यो कस्तो अनुराग मिस्री ?- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यो कस्तो अनुराग मिस्री ?

रत्न प्रजापति

लेखक जया ओझाको उपन्यास ‘अनुराग’ मा नारी–पुरुषबीचका प्रीतिको प्रारम्भिक भावदेखि त्यसपछिका आसक्ति, अनुरक्ति, स्नेह, प्रेम, प्रणय भेटिन्छन् । गुनासो र पछुतो पनि भेटिन्छन् । 

मिस्री अर्थात् उपन्यासकी मुख्य नारीपात्रले बेलाबेला मनोगत नै सही, गुनासो गरिरहन्छे । पछुतो मानिरहन्छे । उसलाई थाहा छ, चेतराजले उसलाई दिने साथ भनेको बन्द कोठाभित्रको मात्र हो । त्यो सम्बन्ध त्यही कोठाबाट अन्त्य हुनेछ । तैपनि ऊ चेतराजबाट अलग हुन सक्दिन । उता बाध्यताको बहाना बनाएर चेतराज अर्थात् उपन्यासको मुख्य पुरुष पात्र, जो विवाहित छ, उसले मिस्रीलाई रिझाउन र भोग्न छोड्दैन । मिस्रीको गुनासो र पछुतोबीच पनि चेतराजसँगको अनुराग अर्थात् मायाप्रीतिको सिलसिला चली नै रहन्छ । एकपटक होइन पाँचपटकसम्म एबोर्सन गर्नुपर्ने बाध्यता आइलाग्दा पनि न मिस्री चेतराजबाट अलग्गिन सकेकी छे, न त चेतराजले नै मिस्रीलाई भोग्ने इच्छा त्याग्न सकेको छ । कस्तो अनौठो अनुराग हो यो ?

चेतराजले धेरै अन्याय गरेको छ मिस्रीलाई । त्यो अन्यायविरुद्ध आवाज उठ्न सकेको छैन । नारी शक्ति र सामर्थ्य निकै कमजोर देखिएको छ । आकर्षण र समर्पणमा सीमित हुन पुगेकी छ नारी अर्थात् मिस्री । सी ग्रेडका हिन्दी फिल्म अथवा त्यस्तै साहित्यमा पढ्न पाइने सस्तो प्रेमकथाजस्तै लाग्छ ‘अनुराग’ भित्रको कथा पनि । तर, प्रस्तुति भने ए ग्रेडको छ । प्रेमका साह्रै मीठा धुन र गुनगुन छन् । पीडाका आह पनि छन् । यौनका लोभलाग्दा प्रसङ्ग पनि उत्तिकै छन्, जहाँ चेतराज र मिस्री खुलेरै प्रेम गर्छन् ।

कसैको सिफारिसमा जागिर खोज्न हिँडेकी मिस्री र मालिक चेतराजबीचको विवाहेतर सम्बन्धको कथा हो ‘अनुराग’ । चेतराजले मिस्रीलाई प्रेमको नाउँमा धेरै शोषण गर्छ । तर, मिस्री स्वयं त्यही प्रेमको नाउँमा आफू शोषित हुन तयार भइरहन्छे । यतिसम्म कि चेतराजकी स्वास्नीले जन्माएकी छोरीलाई हुर्काइदिने जिम्मेवारी पनि निर्वाह गरिदिन्छे । सत्य सबै अवगत छ मिस्रीलाई । सबै थाहा पाएर पनि चेतराजको स्वार्थी प्रेमको बन्धनलाई चटक्क चुँडालेर जान सक्दिन मिस्री ।

कथानकको विस्तार हेर्दा उपन्यासको अन्त्यमा सबथोक बर्बाद हुन्छ र भताभुंग हुन्छजस्तो लाग्छ, तर भएको छैन । सम्हालिएको छ चेतराजको घरसंसार । भला मिस्रीले चाहिँ धेरै दुःख खेपेकी छ । प्रेग्नेन्सी टेस्ट गर्ने किट किन्ने पैसासमेत नभएर उसले भारी तनाव झेलेकी छे । पटकपटक एबोर्सनको नमीठो पीडा भोगेकी छे । रगतमा निथ्रुक्क भिजेर अनिँदो रात काटेकी छे । आमा भएर पनि आमा हुन नपाउनुको असीम व्यथा सहेकी छे । प्रेमको नाउँमा आफ्नै सहमतिले धेरैपटक शारीरिक र मानसिक शोषणमा परेकी छे । उसैको बोलीमा भन्नुपर्दा उसले धेरैथोक गुमाएकी छे, जसको भर्पाई हुनै सक्दैन । सारमा भन्नुपर्दा मिस्रीको जिन्दगीको प्रेम र पीडाको कहानी हो ‘अनुराग’ । पीडाको उरुङ छ ‘अनुराग’ भित्र, जुन मिस्रीले भोगेकी छे, सहेकी छे । अनुराग नै सही, तर दुई नाउमा खुट्टा राखेर पार लाउन सकिन्न भन्ने सन्देश छ ।

सुदूरपश्चिमेली लवजले उपन्यासलाई फरक र मीठो स्वादको बनाएको छ । जब मिस्री रीताले जन्माएकी र आफूले हुर्काएकी छोरी मोक्षलाई लिएर बिदा हुँदै थिई, त्यसबेला घरको मूलढोका आधा खुला थियो । त्यो आधा खुलेको ढोकाले के संकेत गर्छ ? प्रस्ट छैन । मिस्रीकै प्रतीक्षा पो हो कि ?

प्रकाशित : जेष्ठ ७, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्

राउटे संसारसँग साक्षात्कार

अभय श्रेष्ठ

काठमाडौँ — १. राउटे समुदायबारे थुप्रै गैरआख्यान लेखिएका छन्, वृत्तचित्रहरू बनेका छन् । तिनले राउटे समाजको आवरणमाथि एकसरो दृष्टि लगाउँछन् । अनन्त वाग्लेको पहिचान पुरस्कार विजेता उपन्यास ‘कदम’ ले भने तिनको अन्तर्यलाई छाम्छ । यसकारण उपन्यासले पाठकलाई तिनको हृदयसँगै साक्षात्कार गराउँछ । पाठक पनि आफ्नो हृदयले नै तिनको आन्तरिक संसारमा प्रवेश गर्दै जान्छ ।

‘कदम’ पठनीय हुनुको मुख्य कारण यही हो । राउटे समाजबारे लिखित सम्भवतः यो पहिलो आख्यान हो, जसलाई मूलतः शैक्षिक र समाजशास्त्रीय महत्त्वको उपन्यास भन्न सकिन्छ । यसमा राउटेको जरा र पहिचान जीवित राखी त्यस समाजको जडताबाट बाहिर निस्केर उन्नत जीवन जिउन सफल एउटा समूहको राउटे युवाको संघर्ष, अनन्त इच्छाशक्ति र सफलताको कथा छ ।

लामो समय पत्रकारिता गरेका वाग्लेको भाषा सरल र सम्प्रेष्य छ । त्यसले गर्दा राउटे जीवनशैली र संस्कृतिका अनौठा शब्दहरूका अर्थ बिस्तारै खुल्दै जान्छन् । गादो, पगरी, कोसी, मदुस, झकालो, गुना, रौतेला, लहरे बैसारी, गुरु बैसारी, गर्रा, ऐरा, राउटीजस्ता शब्द पहिलोपल्ट पढ्दा अपरिचित लाग्छन् । उपन्यास पढ्दै जाँदा गादो भनेको राउटेको शरीर वस्त्र, पगरी टाउकामा बाँध्ने बिँडा, कोसी, मदुस राउटे समुदायले काठबाट बनाउने घरेलु भाँडाकुँडा, झकालो जामा, गुना लंगुर जातको बाँदर, ऐरा सिकार, लहरे, गुरु र गर्रा उनीहरूका प्रसिद्ध लोकनृत्य, राउटी अस्थायी आवास भन्ने सजिलै बुझिन्छ ।

२.

दुल्लुको वासमती चामल, दैलेख पर्‍या भोको
माया भन्या सानो होइन, कोठारीको रोको
सल्यान साङ्कोटबाट कासो आउँदैन
भोको पेट नानीको हाँसो आउँदैन

उपन्यासमा मुखिया चैनबहादुर शाहीले हाल्ने यस्तो सवाईले सिंगै राउटे समाजको व्यथा बोल्छ । उपन्यासको कथावस्तु साधारण छ । बालकैमा बाबु गुमाएको टुहुरो राउटे कदम कल्याल शाही आफ्ना काका रउनाबाट काठका सामान बनाउन सिक्छ । रउनासँगै सामान बेच्न बजार र गाउँतिर जाने क्रममा उसको इच्छा र अनुभव फराकिलो हुँदै जान्छ । गाउँबस्तीका विद्यालय देखेर उसलाई पनि पढ्ने इच्छा जाग्छ । ऊ खलाँसी र पछि गाडीको चालक बन्ने सपना देख्छ । आगोले पोलेपछि समाजसेवी कर्मादेवीको पहलमा उपचार गर्न काठमाडौँ आउँदा इच्छाले पखेटा नै फैलाउँछ । उसको समुदायमा भने पढ्न, जागिर खान, वन छाडेर कतै जानै मनाही छ । उनीहरू ठाउँ फेर्दै वनैवन बसाइ सर्छन्, कन्दमूल, फलफूल जे भेटिन्छ खान्छन्, बाँदरको सिकार गरी मदिरा पिएर बेफिक्री हुँदै, नाच्दै, गाउँदै रौसेलो जीवन जिउँछन् । महिलाका जीवनमा भने उधुमै अन्धविश्वासका तगाराहरू, हीनता बढाउने र व्यक्तित्व खुम्च्याउने प्रचलनहरू छन् ।

कदमलगायत केही केटाहरू मुखियाको आँखा छलीछली जंगलमा पढ्न थाल्छन् । कदम सुर्खेत गएर खलाँसी बन्छ, देश दुनियाँसँग परिचित हुन्छ र पछि कुशल चालक बन्छ । अन्ततः राउटे पर्यटनको अवधारणा साकार पार्ने अभियानअन्तर्गत काठमाडौँमा राउटे रेस्टुराँ खोल्छ ।

३.
पत्रकार सिम्रिक शर्मालाई कदमले सुनाएको संघर्ष गाथा उपन्यासको मूल कथा हो । यस क्रममा अध्यायपिच्छे आउने भूमिकाले भने कथामा गतिरोध पैदा गर्छ । तर, कदमको जीवन संघर्षका क्रममा रोचक मोडहरू पटक–पटक आउँछन् ।

क) गुनाको सिकार

सुत्केरीलाई गुनाको ‘पोषिलो’ मासु ख्वाउन उनीहरू सिकारका लागि जंगल जान्छन् । बाँदर बस्ने मध्यवनमा पुगेपछि बूढापाकाहरू खरानीको ‘लक्ष्मण घेरा’ लगाएर मन्त्र फुक्छन् । गौँडागौँडामा जाल कोचिन्छ । जाल नपुगेको ठाउँमा स्याउला कोचकाच पारिन्छ । सिंगै सिकार टोली सुसेली हाल्दै एकै स्वरमा हाहा हुहु गर्न थालेपछि बाँदरहरू आत्तिँदै रूखबाट झर्छन् र भाग्न खोज्दा जालमा पर्छन् । तिनलाई बन्चरा, लाठी र घोचा लगाएर छिनमै मारिन्छ । बालक बाँदरलाई भने ज्यान माफी दिएर छाडिन्छ । एकपल्ट एउटा बाँदर अग्लो रूखको टुप्पामा अटेरी भएर बसिरहन्छ । ढुंगा, घोचाले झटारो हान्दा पनि डेग चल्दैन । त्यसपछि सिकारीहरू रूखै काट्छन् । रूख ढलेपछि बाँदर पनि नआत्तीकन बिस्तारै रूखसँगै झर्छ र भुइँमा बजारिने बेला फुत्त फाल हालेर गायब हुन्छ ।

ख) काठमाडौंमा प्रधानमन्त्री र नेताहरूसँग भेटघाट

गिरिजाप्रसाद कोइराला अन्तिम पटक प्रधानमन्त्री हुँदा राउटे टोली काठमाडौं आउँछन् । सुकिला–मुकिला प्रचण्ड सबैसित दरो हात मिलाउँछन् र हँसीमजाक गर्छन् । राउटेले दिएको कलात्मक कोसी र मदुसबारे पनि निकै चाख दिएर सोधीखोजी गर्छन् र पार्टीका तर्फबाट दस हजार रुपियाँ सहयोग गर्छन् । प्रधानमन्त्री गिरिजाप्रसादसँग भने उनीहरूको अनुभूति आत्मीय हुँदैन । बालुवाटार कम्पाउन्डमा उनले तिनलाई निकैबेर कुराउँछन् । भेट्दा पनि हाँस्दैनन् । खासै बोल्दैनन् । उपहार दिइएका कोसी र मदुसमा खासै रुचि दिँदैनन् । हेर्दै नहेरी सहयोगीलाई हस्तान्तरण गर्छन् ।

उनीहरूको भक्तपुर यात्रा भने निकै रमाइलो हुन्छ । सबै पर्यटकीय स्थल घुमेपछि नेमकिपाका अध्यक्ष कमरेड रोहितलाई भेट्छन् । पार्टी संगठनका क्रममा उनी जुम्ला, दैलेख, हुम्ला, जाजरकोट सबै पुगेका रहेछन् र राउटेबारे पनि उनलाई राम्रो जानकारी हुन्छ । सबैलाई कालो टोपी लगाइदिएर उनी जुजु धौको सगुन दिन्छन् । अनि आउँदो दसैंलाई भनी तीन बोरा मगमग बास्ना आउने चिउरा उपहार दिन्छन् । राउटेका तर्फबाट उपहार दिइएका कोसी र मदुसबारे निकै चाख दिएर सोधखोज गर्छन् अनि आफ्ना कुरा खुलस्त राख्छन् । अन्त्यमा राउटेलाई नाचगानका लागि भनेर एउटा ठूलो मादल पनि उपहार दिन्छन्, जुन उनको पार्टीको चुनाव चिह्न थियो ।

तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले पनि राउटेका बारेमा धेरै चासो देखाउँछन् । दस हजार रुपैयाँ सहयोग पनि गर्छन् । तर, उनले ‘घर बनाएर स्थायी बसोवास गर्नुस् र बालबालिकालाई विद्यालय पठाउनुस्’ भनेको राउटेका मुखियालाई पटक्कै मन पर्दैन ।

उपन्यासमा यस्ता रोचक प्रसंग थुप्रै छन् । झाँक्री बाको वनझाँक्री दरबार यात्रा, मुखिया चैनबहादुरले काठमाडौँ जान लाग्दा नेपालगन्जमा पत्रकारहरूलाई अन्तर्वार्ता दिँदै गाएका सवाई, अन्तर्राष्ट्रिय फिरन्ता सम्मेलनमा चिल सिकारी कजाकको कथा, राजामामा कुसुन्डाको बयान, चालक समुद्र गुरुङले राउटे पर्यटनबारे कदमलाई दिएको सूत्र आदि । तीमध्ये पनि समुद्रको सूत्र राउटे समुदायको पहिचान कायम गर्दै तिनको उत्थान, विकास र आधुनिक युगमा प्रवेश गराउन निकै महत्त्वपूर्ण लाग्छ ।

४.
उपन्यासको कथा वाचनमा समयक्रम खलबलिएको छ । राउटे प्रतिनिधिमण्डल काठमाडौँ आउँदाको समय पहिलो संविधानसभा चुनाव नहुँदैको हो । तर, त्यसअघि नै अन्य समुदायका मान्छेले उनीहरूसँग सेल्फी खिचेको प्रसंग बारम्बार आउँछ । सेलफोनमा सेल्फी प्रविधि आएको केही वर्षअघि मात्र हो । त्यसअघिकै कथामा कर्णाली प्रदेश, उपराष्ट्रपति लालध्वज पुन र उनकी छोरी दमयन्ती पुनका प्रसंगहरू आउँछन् । तर, नेपालको संविधान २०७२ ले बल्ल संघीयताको खाका कोरेको हो । उपन्यासमा कतिपय नेतादेखि कलाकार र लेखकहरू गौरीबहादुर कार्की, पूर्णप्रकाश नेपाल यात्रीजस्ता वास्तविक पात्र आउँछन्, केहीको भने अनुमान लगाउन सकिने गरी काल्पनिक नाम दिइएको छ । उपन्यासको अघिल्ला पृष्ठहरूको भाषा परिष्कृत छ । पछाडि भाषाको स्तर बिस्तारै खुकुलिन्छ । कदमजस्तो भुइँमान्छेले गरेको बयानमा ठाउँठाउँमा आउने अंग्रेजी र संस्कृत मूलका विशिष्ट शब्दहरूले दाँतमा बेसरी ढुंगा लगाउँछन् । कदम एक ठाउँमा भन्छ, ‘राउटे हुनुमा मलाई गर्व छ ।’ राउटेको लोकसंस्कृति, भाषा र पहिचानमा गर्व गर्न सकिन्छ, तर पछौटेपनमा सकिन्न । कुनै दलित जनले मलाई दलित हुनुमा गर्व छ भन्यो भने के होला ? त्यो भनेको उसमाथि गरिने छुवाछुतको व्यवहारमा पनि गर्व गर्नु हो । उसले त दलनबाट मुक्ति खोज्ने हो । राउटेको मामिलामा पनि कुरा यही हो ।

वाग्लेले चरम सीमान्तकृत समुदायको कथा लेखेर जोखिम मोलेका छन् । त्यसले नै यस उपन्यासलाई महत्त्वपूर्ण साहित्यिक दस्तावेज एवं समाजशास्त्रीय सन्दर्भ–सामग्री बन्न सघाएको छ । अन्य समुदायसँग सम्पर्क बढ्दै जाँदा राउटे समुदायले अहिले अँगालेको जीवनशैली लामो समय नटिक्ने पक्का छ । त्यसबाट छलाङ मार्ने युवकलाई नायक बनाएर र समुद्र गुरुङको योजना कार्यान्वयनको सुरुवात गराएर उनले राउटे समुदायले अँगाल्नुपर्ने रोडम्याप प्रस्ट कोरिदिएका छन् । राउटे समुदायको जीवनशैली भविष्यमा कस्तो हुनेछ भन्ने प्रस्ट संकेत पनि हो यो उपन्यास ।

प्रकाशित : जेष्ठ ७, २०७९ ११:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×