का लागि मानिसका लास लैजाने गर्छन् । त्यसको केही झलक छायांकन पनि गरिएको छ । हिमाली जनजीवनको त्यो विशेषता विश्वका लागि कुतूहलको विषय पनि हो ।

सर डेभिड एटेन्वरोले हिमालय र नेपाललाई आफ्ना थुप्रै सिर्जनाहरूमा समावेश गरेका छन् । त्यसका अतिरिक्त ‘द ल्यान्ड अफ गोर्खाज’ मा झैं आफ्नो स्वर र सरस टिप्पणीहरू अरूलाई पनि प्रदान गर्ने गरेका छन् । हालै मात्र सन् २०२२ को विट्ले पुरस्कारका लागि रेड पान्डा संरक्षणमा पुर्‍याइआएको योगदानलाई लिएर तयार पारिएको छोटो डकुमेन्ट्रीमा एटेन्वरोका स्वर र शब्दहरू सुन्न पाइन्छ । वन्यजन्तु संरक्षणमा सामुदायिक संरक्षण प्रयासको उत्कृष्ट नमुना त्यहाँ प्रस्तुत गरिएको छ ।

यस पृथ्वीको जल, स्थल, वायु–आकाश एवं हिमखण्डसमेत चहारेर विशेष अनुभवका आधारमा डेभिड एटेन्वरो वर्तमान विश्वको वातावरणीय समस्यालाई सम्बोधन गर्न निम्न ६ बुँदालाई अघि सार्ने गर्छन् :

१) ह्रासोन्मुख जैविक विविधताको पुनःस्थापना ।

२) पृथ्वीको जनभार घटाउन जनसंख्या वृद्धिको नियन्त्रण ।

३) पुनः नवीकरण हुने प्राकृतिक स्रोतसाधन (सौर्य शक्ति, जलविद्युत्, हावा–बतासको शक्ति, सामुद्रिक ज्वारभाटा आदि) को उपयोग ।

४) जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई न्यून राख्ने उपायहरूको खोजी ।

५) मांसाहारी प्रवृत्तिलाई घटाउने उपायको खोजी ।

६) प्राकृतिक स्वरूप र जैविक विविधता संरक्षण क्षेत्रको विस्तार ।

वातावरण दिवसलाई साकार बनाउन हामीले उपरोक्त विषयमा ध्यान दिएर प्रकृतिको स्याहार, सुसार र संरक्षण गर्न सक्यौं भने हाम्रो आफ्नै रक्षा हुन्छ । र, हामी सुरक्षित रहन्छौं । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘एउटै पृथ्वी’ (वन्ली वन अर्थ) ले त्यही सन्देश प्रवाह गर्छ ।

प्रकाशित : जेष्ठ २१, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?