मिडियामा भारतको जस्तो स्थिति कुनै देशमा नआओस् : रवीश कुमार [भिडियो]- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिडियामा भारतको जस्तो स्थिति कुनै देशमा नआओस् : रवीश कुमार [भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वको ठूलो लोकतन्त्र भारतमा साहसिक र व्यावसायिक पत्रकारिताको अलगै पहिचान हुने गर्थ्यो, तर केही वर्षयता त्यो पहिचान क्रमशः धूमिल हुँदै गएको छ । एसियाको नोबेल पुरस्कार भनिने ‘रोमन म्यागसेसे अवार्ड’ बाट पुरस्कृत रवीश कुमार भारतको पत्रकारितामा देखिएका यी असंगतिलाई उजागर गर्न अग्रपंक्तिमा देखिन्छन् । एनडीटीभीका वरिष्ठ कार्यकारी सम्पादक रवीशले आफ्नो पुस्तक ‘बोलना हि है’ (सन् २०१९) मा पनि भारतीय पत्रकारितामा देखिएका तिनै विकृति र विसंगतिको कठोर चिरफार गरेका छन् ।

भारतमा पत्रकारिताको पछिल्लो अवस्था, त्यहाँको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पारिरहेको प्रभावको सेरोफेरोमा रवीशसँग कान्तिपुरका देवेन्द्र भट्टराई, सुरेशराज न्यौपानेउपेन्द्रराज पाण्डेयले गरेको संवादको सम्पादित अंश :

तपाईं त नेपालको सीमावर्ती भारतीय राज्य बिहारको चम्पारणवासी हुनुहुन्छ । तर, नेपाल पहिलो पटक यात्रामा आउनुभएको रहेछ नि ?

हो, म घुम्ने–फिर्ने मामलामा अलिक पछि छु । म धेरै ‘स्थानीय’ हुँ, यात्री होइन । यही कारणले ढिलाइ भएको हो । कहीँ कसैले बोलाइहाल्यो भने म जान्छु पनि । तर, अमेरिका, ब्रिटेन, जर्मनी पुगे पनि घुम्नका लागि भने गएको छैन । आफ्नै काममा यति व्यस्त होइन्छ कि परिवारकै साथमा पनि कतै जान पाइरहेको हुन्न । यसो भनिरहँदा मेरो गाउँ (चम्पारण) नेपालको धेरै नजिक रहेकोबारे मलाई थाहा छ । कतिसम्म भने मेरो गाउँनजिकैको चौराहालाई ‘पशुपतिनाथ चौराहा’ भन्ने गर्छन् । किनभने, त्यही बिन्दुबाट लुम्बिनी ट्राभल्स, पशुपतिनाथ ट्राभल्स नामका बस चल्ने गर्थे । अलग–अलग रूपमा नेपाल हाम्रो घरमा आउने गर्थ्यो, कहिले हिरो पेनका रूपमा त कहिले अडियो क्यासेटका रूपमा । कुनै बेला कहीँकतै नजिकै बजार छ भने काठमाडौं छ भन्ने सोचिन्थ्यो, दिल्लीका बारे सोचिन्नथ्यो । भारतमा पनि म प्रायःजसो हिन्दीभेग यूपी, बिहार मात्रै घुमिरहेको हुन्थें । अहिले हिमाल मिडिया मेलाको अवसरमा मलाई काठमाडौं बोलाइयो र म आएँ ।

आफूले सुरु गर्दा र आजको पत्रकारिताका बीच के अन्तर पाउनुहुन्छ ?

धेरै बदलिएको छ । जब मैले सुरु गरेको थिएँ, त्यो समयमा जे ‘इथिक्स’ सिकाइएको थियो अथवा, पत्रकारिताका क्रममा जे गल्ती गरिन्थ्यो, त्यसलाई औंल्याइदिने, सिकाउने अग्रजहरू हुन्थे । तर, अहिले त्यस्तो कतै छैन । त्यो आदर्श, उद्देश्य अहिले सबैजसो समाप्त भइसकेको छ । थोरबहुत कहीँकतै बचेको छ, तर त्यही सानो तलाउका रूपमा । पत्रकारिता सिक्ने, गर्ने भनेको बिस्तारै–बिस्तारै कुनै मुद्दा, विषय (बिट) वा सरोकारमा क्रमशः विज्ञ बन्दै जाने भन्ने हो, अलिक गहिराइमा जाने हो । तर, अहिले जेजस्तो पत्रकारिता भइरहेको छ, त्यसमा त मानिसहरू केवल हिन्दु–मुसलमान गरिरहेका छन् । केवल धार्मिक कट्टरताको विद्वेश फैलाउने काम भइरहेको छ । जसको आलोचना पत्रकारितामा गरिन्थ्यो, कट्टरता र ‘नफरत’ ठीक होइन भनेर जसरी पढाइन्थ्यो, त्यो अब रहेन ।

पत्रकारितामा जे सूचना हुनुपर्थ्यो, त्यो अब पाउन मुस्किल छ । केही गृहकार्य गर्नुपरेन, कुनै अध्ययन चाहिएन, आफ्नो विरोधी कित्ताको मानिसलाई केवल गालीगलौज गरिरहनु अहिलेको पत्रकारिता बनेको छ । कति पटक त केवल गाली मात्रै पत्रकारितामार्फत दिइरहेका हुन्छन् । ‘क्लासिक’ मूल्य र अर्थमा यो पत्रकारिता होइन । तर, आजको समय र समाजका दृष्टिमा भने यही नै पत्रकारिता हो, पत्रकार यस्तै हुनुपर्छ । अहिले धेरैलाई लाग्न थालेको छ कि पत्रकारिता यही हो जहाँ सवाल (प्रश्न) हुँदैन, सूचना हुँदैन । यदि प्रधानमन्त्री विदेश भ्रमणमा गइरहेका छन् भने केकस्तो सम्झौता गर्दै छन् ? विगतको भ्रमणपछिको उपलब्धि वा सुधार के भएको छ ? विदेश यात्रामा गइसकेपछि जान्नुपर्ने कुरा धेरै हुन्छन् तर आउँछन् त केवल भ्रमणका तस्बिर मात्रै । प्रधानमन्त्रीले के–कति नेतासँग भेट गरे, कतिसँग फोटो खिचाए, कतिवटा मिटिङमा सहभागी रहे, यही सब मात्रै संप्रेषण/प्रसारण भइरहेको छ । तर, तपाईं प्रेस कन्फरेन्स गरिरहनुभएको छैन । प्रश्न छैन, प्रतिप्रश्न छैन । पत्रकारिता पनि ‘वन वे ट्राफिक’ जस्तै भएको छ ।

तस्बिरहरू : केशव थापा/कान्तिपुर

जनता (अडिएन्स) पनि टीभी, पत्रिकामा यसरी जोडिएका छन् कि जे आयो, त्यसैलाई सूचना मानिरहेका छन् । म्यागेजिन, टीभी वा पत्रिकामा कार्यक्रम छ, भेटघाट छ, उद्घाटन छ तर सूचना छैन । यो नै पत्रकारितामा आएको ठूलो बदलाव हो । सूचनाविहीन समाज यसैकारण, यसैगरी बन्ने क्रममा छ । यो संकट पत्रकारिताको मात्रै होइन, सिंगो समाजकै हो । सिंगो समाजलाई लागेको छ, यहाँ पानीपुरी खाने काम भइरहेको छ । हो, करोडौं मानिसले मिडिया हेर्छन्, रमाउँछन्, जसलाई म ‘गोदी मिडिया’ भन्न रुचाउँछु ।

प्रश्न गर्ने कुरामा हामी धेरै पछि परेका छौं भन्नुभएको हो ?

हो, पत्रकार जसले प्रश्न गरिरहेको छ, उसलाई भीडले खराब मान्न सक्छ । ‘तँ प्रश्न गरिरहेको छस्, सायद तँलाई कसैले पैसा दिएको होला’ भन्न पनि सक्छ । पहिले पत्रकारलाई भनिन्थ्यो, ‘खरोसँग प्रश्न राख्नुहोस् ।’ त्यसो हुँदा विरोधाभासका कुरा बाहिर आउँथे, सूचनामा पारदर्शिता रहन्थ्यो, अहिले यो प्रक्रियाको अन्त्य भएको छ ।

प्रश्न गर्ने सवालमा विरोध र आलोचनालाई भिन्न अर्थमा कसरी बुझ्नुहुन्छ ? तपाईंमाथि सधैंको ‘मोदीविरोधी–भाजपाविरोधी’ भन्ने आरोप लाग्ने गरेको छ नि ?

हो, यो सवाल सबैभन्दा महत्त्वपूर्ण छ । तर, तपाईं समुद्र छाडेर मलाई तलाउतर्फ ठेलिरहनुभएको छ । म समुद्रको नजिक उभिएको छु, लहरहरूको बीचमा । म त्यहाँ उभिएर प्रश्न गर्न चाहन्छु त म विरोधी कसरी भएँ ? म अरू केही होइन, प्रश्न सोध्न चाहन्छु । प्रश्न सोध्नु के ठूलो काम (कुरा) हो र ? तपाईं क्रिकेट खेल्न गइरहनुभएको छ भने बल फ्याँकिएपछि ब्याट त उठाउनैपर्‍यो नि ! म त केवल ब्याट उठाइरहेको छु, म ब्याट उठाउनेलाई तपाईं कसरी कलंकित गर्न सक्नुहुन्छ ? तपाईं बल फ्याँक्न चाहने तर सामु बसेकाले ब्याट नउठाइदेओस् भन्ने हो भने के खेल ? हो, यही कुरा स्थापित गराइएको छ कि प्रश्न गर्नु गलत हो । कसैले प्रश्न गर्छ भने त्यसलाई ‘विरोधी’ मा दर्ज गरिहाल्नुपर्छ ।

मैले सोधिरहेको कुरामा के कमी छ भन्ने कसैले भन्दैन । तर, मैले सोधेको प्रश्नलाई लिएर ‘अवधारणा’ बनाइरहेका छन् । बाँकी मिडियाले सयमध्ये ९९ ले किन प्रश्न गरिरहेका छैनन् भनेर कसैले सोध्दैन । म भाजपाविरोधी होइन, भाजपा पो मेरो विरोधी हो । सन् २०१६ देखि भाजपाले कुनै प्रवक्तालाई मेरो कार्यक्रममा पठाएको छैन ।

डिजिटल मिडियाको बढ्दो प्रयोगले रिपोर्टिङमा कस्तो प्रभाव पारिरहेको छ ? ‘सिटिजन रिपोर्टिङ’ (नागरिक पत्रकारिता) को प्रयोग बढेको हो ? फेक न्युज र ह्वाट्सएप युनिभर्सिटी (तपाईंकै शब्द सापटी लिँदा) को महामारी रोक्न यस्तो रिपोर्टिङले कस्तो भूमिका र योगदान दिन सक्छ ?

यसको भूमिका सीमित छ । पत्रकारिता भनेको प्रणालीभित्रको सूचना र जानकारीमा पहुँच राख्ने पेसा हो तर, आमरूपमा त्यस्तो पहुँच छैन । त्यसलाई खोज्न सकिँदैन भने त्यो पत्रकारिता होइन । अहिले कुन जनतासमक्ष पुगिरहेका छौं ? सूचनाभन्दा पनि धारणा बोकेका जनतासम्म पुगेर के अर्थ रहन्छ ? त्यो धारणा पनि गोदी मिडियामार्फत र ह्वाट्सएप युनिभर्सिटीको माध्यमबाट बनेको छ । यस्तो अवस्थामा तपाईंले त्यस्ता जनतालाई सोध्नुहुन्छ भने त्यस्तै किसिमको सूचना प्राप्त गर्नुहुन्छ । उनीहरूलाई साँचो अर्थमा सूचित गर्नुभएकै छैन ।

हालसालै ‘आर्टिकल १४’ ले एउटा खोजमूलक रिपोर्टिङ गरेको छ । त्यसमा केन्द्रीय बैंकको काममा सरकारले हस्तक्षेप गर्न थालेको छ भन्ने उजागर गरिएको छ । मैले नेपालमा पनि राष्ट्र बैंकमा सरकारले हस्तक्षेप गरेको पढेको थिएँ । यस्ता स्वायत्त निकाय वा संस्थामाथिको सरकारी हस्तक्षेपलाई भारतका कुनै पनि ठूला मिडियाले स्थान दिने गरेका छैनन् । पहिले कुनै पनि खबरलाई मिडियाले ठूलो बनाउने सामर्थ्य राख्छ भन्ने बुझाइ थियो तर होइन रहेछ । अहिले कुनै पनि ठूला घोटालाको खबर त्यस्ता मिडियामा आउँदैन । हामी पत्रकारहरूले कुनै पनि संस्थाको स्वायत्तताको संवेदनशील खबर ठानेका हुन्छौं, त्यस्ता खबरलाई मिडियाले प्राथमिकतामै राख्न छाडेका छन् । अनि त्यस्ता वास्तविक पत्रकारिताबाट टाढा रहेका मिडियाबाट दिनरात सूचित भएका जनतासमक्ष अचानक युट्युबर बनेर जाँदैमा के फरक सूचना र जानकारी प्राप्त हुन्छ र ? उनीहरूले जेजस्तो धारणा बनाएका छन् त्यहीअनुसार बोल्ने हो । त्यसैले त्यस किसिमको नागरिक पत्रकारिताको खासै अर्थ छैन । त्यसैले म यसलाई पूर्ण पत्रकारिता नै ठान्दिनँ । नागरिक पत्रकारिताको नाममा ‘भक्स पप’ लिने मात्र काम भइरहेको छ ।

अहिले मिडियाबाहेक अन्य संस्थाहरूले पनि ह्वाट्सएप युनिभर्सिटीको काम गरिरहेका छन् । राजनीतिक दलका आईटी सेल पनि छन् । विपक्षीको कुरा नै बाहिर आउँदैन । हालैको भारत उत्तर प्रदेशको चुनावताका २ ठूला हिन्दी पत्रिकामा भाजपासम्बन्धी समाचार ‘बोल्ड’ गरेर छापिएको हुन्थ्यो । र, हरेक दिन एकै किसिमको हेडलाइनको प्रयोग भइरहेको थियो । एउटै किसिमको सन्देश प्रवाह भइरहेको थियो । के प्रधानमन्त्री र अन्य मन्त्रीहरूले हरेक दिन एउटै कुरा दोहोर्‍याउँथे र ? त्यो त होइन । किनकि त्यो त योजनाबद्ध ढंगले गरिएको थियो । ताकि खोजेको सन्देश मात्र जाओस् । त्यसैले सूचनाका लागि प्रतिस्पर्धा छैन । यस्तो अवस्थामा जनताबाट आउने सूचना कसरी सान्दर्भिक होला ? त्यसैले म नागरिक पत्रकारिताको सम्बन्धमा त्यति उत्साही छैन ।

आफ्नो करिअर नै हिन्दी पत्रकारिताबाट सुरु गर्नुभयो ? केही वर्षयता भारतमा अंग्रेजीको तुलनामा हिन्दी पत्रकारिता थप विषाक्त बन्दै गइरहेको देखिन्छ ? यस्तो अवस्थामा क्षेत्रीय भाषामा मिडियाको भविष्य कस्तो देख्नुहुन्छ ?

पत्रकारिताको अभ्यासको दृष्टिकोणबाट हेर्दा वास्तवमा अहिले अंग्रेजी र हिन्दी पत्रकारिताबीच कुनै फरक छैन । क्षेत्रीय भाषाको पत्रकारिताको अवस्था पनि त्यस्तै छ । सबै मिडियाको भाषा एउटै छ । साम्प्रदायिक र धार्मिक मुद्दा नै उचालिरहेका छन् । सबै हिन्दु मिडिया बनेका छन् । जहाँसम्म क्षेत्रीय भाषाको मिडियाको कुरा छ, ट्र्याक्टर पल्टेको वा स्थानीय महिलाहरूले पानीको समस्याको विरोधस्वरूप गाग्री फुटाएका समाचारहरूमा पनि गहिराइ छैन । खोजी छैन । सामान्य सूचना पस्कने काम मात्र भइरहेको छ । धेरै च्यानलहरू पनि आइरहेका छन् । तर, तिनीहरू पनि अन्य भाषाका मिडियाभन्दा फरक छैनन् ।

टीभी पत्रकार भएर पनि आफैं दशर्कलाई टीभी च्यानल नहेर्न सल्लाह दिनुहुन्छ । किन यस्तो नैराश्य ? पाठक/दशर्कले कसरी छुट्याउने त कुन हेर्ने, कुन नहेर्ने भनेर ?

(एकछिनको हाँसोपछि) पाठकलाई राम्ररी थाहा छ मैले कुन च्यानल हेर्न र कुन हेर्नै हुँदैन भनिरहेको छु । त्यसैगरी के पढ्ने र के हेर्ने पनि । यो भन्नैपर्ने हुन्छ । यदि तपाईं कुनै पसलमा सर्ट किन्न जानुहुन्छ । तपाईंले धेरैवटा सर्ट ‘ट्रायल’ गर्नुहुन्छ । रंग, साइज सबै हेर्नुहुन्छ । तस्बिर खिचेर साथीलाई पठाउनुहुन्छ ‘यो किनुँ कि नकिनुँ’ भनेर । न्युज च्यानललाई परीक्षण र प्रश्न नै नगरी किन हेर्ने ? त्यसैले कुनै पनि देशका नागरिकले यस्तो छनोट गर्नुपर्छ । यो समस्या भारतको मात्र होइन, विश्वव्यापी छ । अमेरिकामा पनि त्यस्तै छ । अमेरिकामा पत्रकारिताको अवस्था कस्तो छ भन्ने कुराको उदाहरण दिन्छु । एक जनाले आजै (शुक्रबार) मात्र त्यहाँको एउटा पत्रिकामा छापिएको एउटा लेख पठाएका थिए । त्यसमा जनतालाई ‘वार इकोनोमी’ बाटै सबैको भलो हुन्छ भनेर सम्झाउनुपर्छ भनेर लेखिएको रहेछ । अचम्म छ । मानव समाज यति लामो यात्रा तय गरेर यहाँ आइपुगेको छ । अनि तपाईं भन्नुहुन्छ वार इकोनोमीको विषयमा जनतालाई मनाउनुपर्छ । भन्नुको अर्थ देशहरूबीच लडाइँ चलिरहोस् भन्ने हो । त्यहाँ पनि सही सूचनाहरूको सेन्सर भइरहेको छ । त्यसैले यो द्वन्द्व विश्वभर नै चलिरहेको छ । अवस्था भयानक छ ।

जसरी नागरिक/जनता हुनुको बेग्लै स्वाभिमान छ त्यसैगरी दर्शक/पाठकले पनि टेलिभिजनसामु बस्दा स्वाभिमान देखिनुपर्छ ताकि थाहा होस् कि आफूहरूलाई गम्भीरतापूर्वक लिइएको छ कि छैन । तर, यहाँ त जनताको अपमान भइरहेको छ । हामी दिनरात मस्जिदको लाउडस्पिकरको विषयमा समाचार र बहस चलाइरहेका छौं । बलिउड कलाकार सुशान्त सिंह राजपुतको आत्महत्या घटनाबारे महिनौंसम्म फर्जी समाचार बनाइयो । बहस गरियो । त्यसको अन्तिम परिणाम के निस्कियो ? रिया चक्रवर्तीलाई लागूऔषधका विषयमा बिनाकारण मुछियो । यसमा कुनै लगानी थिएन । त्यसैले अहिले भनेको मिडियाको व्यापारको स्वर्णकाल हो । त्यसमा पनि गोदी मिडियाको । कारण कुनै समाचार दिनु छैन, खबरमा उद्घाटन, मिटिङ र भ्रमण मात्र छ । त्यसैले मैले टीभी नहेर्न सल्लाह दिएको ।

गोदी मिडियाले दर्शक र जनतालाई पनि आफैंअनुसार ढालिदिएको छ । त्यही भएर उनीहरूलाई पनि लाग्छ, यस्तै समाचार सही हो । त्यसैले हामीले बोल्नु छाड्नु हुँदैन । मलाई लाग्छ जनताले कुरालाई बुझ्छन् । किसान आन्दोलनका बेला समयमै बुझेर आफ्नै बलमा आन्दोलनलाई विस्तार गरे । आफ्नै मिडिया बनाए । पत्रिका निकाले । सभाहरू गरेर सरकारले ल्याएका कानुनका बारेमा बताए । त्यही भएर नै त्यो आन्दोलन एक वर्षसम्म चल्यो ।

बारम्बार गोदी मिडियाको प्रसंग निकाल्नुहुन्छ । तपाईंलाई लाग्दैन यही शब्दले तपाईं विरोधी कित्तामा पुग्नुभएको छ ?

तपाईं पसलमा मिठाई बेचिरहनुभएको छ र यदि मिठाई राम्रो छैन भने कसैले त भन्नुपर्‍यो नि यो पसलको खुवा ठीक छैन, बिग्रिसकेको छ भनेर । मैले देखिरहेको थिएँ जुन गतिमा मिडियाको जनशक्ति (प्रकाशकदेखि क्यामरापर्सनसम्म) एउटै सामग्री ‘राष्ट्रिय पाठ्यक्रम’ डेलिभरी गरिरहेका छन्, यो कुनै पनि देशका लागि खतरनाक हो भन्ने मेरो बुझाइ हो । हामीहरूले बुझ्न सकिरहेका छैनौं कि कुन तीव्र गतिमा पत्रकारिता पेसा ह्रासोन्मुख छ । छिट्टै नै यस्तो अवस्था आउनेछ कि खाली एउटा मात्र मान्छे पत्रकारिता गरिरहेको हुनेछ । त्यो पनि एउटा कुनामा बसेर । त्यतिबेला मिडियाको प्रभाव नै रहनेछैन । यसैले पनि देशकै लागि पनि मिडियाको अवस्थालाई लिएर प्रश्न गर्न छाड्नु हुँदैन । मलाई लागेको थियो, यो शब्दबाट मिडिया क्षेत्र रिसाउनेछ । तर, मिडियाले त उल्टो त्यसलाई घाँटीको हार पो बनायो । पछिल्लो समय गोदी मिडिया थप अगाडि बढेर ‘हिन्दु मिडिया’ मा परिणत भएको छ । हिन्दु धर्मको रक्षक दल बनेको छ । भाषालाई हेर्नु भयो भने पूरै हिन्दुत्वको भाषा छ ।

केही वर्षयता भारतमा हिन्दुत्वको एक अलग रूप देखिएको छ । हिन्दुत्वको यस रूपलाई कसरी हेर्नुहुन्छ ?

सुरुदेखि सुन्दै आएको कुरा हो कि नेपाल हिन्दु राष्ट्र हुन सक्छ भने भारत किन हुन सक्दैन । तर, अहिले नेपाल नै हिन्दु राष्ट्र छैन । किन नेपालले हिन्दु राष्ट्रबाट संविधानको बाटो रोज्यो ? धर्म जीवनको हिस्सा हो, त्यो जाँदैन । मानिसहरू धर्मसामु त गइराख्छन् । उसलाई तपाईंले निजी जीवनमा राख्नुहोस्, सार्वजनिक रूपमा उत्सव मनाउनुहोस्, त्यसमा केही छैन । धर्मलाई संविधान बनाउने विश्वका जुनसुकै देशको उदाहरण लिनुहोस्, ती उत्कृष्ट छैनन् । अब त असली खेल हिन्दु राष्ट्र र मुस्लिम राष्ट्रमा मात्र सीमित रहेन । अब राष्ट्रहरू ‘कर्पोरेसन राष्ट्र’ मा परिणत हुँदै छन् । अब तपाईंले प्रधानमन्त्री र व्यवसायीमा कुनै फरक पाउनु हुनेछैन । उनीहरू एकअर्काका परिपूरक बन्दै गइरहेका छन् । सरकारसँग पनि नागरिक सहभागिता निकै कम छ । हिन्दु राष्ट्र बनाइन्छ भनेर हल्ला चलाइएको छ । उनीहरू संविधान परिवर्तन गर्ने कुरा त सोच्दैनन् । तर संविधानलाई अलगअलग समयमा अलगअलग तरिकाले व्याख्या गर्छन्, प्रयोग गर्छन् । यदि राष्ट्रको धर्म बनाउने र धर्मका आधारमा राष्ट्रको कल्पना गर्ने हो भने त्यहाँ नागरिकलाई दोस्रो दर्जाको व्यवहार गरिन्छ ।

भाजपा सत्तामा आउन हिन्दुत्व र राष्ट्रवादको सहारा लियो भन्ने आरोप तपाईं स्वयम्ले नै लगाउँदै आउनुभएको छ । के हालैको उत्तर प्रदेश विधानसभा चुनाव र सन् २०१९ को लोकसभा चुनावमा भाजपाको जित हुनुमा यिनै मुद्दाको मात्र हात छ त ?

चुनावसँग सम्बन्धित यदि एकदेखि सयसम्म जानकारी हुन्छन् भने विज्ञ हुन् वा पत्रकार, केवल दुइटा कुरा मात्र थाहा पाउँछन् भन्ने म मान्छु । ९८ जानकारी वा सूचना थाहा हुँदैन । तपाईंले थाहा पाउनुहुन्न कि पैसाको प्रयोग कसरी भयो ? कसले कहाँ पैसा पुर्‍यायो ? कसले कसरी संस्थाहरूको दुरुपयोग गरे ? ती संस्थामार्फत विशेष तप्कासामु कसरी डरको माहोल उत्पन्न गराइयो ? कसरी एउटै पार्टीलाई मात्र धेरै चन्दा प्राप्त भयो ? कसरी कुनै एउटा पार्टीसामु पैसा नपुगोस् भनेर प्रबन्ध मिलाइयो ? एउटा पार्टी र उसका कुरालाई कसरी बहिष्कार गरियो ? केवल एक पार्टीको त्यो पनि एक लाइनको एजेन्डा दिइयो । यी सबै थाहा भएका कुरा हुन्, केही थाहा नभएका कुरा पनि छन्, त्यो कसैले थाहा पाउँदैन कि कुन कारणले कसले जितिरहेको छ ?

यस्तो लाग्छ कि सबैथोक लोकतान्त्रिक ढंगले भइरहेको छ तर यो भ्रममा हामी कोही पनि रहनु हुँदैन कि त्यो प्रक्रियाका बारेमा सबैथोक थाहा पाउँछौं । प्राज्ञिक व्यक्तिहरूले लेखिरहन्छन्, ती लेख पढेर मलाई हाँसो पनि उठ्छ । कारण आफैंले गरेको विश्लेषणबारे उनीहरूलाई नै थाहा हुँदैन । एउटा स्थानीय तहको चुनावमा ५ सय जनाको समूहलाई जात, वर्ग र धर्मका आधारमा कसरी व्यवस्थापन गरिँदै छ ? हरेक चुनावमा लगातार ‘इस्यु’ को भूमिकालाई समाप्त पारिँदै छ । त्यस किसिमको रिपोर्टिङ आउन बन्द भएको छ । कसैले गाउँमा पानी पुर्‍याएँ भनेर दाबी गर्दैगर्दा पनि पानी पुगेको छ कि छैन भनेर मिडियाले रिपोर्टिङ गर्दैनन् । तर उसको दाबीलाई पटक–पटक देखाइने गरिएको छ । पानी पुगेको कुनै दृश्य छैन, तस्बिर छैन ।

चुनावलाई पनि मुद्दाविहीन र सूचनाविहीन बनाइँदै छ । यसमा हारजितको कहानीले खासै अर्थ राख्दैन, हार्ने जनता नै हो । यस्तो लाग्छ कि यो सूचनाको युग हो, तर त्यस हिसाबले हेर्ने हो भने यो त अँध्यारो युग हो । पत्रकारसँगै पनि सूचना निकै कम छ । प्रभावका हिसाबले सामाजिक सञ्जालमा लोकप्रिय होलान् तर पत्रकारसँग पहिलेको तुलनामा कुनै राजनीतिक दल र दलभित्र हुने गरेका खिचातानीका बारेमा सूचना निकै कम छ । पत्रकारको विश्वसनियता भनेको उसँग हुने सूचना नै हो तर उनीहरूसँग अब सूचना होइन, कुनै वर्ग, संगठन वा दलसँगको आबद्धता छ ।

मिडियाले प्रतिपक्षको भावनालाई समाप्त पार्ने काम गरेको छ । कुरा प्रतिपक्षको मात्र होइन, लोकतन्त्रमा २ भन्दा बढी पक्ष हुनैपर्छ । यस्तो लोकतन्त्र स्वास्थ्यवर्द्धक मानिन्छ । विचारमा प्रतिस्पर्धा हुन्छ, टकराव हुन्छ त्यसपछि मात्र नयाँ कुरा आउँछन् । कुरा केवल राजनीतिक दलको मात्र होइन, हामीले संस्थानहरूलाई पनि जवाफदेही बनाएर राख्नुपर्ने हो । तर त्यसलाई यस्तो छूट दिइयो कि प्रतिपक्षविरुद्ध काम गरिरहेको छ । प्रतिपक्षविरुद्ध मिडियाले, जाँच एजेन्सीहरूले, कर्पोरेट हाउसहरूले काम गरिरहेका छन्, जो उसलाई अब कुनै सहयोग दिँदैनन् । यस्तोमा प्रतिपक्षले कसरी काम गर्न सक्छ ? उसले काम गर्छ, उसका पत्रकार सम्मेलन तपाईं देखाउनुहुन्न, अनि काम गरेको कसरी देखिन्छ ? अनि भन्नुहुन्छ कि विपक्षीले त कुनै काम नै गर्दैन ।

अहिले काठमाडौंमा हुनुहुन्छ, नेपालको तीनतर्फ भारतीय सीमा छ । भारतमा अहिले राजनीतिक, सामाजिक र पत्रकारिता क्षेत्रमा जुन परिवर्तन देखिएको छ, एक छिमेकी भएका कारण त्यो परिवर्तनले नेपाललाई पनि छुन सक्छ । त्यसबाट कसरी बच्न सकिन्छ ?

नेपालका पत्रकारले अहिले नै तयारी सुरु गर्नुपर्छ । किनकि मिडियाको संकट केवल एक राजनीतिक दलबाट मात्र आउँदैन । राजनीतिक दलको कुनै अन्य देशमा हस्तक्षेप नहोला तर कर्पोरेटको दोस्रो तरिकाबाट हस्तक्षेप हुन सक्छ । त्यसले तपाईंको अस्तित्व नै खतरामा पार्न सक्छ । उसले एजेन्डा पत्रकारिताका लागि थुप्रै अनलाइन र टेलिभिजन च्यानल किन्न सक्छ, जहाँ दिनभर कुनै समुदायलाई लिएर चर्काचर्की र कसैको तारिफमा बिताइन्छ । अहिलेदेखि नै यी चुनौतीलाई मध्यनजर गर्दै नेपालका मिडिया र पत्रकारले बुझ्नुपर्छ कि कसले प्रतिस्पर्धा गरिरहेका छन् ? तर आफ्नो व्यावसायिकतामाथि रहेर प्रतिस्पर्धा हुनुहुँदैन । यदि त्यो चिज भयो भने यहाँ पनि मिडिया समाप्त हुनेछ र त्यसलाई बचाउन निकै कठिन हुनेछ ।

भौगोलिक रूपले भारत ठूलो देश छ, अझै पनि मौका छ कि कुनै सञ्चार संस्थान बन्ने । तर पनि उ आफ्नै भौगोलिक क्षेत्रमा सीमित हुन सक्छ । केरलको कुनै अखबार बिहारमा लोकप्रिय हुने भन्ने त हुँदैन । भारतमा जस्तो परिस्थिति कुनै देशमा नआओस् । यदि गोदी मिडियाले ५ दिन सूचनाको पत्रकारिता गर्‍यो भने तपाईं हेर्नुहोस् कि अवस्था कति परिवर्तन हुनेछ ।

एउटा चर्चित भनाइ छ, ‘मिडिया र पत्रकारको असली रूप चुनावका बेला देखिन्छ ।’ नेपालमा अर्को साता स्थानीय तहको चुनाव हुँदै छ । चुनावका बेला स्वतन्त्र र व्यावसायिक पत्रकारिता गर्दै नेपालका मिडियाले कसरी लोकतन्त्रलाई मजबुत बनाउन सक्छन् ?

तपाईंहरू स्थानीय तहको चुनावलाई यति महत्त्व दिनुहुन्छ भन्ने थाहा पाएर म निकै खुसी छु । यो निकै राम्रो कुरा हो । हाम्रोमा सबैथोक भएर पनि नगर निगमको चुनावमा भाजपा वा कांग्रेस वा समाजवादी पार्टीका मान्छेले जिते भनेर मात्र महत्त्व दिइन्छ । तर नगर निगमको चुनावलाई त्यति महत्त्व दिइँदैन । यसमा जति धेरै केन्द्रित भइन्छ वा जति धेरै जटिल प्रश्न सोधिन्छन्, त्यति नै राम्रो हुन्छ । त्यसपछि मात्र जवाफदेहिताको परिभाषा अलग प्रकारले बन्छ । त्यो जतिसुकै नराम्रो किन नहोस्, राष्ट्रिय तहमा पुग्दासम्म त्यसको अभ्यास हुन्छ । यसलाई बचाइराख्नुहोस् । यसलाई क्षेत्रीय र राष्ट्रिय रूपमा उच्च प्राथमिकतामा राखिराख्नुहोस् । मलाई लाग्छ कि यसबाट जनता पनि मुद्दासँग कसरी सामना गर्ने भन्नेमा प्रशिक्षित हुनेछन् । यही नै पत्रकारिताको प्रजातान्त्रीकरणका लागि अति आवश्यक छ । स–साना चुनावलाई ठूलो महत्त्वका साथ कभरेज भारतमा त हुँदैन ।

चुनावी रिपोर्टिङ अलि बढी दस्ताबेज र अनुसन्धानमा आधारित हुनुपर्छ । सबै चुनावी रिपोर्टिङ भक्सपपमा आधारित हुनुपर्छ भन्ने मलाई लाग्दैन । चुनावी यात्राजस्ता कुरामा भन्दा पनि नागरिकलाई सूचित गर्ने कुरामा ध्यान दिनुपर्छ । यो स्थानीय तहमा यस्ता–यस्ता काम भए भनेर नागरिकलाई जति धेरै सूचित गरियो, नेताहरू त्यति नै जवाफदेही हुन्छन् ।

नेता अहिले वेबसाइट र पोर्टलजस्ता बनेका छन् । प्रेस कन्फरेन्स नगर्ने नेताहरूलाई म पोर्टल भन्ने गर्छु । हामी प्रजातन्त्रलाई 'दिइएको' वस्तुका रूपमा लिन्छौँ । विश्वले यसको आविष्कार गरेको हो । उनीहरूले लडाइँ लडे, कतिले बलिदानी दिए । यसलाई दबाउनका फासिवाद आयो । प्रजातन्त्र दैनिक अभ्यास गर्ने कुरा हो । दैनिक अभ्यास सधैं जमिनी तहमा हुने गर्छ ।

स्थानीय तहमा पनि नेताहरूको एउटा समूह बन्यो भने पार्टीहरू पनि राम्रा बन्छन् । यस्तो होइन कि सबै नराम्रो मात्र हुन्छ । यही हो बाटो, अर्को कुन बाटोबाट प्रजातन्त्रलाई सुदृढ गर्नुहुन्छ ? प्रजातन्त्रलाई माथिबाट समाप्त गर्न सक्नुहुन्छ तर माथिबाट सुदृढ गर्न सकिँदैन । विश्वको कुनै एउटा देश अर्को देशमा गएर त्यसको लोकतन्त्र बलियो बनाउन सक्दैन ।

प्रकाशित : वैशाख २४, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

जिन्दगी एक चुनाव

हामी जतिबेलै चुनावमा हुन्छौं । किनभने जतिखेर पनि हामी केही न केही छानिरहेका हुन्छौं, केही न केही नछानिरहेका हुन्छौं ।
घनश्याम खड्का, दीपक सापकोटा

काठमाडौँ — मुलुक स्थानीय तह निर्वाचनको संघारमा छ, जसको मत परीक्षण वैशाखान्तमा हुनेछ । त्यसपछि लगत्तै देश प्रदेश र संघको निर्वाचनमा होमिनेछ । चुनावले तरंगित हुन लागेको वर्षको पूर्वार्द्धमा हामीले चुनावको इतिहास, दर्शन र अर्थशास्त्रबारे विश्लेषणयुक्त सामग्री तयार पारेका छौं, जसमा राजनीतिशास्त्रीदेखि अर्थशास्त्रीसम्म र शिक्षाविद्‍देखि पूर्वप्रधानन्यायाधीशसम्मको विवेचना समाविष्ट छ ।

‍‍====

चुनाव भन्नेबित्तिकै अरू धेरैलाई जस्तै, तपाईंलाई पनि लाग्न सक्छ, यो केवल राजनीतिको एक हिस्सा हो । आउने शुक्रबार डेढ लाखमध्ये निर्वाचित हुने ३५ हजार २ सय २१ प्रतिनिधिका लागि यो केवल राजनीतिक हिस्सा नभई पदमा पुग्ने भर्‍याङ पनि हो । यसको दर्शनमाथि यहाँ विमर्श हुने नै छ । सुरुवातचाहिँ यत्ति भनेर गरौं, चुनाव राजनीतिको सानो हिस्सा मात्रै होइन, जीवनको बृहत् पाटो पनि हो ।

यसो भन्दा तपाईंलाई केही आश्चर्य वा अपत्यारजस्तो भावले गिजोल्न आइपुग्ने सम्भावना छ । तर, अलि गहिरो दृष्टिमा नियाल्दा चुनावले सामान्यतया दिने राजनीतिक तहको अर्थभन्दा बृहत् दृश्यलाई प्रस्टै देखाउँछ, जसबाट मनुष्यको जीवन एक क्षण पनि अलग छैन । सोझो हिसाबले भन्दा चुनाव भनेको छान्नु हो, मन परेको रोज्नु हो । यसको अर्थ के पनि हो भने केही नछान्नु पनि छान्नु हो । यस अर्थमा हामी जतिबेलै चुनावमा हुन्छौं । किनभने जतिखेर पनि हामी केही न केही चुनिरहेका हुन्छौं, केही न केही नचुनिरहेका हुन्छौं । पूर्व जाने कि पश्चिम ? रातो लगाउने कि सेतो ? नाच्ने कि ध्यान गर्ने ? पुस्तक पढ्ने कि गीत सुन्ने ? व्यापार गर्ने कि जागिर खाने ? बिहे गर्ने कि एक्लै बाँच्ने ? गाउँमा बस्ने कि सहर पस्ने ? बोल्ने कि मौन रहने ? यी र यस्ता अगणित अवस्था आउँछन् जीवनमा, जहाँ केही न केही नचुनी धर हुँदैन । यी स–साना र मसिना प्रत्येक विषयको चुनावले जीवनलाई एक विशिष्ट ढाँचा दिन्छ, एउटा फरक अवस्थामा उभ्याइदिन्छ । यसर्थ, हाम्रो जीवन अहिले जस्तो छ, त्यो हाम्रै चुनावको परिणति हो ।

यहाँसम्म आइपुग्दा प्रस्टै भयो होला, चुनावले जीवनको बृहत् परिधि ओगट्ने मात्रै होइन, निर्माण नै गर्छ । अझै गहिरिएर हेर्दा जन्म, मृत्युजस्तो नितान्त सांयोगिक विषय वा नियतिले तय गरेको ठानिने घटना पनि चुनावकै परिणति हुन आउँछ । जस्तो कि हाम्रा मनीषी भन्छन्– मनुष्य आफ्ना कर्मले नै चौरासी योनिमा भड्किन विवश छ । पूर्वीय दर्शनको एक मत छ, कर्मको बन्धनले नै मानिस जन्म–मरणको चक्रमा परिरहेको छ । यसो हो भने अहिले हामीले भोगिरहेको जीवन हाम्रै जान–अनजान चुनावको परिणति हो । यो जन्म–मरणको चक्रलाई भवसागर भन्छ, हिन्दु दर्शनले । भव भनेको हुनु हो भने सागर भनेको परिमाणको असीमित अवस्था । हरबखत केही न केही चुनिरहेका हुनाले केही न केही भइरहेका हुन्छौं हामी । बुद्धका अनुसार, काय, वाक वा चित्तले केही गर्नु नै कर्म हो भने हरेक कर्म मानिसको चुनाव हो । यो बुझेर दुःखपूर्ण परिणाम ल्याउने अवस्था पूर्ण रूपमा अन्त्य गर्नु कर्मका सारा बन्धन छिनाल्नु हो, अर्थात् मोक्ष प्राप्त गर्नु हो । बुद्धले विपश्यना अर्थात् विशेष किसिमले यस दृष्टिकोणलाई हेर्ने उपाय सुझाए मुक्तिका लागि । यसो गर्ने माध्यमलाई कृष्णमूर्तिले नाम दिए– च्वाइसलेस अवेरनेस । अर्थात्, चुनावरहित होस् । असल–खराब, आफ्नो–अर्काको, राम्रो–नराम्रो, धनी–गरिब इत्यादि कुनै पनि भाव नल्याई र त्यस अनुसार हुने विकारमा नपरी जीवन–जगत्लाई यथारूप अवलोकन गर्नु नै कर्मका सारा बन्धन छिनाउनु हो भन्ने तार्किक निष्कर्ष यति भनसिकेपछि स्वतः निस्किहाल्छ । यसरी हेर्दा, जीवनको मूल परिधि निर्माण गर्ने मूल तत्त्व नै चुनाव अर्थात् हाम्रा छनोट हो भन्ने प्रस्ट हन्छ । चुनावको यो बृहत्तर पाटोमाथि छलफल गर्दै गरौंला, अहिलेलाई लागौं यसको राजनीतिक परिधितिर ।

चुनावको अर्को नाम हो– निर्वाचन । वाचन शब्दमा ‘निर्’ उपसर्ग लागेपछि बन्छ निर्वाचन, जसको शाब्दिक अर्थ हुन्छ– नबोल्नु । नबोलीकन, संकेतबाटै आफूलाई मन परेको मानिस छान्ने काम नै हो– निर्वाचन । ‘मैले यसलाई रोजें’ भन्दा रोजाइमा नपर्ने मानिस रिसाउने वा क्षुब्ध हुने भय रहन्छ । तर, गोप्य रूपमै नबोलीकनै कसैलाई चुन्दा छनोटमा नपर्ने मानिस दुःखी वा क्रुद्ध हुन सक्ने भए पनि त्यो कुनै व्यक्तिलक्षित रहँदैन । र, परिणामलाई लिएर व्यक्तिव्यक्तिबीच वैमनष्यता वा फाटो हुन पाउँदैन । आम अर्थात् धेरै मानिसले चुप लागेर कसैलाई चुन्ने कामको नाम हो– आम निर्वाचन, जो मानव सभ्यताको पछिल्ला शताब्दीमा ज्यादा चल्तीमा आएको पद्धति हो, जसले सत्ता–शक्तिको शान्तिपूर्ण हस्तान्तरणलाई सुनिश्चित गर्छ । आज संसारका हरेक देशमा चुनाव हुन्छ । अरू त अरू, कुख्यात तानाशाह किम जोङ उनले पनि चुनावै गराउँछन्, भलै त्यसले दिने परिणाम पहिल्यै तय भएको किन नहोस् । यसरी आधुनिक विश्व राजनीतिले व्यापक रूपमा सत्ताको साँचो सुम्पेको चुनावको ऐतिहासिक पृष्ठभूमि खोतल्दा तीन हजार वर्षअघि पुग्नुपर्ने हुन्छ, जतिबेला रक्तपातपूर्ण संघर्ष मात्रै शक्तिमा पुग्ने निर्विकल्प बाटो थियो । मानवशास्त्रीय खोजले भन्छ, ७० हजार वर्षअघि सोचविचार गर्न सक्ने क्षमता आर्जन गरेको होमो सापियन्सका सन्तान हाम्रा पूर्खाले घुमन्ते सिकारी युगबाट १० हजार वर्षअघि कृषि युग सुरु गरे । त्यसको ५ हजार वर्षपछि उदय भएका राज्यहरूमा शक्ति हस्तान्तरण रक्तपातपूर्ण तरिकामार्फत हुन्थ्यो । किनभने तिनताक चुनावको ‘आविष्कारै’ भएको थिएन । राज्यहरू देखा परेको दुई हजार वर्षपछि मात्रै चुनावका स–सानो झल्को पाइन्छन् । जस्तो कि, रोमन गणराज्यमा राजाहरूले महत्त्वपूर्ण सरकारी पदका लागि स्थानीय तहमा निर्वाचन गर्ने चलन चलाए ।

हालसम्मको अभिलेखमा सहभागिताका हिसाबले सबैभन्दा ज्यादा मानिसले भाग लिएको संसारको पहिलो निर्वाचन प्राचीन ग्रीसको स्पार्टा सहरमा भएको देखिन्छ । २७ सय वर्षअघि भएको त्यस चुनावमा सरकारी अधिकारीहरू बहुमतबाट चुनिएका थिए (ब्रिस जेम्स, द होली रोमन इम्पायर, १८७७) ।

तिनताक संसारैभरि राजाहरूचाहिँ वंशक्रमअनुसार शासक बन्थे । तर, केही महत्त्वपूर्ण सरकारी पदमा चुनावजस्तो पद्धतिलाई शासकहरू अनुसरण गर्थे रोमनहरूले झैं । सोह्र शताब्दीअघि वैशालीबाट भागेर आएका र किराँतहरूलाई परास्त गरेका नेपालका लिच्छवि शासकहरूले पनि यस्तै गर्थे भन्छन् इतिहासकार महेशराज पन्त । उनीहरूमा पाञ्चाली नामको भारदारी प्रथा थियो, जसलाई प्रजाहरूले कुनै न कुनै हिसाबले चुन्ने काम गर्थे ।

‘अहिले हामीले चुनावलाई निर्वाचन भनेजस्तै त्यसबेला निर्वाचनलाई ‘वरण’ भनिन्थ्यो । र, जसलाई हामी अहिले ‘मत’ वा भोट भन्छौं, बौद्धग्रन्थमा त्यसलाई ‘छन्द’ भनिन्थ्यो,’ पन्त भन्छन्, ‘संस्कृतमा छन्द शब्दको अर्थ इच्छा पनि हुन्छ । आफ्नो इच्छा अनुसार मान्छे छान्ने हुनाले बौद्धग्रन्थमा छन्द शब्दले त्यसलाई बुझाइएको छ ।’

लिच्छविकालमा सुरु भएको पाञ्चाली मल्लकालमा पनि रह्यो । यो पद्धतिको अनुसरण पृथ्वीनारायण शाहले पनि गरेको देखिन्छ भन्छन् पन्त । शाहलाई काजी छान्नु थियो । उनको इच्छा थियो, विराज बखेतीलाई काजी बनाउने ।

‘तर, उनका दुनियाँदार, भाइभारदारले र लमजुङजस्ता छिमेकी देशले कालु पाँडेलाई काजी बनाउनुपर्छ भने,’ हाम्रा इतिहासकार पन्तको विश्लेषण छ, ‘त्यसपछि बखेतीलाई काजी बनाउने आफ्नो इच्छा मारेर उनले कालु पाँडेलाई काजी बनाए । त्यो भौतिक चुनाव त होइन, तर बहुमतको कदर गरी चुन्ने काम भने हो ।’

यसरी पूर्व–पश्चिम दुवै गोलार्द्धमा राजाहरूको तजबिजले मानिस छान्ने काम धेरै पहिलेदेखि भएको देखिए पनि आधुनिक चुनावको सुरुवातचाहिँ सत्रौं शताब्दीमा भयो, जब जर्ज वासिङ्टन सन् १७८९ मा अमेरिकाको पहिलो राष्ट्रपतिका रूपमा चुनिए ।

सुरुवाती क्षणमा चुनावमा पुरुष मात्रै भाग लिन्थे, पुरुष मात्रै चुनिन्थे । किनभने महिलालाई मताधिकारै थिएन । पुरुषमा पनि रोमन साम्राज्यमा कुलीन र विशेष आर्थिक क्षमता भएकाले मात्रै मताधिकार पाएका थिए । अमेरिकामा दासहरू र अस्ट्रेलियामा त्यहाँका आदिवासी मत हाल्नबाट वञ्चित थिए ।

बिस्तारै मताधिकार पुरुषको विषेश वर्गबाट जनसामान्यमा जान थाल्यो र महिलाहरूले पनि मत हाल्न पाउने भए । अमेरिकी केही राज्यहरूले फाट्टफुट्ट अधिकार दिएका भए पनि सन् १८९३ मा महिलाहरूलाई मत हाल्न दिने संसारको पहिलो राष्ट्र न्युजिल्यान्ड बन्यो । त्यसको २७ वर्षपछि अमेरिकामा सबै महिलाले मत हाल्न पाउने कानुन आयो । त्यसपछि बिस्तारै युरोपका अरू देशले पनि महिलालाई मताधिकार दिए । त्यो लहर दक्षिण अफ्रिकामा सन् १९९४ मा मात्रै पुग्यो (टम्रा अर, अ हिस्ट्री अफ भोटिङ राइट्स, २०१२) ।

चुनावका तीन महत्त्वपूर्ण पक्ष छन्– मताधिकार, उम्मेदवारी दिन पाउने अधिकार र मतदानको निष्पक्षता । यसको अर्को महत्त्वपूर्ण पाटो हो– समय । सत्तालाई जनताप्रति उत्तरदायी बनाउन निश्चित अवधिको अन्तरालमा चुनाव गराउनैपर्छ । समानता, विधिको शासन, समावेशिताजस्ता मानवअधिकारका यावत् सवाललाई उपभोगको तहमा लैजाने प्रस्थानविन्दु नै चुनाव हो भन्छन् मानव अधिकारवादी नेता कृष्ण पहाडी ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ लाई यस अर्थमा उनी सम्झन चाहन्छन्, जहाँ भनिएको छ– सत्ताको आधार नै जनताको इच्छा हो ।

‘उनीहरूको इच्छा नियमित अन्तरालमा हुने आवधिक चुनावबाट प्रतिविम्बित हुन्छ,’ पहाडीको विश्लेषण छ, ‘त्यसैले चुनाव निष्पक्ष र स्वतन्त्र हुनुपर्‍यो, नत्र त्यसमा जनताको इच्छा रहँदैन ।’

सत्ताको शान्तिपूर्ण हस्तान्तरण चुनावले नै तय गर्ने हुनाले पहाडी यसलाई लोकतन्त्रको मेरुदण्ड मान्छन् । दलहरूबीचको साँठगाँठदेखि डर–धाक–धम्की अनेक कारणले मतदाताको विवेकलाई बन्धक बनाउने कामलाई पहाडी असली चुनाव मान्दैनन् । राणा शासनको अन्त्यपछि नेपालमा शान्तिपूर्ण निर्वाचन हुँदै आए पनि एउटा चुनावबाट भएको गल्ती, कमजोरी अर्को चुनावमा पनि भएकोमा उनी खुसी छैनन् । भोटिङ मेसिनजस्तो प्रविधिको प्रयोग गुरेर दुई घण्टामै मत परिणाम थाहा पाउन सकिने र धाँधलीको अन्त्य पनि गर्न सकिने अवस्था हुँदाहुँदै दलहरूले यसमा अविश्वास गर्दा निर्वाचनमा जनताको इच्छा हुबहु प्रतिविम्बित हुन्छ भन्नेमा उनलाई शंकै छ ।

नेपालमा लामो समयदेखि सत्ता र शक्तिको हस्तान्तरण शान्तिपूर्ण ढंगले हुँदै आएको छ । यहाँसम्म कि अढाई सय वर्षको राजतन्त्र पनि निर्वाचित प्रतिनिधिसभाले अन्त्य गर्न पुग्यो, जो संसारको इतिहासमै विरलै हुने घटना हो । निर्वाचनविद् भोजराज पोखरेल यसको जस चुनावलाई नै दिन चाहन्छन् ।

‘नेपालको सबैभन्दा ठूलो सौन्दर्य भनेकै जस्तोसुकै कठिन परिस्थितिमा पनि चुनावको माध्यमबाट सत्ता हस्तान्तरण हुनु हो,’ भोजराज भन्छन्, ‘अन्यत्र मुलुकहरू द्वन्द्वमा गएका छन्, हाम्रोमा निर्वाचन सञ्चालन गर्ने सन्दर्भमा केही गल्ती भएका होलान्, तर सबैभन्दा ठूलो पक्ष चुनावको परिणाम सर्वस्वीकार्य छ ।’

यस्तो शान्तिपूर्ण निर्वाचन देख्दा नेपालीको रगतमै लोकतन्त्र छ भन्ने उनलाई लाग्दोरहेछ । यसलाई पुष्टि गर्न उनले २०६४ को चुनाव सम्झिए ।

‘त्यतिबेला अघिल्लो दिनसम्म चुनाव हुन्छ कि हुँदैन भन्ने थियो,’ उनले निर्वाचन आयोगको आफ्नै नेतृत्वमा भएको चुनाव सम्झिए, ‘तर, नेपाली जनतामा भएको चुनावप्रतिको आस्थाले शान्तिपूर्ण चुनाव भयो ।’

उनले भनेजस्तै, इतिहासको लामो, कष्टकर र हिंसापूर्ण बाटो हुँदै नेपाल अब आवधिक चुनाव नियमित रूपले गर्ने विन्दुमा अघि बढ्दै छजस्तो देखिन्छ । किनभने ठीक पाँच वर्षपछि आउने साता स्थानीय चुनाव हुँदै छ भने अर्को छ महिनापछि संघ र प्रदेशको ।

मानवशास्त्री सुरेश ढकाल यसलाई शुभसंकेत मान्छन् । नागरिकले निश्चित अवधिका लागि आफ्ना शासक र सेवक प्रतिनिधिको छनोट गर्ने हुनाले आवधिक चुनाव लोकतान्त्रिक प्रणालीको मुख्य विषेशता मान्नुपरेको उनको तर्क छ ।

समाज सुधारका यावत पाटाहरू चुनावकै बेला मुखरित हुने हुनाले यो एक सुधारको अवसर पनि ठान्छन् हाम्रा मानवशास्त्री ।

‘चुनाव यस्तो अवसर पनि हो, जतिबेला राजनीतिक दलहरूले सीमान्तकृत व्यक्ति, समुदायका मुद्दाहरू सबैभन्दा बढी मुखरित गर्छन्,’ भन्छन्, ‘तर विडम्बना, चुनावपछि उनीहरू सीमान्तकृतप्रतिका सबै वाचा भुल्न पुग्छन् ।’

यस दृष्टिबाट हेर्दा चुनाव सत्ता र व्यवस्थाप्रति सीमान्तकृतहरूको चुलिँदै गएको असन्तुष्टिलाई अभिव्यक्त गर्ने ठाउँ पनि हो । मानवशास्त्रीय चस्माले हेर्दा उनी चुनावले समाजको चेतनालाई बदलेको होइन, बरु त्यसलाई उजागर गरेको देख्न पुग्दारहेछन् ।

‘जसले समाजको बदलिँदो चेतना र आवश्यकतालाई प्रतिनिधित्व गर्न सक्छ भनी ठानिन्छ, उसैलाई चुनावमा चुन्नुपर्ने हुन्छ,’ उनको ठम्याइ छ, ‘यद्यपि केही संरचनागत कारणले सधैं त्यस्तो नहुन पनि सक्छ ।’

दलहरू वाचा मात्रै गर्ने, सत्तामा पुग्नका लागि अनेक तिकडम गर्न पछि नपर्ने, विधिको शासनलाई नमान्ने, तर चुनावमा वाचा भने गरेर नथाक्ने प्रवृत्तिदेखि लेखक/कवि कुमार नगरकोटी वाक्क भएका रहेछन्, जसरी अरू धेरै भएका छन् । तर, अरू सामान्यजन वाक्क भए गालीगलौज र निराशा निस्कन्छ, कुमारजस्ता कवि वाक्क भएचाहिँ यस्ता पंक्ति रचिन्छन्, जस्तो कि–

तिमी

एउटा दलमा ।

अर्को दलमा ।

हामी

सब दल/दलमा ।

हामी फगत

दलहरूका दलदलमा ।

चुनावलाई मात्रै भर्‍याङ बनाएर, पारिवारिक सत्ता स्थापना गरेपछि धराशायी भएको श्रीलंकाको अवस्था हालै नियालेर आएका अर्थशास्त्री स्वर्णिम वाग्ले नेपालको अर्थतन्त्र पनि कतै त्यस्तै पो होला कि भन्ने चिन्ताले सोचमग्न छन् । बजेटको ठूलो हिस्सा खर्च गर्ने स्थानीय सरकारको चुनावलाई त्यसैले उनी चाखपूर्वक हेर्दै छन्, अर्थतन्त्रका दृष्टिले ।

‘अब माथिल्लो तहले ठूला पूर्वाधार र नीतिगत समन्वयका कुराहरू गर्ने र स्थानीय तहलाई थप सशक्त बनाउनुपर्ने भएको छ,’ उनी भन्छन्, ‘पहिलो कार्यकालमा स्थानीय तहहरूको आलोचना भयो । उनीहरूले भवन बनाउन र गाडी किन्न गरेका खर्चहरूलाई एक पटकका लागि गरिएको खर्चका रूपमा लिऔं ।’

अब जित्नेहरूले गाडी नकिनून्, सेवा प्रवाहमा लगानी गरून् भन्ने उनी चाहन्छन् । अतिरञ्जना र लोकरिझ्याइँ होइन, वास्तविक बजेट, संरचनागत सुधार र अरू धेरै यस्ता नीतिगत परिवर्तन नयाँ पुस्ताले खोजेको जानकारी उनलाई छ । तर के हाम्रा नेता, उम्मेदवार र निर्वाचितहरू यसबारे जानकार छन् ? विश्लेषक विष्णु सापकोटालाई लाग्छ, दलहरू यसबारे जानकार छैनन् ।

‘नेपालको सन्दर्भमा चुनावले आफ्नो आत्मा गुमाउँदै गएको देखिन्छ,’ विष्णुको सुर्ताको कारण छ, ‘अहिलेको हाम्रो मुख्य प्रश्न हो– कतै चुनाव तिनै असक्षम, भ्रष्ट र अनैतिक पात्रहरूलाई वैधानिक रूपमा पटक–पटक सत्तामा फर्कने एक यान्त्रिक प्रक्रियामा खुम्चिँदै गएको त छैन ?’

जनताको करबाट, जनताकै लागि राष्ट्र बनेको भए पनि, सबैले सबैलाई शासन गर्न सम्भव हुँदैन । त्यसैले जनताका सुविधा सहजीकरण गर्न आफैंले मान्छे चुनौं न त भनेर निर्वाचन गर्न थालिएको हो भन्छन् उनी । ‘तर राजनीतिक दल जसरी संगठित भएका छन्, राज्य सत्तामाथि जसरी पकड बनाइराखेका छन्, त्यसले जनताको चुन्ने हकलाई कुण्ठित गरेको छ,’ उनको विश्लेषण छ, ‘चुनावलाई यान्त्रिक र प्राविधिक बनाइएको छ ।’

लोकतन्त्रको फोक्सो चुनाव हो भने सास हो– विधिको शासन । किनभने, विधि अनुसार नै सबै चले मात्रै यसको गरिमा रहन्छ । नत्र, अनेक प्राविधिक चाल चलेर जो–कोही सत्तामा पुग्न सक्छ र जनताको सपना कुल्चिदिन सक्छ । यसो हुन नदिन विधिको शासनप्रति मतदाता जानकार हुनैपर्ने ठान्छिन् पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ।

विधिको शासन हरेक क्षेत्रमा आवश्यक छ र सबै संस्थाहरू विधिको शासनअनुसारै चल्नुपर्छ भन्ने उनको मान्यता नेताहरूको चरित्रमा देखिएको छैन ।

‘नेताहरू जो छन्, ती अधिकांश भ्रष्ट छन् । जसलाई छानिन्छ, उसैले भ्रष्टाचार गर्छ भने उसलाई भोट किन दिने भन्ने प्रश्न उठ्छ,’ उनी भन्छिन्, ‘गत निर्वाचन नेतृत्वमा जो आए, अधिकांशले विधिको शासन पालन गरेनन् ।’

यस्तो भएपछि निर्वाचनले सार्थकता पाउँदैन भन्ने उनको निचोड छ ।

‘सीमान्तकृहरू सधैं मरेकै छन् । दलहरू भोट किन्छन् र उनीहरूमाथि घोडा चढ्छन् अनि शासन गर्छन्,’ उनको विश्लेषण छ, ‘जनतामा पनि असल प्रतिनिधि चुन्ने चेतना विकास आजसम्म भएको देखिँदैन । चुनाव कमाउने भाँडो बन्यो ।’

भुइँ मान्छेले चुनाव लड्नै नसक्ने गरी महँगिनुले जनताको अधिकार नै एक हिसाबले वञ्चनामा परेको उनको ठम्याइ छ ।

‘सबैभन्दा खराब दृश्य के देखियो भने जनतासँग भोट किन्ने र जनताले पाउने सहुलियत र सुविधाको शोषण गर्ने पद्धति बस्यो,’ सुशीला भन्छिन्, ‘संसारमै यस्तो निर्लज्ज चरित्रको लोकतन्त्र विरलै होला ।’

निर्वाचनकै भर्‍याङ चढेर अकुत सम्पत्ति कमाउनेहरू बढेका छन् । अकुत कमाउनेहरू फेरि दललाई गुलियो चटाएर निर्वाचनकै भर्‍याङ चढेर सत्तामा पुगेका छन् । यसरी शक्ति र पैसाको दुश्चक्रमा विधिको शासन मरणासन्न अवस्थामा पुगेको छ । र पनि लोकतन्त्रमा निर्वाचनको विकल्प छैन भन्छन् राजनीतिशास्त्री कृष्ण खनाल ।

‘जेजस्तो भए पनि चुनावको विकल्प छैन’ उनको तर्क छ, ‘चुनाव छैन भने लोकतन्त्र छ भनेर भन्नै पाइन्न ।’

लिंकनले जनताले, जनताका लागि जनताद्वारा चलाइने शासनलाई लोकतन्त्र भनेका थिए । हाम्रा राजनीतिशास्त्री त्यही भाखामा चुनावलाई नागरिकले, नागरिकका लागि नागरिकद्वारा नै गरिने एक अभ्यास मान्छन् ।

आफूमध्येका केही मानिसलाई ‘लौ हामीमाथि शासन गर’ भनेर जनताले चुनावमार्फत सम्मति दिन्छन् । भनेजस्तो गरे अर्को पटक पनि उसलाई चुन्न सकिन्छ, नगरे केही अवधिपछि अर्को चुन्ने मौका आउँछ । यसलाई उनी ‘पोलिसी च्वाइस’ भन्न रुचाउँछन् ।

‘तर, दुःखको कुरा के भने पोलिसी च्वाइसमा चाहिँ नेपालको चुनाव प्रवेश गरेकै छैन,’ उनी भन्छन्, ‘त्यसैले त नेपालको राजनीतिक परिर्वतनमा केही पनि नयाँ नीति आउन सकेन ।’

हुन पनि हो, जुनसुकै नेता र जुनसुकै दल उही स्तरमा भ्रष्ट देखिन्छन् । यो के नयाँपन नआएकै संकेत हो त ? त्यसै हुनाले जुनसुकै दलबीच पनि सत्ता र चुनावको समीकरण हुन सकेको हो त ? शिक्षाविद् केदारभक्त माथेमाको विश्लेषणले भन्छ– हो ।

‘चुनाव धेरै महँगो भयो, नेताको कृपा नपुगी टिकट नै नपाइने स्थिति बन्यो,’ भन्छन्, ‘चुनावकै बखतमा हो धन पनि सेतो भएर आउने ।’

यसरी पैसा हुनेका लागि मात्रै चुनावले उम्मेदवार बन्न अवसर दिने अवस्था आउनु र पैसाकै लागि दलहरू मरिमेटेर लाग्नुले आदर्श र निष्ठाको राजनीति हराउन पुग्यो । यसरी कुनै आदर्श र निष्ठा नभएकाहरूबीच जस्तो अवस्थामा पनि समीकरण बन्न र भत्किन सक्ने नै भयो ।

यति हुँदाहुँदै पनि माथेमाले देखेको राम्रो पक्ष के भने विकसित देशभन्दा नेपालमा चुनावप्रति आस्था छ । यही आस्थाकै कारण घृणायोग्य बेवास्ताका बावजुद पनि सीमान्त मान्छे मत खसाल्न लाममा आइपुग्छन् । तिनैको मत पाएर सरकारमा पुगेपछि नेताचाहिँ हराउँछन् । यो लुकाछिपीलाई बन्द गर्नुपर्ने आवश्यकता छ ।

‘कुनामा पारिएकाहरू बोलक्कड हुँदैनन् किनभने बोल्न सक्ने भए कुनामै पारिन्नथे,’ माथेमाको विश्लेषण छ,

‘त्यसैले सुकिलाले उनीहरूमाथि सजिलै शासन गर्छन् ।’

गान्धी र अम्बेडकरजस्ता अन्तःदृष्टि भएका नेता नभएसम्म सीमान्तकृतहरू निर्वाचितबाट सम्बोधित हुन मुस्किल देख्छन् उनी ।

माथेमाको यो तर्कसँग राजनीतिका प्राध्यापक लोकराज बरालको सोह्रै आना सहमति छ ।

‘लोकतन्त्रले सबै बराबर हुन् त भन्छ । तर, दलित, गरिब र सीमान्तकृतलाई नेताहरू देख्दैनन्,’ उनी भन्छन्, ‘यस वर्गका मानिसले पनि नेतालाई कुनै दबाब दिन सकेका छैनन् ।’

त्यसैले तिनका लागि चुनाव खासै सरोकार नराख्ने राज्यको प्राविधिक परम्पराजस्तो भएको छ, जसमा उनीहरू भाग त लिन्छन्, तर त्यसको परिणामको ताकेता गर्दैनन् । त्यसैको एक उदाहरण हुन्– कमला नेपाली । काभ्रे खानीखोलाकी उनले ६८ वर्षको उमेरसम्म आइपुग्दा ५ पटक मतदानमा सहभागिता जनाइसकेकी छन् ।

‘पहिला नचिन्ने मान्छेलाई हालियो, अहिले चिनेका गाउँले नै नेता भएका छन्, जो भोट माग्न आउँछन्’ उनी भन्छिन्, ‘भोट हालेर जिताएर त पठाउँछौं, तर जितिसकेपछि हामीलाई उनीहरू फर्केर पनि हेर्दैनन् ।’

सधैँको यो उपेक्षाले यसपालि कमलालाई अलि बढी नै दुःखाएको छ । भन्छिन्, ‘यो पालि भोट कसैलाई पनि नहालौंजस्तो भइरहेको छ ।’

तर, सबै कमलाजति निराश पनि छैनन् । जस्तो कि, खानीखोलाकै मनहरि बजगाईंलाई नै लिनुस् । चुनावको रौनक बढ्दै जाँदा ७९ वर्षका उनका धमिला आँखाले पनि रमाइलो चहलपहल देख्न थालेका छन् ।

‘पहिला मुखिया चुनियो, त्यसपछि पञ्चायतमा प्रधानपञ्च चुनियो, बहुदल आएपछि विभिन्न नेतालाई भोट हालियो,’ उनी भन्छन्, ‘अब पनि मन पर्ने नेतालाई, काम गर्नेलाई हेरेर भोट हाल्छु ।’

केही पाए पनि, नपाए पनि खुरुखुरु मत हाल्न जान उनी उत्साहित हुनुको एउटा खास कारण छ– यसपालि, गाउँमा पुगेको बाटो । अघिल्लो स्थानीय निर्वाचनमा उनले जिताएर पठाएका जनप्रतिनिधिले गाउँमा बाटो खनिदिए, त्यो बाटो हुँदै उनको अनकण्टार गाउँमा मोटर आइपुग्यो । मर्ने बेलामा मिलेको यही एक सानो खुसी साट्न उनी यसपाला पनि कसैलाई निर्वाचन अर्थात् नबोलेरै रोज्ने काममा सम्मिलित हुनेछन् ।

यति विमर्श भइसकेपछि अब भनिरहनै पर्दैन– मत हाल्नु मात्रै चुनाव होइन, नहाल्नु पनि चुनाव हो । नेता खराब भए भनेर दुःखी हुनु पनि चुनाव हो, दुःखी हुने चुनाव । नेता खराब भए यिनलाई बदलेर असल ल्याउँछु भनी उत्साहित हुनु पनि चुनाव हो, केही गर्न खोज्ने चुनाव । चुन्नैपर्ने भएपछि दुःख किन चुन्ने ? चुन्नैपर्ने भएपछि असल किन नचुन्ने ?

(शनिबार प्रकाशित हुने 'कोसेली'बाट)

प्रकाशित : वैशाख २३, २०७९ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×