२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘एक्लो’ काठमाडौंको प्राचीन कथा

बलियो घर, बलियो बाटो र बलियो ढल बन्दैमा काठमाडौं बलियो भयो भन्न मिल्दैन । काठमाडौंको बलियोपन यसको अविच्छिन्न नगर सभ्यता र अटुट इतिहासको शृङ्खलामा निहित छ ।
सुरेश किरण

स्थानीय चुनाव आँगनमै आइपुगिसक्यो । काठमाडौंको आकाश उति खुलिसकेको छैन, चुनावका उम्मेदवारहरूचाहिँ खुलिसकेका छन् । उम्मेदवारले आफ्ना एजेन्डा पनि करिब–करिब पूरै शो गरिसकेका छन् । एजेन्डामा लेखिएका बुँदा पुरानै छन्– धूवाँ, धूलो, फोहोर, सडक, पेटी आदि–आदि । तर, काठमाडौं आफ्नो मुटुमा यति मात्रै विकृति बोकेर बाँचिरहेको छैन । धूवाँ, धूलो र फोहोरबाट मुक्त हुनेबित्तिकै काठमाडौं बाँच्छ भनेर कसैले सोच्छ उसलाई भन्नुपर्छ– तिमीले आजसम्म न काठमाडौंलाई बुझेका छौ, न काठमाडौंको रोग चिनेका छौ । काठमाडौंको विरासत थाम्नु आकाश थाम्नुजस्तो होइन ।

‘एक्लो’ काठमाडौंको प्राचीन कथा

सबैजसो इतिहासकारले स्विकारेकै विषय हो– काठमाडौं ३ हजारदेखि ३५ सय वर्षदेखि अस्तित्वमा छ । नेपालको वर्तमान सरहदभित्र यति पुरानो सहर अर्को छैन । नेपालको हालको सीमा क्षेत्रभित्र नगर सभ्यतासहित अस्तित्वमा रहेको काठमाडौं उपत्यका नै एक मात्र सहर हो । काठमाडौं सबैभन्दा पुरानो मात्र होइन, प्राचीन नगर सभ्यता बोकेको ‘एक्लो’ सहर पनि हो । काठमाडौंको सहरी सभ्यता ऐतिहासिक होइन, प्राग्ऐतिहासिक छ । इसापूर्व छैटौं शताब्दीदेखि नै यो सहरमाथि लेखिएको छ । इतिहासका विभिन्न कालखण्डमा काठमाडौंले आफ्नो नाम बदल्दै आए पनि यसले मौलिक चरित्र भने बदलेको छैन । उबेलाको काठमाडौंको नाम नै नेपाल थियो । उतिबेलाको ‘नेपाल’ हालको काठमाडौं खाल्डो मात्रै थियो वा त्योभन्दा बाहिर पूर्व–पश्चिमको भूभाग पनि थियो भन्ने विषयमा गहिरो विवाद छ । विवाद नभएको यति मात्रै हो– काठमाडौं खाल्डोचाहिँ नेपालभित्रै पर्छ । अरू भूभाग पर्छ कि पर्दैन थाहा भएको छैन । लिच्छविकालमा नेपाल भ्रमण गर्ने विदेशी विद्वान्हरूले पनि काठमाडौं खाल्डोमा पाइला टेकेपछि मात्रै आफू नेपाल पुगेको भनी लेखेका छन् ।

नेपाल राज्यको वर्तमान भूभागभित्र नेपालमण्डलबाहेकका अन्य क्षेत्रमा लिच्छविकालमा पनि भूमि थियो, मानव बसोबास थियो, तर नगर थिएन । केही नगर नभएका होइनन् । तर, ती नगरहरू विभिन्न कालखण्डमा विभिन्न कारणले अस्तित्व नै लोप हुने गरी हराए । नहराएको काठमाडौं उपत्यका मात्रै हो । जस्तो शाक्यमुनि गौतम बुद्धका पालामा भारतवर्षमा विभिन्न नगर थिए । त्यसमध्ये हाल नेपालको सरहदभित्र पर्न आएको कपिलवस्तु पनि एक हो । कपिलवस्तु पूर्ण रूपले नगर सभ्यतासमेत भएको सहर थियो । पुरातात्त्विक अन्वेषणले यो पुष्टि गरेको छ । तर, बुद्धको समयपछि कपिलवस्तु पतन भएको देखिन्छ । इपू २४९ मा भारतका मौर्य सम्राट् अशोक लुम्बिनी आउँदा कपिलवस्तु अस्तित्वबाट गायब भइसकेको थियो । कौशल देशका राजा विरुद्धकले इपू ५०० तिर गरेको भीषण आक्रमणबाट कपिलवस्तु ध्वस्त भइसकेको थियो भने त्यहाँ बसोबास गर्ने शाक्यहरू भागेर अन्तै पुगिसकेका थिए । त्यसैको एउटा समूह काठमाडौं खाल्डोमा आएर यहीँ बसोबास गरेको इतिहास छ ।

त्यस्तै वर्तमान नेपालको सरहदभित्र अस्तित्वमा रहेको अर्को नगर तिरहुत थियो । यसलाई सिम्रौनगढ पनि भनिन्छ । हालको बारा जिल्लामा पर्ने यो नगर नेपाल र भारतको विभिन्न भूमिमा फैलिएको थियो । इस्वीको दसौं शताब्दीमा भारतको कर्णाटकबाट युद्ध जित्दै बंगालसम्म आइपुगेका सेनापति नान्यदेवले यो नगर बसाएको देखिन्छ । यो तत्कालीन मिथिला प्रदेशकै राजधानी थियो । मिथिला प्रदेशको विदेह सभ्यता वैदिककालमा अत्यन्त चर्चित थियो । नान्यदेवकै वंशका सातौं पुस्ताका राजा हरिसिंह देवको शासनकालमा दिल्लीका मुस्लिम राजा गयासुद्दिन तुगलकको आक्रमणमा परी सन् १३२४ मा सिम्रौनगढ नगर पनि ध्वस्त भयो । आक्रमण थेग्न नसकी भागेर आएका तिनै राजा हरिसिंह देवकी श्रीमती देवलदेवीले नेपालमा शरण लिएको र त्यसपछि नेपालको इतिहासमा नयाँ अध्याय सुरु भएको मानिन्छ । नेपालको बारा, पर्सा जिल्लाका केही ग्रामीण भूमिमा गरिएको सामान्य उत्खनन्मा नगर सभ्यताका केही अवशेष पाइएको थियो ।

त्यसैगरी नेपालको इतिहासमा ठूलै राज्य सञ्चालन भएको एउटा भूभाग कर्णाली प्रदेशको खस राज्य पनि थियो । विक्रमको बाह्रौं शताब्दीमा नागराजले कर्णालीको भूमिमा खस राज्य स्थापना गरेको इतिहास छ, जसको राजधानी दुल्लु र सिञ्जा थियो । तर, विसं १४५० तिर खस राज्य पनि फुटेर बाइसे–चौबिसे राज्यमा विभाजन हुन गयो । यी बाइसे–चौबिसे राज्यहरू पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले ‘नेपाल एकीकरण’ मा नपारेसम्म स्वतन्त्र राज्य थिए (डा. राजाराम सुवेदी, कर्णाली प्रदेशको मध्यकालीन इतिहास) ।

तर, कर्णाली प्रदेशमा खस राज्य भए पनि त्यहाँ कुनै नगर भने थिएनन् । लेखक मोहनबहादुर मल्लका अनुसार, तत्कालीन रजौटाहरूको खरका टहराहरूको बस्ती हुन्थ्यो । र, जता शत्रुको भय हुन्थ्यो उतै बलियो पार्नुपर्ने हुन्थ्यो । त्यसैले बाइसे–चौबिसे राज्यमा सहर बस्न सकेन (कर्णाली प्रदेशका पाल, प्राचीन नेपाल) ।

पृथ्वीनारायण शाहले ठूलो मुलुकको महाराज बन्ने सपनाका साथ विभिन्न ठाउँमा आक्रमण गरिरहेका बेला यहाँ विभिन्न जातिका छुट्टाछुट्टै राज्यहरू अस्तित्वमा थिए । ती विभिन्न जातिका पनि छुट्टै राज्य, छुट्टै भूमि र छुट्टै सरकार थिए, तर त्यहाँ नगर थिएन । केही ठाउँमा मानव बस्ती भए पनि त्यो नगरको स्तरमा थिएन ।

लिच्छविकालीन अभिलेखहरूमा पनि केही स्थानको नाम उल्लेख छन् । तर, ती नामहरू सहरका हुन् कि गाउँका, त्यो थाहा हुन सकेको छैन । त्यति मात्रै होइन ती स्थान अहिले कहाँ छन् त्यो पत्तो लगाउन समेत इतिहासकारहरूलाई हम्मे परेको छ । जस्तो इतिहासकार ज्ञानमणि नेपालले वनियम्प्यविषय, मग्वरविषय, धवलस्रोतपुर, गण्डीगुल्मविषय, जिग्लोद्गमविषय आदि केही नामहरू दिएका छन्, जो नेपाल खाल्डोभित्रका बस्ती हुन् वा बाहिरका भन्ने थाहा हुन सकेको छैन । मानदेवले चाँगुको अभिलेखमा उल्लेख गरेको ‘मल्लपुरी’ पनि कता हो, अहिलेसम्म पत्तो छैन ।

कुनै पनि नगरको पतन हुनुका विभिन्न कारण हुन्छन् । जस्तो बाह्य आक्रमण, प्राकृतिक प्रकोप, आगलागी, महामारी इत्यादि । काठमाडौंले यी जम्मै प्रकोप इतिहासभरि नै झेल्यो । कर्णालीका खस राजा जितारी मल्लले काठमाडौंमा विसं १३४४ मा पहिलो पटक आक्रमण गरेका थिए । उनी र त्यसपछिका खस राजाहरूले काठमाडौंमा सात पटक आक्रमण गरेको इतिहास छ । एक पटक त ललितपुर सहर नै आगो लगाएर जलाइएको थियो । उता दक्षिणको सिम्रौनगढले पनि विसं १३५७ मा नेपालमण्डलमा पहिलो आक्रमण गरेको थियो । त्यसपछि पनि अनेक पटक आक्रमण गरी तत्कालीन नेपालमण्डल राज्यलाई ध्वस्तै पार्ने प्रयास भएको थियो । विसं १५६० ताका पाल्पाका पराक्रमी राजा मुकुन्दसेनले पनि यहाँ भयंकर आक्रमण गरेका थिए । त्यति मात्रै होइन, बंगालका सुल्तान समसुद्दिनले पनि सन् १३४९ मा यहाँ गरेको आक्रमण कम डरलाग्दो थिएन । उनले यहाँको पशुपति, स्वयम्भूलगायत बस्तीबस्तीमै लगाएको आगो महिनौं जलिरहेको थियो । उनले ध्वस्त पारेका सम्पदा पुनर्निर्माण गर्नै दशकौं लाग्यो ।

भूकम्प त काठमाडौंको नियमित पर्वर् ैभन्दा हुन्छ । हरेक सय वर्षमा एक पटक महाभूकम्पले तहसनहस पारेको इतिहास छ । त्यसमध्ये विसं १३१२ मा आएको महाभूकम्प डरलाग्दो थियो । त्यसैमा परी तत्कालीन राजा अभय मल्लको देहान्त भएको थियो । विसं १२८९ मा आएको महामारीले मानिसहरू खानै नपाएर मर्ने अवस्था आएको थियो । त्यस्तै विसं ९३६ मा तत्कालीन राजधानी रहेको विशालनगरमा भयंकर आगलागी भएको थियो । आगलागीपछि नगरको राजप्रासाद नै सार्नुपरेको थियो ।

विश्वका धेरै सम्पन्न र शक्तिशाली नगर यस्ता घटनाले पतन भएको इतिहास छ । काठमाडौंले ती सबै विपत्ति झेलेको छ, तर कुनै पनि विपत्तिले काठमाडौंलाई पतन गर्न सकेन ।

काठमाडौंमा नगर सभ्यता बन्नुअघि वा बनिसकेपछि अस्तित्वमा आएका कतिपय नगर बीचैमा लोप भएर गए, तर काठमाडौं टिकिरहेकै छ । यसले बताउँछ, काठमाडौंको नगर सभ्यता पुरानो र मौलिक मात्र होइन, मजबुत पनि हो । कति मजबुत भने गोर्खाली राजा पृथ्वीनारायण शाहले पनि तत्कालीन नेपाल जितिसकेपछि यो मुलुकको नाम नै गोर्खा राखेका थिए । तर, उनले नेपाललाई गोर्खा बनाउन सकेनन् । बरु कालान्तरमा गोर्खा नै नेपाल बन्न पुग्यो ।

त्यसैले बलियो घर, बलियो बाटो र बलियो ढल बन्दैमा काठमाडौं बलियो भयो भनी मान्न सकिँदैन । काठमाडौंको बलियोपन यसको अविच्छिन्न नगरसभ्यता र अटुट इतिहासको शृङ्खलामा निहित छ । नगर सभ्यतालाई कमजोर बनाएर काठमाडौंलाई बलियो बनाउन सकिँदैन ।

प्रकाशित : वैशाख १७, २०७९ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?