रंगमञ्च जाग्दो छ- कोसेली - कान्तिपुर समाचार

रंगमञ्च जाग्दो छ

क्लासिक वा चर्चित कृति मञ्चमा हेर्न पाउनु दर्शकका लागि नयाँ स्वाद पक्कै हो । तर, अनुवाद र रुपान्तरणको मात्रै भर पर्दा मौलिक नाटक लेखनमै विराम त लाग्ने होइन ?
फणीन्द्र संगम

काठमाडौँ — लेखक नारायण वाग्लेलाई केही वर्षअघि उपन्यास ‘पल्पसा क्याफे’ माथि सिनेमा बनाउने प्रस्ताव आयो । उनले सोचविचार त गरे, तर स्वीकृति दिएनन् । किताबमाथि बनेका धेरैजसो नेपाली सिनेमा ‘फ्लप’ भइरहेकामा उनको अस्वीकृति पो थियो कि !
उनी यत्ति भन्छन्, ‘सायद त्यो बेला म तयार थिइनँ ।’

तर, प्रकाशनको १८ वर्षपछि ‘पल्पसा क्याफे’ फरक प्लेटफर्ममा प्रकट भयो, मण्डला थिएटरमा । १७ दिन हाउसफुल चलेको नाटक हेर्न आएका कतिपय दर्शक टिकट नपाएर फर्किनुपर्ने अवस्था बन्यो । वाग्ले प्रदर्शनको नवौं दिन मण्डला पुगेका थिए । नाटक हेरेपछि उनले लेखे, ‘पात्रहरूलाई गरेको स्नेह तिनको चित्रणमा देखिन्छ र त नाटक खुलेको छ कलाकारहरूको अभिनयमा । मेरा आँखा रसाए । रसिला आँखा आफैँमा बलिया अक्षर हुन् ।’

निर्देशक विमल सुवेदीको इमानदार प्रयासकै कारण आफू उपन्यास सुम्पन तयार भएको उनको भनाइ छ । ‘किताबलाई केही अर्थ्याउँछु भन्ने उहाँको सोच पाएँ । कुनै नाट्यकर्मीले कुनै उपन्यासलाई मैले देखेको हिसाबले नाट्य रूप दिन्छु भन्छ भने लेखकले किन बाँध बाँध्नु भनेर स्विकारेको हुँ,’ वाग्ले भन्छन् । नाटकमा आफ्ना पात्रहरू जीवन्त हुन पाएको र त्यो लेखकका लागि हौसलाको विषय भएको उनले बताए ।

निर्देशक सुवेदी राम्रा नाटकको अभाव पूर्ति गर्न उपन्यासको सहारा लिनुपरेको बताउँछन् । ‘बाहिर पनि आख्यानमाथि नाटक बन्ने पुरानै चलन हो । हामीकहाँ राम्रा नाटक निकै कम छन्,’ उनले भने, ‘कथा वा उपन्यास जेमा काम गरे पनि हाम्रो त हो नि ।’

‘पल्पसा क्याफे’ मात्रै होइन एकै समय कौसी थिएटरमा चलेको ‘उलार’ मा पनि दर्शकको घुइँचो लाग्यो । नयनराज पाण्डेको उपन्यासमा आधारित नाटकलाई चे शंकरले निर्देशन गरेका हुन् । उही समयमा पुरानो घरमा ‘जनयुद्ध’ को विषयलाई लिएर ‘खत’ प्रदर्शन भयो । सुलक्षण भारतीको लेखन–निर्देशन रहेको नाटकले पनि प्रशंसा कमायो । केही समयअघि थिएटर मलमा पारिजातको उपन्यासमा आधरित ‘शिरीषको फूल’ प्रदर्शन भयो । ‘पोखरामा पनि देखायौं,’ थिएटर मलका निर्देशक केदार श्रेष्ठ भन्छन्, ‘चुनावलगत्तै चितवन, नेपालगन्ज र बुटवल जाने तयारी छ ।’ नाटकलाई अञ्जान प्रदीपले निर्देशन गरेका हुन् ।

कौसी थिएटरकी संस्थापक निर्देशक आकांक्षा कार्की उपन्यासका पाठक धेरै भएकाले नाटकमा आकर्षण बढेको बताउँछिन् । ‘थिएटरमा आउनेबाहेक किताबका पाठक पनि छन्, किताबमाथि नै नाटक बनेपछि उनीहरू उत्साहपूर्वक आएका हुन्,’ उनले भनिन् । आख्यानमाथि नाटक निर्माण गर्दा निकै चुनौतीपूर्ण हुने उनको बुझाइ छ । ‘पल्पसा क्याफेमा फिल्म बन्ला भन्ने सोचिन्थ्यो, तर नाटकमा आयो । उलारजस्तो उपन्यासलाई पनि नाटकमा ल्याउँदा सीमितताका कारण न्याय गर्न सकिन्न भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘अंग्रेजी नाटकलाई नेपालीमा अनुवाद गर्नु सम्भव हुन्छ, नेपाली आख्यानलाई नाटकमा रूपान्तरण गर्नु असम्भव त होइन, तर चुनौती बढी छ । किताबमा पाठकले गरेको कल्पना नाटकमा नपाउन पनि सक्छन् । त्यो तुलनाको जोखिम सधैं रहन्छ ।’ पुस्तक नै शक्तिशाली छ भने नाटक बनाउँदा निर्देशकीय क्षमतासँग तुलना गर्ने डर रहने उनले बताइन् ।

शिल्पी थिएटर भने यतिबेला मुक्त रंगमञ्च ‘अलिकति उज्यालो’ अभियानमा देश दौडाहामा व्यस्त छ । कोरोना महामारीले दुई वर्ष ठप्प बनेका अन्य थिएटर पनि जुर्मुराइरहेका छन् । आरोहण गुरुकुल गत पुसदेखि नियमिततामा फर्किएको छ । कुञ्ज थिएटरमा आफ्नो मुकाम बनाएर सुरुमा ‘पुतलीको घर’ मञ्चन गर्‍यो । भर्खरै ‘स्कुल’ नाटक प्रदर्शन सकाएको गुरुकुल ‘कोही किन बर्बाद होस्’ को तयारीमा जुटेको छ ।

राजधानीबाहिर पोखराको गन्धर्व थिएटर, मोरङका आरोहण गुरुकुल, झोराहाट, वृत्तान्त, झापाका कदम र परिवर्तन थिएटरले स्थानीय दर्शकलाई नाटक हेर्ने बानी लगाइरहेका छन् । यो सक्रियताले रंगमञ्चमा दर्शकको उपस्थिति बाक्लिँदो छ भने नाट्यकलाप्रतिको विश्वास बढेको छ ।

पछिल्लो समय नेपाली किताबमाथि नाटक निर्माण हुनुलाई राम्रो संकेत मान्छन्, लेखक अविनाश श्रेष्ठ । ‘कथा वा उपन्यास नाटकसम्म जाने प्रक्रिया निकै कठिन हुन्छ । यसमा नाटकको विधागत प्रारूप, संरचनादेखि मञ्च र दर्शकको पनि हेक्का हुनुपर्छ,’ उनले भने, ‘अहिले थिएटरमा मिहिनेतपूर्वक काम भइरहेका छन्, त्यो सुखद संकेत हो ।’

मौलिक नाटककै अभाव अनुवाद–रूपान्तरण परम्पराबाटै सुरु भएको नाटकमा पहलमानसिंह स्वाँरको प्रवेशपछि मात्रै मौलिक लेखन भित्रिएको मानिन्छ । त्यसअघि पौराणिक संस्कृत नाटकलाई नेपालीमा अनुवाद गर्ने चलन थियो । विसं १९६३ मा ‘अटलबहादुर’ लेखेर अनुवाद वा नाट्य रूपान्तरणको ट्रेन्डलाई स्वाँरले भत्काइदिए । उनको आगमनसँगै त्यसपछिका नाटककारले मौलिक लेखनको बाटो समाउँदै कलम चलाउन थालेका हुन् । बालकृष्ण समले ‘मुटुको व्यथा’ (विसं १९८६) मार्फत नेपाली नाटकमा आधुनिकता भित्र्याएपछि लेखनमा प्रयोग हुन थाल्यो । उनले आफ्नै नाटक ‘मुकुन्द इन्दिरा’ निर्देशन गरेपछि मञ्चीय दृष्टिकोणले ठूलै चर्चा पाएको र टिकट काटेर हेर्ने प्रचलन बढेको पुराना नाट्यकर्मीहरू बताउँछन् ।

समले पाश्चात्य दुःखान्त नाट्य परम्परा तथा शेक्सपियरेली नाट्य प्रभाव आत्मसात गरे । त्यसो त यसअघि नै अंग्रेजी, हिन्दी, उर्दु, फारसी, अरबी र बंगाली नाटकको प्रभाव पनि नेपाली नाटकले ग्रहण गर्दै आएको थियो । अहिले भने मौलिक नाटकको अभावकै कारण विदेशी कृतिको अनूदित र नेपाली आख्यानको रूपान्तरित नाटकको संख्या बढी देखिन्छ ।

यसअघि पनि आख्यानमाथि धेरै नाटक बनिसकेका छन् । नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’, हृदयचन्द्र सिंह प्रधानको ‘एक चिहान,’ लीलबहादुर क्षेत्रीको ‘बसाइँ’, प्रदीप नेपालको ‘बर्बरिक’ रंगमञ्चमा चढिसकेका छन् । इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ र ‘जार’, शंकर लामिछानेको ‘आत्माको मीमांसा’, श्याम साहको ‘लाटीको छोरो’, महेशविक्रम शाहको ‘बेड नं ९९’, उपेन्द्र सुब्बाको ‘लाटो पहाड’, भवानी भिक्षुको ‘हारजित’ लगायत कथा पनि नाटकमा रूपान्तरण भइसकेका छन् ।

पछिल्लो दुई महिना चर्चित तीन उपन्यासमाथि बनेका नाटकले रंगमञ्चप्रतिको ठूलो उत्साह जगाए पनि त्यसको निरन्तरतामा चुनौती देख्छन्, निर्देशक केदार श्रेष्ठ । ‘नेपालमा मौलिक नाटक लेखन खस्किँदै गएको अवस्थामा आख्यानलाई नाट्य रूपान्तरण गर्नुले दर्शकको इच्छा त पूर्ति होला,’ उनी भन्छन्, ‘तर, यो समय नाटक लेख्नका लागि हामीलाई राम्रो विकल्प र अवसर पनि हो ।’ उनका अनुसार, जति नाटक लेखिएका छन्, ती रंगमञ्चमै काम गरिरहेका कलाकार वा निर्देशकले लेखेका छन् । त्यसलाई उनी ‘बाध्यता’ को लेखन भन्छन् ।

निर्देशक आकांक्षा कार्की राम्रा विदेशी साहित्यलाई नेपाली दर्शकसामु पस्किनु नै ठूलो कुरा भएको बताउँछिन् । ‘सधैं मौलिक–मौलिक भन्दा त्यो निश्चित दायरामा खुम्चिन्छ, दृष्टिकोण सीमित हुन्छ,’ उनले भनिन्, ‘अनूदित नाटकले बुझाइको आयाम फराकिलो बनाउन सघाउँछ ।’

निर्देशक विमल सुवेदी नाटक लेखकलाई प्रोत्साहन नहुँदा मौलिक नाटकको अवस्था कमजोर बनेको बताउँछन् । ‘उपन्यास वा फिल्म लेख्दा त्यसले लेखकलाई राम्रो पारिश्रमिक मिल्छ, बजारमा चर्चा हुन्छ,’ उनले भने, ‘नाटकमा उति नै समय र मिहिनेत चाहिन्छ । नाटक लेखकलाई ठूलो लगानी गर्ने चलन छैन ।’

त्यसो त नाटक आफैँमा जटिल विधा हो । लेखेर मात्रै यसको विधागत ‘धर्म’ पूरा हुँदैन । कविता लेखेर हतार–हतार फेसबुकमा पोस्ट्याउन वा उपन्यासको ड्राफ्ट बोकेर प्रकाशककहाँ दौडिन जति सजिलो छ नाटकले त्यसरी हतारको यात्रा गर्दैन । मञ्चदेखि लाइट, साउन्ड र दर्शकसम्म जोडिनुपर्छ । ‘गहन विधा भएकैले जसतसले नाटक लेख्न सक्दैन,’ लेखक अविनाश श्रेष्ठ भन्छन्, ‘मान्छेले कम समयमा प्रशंसा, सुख, प्रसिद्धि सबै चाहन्छ । कविता वा उपन्यास लेख्न उति गाह्रो भएन, तर नाटक धेरै विधासँग अन्तरसम्बन्धित भएकाले निकै जटिल लेखन हो । यसमा कविता, कथा, उपन्यास, संगीतसँगै अभिनय र दर्शक पनि जोडिएका हुन्छन् ।’

राजधानीबाहिर पनि रंगमञ्च चलायमान हुनु र दर्शक ओइरिनु नेपाली नाट्य क्षेत्रका लागि सुखद पक्ष हो । हाल थिएटरहरूले दर्शकको मनोविज्ञान बुझेर नयाँ–नयाँ नाटकमा काम गरिरहेका छन् । क्लासिक वा चर्चित कृति मञ्चमा हेर्न पाउनु दर्शकका लागि नयाँ स्वाद भने पक्कै हो । तर, अनुवाद र रूपान्तरणको मात्रै भर पर्दा मौलिक नाटक लेखनमै विराम त लाग्ने होइन ?

प्रकाशित : वैशाख ३१, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

पर्वतको 'प्रेत'

स्यालरले लेखेका छन्, ‘उच्च–हिमाली भेगका थुप्रै जीवजन्तु भेटेको छु । तर, हिउँचितुवाले झैं कुनै जीवले पनि मलाई प्रभाव पारेनन् । बिरलै देख्न पाइने यस दुर्लभ र रहस्यमयी जन्तुले मलाई लोभ्याइरहन्छ ।’ 
नरेश कुसी

काठमाडौँ — सन् २०१३– अक्टोबर, सोलुखुम्बुबिहानको पारिलो घाममा फोर्चे गाउँको फापरबारीतिर यत्रतत्र चरिरहेका डाँफे हेर्दै मग्न थिएँ । गाउँबाट अलि परको गोठतिर देखाउँदै एक जनाले भने, ‘यतातिर हिउँचितुवा बिरलै भेटिन्छ । धेरैपछि हिजो बिहान ऊ त्यो भीरसँगैको गोठ नजिकै गोठालाले एउटा माउ हिउँचितुवा र त्यसका डमरु देखेको भन्थे !’ 

ती मान्छेले ‘ऊ’ भनेर औंला तेर्स्याएको गोठवरपर दुई दिनअघि हामीले झारल गनेका थियौं । सोचें, ‘एक–दुई दिन यतै बसेर हिउँचितुवा खोज्नुपर्ला । देखियो भने गजबै हुन्छ ।’ तर, मुख्य अनुसन्धान कार्य एकातिर थाती राखी हिउँचितुवा खोज्ने आँट र स्रोत दुवै थिएन मसँग । त्यो ‘रोमाञ्चक’ सोच दबाएर मुख्य काम झारल गन्न गोक्योतिर लागें । गोक्यो ब्लकको अध्ययनपछि फोर्चे गाउँ आइपुगेको भोलिपल्ट सबेरै गाउँलेले देखाएको गोठतिर लाग्यौं । हिउँचितुवा देखिने कुरै भएन । पुराना पदछाप भने भेटिए ।

सन् २०१४– अप्रिल, लिमी, उपल्लो हुम्ला

भारतमा हिउँद काटेर आफ्नो गाउँ फर्कंदै गरेका लिमिवा (लिमिका बासिन्दा) सँगै सहपाठी जीवन राई र म हिल्साबाट लिमी जाँदै थियौं । बाटैभरि थिए– हिउँचितुवाका नयाँ–पुराना विष्टा र स्क्रेप (खोस्रेको चिह्न) । अनुवांशिक अध्ययनका लागि हिउँचितुवाका विष्टाका नमुना संकलन गर्दै हिँडेकाले हामी निकै पछि परेका थियौं । बिहान ११ बजेतिर हामीले हिउँचितुवाको आलो पदछाप भेट्यौं ।

‘यसपालि हिउँचितुवा देखिन्छजस्तो छ !’ मनमनै खुसी भएँ । १२ बजेतिर झोम्पाल्यामा पुग्दा लिमिवाहरू हामीलाई पर्खिरहेका थिए । ‘आधा घण्टाअघि त्यो डाँडामा एउटा चेन (हिउँचितुवाको स्थानीय नाम) देख्यौं हामीले,’ १०० मिटरजति माथिको डाँडातिर देखाउँदै पासाङले भने । तर, दुर्बिनले पटक–पटक चियाए पनि त्यो हिउँचितुवा फेरि देखिएन ।

चार दिनपछि हाल्जी गाउँमा पोब्सां चाड सुरु भयो । ११ औं शताब्दीमा बनेको रिन्चेनलिङ गुम्बाको प्रांगणमा गाउँभरिका मान्छे भेला भएका थिए । तीन दिनसम्म चलेको चाडअन्तर्गत एउटा प्रस्तुतिका लागि गाउँलेले विभिन्न वन्यजन्तुका आखेटोपहार निकाले । त्यो प्रस्तुतिमा हिउँचितुवाको छाला पनि देखियो ।

सन् २०१६–मे, शे गुम्बा, उपल्लो डोल्पा

हिउँचितुवा र हिमाली ब्वाँसोका संकेत खोज्दै साथीहरू जेराल्दिन वेरहान र छिरिङ ल्हामु लामा, स्थानीय पथप्रदर्शक टासी र म कोङमोचे गुम्बा पछाडिको खर्क पुग्यौं । एक गोठालो चौंरी चराउँदै थिए । उनले भने, ‘एक घण्टाअघि बाच्छाहरूलाई बीचमा पारेर वयस्क चौंरीहरू गोलो घेरा बनाएर उभिएको देखेपछि म त्यतातिर लागें । २०–३० मिटर पर एउटा साबु (हिउँचितुवा) झाडीमा लुकेर बसेको रहेछ । मलाई देखेर

आफ्नो बाटो लाग्यो ।’ दिउँसो दुई बजेतिर त्यहाँ पुगेका हामी हिउँचितुवा देखिने आसमा सुर्यास्त नहुन्जेल बसिरह्यौं, तर अहँ देखिएन । उपल्लो डोल्पाको दुई महिने अनुसन्धान सकेर छार्का भोट हुँदै हामी मुस्ताङ निस्कियौं । छुसाङ गाउँबाट घाइते अवस्थामा उद्दार गरेर ल्याइएको एउटा हिउँचितुवा जोमसोममा उपचारका क्रममा मरेको समाचार पत्रिकामा छापिएको रहेछ । मरेकै भए पनि हिउँचितुवा हेर्न उत्साहित थिएँ । तर, त्यो उत्साह एक छिन पनि टिकेन । हामी जोमसोम पुगेको अघिल्लो दिन मात्रै हिउँचितुवाको लास जलाइएको रहेछ ।

000

त्यसैबीच पिटर म्याथिसनको विश्वप्रसिद्ध पुस्तक ‘द स्नो लेपर्ड’ हात पर्‍यो । सन् १९७३ मा उपल्लो डोल्पाको शे गुम्बावरपर नाउरको आनीबानी अध्ययन गर्न आएका जीव वैज्ञानिक जर्ज स्यालरसँग पदयात्रामा आएका म्याथिसन बीचैमा फर्केकाले उनले हिउँचितुवा देखेनन् । महायान बौद्धमार्गी म्याथिसनले पुस्तकमा ब्यक्त गरेका मनोभाव असाधारण छन् । पुस्तकको सबभन्दा धेरै साभार गरिएको एउटा अंशमा उनले लेखेका छन् ।

‘के तिमीले हिउँचितुवा देखेका छौ ?’

‘छैन । के त्यो कुरा सुन्दर छैन ?’

अत्यन्त आत्मिक मनोवृत्ति प्रस्तुत गर्दै उनले लेखेका छन् :

‘म हतोत्साहित छु पनि र छैन पनि । हिउँचितुवा यहाँ छ र उसका तुसारो–जस्ता आँखाहरूले हामीलाई हेरिरहेको छ भन्ने महसुस गर्नु नै पर्याप्त छ !’

मैले पनि म्याथिसनले जस्तै हिउँचितुवा नदेखीकनै सुन्दर अनुभूति गर्न सक्थें हुँला त ?

सन् २०१६ को अक्टोबरमा जर्ज स्यालरसँग काठमाडौंमा भेट्ने मौका जुर्‍यो । उनी ४३ वर्षपछि पुनः उपल्लो डोल्पाको पदयात्रा गरेर फर्किएका थिए । अगस्ट महिनामा संयुक्त राज्य अमेरिकाको स्मिथसोनियन–मेसन स्कुल अफ कनजर्भेसनमा दुई हप्ते तालिममा सहभागी हुन गएको मौकामा स्यालरको ‘तिबेत वाइल्ड’ पुस्तक किनेर ल्याएको थिएँ । स्यालरको हस्ताक्षर लिने सोचले मैले सो पुस्तक सँगै लिएर गएको थिएँ । हिउँचितुवा नदेखेको बारे म्याथिसनले अघि सारेका मनोभावमाथि स्यालरको सोच कस्तो होला ? यसबारे सोध्दा स्यालरले भर्खरै हस्ताक्षर गरेर दिएको ‘टिबेट वाइल्ड’ पुस्तकको ‘द स्नो लेपर्ड’ शीर्षकको अन्तिम अध्याय पल्टाए र त्यसको पहिलो हरफ पढ्न भने । त्यहाँ लेखिएको थियो, ‘पिटरको जस्तो मनोभाव हासिल गर्न म असमर्थ छु ।’

000

त्यस भेटमा हामीले हिउँचितुवाबारे विशेष चर्चा गर्‍यौं । एसियामा गरेका अध्ययनहरूमा आधारित भएर लेखिएका सबै पुस्तकमा स्यालरले हिउँचितुवा–मोह स्पष्ट भाषामा पोखेका छन् । ‘द स्टोन्स अफ साइलेन्स’ पुस्तकमा उनले लेखेका छन् ः

‘मैले फ्याउमुसा, ब्वाँसा, उच्च–हिमाली भेगका पन्छीहरूलगायत थुप्रै जीवजन्तु भेटेको छु । तर, हिउँचितुवाले जस्तो कुनै जीवले पनि मलाई प्रभावित गरेको छैन । बिरलै मात्र देख्न पाइने यस दुर्लभ र रहस्यमयी जन्तुले मलाई लोभ्याइरहन्छ ।’ हिउँचितुवा कहिल्यै नदेखेको भए पनि मभित्र हिउँचितुवा–मोह अनौठो प्रकारले जाग्दै थियो । स्यालरका पुस्तकहरूले त्यसलाई थप मलजल गर्ने काम गरे । सन् २०१७ को जुन महिनामा मैले दाहिने हातमा हिउँचितुवाको ट्याटु खोपें । कहिल्यै नदेखेको जन्तुप्रति यो हदसम्मको आकर्षण कसरी पलायो, सोचेरै बेलाबेला आफैं अचम्मित हुन्छु ।

000

सन् २०१८ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय वन्यजन्तु संरक्षण अभ्यास पढिरहँदा सहपाठीसँग स्कटल्यान्डको हाइल्यान्ड वाइल्डलाइफ पार्क घुम्न गएको थिएँ । पहिलो पटक हिउँचितुवा मैले त्यहीँ देखें । तर, प्राकृतिक बासस्थानमै निर्वाध घुमिरहेको हिउँचितुवा हेर्ने चाहना पूरा हुन अर्को साढे तीन वर्ष लाग्यो । सन् २०२२ फेब्रुअरीमा मनाङका नागरिक वैज्ञानिक टासी राप्ते घलेले दिनदिनै सामाजिक सञ्जालमा हिउँचितुवाका नयाँनयाँ तस्बिर पोस्ट्याइरहेका थिए । २३ फेब्रुअरीको दिन जीवनसाथी सविता गुरुङ र मुस्ताङका भाइ बाबु गुरुङका साथ मनाङ पुगेर टासीकै ‘होटल माउन्टेन लेक’ मा बस्यौं । पाँच दिनदेखि नियमित हिउँचितुवा देखिरहेका उनले त्यस दिन ११ घण्टासम्म अवलोकन गरेछन् ।

भोलिपल्ट बिहानै चाम्पा खाएर टासीको पछिपछि हिँड्यौं । गाउँको बीचबाट सजिलो र छोटो बाटो भए पनि उनी सधैं मुख्य बाटो छोडेर लामै बाटो हिँड्ने गर्दा रैछन् । यसरी हिँड्दा स्याल, रातो फ्याउरो, नाउरलगायत वन्यजन्तु देखिने सम्भावना हुने रहेछ ।

एक घण्टापछि उनले सधैं हिउँचितुवा देखेको ठाउँमा पुग्यौं । अलि परैबाट हिउँचितुवा कराएको सुनिएको थियो । हिउँचितुवाको आवाज सुनेर तीनवटा कुकुर भुक्दै त्यतै दौडेका थिए । एकाएक हिउँचितुवाको आवाज आउन छोड्यो । मध्याह्न १२ बजेसम्म कुर्दा पनि केही संकेत नपाएपछि होटल फर्कियौं ।

दिउँसो चार बजेतिर सोही ठाउँ पुग्यौं । बाटोमा भेटिएका बाख्रा गोठालोले आधा घण्टाअघि ४–५ पटक हिउँचितुवा कराएको बताए । नभन्दै हामी पुगेको केहीबेरमै आवाज आउन थाल्यो । सबैका आँखा आवाज आइरहेको दिशातिर मोडिए । पाँच मिनेटपछि टासीले हामी उभिएको ठाउँबाट ७००–८०० मिटर उत्तर–पूर्वको चोटीमा उभिएर पोथीलाई बोलाउँदै गरेको एउटा भाले हिउँचितुवा देखे र हामीलाई पनि देखाए । जीवनमा पहिलोपटक प्राकृतिक बासस्थानमा हिउँचितुवा देखेको त्यो क्षण मेरो मनमा आएको अनुभूति यहाँ व्यक्त गर्न गाह्रो छ । निकै भाबुक भएको थिएँ म । ५–१० मिनेटपछि त्यो हिउँचितुवा चोटीको पछाडि गयो । आवाज पछ्याउँदै निकै टाढासम्म गयौं, तर त्यस दिन हिउँचितुवा फेरि देखिएन । अर्को दिन टासीले हामीलाई याकखर्कसम्म पुर्‍याए । अघिल्लो दिन हामीले हिउँचितुवा देखेको ठाउँमा एक जना स्थानीय गाउँलेले दुईवटा अरू हिउँचितुवा देखेछन् । एकदम नजिक गएर तस्बिरहरू खिच्न खोज्दा ती भागेछन् । हामीसँगै याकखर्क आइपुगेका होटलवालाबाट यो सुनेपछि टासी जंगिए, ‘वन्यजन्तुलाई माया गर्छु भन्नेहरूले उनीहरूलाई सम्मान पनि गर्नुपर्छ । त्यस्तो हैरानी भोगेपछि उनीहरू फर्केर नआउन सक्छन् ।’ साँझ आवाज पछ्याउँदै निकै नजिक पुगे पनि निस्पट्ट अँध्यारो भइसकेको थियो । त्यस दिन हिउँचितुवा देखिएन ।

तेस्रो दिन साँझ १६ः४० तिर आवाज आएपछि हामी माथितिर उक्लियौं । एक छिनपछि टासीको मोबाइलको घन्टी बज्यो ।

‘दाइ, बाघ यता छ’, अर्को टोलीले ४००–५०० मिटर तल हिउँचितुवा देखेछन् ।

उनीहरू भए ठाउँ पुगेर दुर्बिनले हिउँचितुवा खोज्न थाल्यौं । पाँच मिनेटपछि मेरा आँखाहरू लहरे धुपीको झाडी पछाडि बसेको हिउँचितुवाका आँखासँग जुधे । पूरै शरीरमा ऊर्जा सञ्चार भएजस्तो लाग्यो । एकाएक आँखा रसाए । पश्चिमतिर १२० मिटरजति पर डाँडामा बसेको त्यो हिउँचितुवालाई हामीले धीत मरुन्जेल हेर्‍र्यौं । क्यामेरा वा दुर्बिनबाट एकै छिन आँखा हटाउँदा त्यो जन्तु क्षणमै विलुप भइसक्थ्यो । फेरि भेट्टाउन आँखालाई उस्तै कसरत पर्थ्यो । हिउँचितुवाले ‘पर्वतको प्रेत’ उपनाम उसै पाएको होइन रहेछ ।

आँखैअघि एउटा वयस्क पोथी हिउँचितुवा शानसँग बसेको थियो । माथितिर भाले कराउँदै गरेको सुनिन्थ्यो । बीचबीचमा पोथीले पनि आवाज दिन्थी । तर, उसको आवाज निकै दबिएको थियो । सायद भालेलाई समागमका लागि तयार भएको संकेत गर्दै थिई । बिस्तारै माथितिर उक्लिरहेको त्यो हिउँचितुवा ४५ मिनेट जति पछि डाँडा पछाडि हरायो ।

000

होटल पुगेर केही साथीलाई आफैंले खिचेको एउटा तस्बिर पठाएँ । ‘वाह, कस्तो भाग्यमानी तिमी’, सबैको साझा प्रतिक्रिया थियो । मैले पनि सबैलाई साझा जवाफ पठाएँ, ‘यसमा भाग्यको कुनै भूमिका छैन । सही समय र अनुभवी नागरिक वैज्ञानिकको मिहिनेतको प्रतिफल हो यो । आठ वर्षसम्म पटकपटक अभागी भएको मान्छे एकाएक कसरी भाग्यमानी हुन्छ ?’

प्रकाशित : वैशाख ३१, २०७९ १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×