कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मेरो एकल गायन, मेरो एकल श्रोता

रामेश श्रेष्ठ

काठमाडौँ — बानेश्वर जाने उकालोको देब्रेतिर उपेक्षित रूपमा रहेको एउटा सानो ढिस्के डाँडो... ! उजाड... नीरस... लावारिस... ! के उदेक भयो कुन्नि, एक्कासि युवायुवतीहरूको चहलपहल देखिन थाल्यो त्यहाँ ! रमाइलो थियो वातावरण ! नाटकघरहरू तयार हुँदै थिए- एउटा अलि ठूलो, अर्को अलि सानो, अझै अलि पर अन्य कार्यक्रमहरूका लागि मजाको एउटा अर्को हल पनि ।

मेरो एकल गायन, मेरो एकल श्रोता

ल एउटा रमाइलो गाउँ नै तयार भयो ! कतै कविता गोष्ठी, कतै नाटक, कतै सांगीतिक कार्यक्रम । उत्सुक दर्शक, कलाकारहरूको रमाइलो उपस्थिति ! होडिङबोर्ड, फ्लेक्स, पोस्टर र अन्य रंगीन कलाकृतिहरूद्वारा सजाइएको गुल्जार र रंगीन वातावरण ! सुनीलको सपनाको साकार रूप गुरुकुल डाँडो । तल सडकमा टेम्पो, माइक्रोबसका ड्राइभर र खलाँसीहरू गाडी रोकेर यात्रुहरूतिर हेर्दै कराउँथे, ‘कोइ छ गुरुकुलमा झर्ने... ?’

नाटकहरू हेर्न साथीहरूसँग म बरोबर गुरुकुल डाँडा पुगिरहन्थेँ । एक दिन नाटक सुरु हुन लागेको थियो, गुरुकुलका सञ्चालक सुनील पोखरेल मनिर आएर भन्नुभो, ‘दाइ, आउने फागुपूर्णे गुरुकुलमा तपाईंको अनौपचारिक गीति कार्यक्रम गर्ने ।’ म जिल्ल पर्दै थिएँ, सुनीलले एक सासमा अरू थप्नुभो, ‘नाइँ भन्न पाउनुहुन्न दाइ, त्यो दिन तपाईंले नपत्याएका विशिष्ट श्रोताहरू आफ्ना अगाडि पाउनुहुनेछ । गीतको फर्माइस गर्नेचैं एक्लो म मात्र हुनेछु । तपाईंले मेरो छनोटका गीतहरू गाउने बस्... ।’

लौ त्यो दिन आयो । दुईतीन दिनदेखि सचेत अनि सतर्क थिएँ म, मेरा विशिष्ट श्रोताहरूलाई गीत सुनाउन । को होलान् त ती विशिष्ट ! म मनमनै सोच्थेँ अनि सुनीलको अरू भनाइ सम्झन्थेँ, ‘नामचैं भन्दिनँ, तपाईं आफैं सोच्नुहोला को होलान् ती ! तर, कार्यक्रममा गाइने गीतचैं सबै कवितात्मक, कलात्मक मात्र हुनुपर्छ । आम मान्छेहरू सोच्छन् तपाईं क्रान्तिकारी गायक हो, तर म त्यो मात्र मान्दिनँ । तपाईंका ती भावपूर्ण गीतहरूलाई सम्मान गर्छु म ।’

नयाँबजारको डेराबाट गुरुकुलतिर लाग्छु, पैदलैपैदल । रङ, अबिर, पिच्कारी, प्लास्टिकका पाउचहरू बोक्दै धुस्रेफुस्रे केटाकेटीहरू महसुरिएर सडकमा निस्किसकेका हुन्छन् । जोगिँदै, बच्दै गुरुकुल पुग्छु । आरोहण नाट्य समूहका एक हूल कलाकर्मीहरू देख्नेबित्तिकै होहल्ला गर्दै मलाई छोप्न आइपुग्छन्, ‘ओहो दाइ, हजुर त चोक्खै ! हुन्न हुन्न हुन्न !’ आरोहणका एक रंगकर्मी भाइले गालामा अबिर दल्दिहाल्छन् । ‘दाजु म पनि हजुरको निधारमा अबिरको एउटा सानो टीका लाइदिऊँ है...,’ लरबरिएको स्वरमा अर्को मूर्ति आइपुग्छ । तिनका अनुहारतिर हेर्छु-

लट्ठिएका राता आँखाहरू, लरबरिएको स्वर, बटारिएका परेला, कसैकसैको मुखबाट त दूधजस्तो सेतो के हो बगिरहेको ! नमज्जा मान्दै थिएँ, मेरो अनुहारको भाव पढेर एक जना बैनी नजिकै आएर अर्कै पारामा बिस्तारै होस पुर्‍याएर बोल्न थाल्छिन्, ‘दाजु, हामीलाई गाली नगर्नू है । आज फागुपूर्णे, शिवका भक्तभक्तिनी भएका छौं । वर्षमा एक दिन त यस्तो हुन पनि पाउनुपर्छ नि हगि दाजु... ?’ अलिपरबाट सिसाको गिलासमा सेतो झोल भरेर अलिअलि चुहाउँदै, पोखाउँदै, लडखडाउँदै मलाई ताक्दै कोही आइरहेको देख्छु । ‘लौ यसले त मलाई घोट्टा पिलाएरै छोड्छ कि क्या हो !’ होसियार हुँदै भित्रतिर लस्किन्छु । हलभित्र रित्ता कुर्चीहरू र खाली मञ्च देख्दा मन झल्याँस्स हुन्छ, ‘ओहो म त यहाँ गीत गाउन पो आएको त !’

अब सुनीललाई कहाँ खोज्नु लौ यस्तो लथालिंगे वातावरणमा ! हैरान हुन्छु । बाहिर जाऊँ होली आतंक, भित्रको हालत यस्तो ! ‘कि म झुक्किएँ ? आज हैन कि क्या हो ?’ कानमा सुनीलको आवाज प्रस्टै गुन्जिन्छ, ‘फागुपूर्णेको दिन ।’ एक जना भाइ फुत्त भित्र पस्छन,् सोध्छु, ‘भाइ, सुनील कहाँ हुनुहुन्छ ?’ ‘यतै हुनुहुन्थ्यो, खै कता जानुभो । तपाईं आए हार्मोनियम लग्दिनू भन्नुभाथ्यो ।’ ऊसँग पल्लो घर पुगेर हार्मोनियम बोकेर ल्याउँछु । मौन हार्मोनियम बाजा, श्रोताविहीन हल अनि चुपचाप टोलाइरहेको म प्रस्तोता... ! कताबाट हो फुत्त सुनील आइपुग्नुभयो । ‘दाइ, सबै बिस्तारै आउँछन् । सबै आएपछि सुरु गर्नुहोला, म पनि आउँछु अहिले एक्कै छिनमा ।’

आधा घण्टा, एक घण्टा बित्न लागिसक्यो...! अहँ कोही हलभित्र पस्दैनन् त ! हल खाली भए पनि मेरो मनभित्रचैं एउटा खपिनसक्नुको खुलदुली मच्चेको छ छ...‘मैले गीत सुनाउने मेरा विशिष्ट श्रोताहरू को होलान् त हँ ? मेरा चिनेका नचिनेका ती आदरणीयहरू... !!!’

करिब एक घण्टा बित्न लाग्दा बिस्तारै वरिपरि हेर्दै एक जना श्रोता भित्र पस्नुहुन्छ । श्रद्धापूर्वक नमस्कार गर्छु । ‘खै त अरू कोई छैनन्, म त ढिला भयो भन्दै आएको त अरू झन् ढिला रहेछन् ।’ भित्र त्यति अँध्यारो छैन, ठिक्कको उज्यालो छ । भुइँमा चकटीहरू छन्, किन हो उहाँ त्यहीँ बस्न मन पराउनुभयो । म पनि कुर्चीमा बसिनँ, उहाँछेउको चकटीमा हार्मोनियम लिएर बसेँ । निकै लामो प्रतीक्षापछि पनि कोही आएनन्, आउने छाँट पनि देखिएन ।

अब म गीत गाउने सुरसारमा लागेँ । उहाँ मेरो आदरणीय एक्लो श्रोता, वातावरण सहज बनाउन मिठासपूर्ण तरिकाले कुराकानी गर्न थाल्छु :

‘दाइ मेरो गीत सुन्न आउनुभो, तर दाइले मलाई त्यति चिन्नुहुन्छ र ?’

‘चिन्छु,’ खरो स्वरमा छोटो उत्तर ।

‘तर, दाइलाई हाम्रो कार्यक्रमहरूमा मैले कहिल्यै देखेजस्तो लाग्दैन । हाम्रो गीतहरू सुन्नुभाको छ र ?’

‘नेपाल भाषाको कार्यक्रमहरूमा रामकृष्ण दुवालसँग तपाईंले गाएको सुनेको छु,’ त्यस्तै ठाडो उत्तर ।

‘दाइलाई हाम्रो, मेरो कुन गीतको सम्झना छ होला त ?’ उत्सुक भएर सोध्छु ।

‘गाँ गाँम दनावा’ र दुर्गालालको ‘झी गरिबया गरिब हे पासा’ भन्ने गीत ।’

‘दाइ म पनि नेवार त नेवारै हुँ, तर पहाडे नेवार । मैले गाउँदा भाषा त्यति शुद्ध र प्रस्ट होला कि नहोला, जे होस् आज त्यै नेवारी गीतबाट कार्यक्रम सुरु गर्छु ।

‘झी गरिबया गरिब हे पासा हवैतिनी झिगु न ला आशा...’

निकै घोरिएर एकचित्तसँग दाइले गीत सुन्नुभयो । केही प्रतिक्रिया दिनुभएन । मान्छेहरू भन्थे,

‘उहाँ त्यस्तो मान्छे हो, जो दुई घण्टासम्म एक शब्द नबोली बस्न सक्नुहुन्छ ।’ केही छिन हार्मोनियममा लयहरू खेलाएपछि मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूको गीत गाएँ :

‘सुनको दिन एक उदाउँछ रे...’

फेरि केही चालचुल छैन । सुनील भाइ नभए पनि अब उहाँले मन पराउने एउटा गीत गाउने विचार गरेँ र भावुक हुँदै गाउन सुरु गरेँ :

‘कोसीछेउ उभ्भेको सिमल जत्ति नि बाँच्दिनँ म

त्यै सिमल काटी बनेको डुंगा जत्ति नि बाँच्दिनँ म...

एक दिन म मरुँला, संसारमा नरहुँला

मेरो सिमलकाठको डुंगा पनि मक्किएर जाला

तर युगयुगसम्म यो नदी, यो आकाश रहिरहला

नदी तार्ने बूढो माझीको काम यो संसारमा रहिरहला

ओहो... जीवन भन्नु के हो र, बाँच्दा गरिने काम न हो

अघिअघिका पूर्खाहरू, पछि आउने सन्ततिहरू

यी दुवैको बीचको बहना लिएको म

एकदम बूढो भैसकेँ, सेतै सेतै भैसकेँ

त्यै सिमल काटी बनेको डुंगा जत्ति नि बाँच्दिन म

कोसीछेउ उभ्भेको सिमल जत्ति नि बाँच्दिनँ म...’

बडो भावुक भएर गीत सुन्नुभयो दाइले । कता कता हराएजस्तो पनि देखिनुभयो ।

‘जीवन भन्नु के हो र, बाँच्दा गरिने काम न हो’ भन्ने हरफ गाउँदा निधारमा हात राख्दै सोचिलो मुद्रामा बस्नुभएको दाइले एकपल्ट पुलुक्क मलाई हेर्नुभयो ।

बाहिर होलीको होहल्ला मत्थर भैसकेजस्तो लाग्थ्यो । शिवघोट्टा लगाएका भाइबैनीहरू पनि नशाको प्रभावबाट ढिला हुँदै लाखापाखा लागे कि झैं भान हुन्थ्यो ! एउटा गीत गाएपछि मैले पनि बिदा लिने विचार गरेँ । ‘दाइ, यो प्रश्नगीत हो गौतमबुद्धसँग । यो गीतको बारे मैले केही भन्नै पर्दैन, दाइ आफैं धेरै जानिफकार हुनुहुन्छ । तर, दाइ यो गीत सुनेपछि यसले मलाई अर्कैखाले प्रभाव पार्‍यो । नेपाल भाषामा भएकाले यसको अर्थ म राम्ररी बुझ्दिनथेँ । रामकृष्ण दुवालजीले शब्दशब्दसहित सम्पूर्ण गीतको भावार्थ राम्ररी बुझाउँदै यो बौद्धमार्गीहरूको अति प्यारो गीत भएको बताउनुभयो । मलाई लाग्छ, बौद्धधर्ममार्गीहरू यो गीत आफ्नै सोच र बुझाइबाट गाउँछन् होला । तर, जब मैले यो गीत सुनेँ, सिकेँ आफ्नै सोच, आफ्नै अर्थ र बुझाइ ।’ त्यसपछि गाउन थालेँ :

‘झ्यालनं फय् वया मतजक सित यो माँ

झ्या तिगु गय् योमा झ्या तिगु गय्...’

आदरणीय पाठकहरू, यहाँहरूसमक्ष म नेपाली भाषामा गीतको अर्थ राख्न चाहन्छु– ‘झ्यालबाट बतास पसेर निभाउन मात्र खोज्छ – बत्तीलाई कसरी जोगाऊँ आमा, बत्तीलाई कसरी जोगाऊँ ? बत्तीस लक्षणले धपक्क बलेको हाम्रो मानवचोला चहकिलो बत्तीजस्तै सुन्दर र आकर्षक छ, तर झ्यालबाट पस्ने बतासले हरपल यो जीवनबत्ती निभाउन मात्र खोजिरहन्छ, यसलाई कसरी जोगाऊँ आमा म ? ज्ञानरूपी रत्नहरूले जगमग–जगमग चम्किरहने हाम्रो मानव जीवन अमूल्य र अपारको छ । तर, हावाको झोंक्का झ्यालको खापा उघारेर कोठाभित्र पस्दै यो जीवनज्योति निभाउन मात्र खोज्छ आमा कसरी जोगाऊँ म, कसरी जोगाऊँ ! ज्ञानी मान्छेहरू भन्छन्– बत्ती निभ्न नदिन झ्यालको खापामा चुकुल लाउने जुक्ति त छ नि ! तर, त्यो ज्ञान ममा छैन आमा, कसरी यो बत्तीलाई निभ्न नदिई जोगाइराखूँ म !!’

गीत सुनिसकेपछि दाइ केही बोल्न खोज्नुभएजस्तो लाग्यो, तर बोल्नुभएन । म उहाँको चेहरामा अनेकखाले भावहरूको उतारचढाव मिहिनसँग हेरिरहेको थिएँ । हलुका स्वरमा विनम्रतापूर्वक मैले गीतबारे आफ्नो धारणा उहाँलाई सुनाउन थालेँ, ‘दाइ, म सानैदेखि राजनीतिक वातावरणमा हुर्किएँ । राजनीतिक क्षेत्रमा पूर्ण समर्पित मेरो ठूलो दाइ भनिरहनुहुन्थ्यो– नीतिहरूमा श्रेष्ठनीति राजनीति । बुझ्नेहरूले बुझे पनि, नबुझ्नेहरूले नबुझे पनि राजनीतिबाटै देशका हरेक गतिविधिहरू सञ्चालन भइरहेका हुन्छन् । राजनीतिक प्रभाव देशका हरेक मानवजीवनमा परिरहेको हुन्छ । सात सालको क्रान्तिमा पूर्ण रूपमा होमिनुभएको दाइ प्राय: भनिरहनुहुन्थ्यो– क्रान्तिमा साथ दिन हामी जनतालाई भन्ने गर्थ्यौं– राणाशासन समाप्त पारेर, सात सालको महान् क्रान्ति हामी कांग्रेसी शक्तिबाट सफल भएपछि देशमा प्रजातन्त्रको उज्यालो दियो जगमग–जगमग बल्न थाल्छ । न्याय, समानताको उज्यालोले देश स्वर्णिम युगमा प्रवेश गर्छ । नभन्दै जनताको शक्ति र साथ पाएपछि क्रान्ति सफल त भयो, प्रजातन्त्र पनि आयो, तर प्रजातान्त्रिक दियो चहकिलो भएर बल्न सकेन । फेरि बिस्तारै फर्कन थाल्यो उही पुरानै रीतिथिति, उही सामन्ती प्रणाली । कांग्रेस पसेका राणाकालीन ठालुहरूबाट उस्तै अत्याचारी गतिविधि ! फेरि पनि जनता समय–समयमा राजनीतिक परिवर्तनका लागि उठे, तर कुनै परिवर्तनले दियोमा तेल थपेन, बत्तीको इता उकासेन, अँध्यारो हटाउन सकेन, उज्यालो छर्न सकेन । नेपाली जीवनलाई सुखी र खुसी तुल्याउने लक्षणहरू केही देख्न सकिएन । गीतमा भनेजस्तो बत्ती त बल्यो, तर उज्यालो दिन सकेन ।’ मैले मेरो दाइको भनाइ राखेपछि उहाँसँग प्रश्न राखेँ, ‘किन दाइ, देशको हितमा चहकिलो बत्ती बल्न नदिने दूषित र विकृत शक्तिहरूलाई रोक्ने, हटाउने कुनै जुक्ति व्यवस्था हुँदैन ? धोका, विश्वासघात, बेइमानीहरूका षड्यन्त्रकारी गतिविधिहरू रोक्ने समाधानको कुनै चुकुल हुँदैन राजनीतिमा ?’

केही समयको मौनतापछि निकै भावुक र गम्भीर बन्दै दाइले मसिनो स्वरमा अड्की अड्कीे भन्नुभयो, ‘रामेशजी, यो गीत मैले जीवनमा धेरै पटक सुनेको छु, तर यसलाई आज अर्कै कोणबाट हेर्ने दृष्टि जुन तपाईंले सुनाउनुभयो त्यसले मलाई छोयो । घरमा पुगेर म फेरि एक पटक यो विषयमा गम्भीर ढंगबाट चिन्तन–मनन, विचार गर्छु ।’ दाइ उठ्नुभयो । म पनि उठेँ । दाइलाई गुरुकुल आँगनको ढोकासम्म पुर्‍याएर फर्किएँ । त्यो दिन मेरा लागि अनौठो र अविस्मरणीय थियो । गीति कार्यक्रमको प्रस्तोता म एक्लै र मेरो कार्यक्रम सुन्ने श्रोता पनि नितान्त एक्लै !! रित्तो हलभित्र नयाँ अनुभूतिमा डुब्दै, हराउँदै धेरैबेर एक्लै बसिरहेँ... ! मनले सोचिरहेथ्यो– बोलाएको ठाउँमा हिँडेरै लुरुलुरु आइपुग्नुहुने अनि कार्यक्रम सकिएपछि पनि हिँडेरै लुरुलुरु घरतिर जानुहुने सत्यमोहन जोशी दाइ सायद यतिबेला डिल्लीबजार छिचोलेर बागबजारतिर पुग्नुभयो होला... !

प्रकाशित : जेष्ठ ७, २०७९ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?