कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कार्टुन केवल हास्य होइन

विक्रमको ५० देखि कार्टुन–कलामा निरन्तर साधना गरिरहेका कलाका बलिया हस्ती हुन्– अविन । र, चमत्कारपूर्ण व्यंग्य–चित्र उनको खास पहिचान हो । 
प्रा रामकुमार पाँडे

काठमाडौँ — ठूलो साइजमा रंगीन सजधजका साथ प्रकाशित कार्टुन सङ्ग्रह ‘बेस्ट अफ अविन’ माथि ध्यान दिएर घोत्लिएपछि भन्न सकिन्छ– अविन श्रेष्ठको कार्टुन– ‘सिग्नेचर’ विशिष्ट छ । भन्नै पर्दैन अविनको शैली विलक्षणै छ । समसामयिक घटनामाथिका उनका चित्र असाध्यै धारिला छन् । विषय चयन, चरित्र चित्रण र ढाँचा विशेष छन् ।

कार्टुन केवल हास्य होइन

अनावश्यक चित्र र पृष्‍ठभूमिरहित उनका कार्टुन विषयबद्ध छन्, ठोस छन् । विक्रमको ५० देखि कार्टुन–कलामा निरन्तर साधना गर्दै यहाँसम्म आइपुगेका अविन कलाका बलिया हस्ती हुन् । र, चमत्कारपूर्ण व्यंग्य–चित्र उनको खास पहिचान हो ।

अविनको पहिलो कार्टुन ०५० सालमा गोरखापत्रमा छापिएको थियो । अढाई दशकभन्दा बढीको अन्तरालमा अविनले अरू धेरैले झैं ‘तारेख’ धान्ने काम मात्रै गरेनन् बरु कार्टुनलाई परिस्कृत गरे । दैनिक कार्टुन, त्यो पनि स्तरीय कार्टुन ! कार्टुनमा विविध प्रयोग गर्दै नेपाली व्यंग्य चित्रकारमा सबैभन्दा अग्ला बनेर उभिएका छन् अविन । कार्टुनमा सटीक विचारसँगै रेखा, स्ट्रोक पनि गजबसँग खिच्छन् उनी । मनोरञ्जक दृष्टिले पनि त्यो जीवन्त हुन्छ । राजनीति र समाजका गहिरा समस्यालाई मनोरञ्जक पाराले प्रभावशाली प्रस्तुतिसँगै रेखा र रङमा चोटिलो ढंगले भर्नु एक अब्बल कार्टुनिस्टमा हुने गुण हो । त्यसलै भन्न सकिन्छ, अविन अब्बल कार्टुनिस्ट हुन् ।

विकृति–विसंगति नियाल्दै जाँदा सधैं विद्रोह बोले पनि उनका व्यंग्यको भित्री मनसाय हुन्छ– समाज सुधार । र, यस्ता कार्टुनले समाजलाई संग्लो र अग्लो बनाउन मद्दत गर्छ । कार्टुनिस्ट अविनको रजत वर्षसम्मको यात्रामा नेपालमा ठूला राजनीतिक परिवर्तन भए । ‘बेस्ट अफ अविन’ पुस्तकले नेपालको एक कालखण्डको इतिहास कोरेको छ । समाजका विविध विषयलाई विभिन्न कोणले चित्रमार्फत भन्न खप्पिस लाग्छन् उनी । चित्र बेजोड छन् ।

कर्मशील कलाकार अविन कार्टुन चित्रकार मात्र होइनन्, सुझबुझ भएका सचेत कलाकार पनि हुन् । असलमा व्यंग्यकार तेस्रो नेत्रधारी हुन्छन् । र, अरूले सितिमिति नदेखेको विषय चित्रमा लेख्छन् । एउटा व्यंग्यचित्र हजार शब्द भन्न समर्थ हुन्छन् ।

पत्रकारितामा कार्टुन खुबै प्रयोग भए पनि नेपालमा यो पत्रकारिताको अभिन्न अंग थिएन । हास्यव्यंग्य समाज नेपाल (हासने) ले दुईपटक राष्ट्रिय कार्टुन सम्मेलन गर्‍यो । त्यसपछि पत्रकार र व्यंग्य चित्रकारबीच विचार–विमर्श भयो । र, कार्टुन पत्रकारिताको विशेष अंग बन्यो । २०७० देखि २०७७ सम्मका दुई कार्यकाल कार्टुनिस्ट क्लबमा अविनले अध्यक्षको पदभार सम्हाले । उनकै नेतृत्वमा इतिहास झल्काउने कार्टुन प्रदर्शनी, क्यारिकेचर कार्यशालादेखि अग्रज कदर सम्मान, पुरस्कारको व्यवस्था प्रारम्भ भयो ।

कार्टुन नबुझ्दै कार्टुनिस्ट बनेका अविन अब स्वविवेक र सचेतता साथ कार्टुन कोर्छन् । कार्टुनमा उनले सर्वसाधारणमाझ चिनिने ‘कमन म्यान’ चरित्रलाई जन्म दिएका छन् । त्यो चरित्र आमजनताको प्रतिनिधिका रूपमा ‘कान्तिपुर’ दैनिकको कार्टुन–स्तम्भ ‘गजब छ बा !’ मार्फत प्रस्तुत हुन्छ ।

किताबको प्रारम्भमै चेसको व्यंग्यचित्र छ, जसले जनआन्दोलनले सदियौंअघिको सत्ता पल्टिएको परिस्थिति प्रस्तुत गर्छ, जुन बौद्धिकस्तरको छ । ‘समय’ साप्ताहिकमा २०६३ सालमा प्रकाशित यो कार्टुन कम शब्दयुक्त, बलियो र परिस्थितिलाई सही आकलन गर्न सक्षम छ । अविनका धेरैजसो एडिटोरिएल कार्टुनमा शब्दै हुँदैनन् । चित्रमार्फत सबै बोलिएको हुन्छ । शब्द भए पनि असाध्यै थोरै शब्दमा उनी धेरै विषय भन्छन् ।

पुस्तकमा संकलित सबै कार्टुनको वर्णन यो सानो लेखमा सम्भव हुँदैन । पुस्तकमा संकलित अर्को एक कार्टुन उहिले र अहिलेको हुकुम प्रमांगीको विषयमा छ । पछिल्लो श्री ४ को हुकुम प्रमांगी सानो व्यंग्य होइन । कमन–म्यान क्यारेक्टरको प्रयोग ठाउँठाउँमा गरेका छन् । अधिकांश कार्टुनले मुख्य नेताकै चित्रण गर्छन् । तर, ती पात्रले व्यक्तिभन्दा पनि प्रवृत्ति प्रतिनिधित्व गरिरहेका हुन्छन् ।

पुस्तकमा नेपाली राजनीतिमै केन्द्रित व्यंग्यचित्रको प्रभुत्व छ । प्रत्येक कार्टुन एउटा इपिसोड नाटिकाझैं लाग्छ । यी राजनीतिक व्यंग्यचित्रमा कसैको पक्ष लिइएको छैन । पुस्तकमा उनको कोलम ‘गजब छ बा’ का श्यामश्वेत व्यंग्यचित्र पनि संकलित छन्, जुन स–साना देखिए पनि चित्रको गुणस्तर र त्यसका क्याप्सनले यसलाई छुट्टै महत्त्वका बनाएका छन् । यी साना कार्टुनले सामाजिक प्रवृत्तिमाथि व्यंग्यवाण बर्साएका छन् । यो किताबले नेपालको एक कालखण्डलाई इंगित गर्छ ।

राजनीतिमाथि जानकारी राख्ने भएकैले राजनीतिक विश्लेषणयुक्त कार्टुनले पत्रिकाका पाठकको ध्यान तान्छ । त्यसैले राजनीतिकै कार्टुन बढी बन्छन् । समाजका विकृति विसंगति सुधार्न राजनीतिक कार्टुन महत्त्वपूर्ण छ । व्यंग्यचित्रको निसानामा परेर पनि खुसी हुने व्यक्ति महान् हुन् । किनकि कार्टुन सत्य बोल्छ । विवादमा आउनु नै कार्टुनको सफलता हो । कसैमाथि ठाडो, नांगो गाली बेइज्जती गर्नु मात्रै व्यंग्यचित्र होइन । कार्टुनले हसाउँछ, तर यो केवल हास्य होइन । तैपनि व्यंग्यचित्रकै कारण बेलाबखत चित्रकारलाई धम्क्याउनेहरू छन् । खासमा निसानामा परेका व्यक्तिले आफ्ना कमजोरी देखाइदिएकोमा व्यंग्य चित्रकारलाई धन्यवाद भन्नुपर्ने हो । तर, यस्ता नेता हाम्रोमा देखिएको उदाहरण सायदै छन् ।

पुस्तक सङ्ग्रहणीय छ । कहिल्यै पुराना नहुने कलात्मक ब्यंग्यचित्र यसमा छन् । अन्तर्राष्ट्रिय मापदण्डमा खरो उत्रिने साजसज्जा र रंगीन आर्ट पेपरमा प्रकाशित यो पुस्तक बुक आर्ट नेपालले प्रकाशन गरेको हो ।

प्रकाशित : वैशाख ३१, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?