अध्यक्ष बन्न योग्य छैनन् महिला ?- कोसेली - कान्तिपुर समाचार

अध्यक्ष बन्न योग्य छैनन् महिला ?

संघीयताको मर्म पालन गर्न राजनीतिक दल तयार छैनन् । पालिका प्रमुखमा महिलाको उम्मेदवारी बढ्दो भए पनि सन्तोषजनक–सम्मानजनक छैन ।
नारायणी देवकोटा

दोरम्बा गाउँपालिकाकी निवर्तमान उपप्रमुख कृषला घिसिङले आफ्नो फेसबुकमा लेखेको पोस्टबाट यो लेखको शीर्षक सापटी लिइएको हो । उनको पोस्टलाई थोरै तोडमोड गरी शीर्षक बनाइयो । खासमा कृषलाले लेखेकी थिइन्, ‘के युवा महिला अध्यक्ष बन्न योग्य हुन्न र ?’ र, उनको प्रश्न स्थानीय तह अर्थात् गाउँपालिका वा नगरपालिका प्रमुखको विषयमा थियो ।

तर, यो लेख नगर वा गाउँपालिकाभन्दा अझै तलका वडा तहसम्मै पुगेर जोडिन्छ । त्यसअघि कृषलाको पालिका–अध्यक्ष दाबीमै फर्कौं । कृषलाजस्ता थोरै युवा राजनीतिकर्मी महिलाले यसपटक स्थानीय तह निर्वाचनमा प्रमुख पदमा दाबी प्रस्तुत गरेका थिए । सोलु दूधकुण्ड नगरपालिकाकी निवर्तमान उपप्रमुख कल्पना राईको पनि प्रमुख पदमा दाबी थियो । प्रमुखमा नउठाउने पार्टीको निर्णयपछि कल्पनाले आफ्नो राजनीतिक यात्रा अन्त्य गर्नेबारे सामाजिक सञ्जालमा लेखिन् । पार्टी नेतृत्वको गलत कदममाथि आवाज उठाउँदै आएकी एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सेना र गजुरी गाउँपालिकाकी निवर्तमान उपप्रमुख सीता ढुंगानाले पनि सफ्ट भाषामा सामाजिक सञ्जालमा आफूलाई पार्टीले अघि नसारेको तिक्तता यसरी लेखे, ‘अध्यक्षमा मेरो दाबी थियो, तर... !’ यस्ता उदाहरण धेरै हुन सक्छन्, सबै एउटै लेखमा समेट्न सकिँदैन ।

गएको पाँच वर्षमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि महिलाहरूसँग निकट भएरै काम गर्ने अवसर मिल्यो । पितृसत्ताका जराहरू हाम्रो समाजमा कसरी गाडिएर बसेका छन् भन्ने महसुस त्यसबेला भयो । नेपाली समाजमा महिला र उनीहरूका कामप्रति केही हदसम्म बढ्दो विश्वास अनि राजनीतिमा लागेका महिलाको आत्मविश्वास पनि प्रत्यक्ष अनुभव गर्न पाएँ । पहिलोचोटि निर्वाचित महिलाले स्थानीय तहमा गरेका कामले सकारात्मक सन्देश छोडेको थियो । सर्वसाधारणको विश्वास र आफ्नै बढ्दो आत्मविश्वासका जगमा धेरै महिलाले योपटक प्रमुख पदमा बढी दाबी प्रस्तुत गरेका थिए । गत निर्वाचनमा दोस्रो दर्जामा सीमित पारिएका महिला पहिलो दर्जाको पदमा आउने आशा गरिएको थियो । यो वर्ष प्रमुख पदमा परेका केही महिलाका उम्मेदवारीले केही हदसम्म उक्त आशा जगाएको छ भने वडा अध्यक्षमा महिलाको न्यून मनोनयन र स्थानीय तह हाँक्न चाहने कैयौं महिलालाई पाखा पारिएका घटनाले आशा–निराशा बराबरजस्तै बनेको छ ।

यो लेख संघीयतामा शक्ति केन्द्रीकरणको निरन्तरता, महिला–टिकट सम्बन्ध, निर्वाचनमा कसको परीक्षण, महिला नेतृत्व र विद्रोहको सवाल अनि ‘उप’ भनेको ‘चुप’ हो कि होइन भन्ने विषयमा छोटो टिप्पणी मात्रै हो ।

संघीयतामा शक्ति केन्द्रीकरण

संघीयता शक्ति विकेन्द्रीकरण सिद्धान्तमा आधारित छ । यसपटक नेतृत्वले शक्तिलाई आफूवरिपरि राख्न चाहेको देखियो । यसपटक राजनीतिक निर्णयमा महिलाको पहुँच र संख्या अझ बढ्ला भन्ने थियो । तर, पालिका प्रमुख पदमा केही संख्या बढे पनि वडा तहको अध्यक्षको सवालमा उक्त कुरा छायामा पर्‍यो । अर्को राजनीतिक समावेशीकरणको माध्यमबाट महिलाको नेतृत्व स्थापित गराउन वडा तहमा दलित महिला र स्वतन्त्र महिला पदमा काम गरिरहेकाहरूको क्षमतालाई पनि राजनीतिक दलले अर्थपूर्ण रूपमा लिएको पाइएन । धेरैले स्थानीय तह र महिला नेतृत्व सवालमा पालिका प्रमुख र उपप्रमुखलाई केन्द्रमा राखेर कुरा गरे । तर, आम रूपमा वडा नेतृत्व तहमै महिलाको कमजोर उपस्थिति देखियो ।

अब आगामी निर्वाचनसम्मै महिलाको वास्तविक नेतृत्वको सवाल उठिरहनेछ । आम मानिसका प्रश्नको जवाफ दिने ठाउँमा बसेका राजनीतिक दलका नेताहरू नै प्रश्न गरिरहेका छन्, ‘महिला भएकै कारण टिकट नदिइएको हो त ?’ त्यसको जवाफ ‘हो’ भन्ने नै हो । र, अब ‘हो’ लाई सप्रसंग व्याख्या गर्नुपर्छ, जसको जरो पैतृक सम्पत्तिमाथिको अधिकार, विभेदरहित कार्य क्षेत्र (राजनीतिलाई पनि कार्यक्षेत्रको रूपमा लिएर भन्दा), घर परिवारको सहयोग अनि समाजको स्वीकृतिसम्मै पुग्छ । महिलामाथिको सदिऔंदेखिको विभेदको अनुहार निर्वाचनमा पनि देखियो । पुरुषझैं हुलहुज्जत नगर्ने र शान्त बस्ने महिलाको स्वभावले पनि उनीहरूलाई पाखा पार्न मद्दत गर्‍यो । र, उनीहरू नेतृत्वको ‘नजर’ मा पर्न सकेनन् ।

मतदाताको परीक्षा

निर्वाचनमा उम्मेदवारको मात्रै होइन राजनीतिक दल, निर्वाचन आयोग, आम मतदाताको पनि परीक्षा हुन्छ । महिलाका सवालमा राजनीतिक दलहरू सधैँ नम्बर थप गरेर पास भइरहेका छन् । योपटक त परिवर्तनका चर्का नारा लगाइरहेका दलहरू अझै कमजोर रूपमा प्रस्तुत भए । र, गठबन्धनको नाममा दुवै पदमा पुरुषलाई नै उठाए ।

राजनीतिक दलको निर्णय आउनुभन्दा एक कदम अघि बढेर निर्वाचन आयोगले चैत २२ मा विज्ञप्ति नै जारी गरेर प्रमुख वा उपप्रमुख पदमा एक जना मात्रै महिला हुनुपर्ने जिकिर गर्‍यो । चर्को विरोधपछि अर्को विज्ञप्ति निकालेर ‘अन्यथा हुन गएको’ भन्दै खण्डन पनि निर्वाचन आयोगले नै गर्‍यो । निर्वाचन आयोगभित्रको पितृसत्तात्मक सोच बेलाबेला ‘अन्यथा’ हुँदै सार्वजानिक भइरहन्छ । अबको परीक्षाको पालो आम सर्वसाधारणको हो । नेता गणेशमान सिंहले कुनै सन्दर्भमा भनेको ‘काठमाडौंका जनता भेडा हुन्’ लाई धेरैले निर्वाचनमा आम सर्वसाधारणसँगै जोडेर चर्चा गर्छन् । गणेशमान सिंहको उक्त भनाइलाई आम मतदाताले धेरैपटक धेरै ठाउँमा गलत पुष्टि गर्दै आएका छन् । र, महिलाको नेतृत्व स्थापित गराउने सवालमा महिलावादीले नेपाली समाजलाई लगाउने आरोप पनि उस्तै छ, ‘नेपाली समाज पितृसत्तात्मक सोचको छ ।’ यही सन्दर्भमा यसपटकको निर्वाचनमा एउटा परीक्षा हुनेछ– नेपाली समाज पितृसत्तात्मक हो कि होइन ?

महिला किन विद्रोह गर्न सक्दैनन् ?

स्थानीय जनताले पत्याएका र जित्छु भन्ने विश्वास लागेका कत्ति महिलाले आफ्नो नामबारे पार्टीले निर्णय नगरेपछि आफूले ताकेभन्दा तल्लो पदमा उठ्दिन भन्दै वा पार्टी नै छोडेको घोषणा गरे पनि बागी नै उठ्ने हिम्मत भने गरेनन् । बागी नउठ्नुको पछाडि शक्ति केन्द्रलाई स्वीकार गरे पनि नगरे पनि त्यसको त्रास रहिरहन्छ भन्ने देखाउँछ । पार्टीको निर्णयविपरीत बागी उठ्दा जित्ने सम्भावना कम हुन्छ नै । साथै ठूलो पार्टी पंक्ति र निर्वाचन चिह्न पनि छुट्छ, जसका कारण आमकार्यकर्ताले आफ्नो राजनीतिक भविष्य दाउमा राखेर पार्टीको गलत निर्णयको पक्षमा विरोध गर्न सक्दैनन् । यो महिला–पुरुष सबैमा लागू हुन्छ । देश संघीयतामा गए पनि अझै राजनीतिक शक्ति केन्द्रीकृत नै छ भन्ने पुष्टि गर्छ, बागी उम्मेदवारी कम पर्नुले ।

उप भनेको चुप होइन

गत निर्वाचनमा पुरुषलाई प्रमुख र महिलालाई उपप्रमुख उठाइएको विषयमाथि महिलावादी कोणबाट निकै व्याख्या भए । त्यसबेला महिला नेतृत्वलाई दोस्रो दर्जामा सीमित गरिएको भन्दै ‘उप’ भनेको ‘चुप’ हुने पद हो भन्ने नारा बनेको थियो । संघीयतापछिको पहिलो स्थानीय तहको निर्वाचन भएको हुँदा अघिल्लो निर्वाचनमा धेरै–धेरै विषय अलमलमै थिए । भौतिक संरचना थिएनन्, कार्यविधि बन्दै थियो, यसअघिका अनुभव थिएनन् । तर, स्थानीय तहमा निर्वाचित उपप्रमुख महिलाले जुन साहस र लगनका साथ काम गरे, त्यसले स्थानीय तहको उपप्रमुख अन्य संघसंस्थाको उपप्रमुखजस्तो हस्ताक्षर गर्ने वा सहभागिता मात्रै जनाउने पद होइन भन्ने स्थापित गरेको छ, जसले अब निर्वाचित हुने उपप्रमुखलाई धेरै सहज बनाएको छ । स्थानीय तहका उपप्रमुखहरू नीतिगत जिम्मेवारीका आधारमा पनि चुप लागेर हस्ताक्षर गर्ने वा टाउको हल्लाउने ठाउँमा निर्वाचित हुँदै छैनन् ।

उनीहरूका नीतिगत जिम्मेवारीले उपप्रमुखहरू प्रमुख र कार्यकारी अधिकृतका कुराले अलमलिने छुट दिँदैन । व्यक्तिगत रूपमा पनि महिलाहरू आफ्ना अधिकारका सीमा मिचिँदा बोल्छन्, लड्छन् भन्ने अघिल्लो स्थानिय तहमा उपप्रमुख भएका महिलाले गरेका कामले पुष्टि गर्छ । संघीयताको मर्म पालन गर्न अझै राजनीतिक दल तयार छैनन् । पालिका प्रमुखमा महिलाको उम्मेदवारी बढ्दो भए पनि सन्तोषजनक र सम्मानजनक छैन । वडा अध्यक्षमा भएको कम मनोनयनले तल्लो तहमा महिलाको राजनीतिक सशक्तीकरण असाध्यै कम भएको चित्र प्रस्तुत गर्छ । र, आम सर्वसाधारणले महिलाको नेतृत्व स्विकार्छन् कि स्विकार्दैनन् भन्ने सवालको उत्तर यस निर्वाचनले दिनेछ ।

प्रकाशित : वैशाख २४, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

चुनावी सर्ट फिल्मको ‘रफ’ कथा !

सबै जना मिलेर आएपछि कुन असल, कुन खराब कसरी छुट्याउने ? त्यसैले तिमीहरुले ठीक गरिरहेका छैनौ है भन्न पनि कोही चाहिँदो रहेछ । नत्र खराब त भन्ने, तर चुनाव पनि उसैले जितिरहने हुँदो रैछ ।
यज्ञश

टाढाबाट हेर्दा टुरिस्ट बसजस्तो लाग्ने एउटा बस अनकण्टार ठाउँमा गुडिरहेको छ । बस घरी नदी किनार त घरी जंगलको बाटामा हुइँकिइरहेको छ । बसले विभिन्न ‘मार्क’ र ‘माइलस्टोन’ पार गरिरहेको छ । तिनमा कुनै मन्दिर छन्, कुनै बूढो रूख छन्, कुनै चिहानघारी छन् त कुनै बन्द भएका अस्पतालका खण्डहर ।

बस गुडेको एक घण्टाजतिमा पहिलो स्टपमा रोकिन्छ । यो स्टपको छेवैमा मुर्दा जलाउने घाट देखिन्छ । यो स्टपबाट बसमा एउटा युवा यात्रु चढ्छ ।

ऊ चढेको आधा मिनेटमा बसले फेरि रफ्तार पकड्छ । बसभित्र केही युवा र धेरैजसो वृद्धवृद्धा यात्री छन् । दुई जना युवती र तीन जना युवा छन् । वृद्ध र वृद्धा भने १०–१५ को संख्यामा छन् । उनीहरूका लुगा हेर्दा यी अलि पुरानो समयका मानिस हुन् कि जस्तो भ्रम हुन्छ । केही वृद्धहरू त धोती कछाडमै छन् । यिनलाई हेर्दा यी कुनै सुदूर गाउँबाट आधुनिक सहरतिर आइरहेजस्तो लाग्छ ।

तर, फेरि उनीहरूका कुरा सुन्दा यी अहिलेकै समयका मानिस हुन् भन्ने बोध हुन्छ । किनभने उनीहरू यो समयको चिन्ता गरिरहेका छन् । उनीहरू यही समाजबारे छलफल गरिरहेका छन् । उनीहरूको लवज पनि मोटामोटी अहिलेकै चल्तीको छ ।

एक जना वृद्धले मुख खोले, ‘आज त समयमै पुग्नुपर्छ है । नत्र, लौ बाजे तपाईं पाँचै मिनेट ढिलो आउनुभयो भनेर फर्काइदिन्छन् ।’

सिटमा उनकै लहरमा बसेकी वृद्धा थप्छिन्, ‘यति लामो यात्रा गरेर आएको पाँच मिनेटले ढिला त हुनु भएन । ल, है चालक भाइ अलि छिटो गर्नुपर्‍यो ।’

ड्राइभर उनीहरूतिर फर्किएर भन्छ, ‘छिटो त गर्नु हुन्थ्यो । बस ठूलो छ, बाटो सानो । फेरि बस यताउता भएर तल खस्यो भने हामी सीधै माथि पुग्छौं नि !’

अर्का वृद्ध हँस्यौलो पारामा भन्छन्, ‘भोभो, सीधै माथि त जानु हुन्न । पाँच वर्षपछि बल्लबल्ल यो मौका आएको छ ।’

सबैले ‘हो–हो’ भन्छन् । अनि तिनै वृद्धाले थप्छिन्, ‘त्यसो भए हामीलाई बिस्तारै छिटो लगिदेऊ न त भाइ !’ उनको कुरा सुनेर यात्रीहरू हाँस्छन् ।

बस अनकण्टारबाट बिस्तारै फाट्टफुट्ट घर भएको/मानव बस्ती भएको क्षेत्रमा प्रवेश गर्छ ।

झ्यालको सिटमा बसेकी युवती बसलाई सूचित गर्छिन्, ‘अब हामी मानव बस्ती भएको क्षेत्रमा प्रवेश गर्दै छौं ।’

सबै जना सतर्क भएझैं देखिन्छन् । एक छिन बसमा मौनता छाउँछ । सबभन्दा पछि बस चढेको युवा भने अन्य यात्रीहरूले दिएका कागजको तन्मयका साथ अध्ययन गरिरहेको छ । उसलाई हेर्दा लाग्छ, विचार र विवेचनामा यसको रुचि छ । यीमध्ये अध्ययनको धुरीण सायद यही केटो हो ।

बिस्तारै एक जना वृद्ध बोल्छन्, ‘बोल्नै नपाइने त होइन होला ! किन सबै चुप हो ?’

पछाडिको सिटबाट युवाको आवाज आउँछ, ‘त्यसो भए तिमी नै बोल न त बाजे, भोटचाहिँ कसलाई दिने विचार छ ?’

वृद्ध भन्छन्, ‘दुइटा कुरा । पहिलो त मेरो नाम बाजे होइन– श्रीमान् पाण्डे हो । र, दोस्रो कुरा यो गोप्य मतदान हो । तिमीलाई किन भन्ने ?’

बसमा फेरि एकपटक हाँसो गुन्जिन्छ ।

युवा भन्छ, ‘मैले त आदर गरेर बाजे भनेको श्रीमान् पाण्डे । तपाईंको जानकारीका लागि बताइदिऊँ, मचाहिँ सबभन्दा युवा उम्मेदवार जुन पार्टीले दिएको छ, त्यसैलाई भोट दिन्छु ।’

श्रीमान् पाण्डे सोध्छन्, ‘युवालाई मत दिन्छौ कि युवाका लागि काम गर्नेलाई ?’

उनको प्रश्नले युवा अलमलमा पर्छ ।

छेउको सिटमा बसेकी युवतीले थप्छिन्, ‘युवा भए न, युवाका लागि काम गर्छ ।’

उनको उत्तरले युवालाई राहत मिल्छ । उसले आनन्द मानेको देखिन्छ । धुरीण युवा अझै कागजताजहरू अध्ययनमै मस्त छ ।

यो सवालजवाफले उसको पनि ध्यान तान्छ । उसले टिप्पणी गर्छ, ‘यो त साह्रै फितलो तर्क भयो । त्यसरी हुने भए त नेपाल देश वृद्धहरूका लागि संसारकै सबभन्दा उत्तम देश हुनुपर्ने । सबैजसो ठूला नेता सत्तरी कटेका छन् ।’ उसको तर्कले फेरि एक पटक बसमा केहीलाई हँसायो । युवाहरू भने अलमलमा परे । कुरा त हो !

यो अलमल देखेर उसैले थप्यो, ‘बुझ्नुपर्ने कुरा के छ भने विचार, नीति र कार्यक्रमको उमेरसँग होइन, सोचसँग मतलब हुन्छ । साह्रै वृद्ध कायाको मानिसले पनि युवा विचार बोकेको हुन सक्छ । र, साह्रै युवा उमेरको केटाकेटीले पनि साह्रै पुरातन, सडेगलेको विचार बोकेर हिँडेको हुन सक्छ । अब त आफ्नो चर्मचक्षु होइन, ज्ञानचक्षु उघारेर हेर !’

अबचाहिँ यो केटाले बसको माहोललाई धीरगम्भीर र अलि भारी बनाउन थाल्यो । आधाजति यात्रुले उसका कुरामा ध्यान दिन छोडेर झ्यालबाट बाहिर हेर्न थाले । यो देखेर उसले फेरि अर्को बोझ थप्यो, ‘बुझिएन मैले भनेको ? चर्मचक्षु भनेको भौतिक आँखा, जुन तिम्रो नाकको वारिपारि छन् । ज्ञानचक्षु भनेको ज्ञानको आँखा । विचार ।’

युवतीले आफूसँगै बसेकी अर्की युवतीलाई भनिन्, ‘ज्ञानलाई भारी किन भन्दा रैछन् भन्ने यसलाई हेर्दा थाहा हुन्छ । एकै छिन सुन्दा त यस्तो छ, सधैं सँगै भयो भने कति भारी हुन्छ होला ?’ दुई जना मुख थुनेर हाँस्छन् ।

दोस्री युवती सानो स्वरमा भन्छिन्, ‘यो ज्ञानी मात्रै छैन । यसलाई आफ्नो ज्ञानको घमण्ड पनि उत्तिकै छ । त्यही भएर हामीतिर फर्केर पनि हेर्दैन । तर, यसलाई के थाहा छैन भने जसको ज्ञान अधुरो छ, त्यसले मात्रै ज्ञानको घमण्ड गर्छ ।’

बस अर्को एउटा स्टप आइपुग्छ । स्टपमा बस रोकिन्छ । एकजोडी वृद्धवृद्धा बसबाट ओर्लिन्छन् । ड्राइभरले उनीहरूतिर फर्किएर भन्छ, ‘फर्किने समय तपाईंहरूलाई थाहै छ, सधैंको समयमा यहीं आएर बस्नुहोला । फेरि ढिला भएर छुट्नुभयो भने म जिम्मेवार हुने छैन ।’

‘ल, ल थाहा छ,’ वृद्धले भन्छन् । उनीहरूलाई पूरै बसले बिदा गर्छ । ‘ल है, एकदम विचार गरेर, कसैको प्रलोभनमा नपरी आफूलाई मन परेको उम्मेदवारलाई मत दिनू । अनि टाइममै यहाँ उपस्थित हुनू,’ श्रीमान् ज्ञानचन्द्र बोल्छन् ।

वृद्धवृद्धाहरू हुन्छ भन्दै हात हल्लाएर अघि जान्छन् ।

एक युवतीले भन्छिन्, ‘अब सबै पार्टीका मान्छेले उनीहरूलाई घेरा हाल्छन् । उम्मेदवार र तिनका मान्छे टाढाटाढाको साइनो देखाउँदै आउँछन् । मतपत्र देखाउँदै आफ्नो चिह्नमा कसरी भोट हाल्ने भनेर एउटाले सिकाउँछ । अर्कोले कुर्ची ल्याएर बस्न दिन्छ । अर्काले पानी ल्याउँछ । अर्काले खाजा खानुहुन्थ्यो कि भनेर सोध्छ ।’ उनको कुराले बसमा मौनता छाउँछ ।

मौनता तोड्दै श्रीमती मनुमाया बोल्छिन्, ‘धन्न पाँच वर्षमा एक दिन भए पनि हामीलाई यिनले भाउ दिन्छन्, नानी । हामीलाई आफूभन्दा श्रेष्ठ मान्छेजस्तो व्यवहार गर्छन् ।’

यो कुरा अध्ययनशील युवालाई चित्त बुझ्दैन । युवा बोल्छ, ‘यो हामी मतदाताको भ्रम हो । उनीहरूले हाम्रो त्यो महत्त्वको पनि हरण गरिसकेका छन् ।’

अर्का वृद्धले सोध्छन्– ‘त्यो कसरी ?’

‘चुनावअघि नै दलहरू आफैंआफैं मिलेर, आफ्नो चुनाव चिह्न नै छोडेर अर्काको चिह्नमा लडेको देख्नुहुन्न ?’

‘त्यो त बाबु धेरै पार्टी नमिली सरकार बन्ने गरी बहुमतै आउन नसक्ने अवस्था छ नि, तिमीले त्यो किन नदेखेको ?’ श्रीमान् पाण्डेले प्रतिप्रश्न गर्छन् ।

‘कोको मिलेर सरकार बनाउँछन् भन्ने चुनाव भइसकेपछिको कुरा हो नि पाण्डेजी । यसको मतलब भोट हाल्नुअघि नै हामीहामी मिल्यौं अब तिमीहरूले ठप्पा मात्रै लाइदेऊ भन्दा त जनताले चुनेको भयो कि दलहरूले आफैंलाई चुनेको भयो ?’ युवाले जोसिएर भाषण ठोक्यो ।

‘यसले किन युट्युब नहेरेर पत्रिका पढिरहन्छ भनेको यस्तै अनेकवली सिक्दो रैछ,’ छेउको सिटमा बसेकी वृद्धाले भनिन् ।

‘कुरा माध्यमको होइन, आमा । कुरा त्यसबाट तपाईंले के सिक्ने भन्ने हो । मैले भनेको कुरा गलत हो भने गलत भन्नोस्,’ युवा कड्किँदै थियो फेरि अर्को स्टप आयो । यसपालि यही कड्केको युवाकै झर्ने पालो आएछ ।

ओर्लिंदाओर्लिंदै उसले बसतिर फर्किएर भन्यो, ‘मचाहिँ मतपत्रमा नो भोट पनि राख्न माग गरेर आउँछु । सबै खराब उम्मेदवार रहेछन् भने तिमीहरूमध्ये कसैलाई पनि चुन्दिनँ भन्ने पनि ठाउँ हुनुपर्छ ।’

ड्राइभरले हतार भएको संकेत गरिरहेको थियो । तैपनि, एक जना वृद्धाले मसिनो स्वरले प्रश्न गरिहालिन्, ‘त्यसो भए त भोटै नहाले भइहाल्यो नि, बाबु ! किन यत्रो दुःख गरेर आएको त ?’

प्रश्न सुनेर युवा फिस्स हाँस्यो । ‘यो कस्तो हो भने नि आमै, कसैलाई मनमनै तँ ठीक छैनस्, तँलाई म विश्वास गर्दिनँ भन्नु र उसको मुखैमा तिमी ठीक छैनौ भन्नुजस्तै हो ।’ यति भनेर केटो आफ्नो मतदान केन्द्र खोज्न हिँड्यो ।

‘कत्ति न विद्वान् हुँ भन्छ । अनि, यत्रो दुःख गरेर आइपुगेर भोट हाल्दिन भन्छ । यस्ताले किन आउनू ? बरु यसको सट्टा अर्को कोही आउँथ्यो नि भोट हाल्न !’ अघिकै युवती जंगिइन्, ‘भोलि खराब मान्छेले जित्यो भने यही तीन बित्ता उफ्रिन्छ ।’ सकल यात्रीगणले उनको कुरामा सहमति जनायो ।

श्रीमान् पाण्डे भने मौन छन् । एक छिनमा उनको वक् फुट्यो, ‘एउटालाई तिमी खराब छौ भनेर भन्नलाई अर्को खराबलाई भोट दिनु ठीक हो त ?’

यो प्रश्नको उत्तर दिनचाहिँ युवती अघि सरिन् । ‘सबै जना खराब मात्रै उम्मेदवार छन् त ? कि उम्मेदवार हुनेजति सबै खराब हुन् ?’

श्रीमान् पाण्डे अप्ठेरो मान्दै भन्छन्, ‘मैले सबै खराब भनिनँ । तर, सबै जना मिलेर आएपछि कुन असल, कुन खराब कसरी छुट्याउने ?’ फेरि उनैले थपे, ‘त्यसैले तिमीहरूले ठीक गरिरहेका छैनौ है भन्नलाई पनि कोही चाहिँदो रहेछ । नत्र खराब त भन्ने तर चुनाव पनि उसैले जितिरहने हुँदो रैछ ।’

‘सही र खराब कसरी छुट्याउने त ?’ एक जना वृद्धले मसिनो स्वरमा प्रश्न गरे । पढाकु युवा बसमा भएको भए उत्तर दिन उही अघि सर्ने थियो होला । केहीबेर बसमा मौनता छाउँछ । कोही नबोलेपछि श्रीमान् पाण्डे नै अघि सर्छन् । उनले लामो भूमिका बाँधे । लोकतन्त्र र गणतन्त्र ल्याउन दलहरूले गरेको आन्दोलन, उनीहरूको योगदान, संघीयताले कसरी देशलाई आर्थिक भार पार्‍यो भन्ने विषयमा उनी बोल्छन् ।

उनको भाषणलाई रोक्दै मनुमाया भन्छिन्, ‘राम्रो नराम्रो छुट्याउने मेरो सजिलो तरिका छ । सबभन्दा कमजोर, अशक्त र गरिबका लागि कसले के कार्यक्रम ल्याएको छ ? आफ्नो एक टुक्रा जमिन, घर नभएका मानिसका लागि के छ ? फुटपाथमा व्यापार गर्नेलाई कस्तो व्यवहार गरिएको छ ? शुद्ध पिउने पानी पाइने कतिवटा सार्वजनिक धारा छन् ? निःशुल्क प्रयोग गर्नलाई कति सफा शौचालय छन् ?’ यति कुरा हेर्‍यो भने थाहा भइहाल्छ ।

उनको कुरामा श्रीमान् पाण्डे थप्छन्, ‘कुनै नगर वा सहर कति विकसित छ भनेर थाहा पाउन त्यहाँ हरियाली र खुला पार्क कति छन् ? फुटपाथ छ कि छैन, हेर्ने हो । नेपालमा जस्तो दुई जना दुईतीरबाट आयो भने गाडीले जसरी साइड दिनुपर्ने पनि फुटपाथ हुन्छ ? सडक बढाउनलाई फुटपाथ मास्ने पनि कहीँ विकास हुन्छ ?’ उनी जंगिन्छन् ।

त्यसमै जमुना थप्छिन्, ‘बटुवालाई सफा पिउने पानी छ कि छैन ? सफा सार्वजनिक निःशुल्क शौचालय छ कि छैन ? उम्मेदवारको ध्यान यस्ता कुरामा छ कि छैन, त्यो पनि हेर्नुपर्छ ।’

उनको कुरामा पनि सबैले सहमति जनाउँछन् ।

सबैका कुरा सुनेपछि प्रश्न गर्ने वृद्ध झन् मसिनो स्वरमा बोल्छन्, ‘यो त बुझेँ कि, तर कुनचाहिँ उम्मेदवारले साँच्चिकै भनेको हो, कुनले झूट कसरी पत्ता लगाउने ?,’ यसले फेरि माहोललाई गम्भीर बनाउँछ । यो गम्भीर माहोललाई हल्का बनाउन श्रीमान् पाण्डे एउटा पुरानो जोक सुनाउँछन् । ‘तपाईंहरूलाई यो जोक साह्रै थोत्रो वा बेठीक पनि लाग्न सक्छ । तैपनि, म सुनाउँछु । एकफेर नेपालका एक जना ठूला नेताको मृत्यु भएछ । उनी ठूला नेता थिए, यसैले उनलाई यमराजको बैठक कोठामा पुर्‍याइएछ । उनले कोठाको भित्तामा विभिन्न किसिमका घडी देखेछन् । ती सबै घडीमुन्तिर एक–एक देशका नाम रहेछन् । उनले जति खोजे पनि त्यहाँ नेपालको घडी देखेनछन् । ती घडीहरूले बताएको समय र सुईको चाल फरक–फरक रहेछ । यो देखेर उनले यमराजलाई सोधेछन्– यहाँ सबै देशको घडी देखियो नेपालको रहेनछ नि !’

यमराजले भनेछन्, ‘यी घडीले समय होइन, कुन देशको नेतृत्वमा रहेका नेताहरूले कति झूट बोल्छन् भनेर देखाउने काम गर्छन् ।’

नेताले फेरि सोधेछन्, ‘तर, यहाँ नेपालको चाहिँ किन छैन त ?’

यमराजले भनेछन्, ‘त्यसले मलाई बेडरुममा पंखाको काम दिइरहेको छ ।’

यो जोकमा दुई जनाबाहेक सबै हाँसे । एक वृद्धले ढिलो गरी बुझे र भने, ‘मतलब नेपालका नेताले त्यति धेरै झूट बोल्दा रैछन् ?’

अर्की एक वृद्धालाई भने किन हाँसो लागेन भने उनले यो जोक पहिल्यै सुनेकी थिइन्, तर त्यसमा झूट होइन, घडीले भ्रष्टाचारको मात्रा देखाउँथ्यो ।

अन्त्यमा श्रीमान् पाण्डेले नै भने, ‘झूट हो होइन भन्ने पक्रिन साह्रै गाह्रो छ । यसका लागि अघिको केटाले भनेजस्तै ज्ञानचक्षु नै उघार्नुपर्छ ।’

एवंरीतले संवाद गर्दै जाँदा सबै यात्रीको मतदान केन्द्र आउँदै गयो । सबै ओर्लंदै गएर बस रित्तो भएपछि ड्राइभर चियाको खोजीमा भौंतारिन थाल्यो । चुनावले गर्दा सबै पसल बन्द थिए । यो ड्राइभरलाई चाहिँ कसैले चिया पनि सोध्नेवाला थिएन किनभने उसको मतदाता परिचयपत्र थिएन ।

...

बस फर्किने बेला भयो । हरेक मतदान केन्द्रछेउको स्टप पुगेर बसले यात्रीहरू टिप्न थाल्यो । टप्पटप्प सबै यात्री टिपिसकेपछि ड्राइभरले यात्रीहरूतिर फर्किएर भन्यो, ‘अब हामी कतै नरोकी एक्सप्रेस जान्छौं । तपाईंहरूका लागि चियाचमेनाको व्यवस्था उतै गरिएको छ । अब हामीले ढिला गरियो भने ढोका लागिसक्छ ।’

बस फेरि एकोहोरो कुँद्न थाल्यो । यात्रीहरू धम्म परेर बसेका छन् । सबैले मुख फुलाएजस्ता छन् । केही यात्री निराश, केही दुःखी र केही आक्रोशमा छन् । तर, कोही केही बोलिरहेको छैन । आउँदाखेरि उत्साहले आएका यात्रीहरूको मुहारमा अहिले भने त्यो कान्ति देखिँदैन ।

सबभन्दा युवालाई मत दिन्छु भन्ने युवाको वक् सबभन्दा पहिला फुट्यो, ‘सबका सब चोर छन् । फट्याइँको पनि हद हुन्छ नि !’

अर्को युवाले दिक्दार लागेको स्वरमा सोध्यो, ‘के भयो ?’

‘भोट हाल्नै पाइएन नि ! म पुग्नुभन्दा अघि नै मेरो नाममा अर्कैले भोट हाल्दिएछ भन्या । यति दुःख गरेर ह्वाँदेखि आइयो । यही एउटा अधिकार थियो, त्यो पनि जालीहरूले लुटे !’

उसको कुराले बसमा निस्तब्धता छाउँछ । सबै एकअर्काका मुखमा हेराहेर गर्न थाल्छन् ।

‘मैले पनि भोट दिन पाइनँ । मेरो नाममा पनि कसले हाल्दिएछ । एक घण्टाजति लाग्यो मलाई म मै हुँ भनेर प्रमाणित गर्न,’ युवती बोल्छिन् ।

‘अनि, आफूलाई प्रमाणित गरेपछि चाहिँ के भयो नि ? भोट हाल्न पायौ त ?’ श्रीमान् पाण्डे सोध्छन् ।

‘कहाँ पाउनु नि ! खालि मतदान अधिकृतले आएर हामीबाट गल्ती भयो भन्यो ।’

‘लापरबाहीको पनि हद हुन्छ,’ मनुमाया बोलिन्, ‘मेरो नाममा पनि अर्कैले भोट हालेछ ।’

उनको कुरा सुनेपछि जमुना नाम गरेकी युवतीले जुरुक्क उठेर यात्रीहरूलाई प्रश्न गर्छिन्, ‘यो बसमा भोट हाल्न पाउने कोही छ ? छ भने हात उठाउनुस् ।’

बसमा झन्डै एक मिनेटको मौन धारणा भयो । कोही बोलेन । उनले फेरि सोधिन्, ‘मतलब कसैले पनि भोट हाल्न पाएन ? तर, नढाँट्नुहोला है म औंलाको मसी पनि हेर्छु ।’

घोर आश्चर्य, बसमा एउटा पनि हात उठेन ।

‘एक जनाले पनि भोट हाल्न पाएन ? फोकटमा मलाई दुःख दिएर ?’ यस पटक चकित पर्ने चालक थियो ।

उनको प्रश्नको कसैले उत्तर दिएन ।

‘दिनभरि तीनपत्तीमा भिड्न पाएको भए कम्तीमा पनि बीस हजार मार्ने थिएँ,’ उनी एक्लै बोलिरहे, ‘कत्ति न हामी मताधिकार र केके भनेर मेरो दिमाग भुटेर !’

उनलाई जवाफ दिन कोही अघि सरेन ।

‘मान्छेको भोट नै चोर्ने ? मान्छेको परिचय र अस्तित्व नै चोर्ने ?’ श्रीमान् पाण्डे क्षुब्ध भए ।

‘त्यति मात्र हो र ? यिनले त हाम्रो मन, मस्तिष्क र विचार नै चोरे । हामी जसलाई मत दिन चाहन्थ्यौं, त्यसको सट्टै अर्कैलाई हाम्रो नामबाट भोट दिए । हाम्रो सोचकै चोरी भयो ।’

बसमा केही बेर यो गलफत्ती चलिरहन्छ ।

अन्त्यमा चालकले नै फेरि चलाखी देखाउँछन् । पछाडितिर फर्किएर उनले यो बहसलाई बिट मार्ने गरी भन्छन्, ‘अब अर्को चुनावमा हाम्रो अधिकार हो भन्दै नआउनुहोला है । म आउनेवाला छैन, अहिल्यै भन्द्‌या छु ।’

बसमा फेरि मौनता छाउँछ ।

‘हामी मरिसकेका भए पनि आफ्नो हक खोज्दै चुनावमा फर्केर आउँछौं । मरेका मान्छेको भोट लिएर जित्नेचाहिँ ज्युँदा मान्छे हुन् त ?’ अहिलेसम्म मौन रहेकी भगवतीले प्रश्न गरिन्, ‘जुन ठाउँमा जसको पकड छ, त्यहाँ त्यही बाहुबली ?

श्रीमान् पाण्डेले अन्तिम शब्द बोले, ‘हाम्रै ठाउँ मात्रै हो कि अन्त पनि यस्तै होला ? भोट हाल्न परिचयपत्र पनि नचाहिने ? भोट घट्छ भनेर मरेका मान्छेको नाम पनि नहटाउने ?’

उनले यसो भन्नासाथ अचानक बस दृश्यबाट अलप हुन्छ । केहीबेर कल्याङमल्याङजस्तो आवाज आउँछ । तर, कतै देखिँदैन ।

प्रकाशित : वैशाख २४, २०७९ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×