राउटे संसारसँग साक्षात्कार

अभय श्रेष्ठ

काठमाडौँ — १. 
राउटे समुदायबारे थुप्रै गैरआख्यान लेखिएका छन्, वृत्तचित्रहरू बनेका छन् । तिनले राउटे समाजको आवरणमाथि एकसरो दृष्टि लगाउँछन् । अनन्त वाग्लेको पहिचान पुरस्कार विजेता उपन्यास ‘कदम’ ले भने तिनको अन्तर्यलाई छाम्छ । यसकारण उपन्यासले पाठकलाई तिनको हृदयसँगै साक्षात्कार गराउँछ । पाठक पनि आफ्नो हृदयले नै तिनको आन्तरिक संसारमा प्रवेश गर्दै जान्छ ।

राउटे संसारसँग साक्षात्कार

‘कदम’ पठनीय हुनुको मुख्य कारण यही हो । राउटे समाजबारे लिखित सम्भवतः यो पहिलो आख्यान हो, जसलाई मूलतः शैक्षिक र समाजशास्त्रीय महत्त्वको उपन्यास भन्न सकिन्छ । यसमा राउटेको जरा र पहिचान जीवित राखी त्यस समाजको जडताबाट बाहिर निस्केर उन्नत जीवन जिउन सफल एउटा समूहको राउटे युवाको संघर्ष, अनन्त इच्छाशक्ति र सफलताको कथा छ ।

लामो समय पत्रकारिता गरेका वाग्लेको भाषा सरल र सम्प्रेष्य छ । त्यसले गर्दा राउटे जीवनशैली र संस्कृतिका अनौठा शब्दहरूका अर्थ बिस्तारै खुल्दै जान्छन् । गादो, पगरी, कोसी, मदुस, झकालो, गुना, रौतेला, लहरे बैसारी, गुरु बैसारी, गर्रा, ऐरा, राउटीजस्ता शब्द पहिलोपल्ट पढ्दा अपरिचित लाग्छन् । उपन्यास पढ्दै जाँदा गादो भनेको राउटेको शरीर वस्त्र, पगरी टाउकामा बाँध्ने बिँडा, कोसी, मदुस राउटे समुदायले काठबाट बनाउने घरेलु भाँडाकुँडा, झकालो जामा, गुना लंगुर जातको बाँदर, ऐरा सिकार, लहरे, गुरु र गर्रा उनीहरूका प्रसिद्ध लोकनृत्य, राउटी अस्थायी आवास भन्ने सजिलै बुझिन्छ ।

२.

दुल्लुको वासमती चामल, दैलेख पर्‍या भोको
माया भन्या सानो होइन, कोठारीको रोको
सल्यान साङ्कोटबाट कासो आउँदैन
भोको पेट नानीको हाँसो आउँदैन

उपन्यासमा मुखिया चैनबहादुर शाहीले हाल्ने यस्तो सवाईले सिंगै राउटे समाजको व्यथा बोल्छ । उपन्यासको कथावस्तु साधारण छ । बालकैमा बाबु गुमाएको टुहुरो राउटे कदम कल्याल शाही आफ्ना काका रउनाबाट काठका सामान बनाउन सिक्छ । रउनासँगै सामान बेच्न बजार र गाउँतिर जाने क्रममा उसको इच्छा र अनुभव फराकिलो हुँदै जान्छ । गाउँबस्तीका विद्यालय देखेर उसलाई पनि पढ्ने इच्छा जाग्छ । ऊ खलाँसी र पछि गाडीको चालक बन्ने सपना देख्छ । आगोले पोलेपछि समाजसेवी कर्मादेवीको पहलमा उपचार गर्न काठमाडौँ आउँदा इच्छाले पखेटा नै फैलाउँछ । उसको समुदायमा भने पढ्न, जागिर खान, वन छाडेर कतै जानै मनाही छ । उनीहरू ठाउँ फेर्दै वनैवन बसाइ सर्छन्, कन्दमूल, फलफूल जे भेटिन्छ खान्छन्, बाँदरको सिकार गरी मदिरा पिएर बेफिक्री हुँदै, नाच्दै, गाउँदै रौसेलो जीवन जिउँछन् । महिलाका जीवनमा भने उधुमै अन्धविश्वासका तगाराहरू, हीनता बढाउने र व्यक्तित्व खुम्च्याउने प्रचलनहरू छन् ।

कदमलगायत केही केटाहरू मुखियाको आँखा छलीछली जंगलमा पढ्न थाल्छन् । कदम सुर्खेत गएर खलाँसी बन्छ, देश दुनियाँसँग परिचित हुन्छ र पछि कुशल चालक बन्छ । अन्ततः राउटे पर्यटनको अवधारणा साकार पार्ने अभियानअन्तर्गत काठमाडौँमा राउटे रेस्टुराँ खोल्छ ।

३.
पत्रकार सिम्रिक शर्मालाई कदमले सुनाएको संघर्ष गाथा उपन्यासको मूल कथा हो । यस क्रममा अध्यायपिच्छे आउने भूमिकाले भने कथामा गतिरोध पैदा गर्छ । तर, कदमको जीवन संघर्षका क्रममा रोचक मोडहरू पटक–पटक आउँछन् ।

क) गुनाको सिकार

सुत्केरीलाई गुनाको ‘पोषिलो’ मासु ख्वाउन उनीहरू सिकारका लागि जंगल जान्छन् । बाँदर बस्ने मध्यवनमा पुगेपछि बूढापाकाहरू खरानीको ‘लक्ष्मण घेरा’ लगाएर मन्त्र फुक्छन् । गौँडागौँडामा जाल कोचिन्छ । जाल नपुगेको ठाउँमा स्याउला कोचकाच पारिन्छ । सिंगै सिकार टोली सुसेली हाल्दै एकै स्वरमा हाहा हुहु गर्न थालेपछि बाँदरहरू आत्तिँदै रूखबाट झर्छन् र भाग्न खोज्दा जालमा पर्छन् । तिनलाई बन्चरा, लाठी र घोचा लगाएर छिनमै मारिन्छ । बालक बाँदरलाई भने ज्यान माफी दिएर छाडिन्छ । एकपल्ट एउटा बाँदर अग्लो रूखको टुप्पामा अटेरी भएर बसिरहन्छ । ढुंगा, घोचाले झटारो हान्दा पनि डेग चल्दैन । त्यसपछि सिकारीहरू रूखै काट्छन् । रूख ढलेपछि बाँदर पनि नआत्तीकन बिस्तारै रूखसँगै झर्छ र भुइँमा बजारिने बेला फुत्त फाल हालेर गायब हुन्छ ।

ख) काठमाडौंमा प्रधानमन्त्री र नेताहरूसँग भेटघाट

गिरिजाप्रसाद कोइराला अन्तिम पटक प्रधानमन्त्री हुँदा राउटे टोली काठमाडौं आउँछन् । सुकिला–मुकिला प्रचण्ड सबैसित दरो हात मिलाउँछन् र हँसीमजाक गर्छन् । राउटेले दिएको कलात्मक कोसी र मदुसबारे पनि निकै चाख दिएर सोधीखोजी गर्छन् र पार्टीका तर्फबाट दस हजार रुपियाँ सहयोग गर्छन् । प्रधानमन्त्री गिरिजाप्रसादसँग भने उनीहरूको अनुभूति आत्मीय हुँदैन । बालुवाटार कम्पाउन्डमा उनले तिनलाई निकैबेर कुराउँछन् । भेट्दा पनि हाँस्दैनन् । खासै बोल्दैनन् । उपहार दिइएका कोसी र मदुसमा खासै रुचि दिँदैनन् । हेर्दै नहेरी सहयोगीलाई हस्तान्तरण गर्छन् ।

उनीहरूको भक्तपुर यात्रा भने निकै रमाइलो हुन्छ । सबै पर्यटकीय स्थल घुमेपछि नेमकिपाका अध्यक्ष कमरेड रोहितलाई भेट्छन् । पार्टी संगठनका क्रममा उनी जुम्ला, दैलेख, हुम्ला, जाजरकोट सबै पुगेका रहेछन् र राउटेबारे पनि उनलाई राम्रो जानकारी हुन्छ । सबैलाई कालो टोपी लगाइदिएर उनी जुजु धौको सगुन दिन्छन् । अनि आउँदो दसैंलाई भनी तीन बोरा मगमग बास्ना आउने चिउरा उपहार दिन्छन् । राउटेका तर्फबाट उपहार दिइएका कोसी र मदुसबारे निकै चाख दिएर सोधखोज गर्छन् अनि आफ्ना कुरा खुलस्त राख्छन् । अन्त्यमा राउटेलाई नाचगानका लागि भनेर एउटा ठूलो मादल पनि उपहार दिन्छन्, जुन उनको पार्टीको चुनाव चिह्न थियो ।

तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले पनि राउटेका बारेमा धेरै चासो देखाउँछन् । दस हजार रुपैयाँ सहयोग पनि गर्छन् । तर, उनले ‘घर बनाएर स्थायी बसोवास गर्नुस् र बालबालिकालाई विद्यालय पठाउनुस्’ भनेको राउटेका मुखियालाई पटक्कै मन पर्दैन ।

उपन्यासमा यस्ता रोचक प्रसंग थुप्रै छन् । झाँक्री बाको वनझाँक्री दरबार यात्रा, मुखिया चैनबहादुरले काठमाडौँ जान लाग्दा नेपालगन्जमा पत्रकारहरूलाई अन्तर्वार्ता दिँदै गाएका सवाई, अन्तर्राष्ट्रिय फिरन्ता सम्मेलनमा चिल सिकारी कजाकको कथा, राजामामा कुसुन्डाको बयान, चालक समुद्र गुरुङले राउटे पर्यटनबारे कदमलाई दिएको सूत्र आदि । तीमध्ये पनि समुद्रको सूत्र राउटे समुदायको पहिचान कायम गर्दै तिनको उत्थान, विकास र आधुनिक युगमा प्रवेश गराउन निकै महत्त्वपूर्ण लाग्छ ।

४.
उपन्यासको कथा वाचनमा समयक्रम खलबलिएको छ । राउटे प्रतिनिधिमण्डल काठमाडौँ आउँदाको समय पहिलो संविधानसभा चुनाव नहुँदैको हो । तर, त्यसअघि नै अन्य समुदायका मान्छेले उनीहरूसँग सेल्फी खिचेको प्रसंग बारम्बार आउँछ । सेलफोनमा सेल्फी प्रविधि आएको केही वर्षअघि मात्र हो । त्यसअघिकै कथामा कर्णाली प्रदेश, उपराष्ट्रपति लालध्वज पुन र उनकी छोरी दमयन्ती पुनका प्रसंगहरू आउँछन् । तर, नेपालको संविधान २०७२ ले बल्ल संघीयताको खाका कोरेको हो । उपन्यासमा कतिपय नेतादेखि कलाकार र लेखकहरू गौरीबहादुर कार्की, पूर्णप्रकाश नेपाल यात्रीजस्ता वास्तविक पात्र आउँछन्, केहीको भने अनुमान लगाउन सकिने गरी काल्पनिक नाम दिइएको छ । उपन्यासको अघिल्ला पृष्ठहरूको भाषा परिष्कृत छ । पछाडि भाषाको स्तर बिस्तारै खुकुलिन्छ । कदमजस्तो भुइँमान्छेले गरेको बयानमा ठाउँठाउँमा आउने अंग्रेजी र संस्कृत मूलका विशिष्ट शब्दहरूले दाँतमा बेसरी ढुंगा लगाउँछन् । कदम एक ठाउँमा भन्छ, ‘राउटे हुनुमा मलाई गर्व छ ।’ राउटेको लोकसंस्कृति, भाषा र पहिचानमा गर्व गर्न सकिन्छ, तर पछौटेपनमा सकिन्न । कुनै दलित जनले मलाई दलित हुनुमा गर्व छ भन्यो भने के होला ? त्यो भनेको उसमाथि गरिने छुवाछुतको व्यवहारमा पनि गर्व गर्नु हो । उसले त दलनबाट मुक्ति खोज्ने हो । राउटेको मामिलामा पनि कुरा यही हो ।

वाग्लेले चरम सीमान्तकृत समुदायको कथा लेखेर जोखिम मोलेका छन् । त्यसले नै यस उपन्यासलाई महत्त्वपूर्ण साहित्यिक दस्तावेज एवं समाजशास्त्रीय सन्दर्भ–सामग्री बन्न सघाएको छ । अन्य समुदायसँग सम्पर्क बढ्दै जाँदा राउटे समुदायले अहिले अँगालेको जीवनशैली लामो समय नटिक्ने पक्का छ । त्यसबाट छलाङ मार्ने युवकलाई नायक बनाएर र समुद्र गुरुङको योजना कार्यान्वयनको सुरुवात गराएर उनले राउटे समुदायले अँगाल्नुपर्ने रोडम्याप प्रस्ट कोरिदिएका छन् । राउटे समुदायको जीवनशैली भविष्यमा कस्तो हुनेछ भन्ने प्रस्ट संकेत पनि हो यो उपन्यास ।

प्रकाशित : जेष्ठ ७, २०७९ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?